Thursday, December 24, 2009

साहित्यकार वनझाँक्री होइन



ओझाङहाङ नेम्वाङ । यो अहिलेका बैरागी काइँलाको न्वारानको नाम हो । कुनै लिम्बू बालकको नाम रामबहादुर वा कृष्णप्रसाद हुने कुरै भएन । तर, यो ओझाङहाङ नाम धेरै पहिलेदेखि नै गुमनाम भइसक्यो । अहिले चौतर्फी चर्चा छ त केवल बैरागी काइँलाको मात्रै । स्कुल पढ्दाताका राखिएको तिलविक्रम नेम्वाङ पनि खास औपचारिकतामा मात्रै सीमित छ । दार्जिलिङ पुगेर कविता लेख्न थालेपछि उनले आफ्नो नाम आफैँ राखेका थिए । ओझाङहाङलाई अहिले सबैले सबैतिर बोलाइरहेछन्- ए ! बैरागी काइँलादाइ !


सन् १९६० को दशक वरिपरि दार्जिलिङतिरैका साहित्यिक कार्यक्रममा ईश्वर बल्लभ र इन्द्रबहादुर राईसँग काइँलाको भेट हुन थाल्यो । भेटले एउटा आन्दोलनको आकार लियो । तिनताकाको 'तेस्रो आयाम' नामको तीनखम्बे साहित्यिक आन्दोलनका एक खम्बा उनै थिए, बाँकी त बल्लभ र राई भइगए । उबेलाको जोस अर्कै थियो- साहित्यमा 'केही नयाँ दिनुपर्छ' भन्ने । 'केही नयाँ गर्ने र प्रचलित धारणाभन्दा फरक धारणा ल्याएर अरूभन्दा भिन्न देखिने होड थियो,' काइँलाले 'तेस्रो आयाम'को अन्तर्कथा कहन थाले, 'हामी तीनजना मिलेर एउटा साहित्यिक पत्रिका प्रकाशन गरौँ भन्ने सल्लाह गर्‍यौँ, मैले फ्याट्टै 'तेस्रो आयाम' नाम जुराएँ । मान्छे भेट्ने, यताउति कुद्ने काम बल्लभको थियो, विचार संयोजन गर्ने काम राईले गथ्र्यो, मेरो काम आर्थिक व्यवस्था मिलाउने थियो ।' यस्तो कार्यविभाजनसहित 'तेस्रो आयाम' प्रकाशन सुरु भयो । तर, 'तेस्रो आयाम' नाम नै किन त ? 'खै, किन किन,' परिपक्व अनुहारमा अन्यमनस्क हाँसो हाँस्दै उनले भने, 'त्यही राखौँ भनिदिएँ, राखियो ।'


विनाअर्थको नाम पनि चुनिन्छ त ? 'अर्थ नभएको कहाँ हो र ?' प्रश्नको चिम्टाले समातेपछि बल्ल काइँलाबाले आयामिक व्याख्या गर्न थाले, 'विज्ञानले पनि वस्तुको तीन आयाम हुन्छ भन्छ- लम्बाइ, चौडाइ र उचाइ -वा गहिराइ) । मान्छेको जीवन पनि एकोहोरो र तेस्रो मात्रै हुँदैन, यो वक्र, जटिल र त्रिआयामिक हुन्छ भनेर हामीले परिभाषित गर्‍यौँ । साहित्यमा पनि त्यही जीवनको प्रतिनिधित्व हुनुपर्छ भनेर व्याख्या गर्‍यौँ ।' के त्यो आन्दोलन कुनै परम्परा वा स्थापित साहित्यको विरोधमा थियो ? 'होइन,' उनले थप स्पष्टीकरण दिए, 'विरोधले विकल्प जन्माउँछ, विकल्पले नयाँ कुरा त दिन्छ । तर, नयाँ र भिन्न देखिन विरोधमात्रै गरिरहनु पर्दैन । समानान्तर रूपमा क्रियाशील भएर पनि उस्तै नयाँ दिन सकिन्छ । हामीले त्यही गरेका हौँ, कसैको विरोध नगरीकन साहित्यमा नयाँपन दिने काम ।'


त, बैरागी काइँलाहरूको 'तेस्रो आयाम' आन्दोलनले के दियो त नेपाली साहित्यलाई नयाँ ? उनी भन्छन्, 'केही न केही त दियौँ नि !' जीवनमा दुःख, पीर, घृणा, रिसइबी, छलकपट छ भन्दैमा साहित्यमा राम्रो-राम्रो बाँचेको कुरा मात्रै लेख्ने होइन, समग्र जीवन लेख्नुपर्छ भनेर आफूहरूले नै बोलेको दाबी गर्छन् काइँला । एउटै मान्छेको कथा लेखिएको भए पनि त्यसले सबैको कथा बोकेको हुनुपर्छ भन्ने 'तेस्रो आयाम'को मान्यता भएको उनले सम्झे । 'पीडा भन्दैमा साहित्यमा एउटा मान्छेको 'राँडी रुवाइ' मात्रै छ भने त्यो अरूले पढ्नुपर्ने के खाँचो ? त्यस्तो साहित्य अरूले किन पढ्ने ?' शालीन काइँलादाइ यहाँनेर अलि झोँक्किए, 'कुनै व्यक्तिको गनगन लेखेर साहित्य दीर्घजीवी पनि बन्दैन, त्यस्तो साहित्य महत्त्वपूर्ण र गहन पनि हुँदैन ।' व्यक्तिको पीडा साहित्य बन्नै सक्दैन र कवि महोदय ? 'मातेको मान्छेको भाषण...' लेख्ने कवि काइँला झन् उत्तेजित भए, 'व्यक्तिको पीडा भए पनि उसले भोगेको कुरा अरू छिमेक, आफन्त र साथीहरूले सहअनुभूति गर्‍यो भने नै त्यो सबैको हुँदै जाने हो । तर, व्यक्तिको विनासित्तिको 'राँडी रुवाइ' अरूका लागि के काम ?'


'तेस्रो आयाम' सुरु गर्नेहरूलाई कुनै राजनीतिक दर्शनले प्रेरित गरेको थियो ? प्रश्न सुनेर काइँला टक्टकिए- त्यो आन्दोलन कुनै राजनीतिक उद्देश्यले गरिएको थिएन । कतै न कतैको, केही न केही प्रभाव थियो कि ? 'त्यस्तो पनि थिएन,' उनले भने । अहिलेको उत्तरआधुनिकतावादी 'हल्लाखल्ला' को नेपाली संस्करणको पूर्वरूप त्यही आन्दोलन हो भन्नेहरू पनि छन् । प्रश्न गरियो- के त्यो पाश्चात्य साहित्यबाट प्रभावित हो त ? 'विचारलाई पुष्टि गर्न सबैतिरको अध्ययन त गर्नैपर्छ,' यी पाका कविले फेरि शालीन शैलीमा असहमति व्यक्त गरे, 'हामी वनझाँक्री त हैनौँ नि, वनबाट फुत्त निस्केर सारा बिमार फु-फा गरेर चट् पारिदिने ! हामीले पनि धेरैतिरको साहित्य अध्ययन गरेका थियौँ ।' धेरैतिर अध्ययन गरेर आन्दोलन सुरु गरे पनि उनीहरूले आलोचना चौतर्फी खेप्नुपर्‍यो । आलोचनाको प्रहार काइँलामाथि केही कम भएछ । 'बल्लभ बढी लेख्थ्यो, उसले बढी नै विरोध खप्यो, राईले पनि धेरै नै विरोध खप्नुपर्‍यो,' उनले भने, 'जति विरोध गर्छन्, उति सक्रिय भयौँ । ती विरोधीले गर्दा नै हामी आज ठूला साहित्यकार भयौँ,


धन्य विरोधीहरू !' काइँलाले विरोधीलाई हात जोडेर धन्यवाद दिए ।


विरोधीको प्रतिरोध गर्न तीन सदस्यीय आयामिक टोलीले विभिन्न सिद्धान्त र विचारको पक्कै पनि सहारा लियो । योचाहिँ उनी पनि स्विकार्छन् । अहिले बिर्सिसके पनि त्यतिबेलाका प्रभावशाली विचार आफ्नो टोलीले ग्रहण गरेकोमा उनी सहमत छन् । फेरि दोहोर्‍याए, 'मैले भनिहालेँ- साहित्यकार कुनै वनझाँक्री होइन, समाजमा रहेका विचार र सिद्धान्तभन्दा पर रहन सक्ने र फु-फा जान्ने ।' तर, 'उत्तरआधुनिकता' शब्दबारे भने काइँलाहरूलाई त्यतिबेला कुनै हेक्का थिएन । उनले भने, 'यो उत्तरआधुनिकता भनेको त अर्कै पो छ होला, हाम्रो लेखनलाई उत्तरआधुनिकताको पूर्वरूप भन्नु त मूर्खता मात्रै हो ।'




***


'



तेस्रो आयाम' थियो साहित्यिक आन्दोलन । काइँलाकै शब्दमा 'कुनै राजनीति' भन्दा परको । तर समय बित्यो, बैरागी काइँला २०६२/०६३ मा त राजनीतिक आन्दोलनमै सडकमा अघिअघि हिँडे । यमानको शरीर भएको लिम्बू बूढो संस्कृतिकर्मी र स्रष्टाहरूको अगुवाइ गरेर नारा लगाइरहेको थियो- लोकतन्त्र जिन्दावाद ! जिन्दावाद-जिन्दावाद ! भन्न सकिन्छ- बैरागी काइँला 'आन्दोलनकारी' साहित्यकार हुन् । चार दशकअघिदेखि साहित्यमा लागेका कवि काइँला पछिल्लो आन्दोलनका दिन सम्झेर अहिले पनि गर्वको अनुभूति गर्दारहेछन् । '२०६२/०६३ को राजनीतिक परिवर्तनमा हामी स्रष्टाहरूको पनि अलिअलि योगदान छ,' हँसिलो र गमिलो मुद्रामा उनले भने, 'जन्मँदै शासक हुने राज परम्पराको अन्त्य भयो, अब यो राष्ट्रको नेतृत्व गर्ने अवसर सबै नागरिकलाई बराबर छ ।' यसो भनिरहँदा काइँला कुनै कविता पाठ गरिरहेको बेलाजस्तो उत्साहित र भावुक देखिए ।


तत्कालीन स्रष्टा आन्दोलनको पहिलो काम राजनीतिक पद्धति र परम्परा बदल्नु थियो र दोस्रो त्यो परिवर्तनलाई दिगो बनाइराख्न सांस्कृतिक रूपान्तरणमा ध्यान दिनु । 'सांस्कृतिक चेतनाको धरातलमा परिवर्तन नभएसम्म राजनीतिक परिवर्तन स्थायी हुँदैन भन्नेमा एकमत भएर,' काइँलाले लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चको उद्देश्य सम्झे, 'हामी सबै वामपन्थी र लोकतन्त्रवादी स्रष्टाहरू आन्दोलनमा लागेका थियौँ ।' तर, राजनीतिक परिवर्तनपछि यो दोस्रो उद्देश्य कसैको प्राथमिकतामा परेन । स्रष्टा मञ्चको अध्यक्षमण्डलको संयोजक रहेका काइँलाले पनि त्यो पद र जिम्मेवारी अब झन्डै बिर्सिन आँटिसके । किन यस्तो भएको त ? 'राजनीतिक परिवर्तन पहिलो उद्देश्य थियो र मुख्य थियो,' उनले भने, 'सांस्कृतिक रूपान्तरण दोस्रो थियो, तर महत्त्वपूर्ण थियो ।' त्यही महत्त्वपूर्ण उद्देश्य पूरा गर्नका लागि सबै राजनीतिक दलले आफ्नो दलका समर्थक साहित्यकारलाई समानुपातिक पद्धतिबाट संविधानसभामा प्रतिनिधित्व गराऊन् भन्ने स्रष्टाहरूको माग भएको काइँला सम्झन्छन् । 'पार्टीका केन्द्रीय सदस्यहरूलाई होइन, पार्टीबाहिरका तर समर्थकलाई लैजान भनेको हो,' काइँलाले चुनावअघिको कुनै दिन सम्झे, 'मैले त एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई भेटेरै पनि यो कुरा भनेको थिएँ ।' तर, त्यो भन्नु मात्रै भयो । उनले गुनासो गरे, 'राजनीतिकर्मीले स्रष्टाहरूको भूमिका र महत्त्वलाई नबुझेकाले परिवर्तनपछि यस्तो हुन गयो ।' तैपनि, काइँला बैरागिएका छैनन् । परिवर्तनको बिरुवा रोप्ने काम स्रष्टाहरूले गरे पनि त्यसलाई हुर्काउने, बढाउने, जोगाउने जिम्मा राजनीतिकर्मीलाई नै दिनुपर्छ भन्ने उनको विश्वास छ । 'त्यो जिम्मा उनीहरू -राजनीतिकर्मी) लाई नै दिने हो,' उनले निर्धक्क भने ।


परिवर्तनलाई संस्थागत गर्ने जिम्मा जसलाई दिने हो उनीहरू नै विश्वासलाग्दा र भरपर्दा छैनन् । काइँलालाई पनि त्यस्तै लागिरहेको छ, राजनीतिकर्मीले स्रष्टाको स्वर र साहित्यको मर्म बुझिरहेका छैनन् । उनी साहित्यकारलाई स्वस्थ मन भएका र असल मान्छे भन्न रुचाउँछन् । जसले केही न केही रचना गर्छ, उसले बिगार्दैन भन्नेमा कवि काइँला ढुक्क छन् । त्यसैले त उनी भन्छन्, 'कवि-साहित्यकार बिगारसिङ होइनन्, रचना गर्ने साहित्यकार नराम्रा काममा लाग्दैनन् ।' तर, राजनीतिकर्मीमाथि भने उनको त्यति धेरै विश्वास छैन । सत्ता प्राप्तिका लागि जनता र आन्दोलनलाई माध्यम बनाउने नेतालाई त उनले हाकाहाकी 'बिगारसिङ' नै भनिदिए । 'सत्तालोलुपमा गएनन् भने मात्रै राजनीतिकर्मी निर्माण गर्ने रचनाकार हुन्,' काइँलाले भने, 'तर, हामीकहाँ नेताहरू सबै सत्ताको छिनाझम्टी र लुछाचुँडीमा उछिनपाछिन गरिरहेका छन् ।'


***


पाँचथर, इलाम, दार्जिलिङ र काठमाडौं हुँदै बैरागी काइँलाले तीनबीसे दस हिउँद-बर्खा खर्लप्पै निलिसके । उबेला उनमा कविता लेख्ने अर्कै जोस थियो, 'केही नयाँ गर्ने' उत्साह थियो । तर, दिन यसरी बित्दै गए, काइँलाको कविता-कर्म सुस्तायो । बरु उनी त लिम्बूको भाषा-संस्कृतिको खोज गर्ने र पुस्तक प्रकाशन गर्नेतिर लागे । तीन दशकसम्म उनले पुरानै आयामिक कविताको ब्याजमा 'कवि' पद पाइरहे । 'दुई वर्षअघि दुई/चारवटा कविता लेखेको छु,' हाँस्दै-हाँस्दै उनले भने, 'म यस्तै स्वभावको छु, एक वर्ष लेख्यो, धेरै वर्ष त्यत्तिकै बस्यो ।' तैपनि, आफूले वरिष्ठ साहित्यकारको परिचय पाइरहेकोमा उनी गमक्क परे । 'अब त म लेखे पनि साहित्यकार, नलेखे पनि साहित्यकार । सबैले मलाई साहित्यकार नै भन्छन्, म त लेखेर भन्दा पनि मन र मस्तिष्कले साहित्यकार भएको रहेछु ।'



०६२/६३ को परिवर्तनलगत्तै साहित्यिक बजारमा हल्ला थियो- प्रज्ञाप्रतिष्ठानको कुलपतिमा अब बैरागी काइँला जान्छन् । काइँला नै जानुपर्छ भन्ने आवाज पनि एउटा कोणबाट उठिरहेकै थियो । काइँलासहितका स्रष्टाहरूको सुझावमै प्रज्ञाप्रतिष्ठानको पुनर्संरचना गर्दै भाषा-साहित्य, ललितकला र नाट्य-संगीत गरी तीनवटा प्रज्ञाप्रतिष्ठान गठन गरिएका छन् । तर, अहिलेसम्म तीनवटै प्रतिष्ठानमा प्राज्ञसभा र प्राज्ञपरिषद् गठन हुन सकेको छैन । अघिल्लो सरकारको समयमा भएको 'प्रयत्न' पनि विफल भयो ।



फेरि बजारमा भाषा-साहित्य प्रज्ञाप्रतिष्ठानको कुलपतिमा बैरागी काइँलाकै नाममा तापक्रम बढ्दै छ । के छ कवि काइँलाको योजना ? प्रज्ञाप्रतिष्ठानतिर पाइला बढाउँदै हो ? 'बनाउनेले लैजान चाहन्नन्,' कवि काइँला त्यति उत्साही देखिएनन्, 'चाहना गर्ने साथीहरू होलान्, तर उनीहरूले बनाउन सक्दैनन् । फेरि चाहँदैमा सबै कुरा कहाँ पुग्छ र ?' प्रज्ञाप्रतिष्ठानमा जाने काइँलाकै चाहना छ कि छैन ? प्रतिष्ठानमा गएर फेरि पनि 'केही नयाँ गर्ने' योजना छ कि ? प्रश्न सुनेर बैरागीले टाउको हल्लाए, 'म एकेडेमीका लागि त्यत्ति योग्य छैन, अहिले म इच्छुक पनि छैन ।' उनले प्रतिष्ठान सम्बन्धमा कुनै योजना पनि सुनाएनन् । बरु आफू प्रतिष्ठानमा जानका लागि किन योग्य छैन भन्नेबारे तीनवटा बुँदा पेस गरे-


१. मेरो कमजोर स्वास्थ्य र बुढ्यौलीले साथ दिँदैन


२. मसँग काम गर्ने ऊर्जा र सक्रियताको कमी छ


३. काम गर्नका लागि मसँग कुनै भिजन नै छैन


बजारमा चिया गफ गर्नेदेखि राजनीतिको लेनदेन मिलाउनेसम्मले भाषा-साहित्य प्रज्ञाप्रतिष्ठानको कुलपति पदमा ठूलो ज्यानका पाका कवि बैरागी काइँला गजधम्म बसेको देखिसकेका छन् । 'अब काइँलै हो,' 'बैरागी काइँलाको विकल्पै छैन,' 'छिट्टै काइँला नियुक्त हुँदै छन्,' यस्ता दाबी दोहोरिइरहेका छन् । कतिले त उनलाई बधाइ पनि दिइसके । तर, उनी आफ्नो अयोग्यताको सूची बनाएर बसेका पो रहेछन् ।


सरकारले अनुरोध गर्‍यो वा नियुक्त गर्‍यो भने के गर्नुहुन्छ ? 'होइन, मेरो त्यत्ति जाँगर छैन,' काइँलाले 'त्यत्ति' शब्दमा जोडमात्रै दिएनन्, अलिकति लेघ्रो पनि ताने- 'त्य...त्ति... जाँगर छैन ।' उनले थपे, 'गइहाले पनि मैले फुर्तिसाथ काम गर्न सक्छु भन्ने मैलाई विश्वास छैन । भिजन बनाएर काम गर्न त झन् गाह्रो छ ।'


***


कवि काइँलामा अब उबेलाको जस्तो कविता लेख्ने जोस पनि छैन । बरु नातिसित खेल्नमा बेग्लै आनन्द छ । उनको बिहान पनि नातिसँगै सुरु हुन्छ र नातिसँग खेल्दाखेल्दै तारा उदाइसक्छन् । आँखाको समस्याले गर्दा त्यत्ति पढ्न पनि सक्दैनन् उनी । 'अहिलेको मेरो साथी एफएम रेडियो भएको छ,' उनको बुढेसकालको दोस्तको पनि अवगुण रहेछ, 'तर, एफएम रेडियोले पनि प्रत्येक घण्टा उही समाचार दोहोर्‍याउँछ । केही नयाँ भन्ला कि भन्यो, घन्टैपिच्छे उही खबर सुनाएर हैरान पार्छ ।' उनले बिहान नयाँ समाचार सुन्नुपर्‍यो भनेर हतारमा एफएम रेडियो खोल्दारहेछन् । विडम्बना, रेडियोले बेलुका जुन समाचार सुनाएको थियो, बिहान उही जस्ताको तस्तै दोहोर्‍याइदिन्छ । 'कतै दुर्घटना भएको रहेछ भने सुनाउला,' दिग्दार स्वरमा उनले भने, 'नत्र, हिजो बेलुकाकै समाचार सुनाउँछ ।' यी कविलाई लागिरहेको होला, बुढेसकालमा एफएम रेडियोले पनि सास्ती दिँदोरहेछ ।


अरू के कसरी बितिरहेका छन् त दिन ? 'दिन त्यसै पनि बित्दोरहेछ हौ भाइ,' ठट्यौलोपारामा उनी खित्खिताए, 'दिन बिताउने भनेर कुनै कार्यक्रम बनाउनै नपर्दोरहेछ । बिहान यही नातिसँग खेल्यो, यसैलाई स्कुल पुर्‍याउन गयो, दिउँसो यसै बस्यो, कहिलेकाहीँ कतै कार्यक्रमतिर गयो, बेलुका यही नातिलाई लिन गयो । यस्तैमा दिन बितिरहेछ ।' उनले यसो भनिरहँदा उनको नाति आङसान नेम्वाङ हजुरबाको वरिपरि फुत्रुङफुत्रुङ उफ्रिरहेको थियो । गत शुक्रबार काठमाडौं सुकेधारा हाइटको घरमा काइँला कुनै भावुक 'कवि' भन्दा मायालु हजुरबाजस्ता देखिएका थिए । झमक्क साँझ परेपछि फेरि भेट्ने बाचासहित हामीले हात जोड्यौँ । बुढेसकालमा पनि उनका आँखामा उस्तै जोसिलो चमक देखियो, जुन आँखाले साढे चार दशकअघि पर्वत चढेको सपना देख्थे । उनले लेखेका थिए-


घरभित्र पनि सिरान तला उक्लिँदा


डाँडाडाँडा अग्लो डिल भरेङको


प्रायःजसो म उक्लिन्छु,


आजकल सपनामा

No comments: