Friday, September 4, 2009
ब्रिटेन युद्धताका एक युवतीको प्रेमकथा
त्यतिवेला म अठार वर्षकी थिएँ । सन् १९४० को गर्मी महिनाको एक दिन म घरमा कुचो लगाइरहेकी थिएँ । झ्यालबाट मैले उसलाई सडकमा हिँडिरहेको देखेँ । ऊ अर्थात् एल्फ अर्थात् मेरो सपनाको राजकुमार । म उसलाई देख्यो कि ट्वाल्ल परेर हेर्थेँ । तर, उसका अगाडि पर्ने र बोल्ने हिम्मत हुँदैनथ्यो । त्यतिवेलाको लन्डनमा युवतीहरू यस्तै हुन्थे । लज्जालु र डराउने ! अहिले त पहिलो भेटको पहिलो मिनेटमै 'आई लभ यू' भन्न बेर मान्दैनन् ठिटाठिटीहरू । अझ कोहीकोही त चुम्बन गर्न पनि पछि पर्दैनन् पहिलो भेटमै ।
त्यस दिन पनि उसलाई आँखाबाट ओझेल नहुन्जेल हेरिरहेँ । उसप्रति यस्तरी माया उम्लेर आउँथ्यो कि हुने भए म उसका कदममा छताछुल्ल पोखिन्थेँ होला । तर, त्यसै दिन मेरो प्रेमको दुनियाँ जलेर खरानी भयो...।
ऊ गएको दस मिनेटजति पछि फेरि बाटोमा देखियो । तर, यसपटक उसको पाखुरामा एन्जी झुलिरहेकी थिई । ऊ मस्की मस्की कुरा गरिरहेकी थिई । हे भगवान् ! यो एन्जी भन्ने डन्किनीले मेरो सपनाको राजकुमारलाई खोसी ! मेरा आँखा यसै यसै भरिएर आए । मलाई भाउन्न हुन थाल्यो । एन्जी र म एउटै स्कुलमा पढ्थ्यौँ । मलाई एन्जी फिटिक्कै मन पर्दैनथ्यो । चकचक गरिरहनुपर्ने, फतर फतर बोलिरहनुपर्ने एन्जी स्कुलमा बद्नाम थिई । तेह्र/चौध वर्षको उमेरदेखि नै ऊ स्कुलका बढी उमेरका केटाहरूसित लठारेर हिँड्थी । कतिपटक मेरो नोटबुक चोरेकी थिई यसले । र, आज मेरो प्रेममा लामो हात गरी यसले । कुकुर्नी !
यसै वर्ष ब्याटल अफ बि्रटेन सुरु भयो । र, हाम्रा दुर्दिन सुरु भए ।
ब्याटल अफ बि्रटेन जर्मन एयर फोर्सले बि्रटेनविरुद्ध गरेको हवाई हमला हो । बि्रटेनको रोयल एयर फोर्सभन्दा जर्मन एयर फोर्स उत्कृष्ट छ भन्ने सावित गर्न जर्मनीले बि्रटेनमाथि हवाई हमला गरेको थियो ।
हवाई हमलाको संकेत दिने साइरन बज्नासाथ हामी हवाई हमला हुँदा लुक्न बनाइएका सार्वजनिक सुरक्षास्थल, पब्लिक एयर रेड सेल्टरतिर कुदिहाल्थ्यौँ । मान्छेहरू सेल्टरतिर भेडाबाख्राझैं बुर्कुसी मारेर कुद्थे । म र मेरी आमा पनि कुद्थ्यौँ । कहिलेकाहीँ त रातरातभरि सेल्टरमा बस्नु पर्थ्यो । अरूवेला भने दुई/तीन घन्टासम्म सेल्टरमा बसिन्थ्यो । एक रात दुई बजेतिर हामी सेल्टरबाट घर फर्किंदै थियौँ । तर, बाटोमा त यौटा विस्फोट नभएको बम तेर्सिएको रहेछ । त्यस रात हामी आमा-छोरी छिमेकीका घरमा बस्यौँ ।
सेल्टरमा हाम्रो बेहाल थियो । मैले बि्रटिस जनतालाई यति दयनीय कहिल्यै देखेकी थिइनँ । सेल्टर दुई तखता भएको दराजजस्तो ठाउँ हुन्थ्यो । माथ्लो तखतामा पुरुष बस्थे भने तल्लो तखतामा महिला । सेल्टरमा चर्पी या नुहाइधुवाइ गर्ने ठाउँ हुँदैनथे । भाँडाकुँडा माझ्ने सानो ठाउँ भने हुन्थ्यो । त्यहाँ नुहाउन सकिँदैनथ्यो किनभने त्यो ठाउँ ह्वांगै थियो । हामी तीन सातासम्म एउटै लुगा लगाउँथ्यौँ ।
एक दिन सेल्टरमा बसेका वेला आमाले 'लुगा नफेरी भएन, असाध्यै मैलो भयो' भन्नुभयो । तर, सेल्टरका व्यवस्थापकले कसैलाई घर जान दिँदैनथे । ऊ चिया खान गएको मौका छोपी हामी गुपचुप तरिकाले आफ्नो घरभित्र पस्यौँ । अँध्यारोमा जब आमाले आफ्नो भित्री लुगा खोलिन्, पूरै कोठा ह्वास्स गनायो । मैले झन्डै वान्ता गरेकी ! आमाले हतार हतार लुगा फेर्नुभयो । हामी घरबाहिर निक्लनै लागेका थियौँ, कि अचानक हामीलाई घरमा केही गडबड भएको छ भन्ने लाग्यो । चोटामा उक्लेर हेरेको त हाम्रो टाउकोमाथि खुल्ला आकाश थियो ! बमबारीमा परेर घरको छानो उडेको थियो । बचेखुचेका बोक्न सक्ने चीजबीज त लानै पर्यो भनेर हामी घरभित्र यताउति गर्न थाल्यौँ । घरभित्र घर थिएन, घरको भग्नावशेष मात्र थियो । दराजका घर्रासमेत काँचका टुक्राले भरिएका थिए ।
