Saturday, January 3, 2009

फूलको थुङ्गा बगेर गयो ...

कुनै वेला थियो, डोरबहादुरको अध्ययन, अनुसन्धान र आलेखले मानवशास्त्रमा तहल्कै मच्चायो । चर्चा चुलियो । भनिन्छ, विष्टको फ्याट्लिजम एन्ड डेभलप्मेन्ट प्रकाशित भएपछि मानवशास्त्रमा मै हुँ भन्ने विदेशीले समेत चक्मा देखे । सामान्य परिवारमा जन्मेर सरकारी स्कुल हुँदै यही नेपाली शैक्षिक प्रणाली झेलेर ख्याति कमाएको त्यो प्रज्वल व्यक्तित्व एक दिन साँच्चिकै हरायो । कता गायब भयो, कता ? उनको रिक्तता अझै छ, सायद रहिरहनेछ । डोरबहादुरलाई बोट-बिरुवा औधि मन पर्ने रे ! मूर्तिपूजा नगर्ने, टीका लगाउउने तैपनि आध्यात्मिक चिन्तनबाट ओतप्रोत थिए उनी । घरेलु उपचारदेखि लिएर आयुर्वेदसम्मको राम्रो ज्ञान थियो । मन लागे अपरिचतसँग पनि चुरोट मागेर सल्काउँथे । जीवनशैली थियो एकदम बिन्दास, तर सरल, घुमक्कड, खुला र एकदम बोलक्कड । फाट्टफुट्ट कविता, निबन्ध र कथामा कलम चलाउन रुचि राख्ने व्यक्ति अन्त्यमा नेपालको मानवशास्त्रकै जनक बनेर उदायो । डोरबहादुरको जीवन जति फकिर थियो, त्यत्तिकै संवेगपूर्ण र महत्त्वाकांक्षी पनि । भावना, कर्म र मानवीय स्वभावका रूपमा उनी कहिले लेकमा देखिए भने कहिले बेँसीमा ।सन् १९२८ अपि्रल १५, मा ललितपुरको झरुवामा जन्मिएका विष्टले सन् १९४७ मा पाटन हाइस्कुलबाट एसएलसी, सन् १९५० मा त्रिचन्द्रबाट आइए र सोही क्याम्पसबाट सन् १९५२ मा बिए पास गरेका थिए । बिए पास गरेलगत्तै उनी पाटनमा अवस्थित आदर्श कन्या निकेतन हाइस्कुलमा सन् १९५२ देखि सन् १९५७ सम्म प्रधानाध्यापकका रूपमा कार्यरत रहे ।
डोरबहादुरको जीवन जति फकिर थियो त्यत्तिकै संवेगपूर्ण र महत्त्वाकांक्षी पनि । भावना, कर्म र मानवीय स्वभावका रूपमा उनी कहिले लेकमा देखिए त कहिले बेंसीमा । साँच्चि उनी कता हराए हँ ?नेपाली समाज-विज्ञानमा गरेको ठूलो योगदान, प्रकाशित गरेका कृतिहरू, आफूमा भएको अद्भूत ज्ञान र क्षमताका आधारमा 'प्रोफेसर' बनेका व्यक्तित्व हुन् विष्ट । उनको नामअगाडि पिएचडीको डा. झुन्डिनै किन पर्‍यो ? जसको नाम मात्र काफी भयो नेपाली समाजशास्त्रीय वृत्तलाई । साँच्चै भन्ने हो भने उनको शैक्षिक योग्यता मात्र बिए पास थियो । उनले पढ्न नसकेर वा विश्वविद्यालयको ज्ञानबाट विचलित भएर होइन, औपनिवेशिक मानसिकता पालेका 'गोरा'हरूको अवरोधका कारण उनले प्रमाणपत्रधारी विद्याक्रममा पूर्णविराम लगाउनुपर्‍यो । सन् १९५७ मा उनको जीवनले एउटा घुम्ती पार गर्‍यो । लन्डन विश्वविद्यालयबाट एकजना चर्चित मानवशास्त्री क्रिस्टोफोर भोन फ्युरर-ह्यामिन्डर्फ हिमाली भेकको अध्ययन गर्न भारत आइपुगे । तर, भारत सरकारले उनलाई अध्ययन गर्ने अनुमति दिएन । भारतले केही वर्षअघि मात्र बि्रटिस उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको समय थियो । मानवशास्त्रको अध्ययन गर्ने नाममा विदेशीले जासुसी गर्छन् भन्ने कुराले बिगबिगी मच्चिएको समय थियो त्यो ।भारतमा अध्ययन गर्न नपाइने भएपछि ह्यामिन्डर्फ नेपाल आए । सन् १९५० पछि नेपालले खुला नीति अपनाइसकेको थियो । ह्यामिन्डर्फ शेर्पाहरूका बारेमा अध्ययन गर्न भनी नेपाल पसेपछि, उनले खोजे अध्ययनलाई सघाउन एकजना अंग्रेजी अनुवादक । यो कुरा विष्टले चाल पाए । र, सीधै ह्यामिन्डर्फकहाँ पुगे । त्यसपछि सुरु भयो, ह्यमिन्डर्फ र विष्टको संगत । सम्बन्धको यस सेतुमा थियो मानवशास्त्रीय अध्ययनको एउटा रोमाञ्चक यात्रा । हेडमास्टरको स्थायी जागिरबाट राजीनामा दिई उनी ह्यामिन्डर्फसँग सोलुखुम्बुतिर लागे । अनुवादक विष्टले त्यस वेला मासिक सय रुपैयाँ पाउँथे रे ! त्यस वेला उनमा मानवशास्त्रबारेको ज्ञान त के, यस शब्दसँग समेत उनको परिचय थिएन । उनले पहिलोपटक यो शब्द बुझ्न शब्दकोश पल्टाएका थिए र !तर, विष्टलाई हिन्दू शास्त्रहरू रामायण, वेद, श्रीमद्भागवत गीता, महाभारतबारेमा राम्रो ज्ञान थियो । सोलुखुम्बु पुगी जब उनले शेर्पाहरूको दैनिक जीवन र संस्कृति देखे, त्यसबाट उनी साह्रै नै अचम्मित हुन्छन् । उनी आफूले जेजे देख्थे डायरीमा टिपिहाल्थे रे ! यतिसम्म कि आफ्ना आँखाले देखेका घर, मान्छे, चरा आदि जे देखे, सबै वृत्तान्त आफ्नो डायरीमा लेखिहाल्थे । तर, आफूले के गरिरहेको छु, कुन कुरा महत्त्वपूर्ण हो भन्ने उनलाई केही पनि हेक्का थिएन । यस उपक्रमसँगै उनले ह्यामिन्डर्फले गर्न खोजेका कुराबारे चाल पाइसकेका थिए ।विष्टको तीक्ष्णता देखेर ह्यामिन्डर्फको मनमा चिसो पस्यो । बिस्तारै विष्ट र उनको सम्बन्धमा पनि समस्या देखा पर्न थाल्यो । विष्टलाई पनि ह्यामिन्डर्फ बन्ने रहर जाग्न थाल्यो । एकदिन ह्यामिन्डर्फले विष्टलाई भनेछन्, 'तिम्रो जस्तो मुलुकको मानिसले यो विधा पढ्न सक्दैन ।' तीतो प्रतिक्रियाले विष्टलाई विचलित पारेन । विष्टले ह्यामिन्डर्फसँग सात महिना सोलुखुम्बुमा, दुई महिनाजति पूर्वका जिल्लाहरू, त्यसपछिका दुई महिना लमजुङ र एक महिना काठमाडौंका उत्तरी भेकमा अनुवादकका रूपमा बिताए । काम सकेर ह्यामिन्डर्फ विदेश फर्केपछि विष्ट सन् १९५८ देखि सन् १९६० सम्म डडेल्धुराको एउटा सरकारी विद्यालयमा पुनः हेडमास्टर भए । दुई वर्षको हेडमास्टरीपछि उनको जीवनमा अर्को मोड देखा पर्‍यो । सन् १९६० मा लन्डन विश्वविद्यालयअन्तर्गत पर्ने स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज विभागअन्तर्गत टिडब्लु क्लार्क भन्ने भाषाविज्ञानका एकजना प्रोफेसरले नेपाली भाषाको पुस्तक तयार पार्दै थिए । तिनलाई एकजना नेपाली अनुवादकको खाँचो थियो । विष्टलाई बोलाउन ह्यामिन्डर्फले क्लार्कलाई सुझाव दिएछन् । तर, यस सुझावमा ह्यामिन्डर्फको केही स्वार्थ पनि थियो । किनभने, उनी आफूले नेपालमा संकलन गरेर ल्याएका तथ्यांकलाई प्रशोधन गर्न चाहन्थे । साथै, नेपालमा खिचेका अधिकांश स्थानका फोटोको विवरण र व्यक्तिहरूको नाम उनलाई थाहा थिएन । विष्ट उनीसँगै अध्ययन-भ्रमणमा रहेकाले विष्टलाई त्यसको जानकारी थियो । विष्ट लन्डन पुगे । र, प्रोफेसर क्लार्कका मित्र बने । यो कालखण्ड विष्ट स्वयंका लागि पनि ठूलो अवसर थियो । उनले आफ्नो मुलुकमा मानवशास्त्र पढेको कोही नभएको र आफूले पढ्न चाहेको कुरा क्लार्कसामु राखे । यसलाई क्लार्कले सहजै स्विकारे पनि । जब ह्यामिन्डर्फले यो कुरा थाहा पाए उनलाई यो पटक्कै पाच्य भएन । त्यसपछि उनले विष्टलाई पढ्नबाट वञ्चित गर्न विभिन्न अवरोध सिर्जना गर्न खोजे । तर, त्यहाँ ह्यामिन्डर्फको केही चलेन । अन्त्यमा उनी पुनः बिएमा मानवशास्त्रको विधामा भर्ती हुन पुगे । त्यहाँ उनी अब्बल दर्जाका विद्यार्थी ठहरिए । र, यही क्रममा उनलाई अमेरिकाको एक चर्चित विश्वविद्यालय पेन्सिलभेनिया स्टेट युनिभर्सिटीले केही समय नेपाली भाषा पढाउनका लागि बोलायो । यसपछि विष्ट सोही विश्वविद्यालयमा एमएमा भर्ना भए । त्यसको केही समयपछि अनुसन्धानका लागि ह्यामिन्डर्फ फेरि नेपाल आउनुपर्ने भयो । ह्यामिन्डर्फले पुनः विष्टलाई नै आफ्ना सहायक अनुसन्धानकर्ता बनाउन खोजे, तर विष्टले यसलाई स्वीकार गरेनन् । किनकि, उनी आफ्नो एमए सिध्याउन चाहन्थे, तर ह्यामिन्डर्फले उनको शोधपत्र नै रोकिदिने धम्की दिए ।
०५३ सालको कुरा हो । पुसको महिना थियो, विष्ट आफ्नो परिवारलाई पन्ध्र/सोह्र दिनका लागि जुम्ला जान्छु भनेर घरबाट हिँडे । केही समयको बसाइपछि उनी जुम्लाबाट नेपालगन्ज आए र काठमाडौंका लागि नेकोन एयरको टिकट काटे । खै के मुड चलेछ, घरमा फोन गरेर 'म दुई महिना धनगढीमै बिताउन चाहन्छु काठमाडौं आउन्नँ’ भनेका थिए । त्यहीँदेखि उनी बेखबर भए । उनी हराएको दिन पुस १९ गते थियो । विष्टका जानकारहरूका अनुसार यस कुरालाई लिएर ह्यामिन्डर्फ र क्लार्कबीच ठूलो चर्काचर्की पनि परेको थियो, तर अन्त्यमा ह्यामिन्डर्फले विष्टलाई नेपाल फर्काएरै छोडे । फेरि पहिलाजस्तै झोला बोकी विष्ट ह्यामिन्डर्फसँग कालीगण्डकी र डोल्पा पुगे । अनुसन्धानको अन्त्यतिर ह्यामिन्डर्फले विष्टलाई लन्डन गएर एमए नगर्न धम्क्याए ।ह्यामिन्डर्फले विष्टलाई यति निरुत्साहित बनाए कि अन्ततः विष्टले लन्डन नजाने नै निधो गरे । र, उनको एमएको डिग्री त्यसै तुहियो । लन्डन फर्किनुअघि ह्यामिन्डर्फले विष्टलाई आफ्नो कुनै पनि कृति अंग्रेजीमा प्रकाशित नगर्नू भनी धम्क्याएर गएका थिए । विष्टले संकलन गरेका प्रत्येक तथ्यांक र जानकारीलाई ह्यामिन्डर्फ आफ्नो कपीराइट बनाउन चाहन्थे । ह्यामिन्डर्फले जे गरे पनि विष्टसँग ज्ञान र सीप थियो । विष्ट नेपालका अरू दूरदराजमा घुमे । र, लेख्दै गए । त्यसपछि ह्यामिन्डर्फलाई पहिलो झट्का १९६७ मा लाग्यो । जब विष्टको अंग्रेजीमा पिपल अफ नेपाल -नेपालका मानिसहरू) भन्ने पुस्तक प्रकाशनमा आयो । यस पुस्तकले नेपालमा मात्र नभएर पूरै युरोप र अमेरिकामा पनि निकै चर्चा पायो । यसका हजारौँ प्रति बिक्री भए । यस पुस्तकमा समस्त नेपालका जाति/जनजातिका भाषा, धर्म, लवाइ-खवाइ र संस्कृतिको समग्र रूपमा चर्चा गरिएको थियो । जो नेपालका मानिसको समस्त पाटाहरूको चित्रण गर्ने एउटै मात्र पुस्तक बन्न पुग्यो । यस समयमा विष्टले अमेरिकाका नामुद विश्वविद्यालयका प्रोफेसरहरूसँग राम्रो सम्बन्ध बनाइसकेका थिए । अनुसन्धानकर्ताका रूपमा उनी युएसएडमा पनि आबद्ध भए ।यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने विष्टको सीप र क्षमतामा कुनै सन्देह छैन । नेपाल भित्रिने अधिकांश मानवशास्त्रीहरू युरोपियनहरू थिए । त्यसमा पनि बढीजसो त बेलायतीहरू । सन् १९६० को दशकतिर अमेरिकनहरूको चासो पनि नेपालप्रति त्यत्तिकै बढेर आयो र अधिकांश युरोपियन र अमेरिकनको अध्ययनको प्रमुख चासो हिमाली भेक मात्रै भएको पाइन्छ । यसको एउटै कारण छ, हिमाली भेगसँगै चीन र तिब्बतको पनि सिमाना जोडिएको छ । सोही क्रममा विष्टलाई चर्चित बनाउन धेरै अमेरिकनले पनि कसरत गरेका थिए । यतिसम्म कि उनलाई अमेरिकाका दुई चर्चित विश्वविद्यालय विस्कान्सिन र कोलम्बियाले एमएको डिग्री गर्न निम्तो दिए । विष्ट अमेरिका त पुगे तर फेरि पनि उनले डिग्री गर्न पाएनन् । विस्कान्सिन विश्वविद्यालयका एकजना नामुद प्रोफेसर हिच्ककसँग नेपालका विषयलाई लिएर उनको ठूलो मतभेद भयो र त्यस्तै कोलम्बियामा पनि उनको त्यहाँका प्रोफेसरहरूसँग पनि लफडा पर्‍यो । यसका दुईवटा कारण थिए । पहिलो नेपाललाई चित्रण गर्ने पश्चिमाहरूको आफ्नै अवधारणा थियो । तर, विष्ट पनि के कम, उनले नेपाली समाज र संस्कृतिलाई धेरै नजिकबाट नेपालीपनकै आधारमा बुझेका थिए । अर्को जब 'नेटिभ एन्थ्रोपोलोजिस्ट' प्रबल रूपमा अगाडि बढ्न थाल्छ 'आउट साइडर' हरूका लागि त्यसले प्राज्ञिक ईष्र्या (एकेडेमिक जेलसी) पैदा गराउँछ । त्यसपछि ह्यामिन्डर्फलाई अर्को झट्का त्यत्तिखेर लाग्छ जब विष्टले थकालीहरूमाथि लेखेको एउटा लेख मित्र अनेस्ष्ट गेल्नरले 'म्यान्' भन्ने एक चर्चित जर्नलमा छापिदिन्छन् । यसले विष्टको उचाइ अझै बढायो, त्यो पनि अन्तर्राष्ट्रिय जगत्मा ।विष्टले धेरै नजिकबाट नेपाली समाज र संस्कृतिका संरचनाको पहिचान गरी चिरफार गर्न थाले । उनका धेरै लेख प्रकाशनमा पनि आए । भिजिटिङ प्रोफेसरका रूपमा पढाउन उनलाई विश्वका धेरै चर्चित विश्वविद्यालयबाट निमन्त्रणा आउन थाल्यो । त्यस समय मानवशास्त्र बुझेका उनी मात्रै एक नेपाली भएकाले विश्वका चर्चित मानवशास्त्रीले उनलाई एक मात्र मानवशास्त्रीको उपाधि दिए ।सन् १९६९ देखि सन् १९७२ सम्म विष्टले सरकारको दुर्गम विकास र समितिमा विशिष्ट श्रेणीको अफिसरका रूपमा काम गरे । त्यस्तै, सन् १९७२ देखि सन् १९७५ सम्म उनी तिब्बतको ल्हासामा 'श्री ५' को महावाणिज्य दूतका रूपमा कार्यरत भए । तिब्बत बसाइका क्रममा उनले तिब्बत र चीनको सम्बन्धबारे लेख लेखेका थिए, जसमा तिब्बत र चीनको आन्तरिक द्वन्द्वको विश्लेषण गरेका थिए । पश्चिमाहरूले चीनले तिब्बतमाथि नयाँ उपनिवेश निर्माण गरिरहेको भन्ने कुरालाई विष्टले सरासर खण्डन गरेका थिए । उनले तिब्बत र चीनको सम्बन्धमाथि लेखेका अधिकांश लेखहरू अमेरिकामा गायब गरियो । सन् १९७५ मा जब उनी नेपाल फर्किए, र, दरबारको निकटतम् भएर पनि उनले काम गरे । राजा वीरेन्द्रले विष्टलाई औधि मन पराउँथे रे । धेरै कुराको सल्लाह लिनुपर्दा विष्टलाई नै राजा वीरेन्द्रले दरबारमा बोलाउँथे । तर, दरबारका अधिकांश व्यक्तिहरूले भने विष्टलाई मन पराउँदैनथे । आफ्नो जीवनको पछिल्लो समय उनले त्रिभुवन विश्वविद्यालय दिए । त्रिविअन्तर्गत नेपाल तथा दक्षिण एसियाली केन्द्र -सिनास) लाई एउटा विशुद्ध अध्ययन र अनुसन्धानको केन्द्रलाई व्यापक बनाउने काममा उनको उल्लेखनीय देन छ । मानवशास्त्रका प्रोफेसरको रूपमा उनले सन् १९७२ मा सिनासको कार्यकारी निर्देशक -एक्ज्युकेटिभ डाइरेक्टर) भई कार्यभार सम्हाले । युवापुस्तालाई खोज, अध्ययन र अनुसन्धानमा अवसर दिनुपर्छ र अनुभवी पाका अनुसन्धानकर्तालाई किताब लेख्न प्रेरित गर्नुपर्छ भन्नेमा सुरुदेखि नै उनको जोड थियो । विष्टले सिनासमा धेरै व्यक्तिलाई पनि अवसर दिए । यिनमा मोहन खनाल, रमेश ढुंगेल, रवीन्द्र खनाल, ध्रुव कुमार, जितमान गुरुङ, निर्मल तुलाधर केही उदाहरण हुन् । मानवशास्त्रलाई नेपालमा स्थापित गर्न मानवशास्त्रका एकजना प्राध्यापक डा. पदम देवकोटाको प्रसंग पनि अविस्मरणीय रूपले जोडिएर आउँछ । पदम देवकोटाले भारतबाट मानवशास्त्रमा एमए सिध्याएर नेपाल आए । तर, उनले कतै पनि जागिर पाएनन् । उनी जागिर नपाएर बिरक्तिएका बेला उनका एकजना गाउँलेले विष्टलाई भेट्नू भनी परामर्श दिए । जब विष्टलाई उनले भेटे, एउटा चिकित्सा मानवशास्त्र (मेडिकल एन्थ्रोपोलोजी) को नौ महिनाको अनुसन्धानमा देवकोटालाई अवसर दिलाए । र, पछि त्रिविमा मानवशास्त्र/समाजशास्त्रको विभाग स्थापना गर्ने बेला उनलाई सिलेबस बनाउने कमिटीमा समेत उनलाई सामेल गरियो । यसै समयभित्र विश्वका विभिन्न विश्वविद्यालयबाट समाजशास्त्र र मानवशास्त्रमा अध्ययन सकी केही नेपालीहरू नेपाल फर्किसकेका थिए । केहीलाई त्रिभुवन विश्वविद्यालयले नै यो विधा पढाउन भारतका विभिन्न विश्वविद्यालयमा पठाएको थियो । ती विद्यार्थीहरू पनि आफ्नो अध्ययन सकी नेपाल फर्किसकेका थिए । सोही समय त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्र/समाजशास्त्रको पठनपाठन गराउनका लागि काम सुरु गर्न अरूलगायत विष्ट पनि आबद्ध भए । तर, यो त्यत्ति सहज थिएन । डा. हितनारायण झाले यसको पहिलो विरोध गरे । यो साह्रै खतरनाक विधा हो, यो विधा त्रिविमा स्थापित भएमा मुलुक नै टुक्रिन्छ भनेर उनले अड्चन थापे । त्यस्तै, अर्कोतिर विष्ट समाजशास्त्र/मानवशास्त्रलाई युरोपियन र अमेरिकन मोडलअनुरूपको नबनाई नेपाली समाज र संस्कृति विशिष्ट हुनेगरी निर्माण गर्न चाहन्थे । नेपालको परिप्रेक्षमा यी दुई विधाहरू अलग हुन सक्दैनन्, यो दुवैको ज्ञान उत्तिकै आवश्यक छ र यी दुवै विधालाई एउटै विधाअन्तर्गत राखी पठनपाठन गराइनुपर्छ भनेर विष्टले जोड दिएका थिए । तर, अर्कोतिर विश्वका अरू विश्वविद्यालयबाट अध्ययन गरिफर्केकाहरू यी दुई विभाग छुट्टाछुट्टै हुनुपर्छ भन्ने पनि थिए । विष्टको एउटै अडान थियो, नेपालको समाजशास्त्र/मानवशास्त्र युरोप र अमेरिकाको जस्तो सैद्धान्तिक मोडलमा आधारित नभई नेपालीहरूको व्यवहारमा मद्दत गर्ने किसिमको हुनुपर्छ । तसर्थ, दुई बेग्लै विभागको कुनै अर्थ नै छैन भन्ने कुरामा उनी जोड दिन्थे । त्यस्तै, विभागले पहिला शोधपत्रलाई ऐच्छिक बनाएको थियो । तर, विष्टले शोधपत्रलाई अनिवार्य बनाउनुपर्छ, यदि यो भएन भने कसरी विद्यार्थीलाई फिल्डको ज्ञान हुन्छ भनेर खुब कसरत गरेका थिए । आफ्ना विदेशी साथीहरूलाई पनि त्रिविमा आई उनी पढाउन आग्रह गर्थे उनी । काठमाडांैस्थित विनरक इन्टरनेसनल भन्ने संस्थाका प्रमुख जोन कुल विष्टका मिल्ने साथी थिए, जसलाई विष्टले विद्यार्थीलाई शोधपत्र गर्न केही कोषको व्यवस्था मिलाउन पनि आग्रह गरेका थिए । जब यस विभागभित्र मतभेद देखियो, त्यसपछि आफूलाई विभागबाट टाढा नै राखे विष्टले । तर, मन लागेको वेला कहिलेकाहीँ पढाउन पनि जान्थे रे । विभाग छोडे पनि उनले कीर्तिपुर छोड्न सकेनन् । कीर्तिपुरको वडा नं. ६ मा अवस्थित माटाखेल भन्ने ठाउँमा जग्गा किनेर घर बनाई उनी एक्लै बस्न थाले । विष्ट केवल मानवशास्त्री मात्र थिएनन्, एक मानवतावादी पनि थिए । दुःख परेका मानिसलाई सहयोग गर्थे उनी । कीर्तिपुरका एकजना चिया पसले हीराबहादुर मानन्धर विष्टका मिल्ने साथीमध्येका थिए । हीराबहादुरसँग विष्टको परिचय उनको पसलमा चिया खान आउने-जाने क्रममा नै भएको थियो । विष्ट बडा खुलेर उनीसँग कुरा गर्थे । एक दिन चिया खान होटलमा आउँदा त्यहाँका स्थानीय पोडे बच्चाहरू हिलोमा खेलिरहेको देख्दा विष्टलाई बच्चाहरू उद्दार गर्ने सोच आएछ ।विष्टले हीराबहादुरालाई ती बालकलाई पढाउन एउटा स्कुलको खाँचो औंल्याएपछि हीराबहादुरले आफ्नो साढे दुई रोपनी जमिन स्कुललाई चन्दा दिने निर्णय गरे । यसको केही समयपछि नै नेपालका लागि जर्मनीका राजदूत, जापानी संस्था र विभिन्न नेपाली संघ संस्थाबाट सहयोग जुटाई भवन पनि निर्माण गरियो । जसको नामकरण गोरखनाथ प्राथमिक विद्यालयल रह्यो । पोडे, गाइने र सार्कीका बालबच्चालाई त्यस विद्यालयमा पढाउन प्रोत्साहित गरियो । विद्यालयको शिलान्यास गर्न विष्टले कुनै मन्त्री वा ठूलो मान्छेलाई नबोलाई त्यहीँको एकजना स्थानीय बुज्रुक पोडेलाई बोलाएका थिए । अहिले पनि त्यो विद्यालयमा कक्षा दससम्म पठनपाठन हुँदै आइरहेको छ । यसबीचमा उनी कहिले घुमघामका लागि हप्तौं बाहिरिन्थे भने कहिले कीर्तिपुरमै लुकेर अध्ययन गर्थे । सन् १९९१ को कुरा हो, एक्कासि उनको पुस्तक फ्याटालिजम एन्ड डेभलप्मेन्ट (भाग्यवाद र विकास) प्रकाशित भयो । यो पुस्तक धेरै चर्चित भयो र त्यत्तिकै विवादस्पद पनि । क्यालिफोर्नियाको वर्कले प्रेसबाट छापिने तय भइसकेको यो पुस्तक पछि कोलकाताको ओरिएन्ट लङम्यान प्रकाशनले प्रकाशित गर्‍यो । यो पुस्तक विष्टले यसअघि कुनै सैद्धान्तिक अवधारणामा आधारित भई लेख्ने शैलीभन्दा निकै फरक थियो । विशेषतः सन् १९८२ मा प्रकाशित एक लेख 'द प्रोसेस अफ नेपालाइजेसन (नेपालीकीकरणको प्रक्रिया)' र फ्याटलिजम एन्ड डेभलप्मेन्टमा दुई अलग ध्रुवीय धारका विचारहरू पाइन्छन् । 'द प्रोसेस अफ नेपालाइजेसन' लेखमा नेपालको विविधताले नै नेपालीको एकता बाँधेको छ भनी चित्रण गरेको छ । जुन सबै जातजातिका विभिन्न मूल्य, मान्यता, धर्म र संस्कृतिले एउटा सम्पूर्ण नेपालको निर्माणमा ठूलो सहयोग गरेको छ । एउटा वर्गले अर्को वर्गलाई च्याप्ने, थिच्ने यहाँ कसैले कसैलाई गरेन । प्रत्येक जातजाति र समूह एक-अर्कासँग मिलेर बसेका छन् । प्राचीनकालदेखि नै नेपालीहरू कसरी एकतामा बाँधिएका थिए र यसलाई बाँध्ने कार्य नेपालीहरूको मूल्य, धर्म, भाषा र संस्कृतिले गरेको छ भनी व्याख्या गरिएको छ ।जतिजति बाहिरबाट मानिसहरू नेपालमा भित्रिए र बस्ती बसाले त्यत्तित्यत्ति नेपालीकिकरणको प्रक्रिया मजबुद हुँदै गएको थियो भनी विष्टले तर्क गरेका छन् । तर, फ्याटालिजम एन्ड डेभलप्मेन्टले अर्कै कुराको व्याख्या गर्दछ । यस कृतिको मूल सार भनेको नेपालीहरू पछिपर्नुको एउटै कारण भनेको भाग्यवादमा विश्वास गर्ने चरित्र भएको भन्ने छ । 'बाहुनवाद'को मूल्य अपनाउनाले विकास अवरोध भएको भन्ने छ । जसले भाग्यवाद र अदृश्य शक्तिहरूमा विश्वास गर्न सिकाउँछ । साथै, आफ्नो मान्छे र चाकरीलाई प्रश्रय दिन्छ । बाहुनवादको व्यापकता जनजातीय समूहभन्दा पनि अन्य समूहमा बढी देख्न पाइन्छ । जुन नेपाली समुदायलाई स्तरीकरण गराउने एउटा प्रमुख जड हो । नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक संरचनामा बाहुनवादले दह्रोसँग जरो गाडेको छ भन्ने यस पुस्तकको सार हो । तर, नेपालका अधिकांश बुद्धिजीवीले यस कृतिलाई बुझेर हो वा नबुझेर, अलि अपव्याख्या र बढाइ-चढाइ गरिदिए । विष्ट कहिले पनि ब्राह्मणविरोधी र हिन्दूधर्मविरोधी थिएनन् । फ्याटालिजम एन्ड डेभलप्मेन्टमा र अन्य कुनै लेखमा पनि यो झल्कँदैन । उनले ब्राह्मणलाई आलोचना नगरेर ब्राह्मणवादको आलोचना गरेका हुन् । ब्राह्मण र ब्राह्मणवाद दुई अलग कुरा हुन् । ब्राह्मणवादको व्युत्पत्ति नेपालमा भएको होइन । त्यो आयातित थियो भन्ने उनको तर्क थियो । उनका अनुसार त्यस्ता केही सीमित व्यक्तिहरू जसले प्रमुख सामाजिक संरचनामा आफ्नो आधिपत्य जमाएका थिए, तिनले नै बाहुनवादको कसरी प्रसार गरेका थिए भन्ने कुरा चाहे फ्याटालिजम एन्ड डेभलप्मेन्टमा होस् वा 'प्रोसेस अफ नेपाललाइजेसन' दुवैमा देख्न पाइन्छ । खस होस् वा किरात, नेपालमा यी सबै मिलेर बसेका थिए । नेपाली समाजमा देखा पर्ने अधिकांश सामाजिक स्तरीकरण भारतीय मोडल र पश्चिमा औद्योगिक पुँजीवादले ल्याएको धरातलमा आधारित छ । जातीय रूपमा स्तरीकरणको बीजारोपण एघारौँ/बाह्रौँ शताब्दीको अन्त्यतिर भारतबाट शंकराचार्यको प्रवेशसँगै भएको थियो । उनले राजा शिवदेवलाई रिझाई पशुपतिनाथको मन्दिरमा ब्राह्मण पुजारीलाई मात्र कार्यभार सम्हाल्नका लागि सुझाव दिएका थिए । शंकराचार्यको भ्रमणसँगै धेरै बौद्धपीठ भत्काइए र पुस्तकहरू जलाइए । यससँगै नेपालमा जातीय स्तरीकरणको प्रादुर्भाव भयो । पन्ध्रौँ शताब्दीतिर जयस्थिति मल्लले बिहारबाट केही मैथिली ब्राह्मण बोलाई जातीय रूपमा स्तरीकरणको जग बसाले, जससँगै नेपाली समाजभित्र जातीयकरणको जग बस्न गयो । आधुनिक नेपालको निर्माणसँगै नेपाली समाजमा यसको निरन्तरता अद्यापि छ ।

०५३ सालको कुरा हो । पुसको महिना थियो, विष्ट आफ्नो परिवारलाई पन्ध्र/सोह्र दिनका लागि जुम्ला जान्छु भनेर घरबाट हिँडे । केही समयको बसाइपछि उनी जुम्लाबाट नेपालगन्ज आए र काठमाडौंका लागि नेकोन एयरको टिकट काटे । खै के मुड चलेछ, घरमा फोन गरेर 'म दुई महिना धनगढीमै बिताउन चाहन्छु काठमाडौं आउन्नँ' भनेका थिए । त्यहीँदेखि उनी बेखबर भए । उनी हराएको दिन पुस १९ गते थियो । त्यतिखेर उनी ७१ वर्षका थिए । परिवारजनहरू सबैले उनी धनगढीमै होलान् भनी सोचेका थिए । तर, तीन-चार महिनासम्म फोन नआउँदा उनका छोरा डा. हिक्मत विष्टले धनगढीमा आफन्तलाई फोन गरेर बुबा काठमाडौं कहिले आउनुहुन्छ भनी सोध्दा बुबा त धनगढी आउँदै नआएको भनी थाहा पाए । यसले परिवारजनलाई साह्रै पिरोल्यो । पहिले पनि यिनी थाहै नदिई अनुसन्धान गर्न भनी घरबाट हिँडिदिन्थे रे । त्यसैले यसलाई परिवारजनले पहिले त साधारण रूपमा लिए, तर पछि उनको खोजी गर्न थालियो । अहिलेसम्म पनि उनको केही अत्तोपत्तो छैन । विष्ट कता हराए होलान् त ? यस प्रश्नको ठोस जवाफ छैन । अनन्तसम्म यो फगत प्रश्न मात्रै रहिरहन सक्छ । तैपनि, उनी हाम्रो मन, मष्तिस्क र हृदयमा छन् । उनको योगदानको वास अजम्मबरी छ । तारादेवीले गाएको गीतमा समाहित शब्दजस्तै...फूलको थुङ्गा बगेर गयो, गंगाको पानीमा...
गौरव केसी
लेखक मानवशास्त्रका विद्यार्थी हुन्

No comments: