इन्द्र नारथुङे
एक दिन याहु म्यासेन्जर मार्फत अफ लाईनमा राजु क्षेत्री जीले पठाउनु भएको म्यासेज देखा पर् यो-क्षेत्री समाज मलेसियाले प्रकाशन गर्न लागेको स्मारिकाको लागि लेख पठाई दिनु होला । केही दिनपछि क्वालालाम्पुरमा सम्पन्न एक कार्यक्रममा राजु जीसँग भेटघाट हुँदा पुनः यहि अनुरोध दोहोरियो । अफलाईन म्यासेजको रिप्लाई नदिए पनि लाईभ सम्बादलाई नबोलेर टार्न मिलेन-हुन्छ भनिदिए । अरु केही हप्ताहरु बिते तर लेख लेखिन । फेरि क्वालालाम्पुरमै सम्पन्न अर्को कार्यक्रममा राजु जी सँग पुनः भेट भो र उहाँले सोही कुरालाई दोहोर् याउनु भो । तेश्रो अनुरोधको क्रममा म लज्जित थिएँ र फेरि पनि हुन्छ मात्रै भनिदिएँ । तर पहिलो दोश्रो र तेश्रो अनुरोध हेरी-सुनिसकेपछि मनमा उत्पन्न भएको कुरो एउटै थियो-म क्षेत्री हुँ र क्षेत्री समाजको स्मारिकामा लेख लेख्नु ?
तेश्रोपटक उब्जिएको प्रश्नले प्रति प्रश्न जन्मायो-के क्षेत्रीसँग तेरो सम्बन्धनै छैन त ? प्रति प्रश्नले सम्बन्धको खोज गर् यो । खोज पश्चात तीन वटा महत्वपूर्ण सम्बन्धहरु प्रकट हुन पुग्यो ।
१ बाल्यकालका बाल सखाहरु मेरा धेरै क्षेत्रीहरुनै थिए जोसँगको बाल्य स्मृतिहरु मनमा अझै पनि आलैछन् । जीवनमा ती अमूल्य दिनहरुबाट मैले ती क्षेत्री साथीहरुलाई निकाली दिएँ भने मेरो बाल्य स्मृतिनै रहने छैन ।
२ करिब छ बर्षसम्मको सहयात्री पनि क्षेत्रीनै थिइन् । समयलाई बुझ्न र पछ्याउन नसक्दा सहयात्रा बीचैमा टुट्यो । सहयात्रा टुटे पनि उनीसँग बिताएका ती छ बर्षका धङधङीमै बाँकी दिनहरु वितिरहेका छन् । लाग्छ यो क्रम जीवनको बिश्रामपछि मात्र अन्य हुने छ ।
३ यतिबेला हामी एउटा होस्टलमा चौध जना बसिरहेको छौं । चौध जनामा पचास प्रतिशत क्षेत्री साथीहरुनै हुनुहुन्छ । यी चौध जना मध्येका पचास प्रतिशत साथीहरुलाई गणना नगर्ने हो भने यो होस्टल सून्य हुने छ । सून्यता जीवनको लक्ष होईन ।
यी सम्बन्धहरुको महत्वलाई बुझिसके पनि म विश्वस्त भएँ-क्षेत्री समाजको स्मारिकामा लेख्न मेरो पूरा अधिकार छ र कर्तब्य पनि ।
स्वभावैले म मध्यमार्गी छु । यसो हुनुमा मलाई कुनै गुनासो छैन गौरव छ । नदि दुइ किनारको बीचमा बग्छ । दुइ किनार अति हुन् तर नदि यर्थातता । जीवन किनारमा छैन नदिमा छ । त्यसैले दुइ अतिमा वास्तविकता छैन वास्तविकता नदिमा छ र नदि मध्यमा छ । त्यसैले नदिको बाटोमा िहंड्नु जीवनको बाटोमा िहंड्नु हो भन्ने ठम्याई छ मेरो ।
कहिले काँही सोचाईहरु अचम्मकै हुन्छन् । जब भइरहेको कुनै पनि घटनाहरुले मन बुझ्दैन तब मनमा भूँमरीको सिर्जना हुन्छ र भूमरीले सोचाइहरुको जन्म लिन्छ । म माझ किरातमा राईको कुलमा जन्मिएको मान्छे-जन्मकै आधारमा राई भएको छु । यदि मेरो जन्म ब्रम्हाणको कुलमा वा दलित समुदाय अथवा मदेशी समुदायको कुलमा भएको भए के म राई हुन पाउँ थें र ? नेपालमा जन्मिएँ नेपाली भएँ यदि अफि्रकाका निग्रोहरुको कोखमा वा अमेरिकाका गोराहरुको कोखमा जन्मिएको भए म नेपाली हुने थिएँ र ? जन्म अप्रत्यासित हुन्छ वा संयोग म भन्न सक्दिन तर जन्म निर्धारित हुँदैन । जन्म झैं महिला र पुरुष बीचको सहबास पश्चात रहने गर्भ पनि निर्धारित हुँदैन । त्यसैले जन्मको आधारमा ठूलो-सानो, उच-निच, धनी-गरिब छुट्याउने रित सर्वथा गलत छ भन्दा कुनै अत्युक्ति हुँदैन ।
मेरो घरमा प्रायः बिरालो पालिन्छ । यसको कारण मुसाबाट मुक्ती पाउनु हो । बिरालो प्रायः मान्छसँगै सुत्न मन पराउँछ र सुत्छ पनि । ऊ घरको भान्सा देखि धनसार हुँदै कुलपित्री राखेको ठाउँ सबै तिर छिर्छ, छिर्ने अनुमति छ । तर मेरै माथिल्लो घरको दमै जेठालाई दलिनसँगै जोडिएको सँघार नाघेर भित्र छिर्ने अनुमति छैन । के मान्छे जनावर भन्दा पनि अपवित्र छ ? जनावर जनावरनै हो त्यो मान्छे हुन सक्दैन तर मान्छे-जनावर हुन सक्छ । यसको उदाहरण म नै हुँ कि बिरालोले राइफाँडो लगाउने ठाउँमा माथिल्ला घरे दमै जेठालाई म पस्नु दिदिन-किनकी ऊ मेरो घरको सँघार नाघेर भित्र पस्न साथ मेरो जात जान्छ । आखिर यो जात कहाँ छ ?
जात मान्छेको अहँकारमा छ र अहँकार विशिष्ट जात कहलाईएकाहरुमा छ । के दमाई जेठाले दमाई हुनुमा गर्व गर्ला, जति राई हुनुमा मैले गरिरहेको छु
कहाँ गर्व गुर्न बिचराले । दमाई भएर जन्मनुमा जन्मैलाई बिचराले धिक्कारी रहेको छ । त्यसैले राई हुनुमा मैले गर्ने गर्व नै अहँकार हो जसले दमाई जेठालाई घर भित्र पस्नबाट बन्चित गरिरहेको छ । र, यो अहँकार जसले सुन्दर संसारलाई हिजोदेखि आजसम्मै जलाईरहेको छ र आफै नजलेसम्म यसले यसरीनै जलाईरहने छ । फेरि यही जातको कुरा किन ? जातीय संगठनहरुको कुरा किन ? किरात राई यायोख्खा किन ? आदिवासी जनजाति महासंघ किन ? क्षेत्री समाज किन ? जातीय अहंकार बचाउनको लागि कि जातीय अहंकारबाट मुक्ति प्राप्त गर्नको निम्ती ?
हेरेको छु-संस्कृतबाट उल्था गरिएका बेदका पानाहरु, मनुस्मृति, रामायण, महाभारत, त्रिपिटक, कुरान र बाइबलका उपदेशहरु । सुनेको छु-किरात राईका मुन्धुमहरु र गायत्री मन्त्रका स्त्रोतहरु । तर यी पढे वा सुने पनि सतप्रतिशत ग्रहण गर्न लाएक छैनन् । र, सतप्रतिशत त्याज्य पनि छैनन् । यी सारा धर्म शास्त्रहरु इश्वरले, अल्लाहले, क्राईष्टले, बुद्धले वा पारुहाङले लेखेका वा बनाएका होइनन् । तात्कालिन समयमा तात्कालिन मान्छेहरुले तात्कालिन आवश्यकता हेरेर बनाएका तात्कालिन मान्यताहरु हुन् जो आज आएर अधिकांश भाग काम नलाग्ने मात्र होईन सर्वत्र त्याज्य भइसकेको छ । र, यी जातको कुरा, धर्मको कुरा पनि त्यसरीनै त्याज्य भइसकेका छन् ।
एक दिनको कुरा म किचनमा खाना बनाउँदै थिएँ । किचनको सानो छिट्कनीबाट पारी पट्टी एक जना कालो धम्मरधुस्सको निग्रो देखा पर् यो । उसले मलाई हेर् यो मैले उसलाई हेरें । बिना परिचय ऊ मुसुक्क मुस्कुरायो र हात उठायो म पनि उसैगरी मुस्कुराएँ र हात हल्लाएँ । राष्ट्र,राष्ट्रियता, धर्म, जात हेर्ने हो भने ऊ कहाँको म कहाँको तर दुवै मुस्कुरायौं दुवैले हात हल्लाएर आत्मियता दर्शायौं । यसो हुनुमा मान्छे भित्रको मानवीयताले काम गर् यो । मानवीय सम्बन्ध राष्ट्रियता र धर्म-जात भन्दा माथि हुन्छ । र, यही मानवीय सम्बन्धकै कारण विश्व ज्यूँदो छ । यदि मानवीयता मान्छेमा नहुने हो भने धर्म-जात राष्ट्र-राष्ट्रियताको महायुद्धमा उहिल्यै ध्वस्त भइसक्ने थियो ।
तर अझै पनि मान्छेमा मानवीयता हावी हुन सकेको छैन । धर्म-जात, राष्ट्र-राष्ट्रियताको खोक्रो नाराले मान्छे भित्रको मान्छेलाई खाईरहेको छ । ठूलो जात-सानो जात पहाडे-मधिसे आर्य-मङ्गोल मतवाली-तागाधारी-हेर्नुस् त कति कति साँध-सीमाहरु । जन्म स्थानको विशिष्टताको आधारमा मान्छे थोरै अलग-बेगल हुनु स्वभाविक हो-हुन्छ । तर मान्छे भित्रको मानवीयता भन्दा माथि जात धर्म र राष्ट्रियता हुनै सक्दैन ।
म यहि कुरा लेख्दैछु तर म आफै जातीय मुक्ती आन्दोलनसँग सम्बन्ध जोडिएको मान्छे हुँ । तर जातीय मुक्ती आन्दोलनसँग पनि केही असहमति भने पक्कै छ । जातीयतको कुरा समानताको लागि हो र समानता प्राप्त हुन साथ जातीय सवाल अन्त्य हुन्छ- हुनुपर्छ । तर मान्छेबीचको मानवीय सम्बन्धनै अन्त्य गरेर जातीय नारा मात्र फकाक्नेहरु पनि म सम्बद्ध आन्दोलनमा छन् जसले अरुलाई घृणा गरेर सम्मानित भएको ढोंग रचिरहेका छन् । त्यसैले मेरो संलग्नता ती अतिहरुको बिरुद्धपनि हो भन्ने बुझ्नु पर्छ ।
राज्यले जातको आधार धर्म र क्षेत्रको आधारमा कुनै पनि विभेद गर्नु हुँदैन । तर नेपालको सवालमा धेरै अगाडिबाट विभेद गरिदै आइएको कुरालाई कसैले पनि बिस्रनु हुँदैन । यदि यो कुरालाई बिस्रने हो भने नेपाल लोकतान्त्रिक देश हो भन्नुको कुनै मतलब हुने छैन । अर्को कुरो बिश्वको कुनै पनि मुलुक बसाइँ सराईबाट प्रभावित नभएको होस् । र, नेपाल पनि कुन समुदाय कताबाट कुन समुदाय कताबाट प्रवेश गरेरै बनेको मुलुक हो । हुनसक्छ कोही अगाडि आए कोही पछाडि । अगाडि आउनेका भाग पछाडि आउनेहरुले लुटे होलान् वा भाग थप्नमा सहयोग गरे पनि होलान्-त्यही भएर त देश विभिधतायुक्त छ, विभेदयुक्त पनि । तर आगमनको हिसाबमा जोठो र कान्छो छुट्याउँदै लखेट्ने र लखेटिने कुरा, भाग धेरै पाउने र नपाउने कुरा लोकतान्त्रिक देशमा स्विकार्य हुँदैन । इतिहासमा हामी राजा थियौ भनेर राज्य अलग बनाउन खोज्नु-इतिहासमा हामी बाँदर थियौ भनेर चारखुट्टा टेकेर हिड्नु जस्तै कुरो हो । भावी पुस्तालाई चाहिएको एक नेपाल हो न कि मदेश मात्र न कि पहाड मात्र । तर एक नेपाल हुनको लागि भइरहेका सारा विभेदहरुको अन्त्य जरुरी छ । एउटा मदेशीले काठमाण्डौमा 'धोती' भनेर अपमानित हुन नपरोस्, एउटा पहाडीले विरगाजमा 'साला पहाडिया' भनेर गाली खान नपरोस् । विरालोले राईफाँडो लगाउने चुलोचौकोहरुमा जातको कारण पस्नबाट कोही पनि बन्चित हुन नपरोस् । जातीय असमानताको कारण तनहुँका बेहुलाबेहुली बाग्लुङ पुगेर बिवहा गर्न नपरेस् । देशको सर्बोच्च निकायमा अल्पसख्यक समुदायका मान्छेहरुले पनि पुग्ने बाटो खोलियोस् । एक राष्ट्रियता भित्र सबै वर्ग जाति र समुदायको प्रतिनिधित्व हुने प्रदेशहरुको निर्माण होस् जसले राष्ट्रियता र सामाजिक सम्बन्धलाई मज्बुत बनाओस् । र, हरेक जातीय संगठनहरु जातीय अहंकार रक्षाको निम्ती होईन अहंकार अन्त्यको लागि सकि्रय होउन् ताकी भोलीको नेपाल साँचो रुपमा साझा फूलबारी बनोस् सबै नेपालीहरुको ।
No comments:
Post a Comment