Saturday, December 6, 2008

पासाङ, सुरुङ र गोलीकाण्ड

2008-12-05,Friday माओवादी जनयु४ थालनीअघि नै जनमुक्ति सेनाका कमान्डर पासाङले घरबाट जंगलसम्म जानआउनका लागि सुरुङ खनेका थिए । भूमिगतकालमा उनले घर जानआउन त्यै सुरुङ-मार्ग प्रयोग गरेका थिए । २५ मिटर लामो सुरुङ पासाङले श्रीमती र काइँला भाइ दीपकसहित तीनजना मिलेर खनेका थिए । सुरुङ खनेको विषय यति गोप्य थियो कि आमाबाहेक परिवारका अन्य सदस्य कसैलाई पनि थाहा थिएन । सुरुङ चार फिट चौडाइ र चार फिट उचाइको थियो । सुरुङबाट झुकेर मज्जाले हिँडेर भित्र-बाहिर गर्न सकिन्थ्यो ।
२५ मिटर लामो सुरुङ पासाङले श्रीमती र काइँला भाइ दीपकसहित तीनजना मिलेर खनेका थिए । सुरुङ खनेको विषय यति गोप्य थियो कि आमाबाहेक परिवारका अन्य सदस्य कसैलाई पनि थाहा थिएन । सुरुङ चार फिट चौडाइ र चार फिट उचाइको थियो । सुरुङबाट झुकेर मज्जाले हिँडेर बाहिर-भित्र गर्न सकिन्थ्यो । त्यतिबेला पासाङका पाँच दाजुभाइको संयुक्त परिवार थियो । मूलघरमा सुरुङ खन्ने योजना आमालाई सुनाएका थिए पासाङले । तर, उनकी आमाले मानिनन् । अर्को घरमा खन्ने अनुरोधलाई श्रीमती र आमाले नकारे । त्यसपछि पासाङले तेस्रो घरमा सुरुङ खन्न आमालाई मनाएका थिए । उक्त घरमा पासाङका काइँला भाइ दीपक बस्दै आएका छन्, जुन घरमा दीपकलाई गोली हानिएको थियो । जंगलसँग जोडिएकाले पासाङ प्रायः त्यै घरमा बस्थे । सुरुङ-मार्गमाथि भने अचेल वस्तुभाउ बाँध्ने भकारो बनाइएको छ । घरछेउमै जोडिएको जंगल अचेल फाँडिएको छ । 'सुरुङ हुँदै राङ्कोटको स्याङ भएर आउने भीरको बाटोसम्म पुगेको थियो,' पासाङ-पत्नीले भनिन्, 'सरसामान जंगलबाट घरभित्र लाने र भित्रबाट बाहिर लाने गथ्यौं । अहिले त त्यहाँ गाई बाँध्ने भकारा बनाएका छौँ ।' उनले सुरुङ खन्न पूरै एक महिना लागेको बताइन् । आफ्नो सुरक्षाका लागि खनिएको सुरुङमै पासाङका काइँला भाइ दीपकलाई पुलिसले गोली हानेको थियो । हात र गालामा गोली लागेका दीपक त्यसबेला जनमिलिसियाका कमान्डर थिए । आमाको शुद्धारीमा पासाङलाई पक्रन सकिन्छ भनेर ओबाङ, घर्तीगाउँ, बागमारा र पोखरा पुलिस चौकीबाट आएका पुलिसले उनको घर खानतलासी गरेका थिए । त्यसबेला शुद्धारी कार्यमा भेला भएका पासाङका छिमेकी र आफन्त मात्र कुटिएनन्, उनको कुकुरलाई समेत मारिएको थियो । गोली हानेर घाइते बनाइएका दीपक शान्ति-सम्झौतापछि मात्र जेलमुक्त भएका थिए । घटना हुँदाखेरि जनयुद्ध सुरु भएको एक महिना पुगेको थियो । रोल्पाका सयौं जनमोर्चाका कार्यकर्ता मात्र होइनन्, सर्वसाधारणलाई पनि मुद्दा लागेको थियो । कोही मुद्दा थाम्दै थिए, कोही जेलमा थिए । कोही कालापार (भारत) गएका थिए भने कोही भूमिगत । तिनै भूमिगतमध्ये एक थिए- पासाङ । सेल्टरको अभाव र सुरक्षाका कारण पासाङले आफ्नै घरमा सुरुङ खनेका थिए । विद्यार्थीकालदेखि नै चिनियाँ लङमार्च, भियतनामी 'टनेल वार'का सिडी र कथा हेरिसकेका थिए पासाङले । 'नेपालमा पनि यस्तो 'ट्यानल वार'को जरुरी हुन सक्छ भन्ने कल्पना पहिलेदेखि नै गरिन्थ्यो । जब हामीमाथि मुद्दा सुरु भयो, वर्गसंघर्षको क्रममा झूटा मुद्दा लगाएर जनतालाई घरघरबाट खेद्ने प्रक्रिया सुरु भयो, तब सुरुङको आवश्यकता पनि देखिन थाल्यो,' सुरुङ खन्नुको कारण बताए पासाङले । उनले त्यसबेला आफूलाई कतिवटा मुद्दा लगाइएको थियो ? त्यसबारे भने बिर्सिसकेको बताए । उनले भने, 'थिए होलान् दुई/चार दर्जन ।' भूमिगत अवस्थामा कसरी सुरक्षित हुने ? त्यसबेला जनाधार पनि नभएकाले सेल्टरको पनि समस्या भएको बताए । 'सेल्टरको समस्या थियो । पुलिस खोज्न आइरहने । सुरुङबारे पार्टी कमिटीमै बहस त भएको थियो । तर, कसरी के गर्ने भन्ने ठोस निर्णय भएको थिएन,' पासाङले भने, 'भिड्नभन्दा पनि भाग्न सजिलो होस् भन्ने हिसाबले सुरुङ बनाइएको थियो । आफ्नै तरिकाले बनाएको हुँ ।' उनी आफ्नो मूलघरमा आफूलाई खोजिरहँदा आफूले श्रीमतीको लुगा लगाएर खनेको बताए । 'पाल्लो घरमा पुलिसले अप्रेसन गरिरहेको थियो । मैले वारि महिलाको लुगा लगाएर खनिरहेको थिएँ,' उनले भने । उनले बनाएको सुरुङ उनी सुत्ने कोठाबाट नजिकैको जंगलसम्म पुगेको थियो ।'सुत्ने कोठाबाट निस्केर जंगल भएर भाग्न सकिन्थ्यो । खै, मैले नापेर खनेको होइन क्यारे । पुलिसले नै २५ मिटर कि कति भनेको थियो रे,' पासाङले भने । उनको योजनाअनुसार उनकी श्रीमती, काइँला भाइको सहयोगमा सुरुङ खनिएको थियो । सुरुङ परिवारका सदस्य सुतिसकेपछि खन्थे । पासाङले त्यसबेला खन्दै जाँदा निस्केका माटो र ढुंगाको व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण भएको बताए । 'चम थियो । खन्दै जाँदा कहीँ ढुंगा भेटिन्थे, त कहीँ रुखका जरा,' पासाङले भने । सुरुङ खोलिएको उक्त घरमा अहिले पासाङका काइँला भाइ दीपक बस्दै आएका छन्, जहाँ उनलाई गोली हानिएको थियो । उनको गाला र हातमा गोली लागेको थियो । त्यसबेला 'सुरुङबाट फायर गरेपछि गोली हानिएको' सञ्चारमाध्यमले बताए पनि यथार्थ त्यसो नभएको दीपकले बताए । 'पासाङ नै हो भनेर उनीहरू कराइरहेका थिए । 'यहीँ मार्ने' भनेर पुलिस कराउँदै थिए । तल्लो तलाबाट बाहिर निस्कँदै 'म पासाङ होइन, भाइ दीपक हँु' हात उठाएर के निस्कन थालेको थिएँ, गोली हानियो,' दीपकले त्यो दिनको सम्झना गरे, 'सायद, फेरि पनि हान्थ्यो होला, अर्को कुनचाहिँले गाली गर्‍यो । सायद, नहान् भन्यो होला ।' सुरुङ खन्न ०५२ को तिहार सकिनेबित्तिकै थालेका थिए । पासाङ-पत्नीले सुरुङ खनेको नदेखियोस् भनेर ठुल्ठूला ढुंगा र उत्तिसका दाउराले छोप्ने गरेको बताइन् । 'ठुल्ठूला ढुंगाले ढाक्यौँ । ढुंगाले नपुग्ने ठाउँमा उत्तिसका दाउराले ढाक्यौँ,' उनले भनिन् । 'सिमसिम पानी परिरहेको थियो । के काम बिगारे कुन्नि ? दिदीले उनको छोरा मनोज र उनको भदैलाई चार्नुभएछ । उनीहरू त ओतिन त्यै सुरुङमा पो पसेछन्,' पुलिसले सुरुङ थाहा पाउनुको कारण बताइन् । सुरुङको कुरा उनको भदैले उसको बालाई भनेपछि पोखराको पुलिसकहाँ सूचना पुगेको बताइन् । उनकी जेठानी दिदीका भाइ कांग्रेस थिए । पुलिसमा खबर पुगेको आफूले थाहा पाएको राति नै सुरुङमा लुकाइएका पार्टीका सम्पूर्ण सामग्री जंगलमा आफैंले लुकाएको बताइन् । 'थुप्रै सामान थिए, के हुन् कुन्नि,' उनले भनिन्, 'जंगलमा लगेर लुकाएँ ।' उनले त्यही सुरुङबाट उनको भूमिगत श्रीमान्लाई खाना पुर्‍याएको बताइन् । पासाङ निस्कँदा र आउँदा पनि त्यही सुरुङको प्रयोग गर्थे । सुरुङ खनिएको उनको घर र मूलघर ठीक वारिपारि छन् । बीचमा खोल्सा, उत्तिस र ओखरका बोट छन् । सुरुङवाला घर र मूलघरबीचको दूरी पाँच सय मिटरजति छ । 'मैले सुरुङबाट दीपेशको बालाई खाना लगिदिन्थेँ । त्यसपछि मूलघर आउँथेँ,' उनले भनिन्, 'बाहिर सधैं ताल्चा मारिएको हुन्थ्यो । दीपेशका बा सुरुङबाटै भित्र-बाहिर गर्नुहुन्थ्यो ।' पासाङ आफ्नी आमाको शुद्धारी हुन दुई दिनअघि घरमा आएका थिए । त्यसबेला सुरुङबारे थाहा भइसकेको थियो । 'दीपेशका बा दुई दिनअघि आउनुभएको थियो । पुलिसले सुरुङ पनि थाहा पायो । यहाँ नबस्नुस् भनेर पठाएँ,' उनले भनिन्, 'काइँला फेरि त्यै घरमा सुत्न गएछन् । पुलिसले राति नै आएर घेरेका रहेछन् । काइँलालाई त सुरुङबाट निस्कँदा गोली हानेछ ।'
पासाङ भन्छन्
विद्यार्थीकालदेखि नै चिनियाँ लङमार्चको कथा हेरिएको थियो । चाइनिज 'ट्यानल वार'को सिडी र कथा पनि हेरिएको थियो । भियतनामी वारका सिडी र कथा पनि हेरिएको थियो । सायद, नेपालमा पनि यस्तो ट्यानल वारको जरुरी हुन सक्छ भन्ने कल्पना पहिलेदेखि नै गरिन्थ्यो । जब हामीमाथि मुद्दा सुरु भयो, वर्गसंघर्षको क्रममा झूटा मुद्दा लगाएर जनतालाई घरघरबाट खेद्ने प्रक्रिया सुरु भयो, तब यसको (सुरुङ) आवश्यकता पनि देखिन थाल्यो । अहिले मलाई यकिन छैन, कुन्नि कतिवटा मुद्दा लागेका थिए मलाई ? पुलिस खोज्न आइरहने । तर, त्यसबेला सेल्टरको पनि समस्या थियो । व्यापक जनाधार पनि थिएन । त्यसैले सुरुङबारे साथीहरूबीच छलफल पनि भयो । त्यसपछि सुरक्षाको हिसाबले खासगरी भिड्नभन्दा पनि भाग्न सजिलो होस् भनेर सुरुङ खनिएको हो । खासमा त्यो ट्यानल हो । तर, त्यसलाई सुरुङ नै भने पनि हुन्छ ।
'एकछिन भए पनि घरमा बस्दा सुरक्षितसाथ बस्नुपर्छ भनेर नै मैले सुरुङ खनेको हुँ
