Thursday, April 15, 2010

त्यसवेलाका तरुनी


हरिप्रसाद रिमाल
कलाकर्मी

पाँच सय चाँदीका डबल

मलाई लेखपढमा उत्ति रुचि थिएन । गाना-बजानामा रुचि थियो । त्यसैले पढाइ छाडेर भागी-भागी गाना-बजानातिर हिँड्थेँ । यही कारण मैले धेरै पढ्न सकिनँ ।

तलेजु भवानीको मन्दिरमा 'सानु' भन्ने एकजना पुजारी थिए । उनी ताल र सुरको राम्रो ज्ञान भएका गायक पनि थिए । उनले नै मलाई गीत गाउन र बाजा बजाउन सिकाए । 'सानु' मलाई असाध्यै माया गर्थे । बुबा-आमाले मैले गीत गाउन थालेको राम्रै मान्नुभयो । काकाचाहिँ कलामा लागेको भनेर हेलाँ गर्नुहुन्थ्यो । त्यतिखेर कलामा लाग्नेलाई 'भाँड' भन्थे । पछि रेडियो नेपालमा जागिर खाएर मासिक सय रुपैयाँ कमाउन थालेपछि त काका पनि दंग पर्नुभयो । कलाबाट पनि कमाइ हुँदोरहेछ है ? उहाँ हाँस्नुहुन्थ्यो ।

म नक्कल गर्न सिपालु थिएँ । कसैले गाएको देखे सुनिरहन्थेँ । र, त्यसलाई मनमनै टिपिहाल्थेँ । म मीठो स्वर भएको फुच्चेलाई सबैले माया गर्थे । म घरमा नभनीकन दुई/तीनपटक गायब भएको छु । बाआमा पीर गर्थे र खोज्न हिँड्थे । काका त पिटिहाल्नुहुन्थ्यो ।

दाजु गोपालप्रसाद रिमाल मलाई धेरै माया गर्नुहुन्थ्यो । मलाई गाउनका लागि उहाँले नै गीत लेखिदिनुहुन्थ्यो ।

म दरबार स्कुल नपढेको भए सायद कलाकार हुन्नथेँ । किनभने, शिक्षक बालकृष्ण समले नै मलाई पहिलो अभिनय गराउनुभएको हो । उहाँ नाटक पढाउनुहुन्थ्यो । उहाँले नै लेख्नुभएको 'मुकुन्द-इन्दिरा' नाटकमा मैले पनि खेल्न पाएँ । त्यो नाटक पछि नारायणहिटीको बैठकमा पनि प्रदर्शन गरियो ।

गुरु बालकृष्ण समको 'प्रह्लाद' नाटकमा मैले अभिनय गर्न पाएँ । त्यसमा राम्रो गाएँ पनि । मेरो कलाबाट प्रभावित हुँदै श्री ३ जुद्धशमशेरले पाँच सय रुपैयाँ -५ सयवटा चाँदीका डबल) बक्सिस दिनुभयो । म ११ वर्षे बालकले ठाउँ-ठाउँमा बिसाउँदै त्यो पैसा घरमा ल्याएँ र बुबालाई दिएँ । बुबा निकै खुसी हुनुभयो ।

पहिले-पहिले दरबारको थिएटरमा मात्र नाटक हुन्थ्यो । मलाई नाटक हेर्न रहर लाग्थ्यो । 'फलानाको जय होस्' भनेर राणाको पुकारा गरेपछि मात्रै आठ-पहरियाले नाटक हेर्न दिन्थे । 'जय' भन्नेहरूले मात्रै नाटक हेर्न पाउँथे ।

रेडियो नेपालमा पहिलो गीत

२००७ सालमा भर्खरै प्रजातन्त्र आएको थियो । हरेक क्षेत्रमा नयाँ केही गरौँ भन्ने थियो, मान्छेहरूलाई । नेपाली कांग्रेसका नेताहरूलाई खुब मानिन्थ्यो । यत्तिकैमा तारिणीप्रसाद कोइरालाले विराटनगरको प्रजातन्त्र रेडियोजस्तै काठमाडौंमा पनि रेडियो स्टेसन स्थापना गर्ने सोच बनाएका थिए । उनको सोचले साँच्चै फक्रने मौका पायो । त्यसैले स्थापना भयो, 'नेपाल रेडियो' । पछि मात्रै नेपाल रेडियोको नाम परिवर्तन भएर रेडियो नेपाल बनेको हो ।

नेपाल रेडियोको स्थापनाको दिन २००७ साल चैत १६ गते विशेष कार्यक्रमका बीच सुरुवात गर्नुपर्ने थियो । तर, कसरी ? अरू कविता सुनाउने मुडमा थिए । म के गर्ने भन्ने अन्योलमै थिएँ । 'ल रिमाल सबैभन्दा पहिले तिमी गाऊ' भीडको कसैले उक्सायो । र, मैले शंकर लामिछानेले लेख्नुभएको गीत गाउन सुरु गरेँ-

मेरो दिल टुक्रा बनेर एकदिन

आँखाको बाटो बहनेछ

भष्म बन्ला दिल मेरो

जग्गेको आगोमा एकदिन

बनेर राखेको सिन्दुर

खासमा शंकर लामिछानेले लेखेको यो एउटा भावुक कविता थियो । तर, मैले गीतमा रूपान्तरण गरिदिएँ । रेडियो नेपालबाट प्रसारण भएको यो पहिलो गीत त्यही दिन गाइएला भनेर मैले सोचेको थिइनँ । शंकर मेरा भान्दाइका छोरा थिए । घरमा निकै आउजाउ हुन्थ्यो । गोपालप्रसाद रिमाल, शंकर लामिछाने र मेरो संगत निकै बाक्लो बन्यो । मैले गीत गाएको देखेर शंकर मुग्ध हुन्थे । एकदिन उनले त्यो गीत थमाउँदै भनेका थिए, 'यो कविता मलाई असाध्यै मन परेको छ, तँ गाइदे न है !'

मलाई कविताका शब्दले भित्रैसम्म छोयो । संगीत पनि म आफैँले तयार गरेँ । तर, गीत पाउनु, संगीत भर्नु र गाउनुसँग नेपालमा प्रजातन्त्र आउनुको कुनै संयोग थिएन । गीत त्यसै थन्किरहेको थियो ।

राणाहरूको घोडा बाँध्ने तबेलामा नेपालको पहिलो रेडियो बज्न सुरु हुनै लाग्दा प्रत्यक्ष प्रसारणमा मैले गीत गाउन थालेँ- 'मेरो दिल टुक्रा बनेर...।' प्रजातन्त्र आउनेबित्तिकै यो गीत यसरी काम लाग्ला र नेपालको इतिहासमा यसले यसरी नाम राख्ला भनेर न त मैले सोचेको थिएँ । न त शंकर लामिछानेले नै ।

त्यसवेलाका युवती र मेरो प्रेम


त्यसवेला मास्टर रत्नदास प्रकाशको गायकी र अभिनयको प्रशंसा दरबारभित्र र बाहिर पनि उत्तिकै हुन्थ्यो । रत्नदास प्रकाश भनेपछि म पनि हुरुक्कै हुन्थेँ । म सात-आठ वर्षकै उमेरमा गीत गउने र अभिनय गर्न थालेँ ।

राणाकालमा दरबारभित्र धेरै सुन्दरी थिए । वि.सं १९९९ सालतिर । म जवान थिएँ । नाटक देखाउन र गीत गाउन दरबारबाट हामीलाई बोलाइरहन्थे । अहिले धमिलो सम्झना मात्रै छ, दरबारका रानीहरू पनि रथ चढेर नाटक देखाउने मण्डपसम्म आउँथे । त्यसैवेला, मोहनशमशेरको दरबारमा काम गर्ने एउटी ठिटी थिई । नाम त याद छैन । साह्रै राम्री । तिनको शरीरको के प्रशंसा गर्नु ? बान्की परेको थियो ।

तिनी वेला-वेलामा मेरोअघि पैसाको पोका फालेर आफ्नो प्रेम देखाउँथिन् । यसरी अरू सुसारे पनि मलाई पैसा फ्याँक्थे । अरूमार्फत मलाई उपहार पठाउँथे । अरूभन्दा त्यो केटी विशेष थिई । सायद म कलाकार भएर होला, उसको मप्रति विशेष आशक्ति थियो ।

एकदिन मलाई भनी, 'म तपाईंसँग विवाह गर्न चाहन्छु ।' आफ्नो बनाउन धेरै प्रयास पनि गरी । दरबारै छाडेर मसँग विवाह गर्न तयार थिई ऊ । मैले एकैपटकमा 'हुन्न' भनेँ । पछि ऊ खुब रोएकी थिई ।

०००

दरबारमा काम गर्ने महिला कलाकार भनेपछि हुरुक्कै हुन्थे । हामीसँग अँगालो मार्ने, जिस्कने, चुम्बन गर्ने त सामान्यजस्तै थियो । त्यसवेला घरानियाँ आइमाई पनि मसँग विशेष आशक्ति राखेर प्रेम गर्थे । तर, मैले कहिल्यै पनि उनीहरूतिर नजर लगाइनँ ।

त्यसवेलाको एउटा घटना छ, कहिल्यै बिर्सन्न । अहिलेको जावलाखेल चिडियाखानाको एउटा कुनामा रहेको घरमा म गीत गाउन गएको थिएँ । त्यो घर अहिले पनि होला । मेरो गीत सुन्न त्यसवेलाका खानदानी परिवारका छोरीहरू पनि आएका थिए । मैले गीत गाइसकेपछि एउटी ठिटीले मलाई तानेर घरभित्र लगी । त्यसले मेरो गालामा म्वाइँ खान थाली । म लाजले रातो भएँ । म फुत्किन सकिनँ । पछि म त्यहाँबाट रुँदै भागेँ । म जवान थिएँ र अनुशासित पनि । कहिल्यै केटीको पछि दौडिनँ । तर, मप्रति धेरै केटी आकषिर्त हुन्थे । यो घटनाले थाहा हुन्छ, अहिलेका जस्तै त्यसवेलाका युवती पनि छाडा थिए ।

०००

हुन त मैले पनि एउटी केटीलाई प्रेम गरेँ । एकदिन दाइ गोपालप्रसाद रिमालसँग पशुपति घुम्न निस्केको थिएँ । त्यसैदिन पशुपति भजनमण्डलीमा बसेर मैले पनि गीत गाएँ । श्रोताहरूको भीडमा एउटी मगर युवती थिइन्, जो साह्रै ध्यान दिएर गीत सुन्दै थिइन् । उनको मौनताले संगीतप्रतिको अनुराग झल्काउँथ्यो । म उनलाई हेरेर मुग्ध भएँ । उनको सौन्दर्यमा के थियो कुन्नि, म त एकैपटकमा खुब आकषिर्त भएँ । उनलाई प्रेम गर्न पो थालेछु । पछि उनी मेरो नजरबाट धेरै समय हराइन् । पाँच वर्षपछि मात्र उनी भेटिइन् । उनी बालविधवा रहिछन् । मैले उनलाई प्रस्ताव राख्न पनि सकिनँ । मेरो प्रेम त्यसै ओइलायो ।

०००

रेडियो नेपालमा गीत गाउन थालेपछि म त्यसवेलाको सेलिब्रेटी बनेँ । मेरा फ्यान चिठीसँगै शुभकामना पठाउँथे । धेरै केटीले प्रेम-प्रस्ताव पनि राखे । रेडियोमा एकजना थिइन्, कल्याणी । उनी रेडियोमा 'काव्यकुञ्ज', 'बाल कार्यक्रम' चलाउँथिन् र समाचार वाचन पनि गर्थिन् । उनी राम्री पनि थिइन् र बुझ्ने पनि । म एक्कासि उनको नजिक हुन थालेँ । मलाई उनी भित्रभित्रै मन पर्न थाल्यो । प्रेमप्रस्ताव राख्न सकिनँ । हाम्रो लमी बने रेडियोका समाचार सम्पादक भोग्यप्रसाद शाह । एकदिन भने, 'हरि, तिमी कल्याणीसँग बिहे गर, सबै कुरा पनि मिल्छ ।' उनले कल्याणीलाई पनि 'हरिसँग विवाह गर, राम्रो हुन्छ' भनेका रहेछन् । त्यसपछि हामी विस्तारै नजिक हुन थाल्यौँ । ०१४ सालमा हाम्रो विवाह भयो । अब त बूढो भइयो । बैंसको जीवन मात्र के जीवन हो र ? अहिले पनि म कल्याणीलाई तरुनी देख्छु । बुढ्यौलीमा त माया झन् बढ्नेरहेछ ।

रंगमञ्चमा महिलाको प्रवेश

२००७ साल अघि । अर्थात् पद्मशमशेरको पालामा । उनी अरू राणाशासकको तुलनामा आफूलाई निकै सुधारवादी देखाउन खोज्थे । त्यसवेला फाट्टफुट्ट हिन्दी नाटक खेलिन्थ्यो । बालकृष्ण समले लेखेको पहिलो नेपाली नाटक मुकुन्द-इन्दिरा हामीले नै पहिलोपटक मञ्चन गराएका थियौँ । नेपाली रंगमञ्चीय इतिहासमा नेपाली नाटक मञ्चन गरिएको यो पहिलोपटक हो ।

त्यसवेला मलाई एउटा जुक्ति फुर्‍यो । त्यो के भने नेपाली नाटकमा महिला कलाकारको प्रयोग । राणाशासनका वेला महिला कलाकारलाई नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको थियो । तर, राणाहरू आफ्नो हबेलीमा भने विदेशी महिलाको अभिनय हेर्ने गर्थे ।

एकदिन श्यामदास बैष्णव र अर्को एकजना साथीसँग मिलेर मैले पद्मशमशेरकहाँ बिन्तीपत्र हालेँ, 'बाहिर आइमाई बिक्री हुन्छन् । विदेश पलायन हुन्छन्, त्यसैले किन उनीहरूलाई यहीँ अवसर नदिने ?' हाम्रो बिन्तीपत्र हेरेपछि पद्मशमशेरले तत्कालै आदेश दिएछन्, 'अभिभावकहरू मान्छन् भने उनीहरूको स्वीकृति लिएर अभिनय गराउनू ।'

म आपतमा परेँ । स्वीकृति त पाइयो । तर, कसलाई अभिनय गराउने ? धेरैबेर सोचेपछि बुद्धिमाया महर्जन भन्ने एउटी युवतीलाई फकाएँ । त्यो पनि एउटा लोभ देखाएर । बुद्धिमाया त्यतिवेला डिल्लीबजारमा 'कुते' नामले चिनिने एकजना युवकको प्रेममा परेकी रहिछन् । मैले र अर्को एकजना साथीले तिनलाई उनैले मन पराएको युवकसँग बिहे गराइदिने वचन दिएर नाटकमा अभिनय गरायौँ । पछि यो जोडीको बिहेका लागि त्यतिवेलै तोलाको एक सय पाँच रुपैयाँ पर्ने दुई तोला सुन खरिदका लागि हामी साथीहरूले संयुक्त रूपमा पैसा उठाएका थियौँ ।

यसरी नेपाली रंगमञ्चमा महिला कलाकारको प्रवेश भयो ।

नाटकमाथि प्रतिबन्ध

राणाकालमा सर्वसाधारणका लागि मुख्यतः डिल्लीबजारमा नाटक देखाइन्थ्यो । म त्यतिवेला पनि 'हिट' थिएँ । कहिलेकाहीँ भाग्छ भनेर आयोजकले थुनेर राखिदिन्थे । नाटक हेर्न आएकाहरूले अभिनय मन परेर पैसा फ्याँक्थे । तर, त्यतिवेला नोटको चलन थिएन । सिक्का फ्याँक्दा टाउकोमा लागेर हैरान हुन्थ्यो । राणाहरूकै पालामा हो, मेरा साथी पुष्प नेपाली (गायक) र सुष्मा राणा आइमाई बनेको नाटकमा पनि मैले अभिनय गरेँ । राणाकालमा राजनीतिक नाटक गर्न नपाउने कानुन थियो । त्यसैले सामाजिक नाटकमा मात्रै केन्दि्रत थियौँ, हामी ।

२००७ को आन्दोलनमा नाटकलाई नै प्रतिबन्ध लगाइएको थियो । तर, प्रजातन्त्र स्थापनापछि भने राजनीतिक विषयका नाटकले प्रश्रय पाउन थाले । राणाहरूकै शासनका वेला मैले गरेका धेरै नाटकका अभिनय मलाई याद छैन । तर, जुद्धशमशेरको पालामा २००२ तिर । अहिलेको राष्ट्रपतिभवन रहेको शीतलनिवासमा मैले गरेको एउटा अभिनय भने अझै याद छ । त्यो नाटकमा मेरो रोल थियो, मरेको मान्छेको कपाल सुम्सुम्याउनुपर्ने । तर, कपाल सुम्सुम्याउँदा त्यो कलाकारले लगाएको नक्कली कपाल नै निस्कियो । त्यसपछि त्यहाँको वातावरण हाँसोमय हुन लागेको थियो । तर, मैले स्थिति सम्हालेँ । मेरो रुवाइको बुलन्द अभिनय देखेर नाटक हेर्न आउने दर्शक पनि रुन थाले ।

लाटोकोसेरोको आवाज पछ्याउँदै

रेडियो नेपाल स्थापना भएको केही समयपछि रेडियोमा नाटक गर्न थालियो । तर, नाटकको परिस्थितिअनुसार ध्वनिको व्यवस्था थिएन । ध्वनिको समायोजन गर्न निकै गाह्रो थियो । केही वर्षपछि मात्र ध्वनि रेकर्ड गर्ने सानो मेसिन आइपुग्यो । म त रेडियोमा नाटक थालिएपछि निकै उत्साहित थिएँ । त्यसवेलाका मेरा धेरै रात अनिँदै बितेका छन् । म मध्यरातमा उठेर सानो रेकर्डिङ मेसिन बोकेर लाटोकोसेरोको आवाज, सिमसिम पानीको आवाज, पानी बेस्सरी वर्षेको आवाज, भ्यागुतो, झ्याउँकिरी कराएको आवाज रेकर्ड गर्दै हिँड्थेँ । पछि त्यो आवाजलाई मिक्सिङ गर्थें र रातभरि बसेर एडिट गरेर नाटकमा मिसाउँथेँ ।

लाइभ गीत गाउँदा

ती दिन अहिले सम्झनामा मात्रै छन् । अब फर्केर फेरि आउने छैनन् । मैले रेडियो नेपालमा ७/८ सय नाटक निर्देशन गरेँ हुँला । कहिलेकाहीँ लाग्छ, नाटकले मेरो गीत कला छोपिदियो । त्यसवेला गीत रेकर्ड हुँदैनथ्यो । लाइभ रेडियोमा गाउनुपथ्र्यो । त्यसरी लाइभ गाउँदा बेसुरा हुने सम्भावना पनि उत्तिकै रहन्थ्यो । डेढ सयभन्दा बढी लाइभ गाएँ । पछि कोलकाता पुगेर ग्रामोफोनमा गीत रेकर्ड गर्न थालियो । मैले गाएकोमा आफैँलाई मन परेको गीत 'फगत एक नजरमा' हो ।

हराए रेडियो नाटक

रेडियो नाटकमा दृश्य हुँदैन । संवादले नै दृश्य उब्जाउनुपर्छ । त्यसमा कुन पात्रले कस्तो लुगा लगाएको छ भन्ने देखाउन संवादकै प्रयोग हुन्छ । रेडियो नाटक संवादप्रदान हुन्छ । तर, नाटकमा चाहिँ संवादका साथै दृश्य र अभिनयको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । रेडियो नाटक लेख्न अप्ठ्यारो हुने हुनाले अहिले लेखकहरू नै पाइन छाड्यो । अचेल रेडियो नाटक आउँछन्, ती सबै टिनएजले लेखेका प्रेमका कुरा गर्ने नाटक मात्रै । 'बोक्सी' जस्ता स्तरीय मनोवैज्ञानिक नाटक अचेल विरलै मात्र आउँछन् । फेरि रेडियोहरूले नाटक गर्न छाडे । अब लाग्छ, विस्तारै हराए रेडियो नाटक ।

ओभर एक्टिङ

अहिले सबै कलाकार ओभर एक्टिङ गर्छन् । मलाई अचम्म लाग्छ, किन त्यसो गर्छन् ? एउटा कलाकारका लागि खुलेर अभिनय गर्न नसक्नुभन्दा 'ओभर एक्टिङ' ज्यादै खतरनाक कुरा हो । अचेल हिन्दी र नेपाली टिभीमा आउने शृंखलामा हेरिनसक्नुको ओभर एक्टिङ हुन्छ । 'तिमी सन्चै

छौ ?' भन्दा उनीहरू यति धेरैथोक गर्छन् कि त्यो चरित्र नै मर्छ । नेपाली कलाकारको समस्या नै त्यही हो । अभिनयमा दर्शकको अगाडि बाँच्ने हो । एउटा कलाकारले चरित्रसँग बाँचेको समय नै सत्यता हो । लाग्छ, हाम्रा कलाकारले सही बाटो भेट्टाएनन् ।

बुढ्यौलीले ल्याएको निस्सारता

अब त बूढो भइयो । शरीर धेरैथरी रोगको घर भएको छ । बुढ्यौलीसँगै गाँसिएर आएको दमको दीर्घरोगले म पहिलेजस्तो भालेको डाकअघि नै 'मर्निङ वाक' मा निस्कन सक्दिनँ । पाँच बजे नै निद्रा खुले पनि ओछ्यानमै पल्टेर भगवान्लाई सम्भिmरहन्छु । फोक्सोको रोग छ । जुनैवेला पनि अक्सिजन लिइरहनुपर्छ । डाक्टरले कम्तीमा २० घन्टा अक्सिजन तान्नू भनेको छ । सास फेर्नै निकै गाह्रो छ ।

रंगमञ्चबाट अघोषित अवकाश लिएको पनि धेरै भइसक्यो । दुई छोरा अमेरिकामा छन् । साथमा कल्याणी छिन्, जुनैवेला पनि मेरो स्याहारमा तल्लीन । उनी नभएको भए मेरो जीवन के हुन्थ्यो होला ? म सोच्न पनि सकिदनँ । एक्लो जीवन बाँच्नुपर्ला भन्ने पीर छ । मृत्युसँग डर लाग्छ । एक-अर्काविना बाँच्न सक्दैनौँ । अब एउटै मात्र इच्छा छ, भगवान्सँग प्रार्थना पनि छ, बाँचुन्जेल सँगै बाँचु, एक्लो जीवन चाहिँदैन ।

No comments: