दिवंगत गायक/संगीतकार राम थापालाई नजिकबाट चिन्ने लोकगायक हुन्- जयनन्द लामा । एउटा सामान्य प्रहरीको जागिरे राम थापा, विश्वकै उत्कृष्ट दस गीतमा पर्न सफल भएका थिए । ऋतुहरूमा तिमी... बोलको गीत विश्वका उत्कृष्ट दसमा परेपछि 'वरिष्ठ संगीतकर्मी हुन पुगेका थिए राम थापा । कस्ता थिए त राम थापा ? उनका सहकर्मी जयनन्द लामाबाट-०२७ देखि ०३१ सालसम्म म कमलपोखरीमा डेरा लिएर बसेको थिएँ । डिल्लीबजार, महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकअगाडि भैरवनृत्य दल थियो । नृत्य दलका संस्थापक गुरु भैरवबहादुर थापाको ज्यान मोटो थियो । उहाँ नृत्य सिकाउने गर्नुहुन्थ्यो । म उहाँको सहायक भएर हिँड्थे । तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकका लागि हामीले विभिन्न सांस्कृतिक कार्यक्रम गर्नुपर्ने भयो । त्यसै क्रममा कार्यक्रमको तयारीमा विभिन्न स्कुल, कलेज, संघसंस्थाका कलाकारलाई प्रशिक्षण दिन महेन्द्र पुलिस क्लबमा प्रशिक्षक भएर पुग्यौँ । कमलपोखरीकै स्थानीयवासी कृष्ण थापा मेरा साथी थिए । कृष्ण र म सँगै बक्सिङ सिक्थ्यौँ । म कृष्णको घरमा गइरहन्थेँ । उनका बुबा-आमाले मलाई आफ्नै छोराको व्यवहार गर्थे । त्यतिवेलासम्म रेडियोमा मेरा केही गीत रेकर्ड भइसकेका थिए । दुई-तीनवटा गीत हिट भएपछि मेरो पनि चर्चा सुरु भयो । कृष्णका भाइ राम थापा महेन्द्र पुलिस क्लबमा प्रहरीको जागिरे रै'छन् । उनले भैरवबहादुर थापा, कुमार बस्नेतको नाम सुनिरहेका रै'छन् । मलाई पनि चिन्दा रै'छन् । तर, मैले राम थापालाई चिनेको थिइनँ ।
राम बिचरा निकै दुःखी थिए । १५-१६ वर्षको एक मात्र छोरो अकालमा मर्यो श्रीमती वैदेशिक रोजगारीका लागि जापान गएकी छिन् । आर्थिक रुपमा पनि निकै कमजोर थिए । काठमाडौंकै बासिन्दा भए पनि दासत्व प्रवृत्तिबाट उनी निकै पीडित थिए ।एकदिन कृष्णले मलाई घरमा बोलाए । उनले बोलाएको झन्डै डेढ महिनापछि मात्र राति नौ बजेतिर म कृष्णको घरमा पुगेँ । कृष्णको बुबा-आमाले भन्नुभयो, 'रामलाई पनि कलाकारिता क्षेत्रमा लगाउनुपर्यो । यो पुलिसमा छ ।' हाम्रो पहिलो चिनाजानी त्यहीँ भएको थियो । हामीले त्यसभन्दा अगाडि बुद्धि परियारलाई नृत्य कलाकारका रूपमा महेन्द्र पुलिस क्लबमा तानेका थियौँ । त्यही भएर हुनुपर्छ, उहाँहरूले पनि रामलाई त्यहाँ तान्नुपर्यो भन्नुभएको । रामकी आमाले मलाई एक गिलास रक्सी दिँदै भन्नुभयो 'राम गिटार पनि बजाउँछ । यसलाई त्यतातिर तान्नुपर्यो ।' मैले रामलाई सोधेँ, 'के-के जानेका छौ ?' रामले भने, 'मैले केही पनि जानेको छैन । अलि-अलि गिटार बजाउँछु । गीत गाउने कोसिस पनि गर्छु ।' यति भनेपछि राम हतारमा देखिए । एकछिनपछि अर्को घरमा पुगे जहाँ उनी सुत्थे ओठमा बिँडी च्याप्दै गिटार बजाउँदै प्रवेश गरे । उनीहरूको परिवारमा बिँडी, रक्सी खान रोकतोक रै'नछ । बुबा-आमाले पनि रामसँग मागेर बिँडी खाँदा रै'छन् । गिटारमा औँला नचाउँदै एउटा हिन्दी गीत गाएर सुनाए । गीत थियो- जिन्दगी एक सफर हे सुहाना, आजकल क्या हो किस्ने जाना.... । त्यसपछि उनले किशोरकुमारका अरू गीत प्नि सुनाउँदै गए । रामले गीत राम्रो गाए । म त लोकपरिवेशमा हुर्केको मान्छे, मैले उनलाई आधुनिक, हिन्दी गीतले त चल्दैन । लोकगीत आउँदैन तिमीलाई भनेँ । अनि, रामले कुमार बस्नेत दाइको मंसिरै महिनामा... मैले गाएको मुलाको चाना....गीत गाएर सुनाए । गिटार बजाउन अलिअलि जानेका रै'छन् । गीत गाउन पनि अलिअलि जान्ने । उनले गाएको सुनेँ । तर, म को नै थिएँ र ? भैरवगुरुको पछि लागेर अलिअलि नाच्न, गाउन जानेको थिएँ । भर्खर-भर्खर नाम चल्न थालेको थियो मेरो, त्यसकारण मैले रामलाई केही वचन दिन सकिनँ ।त्यसपछि राम र मेरो दैनिकजसो भेट हुन थाल्यो । हाई-हेल्लो भइरहन्थ्यो । म स्कुल, क्याम्पसमा कार्यक्रम गर्नमै व्यस्त हुन्थेँ । महिना, वर्ष बिते । अचानक एकदिन फेरि राम भेटिए र भने, 'मैले पुलिसको जागिर छोडेँ नि !' त्यसपछि मेरा स्टेज कार्यक्रममा गिटार बजाउन बजाउन थाले रामले । उनको मुखमा संगीत थियो । तर, व्याकरण थाहा थिएन । म पनि खासै जान्ने होइन, लाटो देशमा गाँडो तन्नेरी बनेको थिएँ । एउटा संस्था थियो एभरेस्ट कल्चर सोसाइटी । त्यसका मालिक सहदेव सम्सेर राणा र स्वर्गीय अधिराजकुमारी जयन्ती शाह हुनुहुन्थ्यो । म त्यस कल्चरको कार्यकर्ता थिएँ । मालिकहरू राम थापा र ती कलाकारको नामै पनि सुन्न चाहन्नथे । त्यसको कारण थियो- उनीहरूलाई केही पनि आउँदैनथ्यो । तर, मैले चाहिँ उनीहरूलाई काखी च्यापेर हिँडिरहेको थिएँ । मैले राम र ती कलाकारलाई अनुहार नदेखिने मयुर, याक, ड्रयागन नाचहरूमा हाल्थेँ ।एक वर्षपछि हो क्यारे, ती मालिकले भने, 'लामा ! तिमी ती दुईजनालाई निकाल । नत्र, हामी तिमीलाई निकाल्छौँ,' । अरु वेलामा नभए पनि तलब लिने वेलामा त उनीहरूको नाम जान्थ्यो । मैले राम र ती कलाकारलाई छोड्न चाहिनँ । उनीहरूले मलाई निकालिदिए । अब कहाँ जाने ? हामी तीनैजना सडकमा आइपुग्यौँ । पहिला भैरवगुरुलाई निकालेर अर्कालाई हर्ताकर्ता बनाएका थिए । त्यसैले मलाई लगेका थिए । मलाई पनि निकाले । म त फाट्टफुट्ट रेडियोमा गीत पनि गाउँथे । राम र ती कलाकारले पनि रेडियोमा गीत गाउने चाहना व्यक्त गरे । मैले नै भ्वाइस टेस्ट गर्न लगाएँ । दुवै पास भए । रेडियोमा कहीलेकाहीँ मात्र गीत गाउन पाइन्थ्यो । म राम र त्यस कलाकारलाई लिएर भैरवगुरुकोमा पुगेँ । गुरुले 'अधिराज्यभरि कलाकारहरूको सांगीतिक भ्रमण राखौँ न त' भन्नुभो । हामी अधिराज्यव्यापी एकवर्षे सांगीतिक 'टुर' मा लाग्यौँ । त्यही वेला हो राम र त्यस कलाकारले भैरवबहादुर र चतुर्भुज आशावादी गुरुको पछि लागेर गाउन, बजाउन, प्रहसन गर्न, नाच्न सिकेको । मैले युरोपतिरको भ्रमण गरिसकेको थिएँ । उनले पनि बाहिरी मुलुक भ्रमण गर्ने इच्छा देखाए । बाहिर लोकसंगीतको मात्र माग हुन्थ्यो । त्यसैले मैले रामलाई नेपाली लोकभाका पस्कन सल्लाह दिएँ । लोकभाका, लय संकलनका लागि म र राम गाउँ-गाउँ पुग्यौँ ।म प्रज्ञा प्रतिष्ठानमा जागिरे भएँ । राम थापाले रेडियो नेपालमा कार्यक्रम सञ्चालकको जागिर पाए । अर्का ती कलाकार अस्थायी रूपमा नाचघरमा जागिरे भए । ०४० सालमा अचानक म रेडियो नेपालमा लोकगीत प्रबन्धक भएर गएँ । त्यतिवेला आधुनिक गीतका प्रबन्धक नातिकाजी, शास्त्रीय संगीतमा शिवशंकर अनि वाद्यवादन संगीतमा तारादेवी दिदी प्रबन्धक हुनुहुन्थ्यो । राम त्यतिवेला कार्यक्रम सञ्चालकभन्दा माथि जान सकेका थिएनन् । रामका बारेमा नातिकाजी, शिवशंकर, तारादेवी दिदीलाई मैले यस्तो प्रतिभाशाली कलाकारलाई कार्यक्रम सञ्चालक मात्र बनाइरहनु हुन्न । उनलाई हाम्रो शाखामा ल्याउनुपर्छ भनेँ । उहाँहरूले पनि रामको प्रतिभा मनन गर्नुभो अनि हामी गएर महानिर्देशक भोग्यप्रसाद शाहलाई रामलाई हाम्रो शाखामा ल्याउनुपर्यो भन्यौँ । राम थापा सोझा थिए । उनी कहिल्यै रिसाउँदैनथे । मेरो मुख त अलि छुचो छ । म रिसाएँ भने जस्तो शब्द पनि बोल्छु । तर, रामले कहिल्यै तुच्छ शब्द बोलेनन् ।०४६ तिर रेडियो छाडेँ । विदेशतिर लागेँ । केही वर्षपछि र्फकेर आउँदा पनि राम उही पदमै रै'छन् । उनीभन्दा जुनियर, केही पनि नजान्नेहरू माथिल्लो तहमा पुगिसकेका । मलाई रिस उठ्यो । गएर सञ्चारमन्त्री, सञ्चार सचिव खै को थिए, रेडियोका महानिर्देशक, निर्देशक मुकुन्द आचार्य, शैलेन्द्रराज शर्माहरूसँग चर्किएँ, 'रामजस्तो प्रतिभावान् कलाकारलाई अहिलेसम्म पनि शाखा अधिकृत किन नदिएको ?' धेरैचोटि गएर कराएपछि रामलाई लोकगीत प्रबन्धक बनाए । तर, यो कुरा मैले रामलाई कहिल्यै खोलिनँ । त्यसपछिका दिनमा कहिलेकाहीँ भेटघाट भइरहन्थ्यो । म पनि आफ्नै धुनमा लागेँ । उनी पनि वरिष्ठ संगीत-संयोजक भए ।पछि, ०५८ सालमा प्रज्ञा प्रतिष्ठानमा भएको एउटा कार्यक्रममा उनले पहिला जस्तो राम्रो किसिमले गाउथेँ, त्यो गर्नै सकेनन् । मलाई साह्रै नरमाइलो लाग्यो । रामलाई सोधेँ, 'के हो थापाजी, तपाईंलाई के भो ? कि त फेरि लगाउन -रक्सी पिउन) लाग्नुभो ?' रामले भने, 'अँ, ...यस्सो अलि-अलि...' । मैले ज्यानैले नसहने गरी त पिउनु भएन नि !' भनेर सम्झाएँ । त्यसको एक-डेढ वर्षपछि उनलाई जन्डिस भएछ । उनले मुख बार्न सकेनन् । उनी बित्नुभन्दा एक महिनाअघि हो क्यारे, रेडियो नेपालमा उनलाई भेटेको थिएँ । उनका खुट्टामा घाउ भएको रै'छ । आँखा पहेँला थिए । मैले तपाईंलाई सन्चो छैन । आराम गर्नुस् । यसरी लापर्वाही गरेर कहाँ हुन्छ । जन्डिस जस्तो कुरा ख्याल गर्नुपर्छ भनेँ । राम बिचरा निकै दुःखी थिए । १५-१६ वर्षको एक मात्र छोरो अकालमा मर्यो श्रीमती वैदेशिक रोजगारीका लागि जापान गएकी छिन् । आर्थिक रूपमा पनि निकै पीडित थिए । काठमाडौंकै बासिन्दा भए तापनि दासत्व प्रवृत्तिबाट उनी निकै पीडित थिएँ ।दिवंगत हुनुभन्दा ५-६ दिनअघि मात्रै रेडियोमा उनलाई भेटेको थिएँ । उनको शारीरिक हालत जीर्ण देखिन्थ्यो । अर्को एउटा साथी पनि हुनुहुन्थ्यो । उहाँ र मैले थापाजीलाई गाली गर्यौँ । यस्तो बिरामी हुँदा पनि अफिस आइरहने ? आराम गर्नुस् । रामले भने, 'सरकारी जागिर हो । एक दिन नआए हाजिरमा चिनो लगाउँछन् । फेरि, घर बसेर के गर्नू, एक्लै बोर हुन्छ ।' मैले भनेँ, 'तपाईंको जागिर कसले खोस्छ, कसलाई भन्नुपर्छ, म भन्छु । तपाईं घर जानुस् ।' म पाजी को थिएँ र ? मैले उनको जागिर रोकिदिन सक्ने ? सायद यही सोचेर होला राम मुसुक्क हाँसे । अनि मोटरसाइकल चढेर हिँडे । थापाजी गएको देखेर त्यहाँका अन्य कर्मचारीले 'अब चाहिँ थापासर बाँच्छन् कि...' भनेका थिए ।तर, अपशोच ! बिहीबार बिहानै तिनै राम थापा यस संसारमा नरहेको खबर सुन्नुपर्यो । बिहीबार दिनभरि आर्यघाटमा उनको मलामी भएर गएँ । तर, अपशोच लाग्यो । विश्वमै नेपालको झन्डा फहराउने स्रष्टालाई श्रद्धाञ्जली दिन त्यहाँ न कुनै नेता आए, न त रेडियोका हाकिम नै । निष्प्राण रामप्रति यो राज्यले गरेको व्यवहार देख्दा म पनि बेकारमा यस लाइनमा लागेछु । बरु कुनै पार्टीको कार्यकर्ता बनेको भए त अरू नभए पनि पार्टीको झन्डा त ओढाउँथे भन्ने लागेको छ ।-लक्ष्मण सुवेदी
No comments:
Post a Comment