Saturday, November 7, 2009


गान्धीलाई भेट्दा शुक्रराजको ज्यान गयो
ब्राह्मण भएका कारण राणाहरूले मृत्युदण्ड नदिएका प्रजापरिषद्का संस्थापक सदस्य जिउँदा सहिद रामहरि शर्माको संघर्षका नालीबेली:
उहिलेको पढाइ नै तगडा । चार/पाँच कक्षामा पढ्ने विद्यार्थी विश्व-राजनीतिको जानकारी राख्ने हुन्थ्यो । अहिले चार/पाँच कक्षामा पढ्नेहरू गाईमाथि राम्रो निबन्ध लेख्न सक्दैनन् । तीन वर्ष पनि नपुगी स्कुल जान थाल्छन् अचेल नानीहरू । नर्सरी, केजी, युकेजी के हो के के ? हाम्रा पालामा त दस वर्ष नपुगुन्जेल स्कुलको अनुहारै देख्न पाइँदैनथ्यो । म दरबार हाईस्कुलमा दुई कक्षामा भर्ना हुँदा तेह्र वर्षको थिएँ । यो विसं. १९८५ को कुरा हो । मेरा कति स्कुलेसहपाठी त जुँगामुठे थिए । अझ कोही त छोराछोरीका बाउ पनि ! चार कक्षामा पढ्दै गर्दा मेरो पनि बिहे भयो । म पन्ध्र वर्षको, दुलही दस वर्षकी । त्यतिबेला विवाह गर्ने आइडिएल एज (आदर्श उमेर) केटाको तेह्र र केटीको दस वर्ष हुन्थ्यो । कथंकदाचित् केटीको पन्ध्र वर्ष पुगेर पनि बिहे भएन भने त्यसका बाउआमा भुंग्रोमा परेको माछाझैं छटपटाउन थाल्थे । कालबेलै त्यस्तो थियो, अहिलेका मान्छेलाई दन्त्यकथाजस्तो लाग्ने !
त, पढाइको कुरा गर्दै थिएँ म । रातोमाटोको घोलमा सिन्का चोपेर धुलौटोमा क ख ग लेखेर मेरो शिक्षा आरम्भ भएको थियो । बाँसको खपटामा कमेरो-पानीले पनि लेखियो । अहिले जस्तो कापी, कलम कहाँ पाउनु ! बाजे यदुनाथ नेपाल मेरो पहिलो गुरु । गोठाला जाँदा उहाँ मलाई संस्कृतका श्लोकहरू घोकाउनुहुन्थ्यो । दस वर्ष पुग्दानपुग्दै म चण्डी, दुर्गाकवच, रुद्री पाठ गर्न सक्ने भइसकेको थिएँ । दरबार हाईस्कुलमा कक्षा दुईमा भर्ना हुनुअघि ६/७ महिना टंकप्रसाद आचार्यसँग अंग्रेजी पढेको थिएँ । उहाँ मभन्दा चार वर्ष जेठो हुनुहुन्थ्यो । किशोरावस्थादेखि नै परिपक्व हुनुहुन्थ्यो ।
अघि नै भनेँ नि, पाँच कक्षामा पढ्ने भए पनि देश र दुनियाँको 'क्रिटिकल एनालाइसिस्' गर्न सक्ने भइसकेका थियौँ हामी । साँझपख हाम्रो टोली -यसमा टंकप्रसाद आचार्य, जीवराज शर्मा र मलगायत ५/६ जना थियौँ) गुह्येश्वरीमाथिको जंगलमा फ्रान्सेली क्रान्ति, बोल्सेभिक क्रान्तिको गफ चुटिरहेको हुन्थ्यो । हरेक दिन चल्थ्यो हाम्रो कोणसभा । 'फलानो फलानो देशमा यस्ता यस्ता क्रान्ति भइसके, हाम्रो देशमा जहानियाँ राणाशासनविरुद्ध जनता चुँक्कसम्म गर्दैनन्, अब क्रान्ति नगरी एक हुन्न, दुई हुन्न, तीन हुन्न'- हाम्रा गफ भने पनि, बहस भने पनि यस्तै हुन्थे । यसरी क्रान्तिकारी कुरा गरेर दुई/तीन वर्ष बिताइयो । यसलाई क्रान्तिको पूर्वतयारी भन्न सकिन्थ्यो जस्तो लाग्छ मलाई ।
सिर्जनशील भुइँचालो
भूकम्प भन्नेबित्तिकै यसको संहारकारी चरित्र मात्रै सामुन्ने आउँछ । तर, विसं. १९९० साल माघ २ गतेको महाभूकम्पपछि मलाई भूकम्पको सिर्जनाशक्तिको अभूतपूर्व ज्ञान भयो । भूकम्पले भत्काउने मात्रै होइन, बनाउने पनि रहेछ ।
भुइँचालो गएको समय म चारखाल अड्डामा थिएँ । दिनको २ जति बजेको थियो क्यार । चारखाल अड्डा हल्लिन थाल्यो । मान्छेहरू अड्डाको झ्यालबाट हामफाल्न थाले । अड्डाको एक पाखो गर्लम्मै ढल्यो । तीन मिनेट जति हल्लायो भुइँचालाले । सडकमा निस्किएर हेर्छु त पूरै सहर धुलोको कुहिरीमण्डलभित्र छोपिएको थियो । धेरै घर भुइँमा च्यापु जोत्न पुगेका थिए । खोकनामा त यौटै घर पनि सद्दे बचेको थिएन । धरहरा तीन टुक्रा भएको थियो । घन्टाघर धुलिसात् भएको थियो । टुँडिखेलमा तीन सहर नेपालका मान्छेहरू जम्मा भएका थिए । पाल टाँगेर मान्छेहरू बसेको टुँडिखेल शरणार्थी शिविरजस्तो देखिएको थियो ।
यस महाभूकम्पले जनतालाई खण्डहरमाथि उभिएर आफ्नाबारे सोच्न बाध्य पारेको थियो । उनीहरूलाई आफ्नो निरिहताको पूर्णबोध भएको थियो । त्यसमाथि, राहत र उद्धारमा राणा हुकुमतले देखाएको उदासीनता, गैरजिम्मेवारी र फट्याइँले जनता, विशेषगरी विद्यार्थी वर्ग, आक्रोशित भएको थियो । भूकम्पपीडितका लागि आएको विदेशी अनुदानसमेत राणाले नराम्ररी हिनामिना गरेका थिए । भूकम्पपीडितलाई राहतका नाममा 'कर्जा' दिइएको थियो । नब्बे सालको महाभूकम्पले तत्कालीन नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण पृष्ठभूमि निर्माण गरिदिएकाले एक प्रकारले यो वरदान सावित भयो । सबथोक भत्केकाले जनतामा अब केही नयाँ बन्नुपर्छ/बनाउनुपर्छ भन्ने चेतना आएको थियो ।
बाँचे पृथ्वी, मरे स्वर्ग
राजनीतिक पार्टी स्थापना गरेर राणाशासनविरुद्ध लड्ने दृढअठोट गरेपछि विसं. १९९३ सालमा प्रजापरिषद् गठन गरियो । टंकप्रसाद आचार्य, धर्मभक्त, दशरथ चन्द, जीवराज शर्मा र म गरी जम्मा पाँच सदस्य भएको पार्टी थियो यो । राजा त्रिभुवनका स्वास्थ्यसेवक कम्पाउन्डर चन्द्रमान छैटौँ सदस्य थिए । तीन वर्षसम्म हाम्रो पार्टी सीमित सदस्यहरूबीच वैचारिक चिन्तन-मननमै अल्भिmयो । ठोस कार्यक्रम केही गर्न सकेन । न हामीले धेरै सदस्य बनाउन सक्यौँ । यस अवधिमा जम्माजम्मी दुई दर्जनजति सदस्य भएछन् हाम्रो पार्टीको । राजनीतिक चेतना कुन पक्षीको नाम हो थाहा नहुने समयमा, राणाविरुद्ध एकस्वर उराले सोझै कालको मुखमा पर्ने समयमा पार्टीको सदस्य विस्तार गर्नु साह्रै जोखिमको काम थियो । तीन वर्ष यताउति गरेर बित्यो । हामीमा भइसकेको चेतनाको विस्फोटले अब हामी हात बाँधेर बस्न सक्ने स्थितिमा रहेनौँ । विसं.१९९६ को अन्त्यतिर हामीले पार्टीको प्रमुख एजेन्डा बनायौं- राणाशाहीविरुद्ध जनचेतना जगाउने । यसका लागि पर्चा-आन्दोलन गर्ने निर्णय गरियो । टंकप्रसादजीले यसै साल पर्चा छाप्न भारतबाट लिथो मेसिन ल्याउनुभयो ।
चारथरी पर्चा तयार गरियो । सीधै राणाहरूलाई चुनौती र चेतावनी दिइएको एकथरी र राणाशासनको विरोधमा उत्रिन जनतालाई आग्रह गरिएका तीनथरी । हामीमध्ये सबभन्दा सुन्दर ह्यान्ड-राइटिङ टंकप्रसादजीको थियो । त्यसैले पर्चा लेख्ने काम उहाँले गर्नुभयो ।
विसं. १९९७ असार ९ गते घोडेजात्राको रात पर्चा छर्‍यौँ । यसरी सुरु भयो पर्चा आन्दोलन । जावलाखेल, डिल्लीबजार, बूढानीलकण्ठ, भक्तपुर आदि मुख्य-मुख्य ठाउँमा पर्चा छर्नका लागि चार समूह बनाइएको थियो । पर्चा-आन्दोलन जोडतोडका साथ चल्यो । हामी सम्साँझै पर्चा छर्न पनि हिँड्यौँ । 'बाँचे पृथ्वीमा भोग गरूँला, मरे स्वर्ग जाऊँला' भन्ने विश्वास लिएर क्रान्तिको बलिवेदीमा होमिएका थियौँ हामी । त्यसैले मृत्युको भय थिएन । भागवत् गीतामा श्रीकृष्णले अर्जुनलाई त्यसै भनेका छन्- 'बाँचे पृथ्वीमा भोग गरौला, मरे स्वर्ग जानेछौ ।' यस भावको संस्कृत श्लोकलाई हामीले पर्चामै राखेका थियौँ-
हतो वा प्राप्स्यसी स्वर्ग जित्वा वा भोक्षसे महीम्
तस्मादुत्तिष्ट कौन्तेय युद्धाय कृतिनिश्चयः ।
तीन महिनासम्म चल्यो पर्चा-आन्दोलन । तर, घोडेजात्राको भोलिपल्ट नै हाम्रा पर्चाले राणाहरूमा भुइँचालो ल्याइसकेको थियो । उनीहरूको सातोपुत्लो उडेको थियो । उनीहरूलाई ठाडै हाँक दिन दुष्साहस गर्ने नमकहराम 'रैती'हरूलाई त्रिलोक-चौध भुवन पुगेर भए पनि नखोजी र सुलीमा नचढाई नछाड्ने संकल्पका साथ राणाहरूले छ्याप्छ्याप्ती फिँजाएका थिए आफ्ना सिआइडीहरू । प्रजापरिषद्का सदस्यहरू सशस्त्र र धेरै छन् भन्ने भ्रममा परेकाले हाम्राे खोजीमा राणाशासनले भएभरको तागत लगाउन थालेको थियो । अन्ततः वाक्पतिराज शास्त्रीले पार्टीप्रति गद्दारी गरे । उनी शुक्रराज शास्त्रीका सहोदर भाइ हुन् ।
ज्यानमाराहरूसँगको बसाइ
म १९९७ साल कात्तिक ३ गते पक्राउ परेँ । प्रजापरिषद्का सदस्य तथा सर्वसाधारण गरी डेढ सयभन्दा बढीलाई पक्राउ गरियो । टंकप्रसादजी, दशरथचन्द, धर्मभक्त, गणेशमानसिंह, गंगालाल, चुडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय, मलगायत करिब तीन दर्जनजतिलाई तीन महिनासम्म सिंहदरबारमा राखे । श्री ३ जुद्धशमशेर हर्ताकर्ता भएको सैनिक अदालतले हरेक दिन केरकार गर्थ्यो । बन्दीहरूलाई बाँधेर कोर्रा ठोकिन्थ्यो ।
गंगालालले सबभन्दा बेसी कुटाइ खाए । दशरथचन्द मापाका थिए । जति चुटे पनि दब्दै नदब्ने । हिन्दी भाषामा कुराकानी गर्ने उनी राणाहरूलाई हाकाहाकी भन्ने गर्थे- 'तुम लोगोंको जितना अत्याचार करना है करो । हम जरुर बदला लेंगे । अगर मर भी गए तो प्रेत बनके आएंगे और तुम राणाओको खाजाएंगे ।' हुनुसम्मका साहसी थिए उनी । तीन महिनापछि हाम्रो भाग्यको फैसला भयो । दशरथचन्द, धर्मभक्त, गंगालाल र शुक्रराज शास्त्रीलाई मृत्युदण्डको फैसला सुनाइयो । शुक्रराज शास्त्री प्रजापरिषद्का सदस्य थिएनन् । भारतमा गएर महात्मा गान्धीलाई भेट्नु र गान्धीलाई नेपालको राजनीतिक र सामाजिक स्थिति ठीक छैन भन्नु उनको 'जघन्य' अपराध थियो ।
टंकप्रसादजी र मलाई चाहिँ मनुस्मृतिले बचायो । मनुस्मृतिले ब्राह्मणको हत्या गर्नु हुँदैन भनेको छ । हामीलाई सर्वस्वहरणसहित चारपाटा मुड्ने सजाय तोकियो । राणाहरूले मनुस्मृतिको अक्षरशः पालना गरेर हाम्रो प्राण त लिएनन्, तर चारपाटा मुडेपछि डाँडा कटाउनुपर्ने परम्परा भने तोडिदिए । १९९७ साल माघ १६ गते मुडीदामल (चारपाटा मुड्ने) गरेर हामीलाई भद्रगोल जेलमा लगियो ।
भद्रगोल जेलमा हामी बत्तीस राजबन्दीलाई अलग्गै राखिएका थिए । हाम्रो टोलीमा कविहरू सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित पनि हुनुहुन्थ्यो । सितारवादक भूपालसिंह प्रधान पनि हुनुहुन्थ्यो । कला र प्रतिभाको संगमस्थल भएको थियो भद्रगोल जेल । जेलको एकनासे निरस जीवनमा कहिलेकाहीँ सितार, तबला र हार्मानियको संगीतले रस भरिदिन्थ्यो । अनि, कहिलेकाहीँ कवितागोष्ठीले जेलै कम्पयमान गराउँथ्यो । जेलमा मैले खुब पढेँ । हामीलाई भेट्न आउनेहरूले लुकाएर किताबहरू ल्याइदिन्थे । मैले अकबर वीरबल किस्सादेखि साम्यवादका त्रि-देव (माक्र्स, लेनिन, स्टालिन) का कृतिसम्म पढेँ । पढ्नका लागि जेलजति उपयुक्त ठाउँ अरू हुँदैन कि जस्तो पो लाग्छ मलाई त ।
पछि, २००३ सालतिर टंकप्रसादजी र मलाई गोलघरमा सारियो । ज्यानसजाय पाएका ज्यानमारालाई १८ महिनासम्म राखिने ठाउँ थियो त्यो गोलघर । साँघुरो, चिसो र अस्वस्थकर हुन्थ्यो गोलघर । काट्नुपर्ने ज्यानमारालाई राखिने ठाउँ के खाएर गतिलो हुन्थ्यो । त्यहाँ हामीसँग अरू ६ जना थिए । सबै ज्यानसजाय पाएका ! दुईजना उतिबेलाका कुख्यात डाँका पनि थिए- कबे दमाई र हीरे कामी । हीरे कामीले मान्छे लगाएर हामीलाई दुई पाथी जति घ्यूको व्यवस्था गरिदिएको थियो । एक माना चामल, एक मुठो दाउरा र एक पैसा सिदा पाउनेले कसरी त्यत्रो घ्यूको व्यवस्था गर्न सक्यो होला भनेको त मोरोले डकैती गरेर कमाएको २५ हजार भारु कम्मरमा बाँधेको रहेछ । २००५ सालमा ऊ अरू दुई/तीनजनासित जेलबाट भाग्यो ।
केवल सत्ताका लागि गरिने आजको राजनीति
२००७ साल माघ ११ गते हामी जेलमुक्त भयौँ । हामीलाई हेर्न टुँडिखेलमा लाखौँ मान्छे जम्मा भएका थिए । त्यही वर्ष फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । त्यति धेरै संघर्ष गरेको, क्रान्तिको विगुल फुकेको, जनचेतनाको बीउ छरेको, त्यस्तो गरिमामय इतिहास बोकेको पार्टी प्रजापरिषद् आज इतिहासका पन्नामा मात्रै सीमित छ । नैतिकता, चरित्र र मूल्यमा आधारित राजनीति नै यसको मूल मान्यता थियो । हामीले कहिल्यै राजनीतिका नाममा अन्धाधुन्ध संगठन विस्तार गरेनौँ । आचरणलाई राजनीतिको केन्द्र मान्यौँ ।
आज मूल्य र मान्यतामा आधारित छैन राजनीति । सत्ता, सत्ता र मात्र सत्ता, आज राजनीति सत्ताबाहेक अरू केही सोच्न नसक्ने भएको छ । देश र जनता तपसिलका कुरा भएका छन् ।