Tuesday, September 14, 2010
क्वालालाम्पुरको कविता र अन्तर्राष्ट्रिय झोलको महिमा
इन्द्र नारथुङे
दाहिने हातमा रहेको माइक्रोफोनलाई थपक्क टेबलमा राखेर उनले ग्लास समाते । र, सुरुप्प ताने विदेसी वियरको एक घुट्को । अनि सुरु भयो कविताका विम्ब र प्रतिकहरुमा पिउनुको बखान......
रक्सीमा नियाल्दै जवानीको प्रतिविम्ब
वास्तवमा एउटा उदास सनिबार पिउँछु
दिन सनीबारकै हो । झण्डै रित्तो कोतरायका नेपाली होटलहरु माझ 'द गोर्खाज' को सान बेग्लै छ । अरुबेला ग्राहकहरुको खातिर छाति उदाङ्गो पारेर निर्लज्ज यताउता छरिएको देखिने टेबल-कुर्सीहरु सर्लक्कै मिलाइएका छन् । अगाडि मन्च छ र मन्चको पछाडि भित्तामा एउटा ब्यानर टाँगिएको छ । जहाँ लेखिएको छ "मनि राई गोठालेको कथा संग्रह" युध्द समाधिको विमोचन तथा एकल कविता वाचन कार्यक्रम" ।
साहित्यकार देवेन्द्र सुर्केलीले कार्यक्रमको ढोका उघारी सकेपछि प्रमुख अतिथिको रुपमा पीताको साथ देखापर्छिन् एक बर्षिया बालिका निङ्मा नुम्फुवा लिम्बु । खबरहरुमा बेखबर बनेर पीताकै साथ माचमा विराजमान हुन्छिन् निङ्मा । यताउताको चोचोमोचोहरुलाई अन्छाउँदै-पन्छाउँदै उद्घोषकले घोषणा गर्दछन् युध्द समाधिलाई सावर्जनिक गर्ने कार्यक्रमको । फूलबुट्टे कागजले ढाकिएको "युध्द समाधि" को प्रतिहरु निङ्माको हातमा थमाइन्छ र त्यसको जिलीगाँठी खोतल्न उनकै पीताले सहयोग गर्दछन् । पीताकै हातहरुले सहारा दिएपछि निङ्माले उचाल्छिन् युध्द समाधिका प्रतिहरुलाई र दर्शकदिर्घाबाट तालीको फोहरा छुट्छ परपर…र…र…र…॥
मलेसियमा रहेका नेपालीहरु माझ मनि राई 'गोठाले' कुनै नौलो नाम होइन । कविता, कथा, गजल, यात्रा संस्मरण र मलेसियाबाट प्रकाशित हुने नेपाली पत्रिकाहरुमा चोटिलो कार्टुन चित्रको साथ हरेक हप्ता झुल्कने गोठाले कोतरायमा हुने कुनै पनि साहित्यिक कार्यक्रम छुटाउँदैनन् । विभिन्न साहित्यिक संस्थाहरुले प्रकाशन गर्ने साहित्य संगालो वा स्मारिकाहरुमा गोठालेले स्थान पाएकै हुन्छन् । उनै मनि राई "गोठाले" ले तयार पारेको कथा संग्रह "युध्द समाधि" को विमोचन र उनकै एकल कविता वाचन कार्यक्रम एक साथ सनिवार क्वालालम्पुरमा सम्पन्न हुँदाको एक दृश्य हो माथिको बखान । विभिन्न परिवेश र परिस्थितिका सोह्र वटा चोटिला कथाहरु संग्रहित "युध्द समाधि" उनको प्रथम कृति हो । कथाहरुमा भन्दा पनि कविता लेखनमा बढी भिजेका गोठालेलाई बुझेरै होला आयोजकले विमोचन समारोहपछि एकल कविता बाचनको कार्यक्रम आयोजना गरेको । लगभग दुइवर्ष अगाडि कवि दिलिप राई 'सगर' को एकल कविता वाचन कार्यक्रम पछि मलेसियाको भूमिमा गोठालेको एकल कविता वाचन कार्यक्रम दोश्रो चोटी हुँदै थियो । साचारकर्मी संघसंस्थाका पदाधिकारीहरु साहित्यकार एवं साहित्य प्रेमीहरुको धैर्यतालाई चिर्दै एकल कविता वाचन कार्यक्रमको ढोका उघारी सकेपछि उद्घोषक देवेन्द्र सुर्केलीले माइक्रोफोन गोठालेतर्फ बढाउँछन् । परन्तु उनलाई हतार ग्लास उठाउनुको र ग्लासमा छचल्किरहेको अन्तर्राष्ट्रिय झोलको मोलमा झुम्नुको ।
'पारदर्शी अग्राखहरु" शिर्षकबाट गोठाले अगाडि बढ्छन् । 'एउटा सुनामी अनामिका' लाई भेनिल्लाको पातहरुसँग दजाउँदै 'को-अर्डिनेट प्लस डि स्क्वायर' छिचोलेर 'बुथुरीको साडी'सम्म आइपुग्दा श्रोता-दर्शकहरुलाई कविताको भावले सर्लक्कै रुझाई सकेका हुन्छन् । र पहिलो बिश्राम लिनु पूर्व 'स्वायत्तता' शिर्षकमा पीडाहरुलाई यसरी छरपष्ट बनाउन पुग्छन् -
आन्द्राको ब्यारेकमा
अन्नको बुलेट नपरेपछि
ढल्नु-लड्नु आफ्नै सिमानामा…॥
सून्य समयको सून्यतालाई चिर्दै गोठाले प्रति समर्पित केही गजलका शेरहरु तरङ्गित हुन्छ हलमा । दिलदुखी जन्तरे र रुवेन पुन मगर 'रन' को गजल शेरहरुमा केहीबेर थकान मारेपछि अन्तर्राष्ट्रिय झोलका घुट्कीहरु निल्दै दोश्रो चरणमा कविता सुनाउन गोठाले पुनः माइक्रोफोन समात्छन् । र 'फ्यूजन जिलेटिन' मा यसरी पड्किन्छन्…॥
कपोलकल्पित हिमालको शिर बाँधेर
के जुहारी गाउनु सगरमाथा सित…॥
'फ्यूजन जिलेटिन' मा शान्तिप्रति जाहेर गरेको प्रतिवध्तालाई उछिनेर 'माङको अह्वान' मा अस्तित्ववादलाई कविताका विम्बहरुमा उन्छन् मनि र सिमान्तिकृत समुदायको आह्वान बनाउछन् कवितालाई-
मुन्धुमले बाँधेर आफूलाई
ग्रहलाई काट्नु पर्छ च्वाट्टै....
पूर्वको ढोका थुनेर घाम नदिनु
गोडामा ढोगर दाम नदिनु
'माङको आह्वान' गोठालेको अस्तित्ववादी उत्कृष्ट कविताको रुपमा मात्र देखा परेन इतिहास गुमाएका सिमान्तिकृत जातिहरुलाई अस्तित्व रक्षाको लागि उठ्नु पर्ने आह्वान समेत गर्न भ्यायो । कवितासँगै क्रमश बग्दै गएका गोठाले पुनः प्याला उठाएर सुरुप्प अन्तर्राष्ट्रिय झोल पिउँछन् र बाचन गर्दछन् प्रेम-समर्पणका अदितिय नमुनालाई 'अन्तिम प्रतिवध्ता' शिर्षकको कवितामा । कविता पुनः प्रेम प्रसंगमा नै बग्न थाल्छ । यात्राको एउटा अकाट्य सत्यमा पुग्नु अगावै जीवन भोग्न चाहनेहरुको कथालाई हृदयस्पर्शी शब्दहरुमा 'अवोध अपिल' मार्फत बक्त्याएर गोठाले उही अन्तर्राष्ट्रिय झोलको महिमा 'सिटी स्क्यान' शिर्षकमा पोख्न थाल्छन्…॥
रक्सीमा नियाल्दै जवानीका प्रतिविम्ब
वास्तवमा एउटा उदास सनिबार पिउँछु …॥
फेरि अर्को सून्य समयको सून्य पलहरु । तर पुनः गजलका मदहोसी शेरहरुले भरिन थाल्छ । मलेसियाका आशालाग्दा गजलकार श्रीजन श्री प्यूनुकै महिमामा गजलका शेरहरु गोठालेलाई समर्पण गर्दछन्…।
सहनै नसकेपछि अलिकति नशा पिएँ मैले
श्रीजनले माइक्रोफोन बिसाई सकेपछि सन्तोष माबुहाङको पालो आउँछ गजलका शेरहरु बहाउने । राम्रै गजल लेखेर पनि दुरुस्त सुनाउन नसक्ने सन्तोषको क्रमिकता यहाँ पनि दोहोरिन्छ । सायद भीडमा उभिएर बोल्दा उनी अतालिन्छन् । सन्तोषको गजलहरुले सन्तोष दिलाएको आलो क्षणलाई उछिन्दै उद्घोषक सुर्केली पनि पुराना गजलका शेरहरु जोरजाम पारेर पोखाउँछन् गोठालेको अघिल्तिर । ग्लास भित्रको तरलतामा ठोस बन्दै गएका गोठाले सुर्केलीले पोखाएका गजलका शेरहरुमा बग्दै पुनः तेश्रो तथा अन्तिम प्रयासमा जुट्छन् । कविताले चरमविन्दु छुनै लागेझैं ग्लासप्रतिको आशक्तिले पनि उनलाई चरमविन्दुमै पर् याई सकेको हुन्छ । उनले बाचन गरि सिध्याएका दसवटा कविता भन्दा बेग्लै रुपरेखा बोकेर एघारैं कविता देखापर्छ 'तितो विकल्प' । सुनिरहँदा यस्तो लाग्यो यो कविता होइन प्रवासमा रहेका सारा नेपालीहरुको वास्तविकता हो कथा हो । देश छोड्नुको पीडामा जलिरहेका मनहरुको आर्तनाद हो र प्रवासीहरुले भोग्नु परिरहेको दारुण कहरको फेहरिस्त पनि ।
गौरवहिन हिमाल
एकचोक्टा पासपोर्टमा
च्यापेर झुक्नु
इमिग्रेसनको
ग्यारेलपील अगाडि……
'तितो विकल्प' मा हिमालको मान्छेले प्रवासमा हिमाल नभेटे पनि 'एउटा निराकार खोज' गोठालेको मुखारविन्दुबाट प्रवाहित हुन थाल्यो । 'एउटा निराकार खोज' वास्तवमै निराकारनै रहेछ । परन्तु 'पथिक मृत्युन्जय'मा गोठाले ब्यूँझन्छन् र युध्दको विभिषिकाहरुलाई पसिनामा बगाउन चाहान्छन् । छेवैमा बसेर सहयोग गरिरहेका श्रीजनले कविता एउटामात्र रहेको जनाउ दिनसाथ ग्लासमा बाँकी रहेको अन्तर्राष्ट्रिय झोल पदार्थलाई स्वाँट्ट बनाएर कविता वाचनमा जुट्छन् मनि । यस्तो लाग्छ कविताको शिर्षक 'रङ्गविहिन भीरहरु' भए पनि मनिले जताततै शब्दका रङ्गहरु छरिरहेका छन् कुनै रातो कुनै पहेंलो त कुनै निलो र सेतो । त्यसैले त अधिकार विहिन बनाइएकाहरुको कथालाई उन्छन् कवितामा…॥
केही परका चोक र गल्लीहरु
लुकेर अलिकती घाम हेर्न चाहान्छन्…॥
झण्डै तीन घण्टा अगाडिदेखि कविताको भावसँगै अविराम बगिरहेको समयलाई गोठालेको अन्तिम घुट्कोले पूर्ण विराम लगाउन सकेन । गोठाले प्रति समर्पित गजलका शेरहरु बगिनै रहे । एकैक्षणको बसाईमा विनो लामा 'दुखिया' ले दुई शेरको अपुरो गजल तयार पारे र बाचन गरिहाले । रविन्द्र राई 'अधुरो' को गजल शेरहरु पनि गोठाले प्रतिनै समर्पित हुन पुग्यो । मौकामा चौका हान्दै उद्घोषक सुर्केलीले फेरि पुरानो गजलको सुर्को खोली छाडे । र हतारहतार कार्यक्रमका सभापति धनवहादुर देवानलाई कार्यक्रम विस्रजन गर्न अनुरोध गर्दै नेपाल पत्रकार महासंघ सम्पर्क शाखा मलेसियाको बैठक भ्याउन द गोर्खाजको चौघेरबाट फुत्त बाहिरिए ।
कार्यक्रमको समापन भएपछि तितर-वितर भएको श्रोता-दर्शकको भीड केही बेरमा टेबल-टेबल जुट्न थाल्यो । सामान्य गाइँगुइँको बीचमा कतैबाट अलिक प्रष्ट आवाज आयो…'यो अन्तर्राष्ट्रिय झोलको स्वाद मीठो कि मनि दाइको कविता ?"
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment