Sunday, October 17, 2010

खोटाङको सिम्पानीमा कविता प्रतियोगिता हुँदै

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०१ औं जन्मजयन्तीको अवसरमा खोटाङमा खुल्ला कविता प्रतियोगिता हुन गईरहेको छ ।
स्पर्शन साहित्यिक मञ्च खोटाङको आयोजनामा सम्पन्न हुन गईरहेको सो खुल्ला कविता प्रतियोगितामा विश्व नेपाली साहित्य महासंघको लागि केन्द्रिय समितिका सचिव इन्द्र नारथुङले पुरस्कारहरुको प्रायोजन गर्नु भएको छ ।
कार्तिक १८ गते विहिबार खोटाङको सिम्पानी क्याम्पसमा सम्पन्न हुने सो प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने सर्जकहरुलाई नगद पुरस्कारको साथै प्रमाण पत्र र मेडल प्रदान गरिने र मातृभाषामा कविता बाचन गर्ने सर्जकहरुलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष कृष्ण श्रीले जानकारी गराउनु भएको छ ।

Sunday, October 3, 2010

हेलिकोप्टर चढेर रिपोर्टिङ्ग


Indra Narthunge
म्याग्दी जिल्लाका नयाँ अनुहारहरुसँग म जतिबेला साईनो साटिरहेको हुन्छु त्यसबेला अधर अचानक फुस्कने गर्दछ 'म पनि बरम्जामा त पुगेको छु नी ।' एक्कैचोटी बरम्जाको नाम उच्चारण गर्दा नवपरिचत म्याग्देलीहरु झस्कने गर्नुहुन्छ । स्वभाविक हो यर्थातलालाई ओझेलमा राखेर गरिएको कुरोले अल्मल्याउने गर्छ सबैलाई ।
बारीका कान्ला छेल पार्नेगरी हर्लक्कै हुर्किएका मकैको बुटाले सर्लक्कै ढाकिएको भिरालो गाउँ, बाछिटाले कमेरो बगाएर लेघ्रै-लेघ्रा पोतिएको माटाको होचा घरहरु, लिउन नहानेको गारोमा टिनको छानो ओताईएको स्कुलभवन, हरियो सर्ट र निलो पैन्ट तथा फ्रकमा लाज ढाकेर भविश्य खोज्न आएका स्कुले भुराभुरीहरुको छुनुमुनु, आशै आशमा स्कुल प्राङ्गणभरी बिस्कुन लाग्न आईपुगेका गाउँलेहरुको थामिनसक्नुको भिड, काँधमा भिरेको बन्दुकले अन्तरमनलाई छियाँ-छियाँ बनाई बाहिरी घाउमा मलहम लाईटोपल्न तम्सीरहेका सेनाहरुको सानो टुकडी र सहरबाट भरखरै उत्रिएका सुकिला मुकिला मान्छेहरुको चुरीफुरी यही हो मैले त्यस दिन देखेको बरम्जा गाउँको सचित्र ।
माओवादी र सरकारबिच दोश्रो पटक युद्धबिराम भई तीन चरणको बार्ता सकिसकेको थियो । युद्धबिरामको फाईदा उठाउदै स्वास्थ्य शिविर लिएर माओवादी प्रभावित गाउँहरु पुग्न सेनालाई असारको पन्ध्र थियो । सेनाको तात्कालिन मध्यपृतना (हाल पश्चिमपृतना) पोखराको पहलमा पश्मिााचल र मध्यमााचलको धादिङ जिल्लाका केही गाउँहरुमा शिविर सम्पन्न भईसेको थियो । दाङ्को हापुरेमा सम्पन्न हुने चौथो चरणको वार्ताको दिन जति नजिकिन्दै थियो उति नै स्वास्थ्य शिविर जोडतोडले चलिरहेको थियो । सरकारलाई सूचना प्रतिको मोहको कारण हो वा तात्कालिन मध्यपृतनापति चित्रबहादुर गुरुङको सञ्चारकर्मीसँगको हेलमेलको कारणले हो हरेक स्वाथ्य शिविरमा पोखराका सञ्चारकर्मी हरुलाई हेलिकोप्टरमा राखेर शिविर सञ्चालन भएको ठाउँमा लगिने गरिदै थियो । म त्यसबेला 'सञ्चार दर्पण' साप्ताहिकमा आबद्ध थिएँ । प्रधान सम्पादक, कार्यकारी सम्पादक र अन्य केही सम्बाददाता साथीहरुले हेलिकोप्टरको यात्रा तयगरी सेनाको नौटंकीलाई नियाल्ने अवसर पाईसक्नु भएको थियो तर म बाँकी नै थिएँ । मध्यपृतनाको पहलमा सम्पन्न भईरहेको स्वास्थ्य शिविरको समापन म्याग्दीको बरम्जाबाट हुँदैरहेछ । स्वास्थ्य शिविरमा जान बाँकी रहेका सबै पत्रकारहरुलाई बरम्जा जानको लागि उर्दी आयो । म कार्यलयमा बसेर भोली पल्ट निस्कने पत्रिकाको लागि समाचारहरु कोरिरहेको थिएँ । फोनको घण्टी बज्यो फोन मैले नै उठाए । हेल्लो भन्न नपाउदै उताबाट आवाज आयो "म डिआईजी कार्यालयबाट ईन्सपेक्टर प्रताप गुरुङ्, ईन्द्र जीलाई तुरुन्त एयरपोर्ट जान भनिदिनु होला ।" "म नै हुँ ईन्द्र किन होला " । "ए स्वास्थ्य शिविरमा जानको लागि हजुर पनि छुट्नु भएको रहेछ त्यसैले । मलाई चिन्नु भएन म प्रताप गणेश सरको छोरा ।" म अक्सर तात्कालिन राजसभा स्थायी समितिका सदस्य गणेशवहादुर गुरुङको घरमा पत्रिकाको काम लिएर गईरहन्थे प्रताप जीले त्यतिबेलै मलाई चिन्नु भएको रहेछ । उहाँले फोन राखिसकेपछि प्रधान सम्पादक नारायण सरसँग सल्लाह गरेर म एयरपोर्ट पुगे । केही पत्रकार साथीहरु अगाडिनै पुगिसक्नु भएको रहेछ । तर अन्य साथीहरु आईपुग्न बाँकी रहेकोले उडान केही ढीला हुनगयो ।
एयरपोर्टबाट करिब बाह्र जना पत्रकार, बीस-बाईस जनाको हाराहारीमा सुरक्षाकर्मीहरु र केही शिविर सञ्चालनको लागि सहयोगी स्वास्थ्यकर्मीहरुलाई लिएर सेनाको एउटा हेलीकोप्टर बिस्तारै उत्तर पश्चिम दिशा समातेर उड्न थाल्यो । म लगायत धेरै पत्रकार साथीहरुको पहिलो आकाशे यात्रा भएकोले एकापसमा बोल्नु भन्दा पनि नयाँ अनुभूतिलाई मनमा कुम्लो कस्न मै मस्त भईरहेका थियौं । फेवातालको निलोपानीमा छाँया पार्दै हेलीकोप्टर लुम्लेको डाँडो नाघेपछि सिधै पश्चिम तिर मोडियो । पर्वत जील्लाको पहाडे कुईनेटाहरुमा नागवेली पर्दै हेलिकोप्टरले कालीगण्डकीको तीर पहिल्याउन थालेपछि कुस्मा र बाग्लुङ बजारमा असरल्ल छरिएको घरहरुले नयनलाई केहीबेर तानिरह्यो । कालीगण्डकीको किनारमा नाईलनको सेतो धागो टाँगेको जस्तै देखिने कच्चीबाटो पहिल्याउँदै जाँदा खोला र नदीको बिचमा चेप्पिएर गुज्मुटिएको बेनी बजार देखापर्छ । लोकगितका शब्दहरुमा प्रख्याती पाएको बेनी बजारलाई मैले ओझेल नपरुञ्जेल चिहाई रहें । हेलिकोप्टरले बिस्तारै उचाई लिदै एउटा डाँडो फुत्त नाघेर पहाडको छाती चिरी बग्ने एउटा खोलालाई पछ्याउन थाल्छ । केही बेरको आकाशे यात्रालाई बिटमार्दै हेलिकोप्टर मकैबारीमा चारपाउ टेक्न पुग्छ । नयाँ अनुभूतिले मन चञ्चल बनिरहेको थियो । सुरक्षाकर्मी र स्वास्थ्य कर्मीहरुको पाईला खप्ट्याउँदै हामी हेलिकोप्टरको पेट चिरेर बनाईएको सानो प्वालबाट हुतुतु निस्कन थाल्छौं ।
शिविर सञ्चालन भईरहेको ठाउँ अलिक माथि डाँडामा रहेछ । एकहुल बिध्यार्थीहरु हामीलाई गाईड गर्न आईपुग्छन् । अरुभन्दा औसत मोटो पत्रकार बिनोद धौलागिरी र एमवि आस्था उकालोमा चारपाउ गर्न थाल्छन् । अन्नपूर्ण एफ.एम.का स्टेशन ईन्चार्ज दिपेन्द्र श्रेष्ठ भुराभुरीहरुलाई एफ.एम. सेट निकालेर आफ्नो प्रोगाम सुनाउन हतारिरहेका हुन्छन् । मान्छे साथमा भएपनि आवाज एफ.एम.बाट आईरहेको सुनेर नै होला ती भुराहरुको अनुहारमा आश्चर्य पोतिएको म ठम्याउछु । हिड्न सिपालु सुरक्षाकर्मीहरु कोही फटाफट निस्किसकेका छन् त कोही हामीसँगै ताते गरिहेका हुन्छन् । म पहाडमा जन्मी हुर्केको मान्छे भएपनि सहर पसेपछि गाउँको गोरेटोहरु बिरानै भए जस्तो लाग्यो । अलिकती उकालो चढ्न पनि निक्कै हम्मे परेको देख्दा मैले बिगतलाई नियाले जतिबेला ढाकरभरी सुन्तोला भारी हालेर चार दिनको बाटो काटी म र मेरा दामलीहरु उदयपुरको बेल्टार बजार झर्दथ्यौं । ती दिनहरुमा उकाली ओह्राली हिड्नु सामान्य नै लाग्थ्यो ।
हामी पुग्दा शिविर शुरु भईसकेको थियो । शिविरमा पोखराका बरिष्ठ सुरक्षाकर्मीहरु पृतनापति अतिरथी चित्रवहादुर गुरुङ, जनपद तर्फका डिआईजी ज्ञानॆन्द्रबिक्रम महत, शसस्त्र तर्फका डिआईजी अमरविक्रम नेम्वाङ लगाएतको उपस्थिती रहेछ । केहीबेर पत्रकारहरुलाई कार्यक्रमको बारेमा जानकारी दिने कामपछि सुरक्षा अधिकारीहरु फर्किए । हामी भने चारकुना घुमीघुमी समाचार बटुल्न थाल्यौं । स्कुलका कोठाहरुलाई शिविर सञ्चालनको लागि उपयोग गरिएको थियो । सामान्य विमारी देखी नागरिक्ता बनाउने र राहत थाप्नेहरुको भिड अचाक्ली थियो । अपाङ्ग बृद्ध-बृद्धा, बालबालीकाहरुको अनुपातमा युवाहरुको संख्या साह्रै न्यून लाग्थ्यो । सुरक्षाकर्मीहरु सबैसँग नम्रता साँध्ने प्रयत्न गरिरहेका थिए । स्वास्थ्यकर्मीहरुको समुह बिमारीहरुको जाँचमा तल्लिन थिए । प्रशासनिक निकायका मान्छेहरु पनि उस्तै ब्यस्त । तर साथी आस्था र म भिडबाट केहीबेर ओझेलिन्दै कान्ला माथि उक्लियौं । गतिलो समाचार त कान्ला माथि थियो । खिसा च्यापी सकेको मकैको हलहलाउँदो बुटालाई सोतर बनाएर काटिएको देख्दा मन कुँडिएर आयो । हेलिकोप्टर ल्याण्ड गर्न मकै त्यसरी ढालिएको रहेछ । कुरो बुझ्दा क्षतीपूर्ति दिने सर्त भएको रहेछ । त्यतिबेलै एकजनाले हेलिकोप्टरले घरको धुरी उडाएको जानकारी टिपाए । धुरी उडाएको क्षतिपूर्ति दिन्छु भनेपनि नपाएको गुनासो थियो घरधनीको । कान्लामा चढेर समाचार मात्र खोजिएन प्रकृतिसँग मितेरीलाउने असीम चाहनालाई पनि धित मरुञ्जेल पुरागर्न पाईयो । खोलापारीको घना जङ्गल, पहाडको टुप्पोमा बिश्रान्ती लिन ओर्लिएका बादलको लपेटो, बारीको भित्तोमा झ्याम्म लत्रिएको बन्सो घाँस र घरको करेसामा राताम्य हुँदैगरेका आलुबखडाका दानाहरुमा मन अल्झाउँदै मैले मेरो गाउँलाई सम्झिरहें । र, शिविरमा आशाहरु बिटो कसेर लाम लागेका गाउँले मनहरुमा मेरो आफन्तहरु पनि छन् कि जस्तै लाग्यो ।
करिब चार घण्टाको भिडभाड पछि शिविर पातलिदै जान थाल्यो । सहरबाट हेलिकोप्टरले बोकेर ल्याएको चामल राहत स्वरुप पाउनेहरुको मुहारमा छाएको चमक हेर्दा उनिहरुले संसारै जितेको पो हुन् कि जस्तै लाग्थ्यो । एकैक्षण स्वाथ्यकर्मीले सुमसुम्याईिदंदा बिमारै निको भएको धेरैले महशुस गरिरेका थिए । घरकै करेसोमा नागरिक्ता बनाउन पाउँदा खुसीले फुल्नेहरु निक्कै थिए । भुराभुरीहरु हेलिकोप्टर हेर्न पाउँदा कम्ती रमाईरहेका थिएनन् । खुसीको लहर सुरक्षाकर्मीहरुमा पनि थियो । तर पत्रकारहरु भ्रम बेचेर सस्तो लोकपि्रयता बटुल्ने सरकारी चालबाजीबाट सन्तुष्ट थिएनन् । समस्या मुटुमा छ तर हातमा सुम्सुम्याएर उपचार गर्न खोज्नुको कुनै तुक नभएको निश्कर्ष थियो पत्रकारहरुको । यो भिषण युद्धको तयारी हो, सबैको मनले यही बोल्दै थियो । हेलिकोप्टर आईपुगेको जानकारी पाईयो । अघी चारपाउ टेकेर निस्किएको उकालोमा समाचारको बोझ बोक्दै हामी हामफाल्न थाल्यौं । डाँडामा लाईनबद्ध भएर भुराभुरीहरु हात हल्लाई रहेका थिए । हेलिकोप्टरको ढोका उघ्रीयो । पालैपालो पसेर आसन जमायौं । हावामा पङ्खाले गति बढाउन थाल्यो । केहीबेरमा जुरुक्क उचालियो हेलिकोप्टर र बिहानको बाटो पहिलाउन थाल्यो । करिब पौतिस मिनेटपछि पोखरा एयरपोर्टमा थुपि्रन हामी आईपुग्यौं ।
अर्कोदिन बिहान पोखराका सबै दैनिक र साप्ताहिक पत्रिकामा अघिल्लो दिनको समाचार महत्वका साथ छापिएको थियो । पत्रकारको भित्री अनुभूति त समाचारमा थिएनन् नै तर बाहिरी दृष्टिपनि सुरक्षाकर्मीले हेलिकोप्टर चढाएको गुणको पैंचो तिर्न मात्रै लेखिए जस्तो लाग्यो । मैले बनाएको मूल समाचारको भावपनि उस्तै थियो तर सँगैको 'ब्रेकर'ले निक्कै हल्ला पिट्यो । "हेलिकोप्टरले घरको घुरी उडायो" शिर्षकको त्यो ब्रेकर सुरक्षाकर्मीको बिचमा पनि चर्चाको बिषय बनेको कुरा पछि थाहा पाँए ।
हेलिकोप्टरमा त चढियो तर सुरक्षाकर्मीहरुको अप्रत्यक्ष मानसिक दवावमा परिएको भने हेक्का नै भएन उसदिन । हाम्रो साथमा पोखराबाट प्रकाशित हुने माओवादी निकट "हाम्रो स्वाभिमान" साप्ताहिकका सम्पादक कोमल बराल (हाल जनादेश साप्ताहिकका सम्पादक) पनि हुनुहुन्थ्यो । सुरक्षा निकायको माथिल्लो तहबाट पत्रकारहरुको पिछा गर्न निर्देशन नै दिईएको रहेछ । कोमल बराललाई माओवादीको ठूलै नेता हो भन्ने भ्रम सुरक्षा निकायमा परेको कारणले नै त्यस्तो उर्दी गरिएको हुनसक्छ । जे होस् सरकारी खर्चमा हेलिकोप्टर चढेर पत्रकार हुनुको फाईदा लुटियो त्यस दिन तर बरम्जाबासीहरुको न्यानो स्नेहले अझैपनि कहिले काँही मन पग्लिन्छ । साथी आस्था निक्कै पछिसम्म फेटो खिच्न कर गर्ने पुन थरी एक बहिनीको नाम कण्ठै पारेर सम्झना गरिरहन्थे तर मैले सेनाको पोशाकमा सजिएकी एक षोडसीको प्रतिविम्ब मनमा सजाई रहे केही समय ……

स्मृतिमा कोरिएको एउटा भाइटीका


दिनहरु हजारौं बितेर गएका छन् आँखै अगाडि । दिनको धर्म भनेकै आउनु र जानु न हो । केही लिएर आउनु र स्मृति छोडेर जानु दिनको दिनचर्या भित्र मान्छेको कुनै बेला मन अल्झिएर जाँदो रहेछ । मन साथैमा लिएर जाने दिन नै अविश्मरणीय बन्दो रहेछ मान्छेको लागि । मेरो पनि केही दिनहरु यस्तै छन् पलपल सम्झनै पर्ने । तिनीहरु मध्ये एउटा दिनको सम्झनामा यी हरफहरु कोर्दैछु प्रवासबाट ।
शरद ऋतुको मदहोशीमा मस्त धरतीको आँचल तलार्दै वहने पवनमा पुष्प गन्धको वासले प्रकृति नै पुष्पमय भएको बेला मानव मनहरुमा एक प्रकारको पर्खाईले चिथोरी रहन्छ-प्रत्येक बर्ष । नेपालीहरुको महान पर्व दिपावली अर्थात भाइटीकाको पर्खाई युगौदेखि चलिरहेको छ, यसैगरी । भाइटीका आउँछ-जान्छ तापनि आउने दिनको प्रतिक्षामा मन अधिर हुन्छ नै । यस्तै भईरहेको थियो त्यो बर्ष पनि-माइती हुने चेलीहरु र चेली हुने माइतीहरुको मन । तर माइती नहुने चेली र चेली नहुने माइतीहरु भने भित्र भित्रै साउन बर्षाई रहेका हुँदाहुन् । कस्ले बुझ्ने ती बर्षिने सावनको मनोदशा, यस्तै लाग्थ्यो मलाई । हैन म गलत रहेछु । मेरो कानो आँखाहरुमा रोशनी त्यतिबेला देखा पर्दछ जब मेरै सहकर्मी साथी मुना नजिकै आएर भन्छिन् "ईन्द्र जी यो सालको भाइटीका विषेश ढङ्गले एफ.एम. परिसरमा मनाउनु पर्छ ।" आधा बालापन साथैमा राखेर जवानीको खुट्कीलो उक्ली सकेकी चुलबुली मुनाको मन यति फराक होला भन्ने मलाई ख्यालै थिएन, उनको योजना नसुनिन्जेलसम्म । माइती नहुने चेलीलाई माइती र चेली नहुने माइतीलाई चेली खोजी दिएर एफ.एम. परिसरमै भाइटीकाको आयोजना गर्ने प्रश्तावले मन हरक्कै भएछ, मैले सोच्दै नसोची "हुन्छ म सहयोग गर्छु" भनिदिएछु कुन बेला पत्तै भएन ।
पोखराको एकमात्र सामुदायिक रेडियो हिमचुली एफ.एम. ९३.४ को ध्वनी तरंङ्गमा गुञ्जन थाल्यो, माइती-चेली खोज्ने विज्ञापन । 'आधा आकाश' कि लोकप्रीय सञ्चालिका मुना आफ्नो कार्यक्रमको सन्दर्भ नै मोडेर माइती-चेली खोज्नमा आधा घण्टा ब्यतिथ गर्न थालिन् । 'मेरो रोजाई' मा अञ्जना 'सरगम' मा जुना र भिमको 'गामबेसीका सुसेलीहरु'मा पनि माइती-चेली कै खोजी हुन थाल्यो । 'स्पर्श' मा साथ दिईन् गीताले र मैले पनि हरेक बुलेटिनको बिचमा माइती-चेली खोजीको बिज्ञापन सुटुक्क बजाउन थालें । तिहार मान्न घर जानेहरुको कारण एफ.एम. झण्डै सून्य नै भईसकेको थियो । प्रस्तोताहरुको अनुपस्थितीको फाईदा उठाउँदै धेरै कार्यक्रमहरु सञ्चालनको अभिभारा लिएर माइती-चेलीको खोज अभियानलाई तिब्रता दियौं सबैले । स्टेशन म्यानेजर दिलिप सरको हार्दिकतापूर्ण सदासयताले हामीमा थप हौशला थियो नै त्यो भन्दा बढी अरु एफ.एम.को भन्दा बेग्लै कार्यक्रम सञ्चालन गर्नु पाउँदा राम्रै स्कुप मारेको हामीले ठानी रहेका थियौं । नभन्दै फोनको घण्टी बज्न थाल्यो क्षण-क्षणमा ।
२०६० सालको भाइटीकाको प्रभात पनि बिस्तारै सूर्यको रोषनीमा खुल्न थाल्छ । ६.३० को हिमचुली बुलेटिनको पहिलो समाचारको सारंश म भन्न थाल्छु ९३.४ हिमचुली एफ.एमको ध्वनी तरंङ्गमा "आज नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको महत्वपूर्ण दिन भाइटीका हिमचुली एफ.एम. परिसरमा नै भाइटीकाको आयोजना…।" बिहानको दश बज्दा नबज्दै सयपत्री मखमली र गोदावरीका रङ्गिबिरङ्गी माला सप्तरङ्गी टीकाको थाली र माइतीको लागी मिष्ठान्न भोजनको जोहो गरेर माईती बिहीन चेलीहरु हिमचुली एफ.एम. परिसरमा भेला हुन थाल्छन् । केही क्षणको पखाईपछि नै माइतीहरु हातमा चेलीहरुको लागि सौदा बोकेर एफ.एम.को िसंढी उक्लन्छन् । स्टुडियोमा भीम आफै प्राविधिक आफै प्रस्तोता यता हामी बैठक रुम सजाउन ब्यस्त । अञ्जना पनि साथीहरुको साथमा आईपुग्छिन्, नजीकै घर भएकी जुना त हुने नै भईहालिन् । कताबाट पुनम पनि टुप्लुक्क आईपुग्छिन् । सबैको मिलेमतोले बैठक कक्ष भाइ पुज्नको लागि योग्य बनाईन्छ । मुनाकी सहपाठी राजकुमारी र नारायणीको चरीफूरी उस्तै, सहोदर माइतीहरुबाट चेलीको स्नेह नपाएर नयाँ माइतीको पर्खाईमा रहेकी तुलसी र माइतीघर भन्दा धेरै ढाटा रहेकी सरस्वती दुवै खुसीले नाची रहेका देखिन्छन् । स्याङ्गजाबाट करिब ३० किलोमीटर यात्रा पार गरेर आईपुग्नु पर्ने तीन चेलीहरुको आगमन पछि माइती र चेली मिलाउन सबै लागि पर्छौं । सबै माईती र सबै चेलीको प्रश्तावलाई इन्कार गर्दै मुना अगाडि बढेर भाग लगाउन थाल्छिन् । जात, धर्म र दुरीको ख्याल हुन्न कसैलाई । माईती र चेलीको पवित्र बन्धनमा बाँधिएर भाइटीका लगाई दिन चेलीहरुलाई हतारो, माइतीहरुलाई सप्तङ्गी टीका र सयपत्रीको हार पहिरिन उस्तै छट्पट्टी । साईत खुलेको घोषणा गर्छिन् मुना । चेलीहरु आ-आफ्ना माइतीहरुलाई तेलको चौघेराले सुरक्षित पार्न ब्यस्त हुन्छन् । मुना, जुना, नारायणी र राजकुमारी हेर्न मै मस्त । म भने क्यामरा मिलाई-मिलाई फोटो लिन थाल्छु । माइतीहरुको खाली निधारमा सप्तङ्गी टीकाको लर्को कोरिन्छ, सयपत्री मखमली र गोदावरीको मालाले गला भरिन्छ । सौदा दिने र लिनेमा होड्बाजी चल्छ । सबैले आ-आफ्ना माइती पुजी सकेपछि अरुको माइतीहरुलाई पनि फूलमाला परिर्याउन हतारिन्छन् चेलीहरु । फेरी सबै बिचमा ढोकाभेटले वातावरण भावनामय बन्छ । चेलीहरुले दिएको मिष्ठान्न ग्रहण गर्न माइतीहरु हतारिन्छन् चेलीहरु माईतीले दिएका सौदा पोको पार्न थाल्छन् । केही क्षण फोटो खिच्ने क्रम चलेपछि सबै माईती चेलीहरुको नयाँ अनुभवलाई प्रत्यक्ष प्रशारण गर्न स्टुडियोमा भेला पारिन्छ । मुना एकाछेउमा बसेर कार्यक्रम सञ्चालन गर्ने ईसारा गर्छिन् । खुसीले प्रफुल्लित मुद्रामा देखिएका माइती-चेलीहरुलाई पालैपालो प्रश्न सोध्न थाल्छु म । प्रश्न सोध्ने क्रममा म पहिलो पल्ट सरस्वतीलाई तपाई सम्बोधन गर्दछु । तपाई भनेर सम्बोधन गर्दा ऊ एकछिन् अल्मलिन्छे पनि । सम्बन्ध जे भएपनि औपचारिक कार्यक्रमा अनौपचारिक शब्द प्रयोग गर्नु त मिलेन नै । प्रश्नले मुनाको कोमलतालाई पनि छुन्छ । उनी पग्लिन्छिन् र बग्न थाल्छिन् भावनाहरुमा । मित्रताको प्रसंशामा शब्दहरु खर्चन थालेपछि म रोकेर उनैलाई कार्यक्रम सञ्चालनको अभिभारा सुम्पन्छु । फेरी मुनाको कोमल आवाजमा मनै छुने शब्दहरुले एफ.एम.को ध्वनी तरंङ्गमा प्रभाव फैलाउन थाल्छ । करिब एकघण्टा पछि कार्यक्रम टुङ्ग्याउनु पर्ने ईसारा पाएपछि कार्यक्रमको बिटमार्न थाल्छु म । कार्यक्रम समापन पछि मनमा थप नौलो अनुभूति बोकेर माइती चेलीहरु निक्लन थाल्छन् । म भने तीन बजेको हिमचुली बुलेटिनको लागि स्टुडियोमा नै रहन्छु । समाचारको सिग्नेचर ट्युन पछ्याउदै मुख्य समाचार बिधुतीय ध्वनी तरङ्गमा फैलिन थाल्छ "नेपालीहरुको दोश्रो महान पर्व तिहारको अन्तिम दिन भाइटीका मनाईदै, हिमचुली एफ.एम.मा भाइटीका ग्रहण गर्ने कार्यक्रम भरखरै सम्पन्न……"
समाचार भट्याएर बैठक कक्षमा झर्दा सबैले मलाईनै कुरी रहेका रहेछन् । सबै माइतीहरुको निधारमा सप्तरङ्गी टीकाको लर्को र सयपत्रीको हारले भरिएको गला तर म भने रित्तै सबैको नजर बल्ल ममाथि पर्छ । मुना कार्यक्रमको आयोजक थिईन् तर उनले पनि कसैलाई माइती मानेर टीका लगाई दिईनन् । माइती-चेलीहरुको जिज्ञाँसा पूर्ण नजरले हामी दुवैलाई पछ्याउन थाल्छ । मुनाले पनि बुझिन् क्यारे अलिक अप्ठ्यारो मान्दै पछाडि सरेर आफ्नो कुम्लो सुम्सुम्याउन थाल्छिन् । आर्कषक काजगले बेहि्रएको एउटा उपहार झिकेर मेरो हातमा थमाउँछिन् । धन्यवाद ! भन्दै म उनको चञ्चल नयनमा नयन चार बनाउछु । खुसीमा उनको प्रत्येक अवयवहरु झुमी रहेका थिए । उपहार दिने र लिने कि्रयालाई सबैले अनौठो मानिरहेको भान हुन्थ्यो । सरस्वतीको मनमा पनि चिसो पस्योकी क्याहो मलाई सोझो आँखाले हेर्न सकिनन् । मुना र म बिचको सम्बन्धको पोल त्यही बन्द उपहारले खोल्थ्यो तर मैले त्यहाँ फुकाउन ठिक ठानिन र राख्नको लागि सरस्वतीलाई जिम्मा लगाएँ । हतार त सबैलाई थियो तर सबैभन्दा बढी मलाई नै हुनुपर्छ । तीन बर्ष अगाडि देखि मानिआएको मेरी धर्म दिदीको प्रतिक्षा लामो भई सकेको थियो । सबैसँग बिदा भएर म फुलबारी तिर हुईकिएँ । त्यो दिन जति पुरानो बन्दै छ लाग्छ समृतिमा अझै ताजा बन्दै गईरहेको छ । गाँसिएको सम्बन्धहरु कताकता पुगे केही पत्तो छैन तर त्यस दिन मुनाले दिएको उपहार एउटा सुन्दर कार्ड भित्रका हरफहरु अझै पनि सम्झन्छु "सच्चा मित्रको अजम्बरी सम्झनाहरु…॥"

Saturday, October 2, 2010

'सबैभन्दा खतरनाक हुन्छ- सपनाको मृत्यु


पञ्जाबी कवि अवतारसिंह पाशको स्मृति


सेप्टेम्बर महिना भारतीय प्रसिद्ध क्रान्तिकारी कवि पाशको जन्म महिना हो । ३८ वर्षको जाग्दो उमेरमै उनको हत्या नभएको भए यतिवेला उनी साठी वर्षमा हिँड्दै हुन्थे । दमन र अत्याचारका विरुद्धमा लेखिएका पाशका अधिकांश कविताहरू आक्रोशले भरिएका हुन्छन्, र तिनले मजदुर, किसान, महिला र संघर्षरत मान्छेका पक्षमा चर्को स्वर दिन्छन् । कवि पाशका लागि यो जगत्मा सबैभन्दा खतरनाक केही हुन्छ भने त्यो हो- सपनाको मृत्यु हुनु । सही हो, सपना दबाउन चाहने र सपना मार्न चाहनेहरू पाशका कविता रुचाउँदैनन् । तर, जो निरन्तर सपना देखिरहन्छन् र सपना जोगाउन चाहन्छन्, उनीहरूका लागि पाशका यी पंक्ति पक्कै पनि पि्रय लाग्नेछन्- सबैभन्दा खतरनाक हुन्छ, हाम्रा सपनाहरूको मृत्यु हुनु Û

जीवनमा सपनाको मृत्यु हुनु सबैभन्दा खतरनाक हुन्छ । आफ्नो जीवनको अन्तिम कविताका रूपमा प्रकाशित यही 'सबैभन्दा खतरनाक' कवितापछि कवि पाशबाट अरू नयाँ कविता लेखिने क्रम समाप्त भयो । तर, संसार छाडेर गएको दुई दशक नाघिसक्दा उनका कविताले पन्जाबी भाषाबाट हिन्दी, अंग्रेजी, नेपाली, बंगालीलगायतका भाषामा उल्था हुँदै लाखौँ पाठकका हृदयमा सपना भरिरहेका छन् । कविको भौतिक ज्यान अब यस संसारमा छैन । तर, मानिसका सपनालाई मर्नबाट जोगाउन पाशका थोरै कविताले अहिले पनि उत्तिकै ऊर्जा थपिरहेका छन् ।

पाशको खास नाम अवतारसिंह सन्धु हो । तर, साहित्यमा उनी 'पाश' उपनामले नै प्रसिद्ध छन् । भाषा र भूगोलको सीमाभित्र हेर्ने हो भने कवि पाश भारतीय हुन् र त्यसमा पनि पन्जाबी मूलका । तर, उनका शक्तिशाली सिर्जनाले दिनप्रतिदिन भाषा र भूगोलका पर्खाल भत्काइरहेका छन् ।

जालन्धर जिल्लाको तलवंडी सलेम गाउँमा उनी सन् १९५० सेप्टेम्बर ९ मा जन्मेका थिए । पन्जाबमा नक्सलवादी आन्दोलन फैलिरहेका बेला उनी हुर्के, जतिबेला जमिन्दार, उद्योगपति र दलाल व्यापारीविरुद्धको क्रान्तिकारी आन्दोलन झन्झन् बढ्दो थियो । माध्यमिक तहसम्मको अध्ययन सकेपछि पाशले कपुरथलाको जुनियर टेक्निकल स्कुल, जालन्धरको सन्ध्याकालीन कलेजलगायतमा उच्चशिक्षा हासिल गरेका थिए । सन् १९६७ मा उनी भारतको सीमासुरक्षा बलमा भर्ती पनि भए । तर, तीन महिना पुग्दा-नपुग्दै कविले त्यो जागिर छाडिदिए र १९६९ तिर नक्सलवादीहरूको संगतमा पुगे ।

नक्सलवादी आन्दोलनमा जोडिएपछि पाशको पहिलो कविता कृति 'लोह कथा' सन् १९७० मा छापियो । यही वर्ष झूटो ज्यानमुद्दामा उनलाई पक्रियो र निर्दोष सावित भएपछि सन् १९७१ मा रिहा गरियो । त्यसपछि पनि उनी दुई-दुई पटकसम्म गिरफ्तार भए । सन् १९७२ मा उनले 'सियाड' पत्रिका प्रकाशन गर्न थाले । एक वर्षसम्म चलेपछि यो पत्रिका बन्द भयो । सन् १९७४-७५ मा उनले 'हेमज्योति' पत्रिका पनि सम्पादन गरे । सन् १९७३ मा दोस्रो कृति 'उडदे बाजाँ मगर' छापियो । २८ वर्षको उमेरमा राजविन्द्र कौरसँग पाशको विवाह भयो । त्यही वर्ष अर्थात् सन् १९७८ मा तेस्रो कविताकृति 'साडे समियाँ विच' छापियो । जीवनको यही अवधि पाशको सबैभन्दा सक्रिय सिर्जनशील अवधि थियो ।

पाश जीवनको अन्तिम अवस्थासम्म पनि कवितालेखन र पत्रिका प्रकाशनमा दत्तचित्त भएर लागेका थिए । सन् १९८६ मा क्यालिफोर्निया पुगेका उनले त्यहीँबाट 'एन्टी-४७ फ्रन्ट' नामको पत्रिकाको सम्पादन गरेका थिए । अर्को वर्ष उनी अमेरिका फर्के । विदाको समयमा अमेरिकाबाट पन्जाब आएका बेला आफ्नै गाउँमा खालीस्तानी पृथकतावादीहरूले कवि पाशको निर्मम हत्या गरे । संयोग, जुन दिन भारतीय क्रान्तिकारी युवा नेता भगत सिंहको हत्या गरिएको थियो, त्यही दिन अर्थात् २३ मार्च १९८८ मा गरियो, क्रान्तिकारी कवि पाशको निर्मम हत्या पनि । पञ्जाबमा २३ मार्चमा भगत सिंह र कवि पाशको स्मृतिमा संयुक्त सहिद दिवस मनाइन्छ । यी दुवै पञ्जाबका क्रान्तिकारी योद्धा थिए । भगत सिंह बेलायती साम्राज्यवादविरुद्ध क्रान्ति र स्वतन्त्रताका लागि सशक्त आन्दोलनका पक्षधर थिए भने पाश क्रान्तिकै लागि साहित्यिक र वैचारिक लडाइँमा समर्पित एक जनकवि थिए ।

पाशको हत्या भइसकेपछि पनि 'हम लडेंगे साथी' (१९८८), 'खिल्लरे होए वर्के' (१९८९) 'बीचका रास्ता नहीं होता' (१९८९), 'पाशके आसपास' (१९८९), 'अक्षर अक्षर' (१९९८), 'लहु है कि तब भी गाता है' (१९९८), 'पाशकी कविताएँ' (







२००५) जस्ता थुप्रै कविता संकलनका कैयौँ संस्करण निस्केका छन् । उनका कविता हिन्दी, अंग्रेजी, नेपालीलगायतका भाषामा थुप्रै पटक अनुवाद पनि भइसकेको छ । उनको 'सबसे खतरनाक' कविता भारतमा ११ कक्षाको पाठ्यक्रममा पनि समावेश छ । पन्जाबमा उनको स्मृतिमा 'पाश मेमोरियल अन्तर्राष्ट्रिय ट्रस्ट' स्थापना गरिएको छ । हरेक वर्ष मार्च २३ मा भारत र संसारभरिका क्रान्तिकारी कवि-साहित्यकारहरूले पाश स्मृतिदिवस मनाउँछन् ।

हाल अमेरिकामा नर्सका रूपमा कार्यरत पाशकी पत्नी राजविन्दर कौर पाशसँगको वियोगबारे भन्छिन्, 'पाशले हामीलाई एक्लै छाडेर जानुभएको छैन, उहाँ त सधैँभरि आफ्ना कविताहरूमा बाँचिरहनुहुनेछ ।' पाशका थुप्रै कविता हिन्दीमा अनुवाद गरेका जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर चमनलाल भन्छन्, 'पाशका कविताले सामान्य पाठकदेखि जनतान्त्रिक संघर्षमा जोडिएका मजदुर, किसान, महिला, विद्यार्थी, दलित र ट्रेड युनियन कार्यकर्तासम्मका लागि जनतान्त्रिक संघर्षको अन्तिम विजयको ओजमा विश्वास गर्न प्रेरक भूमिका खेल्नेछन् ।'

भारतीय प्रगतिवादी संस्कृतिकर्मी तथा कवि कात्यायनीका भनाइमा 'पाशको क्रान्तिकारी मानवतावाद अन्तिम साससम्म पनि जिउँदो थियो । अन्तिम साससम्म उनी जीवन, संघर्ष, सिर्जना र सौन्दर्यको गायक बनिरहे, सत्यको घोषणापत्र पेस गरिरहे, विद्रोहको घोषणा गरिरहे, परजीवी शोषक-शासकवर्गलाई चुनौती दिइरहे, भगुवाहरूलाई धिक्कारिरहे र यथास्थितिवादीका मुखमा थुकिरहे ।'

पन्जाबको साँघुरो गाउँमा जन्मे-हुर्केर पनि आज पाशले कवितामार्फत् संसारभरिका जनतासामु आफ्नो परिचयको झन्झन् विस्तार गरिरहेका छन् । विश्वसाहित्यमा उनी पाब्लो नेरुदा र नाजिम हिक्मतले नेतृत्व गरेको कविता धाराका कवि मानिन्छन् । पाशलाई भारतीय कविताका लोर्का पनि भनिन्छ । उनी कविमात्रै थिएनन्, जनसंघर्षका एक अथक् योद्धा पनि थिए । जीवनप्रति निरन्तर निष्ठावान् पाशले जनताको आन्दोलनलाई सपना भरिएका कवितामात्रै दिएनन्, रगतको समेत नतिरिने गुन लगाए । नेपालमा पनि उनका कविता अत्यन्तै रुचाएर पढिन्छ । नेपाली समकालीन कवि श्यामल पाशबारे भन्छन्, 'पाश जनकविका रूपमा विश्वका अन्य देशमा झैँ नेपालमा पनि सम्मानित छन् । नेपाली कवि र पाठकहरूले पञ्जाबी कविताका सुरजित पातर र पाश दुवैलाई निकै गम्भीरतापूर्वक पढ्छन् र स्मृतिमा राख्छन् । तसर्थ, उनीहरू जनकविताका लागि प्रेरक सिद्ध भइसकेका छन् ।'

पाशले भारतीय दुनियाँमा त्यतिबेला देखेको र पुनर्रचना गरेको सत्य अहिले पनि भारतमा बदलिएको छैन । त्यो सत्य यति सार्वजनीन छ, भारतको निकट उत्तरी सीमानाभित्र हामी नेपालमा पनि त्यही सत्य भोगिरहेका छौँ । नेपालीले देख्ने गरेका सपनाको मृत्यु नेपालकै निम्ति दुर्भाग्य हुनेछ । त्यसैले उनको कविता सार्थक र उत्प्रेरक छ हाम्रालागि ।

अन्त्यमा, उनकै बहुचर्चित कविता 'सबभन्दा खतरनाक' को एक अंश उनकै सम्मानमा-

श्रमको लुट सबैभन्दा खतरनाक हुन्न

पुलिसको पिटाई सबैभन्दा खतरनाक हुन्न

गद्दारी लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुन्न

बसिरहँदा पक्राउ पर्नु नराम्रो त हुँदै हो

तर त्यो पनि सबभन्दा खतरनाक हुन्न

सबैभन्दा खतरनाक हुन्छ

मुर्दा शान्तिले भरिनु

कुनै छटपटी नहुनु

सबै सहनु

घरबाट काममा निक्लनु

र कामबाट खुरुखुरु घर र्फकनु

सबैभन्दा खतरनाक हुन्छ

हाम्रा सपनाहरूको मृत्यु हुनु
Naya Patrika

Thursday, September 23, 2010

दशैं धार्मिक कि सांस्कृतिक


इन्द्र नारथुङे
-हिन्दुहरुको महान पर्व दशैं
-आर्यहरुको महान् पर्व दशैं
-नेपालीहरुको महान् पर्व दशैं ।
दशैं कस्को हो भन्ने विषयमा स्पष्ट पार्न ब्यक्ति वा सार्वजनिक साचार माध्यमहरुले माथि उल्लेखित शब्दहरु खर्चने गर्दछ । यी तीन मध्ये पनि प्रथम र दोश्रो भनाई अधिक प्रयोग हुन्छ । तल्लो भनाईको प्रयोग कमै मात्र गरिन्छ ।
-देवताहरुको कल्याण गर्न दानवराज शुम्भ निशुम्भलाई दुर्गा भवानीले बध गरेको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
-तेत्रायुगमा अयोध्याका राजा रामले लंकाका दुष्टराजा रावणलाई मारेर सम्पूर्ण मानव जगतको कल्याण गरेको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
-अनार्य माथि आर्यहरुको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
यी माथिका तीन भनाईहरु दशैंको उत्पत्ति कसरी भयो भन्नेसँग सम्बन्धित छ। दशैं हिन्दुहरुको हो भन्ने विषयमा प्रष्ट हुन माथिका भनाईहरु नै काफी छ । तर दशैंको उत्पत्तिको बारेमा भने माथिका भनाईहरु आपसमा बिरोधाभाषपूर्ण छन् । दानवराज शुम्भ-निशुम्भलाई दुर्गा भवानीले बध गरेको कथालाई मात्र आधार बनाएर हेर्दा दशैंको समग्र महिमा खुल्दैन । दुर्गापूजा दशैंको महत्वपूर्ण पक्ष हो तर दुर्गापूजा नै समग्र दशैं होईन । दुर्गापूजा दशैंको एउटा एकाई मात्र हो । लंकाका राजा रावण माथि अयोध्याका राजा रामको विजयलाई दशैंसँग जोड्ने हो भने त दशैं चैत्र शुक्ल पूर्णिमामा पर्न जान्छ । चैत्र शुक्ल पूर्णिमामा चैते दशैंको नाममा रामनवमी मनाउदैं आईएको सबैमा बिदितै छ । रावण माथि रामको विजय भएको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाई गलत देखिन्छ । तेश्रो भनाई झन् बिरोधाभाषपूर्ण छ । पौराणिक कथाहरुमा बर्णन गरिएको शुम्भ-निशुम्भ, दुर्गा भवानी, राम र रावण आर्यहरु हुन् । अनार्य माथि आर्यको विजयको खुसियालीमा कसरी दशैं मनाउन थालियो भन्ने भनाई पौराणिक कथाहरुले पुष्टी गर्दैन । तर हामी नेपालीहरुले मनाउने दशैं अन्य देशका हिन्दुहरुले मनाउने दुर्गापूजा भन्दा धेरै फरक भएको कारण के भन्न सकिन्छ भने भारत हुँदै नेपाल प्रवेश गरेका आर्यहरुले नेपालमा शासन गरिरहेका अनार्यहरुलाई युद्धमा जितेर राज्य कब्जा गरेको खुसियालीमा दुर्गापूजाको छेकलाई आधार बनाई केही मौलिक संस्कृति मिसाएर दशैं मनाईएको हुन सक्ने आधार भने छ । नेपाल बाहेक अन्य देशका हिन्दुहरुले दशैंको समयमा दुर्गापूजा गर्ने र कालरात्री मनाउने गर्दछन् तर नेपालमा यी दुवैको साथमा जमरा राख्ने, मार हान्ने र टीका लगाउने गरिन्छ । अन्य देशका हिन्दुहरु माझ दुर्गा पूजाको महिमा बढी देखिन्छ भने नेपालमा टीका लगाउनलाई बढी महत्वपूर्ण मानिन्छ । त्यसैले नेपालको सन्दर्भमा आर्यहरुबाट अनार्य माथिको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाईले निकट सम्बन्ध राख्छ ।
दशैंको उत्पति जसरी भए पनि वा दशैं जस्को चाड भएपनि नेपालको सन्दर्भमा यो सांस्कृतिक महत्वको चाड हो । तर यसलाई धर्मको अलंकार भिराएर सिमित घेरा भित्र राख्ने प्रयत्नले दशैंको महत्व नेपालमा बिस्तारै घट्दै गईरहेको छ । हुन त धर्म आफैमा एउटा संस्कार हो यो परिवर्तनशिल छ र परिवर्तन गर्न सकिन्छ । तर पनि धर्मलाई मान्छे वा राज्यले विशेष प्राथमिकता दिएको कारण यो संस्कार भन्दा अलग्गै देखिने गर्दछ । धर्म सबैको एउटै हुन्छ संस्कार मात्र भिन्न हो । दशैंलाई पनि धर्मसँग जोडिदिएको कारण यसको लोकपि्रयता खस्कदै गईरहेको छ । आर्यहरुद्वारा अनार्यहरु माथिको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाई सत्य नै भए पनि मान्छे-मान्छे बिचको सहिष्णुतामा असर पुर्याउने यस्ता शब्दहरुले अनार्यहरुमा दशैं प्रति आस्था घटाउन ठूलो काम गरिरहेको छ । अनार्यमाथि विजय गरेपछि त्यस्को खुसियालीमा दशैं मनाईयो टीका लाईयो वा मार हानियो होला तर त्यही कुरालाई आज दोहोर्याएर अरु संस्कार मान्ने मान्छेहरुलाई होच्याउनु एक्काईसौं सताब्दीको संस्कृति होईन । यदि यही कुरालाई प्राथमिता दिने हो भने नेपालका अनार्यहरुले हिजो आफ्नो गुमेको राज्यसत्ता र्फिता लिएर आर्यहरुलाई फेरी भारत तिरै लघार्न अन्याय ठर्हदैन ।
देशमा निरङ्कुश शासन ब्यवस्था रहिन्जेल लगभग सबै जाति, वर्ग वा समुदायका मान्छेहरुले दशैं मान्ने गर्दथे । तर त्यहाँ बाध्यता थियो भन्ने कुरा निरङ्कुश शासनको अन्त्य हुनसाथ धेरै जाति वा समुदायका मान्छेहरुले दशैं बहिस्कार गर्न थालेको कुराले प्रष्ट पार्दछ । जतिबेला हिन्दुहरुको हातमा शासन सत्ता पुग्यो त्यसबेला आफ्नो संस्कार र संस्कृतिलाई अपनाउन अरु समुदायलाई बाध्य पारिएको हो भन्ने कुरा दशैं बहिस्कारले देखाउँछ । हिजोका दिनमा गैह्र आर्य समुदायका मान्छेहरुलाई दशैं मनाउन बाध्य पारिए पनि आज आएर दशैंबाट पूर्ण रुपले अलग हुन्छु भन्नु असम्भव नै छ । हाल गैह्र आर्यहरुले दशैं बहिस्कारको नाममा टीका मात्र बहिस्कार गरेका हुन् । खाने, नाता-नाला भेट्ने, मनोराजन गर्ने जस्ता दशैंका सामाजिक पक्ष यथावत नै छ । तर स्वयं आर्य समुदायका मान्छेहरु दशैंलाई धर्मसँग गाँसेर गैह्र आर्यहरुलाई दशैंको बिरुद्धमा उचाल्न प्रयाशरत छन् । सार्वजनिक साचार माध्यममा 'हिन्दु मात्रको महान पर्व दशैं' र 'अनार्य माथि आर्यहरुको विजय' भन्ने शब्दहरु प्रयोग गरेर दशैंको लोकपि्रयता बढेको भ्रम पालेर बस्नु आर्यहरुको भुल हुँदै गईरहेको छ । कुनै पनि संस्कार वा संस्कृति एउटा समुदायमा मात्र सिमित गरिन्छ भने त्यो कालान्तरमा निश्चित लोप भएर जान्छ । सूचनाको साजालले विश्व साँघुरिएको बेला एउटा समुदायमा मात्र सिमित रहने संस्कार र संस्कृतिहरु कति दिन जीवित रहन सक्छ र त्यसैले दशैंलाई धर्मको पाजाबाट मुक्त गरेर संस्कृतिको रुपमा संसारका सबै मानिसहरुले ग्रहण गर्न सक्ने बनाउनु पर्दछ । मार हान्ने जस्ता प्राणी िहंशाको संस्कारले दशैं जस्तो सांस्कृतिक सद्भाव राख्ने पर्वलाई कुरुप बनाएको छ । पशुको बली दिनु र त्यसमा मुछिएको रगतको टीको लाउनु भनेको मान्छेको राक्षसी प्रवृति हो भन्दा पनि फरक पर्दैन । दान दक्षिणाको होडबाजी, गरगहना र बहुमुल्य कपडाहरुको प्रर्दशन सर्बसाधरणहरुलाई दशैं प्रति वितृष्णा जगाउने कारक तत्व बनेका छन् । यस्ता संस्कृति भित्रका बिकृतिहरुलाई हटाउन सकेको खण्डमा दशैं प्रति देखिएको बितृष्णा निश्चित रुपमा कम हुने देखिन्छ ।
दशैं समग्रमा सबै मानव समुदायको लागि सांस्कृतिक महत्वको पर्व हो भन्दा झुटो ठहर्दैन । काम बिशेषले टाढा पुगेकाहरु दशैंमा घर फर्कनु नर-नाता बिचमा भेटघाट हुनु भनेको मान्छे-मान्छे बिचमा माया ममता र सद्भाव कायम हुनु हो । आफू भन्दा ठूलाबडाहरुबाट टीकाको साथमा आर्शिवचन ग्रहण गर्नुले आफु भन्दा माथिकाहरु प्रति सम्मानभावको जन्म गराउँछ र सानाहरु प्रति ममता दर्शाउँछ । दशैंले एकआपस बिचको सत्रुता हटाई मान्छेलाई सहकार्यमा अग्रसर गराउँछ । जमरा राख्नु र लगाउनु भनेको कृषिसँग सम्बन्धित कुरो हो । यसलाई माटो परिक्षण वा अन्नबाली लगाउने नयाँ अभ्यासको रुपमा लिन सकिन्छ र यर्थातमा जमरा राख्नुको रहस्य पनि त्यही हो । पिङ लगाउनु-खेल्नुले एकातिर मान्छेको कलालाई उजागर गर्दछ भने अर्कोतिर मानशिक र शारिरिकरुपमा स्वस्थ बनाउन मद्दत गर्दछ । त्यसैले दशैंलाई धर्मबाट अलग गरेर विशुद्ध साँस्कृतिक पर्वको रुपमा मनाउने हो भने कसैले स्विकार र बहिस्कार गर्नु पर्ने प्रश्नै छैन ।

Wednesday, September 22, 2010

पोखरा सर्जक र सिर्जना


Indra Narthunge
"मेरै हिमाल जस्तो हेरी रहुँ पोखरा …"
कवि तिर्थ श्रेष्ठका यी गीतिहरफले नछुने कुन मान्छे होला र ? जो पोखरेली होस् वा पोखरालाई एक पटक साक्षात्कार गरेको नेपाली या विदेशी नै । हिमाल र पोखरा अनि पोखरा र फेवाताल, जोसँग मन कतिखेर साटिन्छ कसैलाई थाहा हुन्न । फेवाको कन्चन जलरासीमा कुमारी माछापुछ्रेको स्निग्ध प्रतिविम्ब पौडिरहेको जब कसैको नजरमा पर्छ ऊ बेखवर बन्छ आफैसँग । यो दृश्य नियाल्न नसकेरै सर्मले सेती लुकेकिछिन् र पातले छाँगो हराएको छ पाताल भित्रै ।
भावनामा बग्नेहरुको लागि पोखरा आफैमा एउटा कविता हो । सेताम्य चाँदी छरेर ङिच्च हाँसिरहेका हिमचुचुराहरुमा सूर्यले लालिमा जव पोत्न थाल्छ तिनीहरु एकाएक फेरिन्छन् सुनौला ढिक्काहरुमा । र, बादलुको हल्का पर्दाले शिर छोप्न खोज्दा विवहाको मण्डपमा बेहुलासँगै बसिरहेकी नव वधुको प्रतिक बन्छ त्यहाँ । नव बधुको पाउ पखाल्दै ओह्रालो भागिरहेकी सेती, पोखराको सिमाना छोएपछि सुस्तरी बजाउन थाल्छिन् आफ्नो नुपूर छन्…छन्…छङ्…छङ्……
हो प्रकृतिका यही सुन्दर बान्कीहरुलाई नियाल्दै धेरै पोखरेलीहरु राष्ट्रको नाक थाम्न सफल भएका छन् । साहित्य, संगित कला र संस्कृतिमा पोखरा र पोखरेलीहरुको स्थान अग्रणी छ । जसरी पोखराको चर्चा सर्वत्र छ, पोखरेली सर्जकहरुको योगदानले पोखरालाई उसैगरी चर्चित बनाएको छ । पोखरा कवितामा लेखिएको छ, गीतमा गाइएको छ कथा र उपन्यासहरुमा छरपष्ट हुँदै चित्रहरुमा सजाईएको छ । हिजो कवि शिरोमणी लेखनाथ पौडेलले नेपाली साहित्यको एउटा युगलाई पोखराबाटै बोके पोखराको घामपानीलाई नियालेर ऋतु बिचारुहरु लेखे । जनकवी केशरी धर्मराज थापा र लोककवी अली मियाँहरु पोखरेली माटोमा जन्मे, रोधी घर धाउँदा-धाउँदै गीत र साहित्यमा रसम भिजाए । पोखरा आसपासकै हरियो डाँडामा हलो जोत्नेहरुलाई देखेर धर्मराजले "हो हो तारे हो हो... हो हो माले हो हो…" भन्दै नेपाली साहित्य र संगितलाई सिमाना पार गराए । जोमसोमबाट पोखरा नझरेका हुन्थे भने स्वर्गिय भूपि शेरचनको कविताहरुले पाठकहरुको मन छुँदैन थियो होला । नारायण गोपाल र पेमाला गुरुवाचार्य विवहा पछि पोखरामा लुक्न नपुगेका हुन्थे भने भूपिको शब्दमा स्वर सम्राटले "अल्झेछ क्यारे पछ्यौरी तिम्रो…" गाउन पाउँथेकी पाउँथेनन् यसै भन्न सकिन्न । पहिलो पुस्ताका कवि शिरोमणी दोश्रो पुस्तका जनकवि केशरी, लोक कवि र भूपि मात्र होईनन् दोश्रो पुस्ताको पाईला खप्ट्उयाउँदै आएका कवि कुलवहादुर केसी कवि एवं समालोचक डा. रविलाल अधिकारी, डा. गेहेन्द्रमान उदास 'पोखरेली' र तेज ढकालहरु पोखराबाटै प्रगतिशिल साहित्यलाई मलजल पुर्याई रहेका छन् ।
पोखराले जन्माएका सरुभक्त पोखरामै बसेर 'पागल बस्ती' लेख्छन् र मदन पुरस्कार हात पार्छन् । कवि तिर्थ श्रेष्ठ र रमेश श्रेष्ठ मात्र होईन गीतकार गजलकार एवं कवि प्रकटपगेनी शिवको सिर्जना थलो पोखरा बन्दै आएको छ । कवि एवं गितकार विनोद गौचन कवि विष्णु अल्पविराम र सूर्य खड्का 'विखर्ची' हरु फेवानगरीका सिर्जना हुन् र त्यही बसेर साहित्य सिर्जनामा सकि्रय छन् । सरुभक्तको छत्रछाँयामा हुर्कन्दै आएको पोखरेली नाट्य लेखनमा अनुप बराल, कृष्ण उदासी र घनश्याम लामिछाने 'दुखी'हरुले मलजल पुर्याउँदै आएका छन् । 'उदासी' नाट्य विधामा मात्र सकि्रय छैनन् उनी सफल कवि पनि हुन् र उपन्यास समेत लेख्न भ्याएका छन् । त्यसो त घनस्याम लामिछाने 'दुखी'का कलमबाट थुप्रै गीतहरु जन्मेका छन् । र, उनकै कथामा केही भिडियो फिल्म समेत निमार्ण भएको छ । कवि लक्ष्मण थापा, धनप्रसाद तामाङ, रोशन शेरचन, स्ट्रगल राना र ईश्वरमणी अधिकारीहरु पोखराले जन्माएका सर्जकहरु हुन् । लोकदोहोरी गायनको क्षेत्रमा हरिदेवी कोईरालाको नाम नसुन्ने कमै मान्छेहरु होलान् तर हरिदेवी कवयत्री हुन् भनेर थाहा पाउनेचाँहि कमै छन् । पोखरेली माटोमा मिसिएको साहित्यिक सुगन्धले हरिदेवीलाई पनि नछोईरहन सकेन । "न घाम झर्यो न जून झर्यो" कविता संग्रहमा हरिदेवी कवयत्रीको रुपमा जन्मिएकी छिन् । पोखरामा कुनै समय उषा शेरचन एक्लैले महिला कवयत्रीहरुको सिङ्गो प्रतिनिधित्व गरेकी थिईन् साहित्य लेखनमा । तर अव त्यो अवस्था छैन सरस्वती प्रतिक्षा र सुस्मा पौडेलहरुको नाम विस्तारै पोखरेली सर्जकहरुको बिचमा स्थापित हुँदै गईरहेको छ । गजल साहित्य पनि पोखरामा उसैगरी फस्टाएको छ । दिलिप दोषीहरु गजलकै लागि मरिमेटेर लागेका छन् । अनुराग अधिकारीको गजल संग्रह पनि पोखरेली माटोकै सिर्जना हो ।
पोखराभन्दा बाहिर जन्मेर पोखरेली माटोमा कर्म रोपिरहेका आरजु विष्ट 'सल्यानी' लाई पोखराले नै गीतकार र गजलकारको रुपमा चिनाएको छ । त्यसो त उपन्यासकार नरु थापाले आफ्नो पछिल्लो ऐतिहासिक उपन्यास 'पृथ्वी नारायण' को अधिकाँश भाग पोखरामै बसेर लेखिभ्याएका हुन् । पत्रकार अमृत भादगाउँले ले आफ्ना दुई कृतिहरु "पोखरेली नवरत्न" र "असल गुरु" को लेखनआधार पोखरालाई नै बनाए । भादगाउँलेले आफ्नो पहिलो कृतिमा पोखरा उपमहानगरपालीकाबाट "पोखरेली नवरत्न सम्मान" पाएका नौ जना साधकहरुको जीवन चित्र उतारेका छन् भने "असल गुरु" शिक्षासेवी जोर्ज जोनको जिवनी हो ।
कवि शिरोमणी लेखनाथ पौडेललाई नेपाली बाङ्मयमा छन्द शिरोमणीको रुपमा पनि चिनिन्छ । नेपाली कविताले उत्तरआधुनिक युगमा फड्को मारेको धेरै भईसक्यो । तरपनि कवि शिरोमणीको विरासत थाम्न माधव वियोगीहरु उतिकै सकि्रय छन् पोखरामा । पोखरालाई नेतृत्व प्रदान गर्न निर्वाचित भएका पूर्व मेयर कृष्ण थापाको कलम पनि गीत लेखनमा होमियो । त्यसैले त सबै पोखरेलीहरुलाई आह्वान गर्दै उनले गीत रचना गरे "श्रम सीप जुटाऔं पोखरालाई उठाऔं...." पोखरामा बस्दा बस्दै जन्म थलोको सम्झनामा वसन्ती लालचनको पनि हात चलेको छ । पोखराको सिधै उत्तरपट्टी पर्खाल बनेर उभिएको माछापुछ्रे छिचोलेर उनको नजर मार्फामा पुग्छ र शब्दहरुमा समेटिन्छ "क्या राम्रो स्याउ बारी मार्फा गाँवैमा……"
पोखरेली सर्जकहरु लेखनमा मात्र होईन लेखनलाई गति दिन साँगठानिक दृष्टिले पनि अग्र स्थानमा छन् । तीसको दशकमा भक्त श्रेष्ठ सरुभक्त नभै उनकै अगुवाईमा टिकटमा मुक्तक बाचन कार्यक्रमले अधिराज्यभर चर्चा पाएको थियो । मुक्तक सुनाउन राजधानी लगायत देशको विभिन्न स्थानबाट सर्जकहरुको ओईरो लाग्थ्यो पोखरामा । मुक्तक सुन्न टिकटको खोसामारी चल्थ्यो । त्यही पोखरेली सर्जक सरुभक्त अहिले "संरक्षण कविता आन्दोलन" लिएर गाउँगाउँ चाहार्दै छन् । नेपाली साहित्यको ईतिहासमा पहिलो पल्ट संरक्षण कविता आन्दोलनले अन्नपूर्ण वेसक्याम्प सम्मको यात्रा पार गरेको छ । सरुभक्त मात्र होईनन् कवि तिर्थ श्रेष्ठहरु पनि "अक्षर यात्रा" मा सर्जकहरुलाई लिएर नविन साहित्यको खोजी गर्दैछन् । पोखरा आसपासका रमणीय स्थानहरुको साहित्यिक भ्रमणगरी यथास्थानमा साहित्यको सिर्जना गरेर बाचन पनि गर्ने यो नविन शैलीले सर्जकहरुमा नविनताको खोज गर्न उत्प्रेरित गरेको छ । धनप्रसाद तामाङ र स्ट्रगल रानाको "असार र सिर्जना" ले दशौं शृङ्गखलाहरु छिचोली सकेको छ । दिलिप दोषीहरुको "गजल सन्ध्या" र पोखरेली युवा साँस्कृतिक परिवारको "साहित्य सन्ध्या" ले नयाँ-नयाँ सर्जकहरु जन्माउने र सिकारुहरुको कमल तिखार्ने काम गरिरहेको छ । यो यात्रामा लक्ष्मण थापाहरु पनि सामेल छन् । थापाको अगुवाईमा छोरेपाटन उच्च मावीको प्राङ्गणमा धेरै साहित्य शृङ्गखलाहरु सम्पन्न भईसकेका छन् । "छन्द बचाउ अभियान" का एक्लो बृहस्पती माधव वियोगी पनि छन्दमा कविता लेख्न प्रशिक्षण नै सन्चालन गर्दै हिडिरहेका छन् । नेपालकै सबैभन्दा धेरै विध्यार्थीहरु अध्ययन गर्ने थलो पृथ्वीनारायण क्याम्पस आफैमा साहित्य घरझैं बनेर उभिएको छ । जहाँ अग्रज साहित्यकारहरु प्राध्यापन पेशामा संलग्न छन् र विध्यार्थीहरुलाई साहित्य सिर्जनामा तान्न हरसम्भव प्रयास गरिरहेका छन् । नेपाली साहित्य विषय लिएर अध्ययन गर्ने विध्यार्थीहरुको अगुवाईमा साहित्यिक संस्थानै स्थापना भएको छ क्याम्पस भित्र । स्वतन्त्र विध्यार्थी युनियन मात्र होईन िसंगो क्याम्पसनै साहित्यको उत्थानमा सकि्रय छ । हरेक असार २९ गते आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तिको विशेष कार्यक्रम क्याम्पसमा हुने प्रमुख साहित्यिक कार्यक्रममा पर्दछ । जुन कार्यक्रममा नेपालका विशिष्ठ साहित्यकारहरुको उपस्थिती हुने गर्दछ । संस्थागत रुपमा हेर्ने हो भने कवि तिर्थ श्रेष्ठहरुको अगुवाईमा स्थापना भएको र हाल उनीहरुकै रेखदेखमा सन्चालन हुँदै आएको पोखरेली युवा सांस्कृतिक परिवारको नाम अग्रणी स्थानमा छ । बेलाबेलामा हुने प्रभातफेरी देखि बरिष्ठ साहित्यकारहरुको अभिनन्दनको नेतृत्व पोखरेली युवा सांस्कृतिक परिवारले गर्दै आएको छ । अर्कोतिर साचारको सन्जाल फैलने क्रममा पोखरामा स्थापना भएका एफ.एम.हरुले पनि साहित्य र सर्जक दुवैलाई प्राथमिकता दिदै आएका छन् । माछापुछ्रे एफ.एम.ले आफ्नो बार्षिक उत्सवमा कविता प्रतियोगिता सन्चालन गर्नु र रेडियो अन्नपूर्णले लोककवि अलिमियाँको अभिनन्दन एवं अलिमियाँको नाममा कोष खडा गर्ने अभियान सन्चालन गर्नु दुवै साहित्य प्रतिको झुकावकै उपज हुन् । त्यसो त पोखराले साहित्यकार र साहित्यिक संस्था जन्माउन मात्र होईन पोखरा बाहिरका सर्जकहरुलाई सम्मान दर्शाउन पनि जानेको छ । राष्ट्रकवि माधव घिमिरेको पोखराको अभिनन्दनको कुरो खोतले मात्र काफी हुन्छ । हजारौं पोखरेलीहरुले सहभागिता जनाएको सो रथयात्रा पोखराको ईतिहासमै नबिर्सने क्षणको रुपमा अंकित भएको छ ।
पोखरा-पानी जमेको तलाउ वा पोखरी । पानी-सर्जकहरुको कलममा घुलिएको मसी । त्यही मसी सर्जकहरुको कलमको निब भएर पोखिन्दा पोखरा-पोखरा भएको छ । जसरी पोखराको सौन्दर्य उत्तरतिर चुलिएका हिमचुलीहरुमा खुल्छ त्यसैगरी निबबाट बगेको पानीमा खुल्ने गर्छ । पोखराले नै जन्मायो कवि शिरोमणी, जनकवि केशरी र लोक कविहरु पोखराले नै हुर्काई रहेको छ पागल बस्ती र सरुभक्तहरुलाई । फेवा, बेगनास र रुपामा जबसम्म पानी जमिरहन्छ तबसम्म पोखरेली सर्जकहरुले समातेको कलम भएर सिर्जनाहरु जन्मिरहने छन् । कुमारी माछापुछ्रे साक्षी छ भोली सयौं कवि शिरोमणी र सरुभक्तहरुको जन्म र कर्म थलो पोखरा बन्ने छ ।
काब्यकुन्ज पोखरा तिम्रै सम्मानमा यी शब्दहरु अर्पण गर्दछु । अस्तु
हालः मलेसिया

Monday, September 20, 2010

साकेला उभौली उधौली र सिली : किरातहरूको आस्थाको धर

-चतुरभक्त राई
पृष्ठभूभि
संसारका हरेक जातिहरू कुनै न कुनै संस्कार, संस्कृति, विश्वास र आस्थामा आवद्ध रहेका हुन्छन्। यो उनीहरूको ऐतिहासिक सम्बन्धको द्योतक पनि हो। मानवको सृष्टिसंगै उनीहरूले लामो समयदेखि गरेका अनुभव व्यवहार र प्रचलनले धर्म, संस्कृति र परम्पराको स्वरुप धारणगर्न पुगेपछि यसैलाई आजतक मानवजगतले निरन्तरता दिई आएका छन। यो परम्परा र संस्कृति भित्र ठूलो इतिहास लुकेको हुनाले यसको क्रमबद्ध अध्ययन र खोज गर्ने जिम्मेवारी आएको छ। त्यस्तै विविध परम्पराहरूमध्येको किरात राईहरूले वार्षिक रुपमा दुईपटक बैशाखे र मंसिरे धान्यपूर्णेदेखि मनाउने साकेला उभौली र उधौलीचाड किरातहरूको लागि अपार मनोरञ्जन र खुसीको विषय पनि भएको छ। त्यसैले यसैलाई मूख्य विषयवस्तु बनाएर यहाँ साकेला पूजा र यसका सिलीहरूको प्रकार भनेर प्रष्टयाउने प्रयास गरिएको छ। यो चाड किरात राईहरूले मात्र होइन किरात समुदायमा पर्ने लिम्बु, याक्खा र सुनुवारहरूले पनि चासोक, स्याँदर तथा फोलस्याँदर आदिको रुपमा मनाउने गरेको पाइन्छ। त्यसैले यसलाई सम्पूर्ण किरातहरूको साझा चाडको रुपमा सुभकामना आदानप्रदान गर्ने, नरनाता छोरीचेली भेट्ने, मनोरञ्जन गर्ने, एकअर्कावीच शुभकामना आदान प्रदान गर्ने सुनौलो अवसरको रुपमा पनि लिइन्छ। यो परम्परा पुरानो भए पनि सरकारर्‍ारा यसअघि कुनै मान्यता दिइएको थिएन तर यसै वर्ष २०६५ देखि वार्षिक रुपमा बैशाखे र मंसिरे पूर्णेमा दुईदिन सार्वजनिक विदा दिने निर्णय भएकाले यसलाई किरात जातिहरूको लागि एउटा महत्वपूर्ण उपलब्धिको रुपमा मान्न सकिन्छ।
२) उद्देश्य : साकेला र साकेला सिलिको प्रकार र त्यसको प्रयोगमा क्रमिकता ल्याउन जानकारी दिने यस लेखको मुख्य उद्देश्य हुनेछ।
३) अध्ययनको पद्धति : प्राथमिक आँकडाको रुपमा स्थानीय क्षेत्रको साकेला थान र त्यहाँ देखिएको साकेला सम्बन्धि अभिनयात्मक दृष्यहरुको अवलोकनबाट टिपोट गरियो। नक्छो र ताया-तंकु र मस्यूमदि (परम्परागत रुपमा धामीसँग नाच्नलाई बाँधिएको टोली)हरुलाई सोधखोज गरि प्राप्त गरेका आँकडाहर रहेकाछन भने िर्‍तिय आँकडाको रुपमा किरात धर्म संस्कार संस्कृति सम्बन्धि प्रकाशित भएका विविध विर्‍ानहरूको लेख रचना तथा पुस्तकहरूलाई आधार मानी आँकडाहरू प्रयोग गरिएको छ।
४. साकेलाको अर्थः साकेला भन्नाले सिमित अर्थमा भूमी वा आराध्यदेव मानिएको शिला वा ढुङ्धाको पूजा हो। यो शिलालाई श्रृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीक मानी पूजा गर्नु नै साकेन्वाज्ञवा साकेला हो। बृहत अर्थमा उनै आराध्य भूमिदेव तथा धरतीकी प्रतीक नायम तथा सुम्निमा आकाशको प्रतीक पारुहाङ, भूमिदेवलाई अन्न प्रदान गर्ने माताको रुपमा पूजागर्न आरम्भ गर्ने हेच्चाकुप्पा र नागेलुम (सिक्रिमा) तथा कपडा बुनाईको शीप आविष्कार गर्ने तोयामा खियामा जस्ता श्रष्टाहरूले प्रतिपादन गरेको किरात संस्कार संस्कृति जसमा ढोल, ढयाम्टा, अर्नाको सिं (भँु), सिरिमी जस्ता सांगीतिक बाजाहरूको साथमा रिसिय गाउँदै सिली नाचिने नाचगानको स्वरुपलाई साकेला नामले पुकारिन्छ। विविध किरातहरूको भाषामा साकेन्वा, साकेवा, साकेला, तोषी, ष्याँदर, साकेल, साखेल, साकेल, तोष, साक्खेवा, साखेल, साकेन्वाद्द खाउमो,घ चासोक, जस्ता अनगिन्ती शब्दहरू हुँदाहुँदै हिन्दुहरूको प्रभावमा परेर कतिपय किरात संस्कृतिविदहरूलेसमेत साकेलालाई हिन्दु दुर्गादेवी चण्डी र त्यसैसंग सम्बन्ध राख्ने तीथिमितिसमेतलाई जोड्ेर चण्डीपूर्णे भनेको पनि पाइन्छ। चण्डीभित्रको कथावस्तु तथा महात्म्य किरातको पारुहाङ, नायम, सुम्निमा, तायामा, खियामा, खक्चिलिपु, नागेलुम तथा सिक्रिमाहरूसंग कुनै मेल खाँदैन त्यसैले चण्डीपूर्णे भन्नु असान्दर्भिक हुने भएकाले किरात राई यायोक्खाले किरात भाषामा नै साकेला वा अन्य किरात भाषी नामबाट संबोधन गरिनु पर्र्दछ भन्ने आव्हान गरेको छ।
५. साकेलाको उद्गमस्थल : किरातहरू प्रारम्भमा काठमाडौंदेखि पूर्व पल्लोकिरातक्षेत्रसम्म छरिएर वसेको हुनाले प्राय गाउँ नै पिच्छे आ-आङ्गनो परम्परा वंश र स्थानसंग जोडेर भूमेदेव वा साकेलाको उत्पत्ति भएको बताउँने गरेका छन। यस्ता अनेकौ मिथकहरूको संकलन गर्ने हो भने एउटा ठेली नै बन्न सक्तछ। तिनीहरूमध्ये निम्न केही मिथकहरूको चर्चा यसमा गरिनेछ

क. काठमाडौंमा रहेको किरातेश्वर महादेवलाई किरातीहरूले हेर्न नहुने भएकाले कुनै एकजना किरातीले त्यहाँको सानोढुङ्धा मागेर लैजाँदा अरुणको छेउसम्म पुग्दा बिशाल भयो तर हलौं थियो। ति किरातीले जहाँ जहाँ बिसाएका थिए त्यहाँ त्यहाँ साकेलाको उत्पत्ति भयो। यसरी ढुङ्धा लगिएपछि काठमाडौंमा प्रलय भएकाले ढुङ्धा उतै फर्काइयो। यस मिथकले साकेलाको उत्पत्ति मल्लकालिन हो भन्ने जनाउँछ।
ख. अर्को मिथकमा भोजपुर हतुवा र आम्चोकतिरका बान्तवा राई नाम्नु माङफाङ र हाङखिमले बालीखाने सुगुर मार्दा सेता ढुङ्धामा परिणत भई पारुहाङ् र सुम्निमाको चाल भनी बोकेर डम्बर्खुमा ल्याईपुर्‍याउँदा ढुङ्धा एकाएक भासियो। यसैलाई साकेलाको थान मानेर छोङ्खामा बजार लगाउन थालिएबाट साकेलाको पहिलो उत्पत्ति भएको हो छ भन्ने भनाई रहेको छ।
ग. कसैले दोलाखाको बुद्धहाङ राजा र उनका बहिनी सोइसोइलाको घतलाग्दो मिथकसंग साकेलाको उत्पत्तिलाई जोडेका छन्। किरात पुर्खाले गुमाएको उपत्यका फिर्ता गर्ने उद्देश्यले हेम्कुमबुङ देवको स्थापना गरी पूजागर्ने कार्यमा सरिक हुँदा बहिनी सोइसोइलाले बुनेको सेवारी (पगरी) दाज्यू बुद्धहाङ्लाई लगाईदिन खोज्दा खोज्दै रजस्वला भएकीले काँधसम्म पुर्‍याएर छोडिन र उनी त्यहाँबाट नफर्किने गरी हिडिन। उपस्थित जन सबैले 'दोलोकुम्मा दो सोइसोइला' (सेवारी कुम्मा छ लगाईदेउ सोइसोइला) भनेर गीतको भाकामा बोलाउँदा पनि सोइसोइला आइनन्। आखिर कुमको सेवारी भूइमा खसेपछि तुरुन्त ढुङ्धामा परिणत भयो र त्यसैलाई पूजागर्ने परम्पराबाट साकेला उत्पत्ति भएको हो। ट यस मिथकले मल्लकालिन अवस्थामा दोलाखामा साकेला उत्पत्ति भएको जनाउँछ।
घ. चौथो- तायामा खियामा हेच्चाकुपा, नागेलुम तुवाचुङडाँडा सेरोफेरो प्रारम्भिक उत्पत्ति स्थल : माथि प्रस्तुत भएका मिथकहरू भन्दा भरपर्दो मिथक तायामा खियामा हेच्चाकुप्पा र नागेलुम वा सिक्रिमा जस्ता आदिम पात्रहरूसंग सम्बन्ध राख्ने तायामा खियामा हेच्चाकुप्पा नागलुम भूमि मुख्यत खोटाङको हलेसी, गाबिसको काभ्रैमा रहेको तुवाचुङडाँडा र सल्लेको चिचिङ्धा गाउँलाई साकेला र सिलीको उद्गमस्थल मान्ने गरेको पाइन्छ। यो तुवाचुङडाँडालाई तुवातुङ, तायाचुङ, तायामा वा तोयामा, खियामा, तमा वा तोमा, खेमा, जायाजुम, मलथुम्का, ग्रमुलजु, दिदीवहिनीडाँडा जस्ता विविध नामहरूले बोलाइन्छ जहाँबाट साकेला र सिली मात्र होइन कपास र अल्लोको कपडाबुन्ने शीपको विस्तार अन्य किरात राईहरूको वस्तिमा विस्तार भएको तथ्यलाई पुष्टि गर्ने सप्रमाणिक भौतिक यथार्थ तोमाखेमाडाँडामा रहेको छ। यो यथार्थ तोयामा खियामा हेच्चाकुपा र नागेलुमको जीवनगाथा बुझेको ब्यक्ति जसले यो भूमि एकपटक स्पर्श गरेको छ उसलाई मात्र सत्यता हो भन्ने लाग्छ। सम्पूर्ण किरात राईह194रूमा मिथकको भाव उद्देश्य र पात्रहरू समान खालको रहेको र यस प्रकारको भूमिको वर्णन अन्य कुनै मिथकले पनि आजसम्म पेश नगरेको हुनाले यही तायामा खियामा हेच्चाकुपाको भूमिलाई किरात धर्म, संस्कृति र सम्भताको केन्द्रबिन्दु मान्न सकिन्छ।
६. तायामा खियामा हेच्चाकुपा भूमिको सप्रमाणिक तथ्यहरूको स्थिति : जातीय चेतनाको अभाव र सरकारी संरक्षण नपाएको हुनाले तुवातुङडाँडाको वस्तुगत प्रमाणहरू लोपहुँदै गैरहेको छ। प्रमाणिक ढुङ्धाहरू फुटाई चौतारो चिठ्ने, बाटो बनाउने, देवीको मन्दिर तथा देवताथान बनाउने, जानी वा नजानी ढुङ्धाहरू ओरालो लडाईदिने, पूर्व बनिबनाउ थानहरू भत्काईदिने, ढुङ्धाहरू फुटाईदिने जस्ता कार्यहरूले गर्दा के वास्तविक तायामा खियाको थान यही हो त भन्ने शंका लाग्न सक्छ तथापि मिथकले प्रस्तुत गरेअनुसारको प्रमाणहरू अद्यावदी छँदैछ। अहिलेसम्म बचेको त्यस्ता प्रमाणहरूमा तानबुन्ने ठाउँ, टुकीराख्ने ढुङ्धाका अर्ध खोपिल्टा, तानबुन्ने प्रयोजनको लागि गाडिएका ढुङ्धाहरू, तायामा, खियामाले प्रयोग गरेको प्राचीन ओडार जस्ता पुराना अवशेषहरू रहेकाछन्। त्यसैगरी तुवाचुङ्डाँडाबाट करिब एकघण्टा टाढा रहेको चिचिङ् गाउँमा हेच्छाकुप्पाले निकालेको पानी र त्यसैको समिपमा रहेको हेच्चाकुप्पाको समाधिस्थल जस्ता प्रमाणहरू पनि अद्यावदी छंदैछ। दिक्तेल सदरमुकामबाट हलेसी महादेवस्थानसम्म जाने मूलबाटोमै तुवाचुङडाडा अवस्थित रहेकाले बाटो हिड्ने जान्नेसुन्ने सवैले तुवाचुङलाई यही नै हो तोयामा खियामाको तानबुन्ने थलो भन्दछन्। यही डाँडाको आसपासमा अर्खौले, हलेसी, सल्ले नामका गाउँहरू पनि रहेका छन। हलेसीको गुफादेखि साल्पासम्म छुने लामो पहाडी श्रृङ्खला रहेको र यही बाटो गरेर हेच्चाकुप्पा कहिले फूलबिसौनाहुँदै साल्पा, इर्खुवा चिर्खुवाको सिरसम्म पुग्ने, कहिले रावाखोला दुधकोशीसम्म माछा मार्न जाने र कहिले मधेशसम्म पुग्ने गरेको भनाईरू पुर्खाहरूले गर्दै आएको पाइन्छ।
७. तोमा खेमा हेच्चाकुप्पासम्बन्धि छोटो मिथक : सृष्टिको आरम्भतिरकै कुरा हो पापा पातेसुङ र आमा दिलीदुमको मृत्यूपछि तोमा, खेमा र हेच्चाकुप्पा टुहुरा भई चेलीहरूबाट बढोदुःखले माइती हेच्चाकुप्पाको लालनपालन हुन्छ। अर्काको जाँतोबाट सामल संकलनगरी पकाएको भात भाइले अन्जानमा घोप्ट्याएपछि दिदीहरूले भाइलाई कुट्छन्। भाई रुँदारुदै निदाउँछ, उठाउँदा उठ्दैन। भाई मरेको ठानी चिहान खनेर त्यसमा चिण्डो, केराको थाम र कालोपातीको झिक्रा प्रयोगगरी भाइकै पुत्ला बनाएर गाडी छेउमा एउटा केराको बोट रोपी एउटा कर्दसमेत छोडेर दिदीहरू बाटो लाग्छन् र अहिलेको तुवातुङडाँडामा आईपुग्छन्। त्यहाँबाट पनि दिदी डाँफेभई लेक र बहिनी धनेशभई बेंसी झर्छन। हिड्न अघि मृत या जीवित थाहा पाउन फूल रोप्छन। बहिनी चञ्चले भएकीले लाटकोसेरोले मारेर खान्छ र हाडहरू मात्र बाँकी राख्छ। पछि बहिनीको फूल मरेको देखी दिदीले बहिनीको हाडखुर जम्मागरी रिसीय गाएर ब्यूताई सोही तुवातुङडाडामा कपडा बुन्ने घरेलु उद्योग स्थापना गरी बस्छन। यता हेच्चाकुप्पा निन्द्राबाट व्युँझदा दिदीहरू हुदैन। रोइकराई गर्छ तर दिदीहरू नआएकाले कर्द टिपेर केराको बोटलाई डर देखाएपछि केरा पसाएर पाक्छ र त्यसैलाई खान्छ। उ सिकारी बन्छ र तामेढुक्कुर पासोमा पार्छ। त्यसको गाँडबाट अन्नका बिजहरू फेलापारी त्यसलाई घुरानमा फाल्छ। पछि लहलह भएको अन्न फल्छ। त्यसैलाई संकलन गरी खेतीपाती गर्न थाल्छ र कृषक बन्छ। कहिले माछा मारेर खान्छ। त्यहीक्रममा उसको नागको छोरी सिक्रिमासंग विवाह हुन्छ। विवाह पश्चात उ अन्नको अझ धनी हुन्छ। एकदिन हेच्चाकुपालाई नयाँ अन्नको खाना खाएपछि मातलागेर बेरामी पर्छन्। यसको कारण सिक्रिमाले -"तिमीले तिम्रो पुर्खाहरूलाई अर्पण नगरी खाएको हुनाले यस्तो भएको हो" भन्छिन। त्यस वर्ष त्यत्तिकै भयो। अर्को वर्ष उधौलीको समय आयो नयाँ अन्न घरमा भित्रियो। पुर्खालाई चढाउने बेला पनि आयो। तर कसरी चढाउने भन्ने ज्ञान हेच्चाकुप्पालाई नभएकाले सिक्रिमाकै सल्लाह अनुसार पुर्खाहरूलाई चढाउने व्यवस्था हुन्छे। नयाँ अन्न पोली पकाई चुल्हाको वरीपरी राखियो। तर चेलीको अभावमा त्यो अपूर्ण हुने भएकाले चेलीहरू खोज्न विभिन्न जीवहरू-जुम्रा, उडुस, बाख्रा पठाइन्छ। तर सफल हुदैन। त्यसपछि उपिया पठाइन्छ। उपियाँ उफ्रदै गएर तोयमा खियामालाई भेटी टोक्न थाल्छ। उपयालाई पक्रेर मार्न टाउको किच्याउँदा उपियाँ उछिटिएर भाग्छ र दुबोको त्यान्द्रोले टाउको बाँधी तोयमा खियामा तुवाचुङ् डाडामा रहेको खबर दिन सफल हुन्छ। चिचिङ्धावासी पुर्खाहरू उपियाँ उफ्रदै गएको बाटो त्यही हो भनेर अहिले पनि चिनाउँछन। अन्त्यमा तोयामा खियामा ल्याउन कुखुराको भाले तुवाचुङडाँडा पठाइन्छ। भाले त्यहाँ पुगेर तमाखेमा खकचिलिपु (हेच्चाकुपा) भनेर बास्छ। मरेको भाईको नाम काढेर बासेको सुनी यसलाई अभास ठानेर तानको थुरी र बाइसुम (लठ्ठी) झिकेर भालेलाई झटारोले हान्छन्। झटारोले लागेपछि भालेको प्वाँख खस्ता उनीहरूले त्यसलाई थुरीमा राख्न मिल्छ भनी टिपेर बोक्छन। भाले जब गहिरा पस्छ बखान गाउँछ जब डाँडामा पुग्छ बास्न थाल्छ। एबं क्रमले भाले बास्ने, झट्टी हान्ने, प्वाँख खस्ने र प्वाँखलाई टिपेर बोक्ने काम क्रमैले हुँदै जान्छ र अन्तमा हेच्चाकुपाको घरमा आई पुग्छन। यता हेच्चाकुप्पाको घर भित्र पितापुर्खालाई अन्न चढाउने काम शुरु हुन लागेको हुन्छ। उता भालेले पनि तोयामा खियामालाई हेच्चाकुपाको घरमा उत्तिनैखेर ल्याई पुर्‍याउँछ। मरेको भाइको घरमा तायामा खियामा आउन असजिलो माने पछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवती समेत भएकीले लोभले र्‍याल चुहाउँदै आगनमा प्रबेश गर्छन र खान थाल्छन्। उता घरभित्र हेच्चाकुपाले रिभम पारुहाङ् नायम हँुदै पापापातेसुङसम्म मुदुम गाउँदै आईपुग्दा शरिरमा जोड्ले कम्प पैदा हुनथाल्छ। उनी भालासंग घर वाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुङ्धा निकाल्छन्। त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ। त्यस ढुङ्धालाई भूमेदेव साकेला मानी पूजिन्छ। (खोटाङ खार्मीका आलेख बहादुर थुलुङ राईको भ