Tuesday, September 14, 2010

पैशा र भगवान

इन्द्र नारथुङे
तीजको ब्रतको दिन मैले ईन्टरनेट खोलेर उज्यालो नाईन्टी नेटवर्कको लाईभ समाचार लगाएँ र सुन्न थालें । समय मलेसियामा मध्यान्न सवा एक भएको थियो यो समाचार नेपालबाट विहान एघार बजेको आउँदै थियो । हुनसक्छ खबरहरु बासी थिए तर मैले सो दिन पहिलो पटक रेडियो ट्युनिङ गरिरहेको हुनाले सबै ताजा लाग्दै थिए । एकादुई राजनीतिक खबरहरु पछि तिजको खबर फुक्न थाल्यो एफ. एम. ले ।
"…पशुपतिमा दर्शन गर्ने महिलाहरुको भिड, चाँडो दर्शन गर्न चाहने महिलाहरुलाई रु एक हजार तिरे पछि छुट्टै ढोकाबाट दर्शन गर्ने ब्यवस्था…..।" ठ्याक्कै यिनै शब्दहरु त होईनन् तर सत्प्रतिशत यही आशयको समचार बज्यो एफ एममा मलाई लाग्छ यो समाचार काठमाण्डौमा रहेका सबै एफ एम, रेडियो नेपाल, टेलिभिजनहरु र पत्रपत्रिकाहरु समेतले प्रशारित/प्रकाशित गरे होलान् । अझ यही समाचारलाई गणतान्त्रिक नेपाल भरीका एफ. एम. र पत्रपत्रिकाहरुले समेत हाइलाइट गरेरे सुनाए होलान् । परन्तु म उही नाइन्टी नेटवर्कको मात्र श्रोता हुन सकें । समाचार सुन्दा सुन्दै म खुब मज्जाले हाँसे । रुममा म एक्लै थिएँ र समाचार एक्लै सुने तर सुनेको कुरो केही बेरपछि साथीहरुलाई सुनाउँदा अरु साथीहरु पनि त्यसरी नै हाँसे । हाँसो प्रस्तोताको बोली वा एफ. एमको खिल्लि उडाउनु थिएन । घत त्यहाँ पर् यो-"कि आँगनको भगवानलाई पुज्न पनि पैशाको लेखाजोखा लगाउन भारतीय पाण्डाहरु पछि परेन छन् ।"
समाचारले धेरै बेरसम्म पछ्याई र् ह्यो । मैले निराहार ब्रत बसेका ती नेपाली नारीहरुको अनुहारलाई झल्झली देख्न थालें-"जो पशुपतिनाथको दर्शन गर्न मूल ढोकाको अगाडि लाम लागेका छन् । र, हेर्दा सामान्य घरानाका र मनैदेखिका पतिब्रता देखिन्छन् । उनीहरु बिहानैदेखि लाममा छन् । घाम-पानीको पर्वाह नगरी मन्दिर ताकेर उभिएको घण्टौ भईसक्दा पनि भित्र छिर्ने पालो आएको छैन । तर उच्च घरानाका केही नखरमाउलीहरु अर्को ढोकाबाट क्षणभरमा भित्र पसी पूजा गरेर फर्किरहेका छन् ।" हैन यो कहाँको धर्म हो ? म मनमनै आक्रोशित हुन्छु तर आक्रोश पाख्ने कुनै ठाउँ मेरो सामुन्ने हुँदैन ।
उही दिन मलेसियामा साढे दुई हुँदो हो । म समाचारका साइटहरुलाई बन्द गरेर फेसबुक केन्द्रित हुन्छु । फेसबुक पनि तीजमय छन् । फेसबुकको भित्ता मात्र होईन पर्सनल प्रोफाइल समेत तीजका खबर र रचनाहरुले भरिएका छन् । तर म अगाडिकै समाचारमा अल्झिरहेको हुन्छु । म रोकिन सकिन फेसबुकमा । र, पोखें आक्रोशलाई यसरी-"लौ अब भगवानले पनि पैशा हेर्न थालेछन् । आज तिजको ब्रत बसेका दिदी बहिनीहरुले हजार रुपैंया दिन साथ पशुपतिको अर्को ढोकाबाट चाँडो दर्शन र पूजा गर्न सक्ने रहेछन् । हे पशुपतिनाथ ! विचरा गरिब दिदी बहिनीहरुले अब हजार रुपैयाँ कहाँबाट ल्याउन् र तिम्रो दर्शन गर्न सकुन् लौ संहारकर्ता तिमी नै बताई देउ ।"
माथि उल्लेखित शब्दहरु प्रकाशित भएको केही समय पछि नै प्रतिकृयाहरु आउन थाल्यो फेसबुकमा । फेसबुक नियमित सन्चालनकर्ता नेपालीहरु, नेपालमा भन्दा बढी विदेशमै रहेका नेपालीहरु होलान् भन्ने मेरो अनुमान यहाँ पनि सही सावित भयो । विश्वका विभिन्न ठाउँमा रहँदै आएका फेसबुक मित्रहरुको प्रतिकृया मेरो भावनालाई समर्थन गर्ने नै थियो । मलाई लाग्यो मैले सही ठाउँमा झटारो फालेको छु ।
यो आलेख संस्मरण होईन । र, होईन बकम्फुसे गफ । धर्मको नाममा सोझा सिधा जनताहरु कसरी ठगिरहेका छन् भन्ने विषयमामाथिको सानो बहस हो । मार्क्सवादले धर्मलाई अफिमसँग दाँजको छ, नित्सेहरु ईश्वर मरिसकेका घोषणा गर्दछन् तापनि धर्मको अन्धविश्वास विश्वका जुनसुकै ठाउँका जुनसुकै स्तरका मानिसहरुमा कहिँ न कतै छिपी राखेकै छ । अझ विपन्न मुलुकका अशिक्षित जनताहरु धर्मको अन्धविश्वासमा चुर्लुम्म डुबेका छन्-जसको गतिलो उदाहरण हाम्रै देश नेपाल छ ।
दोश्रो जनाआन्दोलन पछि देश धर्मनिरपेक्ष घोषित भयो । तर ब्यवहारमा अझै धर्म निरपेक्षताको मर्म कायम हुन सकेको छैन । तर धर्मभिरुहरु र परिवर्तन पचाउन नसक्ने सिमित मान्छेहरु सोझा सिधा जनताहरुलाई नाजायज तर्कहरु पेश गरेर धर्म निरपेक्षताको बिरुद्धमा उसबेला बाटै उचाल्दै आएका छन् । आज यही धर्म रुपी कथित िसंढीमा टेकेर पूर्व राजा ज्ञानेन्द्र पुनः राजा बन्ने सपना पाली देशाटन गर्दैछन् । युवराज भइन्जेल डान्स पार्टी तर तरुनी मेला धाउने पारस शाह आज मन्दिरहरुमा पुजा अर्चना गर्न देखा पर्दैछन् । कालीप्रसाद दाहाल जस्ता ठगहरु कालीबाबा बनेर धर्म रक्षकको पगरी बाँधी नेपालमा पुनः राजतन्त्र फर्कने सपना बुन्दैछन् र त्यही मोहमा घुस्याहा खुमवहादुर खड्काहरु चुर्लुम्मै डुबेका छन् । देशमा आज सरकार बन्न सकेको छैन । संविधान बनाउने काम त्यतीकै थाँती रहेको छ । यसो हुनुमा दोष राजनीतिक पार्टीहरुको देखिन्छ । तर राजनीतिक पार्टीहरुको अन्तरकथालाई राम्रोसँग केलाउने हो भने परिवर्तन चाहने र नचाहने पक्षबीचको टकरावमा राजनीतिको हलो अहिले अड्केको छ । परिवर्तन नचाहने पक्षहरुलाई आफ्नो ठाउँमा अडिग रहन यस्तै धर्म भिरु र कुित्सत स्वार्थ पालेका तत्वहरुको साथ रहँदै आएको छ । यस्ता तत्वहरु स्वदेशी र बिदेशी दुवै छन् ।
राजनीतिमा मात्र होईन कथित धर्ममा पनि हामी पराधिन छौं भन्ने उदाहरण त्यही पशुपतिलाई लिए पुग्छ । र, नेपालमा कथित उच्च जातका हुँ भन्ने ब्रम्हाण समाजले (सिमित बाहेका अधिकांश परिवर्तनको पक्षमा छैनन्) आफू कति ठूलो रहेछु भन्ने बुझ्न पशुपति पुगे हुन्छ । नेपालको केन्द्र काठमाण्डौ र काठमाण्डौको मुटुमा रहेको पशुपति मन्दिरमा भारतीय पाण्डाहरु मात्र मूल पुजारी बन्ने नियमले के नेपालमाथि को धार्मिक हस्तक्षेप देखाउँदैन ? अनि आफूलाई उच्च जात ठान्ने नेपालका ब्रम्हाणहरु भारतीय पाण्डाहरुको आसेपासे मात्रै हुन् ? हिजो तात्कालिन सरकारले भारतीय पाण्डाहरुलाई हटाएर नेपालकै ब्रम्हाणहरुलाई मूल पुजारी बनाउने निर्णय गर्नु धर्म बिरुद्धको काम थियो कि जातीयता र राष्ट्रिय स्वाधिनताको लागि गतिलो कदम ? सरकारको सो निर्णयमा नेपालका ब्रम्हाणहरुले ठाडो शिर बनाएर जोर मुट्ठी उचाली समर्थन गर्नु पर्नेमा किन चुपचाप बसे ? परिवर्तनसँग डराउने यथास्थितीबादीहरुको विरोध आउँदा किन उनीहरुले आवाज उठाउन सकेनन् ? ब्रम्हाण समाज मात्र होईन धर्मको नाममा दिनदिनै पशुपति पुग्ने मान्छेहरुले समेत पशुपतिनाथको पराधिनताको बिरुद्धमा किन बोल्न सकेनन् ?
हिन्दु सम्प्रदायका आस्थाको केन्द्र पशुपतिनाथको दर्शन गर्न समेत अब धेरै पैशा तिर्नु पर्ने भएको छ । के भगवान धनीहरुको मात्र हो ? हिन्दु सम्प्रदायले सबैभन्दा नरुचाएको मुस्लिम सम्प्रदायमा धनी र गरिब एकैठाउँ बसेर सहभोज गर्दछन् र रोजामा दिनभर निराहार ब्रत बस्दछन् तर हिन्दु सम्प्रदायमा पैशा भएपछि सबथोक प्राप्त हुन्छ भन्ने मान्यताले जरो गाड्दै गईरहेको छ । साँच्चै भन्ने हो भने हिन्दु सम्प्रदायमा धनीहरुको कब्जामा कथित स्वर्ग र भगवान रहेको छ । जातको नाममा धेरै हिन्दु सम्प्रदायका मान्छेहरु हिजैबाट कथित भगवान विहिन् थिए आज पैशा नभएका गरिबहरु पनि भगवान् विहिन हुँदै गईरहेका छन् ।
साँचो अर्थमा मान्छेको मनभन्दा पर अर्को कुनै पुज्य स्थल छैन र परोपकार भन्दा अर्को कुनै धर्म छैन । विश्वका जतिसुकै नाम चलेका कथित धार्मिक स्थलहरुलाई भताभुङ्ग पारे पनि कथित भगवान रिसाएर केही गर्नेवाला छैनन् (तर त्यसमा रहेको साँस्कृतिक सम्पदाहरु त्यस राष्ट्रको मात्र होईन विश्वकै गहना हो ।) यसको गतिलो उदाहरण अफगानिसतानमा तोडिएको विश्वकै अग्लो बुद्धमूर्ति र गुम्बाहरु हुन् । हामीले मान्दै आएको कथित धार्मिक स्थलहरु आस्थाका केन्द्र मात्रहुन् साँचो अर्थमा केही पनि होईनन् । तर त्यही आस्थाको केन्द्रहरुलाई पनि सिमित हुनेखानेहरुको मात्र बनाईन खोज्नु कतिसम्म सहन सकिने बिषय हो ? म यो प्रश्न तीजको ब्रतमा हजार रुपैयाँ तिर्न नसकी पशिपतिको मूलढोका अगाडि घण्टौ लाम लागेर बल्लतल्ल दर्शन गर्न भ्याएका सबै दिदीबहिनीहरुलाई सोध्न चाहान्छु ।

No comments: