Saturday, January 3, 2009

गुमनाम मन्डेला

मोहनचन्द्र अधिकारी नेता चर्चित झापा-आन्दोलनका अगुवा,
'एसियाका मण्डेला' अर्थात् मोहनचन्द्र अधिकारी अहिलेका सबै कम्युनिस्ट पार्टी संशोधनवादी भएकोमा फ्रस्टेटेड छन् । उनी सल्लाहाकार रहेको पार्टी एमालेले कुनै भूमिका दिएको छैन । चित्त शान्तिका लागि उनी योग र ध्यान गर्ने गर्छन् । उनी भन्छन्- '१६ वर्ष जेल बस्दा पञ्जाबी बाबाबाट निर्विकल्प समाधि सिकेको थिएँ, त्यही काम लागेको छ ।'को हुन् मोहनचन्द्र ?'जवाहरलाल नेहरू विश्वविद्यालयमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरले १० मिनेट नेपालको बारेमा बोले, २० मिनेट मेरो बारेमा । त्यही भाषणमा उनले मलाई 'एसियाका मण्डेला' भनेका हुन् ।' एसियाका मण्डेला अर्थात् मोहनचन्द्र अधिकारी । २००७ सालको आन्दोलनमा सक्रिय, २८ सालको झापा विद्रोहका अगुवा । २०३० देखि २०४६ सम्म जेल । त्यसपछि नेपालमा उठ्नै लागेको प्रथम जनआन्दोलनको लागि वैदेशिक समर्थन जुटाउन भारत प्रस्थान । आन्दोलनको सफलतापछि राजनीतिमा सक्रिय । दुईवटा कम्युनिस्ट पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी एमाले गठनमा भूमिका । जनआन्दोलनपछिको निर्वाचनमा मोरङबाट उम्मेदवारी । पराजित । एमालेद्वारा राष्ट्रिय सभामा मनोनीत । पछि एमालेको संशोधनवादी रबैया देखेर संसद्बाट राजीनामा । एमाले फुटेपछि मालेमा सम्बद्ध । मालेका महासचिव सिपी मैनालीले 'तपाईंको आर्थिक अभाव पनि छ, एमालेमै र्फकंनूस्' भनेपछि फेरि एमाले प्रवेश गरी पार्टी सल्लाहकार ।
'मलाई कतिले राजावादी भयो भने, कसैले कांग्रेस भयो पनि भने । मलाई आरोप लगाउनेहरू भए होलान्, तर म कहिल्यै राजावादी भइनँ, कांग्रेस पनि भइनँ ।सत्ताधारीको सल्लाहकारमोहनचन्द्रजीको घर खोज्दै पुरानो नैकाप पुग्दा साँझ खसिसकेको थियो । बत्ती गएको सहर । सायद अँध्यारोमा खोज्न सजिलो होस् भनेर उनले घरमा सेतो रङ पोतेका थिए । युवावस्थामा राणा र पञ्चायती निरंकुश सत्ताको विरुद्ध ज्यानको बाजी राखेर आन्दोलन र विद्रोहमा होमिएका र लामो र कठोर जेलजीवन बिताएका उनको भूमिका अहिले शून्यप्रायः छ । आफ्नो अस्तित्वसमेत अँध्यारोमा विलीन हुँदै गइरहेको हो कि भन्ने लाग्छ मोहनचन्द्रलाई । के गर्दैछन् त उनी आफ्नो पहिचान जोगाउन ? देशको हितमा सक्दो भूमिका खेल्न ? पंक्तिकारको प्रश्नमा उनी एकछिन् घोरिए र भने- 'एमालेले मलाई सल्लाहकारमा राखेको छ । सल्लाहकारको बैठकमा आक्कलझुक्कल बोलाउँछ । त्यत्ति हो ।' झापा विद्रोहमा जनताको रगत-पसिना चुसर जुँकाजस्तै ढाडिएका जमिन्दारको टाउको काट्दै हिँडेका यी आदिविद्रोही आजभोलि बाँकी केही नगरी बसिरहेका होलान् भन्नेमा म आफैं पनि विश्वस्त भइरहेको थिइनँ । कुरा खोल्लान् कि भनेर मैले उनलाई नेपाली राजनीतिमा उनको समस्त संलग्नता, योगदान बताउन भनेँ । अब भने यी युगपुरुष केही खुलेर बोल्न थाले । यसरी कम्युनिस्ट भएँमनमोहन अधिकारी मेरा माइला बुबा हुन् । २००७ सालको आन्दोलनताका १४ वर्षको उमेरमा म आन्दोलनमा सहभागी भएँ । २००७ सालमा राणाविरोधी आन्दोलनमा आदर्श जुद्धशमशेर स्कुलको गेट फोडेर प्रदर्शन गर्दा प्रहरीले निर्घात चुट्यो । त्यो पिटाइको असर होला, अझै निहुरिँदा छाती दुख्छ । म अरू बोलेको, कुरा गरेको सुन्दासुन्दै कम्युनिस्ट भएको हुँ । त्यतिबेला कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य डिपी अधिकारीले मलाई सोधे- 'समाजवाद भनेको के हो ?' मैले फ्याट्टै भनिदिएँ- 'योग्यताअनुसारको काम, कामअनुसारको दाम ।' उनले फेरि सोधे- 'साम्यवाद भनेको के हो ?' मलाई कण्ठै थियो- 'योग्यताअनुसारको काम, आवश्यकताअनुसारको दाम ।' यति सुनेपछि 'लौ, यो ठिटोलाई पार्टीको सदस्यता दिए हुन्छ भने । यसरी म १६ वर्षको उमेरमा कम्युनिस्ट पार्टी-सदस्य भएको हुँ ।
झापा विद्रोह पञ्चायती निरंकुशताका भरौटेहरू र तिनका सिपाहीले निमुखा जनताको दिनदहाडै शोषण, बलात्कार, हत्या, अपहरण गरिरहेको हुँदा त्यसविरुद्ध सशस्त्र विद्रोह छेड्नुको विकल्प हामीले देखेनौँ । त्यतिखेर कांग्रेसले पनि हतियार उठाएको थियो । उनीहरू सिमानानजिकैबाट हान्थे र पारि लुक्न भाग्थे । हामीले फरक ढंगले विद्रोह थाल्यौँ । पञ्चायती राजविरुद्ध रगतको बदलामा रगत, गोलीको बदलामा गोली गर्नैपर्ने स्थिति थियो । हामीले राजनीति नपुगेको ठाउँमा राजनीति पुर्‍याउने, लडाइँ उठेको ठाउँमा लडाइँ गर्ने नीति अख्तियार गरेका थियौँ । प्रान्तीय कमिटीको तर्फबाट मैले नै अगुवाई गरिरहेको थिएँ । गुरिल्ला दस्ता गठन गरेर र घरेलु हतियार भेला पारेर हामीले जमिन्दार सफायालगायतका अभियान सुरु गरियो । दुई वर्षको आन्दोलनका दौरान हाम्रोतर्फबाट छ/सातजना मान्छे मरे होलान् । राज्यतर्फबाट समेत गर्दा त्यस्तै चौध/पन्ध्रजनाको ज्यान गयो त्यतिखेर । सुखानीमा हाम्रा साथीहरू रामनाथ, नेत्र, विरेन, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई निर्मम ढंगले मारियो । अर्का साथी रामप्रसाद भकारीमा लुकेका रहेछन्, प्रहरीले भकारी बाहिरबाट बाँसका भाटाले घोचीघोची उनलाई मारे । पक्राउ परेका कति जेलमै मरे, त्यसको लेखा नै रहेन । मलाई सुट एट साइट अर्थात् देख्दाबित्तिकै गोली हान्नू भन्ने आदेश थियो । झापा आन्दोलनको ४५ पेजको डकुमेन्ट मेरो ह्यान्ड राइटिङ रद्दी भएर केपी ओलीले सारेका थिए । हामी त्यो लिएर हिँडिरहेका बेला इनरवरी भन्ने स्थानमा आइपुगेका थियौँ । म हामी बस्दै आएको 'डेन' केही दिन नछोडौँ भनिरहेको थिएँ । तर, केपी एउटा अपिरिचित केटोले भन्यो भन्दैमा सुरक्षित ठाउँ खोज्न उसकै पछि लागेर हिँडिदिए । त्यो केटो पञ्चेको सुराकी रहेछ, सिधै थानामा पो लग्यो । यसरी हामी गिरफ्तार भयौँ । थानामा साह्रै पिट्यो । बेहोस भइन्थ्यो, होस आएपछि फेरि पिट्थ्यो । पछि मलाई केन्द्रीय कारागारमा सारियो । केपीलाई भद्रगोल जेलमा । केही दिनमा मलाई खुंखार अपराधीलाई राख्ने 'सेल' भित्र थुन्यो । केपीलाई आजीवन जेल र मलाई फाँसीको सजाय सुनाइयो । पछि दरबारले नमार भन्यो रे, त्यसैले मलाई फाँसी भएन । माओवादीको दूतजनयुद्धका दौरान माओवादीले राजासँग कार्यगत एकता गर्ने सवालमा मलाई आफ्ना सन्देश उनीसम्म पुर्‍याउन आग्रह गरेका थिए । गोलमेच सम्मेलन, जनमत संग्रहको घोषणा र रेडकर्नर नोटिस फिर्ता लिनेलगायत माओवादीका सर्तहरू मैले राजा ज्ञानेन्द्रलाई पुर्‍याएँ । '२१औं शताब्दीमा जनअधिकार र समानुपातिक प्रजातन्त्र नदिई अब चल्दैन' भन्ने यथार्थ पनि मैले राजालाई बताएँ । उनले केही भनेनन् । अहिलेको राजनीति अहिले नेपालका सबै कम्युनिस्ट पार्टी संशोधनवादी हुन् । लोकेन्द्रबहादुरको नेतृत्वको सरकारमा जाने, प्रतिगमन सच्चियो भन्दै राजाका टिके प्रधानमन्त्री शेरबहादुरको सरकारमा समेत जाने, भारतीय इसारामा रातारात टनकपुर सन्धि संसद्बाट पारित गराउने पार्टी सर्वहाराको पार्टी हुन्छ ? कदापि हुँदैन । टनकपुर सन्धिले गर्दा हामीले हाम्रो हिस्सामा पर्ने आधा पानी र बिजुली गुमायौँ । भारतीयले आर्थिक उपनिवेश बनाएकै छन्, त्यसका विरुद्ध कम्युनिस्ट पार्टीको प्रष्ट नीति हुनुपर्छ । तर, खोई ? म एमालेका महासचिव र माधव नेपाललाई बारम्बार भन्छु, म तपाईंहरूले सोचेजति बुद्धू छैन । काम गर्न सक्छु । मलाई भूमिका चाहियो । तर, ती मलाई विश्वास गर्दैनन् । माओवादी पनि संशोधनवादी हो । हेर्नुस्, सत्तामा मुख्य डिसिजन गर्ने शक्ति मिलिट्री हो । राजाको खटनमा रहेको त्यो शक्ति र त्यसको संरचना अहिले पनि हुबहु कायमै छ । त्यसैले अहिलेको सत्ता पनि श्वेत सत्ता नै हो । राजतन्त्र जोगाउन खोज्ने यो श्वेत आर्मीलाई बोर्डर सेक्युरिटी र औद्योगिक सुरक्षा बलमा खटाउनुपर्छ । गणतन्त्रका लागि लड्ने जनसेनालाई नेपालको गणतान्त्रिक सेनाका रूपमा स्थापित गर्नुपर्छ । नेताहरू सेना समायोजन भन्छन्- लाल सेनालाई श्वेत सेनामा मिलाइदिने रे ! यो संशोधनवाद नभएर के हो ? प्रचण्डले पञ्चेश्वर फेरि बनाउने भएका छन् । माथिल्लो कोसी भारतलाई सुम्पने खेल भइरहेको पनि सुनिन्छ । जनताले नेपालका दलाल र नोकरशाहका विरुद्ध वास्तविक सर्वहारा क्रान्ति गर्न बाँकी नै छ । संविधान लेख्नुपूर्व विशाल जनआन्दोलन आवश्यक छ, नेताले मुखले भनेर हुँदैन, तिनलाई जनमुखी संविधान लेख्न बाध्य पार्न व्यापक जनदबाब अपरिहार्य छ । मलाई लाग्छ- छिट्टै नेपालमा एउटा नयाँ कम्युनिस्ट पार्टी प्रादुर्भाव हुन्छ, त्यसले सर्वहारा जनताको पक्षमा सही दृष्टिकोण लिन्छ र मुलुकलाई नयाँ दिशामा डोर्‍याउँछ ।
गृहस्थी र आध्यात्मिक रुझानलामो समय जेलमा बस्नुपरेको हुँदा मैले जेल छुटेपछि धेरै ढिलो बिहे गरेँ । घर-गृहस्थी मुस्किलले चलिरहेको छ । श्रीमतीको मसिनो जागिर छ, मलाई सल्लाहकारमा राखेको हुँदा एमालेले मासिक पाँच हजार दिन्छ । त्यत्ति आम्दानीले गुजारा गरेका छौँ । हो, मैले पूजाआजा पनि गरेँ । म कम्युनिस्ट हुँ । कम्युनिस्टहरू सत्यतथ्य के हो पत्ता लगाउन धेरै प्रयोगहरू गर्न रुचाउँछन् । जेल बस्दादेखि नै साँझ-बिहान पूजाआजा गर्न थालेको थिएँ, के हुँदोरहेछ त भनेर थाहा पाउन । जेल छुटेपछि पनि क्षमताअनुरूप भूमिका नपाएपछि र पार्टी संशोधनवादी हुँदै गएपछि म फेरि धार्मिक भएँ । पूजाआजा गरेँ, कोटिहोममा पनि बसेँ । त्यतिखेर मलाई कतिले राजावादी भयो भने, कसैले कांग्रेस भयो पनि भने । मलाई आरोप लगाउनेहरू भए होलान्, तर म कहिल्यै राजावादी भइनँ, कांग्रेस पनि भइनँ । निर्विकल्प समाधिम बेचैन भएको वेला निर्विकल्प समाधि लगाएर बस्छु । यो योगको चरम लक्ष्य हो । मैले पञ्जाबी बाबासँग सिकेको हुँ जेल बस्दाताका । यसका बारेमा खुलस्त बताउन त शब्दकोश लाटो हुन्छ । यद्यपि, समाधि के हो त भन्नेबारेमा अर्को बसाइमा चर्चा गरौंला ।
नेत्र आचार्यnetra.acharya@gmail.com

No comments: