मान्छेलाई प्रेमले पनि मार्दोरहेछ
मृत्युको सिलुएट (पाश्र्वछाया) मा उभिएर जगदीश घिमिरेले निकैपटक आफ्नो जीवनको सिंहावलोकन गरेका छन् । सन्ध्यामा अथवा जुनेली रातमा धेरै टाढा डाँडामाथि देखिने वृक्षका आकार, पर्वतका आकार, कुनै वस्तु वा व्यक्तिका आकारजस्तो केही अमूर्त वस्तु देखेका छन् । त्यो अस्पष्ट र भयप्रद भएर उनीअघि निकैपटक उभिएको छ । अस्पतालले भनेदेखिन् नै प्रत्येकपटक आफ्ना जीवनका दिनहरू सकिन लागेको जगदीश घिमिरेले देखेका छन् । उनले त्यो विराट् 'ब्ल्याकहोल' देखिसके । त्यसबाट हुने सम्भावित भय, सन्ताप, दुःखानुभूतिले उनलाई निमेष-निमेषमा छोइरहेको हुन्छ ।
टोल्स्टोयले 'बूढो खोल्सतोमेर' कथामा 'ईश्वरले मान्छेलाई तीनवटा रहस्यको ज्ञानबाट वञ्चित गरेको' बताएका छन् । ती के भने— मानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ, उसको आयु कति लामो छ र मृत्युको घडी कसरी आउँछ । जगदीश घिमिरेलाई भेट्ने बेला मनमा लागेको थियो, सायद यी तीनै रहस्य खुल्ने भए सृष्टिको स्परूप नै भिन्न हुन्थ्यो । जवानीका जोसमा मान्छेले खोलाका ठूला जँघार पनि तर्छ, दुर्लंघ्य पहाड पनि नाघ्छ । भर्भराउँदो जवानीमा मृत्युबारे कसैले सोच्तैन । नत्र जीवनको मधुरतम रस पनि बाँकी रहने थिएन । त्यसबेला मान्छेलाई लाग्छ— यत्तिकैमा पुग्छ होला, मर्नेहरू मरिरहून्, म अमर छु । त्यसबेला शरीरको नश्वरता र क्षणभंगुरता पनि मान्छेले बिर्सेकै हुन्छ । जगदीश घिमिरेको जवानी सिद्धिएको धेरै भयो । यस बुढ्यौलीमा आएर उनले सुनाए— कसैको जीवनको टुंगो छैन, तर मेरो जीवनको टुंगो छ ।
जगदीश घिमिरेले अमेरिकाको ओक्लोहामा सहर पुगेपछि थाहा पाए— मलाईर् मल्टिपल माइलोमा क्यान्सर छ । त्यसै दिन उनको ढाड फ्रयाक्चर भयो र उनी हलचल गर्न नसक्ने गरी ढले । बाँकी जीवन ढलेरै बिताउनुपर्ने बाध्यताको त्यो पहिलो दिन थियो । 'हामी अमेरिका जाँदा जति उत्साही थियौँ, त्यहाँबाट फर्किंदा त्यसभन्दा हजारौं गुणा दुःखी थियौँ,' उनले सुनाए— 'म बाँचुन्जेल त्यो दिन बिर्सन सक्नेछैन ।' त्यसबेला डाक्टरले यिनको बाँच्ने आयु पनि तोकिदिए—'तीन-चार वर्ष । त्यसमा केही घटी-बढी हुनसक्छ ।' बढी भए त राम्रै भो । तर, घटी भयो भने ? उनी यही सोचेर तर्सिन्छन् ।
अब जगदीशका बालकझैँ नांगिने दिन पनि सुरु भए । नर्सहरूले ओछ्यानमै दिसा, पिसाब गराइदिन्थे, दिनको दुईपटक नुहाएर लुगा फेरिदिन्थे । खुवाउँथे । 'त्यही बेलादेखि म महिनौँसम्म अस्पताल र घरका सहायकका अगाडि निर्वस्त्र भएँ ।' मृत्यु पनि निर्वस्त्र भएर यिनको अगाडि आएको थियो । कुन बेला टपक्क टिपेर लैजान्छ के पत्तो ? रोगले मृत्युको निम्तो दिएको बेला यिनको मनमा के कुरा खेले हुन् ? 'त्यस रोगको पीडा म बताउन सक्तिनँ । एक दिन मर्नु त छँदै छ । यतिसारो पीडित भएर मरिजानु निको होइन,' उनले सुनाए, 'अन्ततः मृत्यु दुःखद होइन । रोएर बाँच्नुभन्दा रुवाएर जानु निको हो जस्तो लागेको थियो ।'
डाक्टरले बाँच्ने आयु तोकिदिए यता उनका सबै दिनरात अस्पतालको झ्यालखाना, कोठाको कठघरा र ओछ्यानको पिँजडामा बितिरहेका छन् । उनी अचानक जीवनको सबैभन्दा उज्यालो प्रकाशबाट एकाएक साह्रै अँध्यारो अन्धकारमा पुगे । त्यसबेला यिनलाई हेर्न भएजतिका आफन्त आउँथे, रुन्थे र स्तब्ध हुन्थे । आँखाबाट बरर्र.... आँसु खसाल्थे । थरीथरीका उपचार गर्न सल्लाह दिन्थे । 'उपचारका क्रममा म त्यो दन्त्यकथाको राजकुमारजस्तो भएको थिएँ, जसलाई टुनामुना गरेर मन्त्रेको अक्षताले हिर्काएर भेडो बनाइएको थियो । अनि, त्यो राजकुमार एकोहोरिएर टुना गर्नेको पछि लागेर हिँडेको थियो रे,' जगदीशले सुनाए, 'त्यो भेडोजस्तै खुरुखुरु मानेर मैले थरीथरीका उपचार गरेँ र सबैको चित्त बुझाएँ । मेरो चित्त भने समयले नै बुझाउनेछ भन्ने सोच्थेँ ।'
आज उनी मृत्यु कुरिरहेका छन् । टाढा उभिएको मृत्युको छाया नजिकै देखिरहेछन्, त्यो भयप्रद मुद्रा अघिल्तिर आफ्ना केही कथाव्यथा लेखिरहेछन्, सारा मनोभाव घोप्ट्याएर । चेखबको एक पात्रले आफ्नो हृदय अनेक पीडाले भरिएपछि अरू कोही नपाएर आफ्नै घोडासँग आफ्ना दुःख र वेदना कहेजस्तो, उनी अक्षरहरूलाई आफ्ना दुःखका कथा भनिरहेछन् । मलाई पनि आफ्नो मृत्यु चिन्तन सुनाइरहेछन् ।
काल त निष्ठुर हुन्छ । मृत्युचेतनाले हाम्रा सारा सुख समाप्त गरिदिन्छ । सोसिल रोड्सले मर्ने बेला भनेका थिए— 'यति मात्र गरियो, कत्रो बाँकी रह्यो ? सबैको त्यस्तै हो ।' मृत्युको पूर्वाभासले मानिसको भावनामा ठूलो परिवर्तन ल्याइदिन्छ । हामीले यस समाजमा यो कुरा अनुभव गरेकै छौँ । मन दान, धर्म, पुण्य गर्ने, यश-कीर्तिका कामपट्ट िजान्छ । टमस मानले भनेका छन्, 'मृत्युका बारेमा धार्मिक दृष्टिले चिन्तन गर्नु जीवनको अभिन्न पक्ष हो ।' जगदीश घिमिरेले पनि मृत्युको चिन्तन धार्मिक दृष्टिले गरे । गाउँ रामेछापको जग्गादान गरे । 'अब बाँचिँदैन भन्ने लाग्यो । मृत्युको अड्कल गर्दा लेनदेन टुंग्याउनुपर्छ भन्ने लाग्यो । मन्थलीमा भएको जग्गा केही दान गरेँ, त्यतिले मात्र पनि मनमा सन्तोष मिल्यो । शून्य, एकान्त जस्तो भयो,' उनले सुनाए ।
अहिले त जगदीश निकै तंगि्रएका छन् । पहिलेजस्तो दुःखी छैन समय । मर्छु जस्तो लागेको छ ? 'अहिले पो केही तंगि्रएँ, के थाहा कहिले मर्छु ? सबै मृत्युका मुखमा छन् । तर, यति थाहा छ चाँडै मर्नेछु,' जगदीश यति सुनाउँदा निकै भावुक भएका थिए । मृत्युलाई नजिकबाट देखेका जगदीशलाई मृत्युको अभिलाषा पनि छ होला ? 'छैन, त्यो त स्वाभाविक प्रक्रिया हो नि,' उनले भने, 'थला परेर, कुहिएर बस्नुभन्दा मर्नु ठीक हो । लामो समय बाँचौँ भन्ने पनि छैन ।'
जगदीशले अहिले चोभार डाँडाको आफ्नो घरमा बसिरहँदा धेरैपटक माइलोमा हुनुपूर्व र अहिलेको अवस्था दाँजेका छन् । र फेला पारेका छन्, मात्र शून्य, भयप्रद समय । आफ्नै घरका चोटा-कोठाले पनि कहिलेकाहीँ यिनलाई तर्साउँछन् । उनले धेरै कुरा दाँजेका छन् पहिले र अहिलेमा । पहिले जीवनमा रस हुन्थ्यो । रमाइलो हुन्थ्यो । तर, अहिले जीवन फेरिएको उनले देखेका छन् । जीवनका ती रमाइला दिन अहिले आँखाभरि नाच्छन् मात्र । उनले फेला पारेका छन्—मात्र नीरस र चिच्याटलाग्दो समय । जीवनका धेरै इन्द्रधनुषी रङबाट धुलोमा पछारिएका उनी जीवनमा अहिले कुनै रङ देख्दैनन् ।
मृत्युशय्यामा रहँदा कवि लेखनाथ पौड्यालले लेखेका थिए—
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।।
त्यसैगरी मृत्युशय्यामा छट्पटिँदा जगदीश घिमिरेले पनि आफ्नो कथा लेखे— अन्तर्मनको यात्रा । कृतिमा मृत्युबोध, मृत्युचिन्तन, मृत्युप्रतिको समर्पणभाव लेखे । मृत्युको अनुभूति गर्दा अहिले पनि निकै भयप्रद लाग्छ जगदीशलाई । जुन कुरा अवश्यभावी छ, त्यसैप्रतिको भय कति त्रासद । यसरी लेखकले आफ्नैसामुन्ने मृत्यु उभिएको छर्लंगै देख्दाको मनोभाव कस्तो होला, म कल्पना पनि गर्न सक्दिनँ । के मृत्यु प्रकाशमान् हुन्छ ? 'देखिँदैन मृत्युलाई । कहाँ हुनु प्रकाशमान् ?' उनले सुनाए । जे भएको छैन त्यो अतिरेक पि्रय हुन्छ । तर, जगदीशलाई मृत्यु पि्रय लागेन रे ! 'यो स्वाभाविक प्रक्रिया हो । बरु आँखामा आफन्त आए, आफ्नो गाउँ लहरै आए । तर, पि्रय लाग्नेगरी मृत्यु आएन,' उनले भने ।
मृत्यु प्रबल हुँदै आएपछि पनि जगदीशमा लेख्ने कुरा धेरै थिए । सम्भावना पनि धेरै थिए । उनको पूर्वार्द्धको जीवनले त्यही भन्छ । हृदयभित्र कुनै कुनामा तृप्त हुनेगरी साहित्य पढ्ने, लेख्ने धोको छँदै थियो । आफूअगाडि उभिएको अँध्यारो उनले अक्षरहरूमा पोखे । अँध्यारामा बलेको झिल्कोझैँ, राँकोझैँ उनका अक्षरहरू बलेका छन् । कुराकानीमै पनि घिमिरे एक गम्भीर, दार्शनिक तहमा ओर्लिन्छन् । पहिलेका चालभन्दा फरक, आफ्ना पारिवारिक र पि्रयजनभन्दा प्रेमपूर्ण बोली र दृष्टिको आशामा अल्झेका, असहाय हुँदै गएका, 'डिस्टब्र्ड मुड' अर्थात् खल्बलिएको मुद्रा लिएर हतप्रभ स्थितिमा जगत्को अन्तिम रहस्यको चिन्तनमा डुबेजस्ता देखिएका छन् घिमिरे ।
जगदीशलाई मृत्युले कुनै एकदिन दाउ हान्छ जस्तो लाग्छ । 'दाउ हान्छ तर, थाहा हुँदैन । जन्मसँग मृत्यु छ । जीवनसँग गाँसिएको छ मृत्यु,' उनले भने । मृत्यु अँध्यारैमा पनि आउन सक्छ । जगदीशले भनी पनि सके— मृत्यु प्रकाशमान् हुन्न, अन्धकारमय हुन्छ । अन्धकारको आकृति कहाँ छ र ? 'मर्नु पनि अन्धकारजस्तै हो । त्यो आफैँ कुरिन्छ,' उनले भने, 'अँध्याराकै बीच लैजान्छ ।' जीवनको निचोडजस्तो दर्शन सुनाए उनले— 'सन्तुलन चुँडिएपछि, आत्मबल फुस्केपछि के गर्नु र ?'
जीवनको चौतारीमा आँखा बिछ्याएर टाढासम्म हेर्दा मृत्यु कुन स्थानमा पाएका छन् घिमिरेले ? उनले पनि पारिजातले शून्यबोध गरेजस्तै सुनाए—'मान्छे जन्मियो अर्थात् मृत्यु जन्मियो । आफ्नो मृत्यु मान्छेले देख्दैन । समयले निर्धारण गर्छ मृत्यु । सायद मृत्यु आत्महत्या गरेर आफूलाई सिध्याउनेले मर्नुअघि देख्छन् ।' उनलाई लाग्छ— मृत्युले कसैलाई टिपेर लैजान संकोच मान्दैन । 'मृत्यु समय हो । आफैँ बग्दोरहेछ,' उनले भने । जगदीशलाई के लाग्छ, जीवनको अन्तिम विन्दु नै मृत्यु हो वा त्यसभन्दा पछि पनि केही छ ? 'मरेको मान्छे त मरिगो नि ! त्यो मान्छे आफ्नो कृतिमा अमर रहन सक्छ । ऊ अमर हुनुको लाभ बाँच्नेहरूलाई छ । नत्र त अन्तिम विन्दु नै मृत्यु हो ।' बरु मान्छे शिथिल भएपछि, मर्ने चाहना बलियो भएर आउँछ भन्छन् जगदीश । 'त्यस्तो बेला मान्छेले आफैँ काल आओस् र टिपेर लैजाओस् भन्छ,' उनले सुनाए ।
मान्छे जति बूढो हुँदै जान्छ, मृत्युको भय पनि बलियो हुँदै आउँछ, होइन र ? 'मृत्युको भय हुनैपर्छ भन्ने जरुरी छैन । यो त यथार्थको स्वीकृति हो । आफैँले अनुभूति गरेको हो मर्छु भन्ने । मर्नु लेखेको रहेछ, मरिन्छ भन्छ मान्छेले,' उनले भने । त्यसो भए मृत्युको मुखबाट बाँचेर आउँदा कुनचैँ शक्तिशाली रहेछ जस्तो लाग्यो त, समय कि जीवनको त्यान्द्रो ? 'समयले जन्माउँछ । साइत हो समय । समयमा जीवन हुन्छ । समयले मार्छ । त्यो समय काल हुन्छ । जन्म, बालापन, यौवन, प्रौढावस्था, मृत्यु— सबै उही समयका फरक नाम र पर्याय हुन् । सबै समय उही हो, एकै हो,' उनी दार्शनिक चेतनामा भन्दै गए— 'जीवन बाँच्नुको अर्थ मर्नु हो । समय अस्तित्व मात्र होइन, सँगसँगै एकैपटक अस्तित्व र अस्तित्वहीनता समेत हो । समय कुनै राम्रो, कुनै नराम्रो हुँदैन । जन्म सुसमय, मृत्यु कुसमय होइन । उही एउटै समय सृष्टि, स्थिति र प्रलय अर्थात् जन्म, जीवन र मृत्यु हो । यसमध्ये कुनै समय मान्छेका लागि उत्सव हुन्छ, कुनै समय शोक । समय यथार्थ हो । त्यसैले जीवनको त्यान्द्रो नै समय हो ।
त्यही शक्तिशाली छ ।' उनलाई बाँच्नु जीवनको अल्पकालीन समाधान हो अनि मर्नु दीर्घकालीन समाधान जस्तो लाग्छ ।
मल्टिपल माइलोमाले आफूलाई गाँज्दै ल्याउँदा जीवनका अर्थपूर्ण दिनहरू आँखामा नाचिरहे । 'फर्केर हेर्दा जीवनका कुनै पनि दिन अर्थहीन लागेनन् । यो जीवन नै रहस्य रहेछ । सुख-दुःखका दिनहरू एक-एक गरी आँखामा आए । झसंग भएँ, कति टाढा आइपुगिएछ जीवनमा जस्तो लाग्यो । निकैबेर टोलाएर बस्थेँ उपचारका दिनहरूमा,' उनले भने । उनलाई मृत्यु बलवान् हुँदै आउँदाका ती दिनहरू बेथितीसँग गुजारिए, अर्थहीनसँग बिताइए, मूल्यहीनसँग कटाइए भन्ने लाग्दोरहेनछ । 'अर्थहीन भएनन् ती दिनहरू, बरु दुःख र अप्ठ्याराका दिन थिए,' उनले भने । त्यसो त जगदीशलाई दुई पाइला हिँड्न अहिले पनि निकै सास्ती हुन्छ । अहिले पनि कम्मरमाथि फलामकै पेटी बाँधेर बस्नुपर्छ । 'तैपनि, निकै भाग्यमानी रहेछु जस्तो लाग्छ,' उनले सुनाए ।
त्यसबेलाका सबै रात मर्छु भन्ने भयले गुजारिए होलान् । हरेक बिहान झुल्कने जाज्वल्यमान् सूर्यको पछिल्तिर अँध्यारोको अत्यासलाग्दो प्रताडना छैन ? 'राति आकाशमा थोरै प्रकाश लिएर झुल्कने जूनले पनि बाँच्ने शक्ति दिन्थ्यो । अस्पतालको बेडनजिकैको झ्यालबाट बाहिर म शीतल चन्द्रमा हेर्थें,' उनले सुनाए, 'त्यसले बाँच्ने इच्छा अझ प्रबल भएर आउँथ्यो । बरु साह्रै कालो अँध्यारो रातसँग भने निकै डर लाग्थ्यो ।'
उनलाई अझै पनि आफ्ना आँखैअगाडि मृत्यु सल्बलाइरहेभै"m लाग्छ र त्यसले अहिले पनि तर्साउँछ । तैपनि, उनले मृत्युलाई 'जीवन र दुःखको समापन' ठानेका छन् । 'यो आफ्नो अधीनमा रहँदैन,' उनले सुनाए । मृत्युसँग कहिल्यै माया पलाएन । 'जीवनप्रति मात्र माया हुँदोरहेछ,' उनले भने । स्वेच्छिक मृत्युवरण गर्नु संसारलाई अनादर गर्नु, जीवनलाई नै अनादर गर्नु हो ? 'ठीकै हो स्वेच्छिक मृत्यु । कोही जीवन समाप्त गर्ने कुरा सोच्छ भने त्यो जीवनप्रतिको अनादर होइन । बरु आदर गरिएको हो, आफू बाँचेको समयलाई,' उनले भने । उनलाई अभाव, आवेश, क्रोध, रिसले मृत्युसँग प्रेम गर्छन् जस्तो लाग्छ । 'प्रेमले पनि मार्न सक्छ मान्छे । प्रेम र मृत्यु सँगै आउँदारहेछन्,' उनको जीवनभरिको एक महत्त्वपूर्ण सिकाइ यस्तै रहेछ ।
देवकोटा, युद्धप्रसाद, हरिभक्त, पारिजातहरूले अभावै-अभावमा मृत्युवरण गरेका थिए । त्यस्तो मृत्युको अनुभव कस्तो हुँदो हो ? भन्छन्, 'पीडादायक हुन्छ नि ! देवकोटा, हरिभक्त, पारिजात । यिनको त समय नै अभावको थियो । जिन्दगीभरि अभाव भोगे उनीहरूले । उनीहरू र मबीच फरक बस् यत्ति हो, म अभाव र गरिबीमा मर्दिनँ ।'
जीवन धेरै दुखेको छ । इतिहास दुखेको छ । अब त शान्ति पाए हुन्थ्यो । कतै एउटा शून्यमा विलीन हुन पाए हुन्थ्यो भन्ने लागेन ? 'शून्यमा विलीन हुन पाए हुन्थ्यो जस्तो एकपटक लागेको थियो । बिरामी भएपछिको कुरा हो । म दिल्लीको रेल्वे स्टेसनमा थिएँ । त्यो रेल हुँइकिएर आउँदा त्यही रेलको लिगमा बसौँ र मृत्यु अँगालौँ जस्तो लागेको थियो । तर, आँखाअगाडि के अर्कै कालो वस्तु आएर बसेझैँ लाग्यो, सायद माया पो लाग्यो कि जिन्दगीको ?' उनले भने ।
जगदीशले जिन्दगीको कुनै अर्थ खोजेनन् । बरु बिरामी हुँदा थलिएर बाँच्नुपर्ने बाध्यताविरुद्ध अर्को बाध्यता (साहित्य) टिपेर मुक्त हुन खोजे । बीचमा चटक्कै त्यागिसकेको साहित्य-सिर्जनमा लागे । गाउँघर, आफन्तको माया खोजे र जीवन दुःखेको पीडाले छट्पटाइरहे । अब जगदीशले कसैलाई रिझाउनु छैन, कोही रिसाउला भन्ने पनि छैन । बरु एउटा निचोड फेला पारेका छन् उनले— 'जीवन छ र नै मृत्यु पनि अस्तित्वमा छ ।'
उमेरमा जिन्दगी जति गुलियो भए पनि अहिले जिन्दगी अमिलो र नमीठोपन मात्रै भेटाएका छन् उनले, साँच्चै अमिलो । छुट्नेबेला उनले सुनाए, 'मेरो जीवन काठमाडौंको फोहोरमा बित्यो । त्यसैले अमिलो लाग्यो यो जिन्दगी । म मरेपछि मेरो खरानी मेरा पुर्खाको थलो, मेरा स्वजन माझी, मझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोरको सफा दोभानमा बगाइदेऊ । तर, खरानी छरेर तामाकोसीको सफा पानी नधमिल्याउनू । मेरो खरानी मन्थलीको कुनै पाखामा छरिदिए पनि हुन्छ ।'
No comments:
Post a Comment