Indra Narthunge
नमस्कार बाजे नमस्कार कोकु (बजु)
लौ नमस्कार नमस्कार भाग्यमानी हुनु धेरै पढ्नु मन्त्री-प्रधानमन्त्री हुनु है नाती ।
विद्यालय प्रवेश गरेको सायद दोश्रो दिन हुनुपर्छ मैले पहिलो पल्ट यो आर्शिवचन पाएको थिएँ । र, जीवनको अठ्ठाईसौं वसन्तसम्म पाईरहें । लाहुरेको भूतले सताएको समाज र समुदायमा जन्मिनेहरुका लागि यो आर्शिवचन सर्वथा अनौठो थियो र भइरह्यो पनि ।
पूर्वतर्फ फर्किएको बुइँगल वाला घर र आगाडि झण्डै उस्तै मतान । आँगनमा साह्रै मेहनत गरेर चटक्क बिछ्याइएका चप्लेटी ढुङ्गाहरु घरको माथिल्लो भित्तासँगै जोडिएको बाटो र तल्लोपट्टी लस्करै उभिएका सुन्तलाका रहर लाग्दा बोटहरु मतानको तल्लो भागसँगै गाँसिएको एकपाटे छाप्रोमा तबेला र तबेलामा बाँधिएको घोडा । त्यही घोडा, जसलाई हेर्नको निम्ती हामी बाटो अलिकती लम्ब्याएर स्कुल पुग्ने गर्दथ्यौं । घरको दलानमा माथिल्लोपट्टी हरियो रङ्ग पोतेको खाट थियो र तल्लोपट्टी तीनतिर बारा हालेको बेाच थियो जहाँ बसेर सनीबार बाहेकका दिनहरु नमस्कार फर्काउन र आर्शिवाद बाँड्न तात्कालिन खोटाङ जिल्ला पन्चायतका सभापति बृषवहादुर राई आफ्नो अर्धाङ्गिनीको साथ हाजिर हुन्थे ।
स्कुल प्रवेस गर्दा म साह्रै फुच्चे थिएँ चारबर्ष पूरा पुगेर पाँच लागेको अझ ख्याउटे । आधुनिकताले छुउटुप्पै नछोएको दूरदराजको गाउँमा जन्मनुको कारण सानैमा विवेक सप्रने कुरै भएन । मन्त्री-प्रधान मन्त्रीको त के कुरा सभापतिको अर्थ पनि मठ्ठै । मेरा दामलीहरुको मेसोमा मिसिएर आर्शिवचन दिने मान्छेलाई उसबेला यसरी चिने-सपति बाजे । र अलिकपछि-सहपति बाजे । तर बाजेको असली पद 'सभापति' हो भन्ने भेउ पाउन निक्कै बर्षहरु बित्नु पर् यो-जतिबेला उहाँले दिने आर्शिवचनको अर्थ पनि मैले खुट्याई सकेको थिएँ ।
म जन्मिएको समुदायका मान्छेहरुले देख्ने सपना एउटै थियो-लाहुरे । र, आमा-बाबाहरुको सपना पनि लाहुरसँगै जोडिएको हुन्थ्यो । लाहुरेभन्दा अर्थोक जानेकै पनि त के थिए र ती दूरदराजका गाउँलेहरुले । सुकिलो-मुकिलो लुगामा ठाँटिएर एक-दुईजना भरिया आगाडि-पछाडि लगाउँदै हातमा टेपरेकर्डर झुण्डाएर लैबरीका गीतहरु घन्काउँदै घर फर्किने लाहुरेहरु साँच्चै महान् थिए गाउँलेहरुको लागि । त्यसैले त ठुलाबडाहरुले दिने आर्शिवचन यस्तै हुन्थ्यो-लाहुरे हुनु, हवल्दार, जमदार, सुवेदार, क्याप्टेन, लेप्टेन (लेफ्टिनेन्ट), मेजर हुनु । पुरेतहरुले घोक्ने गायत्री मन्त्रझैं कण्ठस्थ यस्ता आर्शिवचनहरु भन्दा सर्वथा बेग्लै आर्शिवचन सुन्दा अनौठो लाग्नु स्वभाविकै थियो ।
विद्यालय प्रवेशको करिब एकबर्ष पछाडि बार्षिक परिक्षाको रिजल्ट प्रकाशित गर्ने क्रममा स्कुलमा सानो समारोह भएको थियो । यस्ता समारोहहरु प्रत्येक बर्ष हुँदैआए पनि मेरो निम्ती त्यो समारोह पहिलो थियो । कहिल्यै देख्दै नदेखेका अनुहारहरु स्कुलमा उपस्थित भएका थिए । म अहिले पनि सम्झन्छु त्यसबेला मनमा रोमान्चकता र डर दुवै लागेको थियो । समारोहमा सभापति बाजे पनि आउनु भएको थियो । उहाँ मन्चको सबैभन्दा अगाडि राम्रो कुर्सीमा बस्नु भएको थियो । उहाँको छेउमा स्कुलका शिक्षकहरु र गाउँका बुढापाकाहरु थिए । प्रध्यानध्यापकले केही कुरा बोल्नु भयो तर उहाँले के बोल्नु भयो भन्ने कुराको हेक्का मलाई रहेन । केही बेर पछाडि नतिजा प्रकाशन गरियो र प्रथम, दृतीय, तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरियो । पुरस्कार सभापति बाजेले नै वितरण गर्नु भएको थियो । पुरस्कार दिनु हुँदा पनि उहाँले उही आर्शिवचन दोहोर् याउनु भो प्रधान मन्त्री, मन्त्री, मन्त्राणी हुनु । पुरस्कार वितरण गरिसकेपछि बाजे उभिनु भो र बोल्न थाल्नु भो । त्यसबेला मलाई उहाँको बोलाई भाषण हो भन्ने थाहा थिएन । उहाँले बोली रहँदा शिक्षक र गाउँले अभिभावकहरुले ताली बजाउँथे । हामी फुच्चाफुच्चीहरु ठूलाहरुले बजाउँदा निस्किरहेको लय भङ्ग गर्दै बेतुकको ताली पिट्थ्यौं । अझ कस्को धेरै बज्ने भनेर जोड-जोडले कलिला हातहरु आपसमा ठोक्याउथ्यौं । बाजेले भाषण गरिसके पनि निक्कै बेर ताली बजिरह्यो । बाजे पछाडि कसैको बोल्ने पालो आएन । मैले ठूलाबडा मानेकाहरु कसैले पनि भाषण गरेनन् । त्यसबेलाको कलिलो बाल मानसिकताले अनुभूत गर् यो-सभापति बाजे साँच्चै ठूलै मान्छे हुनुहुँदो रहेछ । र, के पनि विश्वास भो भने बाजेले दिनु भएको आर्शिवाद अरुहरुले दिने आर्शिबाद भन्दा ठूलो छ । हो त्यही बेलादेखि आमा-बाबा र मान्यजनहरुले लाहुरे हुनु भन्दै दिने आर्शिवादलाई मैले ठूलो ठानिन र जीवनमा लाहुरे हुनको लागि कुनै प्रयास समेत गरिन ।
केही बुझ्ने भएपछि सभापति बाजेसँग दोहोरो बात पनि गर्न थालियो । उहाँको घरमा जाने दलानको भित्ताभरि ठूल्ठूलो सिसाको फ्रेममा सजाएर राखिएको ब्लाक एण्ड ह्वाइट फोटोहरु हेर्ने गर्न थालियो । फोटोहरुमा बाजे बाहेक सबै अचिनारुहरु हुन्थे । बाजे कि त उभिएर भाषण गर्दै गरेका कि त दोसल्ला आढाइन्दै गरिएका फोटोहरु थिए । कहिले काँही फोटोमा भएका अन्य ब्यक्तीहरुको बारेमा बाजेले बताउनु हुन्थ्यो तर बाल मानसिकताले ती अपरिचितहरुको बारेमा हेक्का राख्ने कुरै भएन । धेरै पछि थाहा लाग्यो पन्चायती कालका मन्त्री, सभासद र अन्य विशिष्ट राजनीतिज्ञहरुको साथ बाजे सहभागि हुनुहुँदा ताकाको प्रतिविम्बहरु रहेछन् ती ।
२०४६ सालको राजनीतिक परिवर्तनले मान्छेहरुमा नौलो उत्साह थपेको थियो । बोल्दै नबोल्ने मान्छेहरु पनि बोल्ने भएका थिए । ठाउँ ठाउँमा सभा समारोहहरु भएका थिए । दुरदराजको त्यो वस्ती तिर पनि चेतनाको राँको मज्जैले झोसिएको थियो । २०४६ सालको राजनीतिक परिवर्तन हुँदा म सात कक्षामा पुगेको थिएँ । पढाईको हिसाबले राजनीतिक चेतना घुस्ने बेला हो त्यो तर म राजनीतिमा चेतनासून्य थिएँ । त्यसैले त्यो परिवर्तनले मलाई कताकता दुखाएको थियो । दुखाईको कारण-सभापति बाजेलाई गाली गरिनु थियो । फलना शोसक, फलना घुस्याहा फलनाको दिन गयो जस्ता गालीहरु सभापति बाजे माथि गाउँलेहरु पछाडिबाट बर्षाउँथे । अहिले सम्झन्छु सभापति बाजे मेरो निम्ती रोलमोडल बनिसक्नु भएको रहेछ त्यसैले त उहाँ माथि थोपरिने गालीहरु सुनेर म भित्र भित्रै मुर्मुरिन्थें । सभापति बाजे प्रति यती ठूलो सद्भाव पलाउनुमा अर्को कारण पनि छ-उहाँ बाटोमा िहंड्दा बाटो बीचको ढुङ्गा छेउछाउका झाडीहरु पन्छाउँदै हिड्नु हुन्थ्यो । र, हामी कोही छौं भने ढुङ्गाहरु फाल्न लगाउनु हुन्थ्यो । उहाँ भन्नु हुन्थ्यो-बटुवाहरु ढुङ्गामा अल्झिएर लड्न सक्छ त्यसैले फाल्नु पर्छ । म मेरै बुवा-आमा र गाउँका मान्यजनहरुसँग धेरै पटक हििडंसकेको थिएँ तर उहाँहरु न बाटो बीचको ढुङ्गानै फाल्नु हुन्थ्यो न त झाडीहरु नै पन्छ्याउनु हुन्थ्यो ।
सभापति बाजेलाई मैले कहिल्यै जाँड-रक्सी खाएको र तास-जुवा खेलेको देखिन । जाड-रक्सी नभई कुनै कार्य नै नहुने समुदायकै एक सदस्यले जाँड-रक्सी खाएको नदेख्नु अनौठो थियो । स्कुलमा शिक्षकहरुले जाँड-रक्सी खानु हुँदैन, तास-जुवा खेल्नु हुँदैन भनेर पढाउने बेलामा पढाउँथे तर स्कुल छुट्न साथ जाँड-रक्सीमै डुबेको भेट्थें म । तिहारको बेला त स्कुल लागेको समयमै गाउँमा पसेर तासको खालमा जमिरहेका शिक्षकहरु भेटिन्थे । म लेखिएको कुरा सत्य हो भन्ने ठान्थें त्यसबेला । किताबमा जाँड-रक्सी खानु हुँदैन जुवा-तास खेल्नु हुँदैन भनेर लेखिएको सत्य हो भनेर मान्थे म । र, सत्य कुरालाई सभापति बाजेले मात्र अङगिकार गरिरहेको पाउँथे । हुन पनि हो बाजेले जीवन भर मलाई उहाँको घर पुग्दा नातीलाई जाँड रक्सी देओ भनेर कोकुहरुलाई भन्नु भएन । बरु कोकुहरुले नाती तिर्खा लाग्यो होला जाँड छानी दिन्छु है भन्नु हुँदा बाजेले पढ्ने मान्छेलाई पनि जाँड दिने हो मोही होला छैन भने दही भए पनि देओ भनेर कोकुहरुलाई भन्नु भएको कुरा मानसपटमा अझै ताजै छ ।
अँ साँच्ची २०४६ सालको परिवर्तन पछाडि बाजेलाई गाली गर्नेहरु निक्कै देखिए गाउँघरमा । सुरुमा त म गाली गरेको सुन्दा रिशले मुरमुरिन्थे तर कुरो बुझ्दै गएपछि गाली गराई स्वभाविक लाग्न थाल्यो । केही साथीहरुको लहै लहैमा लागेर भेट हुँदा बाजेलाई नमस्कार गर्न पनि छोडियो । बाजे प्रतिको सम्मानमा ह्रास आयो भनौं । हो यो समय जीवनकै सबैभन्दा दुर्गतीका दिनहरु हुन् भन्ने अहिले थाहा पाउँदैछु । पढ्ने बाहानमा स्कुल जाने, स्कुलमा पुगेपछि क्यारिमबोर्ड र खोप्पीमा मस्तराम । कहिले कुन गाउँको भ्रमण, कहिले कुन पाखो रुङाई, कहिले कुन जङ्गलको चाहाराई । बाटो छेउको फलफूलको चिचिलै रित्याउने, मकैको खोया नपस्दै भाँचेर मुक्याउने । तर दिनहरु सधैं एकनासको हुँदैन त्यसैले त संसार चलेको छ । ती उरन्ठेउला दिनहरुले जीवनबाट क्रमशः बिदा लिन थालेपछि आफैमा कताकता आत्मग्लानी पलायो । र बाजे प्रतिको सम्मान पुनः फर्किएर आयो । वहाँको विचारभन्दा फरक विचारमा सामेल भएर राजनीति गर्दा पनि मैले फेरि बाजेलाई कहिल्यै नकारात्मक दृष्टिले हेरिन ।
२०६२ को जेष्ठ अन्तिम हप्ता हुनुपर्छ म करिब एक बर्ष पछाडि सानो कामले पोखराबाट घर फर्किएँ । गाउँघरको लागि म निक्कै बिरानो बनिसकेको थिएँ तर गाउँ मेरोलागि उही थियो । सिम्पानीबाट तेर्सो लागि सकेपछि धेरै समय सभापति बाजेकै बारेमा सोची रहें । घर पुग्नु अगावै सभापति बाजेको घर आउने हुँदा उहाँसँग केही बेर बसेरै गफ गर्ने योजना बनाएँ । पश्चिम दिशामा घाम ओह्रालिन्दै थियो म उही चिरपरिचित बाटो नापी रहेको थिएँ । मकैको लहलहाउँदो बोटहरुले बाटो साँघुरो बनाईरहेको आभास भइरहेको थियो । म एउटा आशा बोकेर बाजेको आँगनमा उत्रिएँ । बाजे घरमै हुनुहुन्थ्यो तर मेरो अनुमान विपरित । उहाँ सुकेर हाड छालामात्र हुनु भएको रहेछ । आँखा पनि ठ्याम्मै देख्न नसक्ने । तर बोली भने अझै उस्तै टाठो । मैले बाजेलाई नमस्कार टक्राएँ । उहाँले मेरो आवाज भुल्नु भएको रहेनछ । हामी केहीबेर गफियौं । मैले केही पोखरेलीहरुको बारेमा उहाँलाई जानकारी गराएँ जो पन्चायत कालमा राजनीतिमा सकि्रय थिए । मैले उनीहरुको बारेमा भन्दा बाजेमा बोल्ने थप उत्साह पाएको थिएँ । हुन पनि हो विगतको कुरोहरुले मान्छेलाई रोमान्चित बनाउँछ नै । बाजेसँग छुट्टिने बेलामा उहाँले उही परिचित आर्शिवचन दोहोर् याउनु भयो 'मन्त्री प्रधान मन्त्री हुनु है नाती।'
म पुनः सोही बर्षको दशैंमा गाउँ फर्किएँ । बाटो उही थियो त्यही बाटोहरुलाई पछ्याउँदै सभापति बाजेको घरसम्म पुगें । जेठको अन्तिममा लहलहाउँदो देखिएको मकैको बोटहरुको नामोनिसाना थिएन । मकैको ठाउँमा कोदोको बोट शरदीय पवनको झोक्कासँग बयली खेलिरहेका थिए । म शरद प्रीय मान्छे अझ जन्मेको गाउँमा पुग्दा हर्षले भुइँमा खुट्टा थिएन । पहिलाझैं म सोझै सभापति बाजेको घरमा पसें । सधैं बाजे बस्ने बेाचमा कोकु एक्लै बसिरहनु भएको थियो । मैले कोकुको आँखामा उदासीको भावहरु पढ्न नपाउँदै बाजे भदौमै बित्नु भएको कुरा सुनाउनु भयो । कोकुले बाजे बित्नु हुँदाको कथा सुनाईरहनु हुँदा मैले विगतका दिनहरुलाई सम्झिदै वरिपरिका दृश्यहरु नियालें । सुन्तोलाको बोटहरु पनि बुढो भएर जिगि्रङ परेका रहेछन् । घोडा बाँध्ने तबेलामा बाख्रा बाँधिएको थियो, आँगनका चप्लेटी ढुङ्गाहरु पनि काइ जमेर कालो भईसकेको थियो । म कोकुसँग धेरै बेर बालें तर बाजेको कुराभन्दा अन्य प्रसंगमा हामी गफिएनौं । बिदा हुनेबेलामा मैले पुनः बाजे सधैं बस्नु हुने ठाउँलाई नियाले त्यहाँ अझै पनि बाजेनै बसेर मन्त्री प्रधानमन्त्री हुनु नाती भनॆर आर्शिबाद दिईरहनु भएको जस्तो लाग्यो । तर त्यो मात्र कल्पना थियो । म बाजेको आर्शिबाद विहिन भएर त्यहाँबाट निस्किएँ ।
आज पनि म बाजेबाट परेको प्रभावहरुलाई नजरअन्दाज गरिरहेको छु । मैले संगत गरेको ठूला वा साना सबै मान्छेहरुमा सभापति बाजे एक्लॊ रोडमोडल हुनुहुन्छ ।
No comments:
Post a Comment