Wednesday, September 22, 2010
पोखरा सर्जक र सिर्जना
Indra Narthunge
"मेरै हिमाल जस्तो हेरी रहुँ पोखरा …"
कवि तिर्थ श्रेष्ठका यी गीतिहरफले नछुने कुन मान्छे होला र ? जो पोखरेली होस् वा पोखरालाई एक पटक साक्षात्कार गरेको नेपाली या विदेशी नै । हिमाल र पोखरा अनि पोखरा र फेवाताल, जोसँग मन कतिखेर साटिन्छ कसैलाई थाहा हुन्न । फेवाको कन्चन जलरासीमा कुमारी माछापुछ्रेको स्निग्ध प्रतिविम्ब पौडिरहेको जब कसैको नजरमा पर्छ ऊ बेखवर बन्छ आफैसँग । यो दृश्य नियाल्न नसकेरै सर्मले सेती लुकेकिछिन् र पातले छाँगो हराएको छ पाताल भित्रै ।
भावनामा बग्नेहरुको लागि पोखरा आफैमा एउटा कविता हो । सेताम्य चाँदी छरेर ङिच्च हाँसिरहेका हिमचुचुराहरुमा सूर्यले लालिमा जव पोत्न थाल्छ तिनीहरु एकाएक फेरिन्छन् सुनौला ढिक्काहरुमा । र, बादलुको हल्का पर्दाले शिर छोप्न खोज्दा विवहाको मण्डपमा बेहुलासँगै बसिरहेकी नव वधुको प्रतिक बन्छ त्यहाँ । नव बधुको पाउ पखाल्दै ओह्रालो भागिरहेकी सेती, पोखराको सिमाना छोएपछि सुस्तरी बजाउन थाल्छिन् आफ्नो नुपूर छन्…छन्…छङ्…छङ्……
हो प्रकृतिका यही सुन्दर बान्कीहरुलाई नियाल्दै धेरै पोखरेलीहरु राष्ट्रको नाक थाम्न सफल भएका छन् । साहित्य, संगित कला र संस्कृतिमा पोखरा र पोखरेलीहरुको स्थान अग्रणी छ । जसरी पोखराको चर्चा सर्वत्र छ, पोखरेली सर्जकहरुको योगदानले पोखरालाई उसैगरी चर्चित बनाएको छ । पोखरा कवितामा लेखिएको छ, गीतमा गाइएको छ कथा र उपन्यासहरुमा छरपष्ट हुँदै चित्रहरुमा सजाईएको छ । हिजो कवि शिरोमणी लेखनाथ पौडेलले नेपाली साहित्यको एउटा युगलाई पोखराबाटै बोके पोखराको घामपानीलाई नियालेर ऋतु बिचारुहरु लेखे । जनकवी केशरी धर्मराज थापा र लोककवी अली मियाँहरु पोखरेली माटोमा जन्मे, रोधी घर धाउँदा-धाउँदै गीत र साहित्यमा रसम भिजाए । पोखरा आसपासकै हरियो डाँडामा हलो जोत्नेहरुलाई देखेर धर्मराजले "हो हो तारे हो हो... हो हो माले हो हो…" भन्दै नेपाली साहित्य र संगितलाई सिमाना पार गराए । जोमसोमबाट पोखरा नझरेका हुन्थे भने स्वर्गिय भूपि शेरचनको कविताहरुले पाठकहरुको मन छुँदैन थियो होला । नारायण गोपाल र पेमाला गुरुवाचार्य विवहा पछि पोखरामा लुक्न नपुगेका हुन्थे भने भूपिको शब्दमा स्वर सम्राटले "अल्झेछ क्यारे पछ्यौरी तिम्रो…" गाउन पाउँथेकी पाउँथेनन् यसै भन्न सकिन्न । पहिलो पुस्ताका कवि शिरोमणी दोश्रो पुस्तका जनकवि केशरी, लोक कवि र भूपि मात्र होईनन् दोश्रो पुस्ताको पाईला खप्ट्उयाउँदै आएका कवि कुलवहादुर केसी कवि एवं समालोचक डा. रविलाल अधिकारी, डा. गेहेन्द्रमान उदास 'पोखरेली' र तेज ढकालहरु पोखराबाटै प्रगतिशिल साहित्यलाई मलजल पुर्याई रहेका छन् ।
पोखराले जन्माएका सरुभक्त पोखरामै बसेर 'पागल बस्ती' लेख्छन् र मदन पुरस्कार हात पार्छन् । कवि तिर्थ श्रेष्ठ र रमेश श्रेष्ठ मात्र होईन गीतकार गजलकार एवं कवि प्रकटपगेनी शिवको सिर्जना थलो पोखरा बन्दै आएको छ । कवि एवं गितकार विनोद गौचन कवि विष्णु अल्पविराम र सूर्य खड्का 'विखर्ची' हरु फेवानगरीका सिर्जना हुन् र त्यही बसेर साहित्य सिर्जनामा सकि्रय छन् । सरुभक्तको छत्रछाँयामा हुर्कन्दै आएको पोखरेली नाट्य लेखनमा अनुप बराल, कृष्ण उदासी र घनश्याम लामिछाने 'दुखी'हरुले मलजल पुर्याउँदै आएका छन् । 'उदासी' नाट्य विधामा मात्र सकि्रय छैनन् उनी सफल कवि पनि हुन् र उपन्यास समेत लेख्न भ्याएका छन् । त्यसो त घनस्याम लामिछाने 'दुखी'का कलमबाट थुप्रै गीतहरु जन्मेका छन् । र, उनकै कथामा केही भिडियो फिल्म समेत निमार्ण भएको छ । कवि लक्ष्मण थापा, धनप्रसाद तामाङ, रोशन शेरचन, स्ट्रगल राना र ईश्वरमणी अधिकारीहरु पोखराले जन्माएका सर्जकहरु हुन् । लोकदोहोरी गायनको क्षेत्रमा हरिदेवी कोईरालाको नाम नसुन्ने कमै मान्छेहरु होलान् तर हरिदेवी कवयत्री हुन् भनेर थाहा पाउनेचाँहि कमै छन् । पोखरेली माटोमा मिसिएको साहित्यिक सुगन्धले हरिदेवीलाई पनि नछोईरहन सकेन । "न घाम झर्यो न जून झर्यो" कविता संग्रहमा हरिदेवी कवयत्रीको रुपमा जन्मिएकी छिन् । पोखरामा कुनै समय उषा शेरचन एक्लैले महिला कवयत्रीहरुको सिङ्गो प्रतिनिधित्व गरेकी थिईन् साहित्य लेखनमा । तर अव त्यो अवस्था छैन सरस्वती प्रतिक्षा र सुस्मा पौडेलहरुको नाम विस्तारै पोखरेली सर्जकहरुको बिचमा स्थापित हुँदै गईरहेको छ । गजल साहित्य पनि पोखरामा उसैगरी फस्टाएको छ । दिलिप दोषीहरु गजलकै लागि मरिमेटेर लागेका छन् । अनुराग अधिकारीको गजल संग्रह पनि पोखरेली माटोकै सिर्जना हो ।
पोखराभन्दा बाहिर जन्मेर पोखरेली माटोमा कर्म रोपिरहेका आरजु विष्ट 'सल्यानी' लाई पोखराले नै गीतकार र गजलकारको रुपमा चिनाएको छ । त्यसो त उपन्यासकार नरु थापाले आफ्नो पछिल्लो ऐतिहासिक उपन्यास 'पृथ्वी नारायण' को अधिकाँश भाग पोखरामै बसेर लेखिभ्याएका हुन् । पत्रकार अमृत भादगाउँले ले आफ्ना दुई कृतिहरु "पोखरेली नवरत्न" र "असल गुरु" को लेखनआधार पोखरालाई नै बनाए । भादगाउँलेले आफ्नो पहिलो कृतिमा पोखरा उपमहानगरपालीकाबाट "पोखरेली नवरत्न सम्मान" पाएका नौ जना साधकहरुको जीवन चित्र उतारेका छन् भने "असल गुरु" शिक्षासेवी जोर्ज जोनको जिवनी हो ।
कवि शिरोमणी लेखनाथ पौडेललाई नेपाली बाङ्मयमा छन्द शिरोमणीको रुपमा पनि चिनिन्छ । नेपाली कविताले उत्तरआधुनिक युगमा फड्को मारेको धेरै भईसक्यो । तरपनि कवि शिरोमणीको विरासत थाम्न माधव वियोगीहरु उतिकै सकि्रय छन् पोखरामा । पोखरालाई नेतृत्व प्रदान गर्न निर्वाचित भएका पूर्व मेयर कृष्ण थापाको कलम पनि गीत लेखनमा होमियो । त्यसैले त सबै पोखरेलीहरुलाई आह्वान गर्दै उनले गीत रचना गरे "श्रम सीप जुटाऔं पोखरालाई उठाऔं...." पोखरामा बस्दा बस्दै जन्म थलोको सम्झनामा वसन्ती लालचनको पनि हात चलेको छ । पोखराको सिधै उत्तरपट्टी पर्खाल बनेर उभिएको माछापुछ्रे छिचोलेर उनको नजर मार्फामा पुग्छ र शब्दहरुमा समेटिन्छ "क्या राम्रो स्याउ बारी मार्फा गाँवैमा……"
पोखरेली सर्जकहरु लेखनमा मात्र होईन लेखनलाई गति दिन साँगठानिक दृष्टिले पनि अग्र स्थानमा छन् । तीसको दशकमा भक्त श्रेष्ठ सरुभक्त नभै उनकै अगुवाईमा टिकटमा मुक्तक बाचन कार्यक्रमले अधिराज्यभर चर्चा पाएको थियो । मुक्तक सुनाउन राजधानी लगायत देशको विभिन्न स्थानबाट सर्जकहरुको ओईरो लाग्थ्यो पोखरामा । मुक्तक सुन्न टिकटको खोसामारी चल्थ्यो । त्यही पोखरेली सर्जक सरुभक्त अहिले "संरक्षण कविता आन्दोलन" लिएर गाउँगाउँ चाहार्दै छन् । नेपाली साहित्यको ईतिहासमा पहिलो पल्ट संरक्षण कविता आन्दोलनले अन्नपूर्ण वेसक्याम्प सम्मको यात्रा पार गरेको छ । सरुभक्त मात्र होईनन् कवि तिर्थ श्रेष्ठहरु पनि "अक्षर यात्रा" मा सर्जकहरुलाई लिएर नविन साहित्यको खोजी गर्दैछन् । पोखरा आसपासका रमणीय स्थानहरुको साहित्यिक भ्रमणगरी यथास्थानमा साहित्यको सिर्जना गरेर बाचन पनि गर्ने यो नविन शैलीले सर्जकहरुमा नविनताको खोज गर्न उत्प्रेरित गरेको छ । धनप्रसाद तामाङ र स्ट्रगल रानाको "असार र सिर्जना" ले दशौं शृङ्गखलाहरु छिचोली सकेको छ । दिलिप दोषीहरुको "गजल सन्ध्या" र पोखरेली युवा साँस्कृतिक परिवारको "साहित्य सन्ध्या" ले नयाँ-नयाँ सर्जकहरु जन्माउने र सिकारुहरुको कमल तिखार्ने काम गरिरहेको छ । यो यात्रामा लक्ष्मण थापाहरु पनि सामेल छन् । थापाको अगुवाईमा छोरेपाटन उच्च मावीको प्राङ्गणमा धेरै साहित्य शृङ्गखलाहरु सम्पन्न भईसकेका छन् । "छन्द बचाउ अभियान" का एक्लो बृहस्पती माधव वियोगी पनि छन्दमा कविता लेख्न प्रशिक्षण नै सन्चालन गर्दै हिडिरहेका छन् । नेपालकै सबैभन्दा धेरै विध्यार्थीहरु अध्ययन गर्ने थलो पृथ्वीनारायण क्याम्पस आफैमा साहित्य घरझैं बनेर उभिएको छ । जहाँ अग्रज साहित्यकारहरु प्राध्यापन पेशामा संलग्न छन् र विध्यार्थीहरुलाई साहित्य सिर्जनामा तान्न हरसम्भव प्रयास गरिरहेका छन् । नेपाली साहित्य विषय लिएर अध्ययन गर्ने विध्यार्थीहरुको अगुवाईमा साहित्यिक संस्थानै स्थापना भएको छ क्याम्पस भित्र । स्वतन्त्र विध्यार्थी युनियन मात्र होईन िसंगो क्याम्पसनै साहित्यको उत्थानमा सकि्रय छ । हरेक असार २९ गते आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तिको विशेष कार्यक्रम क्याम्पसमा हुने प्रमुख साहित्यिक कार्यक्रममा पर्दछ । जुन कार्यक्रममा नेपालका विशिष्ठ साहित्यकारहरुको उपस्थिती हुने गर्दछ । संस्थागत रुपमा हेर्ने हो भने कवि तिर्थ श्रेष्ठहरुको अगुवाईमा स्थापना भएको र हाल उनीहरुकै रेखदेखमा सन्चालन हुँदै आएको पोखरेली युवा सांस्कृतिक परिवारको नाम अग्रणी स्थानमा छ । बेलाबेलामा हुने प्रभातफेरी देखि बरिष्ठ साहित्यकारहरुको अभिनन्दनको नेतृत्व पोखरेली युवा सांस्कृतिक परिवारले गर्दै आएको छ । अर्कोतिर साचारको सन्जाल फैलने क्रममा पोखरामा स्थापना भएका एफ.एम.हरुले पनि साहित्य र सर्जक दुवैलाई प्राथमिकता दिदै आएका छन् । माछापुछ्रे एफ.एम.ले आफ्नो बार्षिक उत्सवमा कविता प्रतियोगिता सन्चालन गर्नु र रेडियो अन्नपूर्णले लोककवि अलिमियाँको अभिनन्दन एवं अलिमियाँको नाममा कोष खडा गर्ने अभियान सन्चालन गर्नु दुवै साहित्य प्रतिको झुकावकै उपज हुन् । त्यसो त पोखराले साहित्यकार र साहित्यिक संस्था जन्माउन मात्र होईन पोखरा बाहिरका सर्जकहरुलाई सम्मान दर्शाउन पनि जानेको छ । राष्ट्रकवि माधव घिमिरेको पोखराको अभिनन्दनको कुरो खोतले मात्र काफी हुन्छ । हजारौं पोखरेलीहरुले सहभागिता जनाएको सो रथयात्रा पोखराको ईतिहासमै नबिर्सने क्षणको रुपमा अंकित भएको छ ।
पोखरा-पानी जमेको तलाउ वा पोखरी । पानी-सर्जकहरुको कलममा घुलिएको मसी । त्यही मसी सर्जकहरुको कलमको निब भएर पोखिन्दा पोखरा-पोखरा भएको छ । जसरी पोखराको सौन्दर्य उत्तरतिर चुलिएका हिमचुलीहरुमा खुल्छ त्यसैगरी निबबाट बगेको पानीमा खुल्ने गर्छ । पोखराले नै जन्मायो कवि शिरोमणी, जनकवि केशरी र लोक कविहरु पोखराले नै हुर्काई रहेको छ पागल बस्ती र सरुभक्तहरुलाई । फेवा, बेगनास र रुपामा जबसम्म पानी जमिरहन्छ तबसम्म पोखरेली सर्जकहरुले समातेको कलम भएर सिर्जनाहरु जन्मिरहने छन् । कुमारी माछापुछ्रे साक्षी छ भोली सयौं कवि शिरोमणी र सरुभक्तहरुको जन्म र कर्म थलो पोखरा बन्ने छ ।
काब्यकुन्ज पोखरा तिम्रै सम्मानमा यी शब्दहरु अर्पण गर्दछु । अस्तु
हालः मलेसिया
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment