Saturday, October 2, 2010

'सबैभन्दा खतरनाक हुन्छ- सपनाको मृत्यु


पञ्जाबी कवि अवतारसिंह पाशको स्मृति


सेप्टेम्बर महिना भारतीय प्रसिद्ध क्रान्तिकारी कवि पाशको जन्म महिना हो । ३८ वर्षको जाग्दो उमेरमै उनको हत्या नभएको भए यतिवेला उनी साठी वर्षमा हिँड्दै हुन्थे । दमन र अत्याचारका विरुद्धमा लेखिएका पाशका अधिकांश कविताहरू आक्रोशले भरिएका हुन्छन्, र तिनले मजदुर, किसान, महिला र संघर्षरत मान्छेका पक्षमा चर्को स्वर दिन्छन् । कवि पाशका लागि यो जगत्मा सबैभन्दा खतरनाक केही हुन्छ भने त्यो हो- सपनाको मृत्यु हुनु । सही हो, सपना दबाउन चाहने र सपना मार्न चाहनेहरू पाशका कविता रुचाउँदैनन् । तर, जो निरन्तर सपना देखिरहन्छन् र सपना जोगाउन चाहन्छन्, उनीहरूका लागि पाशका यी पंक्ति पक्कै पनि पि्रय लाग्नेछन्- सबैभन्दा खतरनाक हुन्छ, हाम्रा सपनाहरूको मृत्यु हुनु Û

जीवनमा सपनाको मृत्यु हुनु सबैभन्दा खतरनाक हुन्छ । आफ्नो जीवनको अन्तिम कविताका रूपमा प्रकाशित यही 'सबैभन्दा खतरनाक' कवितापछि कवि पाशबाट अरू नयाँ कविता लेखिने क्रम समाप्त भयो । तर, संसार छाडेर गएको दुई दशक नाघिसक्दा उनका कविताले पन्जाबी भाषाबाट हिन्दी, अंग्रेजी, नेपाली, बंगालीलगायतका भाषामा उल्था हुँदै लाखौँ पाठकका हृदयमा सपना भरिरहेका छन् । कविको भौतिक ज्यान अब यस संसारमा छैन । तर, मानिसका सपनालाई मर्नबाट जोगाउन पाशका थोरै कविताले अहिले पनि उत्तिकै ऊर्जा थपिरहेका छन् ।

पाशको खास नाम अवतारसिंह सन्धु हो । तर, साहित्यमा उनी 'पाश' उपनामले नै प्रसिद्ध छन् । भाषा र भूगोलको सीमाभित्र हेर्ने हो भने कवि पाश भारतीय हुन् र त्यसमा पनि पन्जाबी मूलका । तर, उनका शक्तिशाली सिर्जनाले दिनप्रतिदिन भाषा र भूगोलका पर्खाल भत्काइरहेका छन् ।

जालन्धर जिल्लाको तलवंडी सलेम गाउँमा उनी सन् १९५० सेप्टेम्बर ९ मा जन्मेका थिए । पन्जाबमा नक्सलवादी आन्दोलन फैलिरहेका बेला उनी हुर्के, जतिबेला जमिन्दार, उद्योगपति र दलाल व्यापारीविरुद्धको क्रान्तिकारी आन्दोलन झन्झन् बढ्दो थियो । माध्यमिक तहसम्मको अध्ययन सकेपछि पाशले कपुरथलाको जुनियर टेक्निकल स्कुल, जालन्धरको सन्ध्याकालीन कलेजलगायतमा उच्चशिक्षा हासिल गरेका थिए । सन् १९६७ मा उनी भारतको सीमासुरक्षा बलमा भर्ती पनि भए । तर, तीन महिना पुग्दा-नपुग्दै कविले त्यो जागिर छाडिदिए र १९६९ तिर नक्सलवादीहरूको संगतमा पुगे ।

नक्सलवादी आन्दोलनमा जोडिएपछि पाशको पहिलो कविता कृति 'लोह कथा' सन् १९७० मा छापियो । यही वर्ष झूटो ज्यानमुद्दामा उनलाई पक्रियो र निर्दोष सावित भएपछि सन् १९७१ मा रिहा गरियो । त्यसपछि पनि उनी दुई-दुई पटकसम्म गिरफ्तार भए । सन् १९७२ मा उनले 'सियाड' पत्रिका प्रकाशन गर्न थाले । एक वर्षसम्म चलेपछि यो पत्रिका बन्द भयो । सन् १९७४-७५ मा उनले 'हेमज्योति' पत्रिका पनि सम्पादन गरे । सन् १९७३ मा दोस्रो कृति 'उडदे बाजाँ मगर' छापियो । २८ वर्षको उमेरमा राजविन्द्र कौरसँग पाशको विवाह भयो । त्यही वर्ष अर्थात् सन् १९७८ मा तेस्रो कविताकृति 'साडे समियाँ विच' छापियो । जीवनको यही अवधि पाशको सबैभन्दा सक्रिय सिर्जनशील अवधि थियो ।

पाश जीवनको अन्तिम अवस्थासम्म पनि कवितालेखन र पत्रिका प्रकाशनमा दत्तचित्त भएर लागेका थिए । सन् १९८६ मा क्यालिफोर्निया पुगेका उनले त्यहीँबाट 'एन्टी-४७ फ्रन्ट' नामको पत्रिकाको सम्पादन गरेका थिए । अर्को वर्ष उनी अमेरिका फर्के । विदाको समयमा अमेरिकाबाट पन्जाब आएका बेला आफ्नै गाउँमा खालीस्तानी पृथकतावादीहरूले कवि पाशको निर्मम हत्या गरे । संयोग, जुन दिन भारतीय क्रान्तिकारी युवा नेता भगत सिंहको हत्या गरिएको थियो, त्यही दिन अर्थात् २३ मार्च १९८८ मा गरियो, क्रान्तिकारी कवि पाशको निर्मम हत्या पनि । पञ्जाबमा २३ मार्चमा भगत सिंह र कवि पाशको स्मृतिमा संयुक्त सहिद दिवस मनाइन्छ । यी दुवै पञ्जाबका क्रान्तिकारी योद्धा थिए । भगत सिंह बेलायती साम्राज्यवादविरुद्ध क्रान्ति र स्वतन्त्रताका लागि सशक्त आन्दोलनका पक्षधर थिए भने पाश क्रान्तिकै लागि साहित्यिक र वैचारिक लडाइँमा समर्पित एक जनकवि थिए ।

पाशको हत्या भइसकेपछि पनि 'हम लडेंगे साथी' (१९८८), 'खिल्लरे होए वर्के' (१९८९) 'बीचका रास्ता नहीं होता' (१९८९), 'पाशके आसपास' (१९८९), 'अक्षर अक्षर' (१९९८), 'लहु है कि तब भी गाता है' (१९९८), 'पाशकी कविताएँ' (







२००५) जस्ता थुप्रै कविता संकलनका कैयौँ संस्करण निस्केका छन् । उनका कविता हिन्दी, अंग्रेजी, नेपालीलगायतका भाषामा थुप्रै पटक अनुवाद पनि भइसकेको छ । उनको 'सबसे खतरनाक' कविता भारतमा ११ कक्षाको पाठ्यक्रममा पनि समावेश छ । पन्जाबमा उनको स्मृतिमा 'पाश मेमोरियल अन्तर्राष्ट्रिय ट्रस्ट' स्थापना गरिएको छ । हरेक वर्ष मार्च २३ मा भारत र संसारभरिका क्रान्तिकारी कवि-साहित्यकारहरूले पाश स्मृतिदिवस मनाउँछन् ।

हाल अमेरिकामा नर्सका रूपमा कार्यरत पाशकी पत्नी राजविन्दर कौर पाशसँगको वियोगबारे भन्छिन्, 'पाशले हामीलाई एक्लै छाडेर जानुभएको छैन, उहाँ त सधैँभरि आफ्ना कविताहरूमा बाँचिरहनुहुनेछ ।' पाशका थुप्रै कविता हिन्दीमा अनुवाद गरेका जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर चमनलाल भन्छन्, 'पाशका कविताले सामान्य पाठकदेखि जनतान्त्रिक संघर्षमा जोडिएका मजदुर, किसान, महिला, विद्यार्थी, दलित र ट्रेड युनियन कार्यकर्तासम्मका लागि जनतान्त्रिक संघर्षको अन्तिम विजयको ओजमा विश्वास गर्न प्रेरक भूमिका खेल्नेछन् ।'

भारतीय प्रगतिवादी संस्कृतिकर्मी तथा कवि कात्यायनीका भनाइमा 'पाशको क्रान्तिकारी मानवतावाद अन्तिम साससम्म पनि जिउँदो थियो । अन्तिम साससम्म उनी जीवन, संघर्ष, सिर्जना र सौन्दर्यको गायक बनिरहे, सत्यको घोषणापत्र पेस गरिरहे, विद्रोहको घोषणा गरिरहे, परजीवी शोषक-शासकवर्गलाई चुनौती दिइरहे, भगुवाहरूलाई धिक्कारिरहे र यथास्थितिवादीका मुखमा थुकिरहे ।'

पन्जाबको साँघुरो गाउँमा जन्मे-हुर्केर पनि आज पाशले कवितामार्फत् संसारभरिका जनतासामु आफ्नो परिचयको झन्झन् विस्तार गरिरहेका छन् । विश्वसाहित्यमा उनी पाब्लो नेरुदा र नाजिम हिक्मतले नेतृत्व गरेको कविता धाराका कवि मानिन्छन् । पाशलाई भारतीय कविताका लोर्का पनि भनिन्छ । उनी कविमात्रै थिएनन्, जनसंघर्षका एक अथक् योद्धा पनि थिए । जीवनप्रति निरन्तर निष्ठावान् पाशले जनताको आन्दोलनलाई सपना भरिएका कवितामात्रै दिएनन्, रगतको समेत नतिरिने गुन लगाए । नेपालमा पनि उनका कविता अत्यन्तै रुचाएर पढिन्छ । नेपाली समकालीन कवि श्यामल पाशबारे भन्छन्, 'पाश जनकविका रूपमा विश्वका अन्य देशमा झैँ नेपालमा पनि सम्मानित छन् । नेपाली कवि र पाठकहरूले पञ्जाबी कविताका सुरजित पातर र पाश दुवैलाई निकै गम्भीरतापूर्वक पढ्छन् र स्मृतिमा राख्छन् । तसर्थ, उनीहरू जनकविताका लागि प्रेरक सिद्ध भइसकेका छन् ।'

पाशले भारतीय दुनियाँमा त्यतिबेला देखेको र पुनर्रचना गरेको सत्य अहिले पनि भारतमा बदलिएको छैन । त्यो सत्य यति सार्वजनीन छ, भारतको निकट उत्तरी सीमानाभित्र हामी नेपालमा पनि त्यही सत्य भोगिरहेका छौँ । नेपालीले देख्ने गरेका सपनाको मृत्यु नेपालकै निम्ति दुर्भाग्य हुनेछ । त्यसैले उनको कविता सार्थक र उत्प्रेरक छ हाम्रालागि ।

अन्त्यमा, उनकै बहुचर्चित कविता 'सबभन्दा खतरनाक' को एक अंश उनकै सम्मानमा-

श्रमको लुट सबैभन्दा खतरनाक हुन्न

पुलिसको पिटाई सबैभन्दा खतरनाक हुन्न

गद्दारी लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुन्न

बसिरहँदा पक्राउ पर्नु नराम्रो त हुँदै हो

तर त्यो पनि सबभन्दा खतरनाक हुन्न

सबैभन्दा खतरनाक हुन्छ

मुर्दा शान्तिले भरिनु

कुनै छटपटी नहुनु

सबै सहनु

घरबाट काममा निक्लनु

र कामबाट खुरुखुरु घर र्फकनु

सबैभन्दा खतरनाक हुन्छ

हाम्रा सपनाहरूको मृत्यु हुनु
Naya Patrika

No comments: