Sunday, October 3, 2010

स्मृतिमा कोरिएको एउटा भाइटीका


दिनहरु हजारौं बितेर गएका छन् आँखै अगाडि । दिनको धर्म भनेकै आउनु र जानु न हो । केही लिएर आउनु र स्मृति छोडेर जानु दिनको दिनचर्या भित्र मान्छेको कुनै बेला मन अल्झिएर जाँदो रहेछ । मन साथैमा लिएर जाने दिन नै अविश्मरणीय बन्दो रहेछ मान्छेको लागि । मेरो पनि केही दिनहरु यस्तै छन् पलपल सम्झनै पर्ने । तिनीहरु मध्ये एउटा दिनको सम्झनामा यी हरफहरु कोर्दैछु प्रवासबाट ।
शरद ऋतुको मदहोशीमा मस्त धरतीको आँचल तलार्दै वहने पवनमा पुष्प गन्धको वासले प्रकृति नै पुष्पमय भएको बेला मानव मनहरुमा एक प्रकारको पर्खाईले चिथोरी रहन्छ-प्रत्येक बर्ष । नेपालीहरुको महान पर्व दिपावली अर्थात भाइटीकाको पर्खाई युगौदेखि चलिरहेको छ, यसैगरी । भाइटीका आउँछ-जान्छ तापनि आउने दिनको प्रतिक्षामा मन अधिर हुन्छ नै । यस्तै भईरहेको थियो त्यो बर्ष पनि-माइती हुने चेलीहरु र चेली हुने माइतीहरुको मन । तर माइती नहुने चेली र चेली नहुने माइतीहरु भने भित्र भित्रै साउन बर्षाई रहेका हुँदाहुन् । कस्ले बुझ्ने ती बर्षिने सावनको मनोदशा, यस्तै लाग्थ्यो मलाई । हैन म गलत रहेछु । मेरो कानो आँखाहरुमा रोशनी त्यतिबेला देखा पर्दछ जब मेरै सहकर्मी साथी मुना नजिकै आएर भन्छिन् "ईन्द्र जी यो सालको भाइटीका विषेश ढङ्गले एफ.एम. परिसरमा मनाउनु पर्छ ।" आधा बालापन साथैमा राखेर जवानीको खुट्कीलो उक्ली सकेकी चुलबुली मुनाको मन यति फराक होला भन्ने मलाई ख्यालै थिएन, उनको योजना नसुनिन्जेलसम्म । माइती नहुने चेलीलाई माइती र चेली नहुने माइतीलाई चेली खोजी दिएर एफ.एम. परिसरमै भाइटीकाको आयोजना गर्ने प्रश्तावले मन हरक्कै भएछ, मैले सोच्दै नसोची "हुन्छ म सहयोग गर्छु" भनिदिएछु कुन बेला पत्तै भएन ।
पोखराको एकमात्र सामुदायिक रेडियो हिमचुली एफ.एम. ९३.४ को ध्वनी तरंङ्गमा गुञ्जन थाल्यो, माइती-चेली खोज्ने विज्ञापन । 'आधा आकाश' कि लोकप्रीय सञ्चालिका मुना आफ्नो कार्यक्रमको सन्दर्भ नै मोडेर माइती-चेली खोज्नमा आधा घण्टा ब्यतिथ गर्न थालिन् । 'मेरो रोजाई' मा अञ्जना 'सरगम' मा जुना र भिमको 'गामबेसीका सुसेलीहरु'मा पनि माइती-चेली कै खोजी हुन थाल्यो । 'स्पर्श' मा साथ दिईन् गीताले र मैले पनि हरेक बुलेटिनको बिचमा माइती-चेली खोजीको बिज्ञापन सुटुक्क बजाउन थालें । तिहार मान्न घर जानेहरुको कारण एफ.एम. झण्डै सून्य नै भईसकेको थियो । प्रस्तोताहरुको अनुपस्थितीको फाईदा उठाउँदै धेरै कार्यक्रमहरु सञ्चालनको अभिभारा लिएर माइती-चेलीको खोज अभियानलाई तिब्रता दियौं सबैले । स्टेशन म्यानेजर दिलिप सरको हार्दिकतापूर्ण सदासयताले हामीमा थप हौशला थियो नै त्यो भन्दा बढी अरु एफ.एम.को भन्दा बेग्लै कार्यक्रम सञ्चालन गर्नु पाउँदा राम्रै स्कुप मारेको हामीले ठानी रहेका थियौं । नभन्दै फोनको घण्टी बज्न थाल्यो क्षण-क्षणमा ।
२०६० सालको भाइटीकाको प्रभात पनि बिस्तारै सूर्यको रोषनीमा खुल्न थाल्छ । ६.३० को हिमचुली बुलेटिनको पहिलो समाचारको सारंश म भन्न थाल्छु ९३.४ हिमचुली एफ.एमको ध्वनी तरंङ्गमा "आज नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको महत्वपूर्ण दिन भाइटीका हिमचुली एफ.एम. परिसरमा नै भाइटीकाको आयोजना…।" बिहानको दश बज्दा नबज्दै सयपत्री मखमली र गोदावरीका रङ्गिबिरङ्गी माला सप्तरङ्गी टीकाको थाली र माइतीको लागी मिष्ठान्न भोजनको जोहो गरेर माईती बिहीन चेलीहरु हिमचुली एफ.एम. परिसरमा भेला हुन थाल्छन् । केही क्षणको पखाईपछि नै माइतीहरु हातमा चेलीहरुको लागि सौदा बोकेर एफ.एम.को िसंढी उक्लन्छन् । स्टुडियोमा भीम आफै प्राविधिक आफै प्रस्तोता यता हामी बैठक रुम सजाउन ब्यस्त । अञ्जना पनि साथीहरुको साथमा आईपुग्छिन्, नजीकै घर भएकी जुना त हुने नै भईहालिन् । कताबाट पुनम पनि टुप्लुक्क आईपुग्छिन् । सबैको मिलेमतोले बैठक कक्ष भाइ पुज्नको लागि योग्य बनाईन्छ । मुनाकी सहपाठी राजकुमारी र नारायणीको चरीफूरी उस्तै, सहोदर माइतीहरुबाट चेलीको स्नेह नपाएर नयाँ माइतीको पर्खाईमा रहेकी तुलसी र माइतीघर भन्दा धेरै ढाटा रहेकी सरस्वती दुवै खुसीले नाची रहेका देखिन्छन् । स्याङ्गजाबाट करिब ३० किलोमीटर यात्रा पार गरेर आईपुग्नु पर्ने तीन चेलीहरुको आगमन पछि माइती र चेली मिलाउन सबै लागि पर्छौं । सबै माईती र सबै चेलीको प्रश्तावलाई इन्कार गर्दै मुना अगाडि बढेर भाग लगाउन थाल्छिन् । जात, धर्म र दुरीको ख्याल हुन्न कसैलाई । माईती र चेलीको पवित्र बन्धनमा बाँधिएर भाइटीका लगाई दिन चेलीहरुलाई हतारो, माइतीहरुलाई सप्तङ्गी टीका र सयपत्रीको हार पहिरिन उस्तै छट्पट्टी । साईत खुलेको घोषणा गर्छिन् मुना । चेलीहरु आ-आफ्ना माइतीहरुलाई तेलको चौघेराले सुरक्षित पार्न ब्यस्त हुन्छन् । मुना, जुना, नारायणी र राजकुमारी हेर्न मै मस्त । म भने क्यामरा मिलाई-मिलाई फोटो लिन थाल्छु । माइतीहरुको खाली निधारमा सप्तङ्गी टीकाको लर्को कोरिन्छ, सयपत्री मखमली र गोदावरीको मालाले गला भरिन्छ । सौदा दिने र लिनेमा होड्बाजी चल्छ । सबैले आ-आफ्ना माइती पुजी सकेपछि अरुको माइतीहरुलाई पनि फूलमाला परिर्याउन हतारिन्छन् चेलीहरु । फेरी सबै बिचमा ढोकाभेटले वातावरण भावनामय बन्छ । चेलीहरुले दिएको मिष्ठान्न ग्रहण गर्न माइतीहरु हतारिन्छन् चेलीहरु माईतीले दिएका सौदा पोको पार्न थाल्छन् । केही क्षण फोटो खिच्ने क्रम चलेपछि सबै माईती चेलीहरुको नयाँ अनुभवलाई प्रत्यक्ष प्रशारण गर्न स्टुडियोमा भेला पारिन्छ । मुना एकाछेउमा बसेर कार्यक्रम सञ्चालन गर्ने ईसारा गर्छिन् । खुसीले प्रफुल्लित मुद्रामा देखिएका माइती-चेलीहरुलाई पालैपालो प्रश्न सोध्न थाल्छु म । प्रश्न सोध्ने क्रममा म पहिलो पल्ट सरस्वतीलाई तपाई सम्बोधन गर्दछु । तपाई भनेर सम्बोधन गर्दा ऊ एकछिन् अल्मलिन्छे पनि । सम्बन्ध जे भएपनि औपचारिक कार्यक्रमा अनौपचारिक शब्द प्रयोग गर्नु त मिलेन नै । प्रश्नले मुनाको कोमलतालाई पनि छुन्छ । उनी पग्लिन्छिन् र बग्न थाल्छिन् भावनाहरुमा । मित्रताको प्रसंशामा शब्दहरु खर्चन थालेपछि म रोकेर उनैलाई कार्यक्रम सञ्चालनको अभिभारा सुम्पन्छु । फेरी मुनाको कोमल आवाजमा मनै छुने शब्दहरुले एफ.एम.को ध्वनी तरंङ्गमा प्रभाव फैलाउन थाल्छ । करिब एकघण्टा पछि कार्यक्रम टुङ्ग्याउनु पर्ने ईसारा पाएपछि कार्यक्रमको बिटमार्न थाल्छु म । कार्यक्रम समापन पछि मनमा थप नौलो अनुभूति बोकेर माइती चेलीहरु निक्लन थाल्छन् । म भने तीन बजेको हिमचुली बुलेटिनको लागि स्टुडियोमा नै रहन्छु । समाचारको सिग्नेचर ट्युन पछ्याउदै मुख्य समाचार बिधुतीय ध्वनी तरङ्गमा फैलिन थाल्छ "नेपालीहरुको दोश्रो महान पर्व तिहारको अन्तिम दिन भाइटीका मनाईदै, हिमचुली एफ.एम.मा भाइटीका ग्रहण गर्ने कार्यक्रम भरखरै सम्पन्न……"
समाचार भट्याएर बैठक कक्षमा झर्दा सबैले मलाईनै कुरी रहेका रहेछन् । सबै माइतीहरुको निधारमा सप्तरङ्गी टीकाको लर्को र सयपत्रीको हारले भरिएको गला तर म भने रित्तै सबैको नजर बल्ल ममाथि पर्छ । मुना कार्यक्रमको आयोजक थिईन् तर उनले पनि कसैलाई माइती मानेर टीका लगाई दिईनन् । माइती-चेलीहरुको जिज्ञाँसा पूर्ण नजरले हामी दुवैलाई पछ्याउन थाल्छ । मुनाले पनि बुझिन् क्यारे अलिक अप्ठ्यारो मान्दै पछाडि सरेर आफ्नो कुम्लो सुम्सुम्याउन थाल्छिन् । आर्कषक काजगले बेहि्रएको एउटा उपहार झिकेर मेरो हातमा थमाउँछिन् । धन्यवाद ! भन्दै म उनको चञ्चल नयनमा नयन चार बनाउछु । खुसीमा उनको प्रत्येक अवयवहरु झुमी रहेका थिए । उपहार दिने र लिने कि्रयालाई सबैले अनौठो मानिरहेको भान हुन्थ्यो । सरस्वतीको मनमा पनि चिसो पस्योकी क्याहो मलाई सोझो आँखाले हेर्न सकिनन् । मुना र म बिचको सम्बन्धको पोल त्यही बन्द उपहारले खोल्थ्यो तर मैले त्यहाँ फुकाउन ठिक ठानिन र राख्नको लागि सरस्वतीलाई जिम्मा लगाएँ । हतार त सबैलाई थियो तर सबैभन्दा बढी मलाई नै हुनुपर्छ । तीन बर्ष अगाडि देखि मानिआएको मेरी धर्म दिदीको प्रतिक्षा लामो भई सकेको थियो । सबैसँग बिदा भएर म फुलबारी तिर हुईकिएँ । त्यो दिन जति पुरानो बन्दै छ लाग्छ समृतिमा अझै ताजा बन्दै गईरहेको छ । गाँसिएको सम्बन्धहरु कताकता पुगे केही पत्तो छैन तर त्यस दिन मुनाले दिएको उपहार एउटा सुन्दर कार्ड भित्रका हरफहरु अझै पनि सम्झन्छु "सच्चा मित्रको अजम्बरी सम्झनाहरु…॥"

No comments: