नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी-लेनिनवादी) नाउँ गरेको पार्टीले अब इतिहास बनाइसकेको छ- नेपालको सबैभन्दा सुगठित क्रियाशील पार्टीका रूपमा । त्यसैले पुराना गन्थनको यो पार्टीको जीवनमाथि कुनै असर हुँदैन । तर, इतिहासको पानामा समेटिएको इतिहासको मनलाई पनि हामीले बिर्सनुहुँदैन । नेपाल कम्युनिस्ट पार्टीका माक्र्सवादी-लेनिनवादी तथा माक्र्सवादी समूह मिलेर बनेको आजको एमालेको एकीकरण कार्यसँग मेरो सहमति थिएन । त्यस्तो एकता गर्नुहुँदैन भन्ने मेरो आरम्भको मान्यता थियो भने एकीकरण भइसकेपछि पनि म प्रक्रिया, पद्धति र एकीकरण शैलीसँग सहमत हुन सकेको थिइनँ ।
एकीकरण भएछ मजस्ताले पत्तै नपाई । भोलिपल्ट सुनेँ । मदन भण्डारी नै महासचिव छानिनुभएको खबर पनि सार्वजनिक भइसकेको थियो । मैले उहाँलाई भेटेरै भनेँ, 'म यस एकीकरणका पक्षमा उभिन सक्दिनँ ।’यसो हुनुका पछिल्तिर एउटा ठोस कारण थियो । समूह एकीकरणमा मेरो कहिल्यै विश्वास रहेन । ०३२ सालमा अध्ययन कक्षहरू खोल्दा काठमाडौंको हाम्रो संगठन कमजोर थिएन । विद्यार्थी तथा होटल मजदुरबीच हामीले आफ्नो संगठनलाई फराकिलै ढंगमा अगाडि बढाएका थियौँ । त्यो सिंगो संगठन ०३३ सालमा छर्लप्पै कोअर्डिनेसन केन्द्रको मातहतमा गयो । तर, हामीले कोअर्डिनेसन संगठनसँग एकता भन्ने शब्द कहिल्यै प्रयोग गरेनौँ । हामी समाहित भइसकेपछि हाम्रो त्यो संगठनभन्दा धेरै साना समूहलाई हामीले पछाडि समूहगत एकीकरणमा ल्यायौँ । तर, हामी पुरानाले समूहगत एकीकरणको कहिल्यै माग गरेनौँ र एकीकरणको इतिहासमा हाम्रो नाम पनि उल्लेख गर्नुपर्छ भनेर एकदिन पनि सोचेनौँ । बरु अमृत बोहराले बेलावखत कुरा उठाउनुहुन्थ्यो 'हाम्रो एकीकरण पनि इतिहासमा उल्लेख हुनुपर्छ' भनेर । हामीले जोड गरेको भए त्यो लेखिन्थ्यो पनि होला । हाम्रो समूहले त्यस्तो गर्नु असल हुन्छ भनेर कहिल्यै ठानेन । किनभने हामी सानो समूहको अस्तित्व जोगाउन अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन कमिटीमा समाहित भएका थिएनौँ । हामी स्वयं कोअर्डिनेसन कमिटी हुन त्यसभित्र प्रवेश गरेका थियौँ । ०४७ सालको एकीकरणका सन्दर्भमा पनि मेरो मनमा उही पुरानो कुरो खामिएको थियो । यद्यपि, माक्र्सवादी पृष्ठभूमिका पाका नेताहरूप्रति मभित्र सम्मान थियो । चौथो महाधिवेशनमा संयुक्त जनआन्दोलनको कार्यनीति पास गर्दादेखि नै हामी सबै वामपन्थीप्रति सकारात्मक हुन थालिसकेका थियौँ । ०४६ सालको आन्दोलनमा वाममोर्चामा समेटिएका नेताहरूलाई हामीले आफ्नै मानेका थियौँ । ०४७ सालको जेठ महिनासम्म मेरो सोचाइ थियो- हामीले व्यक्तित्व लिने हो, कसिंगर बटुल्ने होइन । मदन भण्डारी र जीवराज आश्रतिसँग मेरो लामो बहस पनि भएको थियो । मैले मनमोहन अधिकारीजस्ता व्यक्तित्वलाई मात्र आवश्यक पात्र ठानेको थिएँ । एकीकरणको काममा चुर्लुम्मै डुबेर लाग्नुभएकामध्ये हुनुहुन्थ्यो भरतमोहन अधिकारी र केशरमणि पोखरेल । केशरमणि पोखरेलको इतिवृत्ति थाहा पाएको र आफैँले पनि भोगेको हुनाले म केशरमणि पोखरेललाई कमरेड मान्न तयार थिइनँ । भरतमोहन अधिकारीलाई भने मैले तिरस्कार गर्न सकेको थिइनँ । यसको पछिल्तिरको कारण थियो- उहाँसँग विराटनगरमा भएका एकाध भेटघाट ! बूढामान्छे मलाई राम्रै लागेका थिए, त्यतिवेला । तर, एकीकरण भएछ मजस्ताले पत्तै नपाई । भोलिपल्ट सुनेँ मैले । मदन भण्डारी नै महासचिव छानिनुभएको खबर पनि सार्वजनिक भइसकेको थियो । मैले उहाँलाई भेटेरै भनेँ, 'म यो एकीकरणको पक्षमा उभिन सक्दिनँ । यसले हामीलाई चुनावमा अलिक बढी सिट ल्याउन त मद्दत पुर्याउला, तर विचारहीन भीडलाई म पार्टी मान्न सक्दिनँ ।'म कतिसम्म विरोधमा थिएँ भने सुनकोसी छापाखानामा दृष्टि पत्रिकामा समाचार बनाउने सन्दर्भमा म त्यहाँ पुगेको वेला नारायण ढकालले मसँग प्रतिक्रिया लिन खोज्नुभएको थियो । मैले भनेँ, 'हामीले नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी-लेनिनवादीलाई आर्यघाट पुर्यायौँ । हाम्रो स्खलन सुरु भयो ।'पछि नारायण ढकालले मेरो यो प्रतिक्रियालाई आफ्नै हिसाबले भिन्न-भिन्न ठाउँमा पुर्याउनु पनि भयो । मेरो प्रतिक्रिया उहाँलाई मन परेको थिएन । माथिकै स्पिरिटमा मैले मदन भण्डारीसँग बहस गरेको थिएँ । तर, मदनसँगको बहसमा मेरो के पार लाग्थ्यो र ! चित्तै दुःखाएर भए पनि मैले एकीकरणको पक्षमा आफूलाई उभ्याउनै पर्यो ।मन त दुःखेको थियो नै, एकीकरणपछि म अलपत्र पनि परेँ । आफूले के काम गर्ने हो भन्ने मलाई पत्तै भएन । किनभने हामी केहीको काम, कर्मथलो, कमिटी केही पनि तोकिएको थिएन । त्यसको कारण थियो- एकीकृत पार्टीको केन्द्रीय कमिटीको गठनको अन्तिम टुंगो लाग्न नसक्नु । माघ महिना लाग्नै आँटेको थियो । म बागबजारमा रहेको केन्द्रीय कार्यालयको काम हेर्थें, त्यतिवेला । मदन भण्डारीले मलाई आफ्नो कोठामा बोलाउनुभयो । 'तपाईंसँग भाका मिलाएर बोलिरहन मैले नपर्ला होइन ?' उहाँको पहिलो प्रश्न थियो ।'पर्दैन,' मैले सामान्य ढंगमै भनेँ । 'केन्द्रीय कमिटीको संयोजन मिलाउन मलाई अप्ठ्यारो भयो । दुई महिनाका लागि तपाईंले केन्द्रीय कमिटी बाहिर बसिदिनुपर्यो,' उहाँको स्वरमा कुनै बनावटीपन थिएन । 'मैले नै किन ?' यो मेरो प्रश्न थियो । 'किनभने अरू कोही मेरो कुरो सुन्न तयारै छैनन् । तपाईंले मेरो अप्ठ्यारो बुझ्नुहुन्छ भनेर मैले तपाईंलाई अलिक दिन बाहिर बस्नूस् भनेको हुँ ।'मैले हुन्छ भनेँ । त्यो हुन्छले मलाई बेस्सरी फाइदा पुर्याएछ । केन्द्रीय कमिटीको नामावली सार्वजनिक भएपछि पहिलो प्रतिक्रिया तीर्थ कोइरालाले दिनुभएको थियो, 'कस्तो अनौठो केन्द्रीय कमिटी बनेछ, तपाईं बाहिर अरू भित्र ।''मदन कमरेडले तपाईं अलिक दिन बाहिरै बसिदिनूस् भन्नुभयो । मैले मानेँ ।''मलाई भन्नुभएको थियो, मदन कमरेडले ।'तीर्थको फोन आरम्भ थियो । लगातार फोन आइरहे । मैले यथोचित उत्तर दिँदै रहेँ । अहिले पनि मलाई अनौठो लाग्छ- किन त्यतिवेला मैले आफ्नो अधिकार खोजिनँ ! त्यतिवेला कुनै पनि माक्र्सवादी केन्द्रीय समितिको सदस्यको कुरै छाडौँ, आफ्नै माक्र्सवादी-लेनिनवादी टिमको तर्फबाट पनि म पुरानो, कामकाजी, दिएको जिम्मेवारी सधैँ पूरा गर्दै आएको केन्द्रीय सदस्य थिएँ । तर, मदन भण्डारीले, 'तपाईं बस्नूसभन्दा कोही मान्दैनन्, तपाईं बसिदिनूस' भनेपछि मैले महासचिवकै मन दुःखाइ-दुःखाई केन्द्रीय कमिटीमा जानु अनुचित ठानेँ ।रंग न ढंगको केन्द्रीय कमिटी बनेको थियो, त्यतिवेला । दुवै पार्टीबाट १४-१४ जना सदस्यलाई लिएर । १४ दुनी २८ को गणितले राजनीतिक पार्टी सञ्चालन गर्न सक्ने कुरै थिएन । महिनादिनमै केन्द्रीय कमिटीको ठाउँ राष्ट्रिय परिषद्ले लियो । म पनि परेको थिएँ, त्यो राष्ट्रिय परिषद्मा । सायद माक्र्सवादी फाँटबाट आउनुभएका केही केन्द्रीय सदस्यले आफूलाई फिर्ता लैजानुभयो आफ्नै पुरानो खण्डहरतिर । त्यसैले पुनर्गठन भइहाल्यो केन्द्रीय कमिटी । म फेरि भएछु केन्द्रीय कमिटीको सदस्य । आज-भोलि हाँस उठ्छ मलाई त्यतिवेला हामीले के नाटक खेलेका थियौँ भनेर । गर्व पनि लाग्छ, आफ्नो समूह एकीकरण गर्नु राम्रो हुँदैन भन्ने मान्यताले जितेरै छोड्यो आखिर भनेर । पोलिट ब्युरोमा पुर्याइएका केशरमणि पोखरेल पछि कांग्रेसको चौवन्नी सदस्यमा रूपान्तरित भए । केन्द्रीय कमिटीमा ल्याइएका आधादर्जन नेताले पूर्णकालीन भएर काम गर्नुपर्ने जानकारी पाएपछि एकीकृत पार्टी नै छाडिदिए । अहिले पनि म त्यो एकीकरणको प्रशंसामा गीत गाउन सक्दिनँ । हो, त्यसले एउटा बलियो मनोभाव उभ्याइदियो, जनताको मनमस्तिष्कमा । हामीले कम्युनिस्ट आनदोलनका हस्तीहरू पाएका थियौँ- मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारीका रूपमा । चुनाव पनि हामीले अपेक्षित हिसाबले नै जित्यौँ । तर, पार्टीको अन्तिम गन्तव्य चुनावमा धेरै सिट जित्नु मात्रै हो ? होइन । त्यसैले त्यो एकीकरणको प्रक्रिया ठीक भएन । योग्यता र भूमिकाकै आधारमा व्यक्तिहरूलाई स्थान दिनुपथ्र्यो । इतिहास मात्रैले के गर्दारहेछ र ! टाँसिएको केन्द्रीय कमिटीले केशरमणि पोखरेलमाथि नेपाली कांग्रेससम्म सूचना पुर्याउने व्यक्ति भनेर चियोचर्चो गरेकै थियो । नभन्दै उनलाई एकीकृत नेकपाको केन्द्रीय कमिटीभन्दा नेपाली कांग्रेसको चौवन्नी सदस्यता नै सम्मानको चिनो भइदियो ।
No comments:
Post a Comment