डा गोपीन्द्र पौडेल
कथाको रचनाप्रक्रियासँग कथास्रष्टा अनिवार्य रूपमा गाँसिएको हुन्छ । एउटा कथाकारले कस्तो कथाको रचना कुन पद्धतिअनुरूप गर्दछ भन्ने सवाल निकै महत्त्वपूर्ण मानिन्छ । कथारचनाका सन्दर्भमा अगाडि आउने 'के कसरी’ भन्ने प्रश्न रचनाप्रक्रियासँग सम्बन्धित छ भने त्यसको ठोस उत्तर कथाकार स्वयंले दिने गर्दछ । कलात्मक कार्यमा संलग्न कथास्रष्टाको जीवनजगत्सम्बन्धी जस्तो दृष्टिकोण र बुझाइ रहेको छ । सोहीअनुरूप उसले सौन्दर्यानुभूति प्राप्त गरेको हुन्छ । एउटा कथास्रष्टाले सुदूर अतीतदेखि लिएर सुदूर भविष्यलाई कथामा प्रस्तुत गर्न सक्छ । एउटा कथाकार अन्तदर््रष्टा पनि हो त्यसैले ऊ मानवजीवनका अन्तरकुन्तरमा पस्ने गर्दछ । कथास्रष्टाले आफू बाँचेको वस्तुजगत्बाटै सौन्दर्यात्मक चेतना प्राप्त गर्ने हुनाले उसको जीवनजगत्सम्बन्धी बुझाइले नै सौन्दर्यचेतको निर्धारण गर्दछ । एउटा यथार्थवादी कथाकार समाजमा सम्पन्न हुने समस्या क्रियाकलापका सन्दर्भमा मूकदर्शक मात्र बन्दैन बरु ऊ त्यस्ता क्रियाकलापमा सक्रिय सहभागी बन्दछ । यतिबेला उसले जीवनजगत्का द्वन्द्वहरूमाथि हस्तक्षेप गर्नुका साथै तिनको कलात्मक पुनसिर्जन मात्र होइन हरेक घटनाका सन्दर्भमा तिनको कारण र परिणामको समेत व्याख्या गर्दछ । -खापचेाको, १९८६ : १९) । वस्तुतः सामाजिक जीवनका समस्या क्रियाकलापसँग कथाकारले नै उच्चतम सौन्दर्यानुभूति प्राप्त गर्न सक्ने देखिन्छ । कथास्रष्टाले प्राप्त गर्ने जीवनदृष्टि र सौन्दयर्भबोधका सन्दर्भमा मुख्य चार वटा पक्ष महत्त्वपूर्ण देखिन्छन् । ती तत्वहरू हुन् : -क) दार्शनिक एवं वैचारिक स्पष्टता, -ख) श्रम र वर्गसंघर्षमा संलग्नता, -ग) सौन्दयौबोधात्मकता र सिर्जनात्मक सीप र -घ) वर्गीय चिन्तन र चेतना ।
यसरी हेर्दा कथास्रष्टाले अवलम्बन गर्ने जीवनदृष्टिका सन्दर्भमा दार्शनिक एवं वैचारिक दृष्टिकोण पहिलो आवश्यकता हो । यहाँ दार्शनिक स्पष्टताको तात्पर्य ऐतिहासिक एवं द्वन्द्वात्मक भौतिकवादी दर्शनसम्बन्धी स्पष्टता हो भने वैचारिक दृष्टि भन्नाले यही दर्शनलाई पथप्रदर्शक मान्ने कम्युनिष्ट विचार हो र यसैको साहित्यिक संस्करणका रूपमा समाजवादी-यथार्थवाद वा प्रगतिवादलाई आत्मसात् गर्नु हो । जीवनजगत्लाई बुझ्ने र बदल्ने दर्शन भनेकै माक्र्सवादी दर्शन हो, ऐतिहासिक एवं द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । वस्तुतः यही दर्शन र क्रान्तिकारी विचारधाराको अवलम्बन एउटा प्रगतिवादी कथास्रष्टाका लागि अनिवार्य आवश्यकता हो । राल्फ फक्सले उपन्यासको चर्चाका सन्दर्भमा एउटा उपन्यासकारले व्यक्तिको भाग्यको कथा त्यतिबेलासम्म लेख्न सक्दैन जबसम्म उसले वास्तविक, वैचारिक र दार्शनिक अवधारणा प्राप्त गर्दैन भन्ने उल्लेख गर्नुले -फक्स, १९८० : २५) पनि एउटा कथास्रष्टा यसबाट असम्पृक्त हुन सक्दैन । जीवन सञ्चालनका सम्पूर्ण क्रियाकलापलाई नियन्त्रण र निर्देशन गर्ने मूलतत्व भनेकै जीवनदृष्टि हो भने त्यही द्वन्द्ववादी दृष्टिकोणबाटै सौन्दर्यधात्मकता र सिर्जनात्मक सीपको पनि विकास हुन्छ । यदि कथास्रष्टामा उच्चउदात्त वैचारिक दृष्टि छैन भने उसले जीवनजगत्लाई वस्तुसम्मत रूपमा बुझ्न सक्दैन । जीवनजगत्लाई बुझ्न र बदल्न सिकाउने दर्शनका बारेमा कथास्रष्टा अनिविज्ञ छ भने उसले कसको कथा लेख्ने, किन कथा लेख्ने र कसका लागि लेख्ने भन्ने प्रश्नको उत्तर खोज्न सक्दैन । त्यसैले प्रथमोप्रथम कथास्रष्टाले उन्नत एवं वैज्ञानिक दर्शनचिन्तनलाई आत्मसात गरेको हुनुपर्छ ।
सिङ्गो मानवसमाज वर्गमा विभक्त छ । वर्गीय समाजमा राजनीतिक, साहित्यिक, सांस्कृतिकलगायतका सम्पूर्ण क्रियाकलापहरू वर्गीय हुने गर्दछन् । समाजमा विद्यमान दुई वर्गका बीचको द्वन्द्वकै परिणाम मानवसमाज आजको पुँजीवादी हुँदै समाजवादी युगतर्फ उन्मुख रहेको छ आफूले अवलम्बन गरेको वर्गीय सोचअनुरूप नै कथास्रष्टाले अन्तर्वस्तुको चयन गर्दछ । तर व्यवहारमा केही फरक दृष्टान्त पनि देखिन्छन् । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई स्वीकार्ने र आफूलाई क्रान्तिकारी आदर्शको नजिकमा पनि उभ्याउने तर व्यवहारमा सर्वहारा वर्गीय आचरण र क्रियाकलापबाट असम्पृक्त रहने कथाकार र पाठकका बीच अनुभूतिको मेल हुँदैन । त्यस्तो अवस्थामा कथामार्फत सम्प्रेषित विचारको कुनै औचित्य पनि रहादैन । त्यसैले मैनेजर पाण्डेयले पनि लेखक र पाठकका बीच विश्वदृष्टिकोणका साथै कलात्मक एवं सामाजिक चेतनामा समेत एकता हुनुपर्ने उल्लेख गरेका छन् -पाण्डेय १९९७ : ३८) ।
यसबाट लेखनसिर्जनामा पनि वर्गीय पक्षधरता तथा वर्गीय आन्दोलनमा संलग्नताबिना वर्गीय चिन्तनको अभिव्यक्ति हुन नसक्ने देखिन्छ । वर्गसंघर्षका सघन प्रक्रियामा संलग्न हुँदा सिर्जनाका लागि थप ऊर्जा प्राप्त हुने र क्रान्तिको समयमा खाँदाखाँदै र हिंड्दाहिंड्दै पनि कथा लेख्न सकिने धारणा कथाकार ऋषिराज बराल व्यक्त गर्दछन् -बराल, २०६३ : ख) । विगतको जनयुद्धका क्रममा सक्रिय सहभागिता देखाएका ऋषिराज बराल, सीपी गजुरेल, गंगा श्रेष्ठ, सरल सहयात्री, अन्जान विरही, सरला रेग्मीका कथाले यसैको पुष्टि गर्दछन् । वस्तुतः श्रमप्रक्रिया र वर्गसंघर्षमा प्रत्यक्ष संलग्न स्रष्टाले जुन रूपमा जीवनसंघर्षलाई नजिकैबाट अनुभूत गर्नसक्छ त्यो सञ्चारमाध्यममार्फत पढेसुनेको भरमा हुनु सम्भव छैन ।
साहित्यसिर्जनाको मूल स्रोत नै श्रम र संघर्ष हुनाले त्यसमा स्रष्टाको संलग्नता भएन भने उसले तत्सम्बन्धी सौन्दर्यचेत प्राप्त गर्न सक्दैन । श्रम र संघर्षमा जीवन बिताउने स्रष्टाले तत्सम्बन्धी गहन अनुभूति संगाल्ने र कथाचनाका क्रममा ती अनुभूतिसँग खेल्ने गर्दछ । श्रमजीवी जनता नै आमूल परिवर्तनका अगुवा हुनाले श्रम र संघर्षका क्रममा जनतासँग एकाकार हुनु नै उनीहरूका समग्र अनुभूतिसँग एकाकार हुनु हो । त्यसबेला कथास्रष्टाले प्राप्त गरेको सौन्दर्यचेत बढी भन्दा बढी तीव्र हुनुको कारण कथास्रष्टा र पाठकका बीचको दूरी न्यून हुन गई कथाकृति पनि सम्प्रेष्य बन्न पुग्छ । श्रममुखी र संघर्षमुखी जीवन भनेको सक्रिय जीवन हो । त्यसैले एउटा महान् लेखक त्यस्तो व्यक्ति हुनु सम्भव छैन जो आफ्नो कालको सक्रिय जीवनपद्धतिबाट उदासिन रहने गर्दछ । -फक्स उही : १३०) । स्रष्टाले सामाजिक सत्यको सत्वबोधन गर्नका लागि सत्यको अन्वेषण र सिर्जनात्मक संघर्ष पनि गर्नु आवश्यक छ । कलाकार आफ्नो देश तथा वर्गको संवेदनशील ग्रहणकर्ता हो र ऊ आफ्नो युगको आवाज पनि हो, त्यसैले उसको कर्तव्य विगत, वर्तमान र भविष्यलाई अधिकतम् रूपमा बुझ्नु हो भने यसनिम्ति उसमा ऐतिहासिक राजनीतिक, आर्थिक तथा सामाजिक ज्ञान पनि आवश्यक छ -गोर्की, १९७७ : ४२) ।
दार्शनिक एवं वैचारिक रूपमा माक्र्सवादी विश्वदृष्टिकोणलाई अवलम्बन गर्ने, सर्वहारा वर्गको पक्षमा आफूलाई उभ्याउने तथा श्रम र संघर्षलाई आफ्नो जीवनशैली बनाउने सबै मान्छे स्रष्टा हुँदैनन् । त्यसैले स्रष्टामा हुने फरक गुण भनेकै सौन्दर्यबोधात्मकता र कथास्रष्टाले समाज र जीवनका समस्त क्रियाकलापको निरीक्षण गर्न, त्यसलाई कलाविम्बमा प्रस्तुत गर्ने र कथाकृतिका माध्यमबाट परिवर्तनधर्मी चेतनाको सम्प्रेषण गर्न सक्दछ । कलाकारको मुख्य कार्य भनेकै सिर्जनात्मक सीपका माध्यमबाट मान्छेको वैयक्तिक जीवनलाई सामूहिकतामा बदल्न, मान्छेलाई सार्वभौमिकताको दिशातर्फ प्रेरित गर्नु तथा मान्छेको खोसिएको एकतालाई प्रतिष्ठित गर्नु हो । -फिसर, १९९० ः ४७) । एउटा कथास्रष्टाको जीवनदृष्टि उसको सिर्जनाका माध्यमबाट प्रस्तुत हुने भएकाले उसको सम्वेदनात्मक अन्तर्जगत्को पनि महत्त्वपूर्ण भूमिका हुने गर्दछ, त्यसैले एउटा कलाकारमा स्पष्ट विश्वदृष्टिकोणसँगै सिर्जनात्मक गुण पनि अपरिहार्य मानिन्छ ।
यदि कथास्रष्टा सिद्धान्तनिष्ठ छ भने उसले संसारका परस्पर विपरीत गुणका वस्तुको अध्ययन गरेर प्रमुख विरोधी शक्तिहरूलाई आफ्नो जीवनमार्ग संयोजन गर्ने कथानायक चयन गर्न सक्दछ -लुकाच, २०३१ : ११६) । तर कथाकार जीवनजगत्का महत्त्वपूर्ण घटना, संघर्ष र तत्सम्बन्धी अनुभूतिबाट विमुख रहेको छ भने उसले कथामार्फत जीवन्त विचारको उदेबोधन गर्न सक्दैन । कथाकारमा अन्तर्निकित यथार्थवादी दृष्टिकोणले नै कथामार्फत् यथार्थवादी चेतनाको सम्प्रेषण हुने गर्दछ । त्यसैले कथाको रचनात्मक सम्बन्धलाई कथाकारको विश्वदृष्टिकोण तथा जीवनजगत्बारेको अनुभवका बीचमा रहेको अन्तर्द्वन्द्वबाट पृथक गराउन सकिन्न् -गौतम, २०४१ ः४७) । वस्तुतः कथास्रष्टाको सिर्जनात्मक अन्तर्जगत् तथा बाहृय यथार्थका बीचको वस्तुनिष्ठ संयोगजनका माध्यमबाट कथाकृतिको जन्म हुन्छ र अन्तर्बाहृय यथार्थको योग तथा कलात्मक सिर्जनाले कथारचनामा महत्त्वपूर्ण भूमिका खेल्दछ । माक्र्सवादी विचार र सिद्धान्तको वकालत गर्दैमा कुनै पनि स्रष्टा प्रगतिवादी कथाकार बन्दैन, त्यसैले कथाकार बन्नका लागि आफूले अवलम्ब्न गरेको जीवनदर्शन र जनस्तरबाट प्राप्त गहन एवं मार्मिक अनुभूतिको सम्मीश्रण आवश्यक छ जसका माध्यमबाट समग्र सिर्जनात्मक गुणलाई आत्मसात गर्न सकिन्छ । यथार्थको चरित्र गतिशील हुनाले यथार्थको प्रत्यङ्कनको तात्पर्य मानवीय प्रतिलिपि उतार्नु होइन । यथार्थलाई बुझ्न भनेको यसको गतिशील चरित्रलाई ठम्याउनु हो । समग्र वस्तुजगत् गतिशील भएपछि यथार्थ पनि गतिशील हुने गर्दछ, त्यसैले सामाजिक विकासको द्वन्द्वात्मक प्रक्रियालाई नठम्याइ यथार्थलाई ठम्याउन सकिन्न । यथार्थको त्यही गतिशील चरित्रका कारण इतिहासको एक कालखण्डमा नयाँ बनेको यथार्थ अर्को कालखण्डमा पुरानो हुनसक्छ र त्यसको प्रभाव न्यून हुनसक्छ । समाज र युगजीवनलाई प्रभावव पार्ने यथार्थका विभिन्न पाटामध्ये जसले तत्कालीन मानवसमाजलाई प्रभावित गर्छ र बढीभन्दा बढी सम्वेद्य तुल्याउँछ त्यही त्यतिबेलाको नयाँ यथार्थ हुन्छ र प्रतिनिधि यथार्थ बन्न पुग्छ । उदाहरणस्वरूप भन्नुपर्दा २००७ सालको राजनीतिक आन्दोलनले सिर्जना गरेको परिवेश झण्डै २०१५ सालसम्म प्रतिनिधि यथार्थ वा नयाँ यथार्थका रूपमा विद्यमान रहन पुग्यो । त्यस्तै २०५२ सालदेखि थालिएको जनयुद्धको सघन प्रक्रियाले पनि विगतको यथार्थका जीवनमूल्यलाई विस्थापित गर्दै नयाँ यथार्थको जन्म हुन पुग्यो । अद्यावधि त्यसको प्रभाव ताजै छ र त्यसैको परिणामस्वरूप यतिबेला सिङ्गो मुलुक र रूपान्तरणको प्रक्रियामा छ । वस्तुतः समयसापेक्ष रूपमा परिवर्तन हुने यथार्थको स्वरूपलाई ठम्याउन सकियो भने मात्रै कथारचनाका सन्दर्भमा त्यसको प्रारूपीकरण गर्न सजिलो हुन्छ ।
No comments:
Post a Comment