Thursday, December 24, 2009

साहित्यकार वनझाँक्री होइन



ओझाङहाङ नेम्वाङ । यो अहिलेका बैरागी काइँलाको न्वारानको नाम हो । कुनै लिम्बू बालकको नाम रामबहादुर वा कृष्णप्रसाद हुने कुरै भएन । तर, यो ओझाङहाङ नाम धेरै पहिलेदेखि नै गुमनाम भइसक्यो । अहिले चौतर्फी चर्चा छ त केवल बैरागी काइँलाको मात्रै । स्कुल पढ्दाताका राखिएको तिलविक्रम नेम्वाङ पनि खास औपचारिकतामा मात्रै सीमित छ । दार्जिलिङ पुगेर कविता लेख्न थालेपछि उनले आफ्नो नाम आफैँ राखेका थिए । ओझाङहाङलाई अहिले सबैले सबैतिर बोलाइरहेछन्- ए ! बैरागी काइँलादाइ !


सन् १९६० को दशक वरिपरि दार्जिलिङतिरैका साहित्यिक कार्यक्रममा ईश्वर बल्लभ र इन्द्रबहादुर राईसँग काइँलाको भेट हुन थाल्यो । भेटले एउटा आन्दोलनको आकार लियो । तिनताकाको 'तेस्रो आयाम' नामको तीनखम्बे साहित्यिक आन्दोलनका एक खम्बा उनै थिए, बाँकी त बल्लभ र राई भइगए । उबेलाको जोस अर्कै थियो- साहित्यमा 'केही नयाँ दिनुपर्छ' भन्ने । 'केही नयाँ गर्ने र प्रचलित धारणाभन्दा फरक धारणा ल्याएर अरूभन्दा भिन्न देखिने होड थियो,' काइँलाले 'तेस्रो आयाम'को अन्तर्कथा कहन थाले, 'हामी तीनजना मिलेर एउटा साहित्यिक पत्रिका प्रकाशन गरौँ भन्ने सल्लाह गर्‍यौँ, मैले फ्याट्टै 'तेस्रो आयाम' नाम जुराएँ । मान्छे भेट्ने, यताउति कुद्ने काम बल्लभको थियो, विचार संयोजन गर्ने काम राईले गथ्र्यो, मेरो काम आर्थिक व्यवस्था मिलाउने थियो ।' यस्तो कार्यविभाजनसहित 'तेस्रो आयाम' प्रकाशन सुरु भयो । तर, 'तेस्रो आयाम' नाम नै किन त ? 'खै, किन किन,' परिपक्व अनुहारमा अन्यमनस्क हाँसो हाँस्दै उनले भने, 'त्यही राखौँ भनिदिएँ, राखियो ।'


विनाअर्थको नाम पनि चुनिन्छ त ? 'अर्थ नभएको कहाँ हो र ?' प्रश्नको चिम्टाले समातेपछि बल्ल काइँलाबाले आयामिक व्याख्या गर्न थाले, 'विज्ञानले पनि वस्तुको तीन आयाम हुन्छ भन्छ- लम्बाइ, चौडाइ र उचाइ -वा गहिराइ) । मान्छेको जीवन पनि एकोहोरो र तेस्रो मात्रै हुँदैन, यो वक्र, जटिल र त्रिआयामिक हुन्छ भनेर हामीले परिभाषित गर्‍यौँ । साहित्यमा पनि त्यही जीवनको प्रतिनिधित्व हुनुपर्छ भनेर व्याख्या गर्‍यौँ ।' के त्यो आन्दोलन कुनै परम्परा वा स्थापित साहित्यको विरोधमा थियो ? 'होइन,' उनले थप स्पष्टीकरण दिए, 'विरोधले विकल्प जन्माउँछ, विकल्पले नयाँ कुरा त दिन्छ । तर, नयाँ र भिन्न देखिन विरोधमात्रै गरिरहनु पर्दैन । समानान्तर रूपमा क्रियाशील भएर पनि उस्तै नयाँ दिन सकिन्छ । हामीले त्यही गरेका हौँ, कसैको विरोध नगरीकन साहित्यमा नयाँपन दिने काम ।'


त, बैरागी काइँलाहरूको 'तेस्रो आयाम' आन्दोलनले के दियो त नेपाली साहित्यलाई नयाँ ? उनी भन्छन्, 'केही न केही त दियौँ नि !' जीवनमा दुःख, पीर, घृणा, रिसइबी, छलकपट छ भन्दैमा साहित्यमा राम्रो-राम्रो बाँचेको कुरा मात्रै लेख्ने होइन, समग्र जीवन लेख्नुपर्छ भनेर आफूहरूले नै बोलेको दाबी गर्छन् काइँला । एउटै मान्छेको कथा लेखिएको भए पनि त्यसले सबैको कथा बोकेको हुनुपर्छ भन्ने 'तेस्रो आयाम'को मान्यता भएको उनले सम्झे । 'पीडा भन्दैमा साहित्यमा एउटा मान्छेको 'राँडी रुवाइ' मात्रै छ भने त्यो अरूले पढ्नुपर्ने के खाँचो ? त्यस्तो साहित्य अरूले किन पढ्ने ?' शालीन काइँलादाइ यहाँनेर अलि झोँक्किए, 'कुनै व्यक्तिको गनगन लेखेर साहित्य दीर्घजीवी पनि बन्दैन, त्यस्तो साहित्य महत्त्वपूर्ण र गहन पनि हुँदैन ।' व्यक्तिको पीडा साहित्य बन्नै सक्दैन र कवि महोदय ? 'मातेको मान्छेको भाषण...' लेख्ने कवि काइँला झन् उत्तेजित भए, 'व्यक्तिको पीडा भए पनि उसले भोगेको कुरा अरू छिमेक, आफन्त र साथीहरूले सहअनुभूति गर्‍यो भने नै त्यो सबैको हुँदै जाने हो । तर, व्यक्तिको विनासित्तिको 'राँडी रुवाइ' अरूका लागि के काम ?'


'तेस्रो आयाम' सुरु गर्नेहरूलाई कुनै राजनीतिक दर्शनले प्रेरित गरेको थियो ? प्रश्न सुनेर काइँला टक्टकिए- त्यो आन्दोलन कुनै राजनीतिक उद्देश्यले गरिएको थिएन । कतै न कतैको, केही न केही प्रभाव थियो कि ? 'त्यस्तो पनि थिएन,' उनले भने । अहिलेको उत्तरआधुनिकतावादी 'हल्लाखल्ला' को नेपाली संस्करणको पूर्वरूप त्यही आन्दोलन हो भन्नेहरू पनि छन् । प्रश्न गरियो- के त्यो पाश्चात्य साहित्यबाट प्रभावित हो त ? 'विचारलाई पुष्टि गर्न सबैतिरको अध्ययन त गर्नैपर्छ,' यी पाका कविले फेरि शालीन शैलीमा असहमति व्यक्त गरे, 'हामी वनझाँक्री त हैनौँ नि, वनबाट फुत्त निस्केर सारा बिमार फु-फा गरेर चट् पारिदिने ! हामीले पनि धेरैतिरको साहित्य अध्ययन गरेका थियौँ ।' धेरैतिर अध्ययन गरेर आन्दोलन सुरु गरे पनि उनीहरूले आलोचना चौतर्फी खेप्नुपर्‍यो । आलोचनाको प्रहार काइँलामाथि केही कम भएछ । 'बल्लभ बढी लेख्थ्यो, उसले बढी नै विरोध खप्यो, राईले पनि धेरै नै विरोध खप्नुपर्‍यो,' उनले भने, 'जति विरोध गर्छन्, उति सक्रिय भयौँ । ती विरोधीले गर्दा नै हामी आज ठूला साहित्यकार भयौँ,


धन्य विरोधीहरू !' काइँलाले विरोधीलाई हात जोडेर धन्यवाद दिए ।


विरोधीको प्रतिरोध गर्न तीन सदस्यीय आयामिक टोलीले विभिन्न सिद्धान्त र विचारको पक्कै पनि सहारा लियो । योचाहिँ उनी पनि स्विकार्छन् । अहिले बिर्सिसके पनि त्यतिबेलाका प्रभावशाली विचार आफ्नो टोलीले ग्रहण गरेकोमा उनी सहमत छन् । फेरि दोहोर्‍याए, 'मैले भनिहालेँ- साहित्यकार कुनै वनझाँक्री होइन, समाजमा रहेका विचार र सिद्धान्तभन्दा पर रहन सक्ने र फु-फा जान्ने ।' तर, 'उत्तरआधुनिकता' शब्दबारे भने काइँलाहरूलाई त्यतिबेला कुनै हेक्का थिएन । उनले भने, 'यो उत्तरआधुनिकता भनेको त अर्कै पो छ होला, हाम्रो लेखनलाई उत्तरआधुनिकताको पूर्वरूप भन्नु त मूर्खता मात्रै हो ।'




***


'



तेस्रो आयाम' थियो साहित्यिक आन्दोलन । काइँलाकै शब्दमा 'कुनै राजनीति' भन्दा परको । तर समय बित्यो, बैरागी काइँला २०६२/०६३ मा त राजनीतिक आन्दोलनमै सडकमा अघिअघि हिँडे । यमानको शरीर भएको लिम्बू बूढो संस्कृतिकर्मी र स्रष्टाहरूको अगुवाइ गरेर नारा लगाइरहेको थियो- लोकतन्त्र जिन्दावाद ! जिन्दावाद-जिन्दावाद ! भन्न सकिन्छ- बैरागी काइँला 'आन्दोलनकारी' साहित्यकार हुन् । चार दशकअघिदेखि साहित्यमा लागेका कवि काइँला पछिल्लो आन्दोलनका दिन सम्झेर अहिले पनि गर्वको अनुभूति गर्दारहेछन् । '२०६२/०६३ को राजनीतिक परिवर्तनमा हामी स्रष्टाहरूको पनि अलिअलि योगदान छ,' हँसिलो र गमिलो मुद्रामा उनले भने, 'जन्मँदै शासक हुने राज परम्पराको अन्त्य भयो, अब यो राष्ट्रको नेतृत्व गर्ने अवसर सबै नागरिकलाई बराबर छ ।' यसो भनिरहँदा काइँला कुनै कविता पाठ गरिरहेको बेलाजस्तो उत्साहित र भावुक देखिए ।


तत्कालीन स्रष्टा आन्दोलनको पहिलो काम राजनीतिक पद्धति र परम्परा बदल्नु थियो र दोस्रो त्यो परिवर्तनलाई दिगो बनाइराख्न सांस्कृतिक रूपान्तरणमा ध्यान दिनु । 'सांस्कृतिक चेतनाको धरातलमा परिवर्तन नभएसम्म राजनीतिक परिवर्तन स्थायी हुँदैन भन्नेमा एकमत भएर,' काइँलाले लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चको उद्देश्य सम्झे, 'हामी सबै वामपन्थी र लोकतन्त्रवादी स्रष्टाहरू आन्दोलनमा लागेका थियौँ ।' तर, राजनीतिक परिवर्तनपछि यो दोस्रो उद्देश्य कसैको प्राथमिकतामा परेन । स्रष्टा मञ्चको अध्यक्षमण्डलको संयोजक रहेका काइँलाले पनि त्यो पद र जिम्मेवारी अब झन्डै बिर्सिन आँटिसके । किन यस्तो भएको त ? 'राजनीतिक परिवर्तन पहिलो उद्देश्य थियो र मुख्य थियो,' उनले भने, 'सांस्कृतिक रूपान्तरण दोस्रो थियो, तर महत्त्वपूर्ण थियो ।' त्यही महत्त्वपूर्ण उद्देश्य पूरा गर्नका लागि सबै राजनीतिक दलले आफ्नो दलका समर्थक साहित्यकारलाई समानुपातिक पद्धतिबाट संविधानसभामा प्रतिनिधित्व गराऊन् भन्ने स्रष्टाहरूको माग भएको काइँला सम्झन्छन् । 'पार्टीका केन्द्रीय सदस्यहरूलाई होइन, पार्टीबाहिरका तर समर्थकलाई लैजान भनेको हो,' काइँलाले चुनावअघिको कुनै दिन सम्झे, 'मैले त एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई भेटेरै पनि यो कुरा भनेको थिएँ ।' तर, त्यो भन्नु मात्रै भयो । उनले गुनासो गरे, 'राजनीतिकर्मीले स्रष्टाहरूको भूमिका र महत्त्वलाई नबुझेकाले परिवर्तनपछि यस्तो हुन गयो ।' तैपनि, काइँला बैरागिएका छैनन् । परिवर्तनको बिरुवा रोप्ने काम स्रष्टाहरूले गरे पनि त्यसलाई हुर्काउने, बढाउने, जोगाउने जिम्मा राजनीतिकर्मीलाई नै दिनुपर्छ भन्ने उनको विश्वास छ । 'त्यो जिम्मा उनीहरू -राजनीतिकर्मी) लाई नै दिने हो,' उनले निर्धक्क भने ।


परिवर्तनलाई संस्थागत गर्ने जिम्मा जसलाई दिने हो उनीहरू नै विश्वासलाग्दा र भरपर्दा छैनन् । काइँलालाई पनि त्यस्तै लागिरहेको छ, राजनीतिकर्मीले स्रष्टाको स्वर र साहित्यको मर्म बुझिरहेका छैनन् । उनी साहित्यकारलाई स्वस्थ मन भएका र असल मान्छे भन्न रुचाउँछन् । जसले केही न केही रचना गर्छ, उसले बिगार्दैन भन्नेमा कवि काइँला ढुक्क छन् । त्यसैले त उनी भन्छन्, 'कवि-साहित्यकार बिगारसिङ होइनन्, रचना गर्ने साहित्यकार नराम्रा काममा लाग्दैनन् ।' तर, राजनीतिकर्मीमाथि भने उनको त्यति धेरै विश्वास छैन । सत्ता प्राप्तिका लागि जनता र आन्दोलनलाई माध्यम बनाउने नेतालाई त उनले हाकाहाकी 'बिगारसिङ' नै भनिदिए । 'सत्तालोलुपमा गएनन् भने मात्रै राजनीतिकर्मी निर्माण गर्ने रचनाकार हुन्,' काइँलाले भने, 'तर, हामीकहाँ नेताहरू सबै सत्ताको छिनाझम्टी र लुछाचुँडीमा उछिनपाछिन गरिरहेका छन् ।'


***


पाँचथर, इलाम, दार्जिलिङ र काठमाडौं हुँदै बैरागी काइँलाले तीनबीसे दस हिउँद-बर्खा खर्लप्पै निलिसके । उबेला उनमा कविता लेख्ने अर्कै जोस थियो, 'केही नयाँ गर्ने' उत्साह थियो । तर, दिन यसरी बित्दै गए, काइँलाको कविता-कर्म सुस्तायो । बरु उनी त लिम्बूको भाषा-संस्कृतिको खोज गर्ने र पुस्तक प्रकाशन गर्नेतिर लागे । तीन दशकसम्म उनले पुरानै आयामिक कविताको ब्याजमा 'कवि' पद पाइरहे । 'दुई वर्षअघि दुई/चारवटा कविता लेखेको छु,' हाँस्दै-हाँस्दै उनले भने, 'म यस्तै स्वभावको छु, एक वर्ष लेख्यो, धेरै वर्ष त्यत्तिकै बस्यो ।' तैपनि, आफूले वरिष्ठ साहित्यकारको परिचय पाइरहेकोमा उनी गमक्क परे । 'अब त म लेखे पनि साहित्यकार, नलेखे पनि साहित्यकार । सबैले मलाई साहित्यकार नै भन्छन्, म त लेखेर भन्दा पनि मन र मस्तिष्कले साहित्यकार भएको रहेछु ।'



०६२/६३ को परिवर्तनलगत्तै साहित्यिक बजारमा हल्ला थियो- प्रज्ञाप्रतिष्ठानको कुलपतिमा अब बैरागी काइँला जान्छन् । काइँला नै जानुपर्छ भन्ने आवाज पनि एउटा कोणबाट उठिरहेकै थियो । काइँलासहितका स्रष्टाहरूको सुझावमै प्रज्ञाप्रतिष्ठानको पुनर्संरचना गर्दै भाषा-साहित्य, ललितकला र नाट्य-संगीत गरी तीनवटा प्रज्ञाप्रतिष्ठान गठन गरिएका छन् । तर, अहिलेसम्म तीनवटै प्रतिष्ठानमा प्राज्ञसभा र प्राज्ञपरिषद् गठन हुन सकेको छैन । अघिल्लो सरकारको समयमा भएको 'प्रयत्न' पनि विफल भयो ।



फेरि बजारमा भाषा-साहित्य प्रज्ञाप्रतिष्ठानको कुलपतिमा बैरागी काइँलाकै नाममा तापक्रम बढ्दै छ । के छ कवि काइँलाको योजना ? प्रज्ञाप्रतिष्ठानतिर पाइला बढाउँदै हो ? 'बनाउनेले लैजान चाहन्नन्,' कवि काइँला त्यति उत्साही देखिएनन्, 'चाहना गर्ने साथीहरू होलान्, तर उनीहरूले बनाउन सक्दैनन् । फेरि चाहँदैमा सबै कुरा कहाँ पुग्छ र ?' प्रज्ञाप्रतिष्ठानमा जाने काइँलाकै चाहना छ कि छैन ? प्रतिष्ठानमा गएर फेरि पनि 'केही नयाँ गर्ने' योजना छ कि ? प्रश्न सुनेर बैरागीले टाउको हल्लाए, 'म एकेडेमीका लागि त्यत्ति योग्य छैन, अहिले म इच्छुक पनि छैन ।' उनले प्रतिष्ठान सम्बन्धमा कुनै योजना पनि सुनाएनन् । बरु आफू प्रतिष्ठानमा जानका लागि किन योग्य छैन भन्नेबारे तीनवटा बुँदा पेस गरे-


१. मेरो कमजोर स्वास्थ्य र बुढ्यौलीले साथ दिँदैन


२. मसँग काम गर्ने ऊर्जा र सक्रियताको कमी छ


३. काम गर्नका लागि मसँग कुनै भिजन नै छैन


बजारमा चिया गफ गर्नेदेखि राजनीतिको लेनदेन मिलाउनेसम्मले भाषा-साहित्य प्रज्ञाप्रतिष्ठानको कुलपति पदमा ठूलो ज्यानका पाका कवि बैरागी काइँला गजधम्म बसेको देखिसकेका छन् । 'अब काइँलै हो,' 'बैरागी काइँलाको विकल्पै छैन,' 'छिट्टै काइँला नियुक्त हुँदै छन्,' यस्ता दाबी दोहोरिइरहेका छन् । कतिले त उनलाई बधाइ पनि दिइसके । तर, उनी आफ्नो अयोग्यताको सूची बनाएर बसेका पो रहेछन् ।


सरकारले अनुरोध गर्‍यो वा नियुक्त गर्‍यो भने के गर्नुहुन्छ ? 'होइन, मेरो त्यत्ति जाँगर छैन,' काइँलाले 'त्यत्ति' शब्दमा जोडमात्रै दिएनन्, अलिकति लेघ्रो पनि ताने- 'त्य...त्ति... जाँगर छैन ।' उनले थपे, 'गइहाले पनि मैले फुर्तिसाथ काम गर्न सक्छु भन्ने मैलाई विश्वास छैन । भिजन बनाएर काम गर्न त झन् गाह्रो छ ।'


***


कवि काइँलामा अब उबेलाको जस्तो कविता लेख्ने जोस पनि छैन । बरु नातिसित खेल्नमा बेग्लै आनन्द छ । उनको बिहान पनि नातिसँगै सुरु हुन्छ र नातिसँग खेल्दाखेल्दै तारा उदाइसक्छन् । आँखाको समस्याले गर्दा त्यत्ति पढ्न पनि सक्दैनन् उनी । 'अहिलेको मेरो साथी एफएम रेडियो भएको छ,' उनको बुढेसकालको दोस्तको पनि अवगुण रहेछ, 'तर, एफएम रेडियोले पनि प्रत्येक घण्टा उही समाचार दोहोर्‍याउँछ । केही नयाँ भन्ला कि भन्यो, घन्टैपिच्छे उही खबर सुनाएर हैरान पार्छ ।' उनले बिहान नयाँ समाचार सुन्नुपर्‍यो भनेर हतारमा एफएम रेडियो खोल्दारहेछन् । विडम्बना, रेडियोले बेलुका जुन समाचार सुनाएको थियो, बिहान उही जस्ताको तस्तै दोहोर्‍याइदिन्छ । 'कतै दुर्घटना भएको रहेछ भने सुनाउला,' दिग्दार स्वरमा उनले भने, 'नत्र, हिजो बेलुकाकै समाचार सुनाउँछ ।' यी कविलाई लागिरहेको होला, बुढेसकालमा एफएम रेडियोले पनि सास्ती दिँदोरहेछ ।


अरू के कसरी बितिरहेका छन् त दिन ? 'दिन त्यसै पनि बित्दोरहेछ हौ भाइ,' ठट्यौलोपारामा उनी खित्खिताए, 'दिन बिताउने भनेर कुनै कार्यक्रम बनाउनै नपर्दोरहेछ । बिहान यही नातिसँग खेल्यो, यसैलाई स्कुल पुर्‍याउन गयो, दिउँसो यसै बस्यो, कहिलेकाहीँ कतै कार्यक्रमतिर गयो, बेलुका यही नातिलाई लिन गयो । यस्तैमा दिन बितिरहेछ ।' उनले यसो भनिरहँदा उनको नाति आङसान नेम्वाङ हजुरबाको वरिपरि फुत्रुङफुत्रुङ उफ्रिरहेको थियो । गत शुक्रबार काठमाडौं सुकेधारा हाइटको घरमा काइँला कुनै भावुक 'कवि' भन्दा मायालु हजुरबाजस्ता देखिएका थिए । झमक्क साँझ परेपछि फेरि भेट्ने बाचासहित हामीले हात जोड्यौँ । बुढेसकालमा पनि उनका आँखामा उस्तै जोसिलो चमक देखियो, जुन आँखाले साढे चार दशकअघि पर्वत चढेको सपना देख्थे । उनले लेखेका थिए-


घरभित्र पनि सिरान तला उक्लिँदा


डाँडाडाँडा अग्लो डिल भरेङको


प्रायःजसो म उक्लिन्छु,


आजकल सपनामा

Saturday, December 5, 2009

खलंगा, खुकुरी र फिरङ्गी

Bishow sogdel

उत्तराखण्डको मसुरीमा रहेको एक कलेजको लाइब्रेरी भोको मनले खोतल्दै थिएँ । पुराना ठेलीहरूको बीचमा चेपिएको 'खलंगा, खुकुरी और फिरङ्गी' (१९६२) पाएँ । खलंगा र खुकुरी शब्दले मलाई तानिहाल्यो । यी न्याना शब्दहरूले मलाई बालककालमा विद्यालयमा पढेको नालापानी किल्लाको कविता याद आयो । पैतालाको रगत शिरसम्म एकैझमटमा पुर्‍याउने त्यो कविता हामी खुव रस लिई-लिई वाचन गर्दथ्यौँ । केबी क्षेत्रीयको ऐतिहासिक उपन्यास खलंगा, खुकुरी और फिरङ्गी एकैबसाइमा पढेपछि आज जाउँला, भोलि जाउँला भन्दै पछि सर्दै गइरहेको बलभद्र कुँवरले वीरता देखाएको नालापानी किल्लाको अवलोकनका लागि साथ दिन समय मिलाउन अनुरोध गर्दै गोर्खा डेमोक्रेटिक पन्टका नगरअध्यक्ष आसु लामालाई फोन गरेँ । उनलेे सहर्ष स्वीकार गरेपछि भोलिको कार्यक्रम मनभरि लिएर सुतेँ ।

बिहानको चिसो हावामा हामी स्कुटर लिएर सहस्रधारा रोडतर्फ बढ्दै गयौँ । रिस्पना नदीको किनारमा भारतीय पुरातत्त्व विभागले संरक्षण गरिराखेको सहिद स्तम्भमा हामी रोकियौँ । विजेताले आफ्नो दिवंगत जनरल र बहादुर शत्रु गोर्खालीका सम्मानमा बनाइदिएको स्तम्भलाई आँखाभरि मैले सजाएँ । जनरल जिलेस्पी र बलभद्र कुँवरको सम्मानमा कुँदिएको ताम्रपत्र छातीमा बोकेर साथसाथ उभिएका दुई सेता स्तम्भ एक-अर्कासँग बोल्लान्-बोल्लान्, हाइहेल्लो गर्लान्-गर्लान् जस्तो लाग्यो । 'वीरले मात्र वीर शत्रुको सम्मान गर्न सक्छ,' आसुले आफ्नो लामो केश अनुहारबाट पन्छाउँदै सुनाए । मैले उनको त्यो मंगोलियन अनुहारमा वीर गोर्खालीको सन्तान हुनुको लालिमा देखेँ ।

त्यहाँबाट अगाडि बढेपछि नालापानी चोकबाट हामी बायाँ बढ्यौँ । केही क्षणपछि नालापानी खलंगा प्रवेशद्वार आयो । त्यसपछि स्कुटर सालको जंगलतर्फ उकालो लाग्यो । बिहानको कलिलो घाममा सालका अग्ला रूखहरू परेडका लागि लामबद्ध सिपाहीझैं देखिएका थिए । ती अग्ला सिपाहीझैं रूखहरूका छेउछाउका फुच्चाफुच्चा रूखहरू परेड हेर्दा उदेक मानिरहेका बालकझैं देखिएका थिए । जंगल शान्त थियो । सर्पजस्तै कालोपत्रे सडक चुपचाप । सन् १८१४ का दिवंगत वीरहरूका रगतले रंगिएको माटोलाई सुम्सुम्याउँदै अगाडि बढिरहेको थियो । अचानक स्कुटरको वेग कम गर्दै आसुले भने, 'यही पोखरीको छेउबाट अंग्रेजले तोपवषर्ा गरेका थिए ।' त्यहाँबाट मैले माथि डाँडामा हेरेँ । जो थाप्लाभरि सालका रूखहरू उभ्याएर हामीलाई हेरिरहेको थियो । केही अघि बढेपछि बाटोको बायाँपट्ट िएक हुल मानिस देखिए । तीमध्ये धेरैको टाउकामा नेपाली ढाकाटोपी सजिएका थिए । आसुले स्कुटर रोके । उनीहरू नोभेम्बर २९ र ३० मा हरेक वर्ष आयोजना गरिने 'खलंगा मेला'को तयारीका लागि मिटिङ बस्दै रहेछन् ।

'३० नोभेम्बर १८१४ मा वीर सेनानायक बलभद्र कुँवरले ७०/७५ सैनिकका साथ खलंगा छोडेका थिए । त्यसै दिनको यादमा हामीले यो मेला मनाउन थालेका हौँ,' अझै रातापिरा देखिने ११ गोर्खा राइफल्सका पूर्वसैनिक आलेज्यूले हामीलाई मेलाको ऐतिहासिकता बताए । 'इतिहास जोगाउन र छोरानातिलाई आफ्नो इतिहासमा गौरव गर्न सिकाउन केही हदसम्म यो मेलाले मद्दत गर्छ नै,' परबाट चड्का आवाजमा भादगाउँले टोपी लगाएका अधबैंसे कराए । म कृतज्ञ भएँ । टाउको हल्लाएर आल्हादित हुनुसिवाय मलाई केही सुझेन ।

बाटोका दुवैपट्टि अग्लाअग्ला धमिराका ढिस्काहरू थिए । तपस्वीझैं ठडिएका यी ढिस्काहरूभित्र हाम्रा पुर्खाका हाडखोर होलान्, हाम्रा इतिहासका खण्डहर होलान्, यस्तै सोचाइमा म हराएँ । वरिपरिका कालाकाला ढुंगाहरू सेन्ट्रीमा बसेका सिपाहीहरूझैं हामीलाई चनाखो भई हेर्दै थिए । डाँडालाई बायाँ पारेर घुम्दै हामी टुप्पामा पुग्यौँ ।

सालका रूखहरूबीच सानो सम्म चौरजस्तो भागलाई घेरेर सुन्दर स्तम्भ निर्माण गरिएको थियो । तीनकुना भएको स्तम्भको माथि तीनछेउमा तीनवटा चम्चमाउँदा खुकुरी आकाश ताक्दै ठडिएका थिए । २४ अक्टोबर १८१४ मा प्रथमपटक कर्नेल माँवीले आक्रमण गर्न सुरु गर्दा सायद गोर्खाली सैनिकका बलिया मुठ्ठीमा यसैगरी आकाश ताक्दै ठडिएका थिए होलान् चम्चमाउँदा खुकुरीहरू ।

जयकाली र आयो गोर्खालीको आवाजहरू घन्काउँदै मुठ्ठीभर जवान रहेसम्म पनि अंग्रेजको सातो खाएका नेपाली वीर लडाकुको सम्झनामा मैले स्तम्भको प्रदक्षिणा गरेँ । मनभित्र कता-कता के-के पग्लिएजस्तो लाग्दै थियो । विनापानी मरेका आइमाई, केटाकेटीका लासहरू यताउता छरिएका थिए होलान् । आफ्ना सन्तानजत्तिकै प्यारा सैनिक र आइमाई केटाकेटीको पानीको प्यासले पक्क खुलेको मुख हेर्दै कसरी युद्ध सञ्चालन गरिरहे होलान् बलभद्रले ? बारम्बार यी सोचाइहरू मनमा आइरहे । केबी क्षेत्रीयज्यूको उपन्यास सकिएको एक दिनपछिको यात्रा भएकाले युद्धको बीभत्स अन्तिम दृश्य आँखाअगाडि बारम्बार आइरहेको थियो ।

खुकुरी धनुवाँण, भाला, ढुंगा एउटा सानो जिंजल तोप र केही बन्दुकका साथ हिम्मत मनभरि समेटेर लगभग पाँच सय लडाकुले अत्याधुनिक हतियारले सुसज्जित भएको अंग्रेजका ४/५ हजार लडाकुलाई ३५/३६ दिनसम्म रोकेर राख्नु भनेको चानचुने कुरा होइन । त्यसमाथि ३१ अक्टोबरको हमलामा जनरल जिलेस्पी मारिएका थिए । त्यसपछि हतास कर्नेल माँवीले २५ नोभेम्बरमा मात्रै तेस्रो हमला गर्ने आँट गरे । त्यो पनि दिल्लीबाट अत्याधुनिक तोप र अरू थप सेना आइपुगेपछि । यिनै गौरवगाथालाई मनमा गुन्दै थिएँ । 'ला..... पश्चिमतिरको रेलिङ त कसले भत्काइदिएछ, फलामका डन्डी पनि चोरेर पो लगेछन्,' दुःख मान्दै एक्लै बोल्दै थिए आसु । 'मलाई कसैले मेरो घरको आफ्नै रेलिङ उखेलेर लगेजस्तो लाग्यो, भारतीय नेपालीले दुःख गरेर बनाएको चिनो,' उनले व्यथित हुँदै सुनाए ।

'अझै उता टायल फुटाएको छ, कस्ता-कस्ता मान्छे हुन्छन्,' अब म के भनौँ आसुलाई । संसार नै यस्तै छ । लोभीपापीले नै त भरिएको छ यो पृथ्वी । यस्तो जंगलमा, एकान्तमा चोरलाई सजिलो, अन्य बिगार गर्नेलाई पनि सजिलो भइगयो ।

हामीले एकछिन एक-अर्कालाई हेर्‍यौँ । घाम ठीक टाउकामाथि आइपुगेको थियो । 'यो स्तम्भ बनाउनुअघि यहाँ के थियो ? कुनै खण्डहर थियो ?' मैले प्रश्न गरेँ ।

'कहाँ हुनु नि, केही थिएन, केवल लिखित इतिहास थियो, त्यसैलाई पक्रेर यो स्तम्भ बनाएको ।'

'के विजेता-सभ्यता सबैतिर यस्तै हुन्छ ? खण्डहर पनि उजाड्ने, भग्नावशेष पनि उखेल्ने ?' म अलिक भावुक हुन पुगेँछु ।

* * *

सालका रूखका छहारीमा म बसेँ र देहरादुन सहर हेर्न थालेँ । चारैतिर जंगलले घेरिएको देहरादुन आफैंमा एक जंगल लाग्दथ्यो । देहरादुनको पछाडि शिवालिक पर्वतमाला लमतन्न परेर पसारिएको थियो । वरिपरिका डाँडाहरू नेपालका डाँडाकाँडा बिर्साउने थिए । 'अब जाऊँ क्यारे,' धुलो टक्टक्याउँदै आसु उठेे । म पनि चुपचाप उठेँ ।

घाममा उस्तैगरी चम्कँदै थिए खुकुरीहरू । मैले यताउति भुइँतिर हेरेँ । आसुका आँखा छली एउटा खस्रो ढुंगा खल्तीमा हालेँ । आहा ! यही ढुंगा शत्रुका टाउकामा बजि्रएको थियो होला । म खुसी भएँ एउटा गतिलो चिनो छानेकोमा । हामी खलंगाबाट तल र्झन थाल्यौँ । मेरा दिमागमा यसका विगत र वर्तमानका किरिङमिरिङ रेखाहरू मिल्दै छुट्टँिदै थिए । अनि मन वर्तमानदेखि अमिलिएर कुनै सुदूर लोकमा भाग्न चाहिरहेको थियो । तर, आँखाअगाडि झल्झली आइरहने खलंगाको स्तम्भले मनलाई तारन्तार सचेत गराइरह्यो । म मनमनै गुन्गुनाउन थालेँछु-

...रातलाई राखेर छेउमा

उसले सुस्ता, कालापानी

अनि नालापानीको पहिलो सूर्यास्त हेर्‍यो ।

sigbishwa@gmail.com

पुष्पलालले भन्नुभयो- तिमीलाई दुःख मात्र दिएँ

सहाना प्रधान नेपाली अग्रणी महिला नेत्री हुन् । उनका जीवनका कति कुरा प्रेरणाप्रद छन् । कति कुरा बडो दुःखप्रद पनि रहेछन् । सबैभन्दा राम्रो त जीवनको उकाली-ओरालीमा साहस र हिम्मतसाथ जुध्न सक्ने उनको क्षमता सम्पूर्ण नारीले मात्र होइन, पुरुषले समेत अनुकरण गर्न योग्य छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालकी जीवनसंगिनी सहानाको जीवन निकै संघर्षपूर्ण रह्यो । एमाले नेत्री सहानाको प्रत्यक्ष अनुभूतिमा कस्ता थिए होलान् पुष्पलाल ? उनी पुष्पलाललाई यसरी सम्भिmन्छिन्-

त्यो ००४ साल वैशाख १७ गतेको दिन थियो । हामी राणाविरुद्धको आन्दोलनमा सहभागी हुँदै थियौँ । त्यही दिन कमरेड पुष्पलालसँग मेरो पहिलो भेट भएको हो । मलाई त राजनीतिका धेरै कुरा थाहा थिएनन् । छोरीले पनि पढ्न पाउनुपर्छ भन्ने चेतनाले म र दिदी साधना राणाविरुद्धको आन्दोलनमा सहभागी भएका थियौँ । हाम्रो आन्दोलनको सफलतास्वरूप पद्मशमशेरले ००४ सालमा पद्मकन्या स्कुल खोलिदिए । यसैको विकसित रूप डिल्लीबजारस्थित अहिलेको कन्या स्कुल हो ।

स्कुल त खोलियो तर त्यहाँ प्राइमरी कक्षा मात्र चलाइन्थ्यो । सात कक्ष्ाासम्म त दिदी र मैले बर्मामै पढेका थियौँ । हामीलाई फेरि पढ्न समस्या भयो । पछि हामीलाई घरमै पढ्ने व्यवस्था मिलाइयो । मैले घरमै पढेर पनि टेस्ट परीक्षा पास गरेँ । यसरी मैले ००४ सालमा एसएलसी पनि पास गरेँ ।

साधना दिदी र म पढ्न लखनउ पुग्यौँ । त्यहाँ अमेरिकी मिसनरी 'इजावेला थोर्वन' कलेजमा हामी आइए भर्ना भयौँ । ००४ सालको आन्दोलनमा लागेर भेट भएदेखि नै पुष्पलालजीको मप्रति आकर्षण रहेछ । तर, मलाई त्यो कुरा थाहा थिएन । हुन त त्यस आन्दोलनमा पक्राउ परेर ब्यारेकमा १५ दिन हामी सँगै बसेका थियौँ । हातमा मसाल बोकेर हामी सँगै पनि हिँडेका थियौँ । त्यस आन्दोलनपछि उहाँ बनारस जानुभयो र नेपाली कांग्रेसको कार्यालयसचिव भएर काम गर्न थाल्नुभयो । म लखनउमा पढिरहेको वेला दुईपटक मलाई भेट्न आउनुभएको थियो । पढाइको सिलसिलामा म देशबाहिर पुगेकी हुनाले हाम्रो भेट हुन भने पाएन ।

**

कम्युनिस्ट पार्टीको स्थापनापछि पुष्पलालजी नेपालमा भूमिगत रूपमा आउनुभएको थियो । ००७ सालमा यता आउनुभएको वेला मलाई विवाहको प्रस्ताव राख्नुभयो । हामी दिदीबहिनीको विवाह गर्ने कुरा दिमागबाटै हटिसकेको थियो । मैले पुष्पलालजीलाई 'आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्छु' भनिदिएँ ।

००९ सालमा पार्टीको काममा हामी भारत जानलाग्दा पुष्पलालजी नेपाल आउन लाग्नुभएको रहेछ । त्यसैवेला उहाँसँग रेलमा फेरि मेरो भेट भयो । त्यसवेला प्रजापरिषद्सँग मिलेर जनतान्त्रिक मोर्चा निर्माण गर्ने कुरा लिएर उहाँ नेपाल आउन लाग्नुभएको रहेछ । हामी भारतमा एक महिना प्रशिक्षित भयौँ ।

त्यहाँबाट फर्केपछि पुष्पलालजीले फेरि विवाहको प्रस्ताव दोहोर्‍याउनुभयो । म फेरि आपतमा परेँ । म आफ्नै खुट्टामा उभिन सक्ने भइसकेकी थिएँ । तर, घरमा कसैलाई पनि मैले पुष्पलालजीसँग विवाह गरोस् भन्ने चाहना थिएन । त्यसवेला नेवारमा पाँचथरे र ६ थरे भन्ने चलन थियो । पुष्पलालजी पाँचथरे र म ६ थरे पर्‍यौँ । हाम्रो जात पनि मिलेन । त्यसमाथि पनि पुष्पलालजीको परिवारमाथि गहिरो आर्थिक संकट थियो । उहाँको परिवारमाथि राजनीतिक रूपले पनि प्रशासनको आँखा परेको थियो । छोरीले दुःख पाउँछे भनेर परिवारले हाम्रो विवाह स्वीकार नगरेको हो । यसैबीच पुष्पलालजीको सबै सम्पत्ति सरकारले जफत पनि गर्‍यो । विवाहको कुरा चलेपछि हाम्रो घरमा पूरै विरोध भयो ।

साधना दिदीको मनमोहनजीसँग प्रेमसम्बन्ध थियो । तर, उहाँ बाहुन भएको र अरू कुरा पनि ठीकै भएकाले त्यति समस्या थिएन । उहाँहरू हाम्रो नै पहिला विवाह होस् भन्ने चाहनुहुन्थ्यो । पार्टीबाट 'जसरी पनि हामीले विवाह गर्नैपर्छ' भन्ने निर्णय आयो । म पनि विवाह गर्ने निर्णयमा पुगेँ । मेरो परिवारको स्वीकृति भने थिएन । विवाहमा पुष्पलालजीको सबै परिवार आएको थियो । मेरो परिवारबाट भने कोही पनि सहभागी भएन । त्यो ०१० साल माघ २ गतेको दिन थियो । मेरोभन्दा ८/९ महिनापछि साधना दिदीको मनमोहनजीसँग विजेश्वरीमा विवाह भयो । त्यसवेला बुबा, आमा सबै उपस्थित हुनुहुन्थ्यो ।

**

पुष्पलालजीको घरको आर्थिक अवस्था निकै कमजोर थियो । त्यसको असर मलाई पनि पर्ने नै भयो । विवाहभन्दा पहिले जस्तो म स्वतन्त्र रूपले राजनीतिमा लाग्न पाइनँ । बुहारी भइसकेपछि छुट्टै बोझ थाप्लोमा आइपर्दोरहेछ ।

०११ सालमा छोरी उषा जन्मिँदा नेपालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थियो । पार्टी भूमिगत थियो र पुष्पलालजी पनि भूमिगत हुनुहुन्थ्यो । छोरीको हेरचाहले गर्दा पार्टीमा मेरो भूमिका बिस्तारै कम हुन थाल्यो । विवाहपछिको जीवन मलाई अनौठो लाग्दै गयो । एक किसिमको जीवनबाट अर्को कुनै संसारमा पुगेँछु भन्ने लाग्यो । पार्टीको मिटिङमा जाँदा परिवारबाट निकै आलोचना व्यहोर्नुपथ्र्यो । कतिपटक म भागेर पनि मिटिङमा गएकी छु । मलाई ससुराले भने माया गर्नुहुन्थ्यो । पार्टीको काममा सहयोग पनि गर्नुहुन्थ्यो । नत्र त परिवारसँग डराइडराई राजनीति गर्नुपथ्र्यो । मेरो राजनीति र पुष्पलालजीको भूमिगत राजनीतिलाई हाम्रो संयुक्त परिवारले त्यति रुचाएन । अन्ततः हामी छुट्टयिौँ । अब राजनीति मैले चटक्कै छाड्नुपर्‍यो । नचाहँदा पनि राजनीति छुट्यो ।

**

पुष्पलालजी साह्रै नम्र स्वभावको मान्छे हुनुहुन्थ्यो । घरमा मात्रै होइन, बाहिर पनि उहाँ उत्तिकै नम्र हुनुहुन्थ्यो । उहाँ नारी वर्गमाथि आदरभाव राख्नुहुन्थ्यो । हामी सगोलमा बस्दा स्वास्नीमानिसले अबेर खाना खाएको उहाँलाई मन पर्दैनथ्यो । त्यसको विरोधमा उहाँ सधैं बोल्नुहुन्थ्यो । घरमा सबै बुहारीले पढेका थिएनन् । उनीहरूलाई पनि पढ भन्नुहुन्थ्यो ।

त्यसवेला नेपालमा प्राथमिक शिक्षाअन्तर्गत शिक्षकलाई दिइनेे निर्मल स्कुलको तालिम खुल्यो । त्यो निर्मल तालिममा अमेरिकनहरूको पनि सहयोग थियो । नेपाल र अमेरिकाको संयुक्त लगानीमा त्यो तालिम सुरु गरिएको रहेछ । मलाई तालिम लिन वीरगन्ज पठाइयो । त्यसवेला पार्टीको काम पनि गर्नु पर्दैनथ्यो । वीरगन्ज पुगेपछि मैले पिंजडाबाट फुत्केको चराजस्तो स्वतन्त्र भएको अनुभव गरेँ ।

त्यताबाट फर्केर म इलाम गएँ । इलाम जाँदा पुष्पलालजी काठमाडौंमा हुनुहुन्नथ्यो । म गर्भवती पनि थिएँ । न हवाईजहाजको व्यवस्था थियो न त बसकै । वीरगन्ज र इलामको वातावरण धेरै फरक थियो । इलामबाट चाँडै र्फकनुपर्ने भएकोले मलाई अलिकति नमज्जा पनि लाग्यो । पुष्पलालजी पो मलाई लिन आउनुभएछ । हामी दुईजना मात्रै केही समयका लागि प्रकृतिसँगै हराएका थियौँ । र्फकंदा पनि हामी सँगै भयौँ । त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ । त्यस्तो रमाइलो फेरि जीवनमा दोहोरिएन पनि ।

ससुरा पढेकी बुहारी भनेर मप्रति गर्व गर्नुहुन्थ्यो । साह्रै माया पनि गर्नुहुन्थ्यो । कहिलेकाहीँ उहाँ 'सहाना मलाई अंग्रेजी अलिअलि सिकाइदेऊन' भन्नुहुन्थ्यो । म पनि सिकाइदिन्थेँ ।

हामी छुट्टिएर बस्न थालेपछि पनि म ससुरालाई भेट्न हप्ताको एकपटक पुग्थेँ । जाँदा ससुरा हुक्का तान्दै बस्नुभएको हुन्थ्यो । म पुग्नासाथ सासूलाई बोलाउँदै 'ल यहाँ सहाना आइन्, लौ-लौ चकटी हालिदेऊ' भन्नुहुन्थ्यो । उहाँ मलाई एकदमै सम्मान गर्नुहुन्थ्यो ।

मेरी जेठानी हसिना भाउजू (सहिद गंगालालकी पत्नी) मलाई असाध्यै माया गर्नुहुन्थ्यो । मलाई सधैं पढ्न हौस्याउनुहुन्थ्यो ।

शिथिल पार्टी र पुष्पलाल

मैले त पार्टीको काम गर्न छोडिसकेकी थिएँ । पार्टीमाथिको बन्देज हटेको हुनाले ०१३ सालमा अर्धसरकारी जागिर खाएँ । आर्थिक कठिनाइका कारण घर चलाउन निकै गाह्रो थियो । ०१५ सालको चुनावमा पुष्पलालजी कम्युनिस्ट पार्टीबाट, गणेशमानजी कांग्रेस पार्टीबाट उठ्नुभएको थियो । पुष्पलालले चुनाव हार्नुभयो । ललितपुरबाट तुल्सीलाल अमात्यले कम्युनिस्ट पार्टीबाट चुनाव जित्नुभयो । ०१७ सालमा राजा महेन्द्रले गरेको फौजी काण्डपछि सबै पार्टीमाथि प्रतिबन्ध लाग्यो । त्यसपछि पार्टीको काम खुला रूपमा गर्न सम्भव थिएन । पुष्पलालजीसँग ०१७ सालपछि एक वर्षको दौरानमा ४/५ पटक मात्र भेट भएको थियो । पार्टीमाथि प्रतिबन्ध लागेपछि सबैतिर अस्तव्यस्त भयो ।

०१७ साल पुस १ गते बिहान । काठमाडौंको गणेशथान पुग्दा केही मान्छे आएर पुष्पलाललाई खासखुस कुरा गर्दै लिएर गए । मैले केही थाहा पाइनँ । पुष्पलालजीलाई साथीहरूले प्रशासनबाट लुकाउन लिएर गएका रहेछन् । त्यसपछि फेरि उहाँ भूमिगत बस्नुभयो । यसबीच २/३ पटक घरमा पनि आउनुभयो । घर आउनुभएको वेला एकपटक झन्डै पक्राउ पनि पर्नुभएको थियो ।

०१८ माघमा उहाँ भारत जानुभयो । म यतै व्यस्त भएँ । म महिनाको एकपटक पुष्पलालजीलाई भेट्न भारत पुग्थेँ । महिनामा ५/६ दिनमात्र सँगै बस्न पाइन्थ्यो । पुष्पलाललाई भेट्न जान्छे भनेर सरकारतर्फका मानिसमा चर्चा हुन्थ्यो । गुप्तचरहरू अघिपछि लाग्थे । यो क्रियाकलाप १५/१६ वर्ष रह्यो । भारतमा जाँदा अनेकौँ मान्छे भेट्न पनि आउँथे । बिपीलगायत अरू नेताहरूलाई पनि म भेट्न जान्थेँ । ०३३ सालमा जब राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी नेपाल फर्के, त्यसवेला पुष्पलाललाई पनि नेपाल आउन दबाब दिइएको थियो । तर, उहाँ आउनुभएन ।

भारतमा पुष्पलालजीको बसाइ एकदमै दुःखी थियो । कोठा सुख्खा हुन्थ्यो । फोहोर पनि हुन्थ्यो । खाना पनि पर्याप्त हुँदैनथ्यो । म कहिलेकाहीँ उता पुगेको वेला कोठा सफा गरिदिन्थेँ । यता नेपाल फर्किने वेला १०/१५ दिनका लागि पुग्ने दाल-चामलको जोहो गरिदिएर आउँथेँ । कहिलेकाहीँ भारतका सिआइडी पुष्पलाललाई पैसा र अन्य सुविधा दिएर 'बिपी सानसौकतमा बसेका छन्, तिमी पनि उसैगरी बस' भनेर फकाउँथे । तर, उहाँले कहिल्यै पनि आफ्नो इमानमा सम्झौता गर्नुभएन ।

**

हाम्रो घरको आर्थिक अवस्था कहिल्यै सुधि्रएन । म शिक्षिका न थिएँ । धेरै वर्ष अध्यापन गरेँ । त्रिचन्द्र कलेज, पोखराको पृथ्वीनारायण क्याम्पसहरूमा लगातार पढाएँ । पद्मकन्या कलेजमा पनि १० वर्ष पढाएँ । मलाई त्यहाँबाट उँभो चढ्नुपर्छ भन्ने थिएन । यी सब भइरहेको वेला ०३२ सालको विद्यार्थी आन्दोलनलाई सघाएको आरोपमा त्यही वर्षको भदौमा मलाई जागिरबाट निष्कासित गरियो । मैले त्रिचन्द्र कलेजमा ०१८ सालदेखि पढाउन थालेकी थिएँ । मेरो जागिर पनि गएपछि त हाम्रो घरको अवस्था झनै नाजुक भयो । मैले जागिर छोड्दा त्रिविको आवासगृह पनि छोड्नुपरेको थियो । घर खाली नभएको कारणले छोराको साथीको घरमा गएर पनि बसियो । त्यसवेला आफन्तले पनि सहयोग गरेनन् । त्यसपछि मैले केही समय ट्युसन पढाएर घरको आर्थिक अवस्थाको भरथेग गरेँ ।

अन्तिम अवस्थामा पुष्पलाल

यहाँ बस्न दिक्क लागेर म बनारस लागेँ । पुष्पलालजीसँग पनि भेट्न म उता पुगेकी थिएँ । उहाँसँगै भेटघाटमा हामी आसाम, गुहाटी, लखनउ, दिल्ली आदि ठाउँ घुम्यौँ । त्यसपछि अचानक पुष्पलालजी बिरामी हुनुभयो । त्यसवेला पार्टीको स्थिति पनि राम्रो थिएन । उहाँ बिरामी भएको वेला हेर्न धेरै मानिस आए । भारतीय नेता चन्द्रशेखर पनि उहाँलाई हेर्न आए । बिस्तारै उहाँको अवस्था नाजुक भयो । मेरो जन्मदिन आउँदै थियो । भोलि बिहानै अस्पताल आउँदा पुष्पलालले 'ह्याप्पी बर्थडे सहाना' भन्नुभयो । मैले 'धन्यवाद' भनेँ । त्यसवेला मेरो आँखामा आँसु टिल्पिलाएको थियो । सायद त्यो आँसु गाला हुँदै तलतिर झर्‍यो ।

त्यसको एक हप्तापछि म बिहानै आइसियूमा पल्टिइरहेका पुष्पलाललाई भेट्न पुगेँ । उहाँको अनुहार फुंग उडेको जस्तो लाग्यो । म बेडनजिक पुग्दा उहाँका आँखा रसाएका थिए । उहाँ पीडाले हुँ-हुँ गरिरहनुभएको थियो । सास बढेको छ । अनुहार फुंग उडेको छ । मैले हेर्न सकिनँ । म पनि निकै रोएँ छु । केहीछिनपछि मलाई मात्र भित्र बोलाइयो । मलाई देख्नासाथ उहाँले अक्सिजनको मास्क झिक्नुभयो । मलाई हेर्दै स्वाँ-स्वाँको आवाजसाथ उहाँले भन्नुभयो, 'सहाना..ति..मीलाई..मैले दुःख मात्र दिएँ, ति..म्रो..निमित्त केही गर्न सकिनँ । अब... अगाडिका कामहरू पक्कै पनि...तिमीले गछ्र्यौ होला ।' सास धेरै बढ्यो, मैले हतारहतार अक्सिजन मास्क लगाइदिएँ । उहाँले बडो कष्टसँग बोलेको मैले हेर्न सकिनँ । त्यहीवेला गिरिजाप्रसादसँग ४/५ जना कांग्रेसका साथी उहाँलाई भेट्न आए । केहीबेरमा डाक्टरले 'हि इज नो मोर' भनेर घोषणा गरे । यो ०३५ साउन ७ गतेको कुरा थियो ।

त्यसै दिनदेखि म विधवा बनेँ । दागबत्ती दिन छो
रा उमेश आएका थिए । पुष्पलालजीको तेह्राँ दिनको काम सकेपछि अरू बनारसबाटै नेपाल फर्किए । म दिल्ली आएँ । दिल्लीको एक रातको बसाइपछि म नेपाल फर्किएँ । त्यसपछि म कहिल्यै फर्केर बनारस गइनँ ।

Saturday, November 7, 2009


गान्धीलाई भेट्दा शुक्रराजको ज्यान गयो
ब्राह्मण भएका कारण राणाहरूले मृत्युदण्ड नदिएका प्रजापरिषद्का संस्थापक सदस्य जिउँदा सहिद रामहरि शर्माको संघर्षका नालीबेली:
उहिलेको पढाइ नै तगडा । चार/पाँच कक्षामा पढ्ने विद्यार्थी विश्व-राजनीतिको जानकारी राख्ने हुन्थ्यो । अहिले चार/पाँच कक्षामा पढ्नेहरू गाईमाथि राम्रो निबन्ध लेख्न सक्दैनन् । तीन वर्ष पनि नपुगी स्कुल जान थाल्छन् अचेल नानीहरू । नर्सरी, केजी, युकेजी के हो के के ? हाम्रा पालामा त दस वर्ष नपुगुन्जेल स्कुलको अनुहारै देख्न पाइँदैनथ्यो । म दरबार हाईस्कुलमा दुई कक्षामा भर्ना हुँदा तेह्र वर्षको थिएँ । यो विसं. १९८५ को कुरा हो । मेरा कति स्कुलेसहपाठी त जुँगामुठे थिए । अझ कोही त छोराछोरीका बाउ पनि ! चार कक्षामा पढ्दै गर्दा मेरो पनि बिहे भयो । म पन्ध्र वर्षको, दुलही दस वर्षकी । त्यतिबेला विवाह गर्ने आइडिएल एज (आदर्श उमेर) केटाको तेह्र र केटीको दस वर्ष हुन्थ्यो । कथंकदाचित् केटीको पन्ध्र वर्ष पुगेर पनि बिहे भएन भने त्यसका बाउआमा भुंग्रोमा परेको माछाझैं छटपटाउन थाल्थे । कालबेलै त्यस्तो थियो, अहिलेका मान्छेलाई दन्त्यकथाजस्तो लाग्ने !
त, पढाइको कुरा गर्दै थिएँ म । रातोमाटोको घोलमा सिन्का चोपेर धुलौटोमा क ख ग लेखेर मेरो शिक्षा आरम्भ भएको थियो । बाँसको खपटामा कमेरो-पानीले पनि लेखियो । अहिले जस्तो कापी, कलम कहाँ पाउनु ! बाजे यदुनाथ नेपाल मेरो पहिलो गुरु । गोठाला जाँदा उहाँ मलाई संस्कृतका श्लोकहरू घोकाउनुहुन्थ्यो । दस वर्ष पुग्दानपुग्दै म चण्डी, दुर्गाकवच, रुद्री पाठ गर्न सक्ने भइसकेको थिएँ । दरबार हाईस्कुलमा कक्षा दुईमा भर्ना हुनुअघि ६/७ महिना टंकप्रसाद आचार्यसँग अंग्रेजी पढेको थिएँ । उहाँ मभन्दा चार वर्ष जेठो हुनुहुन्थ्यो । किशोरावस्थादेखि नै परिपक्व हुनुहुन्थ्यो ।
अघि नै भनेँ नि, पाँच कक्षामा पढ्ने भए पनि देश र दुनियाँको 'क्रिटिकल एनालाइसिस्' गर्न सक्ने भइसकेका थियौँ हामी । साँझपख हाम्रो टोली -यसमा टंकप्रसाद आचार्य, जीवराज शर्मा र मलगायत ५/६ जना थियौँ) गुह्येश्वरीमाथिको जंगलमा फ्रान्सेली क्रान्ति, बोल्सेभिक क्रान्तिको गफ चुटिरहेको हुन्थ्यो । हरेक दिन चल्थ्यो हाम्रो कोणसभा । 'फलानो फलानो देशमा यस्ता यस्ता क्रान्ति भइसके, हाम्रो देशमा जहानियाँ राणाशासनविरुद्ध जनता चुँक्कसम्म गर्दैनन्, अब क्रान्ति नगरी एक हुन्न, दुई हुन्न, तीन हुन्न'- हाम्रा गफ भने पनि, बहस भने पनि यस्तै हुन्थे । यसरी क्रान्तिकारी कुरा गरेर दुई/तीन वर्ष बिताइयो । यसलाई क्रान्तिको पूर्वतयारी भन्न सकिन्थ्यो जस्तो लाग्छ मलाई ।
सिर्जनशील भुइँचालो
भूकम्प भन्नेबित्तिकै यसको संहारकारी चरित्र मात्रै सामुन्ने आउँछ । तर, विसं. १९९० साल माघ २ गतेको महाभूकम्पपछि मलाई भूकम्पको सिर्जनाशक्तिको अभूतपूर्व ज्ञान भयो । भूकम्पले भत्काउने मात्रै होइन, बनाउने पनि रहेछ ।
भुइँचालो गएको समय म चारखाल अड्डामा थिएँ । दिनको २ जति बजेको थियो क्यार । चारखाल अड्डा हल्लिन थाल्यो । मान्छेहरू अड्डाको झ्यालबाट हामफाल्न थाले । अड्डाको एक पाखो गर्लम्मै ढल्यो । तीन मिनेट जति हल्लायो भुइँचालाले । सडकमा निस्किएर हेर्छु त पूरै सहर धुलोको कुहिरीमण्डलभित्र छोपिएको थियो । धेरै घर भुइँमा च्यापु जोत्न पुगेका थिए । खोकनामा त यौटै घर पनि सद्दे बचेको थिएन । धरहरा तीन टुक्रा भएको थियो । घन्टाघर धुलिसात् भएको थियो । टुँडिखेलमा तीन सहर नेपालका मान्छेहरू जम्मा भएका थिए । पाल टाँगेर मान्छेहरू बसेको टुँडिखेल शरणार्थी शिविरजस्तो देखिएको थियो ।
यस महाभूकम्पले जनतालाई खण्डहरमाथि उभिएर आफ्नाबारे सोच्न बाध्य पारेको थियो । उनीहरूलाई आफ्नो निरिहताको पूर्णबोध भएको थियो । त्यसमाथि, राहत र उद्धारमा राणा हुकुमतले देखाएको उदासीनता, गैरजिम्मेवारी र फट्याइँले जनता, विशेषगरी विद्यार्थी वर्ग, आक्रोशित भएको थियो । भूकम्पपीडितका लागि आएको विदेशी अनुदानसमेत राणाले नराम्ररी हिनामिना गरेका थिए । भूकम्पपीडितलाई राहतका नाममा 'कर्जा' दिइएको थियो । नब्बे सालको महाभूकम्पले तत्कालीन नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण पृष्ठभूमि निर्माण गरिदिएकाले एक प्रकारले यो वरदान सावित भयो । सबथोक भत्केकाले जनतामा अब केही नयाँ बन्नुपर्छ/बनाउनुपर्छ भन्ने चेतना आएको थियो ।
बाँचे पृथ्वी, मरे स्वर्ग
राजनीतिक पार्टी स्थापना गरेर राणाशासनविरुद्ध लड्ने दृढअठोट गरेपछि विसं. १९९३ सालमा प्रजापरिषद् गठन गरियो । टंकप्रसाद आचार्य, धर्मभक्त, दशरथ चन्द, जीवराज शर्मा र म गरी जम्मा पाँच सदस्य भएको पार्टी थियो यो । राजा त्रिभुवनका स्वास्थ्यसेवक कम्पाउन्डर चन्द्रमान छैटौँ सदस्य थिए । तीन वर्षसम्म हाम्रो पार्टी सीमित सदस्यहरूबीच वैचारिक चिन्तन-मननमै अल्भिmयो । ठोस कार्यक्रम केही गर्न सकेन । न हामीले धेरै सदस्य बनाउन सक्यौँ । यस अवधिमा जम्माजम्मी दुई दर्जनजति सदस्य भएछन् हाम्रो पार्टीको । राजनीतिक चेतना कुन पक्षीको नाम हो थाहा नहुने समयमा, राणाविरुद्ध एकस्वर उराले सोझै कालको मुखमा पर्ने समयमा पार्टीको सदस्य विस्तार गर्नु साह्रै जोखिमको काम थियो । तीन वर्ष यताउति गरेर बित्यो । हामीमा भइसकेको चेतनाको विस्फोटले अब हामी हात बाँधेर बस्न सक्ने स्थितिमा रहेनौँ । विसं.१९९६ को अन्त्यतिर हामीले पार्टीको प्रमुख एजेन्डा बनायौं- राणाशाहीविरुद्ध जनचेतना जगाउने । यसका लागि पर्चा-आन्दोलन गर्ने निर्णय गरियो । टंकप्रसादजीले यसै साल पर्चा छाप्न भारतबाट लिथो मेसिन ल्याउनुभयो ।
चारथरी पर्चा तयार गरियो । सीधै राणाहरूलाई चुनौती र चेतावनी दिइएको एकथरी र राणाशासनको विरोधमा उत्रिन जनतालाई आग्रह गरिएका तीनथरी । हामीमध्ये सबभन्दा सुन्दर ह्यान्ड-राइटिङ टंकप्रसादजीको थियो । त्यसैले पर्चा लेख्ने काम उहाँले गर्नुभयो ।
विसं. १९९७ असार ९ गते घोडेजात्राको रात पर्चा छर्‍यौँ । यसरी सुरु भयो पर्चा आन्दोलन । जावलाखेल, डिल्लीबजार, बूढानीलकण्ठ, भक्तपुर आदि मुख्य-मुख्य ठाउँमा पर्चा छर्नका लागि चार समूह बनाइएको थियो । पर्चा-आन्दोलन जोडतोडका साथ चल्यो । हामी सम्साँझै पर्चा छर्न पनि हिँड्यौँ । 'बाँचे पृथ्वीमा भोग गरूँला, मरे स्वर्ग जाऊँला' भन्ने विश्वास लिएर क्रान्तिको बलिवेदीमा होमिएका थियौँ हामी । त्यसैले मृत्युको भय थिएन । भागवत् गीतामा श्रीकृष्णले अर्जुनलाई त्यसै भनेका छन्- 'बाँचे पृथ्वीमा भोग गरौला, मरे स्वर्ग जानेछौ ।' यस भावको संस्कृत श्लोकलाई हामीले पर्चामै राखेका थियौँ-
हतो वा प्राप्स्यसी स्वर्ग जित्वा वा भोक्षसे महीम्
तस्मादुत्तिष्ट कौन्तेय युद्धाय कृतिनिश्चयः ।
तीन महिनासम्म चल्यो पर्चा-आन्दोलन । तर, घोडेजात्राको भोलिपल्ट नै हाम्रा पर्चाले राणाहरूमा भुइँचालो ल्याइसकेको थियो । उनीहरूको सातोपुत्लो उडेको थियो । उनीहरूलाई ठाडै हाँक दिन दुष्साहस गर्ने नमकहराम 'रैती'हरूलाई त्रिलोक-चौध भुवन पुगेर भए पनि नखोजी र सुलीमा नचढाई नछाड्ने संकल्पका साथ राणाहरूले छ्याप्छ्याप्ती फिँजाएका थिए आफ्ना सिआइडीहरू । प्रजापरिषद्का सदस्यहरू सशस्त्र र धेरै छन् भन्ने भ्रममा परेकाले हाम्राे खोजीमा राणाशासनले भएभरको तागत लगाउन थालेको थियो । अन्ततः वाक्पतिराज शास्त्रीले पार्टीप्रति गद्दारी गरे । उनी शुक्रराज शास्त्रीका सहोदर भाइ हुन् ।
ज्यानमाराहरूसँगको बसाइ
म १९९७ साल कात्तिक ३ गते पक्राउ परेँ । प्रजापरिषद्का सदस्य तथा सर्वसाधारण गरी डेढ सयभन्दा बढीलाई पक्राउ गरियो । टंकप्रसादजी, दशरथचन्द, धर्मभक्त, गणेशमानसिंह, गंगालाल, चुडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय, मलगायत करिब तीन दर्जनजतिलाई तीन महिनासम्म सिंहदरबारमा राखे । श्री ३ जुद्धशमशेर हर्ताकर्ता भएको सैनिक अदालतले हरेक दिन केरकार गर्थ्यो । बन्दीहरूलाई बाँधेर कोर्रा ठोकिन्थ्यो ।
गंगालालले सबभन्दा बेसी कुटाइ खाए । दशरथचन्द मापाका थिए । जति चुटे पनि दब्दै नदब्ने । हिन्दी भाषामा कुराकानी गर्ने उनी राणाहरूलाई हाकाहाकी भन्ने गर्थे- 'तुम लोगोंको जितना अत्याचार करना है करो । हम जरुर बदला लेंगे । अगर मर भी गए तो प्रेत बनके आएंगे और तुम राणाओको खाजाएंगे ।' हुनुसम्मका साहसी थिए उनी । तीन महिनापछि हाम्रो भाग्यको फैसला भयो । दशरथचन्द, धर्मभक्त, गंगालाल र शुक्रराज शास्त्रीलाई मृत्युदण्डको फैसला सुनाइयो । शुक्रराज शास्त्री प्रजापरिषद्का सदस्य थिएनन् । भारतमा गएर महात्मा गान्धीलाई भेट्नु र गान्धीलाई नेपालको राजनीतिक र सामाजिक स्थिति ठीक छैन भन्नु उनको 'जघन्य' अपराध थियो ।
टंकप्रसादजी र मलाई चाहिँ मनुस्मृतिले बचायो । मनुस्मृतिले ब्राह्मणको हत्या गर्नु हुँदैन भनेको छ । हामीलाई सर्वस्वहरणसहित चारपाटा मुड्ने सजाय तोकियो । राणाहरूले मनुस्मृतिको अक्षरशः पालना गरेर हाम्रो प्राण त लिएनन्, तर चारपाटा मुडेपछि डाँडा कटाउनुपर्ने परम्परा भने तोडिदिए । १९९७ साल माघ १६ गते मुडीदामल (चारपाटा मुड्ने) गरेर हामीलाई भद्रगोल जेलमा लगियो ।
भद्रगोल जेलमा हामी बत्तीस राजबन्दीलाई अलग्गै राखिएका थिए । हाम्रो टोलीमा कविहरू सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित पनि हुनुहुन्थ्यो । सितारवादक भूपालसिंह प्रधान पनि हुनुहुन्थ्यो । कला र प्रतिभाको संगमस्थल भएको थियो भद्रगोल जेल । जेलको एकनासे निरस जीवनमा कहिलेकाहीँ सितार, तबला र हार्मानियको संगीतले रस भरिदिन्थ्यो । अनि, कहिलेकाहीँ कवितागोष्ठीले जेलै कम्पयमान गराउँथ्यो । जेलमा मैले खुब पढेँ । हामीलाई भेट्न आउनेहरूले लुकाएर किताबहरू ल्याइदिन्थे । मैले अकबर वीरबल किस्सादेखि साम्यवादका त्रि-देव (माक्र्स, लेनिन, स्टालिन) का कृतिसम्म पढेँ । पढ्नका लागि जेलजति उपयुक्त ठाउँ अरू हुँदैन कि जस्तो पो लाग्छ मलाई त ।
पछि, २००३ सालतिर टंकप्रसादजी र मलाई गोलघरमा सारियो । ज्यानसजाय पाएका ज्यानमारालाई १८ महिनासम्म राखिने ठाउँ थियो त्यो गोलघर । साँघुरो, चिसो र अस्वस्थकर हुन्थ्यो गोलघर । काट्नुपर्ने ज्यानमारालाई राखिने ठाउँ के खाएर गतिलो हुन्थ्यो । त्यहाँ हामीसँग अरू ६ जना थिए । सबै ज्यानसजाय पाएका ! दुईजना उतिबेलाका कुख्यात डाँका पनि थिए- कबे दमाई र हीरे कामी । हीरे कामीले मान्छे लगाएर हामीलाई दुई पाथी जति घ्यूको व्यवस्था गरिदिएको थियो । एक माना चामल, एक मुठो दाउरा र एक पैसा सिदा पाउनेले कसरी त्यत्रो घ्यूको व्यवस्था गर्न सक्यो होला भनेको त मोरोले डकैती गरेर कमाएको २५ हजार भारु कम्मरमा बाँधेको रहेछ । २००५ सालमा ऊ अरू दुई/तीनजनासित जेलबाट भाग्यो ।
केवल सत्ताका लागि गरिने आजको राजनीति
२००७ साल माघ ११ गते हामी जेलमुक्त भयौँ । हामीलाई हेर्न टुँडिखेलमा लाखौँ मान्छे जम्मा भएका थिए । त्यही वर्ष फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो । त्यति धेरै संघर्ष गरेको, क्रान्तिको विगुल फुकेको, जनचेतनाको बीउ छरेको, त्यस्तो गरिमामय इतिहास बोकेको पार्टी प्रजापरिषद् आज इतिहासका पन्नामा मात्रै सीमित छ । नैतिकता, चरित्र र मूल्यमा आधारित राजनीति नै यसको मूल मान्यता थियो । हामीले कहिल्यै राजनीतिका नाममा अन्धाधुन्ध संगठन विस्तार गरेनौँ । आचरणलाई राजनीतिको केन्द्र मान्यौँ ।
आज मूल्य र मान्यतामा आधारित छैन राजनीति । सत्ता, सत्ता र मात्र सत्ता, आज राजनीति सत्ताबाहेक अरू केही सोच्न नसक्ने भएको छ । देश र जनता तपसिलका कुरा भएका छन् ।

Saturday, October 24, 2009


भक्तबहादुर भर्सेस सरूभक्त
सङ्गीतस्रोता
म जुनबेलादेखि सरूभक्त भएँ, त्यहीँदेखि विवाहको प्रश्न अन्त्य भयो । अब त्यो वैवाहिक जीवनको यात्रा मैले छोडिसकेको छु । विवाह गर्ने, घरगृहस्थी चलाउनेहरुको मानसिकता अलि बेग्लै प्रकारको हुन्छ । मैले त्यसप्रकारको मानसिकता त्यागिसकेँ ।
पोखरा बागबजारका भक्तबहादुर श्रेष्ठलाई आजभोलि बागबजारमै पनि 'भक्तबहादुर' नामले बोलाइन्न । ०३५/३६ सालतिर भक्तबहादुर 'सरूभक्त' भएका थिए । उनी आफैले आफ्नो नाममा हेरफेर गरेपछि अरूले पुरानै नाममा बोलाउने कुरै भएन । बजारमा भन्नेहरू त भन्छन्, प्रेममा असफल भएपछि भक्तले नाम नै सरूभक्त राख्यो । तर, सरूभक्त यसबारे प्रस्ट बोल्न अन्कनाउँछन् । 'म मेरो नामको कुनै व्याख्या-विश्लेषण गर्न चाहन्नँ,' लामो कपाल हल्लाउँदै सरूभक्तले भने, 'हुनलाई म सरूकै भक्त हुँ ।
यो नाम नै मेरो आत्मकथा हो । त्यसभन्दा बढी म केही भन्न चाहन्नँ ।'
लौ, फसाद ! सरूभक्तको प्रेमकथा उधिन्ने उद्देश्यले भेट्न खोजिएको हो । तर, उनी उत्साही देखिएनन् । 'त्यसभन्दा बढी' केही कुरै नगर्ने भएपछि उनको प्रेमकहानी कसरी जान्न सकिन्छ ? सरूभक्तको 'त्यसभन्दा बढी' सोध्न अरू कोसँग जानु ? हे साहित्यकारज्यू ! तपाईंको व्यक्तिगत जीवनबारे जान्ने हक तपाईंका पाठकलाई छ कि छैन ? 'यस्तो' साहित्य लेख्ने मान्छेको जीवन 'कस्तो' होला भनेर पाठक त जान्न चाहन्छन् नि ? प्रेमका मामिलामा सरूभक्त मख्ख परेर बस्दारहेछन्, केही प्रस्ट पार्नै नचाहने । लुकाएको वस्तुमै सबैको ध्यान जान्छ भन्ने थाहा पाएर नै उनले आफ्नो प्रेमकहानी छोपिराख्न खोजेका पो हुन् कि ? कतिन्जेल लुकाउने ? किन लुकाउने ? नामभित्र केही छ भन्ने भ्रम दिएर पाठकलाई लोभ्याइराखेका पो हुन् कि ?
आजको सरूभक्त त्यही बालक भक्तबहादुर हो, जसले पोखराको पहिलो निजी विद्यालयमा पढ्ने अवसर पाएको थियो । सरूभक्त त्यही विद्यार्थी हो, जो डाक्टर हुने लक्ष्य बोकेर विज्ञान पढ्न राजधानीको अस्कल क्याम्पस आएको थियो । र, बीचैमा छोडेर पृथ्वीनारायण क्याम्पस, पोखरामा मानविकीमा भर्ना हुन गएको थियो । ऊ त्यही व्यक्ति हो, जसले इतिहास, अर्थशास्त्र, अंग्रेजी, समाजशास्त्रलगायतका विषयमा एमए गर्न भर्ना गर्‍यो र बीचैमा छोड्यो । अहिलेको सरूभक्त त्यही मान्छे हो, जसले बच्चामा 'भविष्यमा लेखक बन्छु' भन्ने कुनै सपना नै पालेको थिएन । तर, अहिले त्यही केटो कहलिएको साहित्यकार बनेको छ । भन्नेहरू त भन्छन्, 'सरू'सित बिछोडिएपछि नै भक्त साहित्यकार बन्यो । यदि भनिएको कुरो सत्य हो भने नाम चलेको साहित्यकार बन्नका लागि भक्तको जीवनमा उनकी प्रेमिका 'सरू' वरदान नै भइछिन् । यसरी नै बिस्तार-बिस्तारै सरूभक्त आफू हिँडेको बाटो मोड्दै र छोड्दै अघि बढे । जीवनका केही सत्य लुकाए पनि 'बाटो मोड्दै र छोड्दै' आएको सत्य भने उनी नअन्कनाईकन स्विकार्छन् । स्वस्थानीकथामा भनिनेजस्तो 'अनेक तरह'ले उनको जीवनको उकालो-ओरालो लम्बिइरह्यो ।
नाम सरूभक्त बनाएपछि उनी अलि 'वैरागी'जस्ता देखिए । प्रेमका मामिलामा 'बैरागिएका' यी साहित्यकारको सिर्जनात्मक जीवनचाहिँ त्यसै समयदेखि 'फलिफाप' हुँदै आएको छ । डाक्टर हुने सपना, पढ्दै गरेको विज्ञान, विश्वविद्यालयका सबै जाँच र सायद प्रेमिका पनि छुटेपछि उनी घुँडा धसेर लेख्न बसे । उपन्यास, नाटक, कथा, कविता, गीत, मुक्तक, निबन्ध, खण्डकाव्य— सबैसबै साहित्यिक विधामा उनले आयोजित रूपमा हात हाले । अहिले त उनी झ्याउरे छन्दमा महाकाव्यसमेत लेख्दै छन् । अनेक विधामा सरूभक्तले हात मात्रै हालेनन्, कतिपय विधालाई चपक्कै समाते । र, आफ्नो मौलिक पकड बनाए । ०४८ सालको मदन पुरस्कार उनकै चर्चित उपन्यास 'पागलबस्ती'ले पायो । अरू सम्मान र पुरस्कारका दोसल्ला पनि उनले धेरै नै ओढेका छन् । सरूभक्तका नाममा दर्जनौँ पुस्तक बजारमा छन्, थुप्रै छापिनै बाँकी छन् । उनको लेखन-गति तीव्र भएका कारण प्रकाशन र बजार प्रवर्द्धन अव्यवस्थित भयो भनेर पोखराका उनका साथीहरूले 'साहित्यकार सरूभक्त सरोकार केन्द्र' खोलिदिएका छन् । एक दशकदेखि उनी गाउँगाउँ जाने र कविता सुनाउने संरक्षण कविता आन्दोलन पनि चलाइरहेका छन् ।
पोखरा फर्केर मानविकीमा स्नातक गरेपछि सरूभक्त फेरि स्नातकोत्तर गर्न त्रिवि, कीर्तिपुर आए । तर, उनले कुनै पनि विषयमा पढाइ पूरा गरेनन् । 'पढ्छु भनेर धेरै विषयमा भर्ना त भएँ,' उनले ०३९/४० सालतिरको आफ्नो मनस्थिति सम्भ"mदै भने, 'तर, कसोकसो भएर जाँचै दिइनँ । म त्यसपछि फेरि पोखरा गएर गुप्तवास बसेँ ।' विज्ञान पढ्दापढ्दै छोड्नु, धेरै विषयमा भर्ना भएर कुनै विषयको पनि जाँच नदिनु, पोखरा गएर गुप्तवास बस्नु, डाक्टर हुने सपना त्यागेर साहित्य-लेखनतिर लाग्नु, यस उमेरसम्म पनि विवाह नगरी बस्नु, धर्मसन्तानमा छोरी नै राख्नु, त्यो पनि सरू न्ाामकै- यी सबै घटनाको पर्दाभित्रको कारक वा रहस्य के छ ? 'त्यस्तै भयो,' सरूभक्त सुस्तरी फुस्फुसाए । 'व्यक्तिगत भावनात्मक कारणले जाँच दिने गाम्भीर्य मैले गुमाएँ,' उनले भने, 'पढ्दै गएँ, छोड्दै गएँ । त्यतिबेला म दिग्भ्रमितजस्तो पनि भएँ । र, त्यसपछि म घरतिरै फर्कें ।' बडो जोगिँदै-जोगिँदै र अड्किँदै-अड्किँदै उनले पुराना दिनका 'खासखास' घटना लुकाए । 'व्यक्तिगत भावनात्मक' कारणलाई लुकाउन सरूभक्तलाई त्यति सहज भइरहेको थिएन । 'पोखरा पुगेपछि म गुप्तवासजस्तो बसेँ,' उनले भने, 'अनि लेखनतिर अलि बढी नै लाग्न थालेँ । म यसरी, कसरी हो कसरी आफूले सोच्दै नसोचेको क्षेत्रमा लागेँ ।' गुप्तवासमै बसाउने 'व्यक्तिगत भावनात्मक' कारण के थियो ? सरूभक्त यस विषयमा मौन मात्रै बसेनन्, बरु 'व्यक्तिगत जीवनलाई सार्वजनिक चर्चा नगरौँ' भन्ने आग्रह पनि थपे । 'अरू साथीहरू आप\mनो व्यक्तिगत जीवनका सम्बन्ध बढाइ-चढाइ गर्दा रमाउँछन्,' सरूभक्तले आफ्नो बचाउ गर्दा अरू साथीहरूको पनि सहयोग लिए, 'म उनीहरूजस्तो झुटो कहानी बनाउन चाहन्नँ । मेरा आफ्नै विश्वास, धारणा र आस्थाहरू छन् ।' यति भनिसकेर उनले फेरि दोहोर्‍याए, 'आफ्ना नितान्त व्यक्तिगत कुरा सार्वजनिक गर्न चाहन्नँ । म मेरै विश्वासले सरूभक्त भएको हुँ, मेरो जीवन पूजा र आराधनाको जीवन हो ।' अबचाहिँ सरूभक्त अलि बढी भावुक देखिए साथै अलि बढी गम्भीर पनि ।
'व्यक्तिगत' घटनालाई सार्वजनिक गर्न नरुचाए पनि त्यही घटनाले सरूभक्तलाई साहित्कारका रूपमा स्थापित गरायो । उनले यो पनि स्विकारे, प्रेमिकाका कठोर प्रहारले पनि कोही मान्छे लेखक बन्न सक्छ । 'कुनै प्रहार यस्ता पनि हुन्छन्, जसले राम्रो लेखकलाई ध्वस्त पार्न पनि सक्छ,' उनले भने, 'विश्वमा एकजना सफल हुने र जित्नेको इतिहास लेखिन्छ, हार्ने हजारौँको कथै हुँदैन ।' उनले आफ्नै जीवनमा पनि 'व्यक्तिगत भावनात्मक' घटनाको असर रहेको स्विकारे । र थपे, 'अरूअरू कुराले पनि मलाई प्रेरित गरेको हो । पोखराका जात्राहरूमा बजारबजार नाच्दै हिँड्ने मेरा पिता, विद्यालयका गुरु र युवाकालका सुखदुःखात्मक घटनाका प्रभावले लेखनमा म
प्रवृत्त भएँ ।'
कसै-कसैले प्रश्न गर्छन्— विवाह पनि नगरीकन सरूभक्त कसरी बाँच्न सकेको होला ? न साथमा मायालु श्रीमती छिन्, न काखमा छुनुमुनु गर्ने छोराछोरी छन् ! पारिवारिक जीवनदेखि नै किन यति धेरै विरक्त साहित्यकारज्यू ? 'होइन, मेरो परिवार छ नि त,' ०५५ सालदेखि धर्मपुत्री राखिएकी छोरी सरस्वतीको नाम लिँदै सरूभक्तले आरोपको प्रतिरक्षा गरे, 'मैले छोरी पनि पाएको छु, यसपालि मैले नाति पनि पाएँ ।' विवाह नि विवाह ? उनले फेरि आफ्नो अहिलेको 'हालत'को पुष्टि गर्न केही थप व्याख्या गरे, 'मैले एउटा विश्वास र प्रेममा आफूले चाहेजस्तो जीवन बाँच्न चाहेको हुँ । जे बाँच्न चाहेको हुँ, त्यही बाँचिरहेको छु ।' त, सरूभक्तको जीवनमा विवाह भन्ने च्याप्टर खुल्दै नखुली बन्द भइसकेको हो ? भने, 'म जुनबेलादेखि सरूभक्त भएँ, त्यहीँदेखि विवाहको प्रश्न अन्त्य भयो । अब त्यो वैवाहिक जीवनको यात्रा मैले छोडिसकेको छु । विवाह गर्ने, घरगृहस्थी चलाउनेहरूको मानसिकता अलि बेग्लै प्रकारको हुन्छ । मैले त्यसप्रकारको मानसिकता त्यागिसकेँ ।' उनी अब फेरि कहिल्यै विवाह होला भन्ने पनि कल्पना गर्दैनन् । ०३५ सालमा सरूभक्त भएपछि उनले आफूलाई बलिदान र उत्सर्गको जीवन बाँच्ने दिशाको यात्रामा लागेको दाबी गरे । 'आन्दोलनमा लागेर गोली खानेलाई 'कस्तो मूर्ख रहेछ, खुरुक्क नबाँचेर गोली खान्छ ?' भनेजस्तो मलाई 'कस्तो मूर्ख रहेछ विवाहै नगर्ने ?' भन्नेहरू हुन सक्छन्,' उनले भने, 'तर, यो मेरो जीवन पनि आस्थाका कारण बाँचेको त्यागको जीवन हो । म कुन भावना र मर्मले यस्तो उत्सर्गको जीवन बाँचेको भन्ने थाहा नपाउनेहरूले कुण्ठाको जीवन बाँचेको पनि भन्न सक्छन् ।'
सरूभक्तले भन्दै गए, 'म प्रेममा विश्वास गर्छु, यो दुनियाँ गर्दैन । भावना र संवेदना जति महान् हुन्छ, प्रेम त्यति नै महान् हुन्छ ।' आफूलाई अहंवादी लेखक बताउने सरूभक्तले अन्त्यमा आफ्नै उपन्यास 'पागलबस्ती' अनुकूलको प्रेमको परिभाषा पनि गरे, 'प्रेम मानवीय अहंको सर्वश्रेष्ठ रूप हो, पवित्र रूप हो ।'
तर, दुनियाँले जान्न चाहेको एउटै कुरा उनले निरन्तर लुकाइराखे— उनकी प्रेमिका को थिइन् ? प्रेम किन असफल भएको थियो ? र, उनले त्यो प्रेमकथा कहिलेसम्म लुकाइराख्ने हुन् ?

Tuesday, September 22, 2009


मैलै देखेको विश्वयुद्ध




विसं. १९८४ मा काठमाडौंको असनमा जन्मे पनि बासितै बर्मा पुगेर बालादिनमै विश्वयुद्धका बीभत्स दृश्यहरू झेलेकी साहना प्रधान नेपाली कम्युनिस्ट आन्दोलनकी एक अथक योद्धा हुन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालकी जीवनसंगिनी प्रधान अहिले नेकपा (एमाले) की स्थायी समिति सदस्य छिन् । प्रधानका अनेक उकाली-ओरालीसहितको बाल्यदिनको स्मृति उनकै शब्दमा :
मेरा बुबा परिवार पाल्ने जोहो गर्न १९८५ सालतिर बर्मा लाग्नुभयो । उहाँ बर्मामा नेपालकै पोते, चुरा, हुक्का, थाङ्काहरूको व्यापार गर्नुहुन्थ्यो । बुबा उता जाँदा यता आमा गर्भवती र हजुरआमा विधवा हुनुहुन्थ्यो । भाइ जन्मेको थिएन । भाइ जन्मेपछि सुत्केरी अवस्थामा खानपानको अभावका कारण आमालाई टिबी रोग लागेछ । ठूलीसासु र ठूलाससुराले काम धेरै लगाउने र खान कम दिने कारणले आमालाई टिबी भएको रहेछ । रोगले धेरै च्यापेपछि आमालाई पशुपति लगियो । त्यहाँ चार दिन राखियो । आमाले छोराछोरीलाई हेर्छु भन्नुभएछ र हामीलाई पनि पशुपति लगियो । आमाले मलाई सुम्सुम्याएर अन्तिमपटक म्वाइँ खाएको अहिले पनि ससम्झिन्छु । आमा १९८८ असारमा बित्नुभयो । त्यसपछि बाबा बर्माबाट फर्किनुभयो र १९८९ मा हजुरआमा, काकाकाकी गरी हामी आठजनालाई लिएर बर्मा जानुभयो । त्यसवेला म पाँच वर्षकी थिएँ ।
सन् १९३९ तिर दोस्रो विश्वयुद्ध सुरु भयो । विश्वयुद्धको सुरुमा अमेरिकाको पर्ल हार्वरमा जापानले पहिलो हमला गरेको कुरा बुबा-काकाहरूले अखबारमा पढेको सम्झन्छु । विश्वयुद्धको खतरा बर्मामा पनि पर्न सक्छ भनी अनेक अनुमानहरू हुन थाले । कारण बर्मा पनि बि्रटेनको आधिपत्य भएको देश थियो । त्यसैले सबै जापानले बर्मामा आँखा गाड्छ भन्थे । बर्मा र हामी बसेको ठाउँ मेस्योमा पनि बम खसाउँछ भन्ने गाँइगुइँ सुरु भयो । सबैले सुरक्षाका लागि घरपछाडि टे्रन्च (खाडल खनेर मानिस उभिन मिल्ने ठाउँ) बनाउनुपर्छ भन्न थाले । मान्छेहरूले परिवारअनुसारका खाडल खन्न थाले । ट्रेन्चमा बस्नुपर्छ भन्ने उर्दी पनि आयो । सबैले बनाएजस्तै हामीले पनि छातीले नछोई भुइँमा टुक्रुक्क बस्नेगरी टे्रन्च बनायौँ । बम पड्कँदा कानको जाली नफुटोस् भनेर कानभित्र रुई हालेर बस्थ्यौँ । हवाईजहाज आउँदा सबै रुन थाल्थे, कोलाहल हुन्थ्यो । हामी दस/बाह्रपटक टे्रन्चमा पस्यौँ । हवाईजहाज आउँथ्यो, बम खसाल्थ्यो र जान्थ्यो । 'लौ है हवाईजहाज आयो' भनी सुसूचित गर्न आकाश कराउनासाथ साइरन बज्थ्यो । फेरि गएपछि 'लौ है हवाईजहाज गयो, खतरा टर्‍यो' भनी साइरन बज्थ्यो । साइरन बज्नासाथ टे्रन्चभित्र पस्ने र निस्कने काम हुन थाल्यो । हामीलाई केटाकेटीलाई टे्रन्चभित्र पस्दा, निस्कँदा रमाइलो लाग्थ्यो ।
संसारभरिका देशमा बि्रटेनको उपनिवेश कायम भइसकेको थियो । मलाई युद्धका अरू कुरा थाहा थिएन । धेरै देश आफ्नो कब्जामा राख्ने बेलायतमा कहिल्यै सूर्य अस्ताउँदैन भन्ने थाहा थियो । बेलायतको उपनिवेश भएको देशमा अमेरिका, जापान र अरूको आँखा गडेको र तिनीहरू उपनिवेशलाई आफ्नो बनाउन चाहन्छन् भन्ने बालसुलभ दिमागले केही बुझेकी थिएँ ।
सन् १९४२ । एक शनिबारको दिन । अफिसहरू बिदा थिए । म र भाइ सधैं दूध लिन जाने ठाउँमा बाल्टिन झ्याँइकुटी पार्दै गयौँ । त्यहीवेला साइरन बज्यो र भागदौड सुरु भयो । हामीलाई भाग्न आएन । हामी त रुन पो थालेछौँ । हाम्रो घर नजिकै थियो तर, हामीलाई जाने होसै आएन । हामी एउटा रुखमुनि रुँदै बसेको थियौँ । घरका परिवार सबै टे्रन्चमुनि बस्न तम्तयार भएछन् । तर, हामी दुईजना नभएकाले काका र दाइ हामीलाई खोज्न आए । उनीहरूले हामीलाई तानेर घरमा ल्याए र टे्रन्चभित्र लगे । हामी टे्रन्चभित्र पनि रोइरहेका थियौैँ । डाङडाङ र डुङडुङ साथ ठूलो बमबाड भयो । मेस्योमा भएको त्यो पहिलो बमबाड थियो । त्यो सम्झँदा अहिले पनि मन थर्थर काँप्छ । त्यहाँ दुई सयभन्दा बढी हवाईजहाज आएका थिए बम खसाल्न । ती हवाईजहाज लाइन लाएर बुट्टैजस्तो भएर आउँथे । हामी भाग्दाभाग्दै पनि फर्कीफर्की हेथ्र्यौं । एकै लाइनमा पाँच हवाईजहाज तल आउँछन्, बम खसाल्छन् र फेरि माथि जान्छन् । अर्को लाइनमा फेरि अरू नै हवाईजहाज माथि जान्छन् । ठूलो आवाजसहित बम बिस्फोट भयो । विनाश भयो र एक घन्टापछि फेरि साइरन बज्यो । हामी डराईडराई बाहिर निस्कियौँ । बाहिर निस्केपछि थाहा भयो- त्यो बमबाडमा हामी पढ्ने स्कुल ध्वस्त भएछ । अस्पताल र महत्त्वपूर्ण ठाउँहरू पनि ध्वस्त भएछन् । अब हामी स्कुल जानुपरेन । सायद त्यो दिन शनिबार नभएको भए हामी पनि त्यो बमबाडमा पर्ने थियौँ ।
बर्मा युद्धभूमिमा परिणत भयो । दैनिक तीन/चारपटक साइरन बज्न थाल्यो । हवाईजहाज आउँछ, जान्छ । मान्छेको टाउकोमाथि जुनैवेला पनि बम खस्ला भन्ने त्रास थियो । त्रासको पहाड बोकेर मान्छेहरू साह्रै त्रसित जीवन बाँच्थे । हवाईजहाज आउने, जाने भएकाले हाम्रो घरपरिवार र छिमेकीहरू १०/१२ परिवार अलि टाढाको पैलुङ भन्ने ठाउँमा गयौँ । त्यहाँ नेपालीहरूको बस्ती थियो । त्यहाँ चटाईको बोरा र फुसको छाना बनाएर एउटा मेस सञ्चालन गरिबस्ने व्यवस्था गरियो । सधैं बिहान उठेर खाना खाएर बुबा, काका र दाइ दुकान चलाउन सहर जानुहुन्थ्यो । स्वास्नी मानिस र केटाकेटी गाउँमा बस्थे । यसरी महिना दिन बित्यो । गाउँमा स्ट्रबेरी खुब पाइन्थ्यो । मलाई पनि मज्जा लाग्यो । पढ्नु थिएन । अरू केही काम थिएन । हामी स्ट्रबेरी खुब खान्थ्यौँ ।
एक दिन हामी साथीहरू नजिकको खोलामा लुगा धुन गएका थियौँ । लुगा धोएर फर्किरहेका वेला हाम्रो टहरामा दनदन आगो बलिरहेको देख्यौँ । हाम्रो लुगाफाटो सबै त्यही आगोमा डढेर सिद्धिए । काकी, बजै सबै बाहिर थिए । हाम्रो टहरामा डकैती भएको रहेछ । त्यो रात हामी खुला आकाशमुनि सुत्यौँ ।
भोलिपल्ट हामी त्यो गाउँ छोडेर सहर पस्यौँ । ५/६ दिन सहरमा डराईडराई बसियो । हवाईजहाज आइरहन्थ्यो । साइरन पनि वेलावेला बज्थ्यो । त्यस्तो बमबाड गाउँमा थिएन, सहरमा मात्र हुन्थ्यो । फेरि २०/२५ परिवार टाढै जाने भनेर समसाई बस्तीमा गयौँ । त्यहाँ नेपाली ज्ञवालीहरू बस्दथे । सबै एउटा कम्युन घरमा बस्ने सल्लाह भयो । त्यहाँ डेढ सय मानिस बस्न सकिने काठको ठूलो घरको व्यवस्था मिलाएर ४/५ वटा परिवारको मेस बनाएर बस्यौँ । नजिकै खोलाको माथिबाट रेलको लिक गएको थियो । लिकको मुन्तिर रेल नआएसम्म हामी पौडी खेल्थ्यौँ र दाउरा लिएर घर फर्किन्थ्यौँ । यसरी दुई महिनासम्म गाउँमा आनन्दले बस्यौँ ।
एक दिन अचानक ठूलो चट्याङ परेजस्तो आवाज आयो । हामीलाई त्यो गाउँ नै उड्योजस्तो लाग्यो । एकछिन् त गाउँभरि ग्रहण लागेजस्तो, धुलो उडेर अन्धकार भयो । धुलो र अन्धकार हटेपछि परको सहरमा आगोका मुस्लाहरू देखापरे । सहर खत्तम भयो भन्ने लाग्यो । हाम्रो परिवारका कोही सहरमा थिए । त्यो दिन बेलुका घरमा खाना पाकेन । अचम्म हामीलाई भोक पनि लागेन । त्यस रात हामी सबै मायाले डल्लो परेर सुत्यौँ । अब बर्मामा बस्ने स्थिति भएन भनेर ठूलाबडाले कुरा गर्न थाले । नेपाल जानुपर्छ भन्ने चर्चार् चल्न थाल्यो । त्यतिवेलासम्म हामी भुरालाई हाम्रो देश नै बर्मा हो भन्ने लागेको थियो ।
हामी नेपाल जाने टुंगो भयो । हाम्रा सामानहरूमध्ये आफूलाई अति आवश्यक मात्र बोकेर हामी हिँडेका थियौँ । दस हिस्सामा नौ हिस्सा सम्पत्ति सहरमा र छोडेका थियौँ । एक हिस्सा मात्र हामीसँग थियो । त्यहाँ होटल र पसलमा काम गर्ने तीनजनालाई 'कमाएजति तिमीहरू नै राख' भनेर हामी हिँड्यौँ ।
हामीहरू रेल पर्खेर बस्यौँ । रेल दिनको दुई/तीनचोटि ओहोरदोहोर हुन्थ्यो । पछि थाहा भयो ती रेल लिग तोडिएकाले बीचमै पल्टिएछन् । हामी समसाई स्टेसनमा थियौँ । किंकर्तव्यविमूढ भएका थियौँ हामी । राति १२ बजे एउटा गाडी आइपुग्यो । हामी त्यसमा चढ्यौँ । बिहान ६/७ बजे मात्र सहरमा आइपुग्यौँ । अब हामी माण्डले हिँड्नु थियो । रेलबाट राति १० बजे माण्डलेको अमरापुरी भन्ने बन्दरगाह पुग्यौँ । चारैतिर अँध्यारो थियो । स्यालहरू कराइरहेका थिए । हामी कहाँ हिँडिरहेका थियौँ, थाहा थिएन । हामी नौजनाको परिवार सबै एकै ठाउँमा उसको टाउको उसको जीउमा, उसको टाउको अर्कोको जीउमा खप्टेर गुडुल्को परेर सुत्यौँ । बिहानीको झिसमिसे उज्यालो भयो ।
त्यहाँ हामीले अनौठो दृश्य देख्यौँ । एक दिनअगाडि त्यहाँ ठूलो बमबाड भएको रहेछ । वरिपरि हजारौं मान्छेका लास थिए । कसैको टाउको छैन । कसैको हात छैन । कसैको खुट्टा छैन । कसैको आधा जीउ नै छैन । कोलाहल थियो । कोही ऐयाऐया भन्दै चिच्याइरहेका थिए । तिनीहरूका नजिक हामी थियौँ । कति त पानी मागिरहेका थिए । कति जीवनको अन्तिम सास फेर्दै थिए । त्यस्तो बीभत्स दृश्य हामीले देख्यौँ, जुन म अहिले पनि बिर्सन सक्दिनँ ।
हामी जहाजमा जाने सुर थियौँ । जहाजमा रोल कल गरिँदै थियो, हामी सबैको नाम बोलाइयो । परिवार सबै जहाजभित्र पस्यौँ । तीन तलाको थियो जहाज । हामी दोस्रो तलामा बसेका थियौँ । जहाजभित्र हजारौं यात्रु अट्थे । त्यहाँ कोठाहरू थिएन । जहाँ पायो त्यहीँ थुप्रो भएर बसेका थियौँ । त्यही वेला थुप्रै हवाईजहाज आए । पानीजहाजमा मान्छेहरू चढिसकेका थिएनन् । ३/४ सयजति हवाईजहाज आएर ढर्रर बम खसाले । पानीजहाजमा त हानेनन्, तर बाहिर हजारौं मान्छे बसेका थिए । अधिकांश परिवारका सदस्यहरू आधा बाहिर, आधा जहाजभित्र थिए । बम हानेपछि आगो बल्यो । कसैको लोग्ने, कसैको स्वास्नी बाहिर थिए । जहाजका मान्छे आत्तिएर बाहिर जान खोज्थे । कोही त्यो इरावती नदीमै हाम्फाल्न खोज्थे । जहाजको माथि इन्जिन तताउन आगो बलेको थियो । कयौंले कता जाऊँ, कता जाऊँ भएर पानीमा हाम्फाले । घन्टाभर कोलाहल भयो । भागदौड मच्चियो । पछि शान्त भयो । जहाज चढ्न बाहिर तयार भएर बसेका हजारौं मान्छे एकै चिहान भए । जमिन दनदनी बल्न थाल्यो । बाहिर एउटा सन्नाटा छाएको थियो । लासहरू मात्र देखिन्थे जता हेरे पनि । हामीले सुन्यौँ कि नजिकै 'आर्सेनल' (हातहतियार भण्डार) थियो र त्यही भण्डार ध्वस्त हुँदा आगोको लप्का निस्किएर जमिन जलेको थियो । बाहिरका मान्छेहरू सबै जलेका थिए । ती मान्छेहरू जलेको वेला खसीबोका पोल्दा जसरी बटारिन्छ, त्यसैगरी बटारिएका थिए । बाँचेका मान्छेले मरेका र घाइते भएकालाई भकाभक पानीमा फाल्न थाले । पछि थाहा भयो बमबारी हुँदा जहाजको माथ्लो छत पनि प्वाल परेछ र क्याप्टेन पनि मरेछन् ।
दिउँसो एउटा सानो जहाज आयो । त्यसको क्याप्टेनले हामी बसेको जहाज चलायो । एक घन्टापछि त्यो जहाज सानो बुट्यान भएको ठाउँमा रोकियो । हामी तंगि्रन बाहिर निस्कियौं । हामीसँग खानेकुरा थिएन । त्यस रात भोकै सुत्यौँ । बिहान मात्र जहाज चल्यो ।
सातौं दिन हामी भामो
(उत्तर बर्मा) भन्ने ठाउँ आइपुग्यौँ । हामीले जे पाइन्छ, त्यो खाएर बाँचेका थियौँ । भामो पुगेपछि हामी जहाजबाट ओर्लियौँ । दन्तेकथाहरूमा भएजस्तै यो सहरमा मान्छे थिएनन् । साह्रै सुनसान थियो सहर । जताततै मान्छेका लास मात्र थिए । बजार अस्तव्यस्त थियो । हामी फेरि जहाज चढ्यौँ र कत्था भन्ने सहरमा पुग्यौँ । त्यो सहर पनि भामोजस्तै रहेछ । त्यो सहरभरि पनि एकजना मान्छे थिएन । मान्छेहरू मरिरहेका थिए र रेल पल्टिरहेको थियो । पानीजहाज कत्थाभन्दा अघि जाँदैनथ्यो । हामीसँग भएको सामानको भारी बोकेर हिँड्ने आँट थिएन । त्यसैले हामीले बोकेका धेरैजसो सामान त्यहीँ फालेर हिँड्यौँ ।
मैले जीउमा पाँचवटा प
mक लगाएँ, एकमाथि अर्को खप्टिएर । हामी त्यहाँबाट हिँडेको तीन घन्टापछि गाउँ आइपुग्यो । त्यहाँ पुगेपछि जे भेटिन्छ त्यो ल्याएर सामूहिक भान्सा गर्‍यौँ । ५/६ दिनपछि हवाईजहाज आयो । त्यो बि्रटिसको हवाईजहाज रहेछ । हामीजस्ता धेरैलाई राहत बाँडेर गयो । कुनै जहाज आएर सामान खसाल्न थाल्यो भने मेरो जीउमुनि भएको सबै सामान आफ्नो भन्दै म घोप्टिन्थेँ र अधिकार जमाउँथेँ । कति हिँडियो, भनिसाध्ये छैन । त्यस्तै महिना दिन हिँडेपछि मेरो पाँचमा दुईवटा पmक फाटिसकेका थिए । जंगलका काँडाले कोतरेका ती फ्रक गाँठो पारेर पनि लगाउनै नहुने भएपछि फालिदिन्थेँ ।
बा, हामीलाई बाटोमा भएको पानी नखानु है भनेर सम्झाउँथे । पानीमा मयलत मचष्लप, उयष्कयल गकभम ष्ल धबतभच लेखिएको हुन्थ्यो । त्यस्तो लेखेको ठाउँमा २/४ जना मरिरहेको पनि भेटिन्थ्यो । एउटा गाउँमा पुग्दा ठूला किसानको घर रहेछ । भकारीमा धान राखेको भेटियो । हामीसँग बन्दुक बोकेका मासिन पनि भएकाले डरले गाउँ चकमन्न बनाएर गाउँलेहरू कतै लुक्न गएका रहेछन् । लुक्न जाँदा घरमा ताला लगाउन पनि भ्याएनन् । गाउँमा धेरै धान देखेपछि हामीले त्यो कुटेर चिउरा र चामल बनायौँ । त्यहाँ बेलुका भात पकाएर मज्जासँग खायौँ ।
बेलुका गाउँमा डकैती भयो । मान्छेहरू काटिए भन्ने सुनियो । हामी सबै भाग्नुपर्ने भयो । त्यहाँबाट राति जंगलै जंगल हामी भाग्यौँ । अन्त्यमा हामी डाकबंगला आइपुग्यौँ । यसरी बाटामा अनेक समस्याहरू आए । अनकन्टार जंगल, बाटै नभएका ठाउँहरू हिँडियो । काँडाले जीउ त कति कोतर्‍यो थाहा छैन । हामीले घुँडाभन्दा मुनि पानीमा र आधा जीउ जमिनमा गरेर पनि रात बितायौँ ।
अनकन्टार जंगल, पानी भरिएको नदी गरेर पाँच दिनसम्म हिँड्यौँ । कहिले त दुई/तीन दिनसम्म पनि केही खान पाएनौँ । गर्मीले गर्दा आँप खाइए बिरामी परिन्थ्यो । आँप देखेर पनि त्यसै हिँड्नुपर्थ्यो । भोक सहन नसकेर आँप खाँदा धेरै मान्छे मरेका थिए । उनीहरूका लास जंगलैभरि देखिन्थ्यो ।
बर्मामा एउटा पञ्जावीको भर्खरै विवाह भएको थियो । युद्धले गर्दा त्यो पञ्जावी पनि श्रीमती लिएर बाटो लाग्यो । श्रीमती बाटोमा हिँड्न सकिन र श्रीमान्ले पनि त्यसै छोडेर जाने आँट गरेन । उसले आफ्नी श्रीमतीलाई रूखको आडमा राखेर आराम गर्दै थियो । हामी त बाटो लाग्यौँ । मलाई लाग्छ, त्यो अशक्त श्रीमती च्यापेर बस्दाबस्दै उनीहरू दुवै मरे होलान् ।
यसरी हामी नागा पर्वतमा पुग्यौँ । नागा पर्वत आइपुग्नै लाग्दा बाटामा हामीले पैसा जलाएको देख्यौँ । युद्धको वेला पैसाको अर्थ हुँदो रहेनछ । नागा पर्वतमा बाख्रा चरिरहेका देखिन्थे । भोकाहरूले बाख्रा मारेर खाए । मनिपुर पुग्न दुई दिन मात्र बाँकी थियो । बाटो एकदमै साँघुरो थियो । त्यही साँघुरो बाटोमा पहिल्यै मरेको लासहरू भेटिन्थे । हामी कुहिएका लासमाथि टेकेर अघि बढ्थ्यौँ । कहिलेकाहीँ त्यो कुहिएको लासमाथि ग्वाम्म खुट्टा गाडिन्थ्यो ।
हामी बर्माको युद्धबाट भागेर टाढा आइपुगेका थियौँ । पानीमा हिँड्दा कतिपटक गोहीबाट पनि बच्नुपथ्र्यो । हामीले बाटोमा मागेर खायौँ । हामीले भोको पेट र निरीह अनुहार देखाउँथ्यौ । मनिपुर पुग्न दुई दिनको बाटो भए पनि हामी नागा पर्वतमा एक साता जति हिँड्यौँ होला, पानीमा पाँच दिन हिँड्यौँ । कति मान्छेलाई पानीमा गोहीले पनि तान्थ्यो ।
अब हामी मनिपुर पुगेका थियौँ । हामीलाई हिन्दुस्थान आइपुगेको खुसी थियो । मनिपुरेहरूले एक पैसाको एक गोल्टन बट्टा चिउरा बेचिरहेका थिए । हामीले पेटभरि सख्खर र चिउरा खायौँ । हामीलाई मारवाडीहरूले कम्बल र साडी बाँडे । हामी परिवार बाँडिएर लरीमा चढ्यौँ । हामी चढेको लरी इम्फाल गएर दुर्घटना भयो । त्यहाँ सातजना मरे । मेरा खुट्टा पूरै खेतमा गाडियो । परिवारका अन्य सदस्यलाई केही भएन । ३/४ घन्टा कुरेपछि अर्को गाडी आयो । हामी डिनापुर हस्पिटलमा १० दिन बस्यौँ ।
त्यसपछि हामी गुहाटी आइपुग्यौँ । गुहाटीबाट हामी रेलमा पार्वतीपुरसम्म आइपुग्यौँ । पार्वतीपुर अहिले बंगलादेशमा पर्छ । हामीसँग केही पनि थिएन । हामीले एउटा बाकस किन्यौँ । साडी र अरू लुगा पनि किन्यौँ । बुबाले मलाई एउटा फ्रक किनिदिनुभयो ।
हामी गाडीबाट वीरगन्ज आइपुग्यौँ । हामीले यति ठूलो यात्रा तय गरेर आफ्नो माटो टेकेका थियौँ । बाबा त रुनुभयो खुसीले । 'सवारी मेरो रेलैमा...' भन्ने गीत मैले वीरगन्जमा पहिलोपटक सुनेँ । हामी थानकोटबाट हिँडेरै काठमाडौंको हाम्रो घर असन आइपुग्यौँ । मैले त्यसैवेला पहिलोपटक काठमाडौं देखेँ । अनौठो लागेको थियो काठमाडौं । त्यसवेला म पन्ध्र वर्षकी थिएँ ।दीपक सापकोटाspkt.deepak@gmail.com

मान्छेलाई प्रेमले पनि मार्दोरहेछ

मृत्युको सिलुएट (पाश्र्वछाया) मा उभिएर जगदीश घिमिरेले निकैपटक आफ्नो जीवनको सिंहावलोकन गरेका छन् । सन्ध्यामा अथवा जुनेली रातमा धेरै टाढा डाँडामाथि देखिने वृक्षका आकार, पर्वतका आकार, कुनै वस्तु वा व्यक्तिका आकारजस्तो केही अमूर्त वस्तु देखेका छन् । त्यो अस्पष्ट र भयप्रद भएर उनीअघि निकैपटक उभिएको छ । अस्पतालले भनेदेखिन् नै प्रत्येकपटक आफ्ना जीवनका दिनहरू सकिन लागेको जगदीश घिमिरेले देखेका छन् । उनले त्यो विराट् 'ब्ल्याकहोल' देखिसके । त्यसबाट हुने सम्भावित भय, सन्ताप, दुःखानुभूतिले उनलाई निमेष-निमेषमा छोइरहेको हुन्छ ।
टोल्स्टोयले 'बूढो खोल्सतोमेर' कथामा 'ईश्वरले मान्छेलाई तीनवटा रहस्यको ज्ञानबाट वञ्चित गरेको' बताएका छन् । ती के भने— मानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ, उसको आयु कति लामो छ र मृत्युको घडी कसरी आउँछ । जगदीश घिमिरेलाई भेट्ने बेला मनमा लागेको थियो, सायद यी तीनै रहस्य खुल्ने भए सृष्टिको स्परूप नै भिन्न हुन्थ्यो । जवानीका जोसमा मान्छेले खोलाका ठूला जँघार पनि तर्छ, दुर्लंघ्य पहाड पनि नाघ्छ । भर्भराउँदो जवानीमा मृत्युबारे कसैले सोच्तैन । नत्र जीवनको मधुरतम रस पनि बाँकी रहने थिएन । त्यसबेला मान्छेलाई लाग्छ— यत्तिकैमा पुग्छ होला, मर्नेहरू मरिरहून्, म अमर छु । त्यसबेला शरीरको नश्वरता र क्षणभंगुरता पनि मान्छेले बिर्सेकै हुन्छ । जगदीश घिमिरेको जवानी सिद्धिएको धेरै भयो । यस बुढ्यौलीमा आएर उनले सुनाए— कसैको जीवनको टुंगो छैन, तर मेरो जीवनको टुंगो छ ।
जगदीश घिमिरेले अमेरिकाको ओक्लोहामा सहर पुगेपछि थाहा पाए— मलाईर् मल्टिपल माइलोमा क्यान्सर छ । त्यसै दिन उनको ढाड फ्रयाक्चर भयो र उनी हलचल गर्न नसक्ने गरी ढले । बाँकी जीवन ढलेरै बिताउनुपर्ने बाध्यताको त्यो पहिलो दिन थियो । 'हामी अमेरिका जाँदा जति उत्साही थियौँ, त्यहाँबाट फर्किंदा त्यसभन्दा हजारौं गुणा दुःखी थियौँ,' उनले सुनाए— 'म बाँचुन्जेल त्यो दिन बिर्सन सक्नेछैन ।' त्यसबेला डाक्टरले यिनको बाँच्ने आयु पनि तोकिदिए—'तीन-चार वर्ष । त्यसमा केही घटी-बढी हुनसक्छ ।' बढी भए त राम्रै भो । तर, घटी भयो भने ? उनी यही सोचेर तर्सिन्छन् ।
अब जगदीशका बालकझैँ नांगिने दिन पनि सुरु भए । नर्सहरूले ओछ्यानमै दिसा, पिसाब गराइदिन्थे, दिनको दुईपटक नुहाएर लुगा फेरिदिन्थे । खुवाउँथे । 'त्यही बेलादेखि म महिनौँसम्म अस्पताल र घरका सहायकका अगाडि निर्वस्त्र भएँ ।' मृत्यु पनि निर्वस्त्र भएर यिनको अगाडि आएको थियो । कुन बेला टपक्क टिपेर लैजान्छ के पत्तो ? रोगले मृत्युको निम्तो दिएको बेला यिनको मनमा के कुरा खेले हुन् ? 'त्यस रोगको पीडा म बताउन सक्तिनँ । एक दिन मर्नु त छँदै छ । यतिसारो पीडित भएर मरिजानु निको होइन,' उनले सुनाए, 'अन्ततः मृत्यु दुःखद होइन । रोएर बाँच्नुभन्दा रुवाएर जानु निको हो जस्तो लागेको थियो ।'
डाक्टरले बाँच्ने आयु तोकिदिए यता उनका सबै दिनरात अस्पतालको झ्यालखाना, कोठाको कठघरा र ओछ्यानको पिँजडामा बितिरहेका छन् । उनी अचानक जीवनको सबैभन्दा उज्यालो प्रकाशबाट एकाएक साह्रै अँध्यारो अन्धकारमा पुगे । त्यसबेला यिनलाई हेर्न भएजतिका आफन्त आउँथे, रुन्थे र स्तब्ध हुन्थे । आँखाबाट बरर्र.... आँसु खसाल्थे । थरीथरीका उपचार गर्न सल्लाह दिन्थे । 'उपचारका क्रममा म त्यो दन्त्यकथाको राजकुमारजस्तो भएको थिएँ, जसलाई टुनामुना गरेर मन्त्रेको अक्षताले हिर्काएर भेडो बनाइएको थियो । अनि, त्यो राजकुमार एकोहोरिएर टुना गर्नेको पछि लागेर हिँडेको थियो रे,' जगदीशले सुनाए, 'त्यो भेडोजस्तै खुरुखुरु मानेर मैले थरीथरीका उपचार गरेँ र सबैको चित्त बुझाएँ । मेरो चित्त भने समयले नै बुझाउनेछ भन्ने सोच्थेँ ।'
आज उनी मृत्यु कुरिरहेका छन् । टाढा उभिएको मृत्युको छाया नजिकै देखिरहेछन्, त्यो भयप्रद मुद्रा अघिल्तिर आफ्ना केही कथाव्यथा लेखिरहेछन्, सारा मनोभाव घोप्ट्याएर । चेखबको एक पात्रले आफ्नो हृदय अनेक पीडाले भरिएपछि अरू कोही नपाएर आफ्नै घोडासँग आफ्ना दुःख र वेदना कहेजस्तो, उनी अक्षरहरूलाई आफ्ना दुःखका कथा भनिरहेछन् । मलाई पनि आफ्नो मृत्यु चिन्तन सुनाइरहेछन् ।
काल त निष्ठुर हुन्छ । मृत्युचेतनाले हाम्रा सारा सुख समाप्त गरिदिन्छ । सोसिल रोड्सले मर्ने बेला भनेका थिए— 'यति मात्र गरियो, कत्रो बाँकी रह्यो ? सबैको त्यस्तै हो ।' मृत्युको पूर्वाभासले मानिसको भावनामा ठूलो परिवर्तन ल्याइदिन्छ । हामीले यस समाजमा यो कुरा अनुभव गरेकै छौँ । मन दान, धर्म, पुण्य गर्ने, यश-कीर्तिका कामपट्ट िजान्छ । टमस मानले भनेका छन्, 'मृत्युका बारेमा धार्मिक दृष्टिले चिन्तन गर्नु जीवनको अभिन्न पक्ष हो ।' जगदीश घिमिरेले पनि मृत्युको चिन्तन धार्मिक दृष्टिले गरे । गाउँ रामेछापको जग्गादान गरे । 'अब बाँचिँदैन भन्ने लाग्यो । मृत्युको अड्कल गर्दा लेनदेन टुंग्याउनुपर्छ भन्ने लाग्यो । मन्थलीमा भएको जग्गा केही दान गरेँ, त्यतिले मात्र पनि मनमा सन्तोष मिल्यो । शून्य, एकान्त जस्तो भयो,' उनले सुनाए ।
अहिले त जगदीश निकै तंगि्रएका छन् । पहिलेजस्तो दुःखी छैन समय । मर्छु जस्तो लागेको छ ? 'अहिले पो केही तंगि्रएँ, के थाहा कहिले मर्छु ? सबै मृत्युका मुखमा छन् । तर, यति थाहा छ चाँडै मर्नेछु,' जगदीश यति सुनाउँदा निकै भावुक भएका थिए । मृत्युलाई नजिकबाट देखेका जगदीशलाई मृत्युको अभिलाषा पनि छ होला ? 'छैन, त्यो त स्वाभाविक प्रक्रिया हो नि,' उनले भने, 'थला परेर, कुहिएर बस्नुभन्दा मर्नु ठीक हो । लामो समय बाँचौँ भन्ने पनि छैन ।'
जगदीशले अहिले चोभार डाँडाको आफ्नो घरमा बसिरहँदा धेरैपटक माइलोमा हुनुपूर्व र अहिलेको अवस्था दाँजेका छन् । र फेला पारेका छन्, मात्र शून्य, भयप्रद समय । आफ्नै घरका चोटा-कोठाले पनि कहिलेकाहीँ यिनलाई तर्साउँछन् । उनले धेरै कुरा दाँजेका छन् पहिले र अहिलेमा । पहिले जीवनमा रस हुन्थ्यो । रमाइलो हुन्थ्यो । तर, अहिले जीवन फेरिएको उनले देखेका छन् । जीवनका ती रमाइला दिन अहिले आँखाभरि नाच्छन् मात्र । उनले फेला पारेका छन्—मात्र नीरस र चिच्याटलाग्दो समय । जीवनका धेरै इन्द्रधनुषी रङबाट धुलोमा पछारिएका उनी जीवनमा अहिले कुनै रङ देख्दैनन् ।
मृत्युशय्यामा रहँदा कवि लेखनाथ पौड्यालले लेखेका थिए—
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।।
त्यसैगरी मृत्युशय्यामा छट्पटिँदा जगदीश घिमिरेले पनि आफ्नो कथा लेखे— अन्तर्मनको यात्रा । कृतिमा मृत्युबोध, मृत्युचिन्तन, मृत्युप्रतिको समर्पणभाव लेखे । मृत्युको अनुभूति गर्दा अहिले पनि निकै भयप्रद लाग्छ जगदीशलाई । जुन कुरा अवश्यभावी छ, त्यसैप्रतिको भय कति त्रासद । यसरी लेखकले आफ्नैसामुन्ने मृत्यु उभिएको छर्लंगै देख्दाको मनोभाव कस्तो होला, म कल्पना पनि गर्न सक्दिनँ । के मृत्यु प्रकाशमान् हुन्छ ? 'देखिँदैन मृत्युलाई । कहाँ हुनु प्रकाशमान् ?' उनले सुनाए । जे भएको छैन त्यो अतिरेक पि्रय हुन्छ । तर, जगदीशलाई मृत्यु पि्रय लागेन रे ! 'यो स्वाभाविक प्रक्रिया हो । बरु आँखामा आफन्त आए, आफ्नो गाउँ लहरै आए । तर, पि्रय लाग्नेगरी मृत्यु आएन,' उनले भने ।
मृत्यु प्रबल हुँदै आएपछि पनि जगदीशमा लेख्ने कुरा धेरै थिए । सम्भावना पनि धेरै थिए । उनको पूर्वार्द्धको जीवनले त्यही भन्छ । हृदयभित्र कुनै कुनामा तृप्त हुनेगरी साहित्य पढ्ने, लेख्ने धोको छँदै थियो । आफूअगाडि उभिएको अँध्यारो उनले अक्षरहरूमा पोखे । अँध्यारामा बलेको झिल्कोझैँ, राँकोझैँ उनका अक्षरहरू बलेका छन् । कुराकानीमै पनि घिमिरे एक गम्भीर, दार्शनिक तहमा ओर्लिन्छन् । पहिलेका चालभन्दा फरक, आफ्ना पारिवारिक र पि्रयजनभन्दा प्रेमपूर्ण बोली र दृष्टिको आशामा अल्झेका, असहाय हुँदै गएका, 'डिस्टब्र्ड मुड' अर्थात् खल्बलिएको मुद्रा लिएर हतप्रभ स्थितिमा जगत्को अन्तिम रहस्यको चिन्तनमा डुबेजस्ता देखिएका छन् घिमिरे ।
जगदीशलाई मृत्युले कुनै एकदिन दाउ हान्छ जस्तो लाग्छ । 'दाउ हान्छ तर, थाहा हुँदैन । जन्मसँग मृत्यु छ । जीवनसँग गाँसिएको छ मृत्यु,' उनले भने । मृत्यु अँध्यारैमा पनि आउन सक्छ । जगदीशले भनी पनि सके— मृत्यु प्रकाशमान् हुन्न, अन्धकारमय हुन्छ । अन्धकारको आकृति कहाँ छ र ? 'मर्नु पनि अन्धकारजस्तै हो । त्यो आफैँ कुरिन्छ,' उनले भने, 'अँध्याराकै बीच लैजान्छ ।' जीवनको निचोडजस्तो दर्शन सुनाए उनले— 'सन्तुलन चुँडिएपछि, आत्मबल फुस्केपछि के गर्नु र ?'
जीवनको चौतारीमा आँखा बिछ्याएर टाढासम्म हेर्दा मृत्यु कुन स्थानमा पाएका छन् घिमिरेले ? उनले पनि पारिजातले शून्यबोध गरेजस्तै सुनाए—'मान्छे जन्मियो अर्थात् मृत्यु जन्मियो । आफ्नो मृत्यु मान्छेले देख्दैन । समयले निर्धारण गर्छ मृत्यु । सायद मृत्यु आत्महत्या गरेर आफूलाई सिध्याउनेले मर्नुअघि देख्छन् ।' उनलाई लाग्छ— मृत्युले कसैलाई टिपेर लैजान संकोच मान्दैन । 'मृत्यु समय हो । आफैँ बग्दोरहेछ,' उनले भने । जगदीशलाई के लाग्छ, जीवनको अन्तिम विन्दु नै मृत्यु हो वा त्यसभन्दा पछि पनि केही छ ? 'मरेको मान्छे त मरिगो नि ! त्यो मान्छे आफ्नो कृतिमा अमर रहन सक्छ । ऊ अमर हुनुको लाभ बाँच्नेहरूलाई छ । नत्र त अन्तिम विन्दु नै मृत्यु हो ।' बरु मान्छे शिथिल भएपछि, मर्ने चाहना बलियो भएर आउँछ भन्छन् जगदीश । 'त्यस्तो बेला मान्छेले आफैँ काल आओस् र टिपेर लैजाओस् भन्छ,' उनले सुनाए ।
मान्छे जति बूढो हुँदै जान्छ, मृत्युको भय पनि बलियो हुँदै आउँछ, होइन र ? 'मृत्युको भय हुनैपर्छ भन्ने जरुरी छैन । यो त यथार्थको स्वीकृति हो । आफैँले अनुभूति गरेको हो मर्छु भन्ने । मर्नु लेखेको रहेछ, मरिन्छ भन्छ मान्छेले,' उनले भने । त्यसो भए मृत्युको मुखबाट बाँचेर आउँदा कुनचैँ शक्तिशाली रहेछ जस्तो लाग्यो त, समय कि जीवनको त्यान्द्रो ? 'समयले जन्माउँछ । साइत हो समय । समयमा जीवन हुन्छ । समयले मार्छ । त्यो समय काल हुन्छ । जन्म, बालापन, यौवन, प्रौढावस्था, मृत्यु— सबै उही समयका फरक नाम र पर्याय हुन् । सबै समय उही हो, एकै हो,' उनी दार्शनिक चेतनामा भन्दै गए— 'जीवन बाँच्नुको अर्थ मर्नु हो । समय अस्तित्व मात्र होइन, सँगसँगै एकैपटक अस्तित्व र अस्तित्वहीनता समेत हो । समय कुनै राम्रो, कुनै नराम्रो हुँदैन । जन्म सुसमय, मृत्यु कुसमय होइन । उही एउटै समय सृष्टि, स्थिति र प्रलय अर्थात् जन्म, जीवन र मृत्यु हो । यसमध्ये कुनै समय मान्छेका लागि उत्सव हुन्छ, कुनै समय शोक । समय यथार्थ हो । त्यसैले जीवनको त्यान्द्रो नै समय हो ।
त्यही शक्तिशाली छ ।' उनलाई बाँच्नु जीवनको अल्पकालीन समाधान हो अनि मर्नु दीर्घकालीन समाधान जस्तो लाग्छ ।
मल्टिपल माइलोमाले आफूलाई गाँज्दै ल्याउँदा जीवनका अर्थपूर्ण दिनहरू आँखामा नाचिरहे । 'फर्केर हेर्दा जीवनका कुनै पनि दिन अर्थहीन लागेनन् । यो जीवन नै रहस्य रहेछ । सुख-दुःखका दिनहरू एक-एक गरी आँखामा आए । झसंग भएँ, कति टाढा आइपुगिएछ जीवनमा जस्तो लाग्यो । निकैबेर टोलाएर बस्थेँ उपचारका दिनहरूमा,' उनले भने । उनलाई मृत्यु बलवान् हुँदै आउँदाका ती दिनहरू बेथितीसँग गुजारिए, अर्थहीनसँग बिताइए, मूल्यहीनसँग कटाइए भन्ने लाग्दोरहेनछ । 'अर्थहीन भएनन् ती दिनहरू, बरु दुःख र अप्ठ्याराका दिन थिए,' उनले भने । त्यसो त जगदीशलाई दुई पाइला हिँड्न अहिले पनि निकै सास्ती हुन्छ । अहिले पनि कम्मरमाथि फलामकै पेटी बाँधेर बस्नुपर्छ । 'तैपनि, निकै भाग्यमानी रहेछु जस्तो लाग्छ,' उनले सुनाए ।
त्यसबेलाका सबै रात मर्छु भन्ने भयले गुजारिए होलान् । हरेक बिहान झुल्कने जाज्वल्यमान् सूर्यको पछिल्तिर अँध्यारोको अत्यासलाग्दो प्रताडना छैन ? 'राति आकाशमा थोरै प्रकाश लिएर झुल्कने जूनले पनि बाँच्ने शक्ति दिन्थ्यो । अस्पतालको बेडनजिकैको झ्यालबाट बाहिर म शीतल चन्द्रमा हेर्थें,' उनले सुनाए, 'त्यसले बाँच्ने इच्छा अझ प्रबल भएर आउँथ्यो । बरु साह्रै कालो अँध्यारो रातसँग भने निकै डर लाग्थ्यो ।'
उनलाई अझै पनि आफ्ना आँखैअगाडि मृत्यु सल्बलाइरहेभै"m लाग्छ र त्यसले अहिले पनि तर्साउँछ । तैपनि, उनले मृत्युलाई 'जीवन र दुःखको समापन' ठानेका छन् । 'यो आफ्नो अधीनमा रहँदैन,' उनले सुनाए । मृत्युसँग कहिल्यै माया पलाएन । 'जीवनप्रति मात्र माया हुँदोरहेछ,' उनले भने । स्वेच्छिक मृत्युवरण गर्नु संसारलाई अनादर गर्नु, जीवनलाई नै अनादर गर्नु हो ? 'ठीकै हो स्वेच्छिक मृत्यु । कोही जीवन समाप्त गर्ने कुरा सोच्छ भने त्यो जीवनप्रतिको अनादर होइन । बरु आदर गरिएको हो, आफू बाँचेको समयलाई,' उनले भने । उनलाई अभाव, आवेश, क्रोध, रिसले मृत्युसँग प्रेम गर्छन् जस्तो लाग्छ । 'प्रेमले पनि मार्न सक्छ मान्छे । प्रेम र मृत्यु सँगै आउँदारहेछन्,' उनको जीवनभरिको एक महत्त्वपूर्ण सिकाइ यस्तै रहेछ ।
देवकोटा, युद्धप्रसाद, हरिभक्त, पारिजातहरूले अभावै-अभावमा मृत्युवरण गरेका थिए । त्यस्तो मृत्युको अनुभव कस्तो हुँदो हो ? भन्छन्, 'पीडादायक हुन्छ नि ! देवकोटा, हरिभक्त, पारिजात । यिनको त समय नै अभावको थियो । जिन्दगीभरि अभाव भोगे उनीहरूले । उनीहरू र मबीच फरक बस् यत्ति हो, म अभाव र गरिबीमा मर्दिनँ ।'
जीवन धेरै दुखेको छ । इतिहास दुखेको छ । अब त शान्ति पाए हुन्थ्यो । कतै एउटा शून्यमा विलीन हुन पाए हुन्थ्यो भन्ने लागेन ? 'शून्यमा विलीन हुन पाए हुन्थ्यो जस्तो एकपटक लागेको थियो । बिरामी भएपछिको कुरा हो । म दिल्लीको रेल्वे स्टेसनमा थिएँ । त्यो रेल हुँइकिएर आउँदा त्यही रेलको लिगमा बसौँ र मृत्यु अँगालौँ जस्तो लागेको थियो । तर, आँखाअगाडि के अर्कै कालो वस्तु आएर बसेझैँ लाग्यो, सायद माया पो लाग्यो कि जिन्दगीको ?' उनले भने ।
जगदीशले जिन्दगीको कुनै अर्थ खोजेनन् । बरु बिरामी हुँदा थलिएर बाँच्नुपर्ने बाध्यताविरुद्ध अर्को बाध्यता (साहित्य) टिपेर मुक्त हुन खोजे । बीचमा चटक्कै त्यागिसकेको साहित्य-सिर्जनमा लागे । गाउँघर, आफन्तको माया खोजे र जीवन दुःखेको पीडाले छट्पटाइरहे । अब जगदीशले कसैलाई रिझाउनु छैन, कोही रिसाउला भन्ने पनि छैन । बरु एउटा निचोड फेला पारेका छन् उनले— 'जीवन छ र नै मृत्यु पनि अस्तित्वमा छ ।'
उमेरमा जिन्दगी जति गुलियो भए पनि अहिले जिन्दगी अमिलो र नमीठोपन मात्रै भेटाएका छन् उनले, साँच्चै अमिलो । छुट्नेबेला उनले सुनाए, 'मेरो जीवन काठमाडौंको फोहोरमा बित्यो । त्यसैले अमिलो लाग्यो यो जिन्दगी । म मरेपछि मेरो खरानी मेरा पुर्खाको थलो, मेरा स्वजन माझी, मझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोरको सफा दोभानमा बगाइदेऊ । तर, खरानी छरेर तामाकोसीको सफा पानी नधमिल्याउनू । मेरो खरानी मन्थलीको कुनै पाखामा छरिदिए पनि हुन्छ ।'

Monday, September 7, 2009




लामो बाटो र धेरै कुइनेटा छिचोलेँछु
प्रस्तुति: दीपक सापकोटा

निबन्धकार युवराज नयाँघरेले 'एक हातको ताली’ निबन्ध कृतिका लागि विसं २०६५ को मदन पुरस्कार पाएका छन् । नयाँघरे झर्रो र विशुद्ध नेपाली अनुहार भएका निबन्ध लेख्छन् । शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजले निबन्धमा मदन पुरस्कार पाएको लामो समयपछि युवराज नयाँघरेले यसको बिँडो थामेका छन् । पुरस्कार घोषणा भएको भोलिपल्ट अर्थात् शनिबार नयाँघरे बागबजारमा भेटिए । त्यही मौका छोप्यौँ हामीले । छोटो भलाकुसारीमा निबन्धबारे उनले बोलिदिए,'निबन्धका विषय त बादलभित्रका झिल्का रहेछन् ।’
मदन पुरस्कार पाउँदा कस्तो अनुभूति भयो ?
खबर सुन्दा सुरुमा त विश्वासै लागेन । त्यसवेला झमझम पानी पर्दै थियो । म वसन्तपुर दरबारमुनि थिएँ । एकजना पाठकले फोन गरेर सुनाए । म त चकित परेँ । यो मेरो स्वप्न योजना थियो । जहिलेदेखि मैले लेख्न थालेको थिएँ, त्यसैवेलादेखि देखेको सपना पूरा भएजस्तो लाग्यो ।
मदन पुरस्कार पाएको उचाइको यो बिन्दुमा उभिएर तलतिर हेर्नुपर्दा कस्तो महसुस हुन्छ ?
मैले दुःखका गोरेटोहरू हेरेजस्तो ंलाग्यो । दुःखका अग्ला जँघार, फग्लेटाहरू फ्ल्यास्ब्याकमा आए र सँगसँगै गए । पसिना चुहिएका क्षण सम्झन्छु । निकै लामो बाटो र धेरै कुइनेटा छिचोलेँछु भन्ने लाग्यो ।
जिन्दगीमा सपना के थियो ?
सानोमा पहाड घर इलाममा छँदा म भैंसी चराउन जान्थेँ । भैंसीमाथि चढेर सामान्य ज्ञानको पुस्तक पढ्थेँ । त्यसवेला मदन पुरस्कार पाउने लेखकबारे पनि पढिन्थ्यो । तर, मलाई लेखक बन्छु भन्ने थिएन । रेडियोमा समाचार वाचक बन्छु भन्ने लाग्थ्यो ।
शंकर लामिछानेको निबन्धसंग्रह 'एब्स्ट्रयाक्ट चिन्तन प्याज’ले मदन पुरस्कार पाएको लामो समयपछि तपाईंको निबन्धले मदन पुरस्कार पाएको छ । त्यसपछि लगभग मरेको निबन्ध विधा अब ब्युँझिएको हो ?
मदन पुरस्कार पाएको शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजले अहिलेसम्म पनि नेपाली निबन्धमा एउटा प्रतिक्रिया उत्पन्न गराइरहेको छ । फेरि लामो समयपछि मैले पाएँ । यो एउटा आइसब्रेक हो । निबन्धलाई हिजोको आँखाले हेरिन्थ्यो । यसमा हामीले नयाँपन ल्यायौँ । निबन्ध पढ्न नचाहने पुस्तालाई पनि पढ्न बाध्य गरायौँ । समाजले पढेछ पनि । निबन्ध फेरि ब्युँझिएछ ।
तपाईंको 'एक हातको ताली’सँगको प्रतिस्पर्धामा कुन पुस्तक थियो ?
मलाई सबै त थाहा छैन । तर, लेखक नारायण ढकालको 'पे्रतकल्प' उपन्यास थियो भन्ने सुनेको थिएँ । त्यो उपन्यास पनि निकै राम्रो थियो ।
एउटाले मदन पुरस्कार पाएपछि प्रतिस्पर्धाका अरू किताबचाहिँ कमजोर भएका हुन् ?
त्यसो होइनन् । अरू किताब पनि निकै राम्रा छन् । सबै बराबर हुन् । जाँचकीको आँखा र मनलाई कुनले छोयो, त्यति मात्र फरक हो ।
निबन्धलाई हेला गरिएको थियो, तपाइंको निबन्धले मदन पुरस्कार पाएपछि अब नेपाली निबन्धको गति कस्तो हुन्छ ?
ऊर्जाशील बाटो समाउँछ निबन्धले । गम्भीर विधामा पनि लाग्नुपर्ने रहेछ भन्ने प्रभाव लेखकहरूमा पर्नेछ । हल्काफुल्का साहित्य लेख्ने जमात पनि गम्भीर विधामा आउने संकेत हो यो । अब निबन्धमा पनि लाग है भनेर हरियो झन्डा देखाइएको हो ।

'एक हातको ताली’को हिरो न्याङरुङे कटुवाल एक हातले चिया बनाउँछ र अर्को हातले ताली बजाएर पार्टीलाई सघाउँछ । त्यस पात्रले केलाई संकेत गर्छ ? उसको मनोदशा के हो ?
त्यो यर्थाथ पात्र हो । नेता सिपी मैनालीसँगै पछि लागेर सहर पसेको एउटा कार्यकर्ता हो, न्याङरुङे कटुवाल । सिपी झन्डा हल्लाउँदै महल पसे । तर, देश र राजनीतिलाई माया गर्ने न्याङरुङे एक हातले भएपनि ताली बजाएर राजनीति र नेताहरूलाई स्वागत गरिरह्यो । न्याङरुङे एउटा निर्धो पात्र हो, जो देशका ठूला परिर्वतन टोलाएर हेरिरहन्छ ।
पाठकहरूको भनाइ छ, तपाईंका निबन्ध नबुझिने हुन्छन् । तपाईंका निबन्धमा शब्दहरूको मात्र खेती हुन्छ पनि भन्छन् । शब्दार्थ पहिलो पाइलो हो । शब्दै नबुझीकन भाव कसरी बुझ्ने ?
म ठेला चलाउने, सडकमा बसेर मकै भुट्ने वर्गका लागि कहिल्यै साहित्य लेख्दिनँ । मेरा निबन्ध नबुझिने हुँदैनन् । बौद्धिक वर्गले मेरा निबन्ध बुझ्छन् । निबन्ध त मेरो जिन्दगीको साधना हो । ज्ञानको सिर्जना एकरातमा आउँदैन । ती निबन्ध जन्माउन मैले कयौं रात खर्चिएको छु ।
तपाईं अमेरिकामा दुई वर्ष बस्नुभयो, अमेरिकामा बस्ने नेपालीका दुःख पनि निबन्धमा लेख्नुभएको छ ?
नेपालीका दुःख उस्तै रहेछन् । त्यहाँ नेपाली सुखी छन्, तर खुसी छैनन् । त्यहाँ पनि कुरा काट्ने समाज छ । हेला गर्ने समाज छ । नेपालीहरूलाई समस्या छ भूमि छोड्नुको । जीवन भद्रगोल छ उता । म त रमाउन सकिनँ र फर्किएँ । ती दुःख मैले निबन्धमा लेखेको छु । ती निबन्ध अब प्रकाशित हुनेछन् ।
यदि युवराज नयाँघरे अमेरिकामै रमाएको भए, यी संयोग जुर्थे होलान् ?
अँह, जुर्दैनथो संयोगहरू । म उतै कतै शून्यमा बिलाउँथे होला । उता जीवन छ, तर यान्त्रिक छ । यन्त्रले बनाएको कमारो जीवन होइन रहेछ । हामीलाई त नेपाली शीतमा टेक्नु छ, भैंसीको पिठ्यँुमा चढ्नु छ, गाईको भकारो सुँघ्दै हिँड्नु छ । र, ती सबै नेपालमा मात्रै पाइन्छन् । उता त उराठलाग्दा प्रविधिसँग जिस्किनु मात्र छ ।
तपाईं दैनिक लेख्नुहुन्छ कि कुनै निश्चत समय छ ?
दैनिक त कहाँ लेख्नु ? मेरो योजना वर्षको दुईवटा राम्रो निबन्ध लेख्नु हो । एक शब्दले पनि बीउको काम गर्छ । कुनै ठूलो कुरा चाहिँदैन । लेख्नका लागि वातावरण, परिवेश बनाउन समय लाग्ने रहेछ । लेखकले दैनिक लेख्नहुन्न । अति लेख्नु हानिकारक हो । थोरै सन्तान पाएकी आमा शक्तिशाली हुन्छिन् । र, धेरै सन्तान पाएकी आमा रोगी । त्यसैले लेखक पनि थोरै सन्तानकी आमाजस्तै शक्तिशाली हुनुपर्छ ।
लेखाइमा रुचि कसरी बस्यो ? रुचि बढाउने कोही थिए ?
लेख्नमा म कसैबाट पनि प्रेरित भइनँ । यो त एउटा कला रहेछ । मेरो कलाले बाटो खोजिरहेको रहेछ । गाउँमा भैंसी चराउन जाँदा, रूखका पातहरू हल्लेको देख्दा मेरो मनमा अनेक कुराहरू खेल्थे । म जुरेली कराएको सुनिरहन्थेँ, खोलाको बालुवामा अक्षरहरू लेख्थेँ । बरू लेखाइमा मेरी आमाको केही प्रभाव थियो कि जस्तो लाग्छ । मेरी निरक्षर आमा 'गुणरत्नमाला' गुन्गुनाउनुहुन्थ्यो । त्यो सुनेर पनि रमाइलो लाग्थ्यो । मैले स्कुल पढ्दै विश्व-साहित्यका किताबहरू पढ्न पाएँ, खोलाका सुसाहट र चराका सुसेलीले लेख्नतिर डोर्‍याए सायद ।
कसरी आउँछन् लेख्ने विषय वा लेख्नेवेला कुनै विशेष तयारी हुन्छ ?
विषय त बादलभित्रका झिल्का रहेछन् । घटनाले छुन्छ अनि लेखिन्छ । मैले सधैं देखिरहेको दृश्यले पनि कतै चिमोटिरहेको हुन्छ । मेरा लेखाइ समाजका चोटहरूको अभिव्यक्ति हो । लेख्न त्यस्तो खासै तयारी हुँदैन ।
तपाइं कथा, कविता कहिल्यै पनि लेख्नुहुन्न, निबन्धमा मात्रै किन यस्तो सम्मोहन ?
निबन्धमा निर्बन्ध हुन पाइन्छ । यो बन्धन नभएको उडान हो । अरू लेखाइमा पात्रसँग अल्भि
mनुपर्ने हुन्छ । स्वतन्त्र हुन पाइन्न । मलाई त्यही स्वतन्त्र उडानले छोयो ।
मदन पुरस्कारको साख जोगाइरहन सक्छु जस्तो लाग्छ ?
यो साख जोगाउन सक्छु । झन् अब मेरो काँधमा जिम्मेवारी थपिएको छ । एउटा लक्ष्य पनि छ, टाढाको । अब अरू पहाड ताकेर हिँड्नु छ । मलाई अरू विधामा फड्को मार्ने मन छ ।
नेपाली साहित्यमा सौन्दर्य कति भेटिन्छ ?
मेरा निबन्धलाई म सौन्दर्यप्रधान बनाउने कोसिसमा रहन्छु । सौन्दर्य मेरा निबन्धका मुटु हुन् । अरू नेपाली साहित्यमा पनि सौन्दर्य हुन्छ । तर, हामीले आफ्नो साहित्यमा जीवनका सौन्दर्य भेट्न सकेनौँ । जीवनका लय र सौन्दर्य ल्याउन सकेनौँ हामीले ।
साहित्यले समाजको चरित्र निर्माण गर्छ कि गर्दैन ?
चरित्र निर्माण गर्ने जिम्मा साहित्यले लिएको छ कि छैन, त्यो नै एउटा प्रश्न छ । चरित्र निर्माण गर्ने अध्यात्मले हो । अराजकहीन समाज निर्माण साहित्यले गर्दैन । ठेक्कापट्टा होइन साहित्य ।
लेखनका कुन विधाले साहित्यको धरातल माथि उठाउँछ ?
आख्यान र गैरआख्यान दुवैले, हाम्रो कला, शिल्प, भाषा माथि उठाउन सक्छ । हाम्रो भाषाको सौन्दर्यले नयाँ पुस्तालाई माथि उठाउन सक्नुपर्छ ।
यहाँ राम्रा समीक्षक छैनन्, लेखाइको कुनै प्रतिक्रिया आउँदैन । लेखकले आफूलाई कसरी सुर्धादै लैजाने ?
पाठक छैनन् भन्न मिल्दैन । बरू लेखकले मिहिनेत गरेका छैनन् । समीक्षकको अभाव छ । आफ्नो लेखाइ सुर्धान नैतिकता चाहियो । लेखक इमानदार हुनुपर्‍यो ।
निबन्धहरूका रचनागर्भ के हुन् ?
समाजका विसंगति हुन मेरा निबन्धहरू । कसैले पनि सम्बोधन नगरेको विषयलाई निबन्धमा लेखेँ । राजनीतिले उपेक्षा गरेको, संस्कृतिले छिःछि, दुर्दुर गरेको दुनियाँ मेरो निबन्धमा लेखेको हुँ ।

Friday, September 4, 2009



ब्रिटेन युद्धताका एक युवतीको प्रेमकथा

त्यतिवेला म अठार वर्षकी थिएँ । सन् १९४० को गर्मी महिनाको एक दिन म घरमा कुचो लगाइरहेकी थिएँ । झ्यालबाट मैले उसलाई सडकमा हिँडिरहेको देखेँ । ऊ अर्थात् एल्फ अर्थात् मेरो सपनाको राजकुमार । म उसलाई देख्यो कि ट्वाल्ल परेर हेर्थेँ । तर, उसका अगाडि पर्ने र बोल्ने हिम्मत हुँदैनथ्यो । त्यतिवेलाको लन्डनमा युवतीहरू यस्तै हुन्थे । लज्जालु र डराउने ! अहिले त पहिलो भेटको पहिलो मिनेटमै 'आई लभ यू' भन्न बेर मान्दैनन् ठिटाठिटीहरू । अझ कोहीकोही त चुम्बन गर्न पनि पछि पर्दैनन् पहिलो भेटमै ।
त्यस दिन पनि उसलाई आँखाबाट ओझेल नहुन्जेल हेरिरहेँ । उसप्रति यस्तरी माया उम्लेर आउँथ्यो कि हुने भए म उसका कदममा छताछुल्ल पोखिन्थेँ होला । तर, त्यसै दिन मेरो प्रेमको दुनियाँ जलेर खरानी भयो...।
ऊ गएको दस मिनेटजति पछि फेरि बाटोमा देखियो । तर, यसपटक उसको पाखुरामा एन्जी झुलिरहेकी थिई । ऊ मस्की मस्की कुरा गरिरहेकी थिई । हे भगवान् ! यो एन्जी भन्ने डन्किनीले मेरो सपनाको राजकुमारलाई खोसी ! मेरा आँखा यसै यसै भरिएर आए । मलाई भाउन्न हुन थाल्यो । एन्जी र म एउटै स्कुलमा पढ्थ्यौँ । मलाई एन्जी फिटिक्कै मन पर्दैनथ्यो । चकचक गरिरहनुपर्ने, फतर फतर बोलिरहनुपर्ने एन्जी स्कुलमा बद्नाम थिई । तेह्र/चौध वर्षको उमेरदेखि नै ऊ स्कुलका बढी उमेरका केटाहरूसित लठारेर हिँड्थी । कतिपटक मेरो नोटबुक चोरेकी थिई यसले । र, आज मेरो प्रेममा लामो हात गरी यसले । कुकुर्नी !
यसै वर्ष ब्याटल अफ बि्रटेन सुरु भयो । र, हाम्रा दुर्दिन सुरु भए ।
ब्याटल अफ बि्रटेन जर्मन एयर फोर्सले बि्रटेनविरुद्ध गरेको हवाई हमला हो । बि्रटेनको रोयल एयर फोर्सभन्दा जर्मन एयर फोर्स उत्कृष्ट छ भन्ने सावित गर्न जर्मनीले बि्रटेनमाथि हवाई हमला गरेको थियो ।

हवाई हमलाको संकेत दिने साइरन बज्नासाथ हामी हवाई हमला हुँदा लुक्न बनाइएका सार्वजनिक सुरक्षास्थल, पब्लिक एयर रेड सेल्टरतिर कुदिहाल्थ्यौँ । मान्छेहरू सेल्टरतिर भेडाबाख्राझैं बुर्कुसी मारेर कुद्थे । म र मेरी आमा पनि कुद्थ्यौँ । कहिलेकाहीँ त रातरातभरि सेल्टरमा बस्नु पर्थ्यो । अरूवेला भने दुई/तीन घन्टासम्म सेल्टरमा बसिन्थ्यो । एक रात दुई बजेतिर हामी सेल्टरबाट घर फर्किंदै थियौँ । तर, बाटोमा त यौटा विस्फोट नभएको बम तेर्सिएको रहेछ । त्यस रात हामी आमा-छोरी छिमेकीका घरमा बस्यौँ ।

सेल्टरमा हाम्रो बेहाल थियो । मैले बि्रटिस जनतालाई यति दयनीय कहिल्यै देखेकी थिइनँ । सेल्टर दुई तखता भएको दराजजस्तो ठाउँ हुन्थ्यो । माथ्लो तखतामा पुरुष बस्थे भने तल्लो तखतामा महिला । सेल्टरमा चर्पी या नुहाइधुवाइ गर्ने ठाउँ हुँदैनथे । भाँडाकुँडा माझ्ने सानो ठाउँ भने हुन्थ्यो । त्यहाँ नुहाउन सकिँदैनथ्यो किनभने त्यो ठाउँ ह्वांगै थियो । हामी तीन सातासम्म एउटै लुगा लगाउँथ्यौँ ।
एक दिन सेल्टरमा बसेका वेला आमाले 'लुगा नफेरी भएन, असाध्यै मैलो भयो' भन्नुभयो । तर, सेल्टरका व्यवस्थापकले कसैलाई घर जान दिँदैनथे । ऊ चिया खान गएको मौका छोपी हामी गुपचुप तरिकाले आफ्नो घरभित्र पस्यौँ । अँध्यारोमा जब आमाले आफ्नो भित्री लुगा खोलिन्, पूरै कोठा ह्वास्स गनायो । मैले झन्डै वान्ता गरेकी ! आमाले हतार हतार लुगा फेर्नुभयो । हामी घरबाहिर निक्लनै लागेका थियौँ, कि अचानक हामीलाई घरमा केही गडबड भएको छ भन्ने लाग्यो । चोटामा उक्लेर हेरेको त हाम्रो टाउकोमाथि खुल्ला आकाश थियो ! बमबारीमा परेर घरको छानो उडेको थियो । बचेखुचेका बोक्न सक्ने चीजबीज त लानै पर्‍यो भनेर हामी घरभित्र यताउति गर्न थाल्यौँ । घरभित्र घर थिएन, घरको भग्नावशेष मात्र थियो । दराजका घर्रासमेत काँचका टुक्राले भरिएका थिए ।
भोलिपल्ट मेरा दाइ हामी बसेको छिमेकीको घरमा आए । उनी पुलिस थिए । हाम्रो हालत देखेर असाध्यै दुःखी भए उनी । दाइले हामीलाई मेल्टन मोब्रे पठाउने व्यवस्था मिलाए । हवाई हमलाको खतरामा रहेका बस्ती उठाएर मेल्टन मोब्रेमा सारिन्थ्यो । त्यहाँ मेरी भाउजू र भतिजी पनि थिए । यसरी हामी लन्डनबाट मेल्टन मोब्रे पुग्यौँ । भाउजू हामी आएकाले गद्गद् थिइन् ।

मैले ग्रान्थममा रहेको एक हतियार कारखानामा काम पाएँ । हिस्पानो भनिने बन्दुक बनाउनु मेरो काम थियो । पहिलो दिन कारखानामा मलाई ठुल्ठूला मेसिन चलाउनेबारेमा एक घन्टाजति प्रशिक्षण दिइयो । बेलुका काम सकिएपछि आफ्नो कार्डमा हाजिरी चिह्न लगाई माग्नु पर्थ्यो। यसका लागि मैले हाजिरी चिह्न लगाउने कर्मचारीको कोठाको झ्यालमा टकटक गरेँ । झ्याल खोलियो र झ्याल खोल्ने मान्छे थियो- उही मेरो सपनाको राजकुमार ! मेरो मुटु भट्याक-भट्याक हल्लिरहेको थियो । म थर्थरी कामिरहेकी थिएँ । उसलाई यसरी यहाँ भेटुँला भनेर मैले कल्पनासम्म गरेकी थिइनँ । म असाध्यै खुसी भएकी थिएँ । तर, मैले झल्याँस सम्झेँ कि ऊ त एन्जीको पे्रमी पो हो त ! उसले मेरो कार्डमा हाजिरी चिह्न लगाउँदै गर्दा मैले सोधेछु, 'तिम्री प्रेमिका एन्जीको हालखबर के छ नि ?' प्रश्न गर्न नपाउँदै उसले रिसाएको जस्तो गरेर भन्यो, 'के को प्रेमिका नि ? त्यो धोकेवाजलाई मैले उहिल्यै छोड्दिसकेँ । उसले एकैपटक दुईजनासित प्रेम गरेकी रहिछ ।' अब उसलाई मैले प्राप्त गर्ने सम्भावना बलियो भएर देखापर्‍यो ।

तर, त्यस कारखानामा सयजना जति महिला कामदार थिए । उनीहरू सबै ऊ भनेपछि मरिहत्ते गर्थे । लन्डनमा एक एन्जी थिई भने यहाँ एक सय एन्जी थिए ।
तर, हरेकपटक मेरो कार्डमा चिनो लगाउँदा उसको अनुहार रातो हुन्थ्यो । केही बोल्न, केही बताउन या केही व्यक्त गर्न खोजेझैं देखिन्थे उसका आँखा ।
हामी बिहानदेखि साँझ नपरुन्जेल काम गर्थ्यो । एक साँझ हाजिरी चिनो लगाउन गएका वेला उसले 'भोलि हामी सिनेमा हेर्न जाऔँ न' भन्यो । मैले नाइँ भन्ने कुरै थिएन ।
सिनेमाको नाम थियो- वान हन्ड्रेड मेन एन्ड अ गर्ल । डिएना डर्बिनको पहिलो फिल्म थियो त्यो । उनी गजबकी अभिनेत्री थिइन् । सुन्दर र सान्दार । हामीले सिनेमाको भरपुर आनन्द लियौँ । त्यस दिन मैले धोको फुकाएर कुरा गरेँ । उसले पनि आफ्नो बारेमा धेरै थोक बतायो । उसले आफू कारखानाका कुनै पनि महिला त के, संसारका कुनै पनि महिलासँग प्रेम गर्न नसक्ने बतायो । उसले भन्यो, 'म तिमीलाई चाहन्छु ।'
यसरी सुरु भयो युद्धकालमा हाम्रो पिरती ।
त्यसको केही महिनापछि हामीले बिहे गर्ने निधो गर्‍यौँ । एल्फले लाइसेस्टरमा मलाई स्वयंवरेऔंठी लगाइदियो । म उन्नाईस लागेकी थिएँ । बिहे त गर्ने नै भन्यौँ हामीले, तर बिहेको विधि पुर्‍याउन चाहिने सरसामग्रीको एकदम अभाव थियो । कतैबाट अलिकति रेसमी कपडा ल्याइयो र अड्कोपड्को तेलको धुप गरेर बेहलीको पहिरन तयार गरियो । मेरो दाजुसित क्यामेरा थियो । फोटो खिच्ने जिम्मा उनले लिए । आमा र मैले चिनी र अन्डाको जोहो गर्न सुरु गरेका थियाँै विवाहको केकका लागि । विवाहको दिन मैले त बिदा पाएँ, तर एल्फले भने आधा दिनको मात्रै बिदा पाए । हाम्रो विवाह भव्य रूपले सम्पन्न भयो । यस अर्थमा भव्य होइन कि हामीले बढी तामझाम गरेका थियौँ । यस अर्थमा भव्य कि युद्धकालमा पिरती सफल भएको थियो ।
gkcbinodbikram@gmail.com

Thursday, August 6, 2009

मेरो अनुरोध कसैले सुनेन



एउटा मान्छेले जीवनमा सामान्यतया एउटै राष्ट्रिय गान गाउँछ । ऐतिहासिक परिवर्तनको घुम्तीवरिपरि बाँच्ने ज्यानले दुईटा गाउने अवसर पाउन सक्छ, अहिलेको नेपाली पुस्ताले जस्तै । तर, अम्बर गुरुङले भने एउटै जीवनमा चार-चारवटा राष्ट्रिय गान गाए । दार्जिलिङमा जन्मे-हुर्केका अम्बरले भारतमा बि्रटिस उपनिवेश रहँदा थोमस अर्गस्टिन आर्नेले कम्पोज गरेको बेलायती गान 'गड सेभ आवर ग्रासियस क्विन...' गाए, भारत स्वतन्त्र भएपछि रवीन्द्रनाथ टैगोरको 'जन गण मन...' गाए । दार्जिलिङको सरकारी जागिर छाडेर नेपाल फर्केपछि बखतवीर बुढापिर्थीले तयार पारेको धुनमा चक्रपाणि चालिसेका शब्द 'श्रीमान् गम्भीर नेपाली...' मा उनले स्वर मिलाउन थाले ।
अम्बर गुरुङलाई लागेको थियो, राष्ट्रिय गानका रूपमा यही 'श्रीमान् गम्भीर नेपाली' गाउँदा-गाउँदै एकबारको जुनी जानेछ । तर, जीवनमा कहिल्यै नसोचेको सन्जोग आयो उनीसामु । त्यो हो, आफूले गाउने राष्ट्रिय गानको धुन आफैँ सिर्जना गर्ने । हुन त, अम्बरलाई नेपालमा निम्ता गरेर ल्याएको राजा महेन्द्रले हो । (नेपाल आगमनपछि नेपाली गीत-संगीतमा उनको विशिष्ट योगदान पनि पुग्यो) तर, गुरुङलाई नयाँ राष्ट्रिय गानको धुन सिर्जना गर्न राजाले नै त के दिन्थे र ? जनयुद्ध र जनआन्दोलनको आँधीले राजतन्त्र गल्र्यामगुर्लुम पारेपछि मात्रै अम्बरले त्यो महान् अवसर पाए । नीति-नियममा हेरफेर भयो, शासन-प्रशासन बदलियो । त्यही क्रममा सरकारले राजाको स्तुतिको सट्टा नयाँ राष्ट्रिय गान चयन गर्‍यो । छानिएको व्याकुल माइलाको गीत 'सयौँ थुँगा फूलका हामी...' का लागि अम्बरले नै धुन सिर्जना गरे । अहिले औपचारिक कार्यक्रममा उनी आफैँले तयार पारेको त्यही राष्ट्रिय धुन गुनगुनाउँछन् । 'आफैँले राष्ट्रिय धुन बनाउनुपर्ला भनेर मैले सोचेकै थिइनँ,' अम्बरले भने, 'देशमा यस्तो परिवर्तन होला भनेर नेताहरूले त कल्पना गरेका थिएनन्, मैले कसरी कल्पना गर्नु ?
राष्ट्रिय धुनको आयु
कल्पना नगरे पनि अम्बर गुरुङ राष्ट्रिय धुनका सर्जक भएका छन् । उनले राष्ट्रिय धुन सिर्जना गर्नुअघि नेपालकै अघिल्ला धुन र अरू मुलुकका राष्ट्रिय धुनबारे पनि अध्ययन गरे । राजदूतावासका कार्यक्रमहरूमा, विदेश गएको मौकामा र आफ्नै खोजीमा उनले अरू देशका राष्ट्रिय गान सुनेका थिए । नेपालकै पुरानो धुनको पनि उनले अध्ययन गरे । राणाकालमा नेपालमा अंग्रेजहरूकै राष्ट्रिय धुन बजाइन्थ्यो । अंग्रेजहरूको सम्मानमा उनीहरूकै धुन बजाउने चलन थियो । 'धुन त आफ्नै हुनुपर्छ,' त्यतिबेला अंग्रेजहरूले नै टिप्पणी गरे । अनि, मात्रै तत्कालीन शाही सेनाका ब्यान्डमास्टर बखतवीर बुढापिर्थीको धुन तयार भयो, जसमा पछि चक्रपाणि चालिसेले शब्द लेखे । 'कसैले बुढापिर्थीले तयार पारेको भन्छन्, कसैले यन पाठानले हो भन्छन्,' गुरुङले भने, 'तर, अंग्रेजको धुनको सट्टा नेपाली धुन नै हुनुपर्छ भनेर त्यो तयार पारिएको थियो ।' राष्ट्रिय गान वा धुन परिस्थितिले बदल्छ भन्ने लाग्छ गुरुङलाई । उनलाई थाहा छ, एउटा परिस्थितिले 'श्रीमान् गम्भीर..' जन्म्यो । अर्को परिस्थितिले त्यसैलाई हटाइदियो । देशको राजनीतिक परिवर्तनले राष्ट्रिय गानमा परिवर्तन गरिदियो । नबदलिने राष्ट्रिय गान बनाउन सकिन्छ कि सकिँदैन ? संगीतकारसँग त्यस्तो आइडिया पनि त हुन सक्छ ! 'नबदलिने राष्ट्रिय गान भन्ने हुँदैन,' गुरुङले ढुक्कैसित भने, 'अहिलेको राष्ट्रिय धुन पनि फेरिन सक्छ ।' आफैँले तयार पारेको धुनप्रति पनि उनको अविश्वास रहेछ ।
त्यसो भए, अहिलेको राष्ट्रिय गान कहिले र कस्तो अवस्थामा फेरिन्छ त ? 'देशको परिस्थिति फेरियो भने यो फेरिन्छ । अहिलेको जस्तो राजनीतिक व्यवस्था रहेन भने यो गान पनि रहन्न,' उनले भने, 'देशमा कम्युनिस्ट व्यवस्था आयो भने कम्युनिस्ट गान नै बनाउँछन्, यो गान र धुन फेरिन्छ ।'
राष्ट्रिय धुनका विशेषता
पञ्चायतकालमा देशभक्तिका भाव भएका गीतलाई रेडियोमा राष्ट्रिय गीत भनेर बजाइन्थ्यो । त्यो अम्बर गुरुङलाई चित्त बुझेको थिएन । उनले तत्कालीन प्रशासकसँग अनुरोध पनि गरे, 'यी गीतलाई राष्ट्रिय गीत होइन, देशभक्तिपूर्ण गीत भन्नुपर्छ । के यी गीतबाहेक अरू सबै अराष्ट्रिय गीत हुन् त ?' तर उनको आग्रहलाई कसैले टेरपुच्छर लगाएन । धेरै पछि मात्रै त्यस्ता गीतलाई देशभक्ति गीत वा स्वदेश-गान भन्न थालियो । त्यतिबेलादेखि नै उनलाई राष्ट्रिय गानप्रति चासो बढेको थियो । अहिले उनीसित राष्ट्रिय गानको विशेषताबारे लामो अध्ययन र आफ्नै अनुभव छ । 'राष्ट्रिय गान त छोटो पनि हुनुपर्‍यो, सरल पनि हुनुपर्‍यो, सबैले सजिलै गाउन सक्ने पनि हुनुपर्‍यो,' अम्बरले भने, 'हाई स्केल हुन पनि भएन, लो स्केल हुन पनि भएन । बूढाबूढीदेखि केटाकेटीसम्मले गाउन सक्ने हुनुपर्छ । हाम्रो संस्कृति पनि झल्कनुपर्‍यो ।' अम्बरले भन्दै गए, 'राष्ट्रिय गानमा विचार र भावनाको संयोजन हुनुपर्छ, हाम्रो गौरवगाथा हुनुपर्छ, आफैँ मनन गर्न मिल्ने खालको हुनुपर्छ ।' र, उनले फेरि त्यही दोहोर्‍याए, 'मुख्य कुरो सबैले सजिलै गाउन सक्ने खालको हुनुपर्छ ।'
अम्बरले आफैँले धुन सिर्जना गर्दा के-के कुरामा ख्याल पुर्‍याए त ? 'मलाई धुन बनाउन सरकारले जम्मा ४५ दिन दिएको थियो । मैले यो धुन हर्ष, पर्व, शोक, संकट सबै राष्ट्रिय घटना वा अवसरमा बजाउन मिल्ने हुनुपर्छ भन्नेतिर ख्याल पुर्‍याएँ । यो अहिलेको धुन राष्ट्रिय शोकमा बिस्तारै बजाउन मिल्छ ।' अधिकांश देशका राष्ट्रिय धुनहरू सेना वा प्रहरीले ब्यान्डमा बजाउने खालका छन् । अम्बरले भने नेपालकै अघिल्लो राष्ट्रिय धुनभन्दा फरक खालको सिर्जना गरेका छन् । भने, 'हलुका शास्त्रीयपन र वीररसको रागमा आधारित छ यो अहिलेको धुन ।'
धुन सिर्जना प्रक्रिया
आन्दोलन सफल भएपछिको सरकारले पुरानो राष्ट्रिय गान खारेज गरेपछि नयाँ राष्ट्रिय गान बन्ने भयो । सरकारका अधिकारीले कवि/लेखकलाई 'ल, तपाईंहरू मिलेर दिनुस्' भने । त्यसरी कुरा मिलेन । अनि, सरकारले कविहरूलाई आ-आफ्ना गीत बुझाउन आवेदन डाक्यो । प्रतिस्पर्धाबाट छनोट गर्ने कुरा आएपछि धेरैले सहभागिता जनाएनन् । 'त्यसो गर्दा आफ्नो गीत छनोटमा परेन भने वरिष्ठ कवि-लेखकलाई आत्मग्लानि र अपमानबोध हुन्थ्यो,' राष्ट्रिय गान छनोट समितिका सदस्यसमेत रहेका अम्बरले भने, 'त्यही भएर धेरै राम्रा-राम्रा गीतकार/कविले नै गीत बुझाएनन् ।'
पछि १२ सयभन्दा बेसी गीत आए र त्यसपछि अम्बर गुरुङसहितको समितिले व्याकुल माइलाको 'सयौँ थुँगा फूलका हामी' छान्यो । 'मलाई त्यो गीत कसको भन्ने थाहा थिएन,' अम्बरले भने, 'तर, गीत विवादमा आयो ।' कतिले त गीत स्तरीय र सुललित नै छैन पनि भनेका थिए । अम्बरलाई पनि त्यस्तै लागेको थियो कि ? 'मैले त खै के भन्ने ? त्यो त हामी आफैँले छनोट गरेको थियौँ । छनोट भनेको त्यहाँ जस्ता गीत आए, तिनैबीच छान्ने न हो,' उनले प्रतिप्रश्न गरे, 'मैले त जस्तो गीत दिए पनि धुन बनाउनुपथ्र्यो । त्यो अब व्याकुलको भाग्यमा लेखेको रहेछ भन्नुस् न ।' अम्बरले अहिलेको गीतको भाव, गीति-संरचना र मर्मको कुनै प्रशंसा गरेनन् । उनी छनोट समितिमा रहँदा 'अम्बरले आफ्नै संगीतको 'रातो र चन्द्र सूर्य' गीत राष्ट्रिय गानमा राख्छ भन्दै बाहिर खुबै कुरा काटिए । 'मैले किन आफ्नै गीत राख्थेँ र ? मैले त प्रस्टै भनेको थिएँ, त्यस गीतको संगीतले हुँदैन, शब्दचाहिँ हुनसक्छ । वास्तवमा भन्ने हो भने त्यो जति राम्रो राष्ट्रिय भावनाको गीत त मैले अर्को देखेकै छैन ।'
छानिएको गीतमाथि धुन बनाउने जिम्मा पहिले नेपाली सेना र प्रहरीलाई दिइयो । यो अम्बरलाई थाहा थिएन । पछि सरकारी अधिकारीले नै अम्बरलाई पनि धुन बनाउनू भने । संस्कृतिविद् सत्यमोहन जोशीले पनि अम्बरलाई धुन तपाईंले नै बनाउनुपर्छ भनेर अनुरोध गरे । 'मैले बनाएको धुन सबैले मान्ने हो भने बनाउँछु, नत्र विवाद गर्ने वा पछि नराख्ने हो भने बनाउँदिनँ भनेँ,' उनले भने, 'तर, मलाई अम्बरले अहम् देखायो भनेर आलोचना र विरोध पनि गरियो । राष्ट्रिय गानको धुन सिर्जना गर्न पाउनु मेरा लागि पनि ऐतिहासिक र महान् अवसर थियो ।' त्यसपछि फेरि तत्कालीन संस्कृतिमन्त्रीले तपाईंले नै बनाइदिनुपर्छ भनेर अनुरोध गरे । अम्बरले आफूले धुन बनाउने हो भने त्यसको क्राइटेरिया के हो ? सुविधा/पारिश्रमिक के कसो हुने हो भनेर सरकारलाई सोधे । 'सरकारले मलाई एस्टिमेट बुझाउनू भन्यो । त्यसपछि मात्रै मैले राष्ट्रिय धुन बनाउने काम सुरु गरेँ ।'
त्यतिबेला सरकारले अम्बर गुरुङलाई तीनवटा भिन्दा-भिन्दै धुन बनाउन भन्यो । उनलाई गीत तीनवटै धुनमा राखिनेछ भनियो । 'उनीहरूले तीनवटा धुन तयार पार्दा लाग्ने प्राविधिक खर्च, वाद्यवादकको पारिश्रमिक, गायकगायिकाको पारिश्रमिक र तपाईंको पारिश्रमिक सबै दिन्छौँ भनेका थिए,' अम्बरले भने, 'त्यसपछि मैले तीनवटै धुन बनाएँ । तीनवटा धुन छनोट गर्नुअघि मैले १२ वटा धुनको तयारी गरेको थिएँ, म त्यसबेला बिरामी पनि परेँ । अन्तिमका तीन धुन मैले मेरा साथीहरू, साहित्यकार, बुद्धिजीवीलाई बोलाएर सुनाएँ । सरकारका प्रतिनिधिले पनि सुने । र, अब हामीले छनोट गर्छौं भनेर लिएर गए ।' धुन लगिसकेपछि अम्बरले कुनै पारिश्रमिकको माग गरेनन् । सरकारले आफैँ निर्णय गरेर व्याकुल माइला र अम्बरलाई पाँच-पाँच लाख रुपैयाँ पुरस्कार दियो । र, त्यही धुन अहिले नेपाली जनमनमा लछप्पै भिजेको छ, जुन धुनले चीनको ओलम्पिकमा पनि विश्वभरिमै नवौँ स्थान हासिल गरेको थियो ।
आफूले छानेका तीनवटा धुन सरकारलाई बुझाएपछि अम्बर गुरुङलाई लागेको थियो, अब सरकारले विशेषज्ञद्वारा अध्ययन गराएर धुन छनोट गर्नेछ । तर, त्यसो भएन । मन्त्रीहरूले आफैँ सुनेछन् र यही ठीक भनेर निर्णय गरिदिएछन् । 'उनीहरूलाई संगीतको शास्त्रबारे के थाहा ?' अम्बरले दुःख मान्दै भने, 'मन्त्रीहरूमा संगीतविज्ञ कोही थिएनन् । गिरिजाप्रसादले यही धुन ठीक छ भन्नुभएछ, अनि त्यही छानेछन् ।' अम्बरलाई चाहिँ कुन राम्रो लागेको थियो ? अहिलेको धुनभन्दा अरू अझ राम्रा पो थिए कि ! 'म त आफ्नै सिर्जनालाई यो राम्रो र त्यो खराब कसरी भनौँ ? तर, अरू बाँकी धुन पनि मलाई धेरै राम्रा लागेका थिए । मैले त्यत्रो मिहिनेत गरेर तयार पारेको थिएँ । तर, हचुवामा अध्ययनै नगरी छनोट गर्ने तरिका मलाई मन परेन,' उनले भने ।
गीत र धुन तयार भइसकेपछि अम्बर गुरुङको अर्को चाहना पनि थियो- राष्ट्रिय गानको पहिलो प्रस्तुति भव्य रूपमा गर्ने । बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रको ठूलो हलमा विद्यार्थी, प्राध्यापक, नेता, मन्त्री, कर्मचारी, प्रहरी, सेना सबैलाई एकैचोटि गाउन लगाउने र सारंगी, पियानो, बाँसुरी, भ्वायलिन, गितार आदि सबै बाजामा एकैचोटि बजाएर उद्घाटन गर्नुपर्छ भनेर उनले अनुरोध पनि गरेका थिए । 'तर, मेरो अनुरोध कसैले सुनेन,' गुरुङले गुनासो गरे, 'अब भइहाल्यो भने, कसैले पनि मेरो कुरा टेरेनन् ।'
अम्बर गुरुङ राष्ट्रिय धुनका सर्जक मात्रै होइनन्, नेपाली सुगम संगीतको इतिहासमा उनको झन्डै आधा शताब्दी लामो योगदानको बेग्लै उचाइ छ । दार्जिलिङबाट 'नौलाख तारा' गाउँदै सुरु गरेको सांगीतिक यात्रामा उनले सयौँ गीतमा संगीत दिइसकेका छन् । दर्जनौँ गीत आफैँ लेखेका छन् र दर्जनौँमा आपै
"m स्वर भरेका छन् । देशले अम्बरको योगदान पाएको छ । अम्बरले चाहिँ यो देशबाट के पाए ? 'म त यो देशको ऋणी छु,' उनले देशसँग गुनासो गरेनन् । सरकारबाट केही अपेक्षा बाँकी पो छ कि ! उनले भने, 'नेपाल र नेपालबाहिरका सारा नेपालीहरूको यो अपार माया पाएर म औधि खुसी छु । जनताकै तहबाट खुसी छु, राज्यको के कुरा !'
जनस्तरबाट पाएको प्यारले पुलकित भएका अम्बर अहिले पनि संगीत सिर्जनामा व्यस्त छन् । आफ्नो समयका स्रस्टा शंकर लामिछाने, भूपि शेरचन, हरिभक्त कटुवाल भएको भए राष्ट्रिय गान पनि कति गम्भीर र भावपूर्ण लेखिँदो हो भनेर उनी कल्पना गर्छन् । तर, उनीसित आफ्नो जमाना पनि छैन, नयाँ राष्ट्रिय धुन सुन्नलाई समकालीन साथीहरू पनि छैनन् । युग नयाँ छ, रीतिथिति नयाँ छ र रेडियो-टेलिभिजनमा प्रत्येक दिन बज्ने आफैँले सिर्जेको राष्ट्रिय धुन पनि नयाँ छ ।
सङ्गीतस्रोता
sangeet.srota@gmail.com