Thursday, September 23, 2010

दशैं धार्मिक कि सांस्कृतिक


इन्द्र नारथुङे
-हिन्दुहरुको महान पर्व दशैं
-आर्यहरुको महान् पर्व दशैं
-नेपालीहरुको महान् पर्व दशैं ।
दशैं कस्को हो भन्ने विषयमा स्पष्ट पार्न ब्यक्ति वा सार्वजनिक साचार माध्यमहरुले माथि उल्लेखित शब्दहरु खर्चने गर्दछ । यी तीन मध्ये पनि प्रथम र दोश्रो भनाई अधिक प्रयोग हुन्छ । तल्लो भनाईको प्रयोग कमै मात्र गरिन्छ ।
-देवताहरुको कल्याण गर्न दानवराज शुम्भ निशुम्भलाई दुर्गा भवानीले बध गरेको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
-तेत्रायुगमा अयोध्याका राजा रामले लंकाका दुष्टराजा रावणलाई मारेर सम्पूर्ण मानव जगतको कल्याण गरेको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
-अनार्य माथि आर्यहरुको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
यी माथिका तीन भनाईहरु दशैंको उत्पत्ति कसरी भयो भन्नेसँग सम्बन्धित छ। दशैं हिन्दुहरुको हो भन्ने विषयमा प्रष्ट हुन माथिका भनाईहरु नै काफी छ । तर दशैंको उत्पत्तिको बारेमा भने माथिका भनाईहरु आपसमा बिरोधाभाषपूर्ण छन् । दानवराज शुम्भ-निशुम्भलाई दुर्गा भवानीले बध गरेको कथालाई मात्र आधार बनाएर हेर्दा दशैंको समग्र महिमा खुल्दैन । दुर्गापूजा दशैंको महत्वपूर्ण पक्ष हो तर दुर्गापूजा नै समग्र दशैं होईन । दुर्गापूजा दशैंको एउटा एकाई मात्र हो । लंकाका राजा रावण माथि अयोध्याका राजा रामको विजयलाई दशैंसँग जोड्ने हो भने त दशैं चैत्र शुक्ल पूर्णिमामा पर्न जान्छ । चैत्र शुक्ल पूर्णिमामा चैते दशैंको नाममा रामनवमी मनाउदैं आईएको सबैमा बिदितै छ । रावण माथि रामको विजय भएको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाई गलत देखिन्छ । तेश्रो भनाई झन् बिरोधाभाषपूर्ण छ । पौराणिक कथाहरुमा बर्णन गरिएको शुम्भ-निशुम्भ, दुर्गा भवानी, राम र रावण आर्यहरु हुन् । अनार्य माथि आर्यको विजयको खुसियालीमा कसरी दशैं मनाउन थालियो भन्ने भनाई पौराणिक कथाहरुले पुष्टी गर्दैन । तर हामी नेपालीहरुले मनाउने दशैं अन्य देशका हिन्दुहरुले मनाउने दुर्गापूजा भन्दा धेरै फरक भएको कारण के भन्न सकिन्छ भने भारत हुँदै नेपाल प्रवेश गरेका आर्यहरुले नेपालमा शासन गरिरहेका अनार्यहरुलाई युद्धमा जितेर राज्य कब्जा गरेको खुसियालीमा दुर्गापूजाको छेकलाई आधार बनाई केही मौलिक संस्कृति मिसाएर दशैं मनाईएको हुन सक्ने आधार भने छ । नेपाल बाहेक अन्य देशका हिन्दुहरुले दशैंको समयमा दुर्गापूजा गर्ने र कालरात्री मनाउने गर्दछन् तर नेपालमा यी दुवैको साथमा जमरा राख्ने, मार हान्ने र टीका लगाउने गरिन्छ । अन्य देशका हिन्दुहरु माझ दुर्गा पूजाको महिमा बढी देखिन्छ भने नेपालमा टीका लगाउनलाई बढी महत्वपूर्ण मानिन्छ । त्यसैले नेपालको सन्दर्भमा आर्यहरुबाट अनार्य माथिको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाईले निकट सम्बन्ध राख्छ ।
दशैंको उत्पति जसरी भए पनि वा दशैं जस्को चाड भएपनि नेपालको सन्दर्भमा यो सांस्कृतिक महत्वको चाड हो । तर यसलाई धर्मको अलंकार भिराएर सिमित घेरा भित्र राख्ने प्रयत्नले दशैंको महत्व नेपालमा बिस्तारै घट्दै गईरहेको छ । हुन त धर्म आफैमा एउटा संस्कार हो यो परिवर्तनशिल छ र परिवर्तन गर्न सकिन्छ । तर पनि धर्मलाई मान्छे वा राज्यले विशेष प्राथमिकता दिएको कारण यो संस्कार भन्दा अलग्गै देखिने गर्दछ । धर्म सबैको एउटै हुन्छ संस्कार मात्र भिन्न हो । दशैंलाई पनि धर्मसँग जोडिदिएको कारण यसको लोकपि्रयता खस्कदै गईरहेको छ । आर्यहरुद्वारा अनार्यहरु माथिको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाई सत्य नै भए पनि मान्छे-मान्छे बिचको सहिष्णुतामा असर पुर्याउने यस्ता शब्दहरुले अनार्यहरुमा दशैं प्रति आस्था घटाउन ठूलो काम गरिरहेको छ । अनार्यमाथि विजय गरेपछि त्यस्को खुसियालीमा दशैं मनाईयो टीका लाईयो वा मार हानियो होला तर त्यही कुरालाई आज दोहोर्याएर अरु संस्कार मान्ने मान्छेहरुलाई होच्याउनु एक्काईसौं सताब्दीको संस्कृति होईन । यदि यही कुरालाई प्राथमिता दिने हो भने नेपालका अनार्यहरुले हिजो आफ्नो गुमेको राज्यसत्ता र्फिता लिएर आर्यहरुलाई फेरी भारत तिरै लघार्न अन्याय ठर्हदैन ।
देशमा निरङ्कुश शासन ब्यवस्था रहिन्जेल लगभग सबै जाति, वर्ग वा समुदायका मान्छेहरुले दशैं मान्ने गर्दथे । तर त्यहाँ बाध्यता थियो भन्ने कुरा निरङ्कुश शासनको अन्त्य हुनसाथ धेरै जाति वा समुदायका मान्छेहरुले दशैं बहिस्कार गर्न थालेको कुराले प्रष्ट पार्दछ । जतिबेला हिन्दुहरुको हातमा शासन सत्ता पुग्यो त्यसबेला आफ्नो संस्कार र संस्कृतिलाई अपनाउन अरु समुदायलाई बाध्य पारिएको हो भन्ने कुरा दशैं बहिस्कारले देखाउँछ । हिजोका दिनमा गैह्र आर्य समुदायका मान्छेहरुलाई दशैं मनाउन बाध्य पारिए पनि आज आएर दशैंबाट पूर्ण रुपले अलग हुन्छु भन्नु असम्भव नै छ । हाल गैह्र आर्यहरुले दशैं बहिस्कारको नाममा टीका मात्र बहिस्कार गरेका हुन् । खाने, नाता-नाला भेट्ने, मनोराजन गर्ने जस्ता दशैंका सामाजिक पक्ष यथावत नै छ । तर स्वयं आर्य समुदायका मान्छेहरु दशैंलाई धर्मसँग गाँसेर गैह्र आर्यहरुलाई दशैंको बिरुद्धमा उचाल्न प्रयाशरत छन् । सार्वजनिक साचार माध्यममा 'हिन्दु मात्रको महान पर्व दशैं' र 'अनार्य माथि आर्यहरुको विजय' भन्ने शब्दहरु प्रयोग गरेर दशैंको लोकपि्रयता बढेको भ्रम पालेर बस्नु आर्यहरुको भुल हुँदै गईरहेको छ । कुनै पनि संस्कार वा संस्कृति एउटा समुदायमा मात्र सिमित गरिन्छ भने त्यो कालान्तरमा निश्चित लोप भएर जान्छ । सूचनाको साजालले विश्व साँघुरिएको बेला एउटा समुदायमा मात्र सिमित रहने संस्कार र संस्कृतिहरु कति दिन जीवित रहन सक्छ र त्यसैले दशैंलाई धर्मको पाजाबाट मुक्त गरेर संस्कृतिको रुपमा संसारका सबै मानिसहरुले ग्रहण गर्न सक्ने बनाउनु पर्दछ । मार हान्ने जस्ता प्राणी िहंशाको संस्कारले दशैं जस्तो सांस्कृतिक सद्भाव राख्ने पर्वलाई कुरुप बनाएको छ । पशुको बली दिनु र त्यसमा मुछिएको रगतको टीको लाउनु भनेको मान्छेको राक्षसी प्रवृति हो भन्दा पनि फरक पर्दैन । दान दक्षिणाको होडबाजी, गरगहना र बहुमुल्य कपडाहरुको प्रर्दशन सर्बसाधरणहरुलाई दशैं प्रति वितृष्णा जगाउने कारक तत्व बनेका छन् । यस्ता संस्कृति भित्रका बिकृतिहरुलाई हटाउन सकेको खण्डमा दशैं प्रति देखिएको बितृष्णा निश्चित रुपमा कम हुने देखिन्छ ।
दशैं समग्रमा सबै मानव समुदायको लागि सांस्कृतिक महत्वको पर्व हो भन्दा झुटो ठहर्दैन । काम बिशेषले टाढा पुगेकाहरु दशैंमा घर फर्कनु नर-नाता बिचमा भेटघाट हुनु भनेको मान्छे-मान्छे बिचमा माया ममता र सद्भाव कायम हुनु हो । आफू भन्दा ठूलाबडाहरुबाट टीकाको साथमा आर्शिवचन ग्रहण गर्नुले आफु भन्दा माथिकाहरु प्रति सम्मानभावको जन्म गराउँछ र सानाहरु प्रति ममता दर्शाउँछ । दशैंले एकआपस बिचको सत्रुता हटाई मान्छेलाई सहकार्यमा अग्रसर गराउँछ । जमरा राख्नु र लगाउनु भनेको कृषिसँग सम्बन्धित कुरो हो । यसलाई माटो परिक्षण वा अन्नबाली लगाउने नयाँ अभ्यासको रुपमा लिन सकिन्छ र यर्थातमा जमरा राख्नुको रहस्य पनि त्यही हो । पिङ लगाउनु-खेल्नुले एकातिर मान्छेको कलालाई उजागर गर्दछ भने अर्कोतिर मानशिक र शारिरिकरुपमा स्वस्थ बनाउन मद्दत गर्दछ । त्यसैले दशैंलाई धर्मबाट अलग गरेर विशुद्ध साँस्कृतिक पर्वको रुपमा मनाउने हो भने कसैले स्विकार र बहिस्कार गर्नु पर्ने प्रश्नै छैन ।

Wednesday, September 22, 2010

पोखरा सर्जक र सिर्जना


Indra Narthunge
"मेरै हिमाल जस्तो हेरी रहुँ पोखरा …"
कवि तिर्थ श्रेष्ठका यी गीतिहरफले नछुने कुन मान्छे होला र ? जो पोखरेली होस् वा पोखरालाई एक पटक साक्षात्कार गरेको नेपाली या विदेशी नै । हिमाल र पोखरा अनि पोखरा र फेवाताल, जोसँग मन कतिखेर साटिन्छ कसैलाई थाहा हुन्न । फेवाको कन्चन जलरासीमा कुमारी माछापुछ्रेको स्निग्ध प्रतिविम्ब पौडिरहेको जब कसैको नजरमा पर्छ ऊ बेखवर बन्छ आफैसँग । यो दृश्य नियाल्न नसकेरै सर्मले सेती लुकेकिछिन् र पातले छाँगो हराएको छ पाताल भित्रै ।
भावनामा बग्नेहरुको लागि पोखरा आफैमा एउटा कविता हो । सेताम्य चाँदी छरेर ङिच्च हाँसिरहेका हिमचुचुराहरुमा सूर्यले लालिमा जव पोत्न थाल्छ तिनीहरु एकाएक फेरिन्छन् सुनौला ढिक्काहरुमा । र, बादलुको हल्का पर्दाले शिर छोप्न खोज्दा विवहाको मण्डपमा बेहुलासँगै बसिरहेकी नव वधुको प्रतिक बन्छ त्यहाँ । नव बधुको पाउ पखाल्दै ओह्रालो भागिरहेकी सेती, पोखराको सिमाना छोएपछि सुस्तरी बजाउन थाल्छिन् आफ्नो नुपूर छन्…छन्…छङ्…छङ्……
हो प्रकृतिका यही सुन्दर बान्कीहरुलाई नियाल्दै धेरै पोखरेलीहरु राष्ट्रको नाक थाम्न सफल भएका छन् । साहित्य, संगित कला र संस्कृतिमा पोखरा र पोखरेलीहरुको स्थान अग्रणी छ । जसरी पोखराको चर्चा सर्वत्र छ, पोखरेली सर्जकहरुको योगदानले पोखरालाई उसैगरी चर्चित बनाएको छ । पोखरा कवितामा लेखिएको छ, गीतमा गाइएको छ कथा र उपन्यासहरुमा छरपष्ट हुँदै चित्रहरुमा सजाईएको छ । हिजो कवि शिरोमणी लेखनाथ पौडेलले नेपाली साहित्यको एउटा युगलाई पोखराबाटै बोके पोखराको घामपानीलाई नियालेर ऋतु बिचारुहरु लेखे । जनकवी केशरी धर्मराज थापा र लोककवी अली मियाँहरु पोखरेली माटोमा जन्मे, रोधी घर धाउँदा-धाउँदै गीत र साहित्यमा रसम भिजाए । पोखरा आसपासकै हरियो डाँडामा हलो जोत्नेहरुलाई देखेर धर्मराजले "हो हो तारे हो हो... हो हो माले हो हो…" भन्दै नेपाली साहित्य र संगितलाई सिमाना पार गराए । जोमसोमबाट पोखरा नझरेका हुन्थे भने स्वर्गिय भूपि शेरचनको कविताहरुले पाठकहरुको मन छुँदैन थियो होला । नारायण गोपाल र पेमाला गुरुवाचार्य विवहा पछि पोखरामा लुक्न नपुगेका हुन्थे भने भूपिको शब्दमा स्वर सम्राटले "अल्झेछ क्यारे पछ्यौरी तिम्रो…" गाउन पाउँथेकी पाउँथेनन् यसै भन्न सकिन्न । पहिलो पुस्ताका कवि शिरोमणी दोश्रो पुस्तका जनकवि केशरी, लोक कवि र भूपि मात्र होईनन् दोश्रो पुस्ताको पाईला खप्ट्उयाउँदै आएका कवि कुलवहादुर केसी कवि एवं समालोचक डा. रविलाल अधिकारी, डा. गेहेन्द्रमान उदास 'पोखरेली' र तेज ढकालहरु पोखराबाटै प्रगतिशिल साहित्यलाई मलजल पुर्याई रहेका छन् ।
पोखराले जन्माएका सरुभक्त पोखरामै बसेर 'पागल बस्ती' लेख्छन् र मदन पुरस्कार हात पार्छन् । कवि तिर्थ श्रेष्ठ र रमेश श्रेष्ठ मात्र होईन गीतकार गजलकार एवं कवि प्रकटपगेनी शिवको सिर्जना थलो पोखरा बन्दै आएको छ । कवि एवं गितकार विनोद गौचन कवि विष्णु अल्पविराम र सूर्य खड्का 'विखर्ची' हरु फेवानगरीका सिर्जना हुन् र त्यही बसेर साहित्य सिर्जनामा सकि्रय छन् । सरुभक्तको छत्रछाँयामा हुर्कन्दै आएको पोखरेली नाट्य लेखनमा अनुप बराल, कृष्ण उदासी र घनश्याम लामिछाने 'दुखी'हरुले मलजल पुर्याउँदै आएका छन् । 'उदासी' नाट्य विधामा मात्र सकि्रय छैनन् उनी सफल कवि पनि हुन् र उपन्यास समेत लेख्न भ्याएका छन् । त्यसो त घनस्याम लामिछाने 'दुखी'का कलमबाट थुप्रै गीतहरु जन्मेका छन् । र, उनकै कथामा केही भिडियो फिल्म समेत निमार्ण भएको छ । कवि लक्ष्मण थापा, धनप्रसाद तामाङ, रोशन शेरचन, स्ट्रगल राना र ईश्वरमणी अधिकारीहरु पोखराले जन्माएका सर्जकहरु हुन् । लोकदोहोरी गायनको क्षेत्रमा हरिदेवी कोईरालाको नाम नसुन्ने कमै मान्छेहरु होलान् तर हरिदेवी कवयत्री हुन् भनेर थाहा पाउनेचाँहि कमै छन् । पोखरेली माटोमा मिसिएको साहित्यिक सुगन्धले हरिदेवीलाई पनि नछोईरहन सकेन । "न घाम झर्यो न जून झर्यो" कविता संग्रहमा हरिदेवी कवयत्रीको रुपमा जन्मिएकी छिन् । पोखरामा कुनै समय उषा शेरचन एक्लैले महिला कवयत्रीहरुको सिङ्गो प्रतिनिधित्व गरेकी थिईन् साहित्य लेखनमा । तर अव त्यो अवस्था छैन सरस्वती प्रतिक्षा र सुस्मा पौडेलहरुको नाम विस्तारै पोखरेली सर्जकहरुको बिचमा स्थापित हुँदै गईरहेको छ । गजल साहित्य पनि पोखरामा उसैगरी फस्टाएको छ । दिलिप दोषीहरु गजलकै लागि मरिमेटेर लागेका छन् । अनुराग अधिकारीको गजल संग्रह पनि पोखरेली माटोकै सिर्जना हो ।
पोखराभन्दा बाहिर जन्मेर पोखरेली माटोमा कर्म रोपिरहेका आरजु विष्ट 'सल्यानी' लाई पोखराले नै गीतकार र गजलकारको रुपमा चिनाएको छ । त्यसो त उपन्यासकार नरु थापाले आफ्नो पछिल्लो ऐतिहासिक उपन्यास 'पृथ्वी नारायण' को अधिकाँश भाग पोखरामै बसेर लेखिभ्याएका हुन् । पत्रकार अमृत भादगाउँले ले आफ्ना दुई कृतिहरु "पोखरेली नवरत्न" र "असल गुरु" को लेखनआधार पोखरालाई नै बनाए । भादगाउँलेले आफ्नो पहिलो कृतिमा पोखरा उपमहानगरपालीकाबाट "पोखरेली नवरत्न सम्मान" पाएका नौ जना साधकहरुको जीवन चित्र उतारेका छन् भने "असल गुरु" शिक्षासेवी जोर्ज जोनको जिवनी हो ।
कवि शिरोमणी लेखनाथ पौडेललाई नेपाली बाङ्मयमा छन्द शिरोमणीको रुपमा पनि चिनिन्छ । नेपाली कविताले उत्तरआधुनिक युगमा फड्को मारेको धेरै भईसक्यो । तरपनि कवि शिरोमणीको विरासत थाम्न माधव वियोगीहरु उतिकै सकि्रय छन् पोखरामा । पोखरालाई नेतृत्व प्रदान गर्न निर्वाचित भएका पूर्व मेयर कृष्ण थापाको कलम पनि गीत लेखनमा होमियो । त्यसैले त सबै पोखरेलीहरुलाई आह्वान गर्दै उनले गीत रचना गरे "श्रम सीप जुटाऔं पोखरालाई उठाऔं...." पोखरामा बस्दा बस्दै जन्म थलोको सम्झनामा वसन्ती लालचनको पनि हात चलेको छ । पोखराको सिधै उत्तरपट्टी पर्खाल बनेर उभिएको माछापुछ्रे छिचोलेर उनको नजर मार्फामा पुग्छ र शब्दहरुमा समेटिन्छ "क्या राम्रो स्याउ बारी मार्फा गाँवैमा……"
पोखरेली सर्जकहरु लेखनमा मात्र होईन लेखनलाई गति दिन साँगठानिक दृष्टिले पनि अग्र स्थानमा छन् । तीसको दशकमा भक्त श्रेष्ठ सरुभक्त नभै उनकै अगुवाईमा टिकटमा मुक्तक बाचन कार्यक्रमले अधिराज्यभर चर्चा पाएको थियो । मुक्तक सुनाउन राजधानी लगायत देशको विभिन्न स्थानबाट सर्जकहरुको ओईरो लाग्थ्यो पोखरामा । मुक्तक सुन्न टिकटको खोसामारी चल्थ्यो । त्यही पोखरेली सर्जक सरुभक्त अहिले "संरक्षण कविता आन्दोलन" लिएर गाउँगाउँ चाहार्दै छन् । नेपाली साहित्यको ईतिहासमा पहिलो पल्ट संरक्षण कविता आन्दोलनले अन्नपूर्ण वेसक्याम्प सम्मको यात्रा पार गरेको छ । सरुभक्त मात्र होईनन् कवि तिर्थ श्रेष्ठहरु पनि "अक्षर यात्रा" मा सर्जकहरुलाई लिएर नविन साहित्यको खोजी गर्दैछन् । पोखरा आसपासका रमणीय स्थानहरुको साहित्यिक भ्रमणगरी यथास्थानमा साहित्यको सिर्जना गरेर बाचन पनि गर्ने यो नविन शैलीले सर्जकहरुमा नविनताको खोज गर्न उत्प्रेरित गरेको छ । धनप्रसाद तामाङ र स्ट्रगल रानाको "असार र सिर्जना" ले दशौं शृङ्गखलाहरु छिचोली सकेको छ । दिलिप दोषीहरुको "गजल सन्ध्या" र पोखरेली युवा साँस्कृतिक परिवारको "साहित्य सन्ध्या" ले नयाँ-नयाँ सर्जकहरु जन्माउने र सिकारुहरुको कमल तिखार्ने काम गरिरहेको छ । यो यात्रामा लक्ष्मण थापाहरु पनि सामेल छन् । थापाको अगुवाईमा छोरेपाटन उच्च मावीको प्राङ्गणमा धेरै साहित्य शृङ्गखलाहरु सम्पन्न भईसकेका छन् । "छन्द बचाउ अभियान" का एक्लो बृहस्पती माधव वियोगी पनि छन्दमा कविता लेख्न प्रशिक्षण नै सन्चालन गर्दै हिडिरहेका छन् । नेपालकै सबैभन्दा धेरै विध्यार्थीहरु अध्ययन गर्ने थलो पृथ्वीनारायण क्याम्पस आफैमा साहित्य घरझैं बनेर उभिएको छ । जहाँ अग्रज साहित्यकारहरु प्राध्यापन पेशामा संलग्न छन् र विध्यार्थीहरुलाई साहित्य सिर्जनामा तान्न हरसम्भव प्रयास गरिरहेका छन् । नेपाली साहित्य विषय लिएर अध्ययन गर्ने विध्यार्थीहरुको अगुवाईमा साहित्यिक संस्थानै स्थापना भएको छ क्याम्पस भित्र । स्वतन्त्र विध्यार्थी युनियन मात्र होईन िसंगो क्याम्पसनै साहित्यको उत्थानमा सकि्रय छ । हरेक असार २९ गते आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तिको विशेष कार्यक्रम क्याम्पसमा हुने प्रमुख साहित्यिक कार्यक्रममा पर्दछ । जुन कार्यक्रममा नेपालका विशिष्ठ साहित्यकारहरुको उपस्थिती हुने गर्दछ । संस्थागत रुपमा हेर्ने हो भने कवि तिर्थ श्रेष्ठहरुको अगुवाईमा स्थापना भएको र हाल उनीहरुकै रेखदेखमा सन्चालन हुँदै आएको पोखरेली युवा सांस्कृतिक परिवारको नाम अग्रणी स्थानमा छ । बेलाबेलामा हुने प्रभातफेरी देखि बरिष्ठ साहित्यकारहरुको अभिनन्दनको नेतृत्व पोखरेली युवा सांस्कृतिक परिवारले गर्दै आएको छ । अर्कोतिर साचारको सन्जाल फैलने क्रममा पोखरामा स्थापना भएका एफ.एम.हरुले पनि साहित्य र सर्जक दुवैलाई प्राथमिकता दिदै आएका छन् । माछापुछ्रे एफ.एम.ले आफ्नो बार्षिक उत्सवमा कविता प्रतियोगिता सन्चालन गर्नु र रेडियो अन्नपूर्णले लोककवि अलिमियाँको अभिनन्दन एवं अलिमियाँको नाममा कोष खडा गर्ने अभियान सन्चालन गर्नु दुवै साहित्य प्रतिको झुकावकै उपज हुन् । त्यसो त पोखराले साहित्यकार र साहित्यिक संस्था जन्माउन मात्र होईन पोखरा बाहिरका सर्जकहरुलाई सम्मान दर्शाउन पनि जानेको छ । राष्ट्रकवि माधव घिमिरेको पोखराको अभिनन्दनको कुरो खोतले मात्र काफी हुन्छ । हजारौं पोखरेलीहरुले सहभागिता जनाएको सो रथयात्रा पोखराको ईतिहासमै नबिर्सने क्षणको रुपमा अंकित भएको छ ।
पोखरा-पानी जमेको तलाउ वा पोखरी । पानी-सर्जकहरुको कलममा घुलिएको मसी । त्यही मसी सर्जकहरुको कलमको निब भएर पोखिन्दा पोखरा-पोखरा भएको छ । जसरी पोखराको सौन्दर्य उत्तरतिर चुलिएका हिमचुलीहरुमा खुल्छ त्यसैगरी निबबाट बगेको पानीमा खुल्ने गर्छ । पोखराले नै जन्मायो कवि शिरोमणी, जनकवि केशरी र लोक कविहरु पोखराले नै हुर्काई रहेको छ पागल बस्ती र सरुभक्तहरुलाई । फेवा, बेगनास र रुपामा जबसम्म पानी जमिरहन्छ तबसम्म पोखरेली सर्जकहरुले समातेको कलम भएर सिर्जनाहरु जन्मिरहने छन् । कुमारी माछापुछ्रे साक्षी छ भोली सयौं कवि शिरोमणी र सरुभक्तहरुको जन्म र कर्म थलो पोखरा बन्ने छ ।
काब्यकुन्ज पोखरा तिम्रै सम्मानमा यी शब्दहरु अर्पण गर्दछु । अस्तु
हालः मलेसिया

Monday, September 20, 2010

साकेला उभौली उधौली र सिली : किरातहरूको आस्थाको धर

-चतुरभक्त राई
पृष्ठभूभि
संसारका हरेक जातिहरू कुनै न कुनै संस्कार, संस्कृति, विश्वास र आस्थामा आवद्ध रहेका हुन्छन्। यो उनीहरूको ऐतिहासिक सम्बन्धको द्योतक पनि हो। मानवको सृष्टिसंगै उनीहरूले लामो समयदेखि गरेका अनुभव व्यवहार र प्रचलनले धर्म, संस्कृति र परम्पराको स्वरुप धारणगर्न पुगेपछि यसैलाई आजतक मानवजगतले निरन्तरता दिई आएका छन। यो परम्परा र संस्कृति भित्र ठूलो इतिहास लुकेको हुनाले यसको क्रमबद्ध अध्ययन र खोज गर्ने जिम्मेवारी आएको छ। त्यस्तै विविध परम्पराहरूमध्येको किरात राईहरूले वार्षिक रुपमा दुईपटक बैशाखे र मंसिरे धान्यपूर्णेदेखि मनाउने साकेला उभौली र उधौलीचाड किरातहरूको लागि अपार मनोरञ्जन र खुसीको विषय पनि भएको छ। त्यसैले यसैलाई मूख्य विषयवस्तु बनाएर यहाँ साकेला पूजा र यसका सिलीहरूको प्रकार भनेर प्रष्टयाउने प्रयास गरिएको छ। यो चाड किरात राईहरूले मात्र होइन किरात समुदायमा पर्ने लिम्बु, याक्खा र सुनुवारहरूले पनि चासोक, स्याँदर तथा फोलस्याँदर आदिको रुपमा मनाउने गरेको पाइन्छ। त्यसैले यसलाई सम्पूर्ण किरातहरूको साझा चाडको रुपमा सुभकामना आदानप्रदान गर्ने, नरनाता छोरीचेली भेट्ने, मनोरञ्जन गर्ने, एकअर्कावीच शुभकामना आदान प्रदान गर्ने सुनौलो अवसरको रुपमा पनि लिइन्छ। यो परम्परा पुरानो भए पनि सरकारर्‍ारा यसअघि कुनै मान्यता दिइएको थिएन तर यसै वर्ष २०६५ देखि वार्षिक रुपमा बैशाखे र मंसिरे पूर्णेमा दुईदिन सार्वजनिक विदा दिने निर्णय भएकाले यसलाई किरात जातिहरूको लागि एउटा महत्वपूर्ण उपलब्धिको रुपमा मान्न सकिन्छ।
२) उद्देश्य : साकेला र साकेला सिलिको प्रकार र त्यसको प्रयोगमा क्रमिकता ल्याउन जानकारी दिने यस लेखको मुख्य उद्देश्य हुनेछ।
३) अध्ययनको पद्धति : प्राथमिक आँकडाको रुपमा स्थानीय क्षेत्रको साकेला थान र त्यहाँ देखिएको साकेला सम्बन्धि अभिनयात्मक दृष्यहरुको अवलोकनबाट टिपोट गरियो। नक्छो र ताया-तंकु र मस्यूमदि (परम्परागत रुपमा धामीसँग नाच्नलाई बाँधिएको टोली)हरुलाई सोधखोज गरि प्राप्त गरेका आँकडाहर रहेकाछन भने िर्‍तिय आँकडाको रुपमा किरात धर्म संस्कार संस्कृति सम्बन्धि प्रकाशित भएका विविध विर्‍ानहरूको लेख रचना तथा पुस्तकहरूलाई आधार मानी आँकडाहरू प्रयोग गरिएको छ।
४. साकेलाको अर्थः साकेला भन्नाले सिमित अर्थमा भूमी वा आराध्यदेव मानिएको शिला वा ढुङ्धाको पूजा हो। यो शिलालाई श्रृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीक मानी पूजा गर्नु नै साकेन्वाज्ञवा साकेला हो। बृहत अर्थमा उनै आराध्य भूमिदेव तथा धरतीकी प्रतीक नायम तथा सुम्निमा आकाशको प्रतीक पारुहाङ, भूमिदेवलाई अन्न प्रदान गर्ने माताको रुपमा पूजागर्न आरम्भ गर्ने हेच्चाकुप्पा र नागेलुम (सिक्रिमा) तथा कपडा बुनाईको शीप आविष्कार गर्ने तोयामा खियामा जस्ता श्रष्टाहरूले प्रतिपादन गरेको किरात संस्कार संस्कृति जसमा ढोल, ढयाम्टा, अर्नाको सिं (भँु), सिरिमी जस्ता सांगीतिक बाजाहरूको साथमा रिसिय गाउँदै सिली नाचिने नाचगानको स्वरुपलाई साकेला नामले पुकारिन्छ। विविध किरातहरूको भाषामा साकेन्वा, साकेवा, साकेला, तोषी, ष्याँदर, साकेल, साखेल, साकेल, तोष, साक्खेवा, साखेल, साकेन्वाद्द खाउमो,घ चासोक, जस्ता अनगिन्ती शब्दहरू हुँदाहुँदै हिन्दुहरूको प्रभावमा परेर कतिपय किरात संस्कृतिविदहरूलेसमेत साकेलालाई हिन्दु दुर्गादेवी चण्डी र त्यसैसंग सम्बन्ध राख्ने तीथिमितिसमेतलाई जोड्ेर चण्डीपूर्णे भनेको पनि पाइन्छ। चण्डीभित्रको कथावस्तु तथा महात्म्य किरातको पारुहाङ, नायम, सुम्निमा, तायामा, खियामा, खक्चिलिपु, नागेलुम तथा सिक्रिमाहरूसंग कुनै मेल खाँदैन त्यसैले चण्डीपूर्णे भन्नु असान्दर्भिक हुने भएकाले किरात राई यायोक्खाले किरात भाषामा नै साकेला वा अन्य किरात भाषी नामबाट संबोधन गरिनु पर्र्दछ भन्ने आव्हान गरेको छ।
५. साकेलाको उद्गमस्थल : किरातहरू प्रारम्भमा काठमाडौंदेखि पूर्व पल्लोकिरातक्षेत्रसम्म छरिएर वसेको हुनाले प्राय गाउँ नै पिच्छे आ-आङ्गनो परम्परा वंश र स्थानसंग जोडेर भूमेदेव वा साकेलाको उत्पत्ति भएको बताउँने गरेका छन। यस्ता अनेकौ मिथकहरूको संकलन गर्ने हो भने एउटा ठेली नै बन्न सक्तछ। तिनीहरूमध्ये निम्न केही मिथकहरूको चर्चा यसमा गरिनेछ

क. काठमाडौंमा रहेको किरातेश्वर महादेवलाई किरातीहरूले हेर्न नहुने भएकाले कुनै एकजना किरातीले त्यहाँको सानोढुङ्धा मागेर लैजाँदा अरुणको छेउसम्म पुग्दा बिशाल भयो तर हलौं थियो। ति किरातीले जहाँ जहाँ बिसाएका थिए त्यहाँ त्यहाँ साकेलाको उत्पत्ति भयो। यसरी ढुङ्धा लगिएपछि काठमाडौंमा प्रलय भएकाले ढुङ्धा उतै फर्काइयो। यस मिथकले साकेलाको उत्पत्ति मल्लकालिन हो भन्ने जनाउँछ।
ख. अर्को मिथकमा भोजपुर हतुवा र आम्चोकतिरका बान्तवा राई नाम्नु माङफाङ र हाङखिमले बालीखाने सुगुर मार्दा सेता ढुङ्धामा परिणत भई पारुहाङ् र सुम्निमाको चाल भनी बोकेर डम्बर्खुमा ल्याईपुर्‍याउँदा ढुङ्धा एकाएक भासियो। यसैलाई साकेलाको थान मानेर छोङ्खामा बजार लगाउन थालिएबाट साकेलाको पहिलो उत्पत्ति भएको हो छ भन्ने भनाई रहेको छ।
ग. कसैले दोलाखाको बुद्धहाङ राजा र उनका बहिनी सोइसोइलाको घतलाग्दो मिथकसंग साकेलाको उत्पत्तिलाई जोडेका छन्। किरात पुर्खाले गुमाएको उपत्यका फिर्ता गर्ने उद्देश्यले हेम्कुमबुङ देवको स्थापना गरी पूजागर्ने कार्यमा सरिक हुँदा बहिनी सोइसोइलाले बुनेको सेवारी (पगरी) दाज्यू बुद्धहाङ्लाई लगाईदिन खोज्दा खोज्दै रजस्वला भएकीले काँधसम्म पुर्‍याएर छोडिन र उनी त्यहाँबाट नफर्किने गरी हिडिन। उपस्थित जन सबैले 'दोलोकुम्मा दो सोइसोइला' (सेवारी कुम्मा छ लगाईदेउ सोइसोइला) भनेर गीतको भाकामा बोलाउँदा पनि सोइसोइला आइनन्। आखिर कुमको सेवारी भूइमा खसेपछि तुरुन्त ढुङ्धामा परिणत भयो र त्यसैलाई पूजागर्ने परम्पराबाट साकेला उत्पत्ति भएको हो। ट यस मिथकले मल्लकालिन अवस्थामा दोलाखामा साकेला उत्पत्ति भएको जनाउँछ।
घ. चौथो- तायामा खियामा हेच्चाकुपा, नागेलुम तुवाचुङडाँडा सेरोफेरो प्रारम्भिक उत्पत्ति स्थल : माथि प्रस्तुत भएका मिथकहरू भन्दा भरपर्दो मिथक तायामा खियामा हेच्चाकुप्पा र नागेलुम वा सिक्रिमा जस्ता आदिम पात्रहरूसंग सम्बन्ध राख्ने तायामा खियामा हेच्चाकुप्पा नागलुम भूमि मुख्यत खोटाङको हलेसी, गाबिसको काभ्रैमा रहेको तुवाचुङडाँडा र सल्लेको चिचिङ्धा गाउँलाई साकेला र सिलीको उद्गमस्थल मान्ने गरेको पाइन्छ। यो तुवाचुङडाँडालाई तुवातुङ, तायाचुङ, तायामा वा तोयामा, खियामा, तमा वा तोमा, खेमा, जायाजुम, मलथुम्का, ग्रमुलजु, दिदीवहिनीडाँडा जस्ता विविध नामहरूले बोलाइन्छ जहाँबाट साकेला र सिली मात्र होइन कपास र अल्लोको कपडाबुन्ने शीपको विस्तार अन्य किरात राईहरूको वस्तिमा विस्तार भएको तथ्यलाई पुष्टि गर्ने सप्रमाणिक भौतिक यथार्थ तोमाखेमाडाँडामा रहेको छ। यो यथार्थ तोयामा खियामा हेच्चाकुपा र नागेलुमको जीवनगाथा बुझेको ब्यक्ति जसले यो भूमि एकपटक स्पर्श गरेको छ उसलाई मात्र सत्यता हो भन्ने लाग्छ। सम्पूर्ण किरात राईह194रूमा मिथकको भाव उद्देश्य र पात्रहरू समान खालको रहेको र यस प्रकारको भूमिको वर्णन अन्य कुनै मिथकले पनि आजसम्म पेश नगरेको हुनाले यही तायामा खियामा हेच्चाकुपाको भूमिलाई किरात धर्म, संस्कृति र सम्भताको केन्द्रबिन्दु मान्न सकिन्छ।
६. तायामा खियामा हेच्चाकुपा भूमिको सप्रमाणिक तथ्यहरूको स्थिति : जातीय चेतनाको अभाव र सरकारी संरक्षण नपाएको हुनाले तुवातुङडाँडाको वस्तुगत प्रमाणहरू लोपहुँदै गैरहेको छ। प्रमाणिक ढुङ्धाहरू फुटाई चौतारो चिठ्ने, बाटो बनाउने, देवीको मन्दिर तथा देवताथान बनाउने, जानी वा नजानी ढुङ्धाहरू ओरालो लडाईदिने, पूर्व बनिबनाउ थानहरू भत्काईदिने, ढुङ्धाहरू फुटाईदिने जस्ता कार्यहरूले गर्दा के वास्तविक तायामा खियाको थान यही हो त भन्ने शंका लाग्न सक्छ तथापि मिथकले प्रस्तुत गरेअनुसारको प्रमाणहरू अद्यावदी छँदैछ। अहिलेसम्म बचेको त्यस्ता प्रमाणहरूमा तानबुन्ने ठाउँ, टुकीराख्ने ढुङ्धाका अर्ध खोपिल्टा, तानबुन्ने प्रयोजनको लागि गाडिएका ढुङ्धाहरू, तायामा, खियामाले प्रयोग गरेको प्राचीन ओडार जस्ता पुराना अवशेषहरू रहेकाछन्। त्यसैगरी तुवाचुङ्डाँडाबाट करिब एकघण्टा टाढा रहेको चिचिङ् गाउँमा हेच्छाकुप्पाले निकालेको पानी र त्यसैको समिपमा रहेको हेच्चाकुप्पाको समाधिस्थल जस्ता प्रमाणहरू पनि अद्यावदी छंदैछ। दिक्तेल सदरमुकामबाट हलेसी महादेवस्थानसम्म जाने मूलबाटोमै तुवाचुङडाडा अवस्थित रहेकाले बाटो हिड्ने जान्नेसुन्ने सवैले तुवाचुङलाई यही नै हो तोयामा खियामाको तानबुन्ने थलो भन्दछन्। यही डाँडाको आसपासमा अर्खौले, हलेसी, सल्ले नामका गाउँहरू पनि रहेका छन। हलेसीको गुफादेखि साल्पासम्म छुने लामो पहाडी श्रृङ्खला रहेको र यही बाटो गरेर हेच्चाकुप्पा कहिले फूलबिसौनाहुँदै साल्पा, इर्खुवा चिर्खुवाको सिरसम्म पुग्ने, कहिले रावाखोला दुधकोशीसम्म माछा मार्न जाने र कहिले मधेशसम्म पुग्ने गरेको भनाईरू पुर्खाहरूले गर्दै आएको पाइन्छ।
७. तोमा खेमा हेच्चाकुप्पासम्बन्धि छोटो मिथक : सृष्टिको आरम्भतिरकै कुरा हो पापा पातेसुङ र आमा दिलीदुमको मृत्यूपछि तोमा, खेमा र हेच्चाकुप्पा टुहुरा भई चेलीहरूबाट बढोदुःखले माइती हेच्चाकुप्पाको लालनपालन हुन्छ। अर्काको जाँतोबाट सामल संकलनगरी पकाएको भात भाइले अन्जानमा घोप्ट्याएपछि दिदीहरूले भाइलाई कुट्छन्। भाई रुँदारुदै निदाउँछ, उठाउँदा उठ्दैन। भाई मरेको ठानी चिहान खनेर त्यसमा चिण्डो, केराको थाम र कालोपातीको झिक्रा प्रयोगगरी भाइकै पुत्ला बनाएर गाडी छेउमा एउटा केराको बोट रोपी एउटा कर्दसमेत छोडेर दिदीहरू बाटो लाग्छन् र अहिलेको तुवातुङडाँडामा आईपुग्छन्। त्यहाँबाट पनि दिदी डाँफेभई लेक र बहिनी धनेशभई बेंसी झर्छन। हिड्न अघि मृत या जीवित थाहा पाउन फूल रोप्छन। बहिनी चञ्चले भएकीले लाटकोसेरोले मारेर खान्छ र हाडहरू मात्र बाँकी राख्छ। पछि बहिनीको फूल मरेको देखी दिदीले बहिनीको हाडखुर जम्मागरी रिसीय गाएर ब्यूताई सोही तुवातुङडाडामा कपडा बुन्ने घरेलु उद्योग स्थापना गरी बस्छन। यता हेच्चाकुप्पा निन्द्राबाट व्युँझदा दिदीहरू हुदैन। रोइकराई गर्छ तर दिदीहरू नआएकाले कर्द टिपेर केराको बोटलाई डर देखाएपछि केरा पसाएर पाक्छ र त्यसैलाई खान्छ। उ सिकारी बन्छ र तामेढुक्कुर पासोमा पार्छ। त्यसको गाँडबाट अन्नका बिजहरू फेलापारी त्यसलाई घुरानमा फाल्छ। पछि लहलह भएको अन्न फल्छ। त्यसैलाई संकलन गरी खेतीपाती गर्न थाल्छ र कृषक बन्छ। कहिले माछा मारेर खान्छ। त्यहीक्रममा उसको नागको छोरी सिक्रिमासंग विवाह हुन्छ। विवाह पश्चात उ अन्नको अझ धनी हुन्छ। एकदिन हेच्चाकुपालाई नयाँ अन्नको खाना खाएपछि मातलागेर बेरामी पर्छन्। यसको कारण सिक्रिमाले -"तिमीले तिम्रो पुर्खाहरूलाई अर्पण नगरी खाएको हुनाले यस्तो भएको हो" भन्छिन। त्यस वर्ष त्यत्तिकै भयो। अर्को वर्ष उधौलीको समय आयो नयाँ अन्न घरमा भित्रियो। पुर्खालाई चढाउने बेला पनि आयो। तर कसरी चढाउने भन्ने ज्ञान हेच्चाकुप्पालाई नभएकाले सिक्रिमाकै सल्लाह अनुसार पुर्खाहरूलाई चढाउने व्यवस्था हुन्छे। नयाँ अन्न पोली पकाई चुल्हाको वरीपरी राखियो। तर चेलीको अभावमा त्यो अपूर्ण हुने भएकाले चेलीहरू खोज्न विभिन्न जीवहरू-जुम्रा, उडुस, बाख्रा पठाइन्छ। तर सफल हुदैन। त्यसपछि उपिया पठाइन्छ। उपियाँ उफ्रदै गएर तोयमा खियामालाई भेटी टोक्न थाल्छ। उपयालाई पक्रेर मार्न टाउको किच्याउँदा उपियाँ उछिटिएर भाग्छ र दुबोको त्यान्द्रोले टाउको बाँधी तोयमा खियामा तुवाचुङ् डाडामा रहेको खबर दिन सफल हुन्छ। चिचिङ्धावासी पुर्खाहरू उपियाँ उफ्रदै गएको बाटो त्यही हो भनेर अहिले पनि चिनाउँछन। अन्त्यमा तोयामा खियामा ल्याउन कुखुराको भाले तुवाचुङडाँडा पठाइन्छ। भाले त्यहाँ पुगेर तमाखेमा खकचिलिपु (हेच्चाकुपा) भनेर बास्छ। मरेको भाईको नाम काढेर बासेको सुनी यसलाई अभास ठानेर तानको थुरी र बाइसुम (लठ्ठी) झिकेर भालेलाई झटारोले हान्छन्। झटारोले लागेपछि भालेको प्वाँख खस्ता उनीहरूले त्यसलाई थुरीमा राख्न मिल्छ भनी टिपेर बोक्छन। भाले जब गहिरा पस्छ बखान गाउँछ जब डाँडामा पुग्छ बास्न थाल्छ। एबं क्रमले भाले बास्ने, झट्टी हान्ने, प्वाँख खस्ने र प्वाँखलाई टिपेर बोक्ने काम क्रमैले हुँदै जान्छ र अन्तमा हेच्चाकुपाको घरमा आई पुग्छन। यता हेच्चाकुप्पाको घर भित्र पितापुर्खालाई अन्न चढाउने काम शुरु हुन लागेको हुन्छ। उता भालेले पनि तोयामा खियामालाई हेच्चाकुपाको घरमा उत्तिनैखेर ल्याई पुर्‍याउँछ। मरेको भाइको घरमा तायामा खियामा आउन असजिलो माने पछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवती समेत भएकीले लोभले र्‍याल चुहाउँदै आगनमा प्रबेश गर्छन र खान थाल्छन्। उता घरभित्र हेच्चाकुपाले रिभम पारुहाङ् नायम हँुदै पापापातेसुङसम्म मुदुम गाउँदै आईपुग्दा शरिरमा जोड्ले कम्प पैदा हुनथाल्छ। उनी भालासंग घर वाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुङ्धा निकाल्छन्। त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ। त्यस ढुङ्धालाई भूमेदेव साकेला मानी पूजिन्छ। (खोटाङ खार्मीका आलेख बहादुर थुलुङ राईको भ

Tuesday, September 14, 2010

पैशा र भगवान

इन्द्र नारथुङे
तीजको ब्रतको दिन मैले ईन्टरनेट खोलेर उज्यालो नाईन्टी नेटवर्कको लाईभ समाचार लगाएँ र सुन्न थालें । समय मलेसियामा मध्यान्न सवा एक भएको थियो यो समाचार नेपालबाट विहान एघार बजेको आउँदै थियो । हुनसक्छ खबरहरु बासी थिए तर मैले सो दिन पहिलो पटक रेडियो ट्युनिङ गरिरहेको हुनाले सबै ताजा लाग्दै थिए । एकादुई राजनीतिक खबरहरु पछि तिजको खबर फुक्न थाल्यो एफ. एम. ले ।
"…पशुपतिमा दर्शन गर्ने महिलाहरुको भिड, चाँडो दर्शन गर्न चाहने महिलाहरुलाई रु एक हजार तिरे पछि छुट्टै ढोकाबाट दर्शन गर्ने ब्यवस्था…..।" ठ्याक्कै यिनै शब्दहरु त होईनन् तर सत्प्रतिशत यही आशयको समचार बज्यो एफ एममा मलाई लाग्छ यो समाचार काठमाण्डौमा रहेका सबै एफ एम, रेडियो नेपाल, टेलिभिजनहरु र पत्रपत्रिकाहरु समेतले प्रशारित/प्रकाशित गरे होलान् । अझ यही समाचारलाई गणतान्त्रिक नेपाल भरीका एफ. एम. र पत्रपत्रिकाहरुले समेत हाइलाइट गरेरे सुनाए होलान् । परन्तु म उही नाइन्टी नेटवर्कको मात्र श्रोता हुन सकें । समाचार सुन्दा सुन्दै म खुब मज्जाले हाँसे । रुममा म एक्लै थिएँ र समाचार एक्लै सुने तर सुनेको कुरो केही बेरपछि साथीहरुलाई सुनाउँदा अरु साथीहरु पनि त्यसरी नै हाँसे । हाँसो प्रस्तोताको बोली वा एफ. एमको खिल्लि उडाउनु थिएन । घत त्यहाँ पर् यो-"कि आँगनको भगवानलाई पुज्न पनि पैशाको लेखाजोखा लगाउन भारतीय पाण्डाहरु पछि परेन छन् ।"
समाचारले धेरै बेरसम्म पछ्याई र् ह्यो । मैले निराहार ब्रत बसेका ती नेपाली नारीहरुको अनुहारलाई झल्झली देख्न थालें-"जो पशुपतिनाथको दर्शन गर्न मूल ढोकाको अगाडि लाम लागेका छन् । र, हेर्दा सामान्य घरानाका र मनैदेखिका पतिब्रता देखिन्छन् । उनीहरु बिहानैदेखि लाममा छन् । घाम-पानीको पर्वाह नगरी मन्दिर ताकेर उभिएको घण्टौ भईसक्दा पनि भित्र छिर्ने पालो आएको छैन । तर उच्च घरानाका केही नखरमाउलीहरु अर्को ढोकाबाट क्षणभरमा भित्र पसी पूजा गरेर फर्किरहेका छन् ।" हैन यो कहाँको धर्म हो ? म मनमनै आक्रोशित हुन्छु तर आक्रोश पाख्ने कुनै ठाउँ मेरो सामुन्ने हुँदैन ।
उही दिन मलेसियामा साढे दुई हुँदो हो । म समाचारका साइटहरुलाई बन्द गरेर फेसबुक केन्द्रित हुन्छु । फेसबुक पनि तीजमय छन् । फेसबुकको भित्ता मात्र होईन पर्सनल प्रोफाइल समेत तीजका खबर र रचनाहरुले भरिएका छन् । तर म अगाडिकै समाचारमा अल्झिरहेको हुन्छु । म रोकिन सकिन फेसबुकमा । र, पोखें आक्रोशलाई यसरी-"लौ अब भगवानले पनि पैशा हेर्न थालेछन् । आज तिजको ब्रत बसेका दिदी बहिनीहरुले हजार रुपैंया दिन साथ पशुपतिको अर्को ढोकाबाट चाँडो दर्शन र पूजा गर्न सक्ने रहेछन् । हे पशुपतिनाथ ! विचरा गरिब दिदी बहिनीहरुले अब हजार रुपैयाँ कहाँबाट ल्याउन् र तिम्रो दर्शन गर्न सकुन् लौ संहारकर्ता तिमी नै बताई देउ ।"
माथि उल्लेखित शब्दहरु प्रकाशित भएको केही समय पछि नै प्रतिकृयाहरु आउन थाल्यो फेसबुकमा । फेसबुक नियमित सन्चालनकर्ता नेपालीहरु, नेपालमा भन्दा बढी विदेशमै रहेका नेपालीहरु होलान् भन्ने मेरो अनुमान यहाँ पनि सही सावित भयो । विश्वका विभिन्न ठाउँमा रहँदै आएका फेसबुक मित्रहरुको प्रतिकृया मेरो भावनालाई समर्थन गर्ने नै थियो । मलाई लाग्यो मैले सही ठाउँमा झटारो फालेको छु ।
यो आलेख संस्मरण होईन । र, होईन बकम्फुसे गफ । धर्मको नाममा सोझा सिधा जनताहरु कसरी ठगिरहेका छन् भन्ने विषयमामाथिको सानो बहस हो । मार्क्सवादले धर्मलाई अफिमसँग दाँजको छ, नित्सेहरु ईश्वर मरिसकेका घोषणा गर्दछन् तापनि धर्मको अन्धविश्वास विश्वका जुनसुकै ठाउँका जुनसुकै स्तरका मानिसहरुमा कहिँ न कतै छिपी राखेकै छ । अझ विपन्न मुलुकका अशिक्षित जनताहरु धर्मको अन्धविश्वासमा चुर्लुम्म डुबेका छन्-जसको गतिलो उदाहरण हाम्रै देश नेपाल छ ।
दोश्रो जनाआन्दोलन पछि देश धर्मनिरपेक्ष घोषित भयो । तर ब्यवहारमा अझै धर्म निरपेक्षताको मर्म कायम हुन सकेको छैन । तर धर्मभिरुहरु र परिवर्तन पचाउन नसक्ने सिमित मान्छेहरु सोझा सिधा जनताहरुलाई नाजायज तर्कहरु पेश गरेर धर्म निरपेक्षताको बिरुद्धमा उसबेला बाटै उचाल्दै आएका छन् । आज यही धर्म रुपी कथित िसंढीमा टेकेर पूर्व राजा ज्ञानेन्द्र पुनः राजा बन्ने सपना पाली देशाटन गर्दैछन् । युवराज भइन्जेल डान्स पार्टी तर तरुनी मेला धाउने पारस शाह आज मन्दिरहरुमा पुजा अर्चना गर्न देखा पर्दैछन् । कालीप्रसाद दाहाल जस्ता ठगहरु कालीबाबा बनेर धर्म रक्षकको पगरी बाँधी नेपालमा पुनः राजतन्त्र फर्कने सपना बुन्दैछन् र त्यही मोहमा घुस्याहा खुमवहादुर खड्काहरु चुर्लुम्मै डुबेका छन् । देशमा आज सरकार बन्न सकेको छैन । संविधान बनाउने काम त्यतीकै थाँती रहेको छ । यसो हुनुमा दोष राजनीतिक पार्टीहरुको देखिन्छ । तर राजनीतिक पार्टीहरुको अन्तरकथालाई राम्रोसँग केलाउने हो भने परिवर्तन चाहने र नचाहने पक्षबीचको टकरावमा राजनीतिको हलो अहिले अड्केको छ । परिवर्तन नचाहने पक्षहरुलाई आफ्नो ठाउँमा अडिग रहन यस्तै धर्म भिरु र कुित्सत स्वार्थ पालेका तत्वहरुको साथ रहँदै आएको छ । यस्ता तत्वहरु स्वदेशी र बिदेशी दुवै छन् ।
राजनीतिमा मात्र होईन कथित धर्ममा पनि हामी पराधिन छौं भन्ने उदाहरण त्यही पशुपतिलाई लिए पुग्छ । र, नेपालमा कथित उच्च जातका हुँ भन्ने ब्रम्हाण समाजले (सिमित बाहेका अधिकांश परिवर्तनको पक्षमा छैनन्) आफू कति ठूलो रहेछु भन्ने बुझ्न पशुपति पुगे हुन्छ । नेपालको केन्द्र काठमाण्डौ र काठमाण्डौको मुटुमा रहेको पशुपति मन्दिरमा भारतीय पाण्डाहरु मात्र मूल पुजारी बन्ने नियमले के नेपालमाथि को धार्मिक हस्तक्षेप देखाउँदैन ? अनि आफूलाई उच्च जात ठान्ने नेपालका ब्रम्हाणहरु भारतीय पाण्डाहरुको आसेपासे मात्रै हुन् ? हिजो तात्कालिन सरकारले भारतीय पाण्डाहरुलाई हटाएर नेपालकै ब्रम्हाणहरुलाई मूल पुजारी बनाउने निर्णय गर्नु धर्म बिरुद्धको काम थियो कि जातीयता र राष्ट्रिय स्वाधिनताको लागि गतिलो कदम ? सरकारको सो निर्णयमा नेपालका ब्रम्हाणहरुले ठाडो शिर बनाएर जोर मुट्ठी उचाली समर्थन गर्नु पर्नेमा किन चुपचाप बसे ? परिवर्तनसँग डराउने यथास्थितीबादीहरुको विरोध आउँदा किन उनीहरुले आवाज उठाउन सकेनन् ? ब्रम्हाण समाज मात्र होईन धर्मको नाममा दिनदिनै पशुपति पुग्ने मान्छेहरुले समेत पशुपतिनाथको पराधिनताको बिरुद्धमा किन बोल्न सकेनन् ?
हिन्दु सम्प्रदायका आस्थाको केन्द्र पशुपतिनाथको दर्शन गर्न समेत अब धेरै पैशा तिर्नु पर्ने भएको छ । के भगवान धनीहरुको मात्र हो ? हिन्दु सम्प्रदायले सबैभन्दा नरुचाएको मुस्लिम सम्प्रदायमा धनी र गरिब एकैठाउँ बसेर सहभोज गर्दछन् र रोजामा दिनभर निराहार ब्रत बस्दछन् तर हिन्दु सम्प्रदायमा पैशा भएपछि सबथोक प्राप्त हुन्छ भन्ने मान्यताले जरो गाड्दै गईरहेको छ । साँच्चै भन्ने हो भने हिन्दु सम्प्रदायमा धनीहरुको कब्जामा कथित स्वर्ग र भगवान रहेको छ । जातको नाममा धेरै हिन्दु सम्प्रदायका मान्छेहरु हिजैबाट कथित भगवान विहिन् थिए आज पैशा नभएका गरिबहरु पनि भगवान् विहिन हुँदै गईरहेका छन् ।
साँचो अर्थमा मान्छेको मनभन्दा पर अर्को कुनै पुज्य स्थल छैन र परोपकार भन्दा अर्को कुनै धर्म छैन । विश्वका जतिसुकै नाम चलेका कथित धार्मिक स्थलहरुलाई भताभुङ्ग पारे पनि कथित भगवान रिसाएर केही गर्नेवाला छैनन् (तर त्यसमा रहेको साँस्कृतिक सम्पदाहरु त्यस राष्ट्रको मात्र होईन विश्वकै गहना हो ।) यसको गतिलो उदाहरण अफगानिसतानमा तोडिएको विश्वकै अग्लो बुद्धमूर्ति र गुम्बाहरु हुन् । हामीले मान्दै आएको कथित धार्मिक स्थलहरु आस्थाका केन्द्र मात्रहुन् साँचो अर्थमा केही पनि होईनन् । तर त्यही आस्थाको केन्द्रहरुलाई पनि सिमित हुनेखानेहरुको मात्र बनाईन खोज्नु कतिसम्म सहन सकिने बिषय हो ? म यो प्रश्न तीजको ब्रतमा हजार रुपैयाँ तिर्न नसकी पशिपतिको मूलढोका अगाडि घण्टौ लाम लागेर बल्लतल्ल दर्शन गर्न भ्याएका सबै दिदीबहिनीहरुलाई सोध्न चाहान्छु ।

बुद्ध र नेपाल

Indra Narthunge
आस्थाहरुको चौबाटोमा उभिएर
आज म
यौटा अकाट्य सत्य ओकल्दैछु
बुद्ध नेपालका होईनन् ।

म,
वास्तविकतालाई एकातिर पन्छाएर
आर्दशको ढोङ रच्ने मान्छे होइन
त्यसैले त निर्धक्क भन्दैछु
बुद्ध नेपालका होइनन् ।

"बुद्ध लुम्बिनीमा जन्मिएका थिएनन्"
-म यसो भनिरहेको छैन

भनिरहेको छैन- "बुद्ध अरु कसैको हो"
मात्र,
हातमा गुलेली बोकेर
म सिकारी होइन भन्ने मानबहरुको
खोटो मनलाई
कलमका निबहरुले चिरेर
सल्यक्रीया गरिरहेको छु
मानसिक अस्पतालको इमरजेन्सी कक्षमा ।

बुद्ध-अिहंशाको पुजारी
बुद्ध- धार्मिक अन्धविश्वासका विरोधी
र,
बुद्ध समानताको पक्षपाती
म यही कुरा सोधिरहेछु तिमीलाई
कि मानवता हराएको देशमा
बुद्ध कसरी रहन सक्छन् ?

धर्मको नाममा हजारौं पशुबली दिने
तिम्रा गढीमाईहरु,
जिउभरि भिगुत घसेर
सडकमा निवस्त्र पल्टिरहेका नाङ्गाबाबाहरु,
वा
मनुस्मृतिका त्याज्य पानाहरु पल्टाएर
समाज चलाउन खोज्ने
यो हिन्दु मात्रको देशमा
भन बुद्ध कसरी रहन सक्छन् ?

बुद्ध आस्था हुन्
बुद्ध विश्वास हुन्
बुद्ध श्रद्धा हुन्
र,
बुद्ध जीवन हुन्
जहाँ एउटा अकाट्य सत्य
-मृत्यु निश्चित
त्यसैले बुद्ध
न भूत हुन् न भगवान् हुन्
बुद्ध मात्र एउटा आस्था
शान्तिको, प्रेमको…
मानवताको, समानताको…
अब तिमी आफै भन
सिमापारीका तेत्तिसकोटी तिम्रा देवताहरुमा
एक्लो बुद्ध
कसरीका हुन सक्छन् ?

"बुद्ध लुम्बिनीमा जन्मिएका थिएनन्"
-म यसो भनिरहेको छैन
र,
भनिरहेको छैन- "बुद्ध अरु कसैको हो"
मात्र
रद्दीको टोकरीमा फालिएको बुद्धलाई
अरुले हाम्रो हो भन्दा कोकोहोलो मच्याउने
ढोगी मानबहरुको
खुस्किएको दिमागको सल्यक्रीया गरिरहेको छु
कलमका निबहरुले चिरेर
कविताको इमरजेन्सी कक्षमा ।

क्वालालाम्पुरको कविता र अन्तर्राष्ट्रिय झोलको महिमा


इन्द्र नारथुङे
दाहिने हातमा रहेको माइक्रोफोनलाई थपक्क टेबलमा राखेर उनले ग्लास समाते । र, सुरुप्प ताने विदेसी वियरको एक घुट्को । अनि सुरु भयो कविताका विम्ब र प्रतिकहरुमा पिउनुको बखान......
रक्सीमा नियाल्दै जवानीको प्रतिविम्ब
वास्तवमा एउटा उदास सनिबार पिउँछु
दिन सनीबारकै हो । झण्डै रित्तो कोतरायका नेपाली होटलहरु माझ 'द गोर्खाज' को सान बेग्लै छ । अरुबेला ग्राहकहरुको खातिर छाति उदाङ्गो पारेर निर्लज्ज यताउता छरिएको देखिने टेबल-कुर्सीहरु सर्लक्कै मिलाइएका छन् । अगाडि मन्च छ र मन्चको पछाडि भित्तामा एउटा ब्यानर टाँगिएको छ । जहाँ लेखिएको छ "मनि राई गोठालेको कथा संग्रह" युध्द समाधिको विमोचन तथा एकल कविता वाचन कार्यक्रम" ।
साहित्यकार देवेन्द्र सुर्केलीले कार्यक्रमको ढोका उघारी सकेपछि प्रमुख अतिथिको रुपमा पीताको साथ देखापर्छिन् एक बर्षिया बालिका निङ्मा नुम्फुवा लिम्बु । खबरहरुमा बेखबर बनेर पीताकै साथ माचमा विराजमान हुन्छिन् निङ्मा । यताउताको चोचोमोचोहरुलाई अन्छाउँदै-पन्छाउँदै उद्घोषकले घोषणा गर्दछन् युध्द समाधिलाई सावर्जनिक गर्ने कार्यक्रमको । फूलबुट्टे कागजले ढाकिएको "युध्द समाधि" को प्रतिहरु निङ्माको हातमा थमाइन्छ र त्यसको जिलीगाँठी खोतल्न उनकै पीताले सहयोग गर्दछन् । पीताकै हातहरुले सहारा दिएपछि निङ्माले उचाल्छिन् युध्द समाधिका प्रतिहरुलाई र दर्शकदिर्घाबाट तालीको फोहरा छुट्छ परपर…र…र…र…॥
मलेसियमा रहेका नेपालीहरु माझ मनि राई 'गोठाले' कुनै नौलो नाम होइन । कविता, कथा, गजल, यात्रा संस्मरण र मलेसियाबाट प्रकाशित हुने नेपाली पत्रिकाहरुमा चोटिलो कार्टुन चित्रको साथ हरेक हप्ता झुल्कने गोठाले कोतरायमा हुने कुनै पनि साहित्यिक कार्यक्रम छुटाउँदैनन् । विभिन्न साहित्यिक संस्थाहरुले प्रकाशन गर्ने साहित्य संगालो वा स्मारिकाहरुमा गोठालेले स्थान पाएकै हुन्छन् । उनै मनि राई "गोठाले" ले तयार पारेको कथा संग्रह "युध्द समाधि" को विमोचन र उनकै एकल कविता वाचन कार्यक्रम एक साथ सनिवार क्वालालम्पुरमा सम्पन्न हुँदाको एक दृश्य हो माथिको बखान । विभिन्न परिवेश र परिस्थितिका सोह्र वटा चोटिला कथाहरु संग्रहित "युध्द समाधि" उनको प्रथम कृति हो । कथाहरुमा भन्दा पनि कविता लेखनमा बढी भिजेका गोठालेलाई बुझेरै होला आयोजकले विमोचन समारोहपछि एकल कविता बाचनको कार्यक्रम आयोजना गरेको । लगभग दुइवर्ष अगाडि कवि दिलिप राई 'सगर' को एकल कविता वाचन कार्यक्रम पछि मलेसियाको भूमिमा गोठालेको एकल कविता वाचन कार्यक्रम दोश्रो चोटी हुँदै थियो । साचारकर्मी संघसंस्थाका पदाधिकारीहरु साहित्यकार एवं साहित्य प्रेमीहरुको धैर्यतालाई चिर्दै एकल कविता वाचन कार्यक्रमको ढोका उघारी सकेपछि उद्घोषक देवेन्द्र सुर्केलीले माइक्रोफोन गोठालेतर्फ बढाउँछन् । परन्तु उनलाई हतार ग्लास उठाउनुको र ग्लासमा छचल्किरहेको अन्तर्राष्ट्रिय झोलको मोलमा झुम्नुको ।
'पारदर्शी अग्राखहरु" शिर्षकबाट गोठाले अगाडि बढ्छन् । 'एउटा सुनामी अनामिका' लाई भेनिल्लाको पातहरुसँग दजाउँदै 'को-अर्डिनेट प्लस डि स्क्वायर' छिचोलेर 'बुथुरीको साडी'सम्म आइपुग्दा श्रोता-दर्शकहरुलाई कविताको भावले सर्लक्कै रुझाई सकेका हुन्छन् । र पहिलो बिश्राम लिनु पूर्व 'स्वायत्तता' शिर्षकमा पीडाहरुलाई यसरी छरपष्ट बनाउन पुग्छन् -
आन्द्राको ब्यारेकमा
अन्नको बुलेट नपरेपछि
ढल्नु-लड्नु आफ्नै सिमानामा…॥
सून्य समयको सून्यतालाई चिर्दै गोठाले प्रति समर्पित केही गजलका शेरहरु तरङ्गित हुन्छ हलमा । दिलदुखी जन्तरे र रुवेन पुन मगर 'रन' को गजल शेरहरुमा केहीबेर थकान मारेपछि अन्तर्राष्ट्रिय झोलका घुट्कीहरु निल्दै दोश्रो चरणमा कविता सुनाउन गोठाले पुनः माइक्रोफोन समात्छन् । र 'फ्यूजन जिलेटिन' मा यसरी पड्किन्छन्…॥
कपोलकल्पित हिमालको शिर बाँधेर
के जुहारी गाउनु सगरमाथा सित…॥
'फ्यूजन जिलेटिन' मा शान्तिप्रति जाहेर गरेको प्रतिवध्तालाई उछिनेर 'माङको अह्वान' मा अस्तित्ववादलाई कविताका विम्बहरुमा उन्छन् मनि र सिमान्तिकृत समुदायको आह्वान बनाउछन् कवितालाई-
मुन्धुमले बाँधेर आफूलाई
ग्रहलाई काट्नु पर्छ च्वाट्टै....

पूर्वको ढोका थुनेर घाम नदिनु
गोडामा ढोगर दाम नदिनु
'माङको आह्वान' गोठालेको अस्तित्ववादी उत्कृष्ट कविताको रुपमा मात्र देखा परेन इतिहास गुमाएका सिमान्तिकृत जातिहरुलाई अस्तित्व रक्षाको लागि उठ्नु पर्ने आह्वान समेत गर्न भ्यायो । कवितासँगै क्रमश बग्दै गएका गोठाले पुनः प्याला उठाएर सुरुप्प अन्तर्राष्ट्रिय झोल पिउँछन् र बाचन गर्दछन् प्रेम-समर्पणका अदितिय नमुनालाई 'अन्तिम प्रतिवध्ता' शिर्षकको कवितामा । कविता पुनः प्रेम प्रसंगमा नै बग्न थाल्छ । यात्राको एउटा अकाट्य सत्यमा पुग्नु अगावै जीवन भोग्न चाहनेहरुको कथालाई हृदयस्पर्शी शब्दहरुमा 'अवोध अपिल' मार्फत बक्त्याएर गोठाले उही अन्तर्राष्ट्रिय झोलको महिमा 'सिटी स्क्यान' शिर्षकमा पोख्न थाल्छन्…॥
रक्सीमा नियाल्दै जवानीका प्रतिविम्ब
वास्तवमा एउटा उदास सनिबार पिउँछु …॥
फेरि अर्को सून्य समयको सून्य पलहरु । तर पुनः गजलका मदहोसी शेरहरुले भरिन थाल्छ । मलेसियाका आशालाग्दा गजलकार श्रीजन श्री प्यूनुकै महिमामा गजलका शेरहरु गोठालेलाई समर्पण गर्दछन्…।
सहनै नसकेपछि अलिकति नशा पिएँ मैले
श्रीजनले माइक्रोफोन बिसाई सकेपछि सन्तोष माबुहाङको पालो आउँछ गजलका शेरहरु बहाउने । राम्रै गजल लेखेर पनि दुरुस्त सुनाउन नसक्ने सन्तोषको क्रमिकता यहाँ पनि दोहोरिन्छ । सायद भीडमा उभिएर बोल्दा उनी अतालिन्छन् । सन्तोषको गजलहरुले सन्तोष दिलाएको आलो क्षणलाई उछिन्दै उद्घोषक सुर्केली पनि पुराना गजलका शेरहरु जोरजाम पारेर पोखाउँछन् गोठालेको अघिल्तिर । ग्लास भित्रको तरलतामा ठोस बन्दै गएका गोठाले सुर्केलीले पोखाएका गजलका शेरहरुमा बग्दै पुनः तेश्रो तथा अन्तिम प्रयासमा जुट्छन् । कविताले चरमविन्दु छुनै लागेझैं ग्लासप्रतिको आशक्तिले पनि उनलाई चरमविन्दुमै पर् याई सकेको हुन्छ । उनले बाचन गरि सिध्याएका दसवटा कविता भन्दा बेग्लै रुपरेखा बोकेर एघारैं कविता देखापर्छ 'तितो विकल्प' । सुनिरहँदा यस्तो लाग्यो यो कविता होइन प्रवासमा रहेका सारा नेपालीहरुको वास्तविकता हो कथा हो । देश छोड्नुको पीडामा जलिरहेका मनहरुको आर्तनाद हो र प्रवासीहरुले भोग्नु परिरहेको दारुण कहरको फेहरिस्त पनि ।
गौरवहिन हिमाल
एकचोक्टा पासपोर्टमा
च्यापेर झुक्नु
इमिग्रेसनको
ग्यारेलपील अगाडि……
'तितो विकल्प' मा हिमालको मान्छेले प्रवासमा हिमाल नभेटे पनि 'एउटा निराकार खोज' गोठालेको मुखारविन्दुबाट प्रवाहित हुन थाल्यो । 'एउटा निराकार खोज' वास्तवमै निराकारनै रहेछ । परन्तु 'पथिक मृत्युन्जय'मा गोठाले ब्यूँझन्छन् र युध्दको विभिषिकाहरुलाई पसिनामा बगाउन चाहान्छन् । छेवैमा बसेर सहयोग गरिरहेका श्रीजनले कविता एउटामात्र रहेको जनाउ दिनसाथ ग्लासमा बाँकी रहेको अन्तर्राष्ट्रिय झोल पदार्थलाई स्वाँट्ट बनाएर कविता वाचनमा जुट्छन् मनि । यस्तो लाग्छ कविताको शिर्षक 'रङ्गविहिन भीरहरु' भए पनि मनिले जताततै शब्दका रङ्गहरु छरिरहेका छन् कुनै रातो कुनै पहेंलो त कुनै निलो र सेतो । त्यसैले त अधिकार विहिन बनाइएकाहरुको कथालाई उन्छन् कवितामा…॥
केही परका चोक र गल्लीहरु
लुकेर अलिकती घाम हेर्न चाहान्छन्…॥
झण्डै तीन घण्टा अगाडिदेखि कविताको भावसँगै अविराम बगिरहेको समयलाई गोठालेको अन्तिम घुट्कोले पूर्ण विराम लगाउन सकेन । गोठाले प्रति समर्पित गजलका शेरहरु बगिनै रहे । एकैक्षणको बसाईमा विनो लामा 'दुखिया' ले दुई शेरको अपुरो गजल तयार पारे र बाचन गरिहाले । रविन्द्र राई 'अधुरो' को गजल शेरहरु पनि गोठाले प्रतिनै समर्पित हुन पुग्यो । मौकामा चौका हान्दै उद्घोषक सुर्केलीले फेरि पुरानो गजलको सुर्को खोली छाडे । र हतारहतार कार्यक्रमका सभापति धनवहादुर देवानलाई कार्यक्रम विस्रजन गर्न अनुरोध गर्दै नेपाल पत्रकार महासंघ सम्पर्क शाखा मलेसियाको बैठक भ्याउन द गोर्खाजको चौघेरबाट फुत्त बाहिरिए ।
कार्यक्रमको समापन भएपछि तितर-वितर भएको श्रोता-दर्शकको भीड केही बेरमा टेबल-टेबल जुट्न थाल्यो । सामान्य गाइँगुइँको बीचमा कतैबाट अलिक प्रष्ट आवाज आयो…'यो अन्तर्राष्ट्रिय झोलको स्वाद मीठो कि मनि दाइको कविता ?"

सिर्जना र असार


Indra Narthunge
हो हो रे हो हो हो
हो हो रे हो हो हो
रातोलाई भन्नु त्यो रातो माटो पहेंलो बेसार
एता नी पानी उता नी पानी लागे छ असार
हो हो रे हो हो हो
हो हो रे हो हो हो
कालो मेघको खास्टो ओढेर प्रकृतिले जब झमझम बर्षा बर्षाउन थाल्छिन् अनि सुरु हुन्छ किसानहरुको महान पर्व असारे रोपाइँ । मुठी खाएर मुरी उब्जाउने सिर्जनाको याम हो असार, कामको चटारोले क्लान्त भए पनि मन नथाक्ने उत्साहको याम हो असार । त्यसैले त असारे निर्झरमा रुझेर हरेक बर्ष किसानहरु रोपाइँको आनन्द लुट्ने गर्दछन् । भनिन्छ असारमा रुझ्नुको आनन्द किसानहरुलाई मात्र थाहा हुन्छ ।
असार नेपालीहरुको निम्ती सांस्कृतिक रुपले पनि त्यतिकै महत्वपूर्ण छ । असार र रोपाइँसँग जोडिएको सांस्कृतिक सम्बन्धलाई केलाउने हो भने हामी भन्न सक्छौं-असार एकता सद्भाव र सहयोगको पर्व पनि हो । असारे रोपाइँमा छिमेकीहरु पर्म लिने दिने गर्दछन् । एक दिन एक घरको रोपाइँमा गाँवै उल्टिन्छ अर्को दिन अर्को घरको रोपाइँमा सबैजना त्यसैगरी पुग्छन् । छर-छिमेकी बीचको यस्तो सम्बन्ध अरुबेला बिरलै देख्न पाईन्छ । अर्कोतिर असारको बेग्लै चिनारी पनि छ, नेपाली संस्कृतिमा । हली र बाउसेले आफ्नो काम सकेपछि असारे भाकामा गीत घन्काउँदै रोपाहारहरु हिलोमा धानको गाभो गाड्न थाल्छन् । असारमा गाइने गीतको लय बेग्लै हुन्छ । यस्तो गीत गाउनको निम्ती असार नै आउनु पर्छ, रोपाइँ नै पर्खनु पर्छ ।
कवि साहित्यकारहरुको लागि असार महत्वपूर्ण याम हो । प्रकृतिका अनुपम बान्कीहरुलाई नजिकबाट नियाल्न असारभन्दा अरु महिना फिक्कानै लाग्छन् । संवेदनशिलतानै कवि साहित्यकारहरुको गहना हो । संवेदना त्यती बेला ओईरो लाग्छ-जतिबेला प्रकृति र मानबबीच अनौठो सम्बन्ध कायम भएको होस् । त्यसैले त असारको बारेमा धेरै कविताहरु कोरिएका छन्, असारे भाकामा थुप्रै गीतहरु लेखिएका छन् । उपन्यासका पात्रहरुले थुप्रै ठाउँमा हिलोछ्यापी खेलेका छन् र संस्मरणहरुमा लेखकहरु बाउसे बनेका छन्, रोपाहार भएर धानको गाभो गाडेका छन् हिलोमा । अझ असार प्रणयको सूत्रमा बाँधिदिने याम पनि हो भन्दा फरक नपर्ला । यौवनको खुट्किलो उक्लन्दै गरेका युवायुवतिहरु धेरैले असारे रोपाइँबाटै मायाको माखेसाङ्लो बुनेको कथा किसानहरुमा सस्तै पाईन्छ । हिलोछ्यापी होस् वा गह्रामा खाल्डो खनेर रोपाहारलाई डुबाउने खेल-प्रणयकै प्रारम्भिक विन्दु हुन् ।
असार पन्ध्र नेपालीहरु माझ पर्व वा उत्सवकै रुपमा मनाईने गरिन्छ । दही चिउरा खाने दिन हो असार पन्ध्र । हुन त अरुबेला पनि दही चिउरा खान सकिन्छ । तर असार पन्ध्रमा खाएको दही चिउरासँग संस्कृति जोडिएको हुनाले यसले विशेष महत्व राख्दछ । दही चिउरा खाएर रोपाइँमा पस्नुको आनन्द नै बेग्लै हुन्छ । दही र चिउरा असार पन्ध्रमा किन र कसरी खान थालियो भन्ने ठोस प्रमाण र किम्बदन्तीहरु नपाईए पनि दही सगुनको प्रतिक र चिउरा धानकै अर्को रुप भएको हुनाले यी दुवैको संयुक्त भोजन याम सुहाउँदो पक्कै छ ।
किसान त्यो वर्ग हो जसले मानव समुदायको प्राण बचाएको छ । संसारको मैहुँ भन्ने मान्छेले खाने खुराक किसान कै पौरख हो । किसान कै पौरखमा संसार चलेको छ । यो हिसाबमा हेर्ने हो भने किसानहरु सबैभन्दा आदरणीय छन्, पूजनीय छन् । किसान धर्तिपुत्र हुन् धर्तिसँग उनको नङ मासुको सम्बन्ध छ । धर्ति न किसानबाट अलग हुन्छ न किसान धर्ति बिना बाँच्न सक्छ । युगौंदेखि किसान र धर्तीको यही सम्बन्ध कायम हुँदै आएको छ । तर युगले किसान र धर्तिलाई अलग्याउने प्रयत्न नगरेको होईन-गरेको हो । औधोगिक क्रान्तिले धर्तिको धेरै पाटोलाई किसानबाट खोसेर लग्यो, धेरै किसानहरुलाई औधोगिक मज्दुर बनायो । त्यही क्रान्तिले यस धर्तिका केही मान्छेहरुलाई अरवपति-खरबपति बनायो । ती खरबपति-अरबपतिहरुले किसानबाट धर्तिको स्वामित्व खोसे-खोस्ने क्रम जारी छ । संसारको हालत यही छ-यसधर्तिका सच्चा धर्तिपुत्रहरु धर्ति विहिन छन् । आफ्नै धर्तिमा ज्यादारी मज्दुर बनेर असारे रोपाइँ गरिरहेका छन् तर मंसिरमा धर्तिसँग साईनो न सम्बन्ध भएकाहरुको भकारीमा अन्न घोप्टिन्छ । सिर्जनाको याम असार त्यसैले त कहिले काँही विद्रोहको आवाज असारे गीतको भाकामा निस्कने गर्दछ ।
हो हो रे हो हो हो
हो हो रे हो हो हो
छुपुमा छुपु धान है रोप्नु असारे मासैमा
कतिन्जेल खन्नु साहुको खेत सुखको आसैमा
हलीले साउछ हल गोरु हो हो बाउसेले साउदैन
पुरानो रिती नतोडी हाम्रो अधिकार आउँदैन
हो हो रे हो हो हो
हो हो रे हो हो हो
नेपाली किसानहरुको ब्यथा पनि यो भन्दा फरक छैन । हजारौं किसानहरुको नाममा धर्तिको एक टुक्रो छैन, लाखौंको भागमा पाखोरेखो मात्र छ । माटोसँग अपरिचित मुट्ठीभर भू-माफियाहरुको नाममा हजारौं विगाह जमिन अलपत्र छ, जहाँ हरुवा बनेर किसानहरु रोपाइँ गरिरहेका छन् । मुट्ठी खाएर मालिकको नाममा मुरी उब्जाईरहेका किसानहरुको यो ब्याथा युगौं पुरानो हो । नेपाली माटोले धेरै पल्ट परिवर्तन भोग्यो, प्रत्येक परिवर्तनसँगै भूमिसुधारको चिल्ला नारा फलाकियो तर न भूमीहिन जनताहरुको नाममा एकटुक्रो जमिन दर्ता भयो न भू-माफियाहरुको एक विगाह जनिमनै राष्ट्रियकरण हुन सक्यो । जस्ले जमिन जोत्छ त्यो जमिन जोत्नेको हुँदैन भने त्यहाँ जोत्नेले दिलैदेखि काम गर्दैन । जहाँ मन लगाएर काम गरिन्दैन त्यहाँ उत्पादन क्षमता अनुसार हुँदैन । नेपालको कृषि प्रणालीले एकातिर आधुनिकता अपनाउन सकेको छैन, अर्कोतिर जमिन जोत्नेको नहुँदा उत्पादन भने अनुसारको भईरहेको छैन । यतिबेला पहाडी क्षेत्रमा त उत्पादन ह्रास हुने क्रम अत्याधिक छ, कारण हजारौं जमिन बाँझिएर बसेको छ । नयाँ पुस्ताको सहर पस्ने र बिदेशिने प्रवृति बढेकोले जमिन बाँझै रहेर उत्पादनको क्षमता ह्रास हुनु परेको हो । आज गाउँमा हलो जोत्ने र बाउसे गर्ने युवाहरुको खडेरी छ । उमेरले डाँडो काटिसकेका हजुरबाहरुको हातमा हलगोरु र कोदाली थामिएको छ । घरले जा जा बनले आईज आईज भन्ने उमेरमा हलो कोदालो गरिरहेका हजुरबाहरुलाई रोपाइँको के महत्व ? हिलो छ्यापेर हौस्याउने बाउसेहरु नै नभएपछि रोपाहारहरुलाई असारे गाउने के को जाँगर ? असार पन्ध्रले दही र चिउरा नबिर्से पनि रोपाइँले बेठी बिर्सिसक्यो
। रोपाहारहरुले धानको बिऊ हिलोमा गाड्न नबिर्से पनि असारे भाका भुली सक्यो । जहाँ रोपाइँ छ त्यहाँ असारे भाका नगुन्जिए पछि कवि र साहित्यकारहरुको सिर्जनामा असार हराईसक्यो ।
साहित्य बर्तमानको दर्पण मात्र होईन भविश्यको खोज पनि हो । जुन साहित्यमा परिवर्तनको आवाज हुँदैन त्यसलाई साहित्यको दाँजोमा राख्न पनि भुल हुने छ । नेपाली साहित्य यर्थातताको सेरोफेरोमा रुमल्लिएको धेरै भयो, यहाँ माया-पिरतीका सस्ता शब्दहरुले धेरै किताबका पानाहरु रङ्गिए, परिवर्तनको नाममा बिभिन्न बाद र धाराहरुको ओईरो लाग्यो, प्रगतिबादको नाममा मार्ने र मर्ने कुराको ब्याख्या धेरै भयो तर परिवर्तनलाई मार्गनिर्देशन गर्ने साहित्यको सिर्जना हुनै सकेको छैन-भए पनि नगन्य मात्रमा भएको छ । देश राजनीतिक रुपमा परिवर्तन भएको छ वा हुँदैछ यो परिवर्तनले आर्थिक सांस्कृतिक र समाजिक परिवर्तन गर्नु पर्ने दायित्व बोकेको छ । यो परिवर्तनमा कवि-साहित्यकारहरको अमूल्य योग्दानको खाँचो छ । नेपालको भविश्यनै कृषिसँग गाँसिएको हुनाले प्रथमतः सिर्जनाको पाटो कृषिसँगै जोडिनु पर्दछ । अब असारको दबदबे हिलोमा पानीका थोपाहरु बर्सिदा उत्पन्न हुने संगितमा सर्जकहरुले सिर्जना खोज्नु पर्दछ । धर्ति पल्टाएर सुन फलाउने किसानहरुको अनुकुल आफ्नो सिर्जनाको विषयवस्तु रोजिनु पर्छ । असारमा कविताहरु र कविताहरुमा किसानका अधिकारहरु कोरिनु पर्दछ । सर्जकहरुले असारे भाका र असारे भाकामा परिवर्तनका आवाजहरु गाईनु पर्छ । असारका कथाहरु र कथामा किसानका भविश्यहरु लेखिनु पर्छ । कृषिलाई आधुनिकिकरण नगरेसम्म र जमिन जोत्नेको नबनाएसम्म राष्ट्रको उन्नती केवल कल्पना मात्र हुने छ । राष्ट्रको हित सोच्ने वास्तवमा सर्जकहरु नै हुन् अब लेखौं परिवर्तनमूखी असारे गीत र गाऔं हरेक असारमा …॥
हो हो रे हो हो हो हो
हो हो रे हो हो हो हो
हली है दाइले हलगोरु सायो खेतको आलीमा
गणतन्त्र ल्यायौं लोकतन्त्र ल्यायौं यसै र पालीमा

पानी है परे रिमी र झिमी लागौंला कतै ओत
जसले खन्छ जसले जोत्छ उसैको हुन्छ पोत

आलीमा मास गोडेर सानु सेउलाले छोपौंला
हरियो बिउमा सुन फलाउने सपना रोपौंला

गह्रामा पानी जलथलै भयो खोलिदेउ निकास
काँधमा काँध मिलाई देशको गरौंला बिकास

हल गोरु सायौं असारे गायौं ढल्कियो हेर दिन
पसिना खेतमा बगाउन अब नमानौ लाज घिन

गहिरी खेतको यो भेट हजुर हुन्दैन हम्मेसी
भविश्य आफ्नै माटोमा खोज्न फर्क है परदेशी ।
हो हो रे हो हो हो
हो हो रे हो हो हो

लौ गाउँ नयाँ साकेला गीत


Indra narthunge
मझुवा बेसी मेलैमा
गणतन्त्र आएको बेलैमा
सैसैला हो सैसैला
सै ढोले सै हाम्रो प्रदेश खोई
नेपालका आदिवासी किरात राईहरुको प्रमुख सांस्कृतिक पर्व उभौलीको अवसरमा गाईने गीत हो, सकेला गीत। यो गीत ढोल झ्याम्टाको तालमा साकेला नाच्दा गाउने गरिन्छ । जतिबेला पूर्वको किरात भूमिमा हिन्दु संस्कृतिको अतिक्रमण भएको थिएन त्यसबेला किरात राईहरुले बोल्ने भाषा पनि आफ्नै थियो र साकेला गीत पनि आफ्नै भाषामा गाउने गरिन्थ्यो । तर राज्यको एक भाषा-एक संस्कृतिको नीतिले किरात राईहरुले बोल्ने भाषामा ब्यापक असर मात्र परेन कतिपय किरात राई भाषाहरु त लोपनै भइसकेका छन् । भाषाको हिसाबमा धनी मानिने (किरात राईहरुमा रहेका तीस भन्दा बढी भाषा अझै बोलिन्छ) किरात राईहरुको विकसित रुपमा रहेको केही भाषा पनि बुढापाकाहरुसँगै हराएर जाने अवस्थामा पुगेको छ । अचेल साकेला गीत प्रायः नेपाली भाषामा नै गाउने गरिन्छ र गीत केवल माया प्रीतिकै कुरामा अल्झने गर्दछ । तर अवको साकेला गीत जुन भाषामा गाइए पनि मायाप्रीतिको कुरामा मात्र अल्झनु हुँदैन । साकेला गीतले आफ्नो अधिकार र परिवर्तनका कुराहरुलाई सम्बोधन गर्नु पर्छ ।
मौलिक पर्व मौलिक रित
यो चण्डी होईन साकेला गीत
सैसैला हो सैसैला
सै ढोले सै
हाम्रो भाषा खोई
अचेल सरकारी भाषामा साकेला गीतलाई "चण्डी गीत", साकेला नाचलाई "चण्डी नाच" र बैशाक पूर्णिमालाई "चण्डी पूर्णिमा" भनेर भन्ने गरिन्छ । भाषा संस्कृति प्रतिको वेवास्ताले कतियप किरात राईहरु नै साकेला भन्दा नबुझ्ने भइसकेका छन् । खोज र अध्ययनको कमीले अरुले जे भनिदियो त्यही स्विकार्ने जमात त झनै ठूलो छ । हुन त साकेलालाई विभिन्न थरि किरात राईहरुले आ-आफ्नो भाषामा आ-आफ्नै ढंङ्गले सम्बोधन गर्ने गर्दछन् । साकेला शब्द चाम्लिङ भाषा अन्तर्गतको शब्द हो । बान्तावा भाषामा 'साकेवा' भनिन्छ भने अरु थुप्रै नामहरु छन्-सान्केवा, तोसी, सेग्रो आदि । किरात राईहरु भित्रको भाषिक विविधताको फाईदा उठाउँदै हिन्दु संस्कृतिको अतिक्रमणमा मौलिक पर्वको नाम "चण्डी" हुन पुगेको छ । हिन्दु संस्कृति अनुसार चण्डी भनेको शक्तिको प्रतिक एक देवी हुन् तर साकेला शक्तिको प्रतिक नभई प्रकृतिको एक संकेत हो जस्लाई हेरेर शुभ अशुभ छुट्याउने गरिन्छ । हुन त यो बिवाद गर्ने समय होईन । सारा विवादलाई बिर्सिएर
राष्ट्रको निर्माणमा लाग्ने बेला हो यो । तापनि आफ्ना मौलिकतालाई तिलान्जली दिएर बिवादरहित बन्नु भनेको आफ्नै अस्तित्वलाई नामेट पार्नु हो । त्यसैले अवको साकेला गीतमा माथि उल्लेखित शब्दहरु पनि अटाउनु पर्छ । ताकि अवको दिनमा साकेलालाई हिन्दु संस्कृतिकरण गरेर कसैले चण्डी नभनिदेओस् । र, कसैले कसैको साँचो इतिहासलाई बदल्ने सहास नगरोस् ।
आफ्नै छ भाषा आफ्नै भेष
हामीले चाहेको संघिय देश
सैसैला हो सैसैला
सै ढोले सै
हाम्रो राज्य खोई
नेपालका अरु आदिवासीहरुसँगै किरात राईहरुको पनि माग हो, संघिय राज्य । हालसम्म कायम रहेको एकात्मक राज्य ब्यवस्थाले केवल एक जाति, एक भाषा र एक संस्कृतिको मात्र वकालत गरेको छ । एकात्मक शासन प्रणालीले बहुसंख्यक जनताहरु हरेक अवसरबाट बन्चित हुनुपरेको छ । सबै जाति, वर्ग र समुदायको हित संघात्मक शासन प्रणालीमा मात्र सम्भव हुन्छ । यो माग किरात राई वा अन्य आदिवासी जनजातिहरुले आज उठाएका होईन जतिबेला आदिवासीहरुको मूल थलो नेपाल राज्यमा गाभियो र त्यहाँ अल्पसंख्यकहरुले राज्य साचालन गर्न थाले त्यहीबेला देखिको आवाज हो यो । तर विगतमा निरंकुशताको अगाडि खुल्लमखुल्ला रुपमा यी आवाजहरु उठ्न पाएनन् । २००७ सालको परिवर्तनसँगै पूर्वका किरातहरु (राई लिम्बू) ले स्वतन्त्र राज्यकै माग समेत गरेका हुन् । स्वतन्त्र राज्यको माग कुनै लहडबाजीमा भएको होईन भन्ने बुझ्नु जरुरी छ । राज्यको एकाधिकारबादी सांस्कृतिक चिन्तनले स्वतन्त्र राज्यको माग गर्न किरातहरुलाई उक्साएको हो । जहाँ आफ्नो संस्कृति अपहरण हुन्छ भाषा र अधिकारहरु अतिक्रमण हुन्छन् र कुनै एक जाति, भाषा र संस्कृतिको अधिपत्य कायम गरिने प्रयत्न हुन्छ भने त्यहाँ राष्ट्रियताको के कुरो र्ह्यो र ? आज संघात्मक शासन ब्यवस्थाले राष्ट्रियता कम्जोर हुने, आत्मनिर्णयको अधिकारले राष्ट्र टुक्रने हौवा फिजाएर फेरी पनि जातीय अहंकारबादलाई टिकाइरहने खेल शुरु भईसकेको छ । यो नेपालका आदवासी जनजाति, मदेसी र अल्पसंख्यक बर्गहरुको हित माथी कुठाराघात गर्ने र राज्यलाई सधैं अस्थिर बनाई लुटिरहने चालबाजी हो । संघियता र आत्मनिर्णयको अधिकारको बारेमा नबुझेर पनि कसैले बिरोध गरेका हुन सक्छन् यो स्वभाविक हो तर बुझ्नेहरु बाटै यस्तो कुरा उठ्नुचाहिँ सोच्नै पर्ने बिषय हो । संघियताले राष्ट्र टुक्रन्दैन बरु राष्ट्रियतालाई मज्बुत बनाउँछ । हुनसक्छ किरात भूमि वा अन्य आदिवासीहरुको मूल थलोले प्रादेसिक राज्यको मान्यता पाएपछि सम्बन्धित जाति बाहेकका जातिहरु कहाँ जाने यस्तो अर्थमा संघियताको बिरोध भएको हुनसक्छ । यसो हो भने संघियताको मर्मलाई न बुझिएको हो ।
सेल्मे र टेम्के हाराहार
अधिकार सबैको बराबर
सैसैला हो सैसैला
सै ढोले सै
तिमीले बुझेको खै ।
आदिवासीहरुको मूल भूमिले प्रादेसिक राज्यको मान्यता पाउन साथ अन्य जातिहरु त्यो भूमिबाट हट्नु पर्छ वा अधिकार बिहिन भएर रहनु पर्दछ भन्न खोजिएको होईन । बरु एकात्मक राज्य प्रणालीमा बहुसंख्यक माथि अल्पसंख्यकले शासन गर्ने अवस्थाको अन्त्य भई समानुपातिक प्रतिनिधित्वको सुरुवात संघात्मक शासन प्रणालीले गर्दछ । जस्को कारण कुनै जाति, वर्ग वा समुदायले उपेक्षित भएको महशुस गर्नु पर्ने छैन । शासन गर्ने र शासित हुने प्रकि्रयामा समान सहभागिता भएपछि संघर्ष र दमनको अवस्था रोकिने छ । र, राज्य वा राष्ट्रको उन्नतिमा पुग्ने हरेक बाधाहरुको अन्त्य भई तिब्रतम विकासको अपेक्षा गर्न सकिन्छ ।
भन्दैछन् आज पारुहाङ
फर्क है फर्क आफ्नै गाउँ
सैसैला हो सैसैला
सै ढोले सै
युवाहरु खै
किरात राईहरुको आदि पूर्खा पारुहाङ हुन् । मुन्धुम (किरातहरुको धर्म ग्रहन्थ) अनुसार पारुहाङबाटै सृष्टीको रचना भएको हो । पारुहाङको सांकेतिक अर्थ पूर्खा अर्थात आफ्ना जन्मदाताहरु हुन् । एकात्मक राज्य प्रणालीले कसैलाई काखा र कसैलाई पाखा बनाउने काम गर्यो । काखमा रहनेहरु अधिकार सम्पन्न भए पाखा पारिएकाहरु पाखै रहन बाध्य भए । अधिकार पाएकाहरुले अत्याचार लाद्न थाले, त्यसले असन्तोष जन्मायो । असन्तोष माथि दमन हुन थाल्यो, दमनले प्रतिरोधलाई निम्त्यायो । नेपालको राजनीतिक र सामाजिक स्वरुप हालसम्म यही अवस्थाबाट गुजि्ररहेको छ । यस्को असर हरेक क्षेत्रमा पर्यो । देशले शैक्षिक क्षेत्रमा प्रगति गर्न सकेन । शिक्षामा नै प्रगति नभएपछि अन्धविश्वास हट्ने कुरो भएन । अन्धविश्वासको सेरोफेरोमा रहेको समाजमा न विकास नै हुन्छ न राष्ट्र प्रति उत्तरदायी मान्छेहरु नै जन्मन सक्छन् । आज गर्नेभन्ने युवाहरु लाखौंको संख्यामा बिदेशी भूमिमा रोजीरोटीको लागि भौतारी रहेका छन् । देश संघात्मक शासन प्रणालीमा प्रवेश गर्ने अवस्थामा छ । देशमा राजनीतिक परिवर्तन भईसके पछि आर्थिक र समाजिक परिवर्तन अपरिहार्य छ । युवाहरुनै नभए पछि देशको आर्थिक र समाजिक परिवर्तन कस्ले गर्ने त्यसैले पारुहाङ अर्थात जन्मदाहरुले अव छोरा नातिलाई आफ्नै देशमा बोलाउनु पर्छ ।
सुन है सुन सुम्निमा
फर्कन्छौ आफ्नै भूमिमा
सैसैला हो सैसैला
सै ढोले सै
कुटो कोदालो खै ।
आदिपूर्खा पारुहाङको अर्धाङ्गिनीको रुपमा सुम्निमालाई पुकारिन्छ । सुम्निमाको संकेतिक रुप स्त्रि पूर्खा अर्थात आमा जाति । आमा अर्थात धरति । राष्ट्र पछाडि पर्नु भनेको धर्तिको उपहास हुनु हो । आज आफुलाई जन्म दिने हुर्काउने बढाउने धर्तिलाई चट्ट माया मारेर लाखौं युवाहरु बिदेशी धर्तिमा रगत पशिना बगाई रहेका छौं । आफ्नो आमालाई उजाड राखेर अर्काको आमालाई हराभरा बनाई रहेका छौं । छोराहरुको यो ब्यवहारले आमाको मन भक्कानिएको छ । आमा बोल्न सक्ने अवस्थामा छैनन् । त्यसैले छोराछोरीहरु नै अगाडि बढेर आमाको सामु प्रण गर्नु परेको छ । आफ्नै आमालाई िसंगार्नको लागि आफ्नो अमूल्य श्रम र पसिना खर्च गर्ने कसम खानु परेको छ । अनिदै र भोकै बसेर अर्काको स्वार्थ पुरा गर्न सहायक सिद्ध हुने हामीहरु आफ्नो आमाको लागि एक छाक भोको रहन सक्दैनौ र ?
साकेला सिली नाचौला
देशकै निम्ति बाँचौला

खाँडी र ऊनी लाऔंला
साग र सिस्नो खाऔंला

उभौली साकेला मनाउछौं
यो देशलाई बिकसित बनाउछौं

ढोल झ्याम्टा बज्यो गजैले
यही प्रण गरौं सबैले
सैसै ला हो सैसैला
सै ढोले सै
अब छुटौं है ।

बाजेको आर्शिवाद

Indra Narthunge
नमस्कार बाजे नमस्कार कोकु (बजु)
लौ नमस्कार नमस्कार भाग्यमानी हुनु धेरै पढ्नु मन्त्री-प्रधानमन्त्री हुनु है नाती ।
विद्यालय प्रवेश गरेको सायद दोश्रो दिन हुनुपर्छ मैले पहिलो पल्ट यो आर्शिवचन पाएको थिएँ । र, जीवनको अठ्ठाईसौं वसन्तसम्म पाईरहें । लाहुरेको भूतले सताएको समाज र समुदायमा जन्मिनेहरुका लागि यो आर्शिवचन सर्वथा अनौठो थियो र भइरह्यो पनि ।
पूर्वतर्फ फर्किएको बुइँगल वाला घर र आगाडि झण्डै उस्तै मतान । आँगनमा साह्रै मेहनत गरेर चटक्क बिछ्याइएका चप्लेटी ढुङ्गाहरु घरको माथिल्लो भित्तासँगै जोडिएको बाटो र तल्लोपट्टी लस्करै उभिएका सुन्तलाका रहर लाग्दा बोटहरु मतानको तल्लो भागसँगै गाँसिएको एकपाटे छाप्रोमा तबेला र तबेलामा बाँधिएको घोडा । त्यही घोडा, जसलाई हेर्नको निम्ती हामी बाटो अलिकती लम्ब्याएर स्कुल पुग्ने गर्दथ्यौं । घरको दलानमा माथिल्लोपट्टी हरियो रङ्ग पोतेको खाट थियो र तल्लोपट्टी तीनतिर बारा हालेको बेाच थियो जहाँ बसेर सनीबार बाहेकका दिनहरु नमस्कार फर्काउन र आर्शिवाद बाँड्न तात्कालिन खोटाङ जिल्ला पन्चायतका सभापति बृषवहादुर राई आफ्नो अर्धाङ्गिनीको साथ हाजिर हुन्थे ।
स्कुल प्रवेस गर्दा म साह्रै फुच्चे थिएँ चारबर्ष पूरा पुगेर पाँच लागेको अझ ख्याउटे । आधुनिकताले छुउटुप्पै नछोएको दूरदराजको गाउँमा जन्मनुको कारण सानैमा विवेक सप्रने कुरै भएन । मन्त्री-प्रधान मन्त्रीको त के कुरा सभापतिको अर्थ पनि मठ्ठै । मेरा दामलीहरुको मेसोमा मिसिएर आर्शिवचन दिने मान्छेलाई उसबेला यसरी चिने-सपति बाजे । र अलिकपछि-सहपति बाजे । तर बाजेको असली पद 'सभापति' हो भन्ने भेउ पाउन निक्कै बर्षहरु बित्नु पर् यो-जतिबेला उहाँले दिने आर्शिवचनको अर्थ पनि मैले खुट्याई सकेको थिएँ ।
म जन्मिएको समुदायका मान्छेहरुले देख्ने सपना एउटै थियो-लाहुरे । र, आमा-बाबाहरुको सपना पनि लाहुरसँगै जोडिएको हुन्थ्यो । लाहुरेभन्दा अर्थोक जानेकै पनि त के थिए र ती दूरदराजका गाउँलेहरुले । सुकिलो-मुकिलो लुगामा ठाँटिएर एक-दुईजना भरिया आगाडि-पछाडि लगाउँदै हातमा टेपरेकर्डर झुण्डाएर लैबरीका गीतहरु घन्काउँदै घर फर्किने लाहुरेहरु साँच्चै महान् थिए गाउँलेहरुको लागि । त्यसैले त ठुलाबडाहरुले दिने आर्शिवचन यस्तै हुन्थ्यो-लाहुरे हुनु, हवल्दार, जमदार, सुवेदार, क्याप्टेन, लेप्टेन (लेफ्टिनेन्ट), मेजर हुनु । पुरेतहरुले घोक्ने गायत्री मन्त्रझैं कण्ठस्थ यस्ता आर्शिवचनहरु भन्दा सर्वथा बेग्लै आर्शिवचन सुन्दा अनौठो लाग्नु स्वभाविकै थियो ।
विद्यालय प्रवेशको करिब एकबर्ष पछाडि बार्षिक परिक्षाको रिजल्ट प्रकाशित गर्ने क्रममा स्कुलमा सानो समारोह भएको थियो । यस्ता समारोहहरु प्रत्येक बर्ष हुँदैआए पनि मेरो निम्ती त्यो समारोह पहिलो थियो । कहिल्यै देख्दै नदेखेका अनुहारहरु स्कुलमा उपस्थित भएका थिए । म अहिले पनि सम्झन्छु त्यसबेला मनमा रोमान्चकता र डर दुवै लागेको थियो । समारोहमा सभापति बाजे पनि आउनु भएको थियो । उहाँ मन्चको सबैभन्दा अगाडि राम्रो कुर्सीमा बस्नु भएको थियो । उहाँको छेउमा स्कुलका शिक्षकहरु र गाउँका बुढापाकाहरु थिए । प्रध्यानध्यापकले केही कुरा बोल्नु भयो तर उहाँले के बोल्नु भयो भन्ने कुराको हेक्का मलाई रहेन । केही बेर पछाडि नतिजा प्रकाशन गरियो र प्रथम, दृतीय, तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरियो । पुरस्कार सभापति बाजेले नै वितरण गर्नु भएको थियो । पुरस्कार दिनु हुँदा पनि उहाँले उही आर्शिवचन दोहोर् याउनु भो प्रधान मन्त्री, मन्त्री, मन्त्राणी हुनु । पुरस्कार वितरण गरिसकेपछि बाजे उभिनु भो र बोल्न थाल्नु भो । त्यसबेला मलाई उहाँको बोलाई भाषण हो भन्ने थाहा थिएन । उहाँले बोली रहँदा शिक्षक र गाउँले अभिभावकहरुले ताली बजाउँथे । हामी फुच्चाफुच्चीहरु ठूलाहरुले बजाउँदा निस्किरहेको लय भङ्ग गर्दै बेतुकको ताली पिट्थ्यौं । अझ कस्को धेरै बज्ने भनेर जोड-जोडले कलिला हातहरु आपसमा ठोक्याउथ्यौं । बाजेले भाषण गरिसके पनि निक्कै बेर ताली बजिरह्यो । बाजे पछाडि कसैको बोल्ने पालो आएन । मैले ठूलाबडा मानेकाहरु कसैले पनि भाषण गरेनन् । त्यसबेलाको कलिलो बाल मानसिकताले अनुभूत गर् यो-सभापति बाजे साँच्चै ठूलै मान्छे हुनुहुँदो रहेछ । र, के पनि विश्वास भो भने बाजेले दिनु भएको आर्शिवाद अरुहरुले दिने आर्शिबाद भन्दा ठूलो छ । हो त्यही बेलादेखि आमा-बाबा र मान्यजनहरुले लाहुरे हुनु भन्दै दिने आर्शिवादलाई मैले ठूलो ठानिन र जीवनमा लाहुरे हुनको लागि कुनै प्रयास समेत गरिन ।
केही बुझ्ने भएपछि सभापति बाजेसँग दोहोरो बात पनि गर्न थालियो । उहाँको घरमा जाने दलानको भित्ताभरि ठूल्ठूलो सिसाको फ्रेममा सजाएर राखिएको ब्लाक एण्ड ह्वाइट फोटोहरु हेर्ने गर्न थालियो । फोटोहरुमा बाजे बाहेक सबै अचिनारुहरु हुन्थे । बाजे कि त उभिएर भाषण गर्दै गरेका कि त दोसल्ला आढाइन्दै गरिएका फोटोहरु थिए । कहिले काँही फोटोमा भएका अन्य ब्यक्तीहरुको बारेमा बाजेले बताउनु हुन्थ्यो तर बाल मानसिकताले ती अपरिचितहरुको बारेमा हेक्का राख्ने कुरै भएन । धेरै पछि थाहा लाग्यो पन्चायती कालका मन्त्री, सभासद र अन्य विशिष्ट राजनीतिज्ञहरुको साथ बाजे सहभागि हुनुहुँदा ताकाको प्रतिविम्बहरु रहेछन् ती ।
२०४६ सालको राजनीतिक परिवर्तनले मान्छेहरुमा नौलो उत्साह थपेको थियो । बोल्दै नबोल्ने मान्छेहरु पनि बोल्ने भएका थिए । ठाउँ ठाउँमा सभा समारोहहरु भएका थिए । दुरदराजको त्यो वस्ती तिर पनि चेतनाको राँको मज्जैले झोसिएको थियो । २०४६ सालको राजनीतिक परिवर्तन हुँदा म सात कक्षामा पुगेको थिएँ । पढाईको हिसाबले राजनीतिक चेतना घुस्ने बेला हो त्यो तर म राजनीतिमा चेतनासून्य थिएँ । त्यसैले त्यो परिवर्तनले मलाई कताकता दुखाएको थियो । दुखाईको कारण-सभापति बाजेलाई गाली गरिनु थियो । फलना शोसक, फलना घुस्याहा फलनाको दिन गयो जस्ता गालीहरु सभापति बाजे माथि गाउँलेहरु पछाडिबाट बर्षाउँथे । अहिले सम्झन्छु सभापति बाजे मेरो निम्ती रोलमोडल बनिसक्नु भएको रहेछ त्यसैले त उहाँ माथि थोपरिने गालीहरु सुनेर म भित्र भित्रै मुर्मुरिन्थें । सभापति बाजे प्रति यती ठूलो सद्भाव पलाउनुमा अर्को कारण पनि छ-उहाँ बाटोमा िहंड्दा बाटो बीचको ढुङ्गा छेउछाउका झाडीहरु पन्छाउँदै हिड्नु हुन्थ्यो । र, हामी कोही छौं भने ढुङ्गाहरु फाल्न लगाउनु हुन्थ्यो । उहाँ भन्नु हुन्थ्यो-बटुवाहरु ढुङ्गामा अल्झिएर लड्न सक्छ त्यसैले फाल्नु पर्छ । म मेरै बुवा-आमा र गाउँका मान्यजनहरुसँग धेरै पटक हििडंसकेको थिएँ तर उहाँहरु न बाटो बीचको ढुङ्गानै फाल्नु हुन्थ्यो न त झाडीहरु नै पन्छ्याउनु हुन्थ्यो ।
सभापति बाजेलाई मैले कहिल्यै जाँड-रक्सी खाएको र तास-जुवा खेलेको देखिन । जाड-रक्सी नभई कुनै कार्य नै नहुने समुदायकै एक सदस्यले जाँड-रक्सी खाएको नदेख्नु अनौठो थियो । स्कुलमा शिक्षकहरुले जाँड-रक्सी खानु हुँदैन, तास-जुवा खेल्नु हुँदैन भनेर पढाउने बेलामा पढाउँथे तर स्कुल छुट्न साथ जाँड-रक्सीमै डुबेको भेट्थें म । तिहारको बेला त स्कुल लागेको समयमै गाउँमा पसेर तासको खालमा जमिरहेका शिक्षकहरु भेटिन्थे । म लेखिएको कुरा सत्य हो भन्ने ठान्थें त्यसबेला । किताबमा जाँड-रक्सी खानु हुँदैन जुवा-तास खेल्नु हुँदैन भनेर लेखिएको सत्य हो भनेर मान्थे म । र, सत्य कुरालाई सभापति बाजेले मात्र अङगिकार गरिरहेको पाउँथे । हुन पनि हो बाजेले जीवन भर मलाई उहाँको घर पुग्दा नातीलाई जाँड रक्सी देओ भनेर कोकुहरुलाई भन्नु भएन । बरु कोकुहरुले नाती तिर्खा लाग्यो होला जाँड छानी दिन्छु है भन्नु हुँदा बाजेले पढ्ने मान्छेलाई पनि जाँड दिने हो मोही होला छैन भने दही भए पनि देओ भनेर कोकुहरुलाई भन्नु भएको कुरा मानसपटमा अझै ताजै छ ।
अँ साँच्ची २०४६ सालको परिवर्तन पछाडि बाजेलाई गाली गर्नेहरु निक्कै देखिए गाउँघरमा । सुरुमा त म गाली गरेको सुन्दा रिशले मुरमुरिन्थे तर कुरो बुझ्दै गएपछि गाली गराई स्वभाविक लाग्न थाल्यो । केही साथीहरुको लहै लहैमा लागेर भेट हुँदा बाजेलाई नमस्कार गर्न पनि छोडियो । बाजे प्रतिको सम्मानमा ह्रास आयो भनौं । हो यो समय जीवनकै सबैभन्दा दुर्गतीका दिनहरु हुन् भन्ने अहिले थाहा पाउँदैछु । पढ्ने बाहानमा स्कुल जाने, स्कुलमा पुगेपछि क्यारिमबोर्ड र खोप्पीमा मस्तराम । कहिले कुन गाउँको भ्रमण, कहिले कुन पाखो रुङाई, कहिले कुन जङ्गलको चाहाराई । बाटो छेउको फलफूलको चिचिलै रित्याउने, मकैको खोया नपस्दै भाँचेर मुक्याउने । तर दिनहरु सधैं एकनासको हुँदैन त्यसैले त संसार चलेको छ । ती उरन्ठेउला दिनहरुले जीवनबाट क्रमशः बिदा लिन थालेपछि आफैमा कताकता आत्मग्लानी पलायो । र बाजे प्रतिको सम्मान पुनः फर्किएर आयो । वहाँको विचारभन्दा फरक विचारमा सामेल भएर राजनीति गर्दा पनि मैले फेरि बाजेलाई कहिल्यै नकारात्मक दृष्टिले हेरिन ।
२०६२ को जेष्ठ अन्तिम हप्ता हुनुपर्छ म करिब एक बर्ष पछाडि सानो कामले पोखराबाट घर फर्किएँ । गाउँघरको लागि म निक्कै बिरानो बनिसकेको थिएँ तर गाउँ मेरोलागि उही थियो । सिम्पानीबाट तेर्सो लागि सकेपछि धेरै समय सभापति बाजेकै बारेमा सोची रहें । घर पुग्नु अगावै सभापति बाजेको घर आउने हुँदा उहाँसँग केही बेर बसेरै गफ गर्ने योजना बनाएँ । पश्चिम दिशामा घाम ओह्रालिन्दै थियो म उही चिरपरिचित बाटो नापी रहेको थिएँ । मकैको लहलहाउँदो बोटहरुले बाटो साँघुरो बनाईरहेको आभास भइरहेको थियो । म एउटा आशा बोकेर बाजेको आँगनमा उत्रिएँ । बाजे घरमै हुनुहुन्थ्यो तर मेरो अनुमान विपरित । उहाँ सुकेर हाड छालामात्र हुनु भएको रहेछ । आँखा पनि ठ्याम्मै देख्न नसक्ने । तर बोली भने अझै उस्तै टाठो । मैले बाजेलाई नमस्कार टक्राएँ । उहाँले मेरो आवाज भुल्नु भएको रहेनछ । हामी केहीबेर गफियौं । मैले केही पोखरेलीहरुको बारेमा उहाँलाई जानकारी गराएँ जो पन्चायत कालमा राजनीतिमा सकि्रय थिए । मैले उनीहरुको बारेमा भन्दा बाजेमा बोल्ने थप उत्साह पाएको थिएँ । हुन पनि हो विगतको कुरोहरुले मान्छेलाई रोमान्चित बनाउँछ नै । बाजेसँग छुट्टिने बेलामा उहाँले उही परिचित आर्शिवचन दोहोर् याउनु भयो 'मन्त्री प्रधान मन्त्री हुनु है नाती।'
म पुनः सोही बर्षको दशैंमा गाउँ फर्किएँ । बाटो उही थियो त्यही बाटोहरुलाई पछ्याउँदै सभापति बाजेको घरसम्म पुगें । जेठको अन्तिममा लहलहाउँदो देखिएको मकैको बोटहरुको नामोनिसाना थिएन । मकैको ठाउँमा कोदोको बोट शरदीय पवनको झोक्कासँग बयली खेलिरहेका थिए । म शरद प्रीय मान्छे अझ जन्मेको गाउँमा पुग्दा हर्षले भुइँमा खुट्टा थिएन । पहिलाझैं म सोझै सभापति बाजेको घरमा पसें । सधैं बाजे बस्ने बेाचमा कोकु एक्लै बसिरहनु भएको थियो । मैले कोकुको आँखामा उदासीको भावहरु पढ्न नपाउँदै बाजे भदौमै बित्नु भएको कुरा सुनाउनु भयो । कोकुले बाजे बित्नु हुँदाको कथा सुनाईरहनु हुँदा मैले विगतका दिनहरुलाई सम्झिदै वरिपरिका दृश्यहरु नियालें । सुन्तोलाको बोटहरु पनि बुढो भएर जिगि्रङ परेका रहेछन् । घोडा बाँध्ने तबेलामा बाख्रा बाँधिएको थियो, आँगनका चप्लेटी ढुङ्गाहरु पनि काइ जमेर कालो भईसकेको थियो । म कोकुसँग धेरै बेर बालें तर बाजेको कुराभन्दा अन्य प्रसंगमा हामी गफिएनौं । बिदा हुनेबेलामा मैले पुनः बाजे सधैं बस्नु हुने ठाउँलाई नियाले त्यहाँ अझै पनि बाजेनै बसेर मन्त्री प्रधानमन्त्री हुनु नाती भनॆर आर्शिबाद दिईरहनु भएको जस्तो लाग्यो । तर त्यो मात्र कल्पना थियो । म बाजेको आर्शिबाद विहिन भएर त्यहाँबाट निस्किएँ ।
आज पनि म बाजेबाट परेको प्रभावहरुलाई नजरअन्दाज गरिरहेको छु । मैले संगत गरेको ठूला वा साना सबै मान्छेहरुमा सभापति बाजे एक्लॊ रोडमोडल हुनुहुन्छ ।

अति बीचको नदिको कुरा अहंकार अन्त्यको लागि जातको कुरा

इन्द्र नारथुङे
एक दिन याहु म्यासेन्जर मार्फत अफ लाईनमा राजु क्षेत्री जीले पठाउनु भएको म्यासेज देखा पर् यो-क्षेत्री समाज मलेसियाले प्रकाशन गर्न लागेको स्मारिकाको लागि लेख पठाई दिनु होला । केही दिनपछि क्वालालाम्पुरमा सम्पन्न एक कार्यक्रममा राजु जीसँग भेटघाट हुँदा पुनः यहि अनुरोध दोहोरियो । अफलाईन म्यासेजको रिप्लाई नदिए पनि लाईभ सम्बादलाई नबोलेर टार्न मिलेन-हुन्छ भनिदिए । अरु केही हप्ताहरु बिते तर लेख लेखिन । फेरि क्वालालाम्पुरमै सम्पन्न अर्को कार्यक्रममा राजु जी सँग पुनः भेट भो र उहाँले सोही कुरालाई दोहोर् याउनु भो । तेश्रो अनुरोधको क्रममा म लज्जित थिएँ र फेरि पनि हुन्छ मात्रै भनिदिएँ । तर पहिलो दोश्रो र तेश्रो अनुरोध हेरी-सुनिसकेपछि मनमा उत्पन्न भएको कुरो एउटै थियो-म क्षेत्री हुँ र क्षेत्री समाजको स्मारिकामा लेख लेख्नु ?
तेश्रोपटक उब्जिएको प्रश्नले प्रति प्रश्न जन्मायो-के क्षेत्रीसँग तेरो सम्बन्धनै छैन त ? प्रति प्रश्नले सम्बन्धको खोज गर् यो । खोज पश्चात तीन वटा महत्वपूर्ण सम्बन्धहरु प्रकट हुन पुग्यो ।
१ बाल्यकालका बाल सखाहरु मेरा धेरै क्षेत्रीहरुनै थिए जोसँगको बाल्य स्मृतिहरु मनमा अझै पनि आलैछन् । जीवनमा ती अमूल्य दिनहरुबाट मैले ती क्षेत्री साथीहरुलाई निकाली दिएँ भने मेरो बाल्य स्मृतिनै रहने छैन ।
२ करिब छ बर्षसम्मको सहयात्री पनि क्षेत्रीनै थिइन् । समयलाई बुझ्न र पछ्याउन नसक्दा सहयात्रा बीचैमा टुट्यो । सहयात्रा टुटे पनि उनीसँग बिताएका ती छ बर्षका धङधङीमै बाँकी दिनहरु वितिरहेका छन् । लाग्छ यो क्रम जीवनको बिश्रामपछि मात्र अन्य हुने छ ।
३ यतिबेला हामी एउटा होस्टलमा चौध जना बसिरहेको छौं । चौध जनामा पचास प्रतिशत क्षेत्री साथीहरुनै हुनुहुन्छ । यी चौध जना मध्येका पचास प्रतिशत साथीहरुलाई गणना नगर्ने हो भने यो होस्टल सून्य हुने छ । सून्यता जीवनको लक्ष होईन ।
यी सम्बन्धहरुको महत्वलाई बुझिसके पनि म विश्वस्त भएँ-क्षेत्री समाजको स्मारिकामा लेख्न मेरो पूरा अधिकार छ र कर्तब्य पनि ।
स्वभावैले म मध्यमार्गी छु । यसो हुनुमा मलाई कुनै गुनासो छैन गौरव छ । नदि दुइ किनारको बीचमा बग्छ । दुइ किनार अति हुन् तर नदि यर्थातता । जीवन किनारमा छैन नदिमा छ । त्यसैले दुइ अतिमा वास्तविकता छैन वास्तविकता नदिमा छ र नदि मध्यमा छ । त्यसैले नदिको बाटोमा िहंड्नु जीवनको बाटोमा िहंड्नु हो भन्ने ठम्याई छ मेरो ।
कहिले काँही सोचाईहरु अचम्मकै हुन्छन् । जब भइरहेको कुनै पनि घटनाहरुले मन बुझ्दैन तब मनमा भूँमरीको सिर्जना हुन्छ र भूमरीले सोचाइहरुको जन्म लिन्छ । म माझ किरातमा राईको कुलमा जन्मिएको मान्छे-जन्मकै आधारमा राई भएको छु । यदि मेरो जन्म ब्रम्हाणको कुलमा वा दलित समुदाय अथवा मदेशी समुदायको कुलमा भएको भए के म राई हुन पाउँ थें र ? नेपालमा जन्मिएँ नेपाली भएँ यदि अफि्रकाका निग्रोहरुको कोखमा वा अमेरिकाका गोराहरुको कोखमा जन्मिएको भए म नेपाली हुने थिएँ र ? जन्म अप्रत्यासित हुन्छ वा संयोग म भन्न सक्दिन तर जन्म निर्धारित हुँदैन । जन्म झैं महिला र पुरुष बीचको सहबास पश्चात रहने गर्भ पनि निर्धारित हुँदैन । त्यसैले जन्मको आधारमा ठूलो-सानो, उच-निच, धनी-गरिब छुट्याउने रित सर्वथा गलत छ भन्दा कुनै अत्युक्ति हुँदैन ।
मेरो घरमा प्रायः बिरालो पालिन्छ । यसको कारण मुसाबाट मुक्ती पाउनु हो । बिरालो प्रायः मान्छसँगै सुत्न मन पराउँछ र सुत्छ पनि । ऊ घरको भान्सा देखि धनसार हुँदै कुलपित्री राखेको ठाउँ सबै तिर छिर्छ, छिर्ने अनुमति छ । तर मेरै माथिल्लो घरको दमै जेठालाई दलिनसँगै जोडिएको सँघार नाघेर भित्र छिर्ने अनुमति छैन । के मान्छे जनावर भन्दा पनि अपवित्र छ ? जनावर जनावरनै हो त्यो मान्छे हुन सक्दैन तर मान्छे-जनावर हुन सक्छ । यसको उदाहरण म नै हुँ कि बिरालोले राइफाँडो लगाउने ठाउँमा माथिल्ला घरे दमै जेठालाई म पस्नु दिदिन-किनकी ऊ मेरो घरको सँघार नाघेर भित्र पस्न साथ मेरो जात जान्छ । आखिर यो जात कहाँ छ ?
जात मान्छेको अहँकारमा छ र अहँकार विशिष्ट जात कहलाईएकाहरुमा छ । के दमाई जेठाले दमाई हुनुमा गर्व गर्ला, जति राई हुनुमा मैले गरिरहेको छु
कहाँ गर्व गुर्न बिचराले । दमाई भएर जन्मनुमा जन्मैलाई बिचराले धिक्कारी रहेको छ । त्यसैले राई हुनुमा मैले गर्ने गर्व नै अहँकार हो जसले दमाई जेठालाई घर भित्र पस्नबाट बन्चित गरिरहेको छ । र, यो अहँकार जसले सुन्दर संसारलाई हिजोदेखि आजसम्मै जलाईरहेको छ र आफै नजलेसम्म यसले यसरीनै जलाईरहने छ । फेरि यही जातको कुरा किन ? जातीय संगठनहरुको कुरा किन ? किरात राई यायोख्खा किन ? आदिवासी जनजाति महासंघ किन ? क्षेत्री समाज किन ? जातीय अहंकार बचाउनको लागि कि जातीय अहंकारबाट मुक्ति प्राप्त गर्नको निम्ती ?
हेरेको छु-संस्कृतबाट उल्था गरिएका बेदका पानाहरु, मनुस्मृति, रामायण, महाभारत, त्रिपिटक, कुरान र बाइबलका उपदेशहरु । सुनेको छु-किरात राईका मुन्धुमहरु र गायत्री मन्त्रका स्त्रोतहरु । तर यी पढे वा सुने पनि सतप्रतिशत ग्रहण गर्न लाएक छैनन् । र, सतप्रतिशत त्याज्य पनि छैनन् । यी सारा धर्म शास्त्रहरु इश्वरले, अल्लाहले, क्राईष्टले, बुद्धले वा पारुहाङले लेखेका वा बनाएका होइनन् । तात्कालिन समयमा तात्कालिन मान्छेहरुले तात्कालिन आवश्यकता हेरेर बनाएका तात्कालिन मान्यताहरु हुन् जो आज आएर अधिकांश भाग काम नलाग्ने मात्र होईन सर्वत्र त्याज्य भइसकेको छ । र, यी जातको कुरा, धर्मको कुरा पनि त्यसरीनै त्याज्य भइसकेका छन् ।
एक दिनको कुरा म किचनमा खाना बनाउँदै थिएँ । किचनको सानो छिट्कनीबाट पारी पट्टी एक जना कालो धम्मरधुस्सको निग्रो देखा पर् यो । उसले मलाई हेर् यो मैले उसलाई हेरें । बिना परिचय ऊ मुसुक्क मुस्कुरायो र हात उठायो म पनि उसैगरी मुस्कुराएँ र हात हल्लाएँ । राष्ट्र,राष्ट्रियता, धर्म, जात हेर्ने हो भने ऊ कहाँको म कहाँको तर दुवै मुस्कुरायौं दुवैले हात हल्लाएर आत्मियता दर्शायौं । यसो हुनुमा मान्छे भित्रको मानवीयताले काम गर् यो । मानवीय सम्बन्ध राष्ट्रियता र धर्म-जात भन्दा माथि हुन्छ । र, यही मानवीय सम्बन्धकै कारण विश्व ज्यूँदो छ । यदि मानवीयता मान्छेमा नहुने हो भने धर्म-जात राष्ट्र-राष्ट्रियताको महायुद्धमा उहिल्यै ध्वस्त भइसक्ने थियो ।
तर अझै पनि मान्छेमा मानवीयता हावी हुन सकेको छैन । धर्म-जात, राष्ट्र-राष्ट्रियताको खोक्रो नाराले मान्छे भित्रको मान्छेलाई खाईरहेको छ । ठूलो जात-सानो जात पहाडे-मधिसे आर्य-मङ्गोल मतवाली-तागाधारी-हेर्नुस् त कति कति साँध-सीमाहरु । जन्म स्थानको विशिष्टताको आधारमा मान्छे थोरै अलग-बेगल हुनु स्वभाविक हो-हुन्छ । तर मान्छे भित्रको मानवीयता भन्दा माथि जात धर्म र राष्ट्रियता हुनै सक्दैन ।
म यहि कुरा लेख्दैछु तर म आफै जातीय मुक्ती आन्दोलनसँग सम्बन्ध जोडिएको मान्छे हुँ । तर जातीय मुक्ती आन्दोलनसँग पनि केही असहमति भने पक्कै छ । जातीयतको कुरा समानताको लागि हो र समानता प्राप्त हुन साथ जातीय सवाल अन्त्य हुन्छ- हुनुपर्छ । तर मान्छेबीचको मानवीय सम्बन्धनै अन्त्य गरेर जातीय नारा मात्र फकाक्नेहरु पनि म सम्बद्ध आन्दोलनमा छन् जसले अरुलाई घृणा गरेर सम्मानित भएको ढोंग रचिरहेका छन् । त्यसैले मेरो संलग्नता ती अतिहरुको बिरुद्धपनि हो भन्ने बुझ्नु पर्छ ।
राज्यले जातको आधार धर्म र क्षेत्रको आधारमा कुनै पनि विभेद गर्नु हुँदैन । तर नेपालको सवालमा धेरै अगाडिबाट विभेद गरिदै आइएको कुरालाई कसैले पनि बिस्रनु हुँदैन । यदि यो कुरालाई बिस्रने हो भने नेपाल लोकतान्त्रिक देश हो भन्नुको कुनै मतलब हुने छैन । अर्को कुरो बिश्वको कुनै पनि मुलुक बसाइँ सराईबाट प्रभावित नभएको होस् । र, नेपाल पनि कुन समुदाय कताबाट कुन समुदाय कताबाट प्रवेश गरेरै बनेको मुलुक हो । हुनसक्छ कोही अगाडि आए कोही पछाडि । अगाडि आउनेका भाग पछाडि आउनेहरुले लुटे होलान् वा भाग थप्नमा सहयोग गरे पनि होलान्-त्यही भएर त देश विभिधतायुक्त छ, विभेदयुक्त पनि । तर आगमनको हिसाबमा जोठो र कान्छो छुट्याउँदै लखेट्ने र लखेटिने कुरा, भाग धेरै पाउने र नपाउने कुरा लोकतान्त्रिक देशमा स्विकार्य हुँदैन । इतिहासमा हामी राजा थियौ भनेर राज्य अलग बनाउन खोज्नु-इतिहासमा हामी बाँदर थियौ भनेर चारखुट्टा टेकेर हिड्नु जस्तै कुरो हो । भावी पुस्तालाई चाहिएको एक नेपाल हो न कि मदेश मात्र न कि पहाड मात्र । तर एक नेपाल हुनको लागि भइरहेका सारा विभेदहरुको अन्त्य जरुरी छ । एउटा मदेशीले काठमाण्डौमा 'धोती' भनेर अपमानित हुन नपरोस्, एउटा पहाडीले विरगाजमा 'साला पहाडिया' भनेर गाली खान नपरोस् । विरालोले राईफाँडो लगाउने चुलोचौकोहरुमा जातको कारण पस्नबाट कोही पनि बन्चित हुन नपरोस् । जातीय असमानताको कारण तनहुँका बेहुलाबेहुली बाग्लुङ पुगेर बिवहा गर्न नपरेस् । देशको सर्बोच्च निकायमा अल्पसख्यक समुदायका मान्छेहरुले पनि पुग्ने बाटो खोलियोस् । एक राष्ट्रियता भित्र सबै वर्ग जाति र समुदायको प्रतिनिधित्व हुने प्रदेशहरुको निर्माण होस् जसले राष्ट्रियता र सामाजिक सम्बन्धलाई मज्बुत बनाओस् । र, हरेक जातीय संगठनहरु जातीय अहंकार रक्षाको निम्ती होईन अहंकार अन्त्यको लागि सकि्रय होउन् ताकी भोलीको नेपाल साँचो रुपमा साझा फूलबारी बनोस् सबै नेपालीहरुको ।