त्यसबेला रोमियो अप्रेसन चलिरहेको थियो । अप्रेसन गर्न गाउँ आइपुग्नुअघि नै तयार पार्ने भनेर लागियो । एकछिन् भए पनि घरमा बस्दा सुरक्षितसाथ बस्नुपर्छ भनेर नै मैले सुरुङ खनेको हुँ । तर, त्यो पूरा नगर्दै अप्रेसन गर्ने टोली आइहाल्यो । मैले महिलाको लुगा लगाएर खनिरहेँ । पारि मूलघरमा आएर मलाई खोजिरह्यो । मैले वारि खनिरहेँ । सुरुङ भएको घरमा धेरै त बसिएन । सुत्ने कोठाबाट निस्केर जंगल भएर भाग्न सकिन्थ्यो । खै, मैले नापेको पनि छैन । पुलिसले नै २५ मिटर हो कि कति लेखेको थियो रे ।मैले पार्टीबाट अनुमति लिएर वा निर्णय गरेर सुरुङ खनेको होइन । कुनै सूचना पनि दिएको थिएन । आफ्नै हिसाबले खनेँ । सुरुङबारे पार्टी कमिटीमै बहस त भएको थियो । तर, कसरी के गर्ने भन्ने ठोस निर्णय भने भएको थिएन । फेरि मैले खनेँ भनेर सबैसित हल्ला गर्ने कुरा पनि भएन । रोमियो अप्रेसन सुरु गर्‍यो भन्नेबित्तिकै मैले खन्न सुरु गरेको हुँ । गाउँमा नआइपुग्दै मैले पूरा गर्नुपर्छ भन्ने थियो । सुरुङ कांग्रेसबाट नै एक्सपोज भयो । त्यसबेला मेरा घरनजिकै पोखरामा पुलिस चौकी थियो । ओबाङमा पनि थियो । दुवै एकदमै नजिकै थिए । थाहा पाइसकेपछि उनीहरू सुरुङ खनेको घरनजिकैको जंगल र पाखामा सुराकी बसेको पनि थाहा पाइयो । त्यसपछि म सुरुङ खनिएको घरमा बसिनँ । त्यै सुरुङबारे उनीहरू (पुलिस) नेपालगन्जमा पनि बैठक बसेछन् । पछि थाहा पाइयो, नेपालगन्जमा कुनै निष्कर्ष ननिस्केपछि काठमाडौंमा पनि छलफल भयो रे भन्ने सुनियो । तर, त्यहाँ पनि निष्कर्ष निस्केन रे । आमाको शुद्धारी थियो । म अवश्य पनि आउँछु भनेर पुलिस आएछ । म त हिँडिसकेको थिएँ । शुद्धारीमा भेला भएका सबै आफन्तलाई कुटेछ । काइँला त्यहाँ सुत्न गएको रहेछ । भागेको भए सायद भागिहाल्थ्यो होला । नभागेपछि गोली नै हान्यो । सुरुङ त अन्य कमरेडहरूले पनि हेर्नुभयो । एकपालि त बैठक नै त्यही घरमा बसेका थियौँ । खन्दाखेरी पानी परेर या अन्य कारणले रोकिनुपरेन । भाग्न पनि परेन । हिउँद थियो । कति गते थालेको र सकिएको मिति त मलाई याद छैन । घरभन्दा केही माथि ओडार थियो । त्यसमा राङ्सीमा जम्मा गरेको बन्दुक लुकाएका थियौँ । त्यो कुरा काइँलालाई थाहा थियो । ऊ जनमिलिसियाको एउटा समूहको त कमान्डर नै थियो । पन्ध्रवटा जति बन्दुक थिए । सबै पुलिसले लगेछ । संयोग, सुरुङबाट भाग्नेगरी पुलिस आएन । सुरुङ चार फिट चौडाइ र चार फिट उचाइको थियो । सामान्यतः अलिकति टाउको झुकाएर हिँड्न सकिन्थ्यो । म हतियारसितै आउनेजाने गर्थेँ । एकदमै गोप्य थियो । पछि पुलिसले नै नापेर गएछ । मैले त नापिनँ । २५ मिटर, कति भन्थ्यो रे । फोटो पनि खिचेछ । त्यसबेला ठूलै हल्ला भएको थियो । त्यो घटना हुँदा म नजिकैको गाउँ कुरेलीमा थिएँ । त्यहीँ भए पनि त्यो घरमा सुत्ने कुरा थिएन । सुरुङ छ भनेर एक्सपोज भइसकेको थियो । हामीले थाहा पाइहाल्यौँ नि, कतिखेर आउँछ भनेर वारि भीरबाट सल्ला र धाइराका बुटाबाट सुराकी गरेको । मैले त्यहाँ कसैलाई पनि नसुत्नू भनेको थिएँ । के भएर कुन्नि ? काइँला फेरि त्यहीँ सुत्न गएको रहेछ ।
पासाङ-पत्नी हस्तमाली भन्छिन्पोखरा पुलिसले थाहा पायो भन्ने थाहा पाएपछि मैले त्यहाँ लुकाइएका सबै सामान दुई रात लगाएर जंगलमा लुकाएँ । सायद, बम थिए होलान् । कागतपत्र सबै थिए । बन्दुकबारे मलाई थाहा थिएन, थाहा भएको भए त लुकाउँथेँ होला ।सुरुङ खन्ने सल्लाह गरेको भदौतिर हो । सुरुङबारे हामी दुईजनाबीच कुरा भयो । मूलघरबाट तल स्याला निकाल्ने भनेर दीपेशका बाले फुपू (सासू)लाई भन्नुभयो । तर, फुपूले मान्नुभएन । प्रकाश बस्ने पल्लो घरमा खन्छु भन्नुभयो तर, मैले मानिनँ । किनभने दाजुभाइ कसैलाई पनि थाहा थिएन । पुलिस आएर भत्काउला भनेर ती दुई घरमा खन्न सासूबुहारीले मानेनौँ ।
पोखरा पुलिसले थाहा पायो भन्ने थाहा पाएपछि मैले त्यहाँ लुकाइएका सबै सामान दुई रात लगाएर जंगलमा लुकाएँ । सायद, बम थिए होलान् । कागतपत्र सबै थिए । बन्दुकबारे मलाई थाहा थिएन, थाहा भएको भए त लुकाउँथेँ होला ।
'पाल्लो घरमा बनाउँछु है आमै ! मरे पनि त्यहीँ मरम्ला, बाँचे पनि त्यहीँ बाँचम्ला' भनेर दीपेशका बाले भन्नुभयो । फुपूले 'जेसुकै गर् तँ छोराले' भन्नुभयो । त्यसपछि हामीले अहिले काइँला बस्ने घरमा सुरुङ खन्ने योजना बनायौँ । कहिले पार्टीमा जाने, कहिले त्यहाँ रहने गर्दा एक महिनाजति पछि मात्र सुरुङ पूरा भयो । हामीले खन्न सुरु गर्दा त खर-घुर्रो काट्दै थिए । तिहारलगत्तै हामीले खन्न थालेका थियौँ । सुरुङ नहुँदा दीपेशका बालाई आउनजान गाह्रो हुने, मैले पनि खानपिन लगिदिन पनि गाह्रो थियो ।मलाई सम्झना छ, खन्न सुरु गर्दाको दिन मौसम सफा थियो । सायद, हामीले १० बजेतिर होला, परिवारका सबै सदस्य सुतेपछि खन्न थाल्यौँ । बिहान त उज्यालो नहुँदासम्म खन्यौँ । खन्न सुरु त बाहिरबाट गर्‍यौँ । माटो फाल्न पनि सजिलो हुन्थ्यो नि । जंगलतिर जाने बाटो पनि त्यतै थियो । हामीले भित्रबाट पनि एउटा मुख र बाहिरबाट अर्को मुख खोल्याँ । खन्न त हामी परिवारका सबै सदस्य सुतेपछि थाल्थ्यौँ । परिवार मूलघरमा बस्थे । दुई छोरा पनि बाजेबज्यैसित उतै सुत्थे । हामी दुईजनाले रातभर खन्यौँ । खन्नका लागि झप्पल, कुटो मैले नै जम्मा गरेकी थिएँ । रातभर खनेर बिहान फेरि परिवारका सदस्यसित म घरको काम गर्थेँ । खन्दाखन्दा चम र ढुंगा भेटिएर हैरान । माटो भएको ठाउँमा सुरुङ भत्क्यो । घर नै चम काटेर बनाइएको हो । दीपेशका बाले त दिनरात खन्नुभयो । सुरुङ थालेको केही समयपछि काइँलालाई पनि भन्यौँ । सुरुङ तयार भएपछि ढुंगा बोक्यौँ । पार्टीमा नजाँदा काइँलाले बोके । दीपेशका बाले बोक्ने कुरा भएन । ढुंगा त परपरबाट ल्याउनुपथ्र्यो । सुरुङ छोप्ने ढुंगा त मैले नै बोकेकी हुँ । सबै ठाउँमा त होइन तर, माटो भएको ठाउँमा त भत्केर तिनै ढुंगाले ढाकेका थियौँ । घरमा दीपेशका बा बेलाबेलामा आएर बस्नुहुन्थ्यो । सुरुङबारे त गाउँघर त के घरकै मान्छेले पनि थाहा पाएनन् । तर, एक दिन सिमसिम पानी परिरहेको थियो । केटाकेटीहरूलाई पुलिस आउला भनी हेर्न लगाएका थियौँ । केटाकेटीले के बिराए कुन्नि ? मनोजकी आमाले (जेठानी) मनोज र उसको मामाको छोरालाई लखेटेपछि ओतिन उनीहरू त त्यसै (सुरुङ)मा पो छिरेछन् ! त्यसपछि त हल्ला भयो । मनोजका मामा त कांग्रेस थिए नि । उसको मामाको छोरा पनि सुरुङमा पसेको कुरा उसको बालाई भनेछ । कुरा पोखरा पुलिसकहाँ पुगेछ । पोखरा पुलिसले थाहा पायो, भन्ने थाहा पाएपछि मैले त्यहाँ लुकाइएका सबै सामान दुई रात लगाएर जंगलमा लुकाएँ । कति ड्रम थिए । सायद, बम थिए होलान् । कागतपत्र सबै थिए । बन्दुक त मलाई भनिएको थिएन । थाहा पाएको भए त लुकाउँथेँ होला ।भोलिजस्तै फुपूको शुद्धारी हुने थियो । आजजस्तोमा दीपेशका बा आउनुभएको थियो । मैले उहाँलाई घरमा बस्न दिइनँ । यहाँ खतरा छ भनेर पठाएँ । सासूको शुद्धारीको राति नै आएर चारैतिरबाट पुलिसले घेरेछन् । फुपूको शुद्धारीमा दीपेशका बालाई पक्रने भनेर बागमारा, घर्तीगाउँ, पोखरा, ओबाङबाट पुलिस आएछन् । सुरुङ एक्सपोज भएको र यस्तो घटना हप्ता दिनभित्रै भएको थियो । मलाई सम्झना छ, एकाबिहानै थियो । पारि घरमा काइँलालाई गोली हान्यो । वारि आएर शुद्धारीमा आएका सबैलाई पुलिसले कुटे । कोही पनि बाँकी रहेनन् । मनपरी कुटे- लाठी, बुट र बन्दुकको कुन्दाले । सबै घाइते भए । त्यतिखेर ससुरालाई त पुलिसले लगेन । तर, दिनदिनै आएर धम्काउने र कुट्न थालेपछि सासू मरेको पीरमाथि पीर बोकेर कालापार (भारत) जानुभयो ।
पासाङपुत्र दीपेश/फेमस भन्छन्
'म तल्लो तलाबाट बाहिर निस्कँदै पासाङ होइन, काइँला भाइ दीपक हुँ भनेर हात उठाएर के निस्कन थालेको थिएँ, गोली हानियो’
बाबा सुत्ने कोठामा एक दिन दुई भाइ खेल्दै थियौँ । भर्‍याङबाट ह्वात्तै तल खस्यौँ । त्यसपछि पो थाहा भया, सुरुङ रहेछ भनेर । हामीलाई पुलिस आउला भनी हेर्नु भनेर सेन्ट्री राखेको कारण त हामीलाई थाहै थिएन । सुत्ने ठाउँनेरबाट गारो भत्काइएको थियो । गारोमाथि कुनाबाट झरेर गाई बाँध्ने 'भुङ'बाट लिस्नो लगाइएको थियो । लुकामारी खेल्दा हामी सुरुङभित्र पस्थ्यौँ र पर जंगलमा निस्कन्थ्यौँ । सुरुङभित्रै हामी दुई भाइ लखेटालखेट गथ्र्यौँ । घटना हुनुभन्दा अघिल्लो दिन बाबा आएर कपाल कटाउनुभएको थियो । घरमै बस्ने भन्नुभएको थियो । तर, आमाले जिद्दी गरेर पठाउनुभयो । नत्र त बाबा नै पर्नुहुने रहेछ ।
नवीन विभासnabinbibhas@gmail.com

No comments: