Sunday, October 26, 2008

'नारायणगोपालसझ्ग फुटबल खेलेको थिए'

सानै कामका लागि पनि घरबाहिर जानुपर्‍यो भने साथी नभई हुन्न । उनका दुवै खुट्टाले आफ्नो काम गर्न सक्दैन । खुट्टाले आफ्नो काम गर्न नसक्ने भएपछि घसि्रने गरेका छन् । 'यी हेर्नुस् न म मज्जाले घसि्रएर हिँड्न सक्छु, बसेको ठाउँभन्दा अलि पर रहेको चुरोटको बट्टा ल्याएर देखाए,' शारीरिक रूपमा अशक्त छन् विजय बजिमय । तर, उनी आफूलाई अशक्त महसुस गर्दैनन् । 'खुट्टाले काम नगरेर के भो त मेरो मन कमजोर छैन, मन बलियो भएसम्म केही फरक पर्दैन,' उनले आफू फूर्तिलो रहेको आभास दिलाउन खोजे । कुराकानी सुरु हुनै लाग्दा साहित्यकार नयनराज पाण्डे आइपगे साझा प्रकाशनमा हुन गइरहेको चुनावका विषयमा केही सल्लाह गर्न । 'भोलि हामी थप कुराकानी गरौंला' भन्दै पाण्डेलाई चिनीबिनाको एक कप कफी खुवाएर बिदा गरे । र, आफ्नै विगत कोट्याउनतिर लागे । आफ्नो शारीरिक अवस्थाबारे जानकारी दिँदै भने, 'जन्मँदै हड्डी कमजोर भएको रहेछ, पहिला अहिले जस्तो औषधि थिएन, हड्डी बलियो बनाउन भन्दै आमाले माछाको तेल खुवाउनुहुन्थ्यो ।' तर, यी जन्मजात हिँड्न नसक्ने भने होइन रहेछन्, '१२ वर्षसम्म त हिँड्न पनि सक्थेँ, ७ कक्षासम्म त गण्डकी बोडिङ स्कुल पढेको थिएँ, हिँडेरै स्कुल पुग्थेँ ।'
दुवै खुट्टा चल्दैनन् विजय बजिमयका । तर, नारायणगोपालसँग फुटबल खेलेको अनुभव सुनाउँछन् । '१२ वर्षसम्म त हिँडेर स्कुल गएँ, बिस्केट जात्रा हेर्न जाँदा मातेको घोडाले हानेपछि कमजोर खुट्टा भाँचियो ।’'जो होचो उसकै मुखमा घोचो' भनेजस्तै बाह्र वर्ष पुग्दा यिनको जीवनमा एउटा आइपरेछ । विपत्तिका शृंखला सुरु गरे, 'मेरो घर पोखरा, नजिकै बिस्केट जात्रा लाग्थ्यो । भक्तपुरमा जस्तै । म पनि अरू साथीसँगै बिस्केट जात्रा हेर्न गएँ ।' जात्रामा भीडभाड त हुने नै भयो । जात्राकै लागि लगेको एउटा घोडा मातेको रै'छ, जोसुकैले तह लगाउन नसक्ने । विजय सुनाउँछन्, 'म जात्रा हेरिरहेको थिएँ, मातेको घोडा आयो र मान्छे हान्न थाल्यो, अरू त बलिया थिए भागे, म अरूजस्तै कुद्न सक्दैनथेँ, त्यो घोडाको तारो मै भएँ, मलाई हान्यो अनि खुट्टा भाँचियो ।' उसै त कमजोर खुट्टा, भाँचिएपछि उपचार सम्भव भएन । मातेको घोडाले हानेर हिँड्डुल गर्न नसक्ने भएपछि स्कुल जाने प्रसंग त्यहीँ पूर्णबिराम लाग्यो । तर, अक्षर मज्जैले चिनेका कारण पुस्तक र पत्रिका पढ्न समस्या भएन, स्कुल जान बन्द भएपछि बाँकी समय भएका पुस्तक र पत्रपत्रिका पढेरै बित्यो । घरमा भएका पुस्तक केही दिनमा पढिसकेपछि थप पुस्तक किनिदिन घरका मान्छेलाई आग्रह गर्न थाले । घरका मान्छेले पनि उनका कुरामा सतप्रतिशत समर्थन जनाउँदै इच्छाइएका पुस्तक ल्याइदिन थाले । पछि त उनको घरमा पुस्तकको चाङ यति धेरै भयो, सानोतिनो पुस्तकालयजस्तै देखियो । त्यसपछि त विजयदाइको जोस बढिहाल्यो । पुस्तकालयको सही व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यताले टोलकै साथीहरूसँग मिलेर आफ्नै घरमा पुस्तकालय खोले- 'हाम्रो पुस्तकालय' ।विजयदाइ साहित्यमा समर्पित स्रष्टाका रूपमा चिनिन्छन्, औपचारिक रूपमा साहित्यिक माहोलमा भिज्ने अवसर पनि यही पुस्तकालयले मिलाइदिएको हो भन्ने लागेको छ उनलाई । घरमै किताबखाना खोलेपछि उनको संगत साहित्यसँग चासो राख्नेकै सेरोफेरोमा हुन थाल्यो । त्यसक्रममा साहित्य र संगीतका केही महत्त्वपूर्ण हस्तीसँग भेट भएको सुनाए । अहिले यिनका दुवै खुट्टा काम नलाग्ने अवस्थामा छ । तर, नारायणगोपालसँग फुटबल खलेको बिर्सेका छैनन, 'कतिले पत्याउँदैनन्, मैले त नारायणगोपालसँग फुटबल खेलेको छु । कौसीमा बसेर चंगा पनि उडाएँ ।' खुट्टै नभएका यिनले कसरी खेले फुटबल ? प्रसंग रहेछ, नारायणगोपालको बिहेको । नारायणगोपालले पेमला गुरुवाचार्यसँग प्रेम-विवाह गरे । त्यो कुरा काडमाडौंको नेवार खान्दानलाई पाच्य भएन र श्रीमतीलाई घरमा भित्र्याउने अनुमति नपाएको झोंकमा उनी श्रीमती पेमलालाई लिएर लागे पोखरा । आपत्मा परेका सहकर्मीका सहयोगीका रूपमा चिनिन्थे कवि भूपी शेरचन । केही दिन नारायणगोपालको दम्पती भूपीकै घरमा पाहुना बनेर बसे । नारायणगोपाललाई पनि पोखरा मन पर्‍यो । भूपीले अर्को उपाय खोजे, दुवैलाई पोखरामै राख्ने व्यवस्था गर्ने । भूपीकै प्रयासमा नारायणगोपाल अमरसिंह स्कुलमा मास्टर भए भने पेमलाले कन्या स्कुलमा पढाउन थालिन् । जतिबेला विजय विद्यार्थी थिए, त्यो समय उनीलगायत उनका साथीहरू हरेक बिहान-बेलुका भूपीको आँगनमा पुग्थे, किनकि भूपीको आँगन ठूलो थियो र मज्जाले फुटबल खेल्न पाइन्थ्यो । त्यसमा साथ दिन्थे- नारायणगोपालले । फुटबलको प्रसंग रोकियो, सुरु गरे- साहित्यिक कर्मको । घरमा पुस्तकालय खोलेपछि आफ्नै प्रयासमा साहित्यिक पत्रिका निकाल्नेदेखि विभिन्न बुलेटिन सम्पादनको काम गर्न थाले विजयदाइ । पोखरेली साहित्यवृत्तमा मज्जैको परिचय बनाए । उनलाई भेट्न आउनेहरूसमेत बढ्न थाले । त्यही समयमा यिनको भेट भयो- टीकादत्त पन्तसँग । जो पोखरा औद्योगिक क्षेत्रको हाकिम भएर गएका थिए । पन्तले विजयदाइलाई भेटेर भने, 'तपाइर्ं साहित्यमा रुचि भएको मान्छे औद्योगिक क्षेत्रभित्र एउटा प्रेस राख्नुस्, म तपाईंलाई सहयोग गर्छु ।'पन्तको कुरा मज्जा लाग्यो र प्रेसको काम गर्न थाले । तर, परिणाम सुल्टो भएन । 'किताब छापेर आम्दानी गर्नु त कता हो कता, खर्च धान्न सम्भव भएन,' अर्को यथार्थ सुनाए । प्रेसको कामबाट उपलब्धि हात नलागेपछि केही समय जग्गाको काम पनि गरे त्यसबाट पनि सन्तुष्ट हुन सकेनन् यिनी । लगानीको प्रतिफल नआएपछि यिनलाई पनि लाग्न थाल्यो, 'नयाँ ठाउँमा बसेर नयाँ काम गर्नुपर्छ ।' पोखरामै जन्मेर हुर्केका यी कविले पनि करिअर बनाउने थलो काठमाडांैलाई नै देखे । भन्छन्, 'काडमाडौंमा गएपछि केही हुन्छ कि भन्ने लाग्यो ।' आफ्ना झिटीगुन्टा बोकेर लागे काठमाडौंतिर । काडमाडौं आएपछि भने यिनको दैनिकीमा केही परिवर्तन आयो । पोखरामा हुँदा हरेक हिन्दी फिल्म नहेरी हुन्नथ्यो । भरसक पहिलो शो हेर्नमै हलमा पुग्थे । पोखराका पूणिर्मा र कल्पना हल पि्रय लाग्थे । नयाँ फिल्म आएको थाहा पाएपछि हलमा फोन दबाइहाल्थे, 'म फिल्म हेर्न आउँदैछु, एउटा टिकट राखिदिनू ।' प्रशस्त फिल्म हेरेका विजयदाइ राजेश खन्ना, जितेन्द्र, रजनी कान्त र राज बब्बरका असली फ्यान रहेछन् । हिरोइनमा रेखाको अभिनयबाट प्रभावित भएको कुरा सुनाए । तर, काडमाडौंले यिनको फिल्मीमोह घटाइदिएछ । अहिले फिल्म हेर्न मन लाग्दैन ? 'लाग्दैन, हलमा नगएको त जुग भइसक्यो, टिभीमा पनि समाचार मात्रै हेर्छु,' उनले भने । साहित्यको अतिरिक्त पत्रकारितामा समेत यिनले केही वर्ष काम गरेका छन् । राष्ट्र पुकार, मातृभूमि, समीक्षालगायतका पत्रिकाको सम्वाददाता भएका विजय बजिमयले पत्रिकाको कर्मबाट आर्थिक उपलब्धि महसुस गर्न सकेनन् । तर, केही महत्त्वपूर्ण व्यक्तिसँग भेटघाटलाई पनि एउटा उपलब्धिको रूपमा लिएका छन् यिनले । बिपी कोइरालाको नीतिसँग सार्‍है प्रभावित रहेछन् यी साहित्यकार । भन्छन्, 'म उहाँको शैलीबाट सार्‍है प्रभावित छु ।' ०३४ सालमा बिपीलाई भेट्दाको प्रसंग सुनाए, 'गणेशराज शर्माको ज्याक लगाएर बिपीलाई भेट्न चाबहिल गएँ, २० जनाजति मभन्दा पहिल्यै गइसकेका रहेछन् । म पनि कुर्नेकै हारमा बसेँ ।' उनलाई लागेको थियो, २० जनापछि आफ्नो पालो आउँछ । बिपीले त सरासर आएर सोधेछन्, 'तिमी विजय होइन ।' केही क्षणको भलाकुसारीपछि बिपीले भनेछन्- 'म तिमीलाई एउटा थिम सुनाउँछु तिमीले प्रतिक्रिया दिनुपर्छ ।' बिपीको थिम सुनेर प्रतिक्रिया दिए, 'यो त नेपाली समाजमा अलि अपाच्य हुन्छ कि ? सुनेपछि बिपीले भनेछन्, 'हामी क्रान्ति गर्ने मान्छे हौं, त्यस्ता कुरामा डराउनुहुन्न, यो म लेखेरै छाड्छु ।' त्यो थिम कस्तो थियो ? विजयले भने, 'मलाई बिपीले बाबुआमा र छोरा शीर्षकको कथा सुनाउनुभएको थियो ।'यिनको फुर्सदको समय टेलिभिजनको समाचार हेरेर र लेखपढ गरेरै बित्छ । अन्य कामका लागि आफ्ना केही सहयोगी राखेका छन् । बिहे गरेको भए जिउन अझै सजिलो पो हुन्थ्यो कि ? सुरुमा बिहे गर्ने मन भएको पछि मन बदलिएको कुरा गरे, '२८/३० वर्षको हुँदासम्म बिहे गर्न मन थियो । त्यो बेला जिम्मेवारी पनि कम थिएन । तीनवटी बहिनीको बिहे गरेपछि आफ्नो बिहे गरौंला भनेर सोचें तर, पछि मन फेरियो ।' जिम्मेवारी पूरा गरिसक्दा बिहेको प्रसंग मनबाट हटेको कुरा गरे ।ध्रुव लम्सालgal_dhuji@yahoo.com

No comments: