Thursday, September 23, 2010

दशैं धार्मिक कि सांस्कृतिक


इन्द्र नारथुङे
-हिन्दुहरुको महान पर्व दशैं
-आर्यहरुको महान् पर्व दशैं
-नेपालीहरुको महान् पर्व दशैं ।
दशैं कस्को हो भन्ने विषयमा स्पष्ट पार्न ब्यक्ति वा सार्वजनिक साचार माध्यमहरुले माथि उल्लेखित शब्दहरु खर्चने गर्दछ । यी तीन मध्ये पनि प्रथम र दोश्रो भनाई अधिक प्रयोग हुन्छ । तल्लो भनाईको प्रयोग कमै मात्र गरिन्छ ।
-देवताहरुको कल्याण गर्न दानवराज शुम्भ निशुम्भलाई दुर्गा भवानीले बध गरेको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
-तेत्रायुगमा अयोध्याका राजा रामले लंकाका दुष्टराजा रावणलाई मारेर सम्पूर्ण मानव जगतको कल्याण गरेको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
-अनार्य माथि आर्यहरुको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो ।
यी माथिका तीन भनाईहरु दशैंको उत्पत्ति कसरी भयो भन्नेसँग सम्बन्धित छ। दशैं हिन्दुहरुको हो भन्ने विषयमा प्रष्ट हुन माथिका भनाईहरु नै काफी छ । तर दशैंको उत्पत्तिको बारेमा भने माथिका भनाईहरु आपसमा बिरोधाभाषपूर्ण छन् । दानवराज शुम्भ-निशुम्भलाई दुर्गा भवानीले बध गरेको कथालाई मात्र आधार बनाएर हेर्दा दशैंको समग्र महिमा खुल्दैन । दुर्गापूजा दशैंको महत्वपूर्ण पक्ष हो तर दुर्गापूजा नै समग्र दशैं होईन । दुर्गापूजा दशैंको एउटा एकाई मात्र हो । लंकाका राजा रावण माथि अयोध्याका राजा रामको विजयलाई दशैंसँग जोड्ने हो भने त दशैं चैत्र शुक्ल पूर्णिमामा पर्न जान्छ । चैत्र शुक्ल पूर्णिमामा चैते दशैंको नाममा रामनवमी मनाउदैं आईएको सबैमा बिदितै छ । रावण माथि रामको विजय भएको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाई गलत देखिन्छ । तेश्रो भनाई झन् बिरोधाभाषपूर्ण छ । पौराणिक कथाहरुमा बर्णन गरिएको शुम्भ-निशुम्भ, दुर्गा भवानी, राम र रावण आर्यहरु हुन् । अनार्य माथि आर्यको विजयको खुसियालीमा कसरी दशैं मनाउन थालियो भन्ने भनाई पौराणिक कथाहरुले पुष्टी गर्दैन । तर हामी नेपालीहरुले मनाउने दशैं अन्य देशका हिन्दुहरुले मनाउने दुर्गापूजा भन्दा धेरै फरक भएको कारण के भन्न सकिन्छ भने भारत हुँदै नेपाल प्रवेश गरेका आर्यहरुले नेपालमा शासन गरिरहेका अनार्यहरुलाई युद्धमा जितेर राज्य कब्जा गरेको खुसियालीमा दुर्गापूजाको छेकलाई आधार बनाई केही मौलिक संस्कृति मिसाएर दशैं मनाईएको हुन सक्ने आधार भने छ । नेपाल बाहेक अन्य देशका हिन्दुहरुले दशैंको समयमा दुर्गापूजा गर्ने र कालरात्री मनाउने गर्दछन् तर नेपालमा यी दुवैको साथमा जमरा राख्ने, मार हान्ने र टीका लगाउने गरिन्छ । अन्य देशका हिन्दुहरु माझ दुर्गा पूजाको महिमा बढी देखिन्छ भने नेपालमा टीका लगाउनलाई बढी महत्वपूर्ण मानिन्छ । त्यसैले नेपालको सन्दर्भमा आर्यहरुबाट अनार्य माथिको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाईले निकट सम्बन्ध राख्छ ।
दशैंको उत्पति जसरी भए पनि वा दशैं जस्को चाड भएपनि नेपालको सन्दर्भमा यो सांस्कृतिक महत्वको चाड हो । तर यसलाई धर्मको अलंकार भिराएर सिमित घेरा भित्र राख्ने प्रयत्नले दशैंको महत्व नेपालमा बिस्तारै घट्दै गईरहेको छ । हुन त धर्म आफैमा एउटा संस्कार हो यो परिवर्तनशिल छ र परिवर्तन गर्न सकिन्छ । तर पनि धर्मलाई मान्छे वा राज्यले विशेष प्राथमिकता दिएको कारण यो संस्कार भन्दा अलग्गै देखिने गर्दछ । धर्म सबैको एउटै हुन्छ संस्कार मात्र भिन्न हो । दशैंलाई पनि धर्मसँग जोडिदिएको कारण यसको लोकपि्रयता खस्कदै गईरहेको छ । आर्यहरुद्वारा अनार्यहरु माथिको विजयको खुसियालीमा दशैं मनाउन थालिएको हो भन्ने भनाई सत्य नै भए पनि मान्छे-मान्छे बिचको सहिष्णुतामा असर पुर्याउने यस्ता शब्दहरुले अनार्यहरुमा दशैं प्रति आस्था घटाउन ठूलो काम गरिरहेको छ । अनार्यमाथि विजय गरेपछि त्यस्को खुसियालीमा दशैं मनाईयो टीका लाईयो वा मार हानियो होला तर त्यही कुरालाई आज दोहोर्याएर अरु संस्कार मान्ने मान्छेहरुलाई होच्याउनु एक्काईसौं सताब्दीको संस्कृति होईन । यदि यही कुरालाई प्राथमिता दिने हो भने नेपालका अनार्यहरुले हिजो आफ्नो गुमेको राज्यसत्ता र्फिता लिएर आर्यहरुलाई फेरी भारत तिरै लघार्न अन्याय ठर्हदैन ।
देशमा निरङ्कुश शासन ब्यवस्था रहिन्जेल लगभग सबै जाति, वर्ग वा समुदायका मान्छेहरुले दशैं मान्ने गर्दथे । तर त्यहाँ बाध्यता थियो भन्ने कुरा निरङ्कुश शासनको अन्त्य हुनसाथ धेरै जाति वा समुदायका मान्छेहरुले दशैं बहिस्कार गर्न थालेको कुराले प्रष्ट पार्दछ । जतिबेला हिन्दुहरुको हातमा शासन सत्ता पुग्यो त्यसबेला आफ्नो संस्कार र संस्कृतिलाई अपनाउन अरु समुदायलाई बाध्य पारिएको हो भन्ने कुरा दशैं बहिस्कारले देखाउँछ । हिजोका दिनमा गैह्र आर्य समुदायका मान्छेहरुलाई दशैं मनाउन बाध्य पारिए पनि आज आएर दशैंबाट पूर्ण रुपले अलग हुन्छु भन्नु असम्भव नै छ । हाल गैह्र आर्यहरुले दशैं बहिस्कारको नाममा टीका मात्र बहिस्कार गरेका हुन् । खाने, नाता-नाला भेट्ने, मनोराजन गर्ने जस्ता दशैंका सामाजिक पक्ष यथावत नै छ । तर स्वयं आर्य समुदायका मान्छेहरु दशैंलाई धर्मसँग गाँसेर गैह्र आर्यहरुलाई दशैंको बिरुद्धमा उचाल्न प्रयाशरत छन् । सार्वजनिक साचार माध्यममा 'हिन्दु मात्रको महान पर्व दशैं' र 'अनार्य माथि आर्यहरुको विजय' भन्ने शब्दहरु प्रयोग गरेर दशैंको लोकपि्रयता बढेको भ्रम पालेर बस्नु आर्यहरुको भुल हुँदै गईरहेको छ । कुनै पनि संस्कार वा संस्कृति एउटा समुदायमा मात्र सिमित गरिन्छ भने त्यो कालान्तरमा निश्चित लोप भएर जान्छ । सूचनाको साजालले विश्व साँघुरिएको बेला एउटा समुदायमा मात्र सिमित रहने संस्कार र संस्कृतिहरु कति दिन जीवित रहन सक्छ र त्यसैले दशैंलाई धर्मको पाजाबाट मुक्त गरेर संस्कृतिको रुपमा संसारका सबै मानिसहरुले ग्रहण गर्न सक्ने बनाउनु पर्दछ । मार हान्ने जस्ता प्राणी िहंशाको संस्कारले दशैं जस्तो सांस्कृतिक सद्भाव राख्ने पर्वलाई कुरुप बनाएको छ । पशुको बली दिनु र त्यसमा मुछिएको रगतको टीको लाउनु भनेको मान्छेको राक्षसी प्रवृति हो भन्दा पनि फरक पर्दैन । दान दक्षिणाको होडबाजी, गरगहना र बहुमुल्य कपडाहरुको प्रर्दशन सर्बसाधरणहरुलाई दशैं प्रति वितृष्णा जगाउने कारक तत्व बनेका छन् । यस्ता संस्कृति भित्रका बिकृतिहरुलाई हटाउन सकेको खण्डमा दशैं प्रति देखिएको बितृष्णा निश्चित रुपमा कम हुने देखिन्छ ।
दशैं समग्रमा सबै मानव समुदायको लागि सांस्कृतिक महत्वको पर्व हो भन्दा झुटो ठहर्दैन । काम बिशेषले टाढा पुगेकाहरु दशैंमा घर फर्कनु नर-नाता बिचमा भेटघाट हुनु भनेको मान्छे-मान्छे बिचमा माया ममता र सद्भाव कायम हुनु हो । आफू भन्दा ठूलाबडाहरुबाट टीकाको साथमा आर्शिवचन ग्रहण गर्नुले आफु भन्दा माथिकाहरु प्रति सम्मानभावको जन्म गराउँछ र सानाहरु प्रति ममता दर्शाउँछ । दशैंले एकआपस बिचको सत्रुता हटाई मान्छेलाई सहकार्यमा अग्रसर गराउँछ । जमरा राख्नु र लगाउनु भनेको कृषिसँग सम्बन्धित कुरो हो । यसलाई माटो परिक्षण वा अन्नबाली लगाउने नयाँ अभ्यासको रुपमा लिन सकिन्छ र यर्थातमा जमरा राख्नुको रहस्य पनि त्यही हो । पिङ लगाउनु-खेल्नुले एकातिर मान्छेको कलालाई उजागर गर्दछ भने अर्कोतिर मानशिक र शारिरिकरुपमा स्वस्थ बनाउन मद्दत गर्दछ । त्यसैले दशैंलाई धर्मबाट अलग गरेर विशुद्ध साँस्कृतिक पर्वको रुपमा मनाउने हो भने कसैले स्विकार र बहिस्कार गर्नु पर्ने प्रश्नै छैन ।

No comments: