आफ्नो समयका महत्त्वपूर्ण लेखक जोन अप्डाइकको फोक्सोको क्यान्सरबाट मंगलबार निधन भएको छ । उनी ७६ वर्षका थिए । 'बडो दुःखका साथ भन्नुपरेको छ, बुधबार बिहान जोन अप्डाइकको निधन भयो,’ र्यान्डम हाउसको इकाइ अल्फ्रेड ए नोफका निकोलस ल्याटिमरले भने, 'अप्डाइक हाम्रा महान् लेखकमध्ये एक थिए । हामीले यी महान् लेखकको क्षति बेहोर्नुपरेको छ ।’पुलित्जर पुरस्कारबाट सम्मानित उनी आधा शताब्दीभन्दा बढी समयदेखि म्यासाचुसेट्समा रहँदै आएका थिए । उनी उपन्यास, कथा, निबन्ध र समीक्षा-लेखनमा लब्धप्रतिष्ठ व्यक्तित्व थिए ।
उनको लेखनशिल्प अति सुन्दर र मितव्ययी प्रकारको छ । लेखाइमा गहिराइ छैन, जुन महान् आख्यानका लागि आवश्यक पनि छ । उनी महान् शैलीशिल्पका गौण उपन्यासकार हुन् ।अप्डाइकका कथा १९६० र १९७० को दशकका अर्धसहरी अमेरिकाभित्रका तनावका विषयवस्तुमा केन्दि्रत छन् । तिनमा बारम्बार यौनजन्य तनावका तरंगहरू तरंगिन्छन् । 'ए एन्ड पी’ शीर्षकको प्रारम्भिक कथामा एकजना किशोरको मनोदशाको चित्रण छ । उसले काम गर्ने सुपरमार्केटमा बिकिनी पहिरेका तीनजना केटी देखापरेपछि उसमा मानसिक उथलपुथल सुरु हुन्छ । 'समुद्री तटमा स्नानवस्त्रमा एकजना केटी देखिनु एउटा कुरा हो,’ उनले लेखेका छन्, 'ए एन्ड पी’ को चिसोमा उज्यालो प्रकाशमा हल्का हरियो र घ्यू रंगको रबर-टायल छाएको भुइँमा नांगा खुट्टाले टकटक हिँडेको दृश्यको अर्कै कुरा ।’१९६० को अन्त्यतिर अमेरिकामा भएको ठूलो सांस्कृतिक परिवर्तनअघि अप्डाइकले यौनको खुलापनमा जोड दिएका थिए । यसले निषिद्ध विषयलाई खुला गर्यो । उनका प्रकाशकले उनको 'र्याबिट, रन’ नामक उपन्यास पहिलो खेपमा प्रकाशित हुनुअघि नै अश्लीलताको आरोप लाग्ने डरले केही अंशको पुनर्लेखन गरेका थिए । यस उपन्यासले चार दशकभन्दा बढी उनका चारवटा उपन्यासको नायकका रूपमा ह्यारी र्याबिट आंग्सट्रमलाई परिचित गरायो र आख्यानमा दुई पुलित्जर पुरस्कार दिलाइछाड्यो । अति उत्कृष्टमध्ये एक जोन अप्डाइकले २८ उपन्यासका साथै कथा, कविता र आलोचनात्मक निबन्धहरूको रचनाका कारण ख्याति कमाएका थिए । उनले १९५४ देखि २००८ सम्म न्युयोर्कर पत्रिकामा आठ सयभन्दा बढी कथा, समीक्षा, कविता र लेखहरू प्रकाशित गरेका थिए । धेरै अमेरिकीले उनलाई खासगरी त्यही प्रकाशनसँग सम्बद्ध मान्छन् । उनी विश्वकै उत्कृष्ट लेखकमध्ये एक थिए । 'उनी यस साप्ताहिकमा लेख्न रुचाउँथे र केटौले उमेरदेखि नै उनी यस संस्थासँग आबद्ध रहेका थिए,’ न्युयोर्करका सम्पादक ड्याभिड रेमिक भन्छन्, 'लामो समयदेखि उनी न्युयोर्करका आत्मा नै थिए । उनको अनुपस्थितिको कल्पना गर्न पनि कठिन छ ।’उनका पाठक एमहस्र्ट कलेजका अंग्रेजीका प्रोफेसर विलियम प्रिटकार्डले उनलाई आख्यान, गैरआख्यान र कविता लेख्ने बहुमुखी प्रतिभाका रूपमा लिएका छन् । उनले भनेका छन्- ँमेरा लागि उनी अक्षरकर्मी बन्ने अभ्यासका निकै माथिल्लो तहमा रहेका रचनाकार हुन् । उनले हरेक गतिविधि महान् बौद्धिकता, साक्ष्य र प्रेमका साथ गर्थे ।’पेन्सिलभेनियाको रिडिङ भन्ने ठाउँमा जन्मेका अप्डाइकले हार्बर्ड विश्वविद्यालयमा अंग्रेजी अध्ययन गरेका थिए । त्यहाँ उनले काम पनि गरे र पछि व्यंग्यप्रधान हार्बर्ड ल्याम्पुन पत्रिकाको सम्पादन पनि गरे । अक्सफोर्डमा एक वर्ष पढेपछि उनी न्युयोर्क गए र दुई वर्षसम्म न्युयोर्करको स्टाफका रूपमा काम गरे । १९५७ मा उनको परिवार म्यासाचुसेट्समा बोस्टनको तटीय सहर इप्सबीच सर्यो र पछि वेभर्ले फार्मतिर लाग्यो । 'न्यु य ग्लयान्ड’ नामक फिल्म निर्माता कम्पनीले १९८४ मा प्रकाशित उनको उपन्यास 'द बिचेज अफ इस्टविक’ को फिल्मांकन गर्यो । आख्यानवणिर्त रोडे टापुमा फिल्मांकन गरिएको सो फिल्ममा ज्याक निकोल्सन र चेरजस्ता अभिनेताले अभिनय गरेका थिए भने यसलाई व्यापारिक सफलता पनि मिलेको थियो । २००५ मा र्युटर्ससँगको एक अन्तर्वार्तामा अप्डाइकले उनी वास्तवमै के हुन् त भनी सोधिएको प्रश्नको उत्तर दिँदै उनले कला र साहित्यबारे आफूले लेखेका कैयौँ समालोचनाको बढ्दो संख्याले लेखकको रूपमा हालसालै आफ्नो विचार बदलिएको बताएका थिए । उनले कथाको माध्यमसँग निकै संघर्ष गरेको पनि बताएका थिए । अन्तर्वार्तामा उनले भनेका थिए, 'दस वर्षअघि सोधेका भए म कथालालाई नै आफ्नो मूल विधा मान्छु भन्थेँ हुँला । जति कथा लेखेको भए पनि अब त्यस्तो लाग्दैन ।’ लेखेपछि छाप्नुपर्छ भन्ने कुरामा उनी प्रस्ट थिए । 'म कुनै योजनाविना नै बढीजसो पुस्तक र कलाको समीक्षक पो भएछु । त्यसरी लेख्न बस्दा तपाईंलाई अब यो छापिन्छ र पैसा पाइन्छ भन्ने कुराले आनन्द त दिन्छ नै । कथामा त्यसो भन्न सकिन्न ।’ उनको अन्तिम लेख न्युयोर्करमा टोनी मोरिसनको उपन्यास 'अ मर्सी’ बारेमा लेखिएको समीक्षा थियो, गत नोभेम्बर ३ को अंकमा । 'उनको रुचि साहित्यका विविध पक्षमा अत्यन्त व्यापक थियो, तर त्यो आकस्मिक वा सतही भने थिएन,’ न्युयोर्करको पुस्तक समीक्षाका सम्पादक रोबर्ट सिल्भरले भने । न्युयोर्करले अप्डाइकका पुस्तक समीक्षा छाप्ने गथ्र्यो । 'उनी सेलिबि्रटीको हिसाबले सम्राट्को स्थानमा पुगेका थिए,’ टाइम्सका एकजना लेखक भन्छन्- 'उनको लेखनशिल्प अति सुन्दर र मितव्ययी प्रकारको छ । उनको लेखाइमा गहिराइ छैन, जुन महान् आख्यानका लागि आवश्यक पनि छ । उनी महान् शैलीशिल्पका गौण उपन्यासकार हुन् ।’ पुलित्जरका साथै 'र्याबिट इज रिच’ र 'र्याबिट एट रेस्ट’ उपन्यासका लागि उनले अमेरिकन बुक अवार्ड र नेसनल बुक अवार्ड पनि हात पारेका थिए । कैयौँ समीक्षकले 'र्याबिट, रन’ को नायकलाई आफ्नो पुस्ताको प्रतिनिधिका रूपमा हेरेका थिए । 'अमेरिकी पुरुष हुनु सजिलो छैन,’ एक अन्तर्वार्तामा उनले भनेका थिए, 'लेखनले तपाईंलाई बढी नै मान्छे बनाउँछ ।’- एजेन्सी
No comments:
Post a Comment