भोलिपल्ट मेरा दाइ हामी बसेको छिमेकीको घरमा आए । उनी पुलिस थिए । हाम्रो हालत देखेर असाध्यै दुःखी भए उनी । दाइले हामीलाई मेल्टन मोब्रे पठाउने व्यवस्था मिलाए । हवाई हमलाको खतरामा रहेका बस्ती उठाएर मेल्टन मोब्रेमा सारिन्थ्यो । त्यहाँ मेरी भाउजू र भतिजी पनि थिए । यसरी हामी लन्डनबाट मेल्टन मोब्रे पुग्यौँ । भाउजू हामी आएकाले गद्गद् थिइन् ।
मैले ग्रान्थममा रहेको एक हतियार कारखानामा काम पाएँ । हिस्पानो भनिने बन्दुक बनाउनु मेरो काम थियो । पहिलो दिन कारखानामा मलाई ठुल्ठूला मेसिन चलाउनेबारेमा एक घन्टाजति प्रशिक्षण दिइयो । बेलुका काम सकिएपछि आफ्नो कार्डमा हाजिरी चिह्न लगाई माग्नु पर्थ्यो। यसका लागि मैले हाजिरी चिह्न लगाउने कर्मचारीको कोठाको झ्यालमा टकटक गरेँ । झ्याल खोलियो र झ्याल खोल्ने मान्छे थियो- उही मेरो सपनाको राजकुमार ! मेरो मुटु भट्याक-भट्याक हल्लिरहेको थियो । म थर्थरी कामिरहेकी थिएँ । उसलाई यसरी यहाँ भेटुँला भनेर मैले कल्पनासम्म गरेकी थिइनँ । म असाध्यै खुसी भएकी थिएँ । तर, मैले झल्याँस सम्झेँ कि ऊ त एन्जीको पे्रमी पो हो त ! उसले मेरो कार्डमा हाजिरी चिह्न लगाउँदै गर्दा मैले सोधेछु, 'तिम्री प्रेमिका एन्जीको हालखबर के छ नि ?' प्रश्न गर्न नपाउँदै उसले रिसाएको जस्तो गरेर भन्यो, 'के को प्रेमिका नि ? त्यो धोकेवाजलाई मैले उहिल्यै छोड्दिसकेँ । उसले एकैपटक दुईजनासित प्रेम गरेकी रहिछ ।' अब उसलाई मैले प्राप्त गर्ने सम्भावना बलियो भएर देखापर्यो ।
तर, त्यस कारखानामा सयजना जति महिला कामदार थिए । उनीहरू सबै ऊ भनेपछि मरिहत्ते गर्थे । लन्डनमा एक एन्जी थिई भने यहाँ एक सय एन्जी थिए ।
तर, हरेकपटक मेरो कार्डमा चिनो लगाउँदा उसको अनुहार रातो हुन्थ्यो । केही बोल्न, केही बताउन या केही व्यक्त गर्न खोजेझैं देखिन्थे उसका आँखा ।
हामी बिहानदेखि साँझ नपरुन्जेल काम गर्थ्यो । एक साँझ हाजिरी चिनो लगाउन गएका वेला उसले 'भोलि हामी सिनेमा हेर्न जाऔँ न' भन्यो । मैले नाइँ भन्ने कुरै थिएन ।
सिनेमाको नाम थियो- वान हन्ड्रेड मेन एन्ड अ गर्ल । डिएना डर्बिनको पहिलो फिल्म थियो त्यो । उनी गजबकी अभिनेत्री थिइन् । सुन्दर र सान्दार । हामीले सिनेमाको भरपुर आनन्द लियौँ । त्यस दिन मैले धोको फुकाएर कुरा गरेँ । उसले पनि आफ्नो बारेमा धेरै थोक बतायो । उसले आफू कारखानाका कुनै पनि महिला त के, संसारका कुनै पनि महिलासँग प्रेम गर्न नसक्ने बतायो । उसले भन्यो, 'म तिमीलाई चाहन्छु ।'
यसरी सुरु भयो युद्धकालमा हाम्रो पिरती ।
त्यसको केही महिनापछि हामीले बिहे गर्ने निधो गर्यौँ । एल्फले लाइसेस्टरमा मलाई स्वयंवरेऔंठी लगाइदियो । म उन्नाईस लागेकी थिएँ । बिहे त गर्ने नै भन्यौँ हामीले, तर बिहेको विधि पुर्याउन चाहिने सरसामग्रीको एकदम अभाव थियो । कतैबाट अलिकति रेसमी कपडा ल्याइयो र अड्कोपड्को तेलको धुप गरेर बेहलीको पहिरन तयार गरियो । मेरो दाजुसित क्यामेरा थियो । फोटो खिच्ने जिम्मा उनले लिए । आमा र मैले चिनी र अन्डाको जोहो गर्न सुरु गरेका थियाँै विवाहको केकका लागि । विवाहको दिन मैले त बिदा पाएँ, तर एल्फले भने आधा दिनको मात्रै बिदा पाए । हाम्रो विवाह भव्य रूपले सम्पन्न भयो । यस अर्थमा भव्य होइन कि हामीले बढी तामझाम गरेका थियौँ । यस अर्थमा भव्य कि युद्धकालमा पिरती सफल भएको थियो ।
gkcbinodbikram@gmail.com
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment