Friday, April 2, 2010

सोम नारायणगोपाल


नगेन्द्र थापा
कवि, गीतकार तथा स्व. नारायणगोपालका अनन्य मित्र

नारायणगोपालसँग मेरो पहिलो भेट ०२१ मा भएको हो, दार्जिलिङको हिमालय कला मन्दिरमा । उनी ईश्वरबल्लभसँग घुम्न आएका थिए । ईश्वरबल्लभ नारायणगोपालको साथी । मेरो र गोपाल योञ्जनको पनि साथी । उनी काठमाडौंका भए पनि इन्द्रबहादुर राई र बैरागी काइँलासँग दार्जिलिङमै बसेर तेस्रो आयाम साहित्यिक आन्दोलन चलाइरहेका थिए ।

म कलेज पढ्दै थिएँ । गोपाल योञ्जन मेरो सबभन्दा घनिष्ठ साथी । नारायणगोपाल बडोदामा शास्त्रीय संगीत पढ्दै थिए । नारायणगोपाल गायक, गोपाल संगीतकार र म गीतकार । 'यी तीनजनालाई मिलाइदिन पाए गजब हुन्थ्यो,' भनेर ईश्वरबल्लभले नारायणगोपाल दार्जिलिङ आउँदा हाम्रो भेट गराइदिए । त, हिमालय कला मन्दिरमा उनीसँग चिनजान भयो । भोलिपल्ट ईश्वरबल्लभ, नारायणगोपाल, गोपाल योञ्जन र म घोडा चढेर घुमपहाड घुम्न गयौँ । त्यहाँ थियो- दिलमाया खातीको घर । उनको घर पनि पुग्यौँ । त्यस भ्रमणमा यताउताका कुरा धेरै भए । संगीतबारे त्यति कुरा भएन । नारायणगोपाल केही दिन दार्जिलिङ घुमेर बडोदा फर्किहाले ।

एक वर्षपछि नारायण ईश्वरबल्लभसँग फेरि दार्जिलिङ आए । दुईटा कामले आएका रहेछन् । पत्रमित्र पेमलासँग भेट्न र गोपाल योञ्जनले संगीत दिएका र मैले लेखेका गीतको खोजी गर्न । रत्न रेकर्डिङले नारायणका आठवटा गीत निःशुल्क रेकर्डिङ गरिदिने भएको रहेछ ।

त्यसैवेला, ईश्वरबल्लभले नारायण र गोपाललाई मित लगाइदिने प्रस्ताव गरे । उनीहरूले सहर्ष स्वीकारे ।

मित लगाउन दार्जिलिङको महाँकालडाँडा पुग्यौँ ईश्वर बल्लभ, कर्म योञ्जन, म र मित लाउने दुईजना । महाँकालडाँडामा एउटा मन्दिर छ । मन्दिरअगाडि धुनी बालेर उनीहरूलाई मित लगाइदियौँ, आगोलाई साक्षी राखेर । नारायणगोपालका तर्फबाट ईश्वर बल्लभले र गोपाल योञ्जनका तर्फबाट मैले मित बोल्ने काम गर्‍यौँ । यी दुई मितबाट नेपाली संगीतको नयाँ मानक स्थापना हुने भविष्यवाणी गरेका थियौँ । शतप्रतिशत सत्य साबित भयो त्यो भविष्यवाणी । यसो भन्न पाउनुमा म गर्व गर्छु ।

० ० ०

मित लगाएको भोलिपल्ट कि पर्सिपल्ट हो, नारायण, गोपाल, कर्म र म पेमलालाई भेट्न सुकियापोखरी गयौँ । पेमला कहाँ के गर्दै थिइन्, थाहा थिएन । सुकियापोखरी गएर सोधखोज गर्दा थाहा पायौँ- उनी कलेज सकेर सुकियापोखरीकै एउटा स्कुलमा पढाउँदै रहेछिन् । हामी सोझै उनको स्कुलतिर लाग्यौँ । गोपाल योञ्जन र म स्कुलभित्र गयौँ भने कर्म र नारायणगोपाल अलि परै बसे ।

पेमला भेटिइन् । गोपाल योञ्जनले उनलाई 'मेरो मितज्यू तपाइर्ंलाई भेट्न आउनुभएको छ,' भने ।' पेमलाले मलाई पो नारायणगोपाल ठानिछन् । उनी लजाइन् । मुन्टो निहुराइन् । उनको अनुहारको हाउभाउ देखेपछि उनको भ्रम हटाउन मैले भनेँ, 'पेमला, म नारायणगोपाल होइन । पर उभेर यता हेरिरहेको छ नि... हो...त्यो नारायणगोपाल हो ।'


त्यसपछि, उनीहरूको चिनजान गराइदियौँ । र, 'अलिक पर गएर दुईजना कुरा गर,' भन्याँै । पहिले त दुवैजना लजाएका थिए, तर हामीले 'हाम्रो अप्ठयारो नमानी कुरा गरे हुन्छ,' भनेपछि यी दुईजना कुरा गर्न गए । ठयाम्मै ढेड घन्टा कुरा गरे । पछि, नारायणले सुनाए, 'पेमला, साह्रै असल र राम्री रहेछिन् ।' पेमलाले पहिलो भेटमा उनलाई गीत पनि गाउन लगाइछिन् । उनले 'चिनारी हाम्रो धेरै पुरानो....' गाएछन् । मैले लेखेको गीत हो त्यो । पेमला र नारायणगोपालको भेटघाट सकिएपछि नारायणलाई जिस्क्याउँदै दार्जिलिङ झर्‍यौँ हामी ।

त्यसवेलासम्म नारायण र म धेरै नजिक भइसकेका थियौँ । सुमधुर भइसकेको थियो हाम्रो सम्बन्ध । सुरुमा म उनलाई 'नारान' भन्थेँ । तर, पछि मैले उनलाई कहिल्यै 'नारान' भनिनँ । हामी एक-अर्कालाई 'सोम' भन्थ्यौँ । मिल्ने साथीलाई 'सोम' भन्ने चलन थियो दार्जिलिङमा ।

० ० ०

नारायणगोपालसँग ०२४ मा तेस्रो भेट भयो, काठमाडौंमा । बडोदाबाट शास्त्रीय संगीत सिकेर आएका थिए उनी । मचाहिँ दार्जिलिङबाट डिप्लोमा तहको पढाइ सकेर काठमाडौं आएको थिएँ । मेरो घनिष्ठ साथी गोपाल योञ्जन भने काठमाडौं आएका थिएनन् । उनका बुबा बितिसकेका थिए । एक्लो सन्तान थिए उनी । आमालाई छाडेर काठमाडौं आउन सकेनन् । उनीविना काठमाडौं साह्रै बिरसिलो लाग्न थाल्यो मलाई । काठमाडांैमा एक वर्षजति बसेपछि दार्जिर्लिङ गएँ र गोपालकी आमासँग उनलाई मागेँ । उनकी आमासँग भनेँ, 'आमा, मलाई गोपाल दिनूस् । म उनलाई काठमाडौं लैजान्छु । हामी उतै बसेर जागिर पनि खान्छौँ, पढ्छौँ पनि ।' गोपालकी आमा मलाई पनि असाध्यै माया र विश्वास गर्नुहुन्थ्यो । उहाँ गोपाललाई काठमाडौं पठाउन राजी हुनुभयो ।

नारायणगोपालको किलागलमा घर थियो । गोपाल योञ्जन थापाथलीमा बस्थे, सानिमाको छोरीको घरमा । म ज्ञानेश्वरमा डेरा लिएर बसेको थिएँ । हरेक दिनजसो बेलुका हामी तीनजनाको भेट हुन्थ्यो । हामी टोलटोल घुम्थ्यौँ । टोलमा भजन गाउने चलन थियो । नारायणगोपाल भजनका तालमा उफ्रि-उफ्रि नाच्थे । हामीलाई पनि नचाउँथे ।

गोपाल योञ्जनको दिदीको घर, नारायणगोपालको घर र न्युरोडको इन्दिरा रेस्टुरेन्ट, यी तीन ठाउँमा हामी तीनभाइ धेरै भेट्थ्यौँ । खुब गफिन्थ्यौँ । गीतकार, संगीतकार र गायकको साइनोभन्दा साथीको साइनोले बाँधेको थियो हामीलाई ।

यसैबीच, कला/संगीतसम्बन्धी एउटा पत्रिका निकाल्ने निधो गर्‍यौँ हामीले । नाम मैले जुराएँ, 'बागीना' । बागीना अर्थात् बाजा, गीत र नाच । बागीना त्रैमासिक रूपमा निकाल्ने निर्णय गरियो । प्रकाशक/सम्पादक नारायणगोपाल रहे भने म र गोपाल योञ्जनचाहिँ सम्पादक । बागीना चार अंक नियमित निक्लियो । रचना र विज्ञापन खोज्ने, वितरण गर्ने हाम्रो समूह सबै काम आफैँ गथ्र्याँ । रचना अभाव हुँदा विभिन्न उपनाम राखेर आफैँ लेख्थ्यौँ । एक वर्षसम्म बागीना नियमित प्रकाशन गर्‍यौँ । तर, पछि विज्ञापन र लेख-रचनाको अभाव हुन थाल्यो । केही वर्ष वर्षमा एक-दुई अंकमात्रै प्रकाशित हुन थाल्यो बागीना । तर, पछि त बन्दै गर्नुपर्ने भयो ।

० ० ०

०२७ फागुनको कुरा हो । दाजु सूर्यबहादुर थापा (पूर्वप्रधानमन्त्री) सँग ज्ञानेश्वरमा भाडाको घरमा बस्थेँ म । एक दिन बिहानै नारायणगोपाल सानो बि्रफकेस बोकेर मेरो कोठामा आइपुगे । 'ए सोम, यति बिहानै तिमी झोला बोकेर कता ?' मैले सोधेँ । 'सोम, मलाई अलिक अप्ठयारो पर्‍यो । बिहे गर्न जान लागेको....पैसा पनि छैन...के गर्ने होला ?'

मेरो संयोजनमा पुलिस क्लबमा 'मितज्यू नाइट' भन्ने नारायणगोपाल र गोपाल योञ्जनको सांगीतिक कार्यक्रम भएको भएको थियो । त्यसबाट उठेको रकममध्ये संगीत सामग्री किनेर बचेको १६ हजार रुपैयाँ मसँग थियो । त्यसमा खोजखाज गरी दुई हजार थपेर दिएँ ।

नारायण बिहे गर्न एक्लै दार्जिलिङ गए । पहिलो भेटदेखि नै पेमलासँग प्रेम थियो उनको । पेमलालाई उनको परिवारले स्वीकार गरेन । उनको परम्परागत नेवारी परिवारले 'अर्की जातकी बुहारीलाई' अस्वीकार गरेपछि नवदम्पती पोखरा गएर बस्न थाल्यो । भूपी शेरचनको घरमा बस्थे उनीहरू । दुवैजना पोखरामा पढाउन थाले । म धान चामल कम्पनीको महाप्रबन्धक भएर झापा गएँ । गोपाल योञ्जन काठमाडौंमै बसेर कलेज पढाउँदै थिए । त्यतिवेला हामी तीनजना एक-अर्कालाई धेरै चिठी लेख्थ्यौँ । पोखराबाट मलाई नारायणले तीन दर्जन चिठी पठाएका थिए । मैले पनि उत्तिकै संख्यामा पठाएको थिएँ ।

०३७ तिर नारायणगोपाल र पेमला पोखराबाट काठमाडौं आए । म पनि झापाबाट काठमाडौं फर्किएँ । त्यसवेलाका मन्त्री केबी शाहीले मलाई राष्ट्रिय नाचघरको महाप्रबन्धकमा सिफारिस गरे । तर, मैले नारायणगोपाललाई प्रस्ताव गरेँ । शाही 'हुन्न' भन्दै थिए । तर, मैले 'नारायणगोपाल उपयुक्त मान्छे हो,' भनेर अडान लिएँ । एक दिन शाहीले हामी दुवैजनालाई बोलाए । उनले नारायणलाई भने, 'नारायण, तिमीले साथी त भन्नुको पाएका रहेछौ ! मैले उसको नाममा नियुक्ति तयार पारेको थिएँ, तर उसले तिमीलाई सिफारिस गर्‍यो ।' साथै नारायणकै अगाडि उनले मलाई भनेका थिए, 'नगेन्द्र, नाचघरमा हामीले तिमीलाई पठाएको हो । त्यहाँ तलमाथि भयो भने नारायणलाई होइन, म तिमीलाई समात्छु ।'

० ० ०

नारायण खानपिनमा सौखिन थिए । पकाउन अघि सर्थे र असाध्यै मिठो पकाउँथे । खुर्सानीको त पारखी नै थिए । मेरी श्रीमती मञ्जु रातो खुर्सानीको लेदो अचार बनाउन खप्पिस थिइन् भने नारायण मेथीको अचार बनाउन । हामी मेथीको अचार र रातो खुर्सानीको लेदो अचार साटासाट गरेर खान्थ्यौँ । खुर्सानीको लेदो अचार सकिनासाथ उनी मेथीको अचार बोकेर मेरो घरमा आइहाल्थे ।

एकचोटि नारायण, गोपाल र म 'मितज्यू नाइट' कार्यक्रम लिएर आसाम जाने क्रममा विराटनगरस्थित मेरो घरमा केही दिन बसेका थियौँ । मेरी आमा नारायणगोपालले खुर्सानी र गोपाल योञ्जनले घ्यू खाएको देख्दा छक्क पर्नुभो । उहाँले नारायणगोपाललाई खुर्सानीकुमार र गोपाल योञ्जनलाई घ्यूकुमार नाम राखिदिनुभएको थियो ।

जेरी-स्वारी र जर्मन प्रविधिमा बनेको ससेज पनि उनलाई साह्रै मन पथ्र्यो । खानमा असाध्यै सौखिन थिए । खान मन लागेको कुरा नखाई नछाड्ने उनको बानी थियो । वीर अस्पतालको आइसियुमा रहँदासमेत उनले आफ्नो सौख त्यागेका थिएनन् । उनको अवस्था गम्भीर थियो । एक दिन डाक्टरले 'मनपर्ने खाना थोरै दिएहुन्छ,' भनेपछि मैले उनलाई दुईटा जेरी र अलिकति मासु दिएँ । उनी भने 'दुई पाउ हलुवा, दुई पाउ जेरी र ससेज चाहिन्छ मलाई,' भन्दै केटाकेटीले जस्तो जिद्दी गर्न थाले । घुर्की देखाउन थाले । उनले मागेजति नदिई धरै पाइनँ मैले ।

० ० ०

नेपाली संगीतको साह्रै चिन्ता थियो उनलाई । उनको स्वास्थ्यावस्था एकदमै नाजुक भइसकेको थियो । सायद, उनलाई मृत्युको पूर्वाभ्यास भएको थियो । एक दिन बिहानै मलाई बोलाए र भने, 'ए सोम, तुरुन्तै वकिल बोलाएर ल्याइदेऊ ।' मैले भनेँ, 'यस्तो वेला किन वकिल चाहियो तिमीलाई ?' उनले गम्भीर भएर भनेका थिए, 'म अब बाँच्दिनँ । मर्नुअघि मेरो सबै सम्पत्ति नेपाली संगीतको विकासका लागि ट्रस्ट बनाएर राख्छु । नेपाली संगीतले अभावमा बाँच्न नपरोस् भन्नेे चाहना छ मेरो ।' उनी जिद्दी गरिरहेका थिए, तर मैले 'तिमी निको होऊ, अनि जे-जे गर्नुपर्छ गरौँला,' भनेर सम्झाएँ ।

अस्पताल भर्ना भएदेखि उनको मृत्यु भएको दिन, १८ मंसिर ०४७ सम्म एकछिन नछोडी मेरी श्रीमती र मैले उनको रेखदेख गर्‍यौँ, एक महिना जति । उनी काठमाडौंको, म धनकुटाको । उनी नेवार, म थापा । उनको र मेरो रगतको नाता नभए पनि अन्तिम क्षणसम्म एउटै घरका परिवार जस्तो भएर बस्यौँ हामी । एउटै घरका परिवारका सदस्य पनि त्यति नजिक र त्यति घनिष्ठ भएर बस्न सक्दैनन् होला । हामीबीच गायक नारायणगोपाल र गीतकार नगेन्द्र थापाको नाताभन्दा 'सोम' नारायण र 'सोम' नगेन्द्रको नाता प्रगाढ थियो ।

० ० ०

मैले लेखेका करिब डेढ दर्जन गीत गाएका छन् उनले । 'सोम, गीत लेख न,' भनिरहन्थे । पछि लेखौँला भन्दै मैले उनलाई टारिरहँे । तर, मलाई यति वेलाचाहिँ एकखाले पीडा हुन्छ । नारायणगोपाल अचानक त्यति छिट्टै बित्छन् भन्ने थाहा पाउन सकेको भए अरू पच्चीस/तीसवटा गीत लेखेर उनलाई गाउन दिन्थेँ होला । तर, सधै सँगै भइन्छ जस्तो लाग्थ्यो । र, पछि लेखुँला भन्दाभन्दै उनका लागि लेख्न पाइनँ ।

उनको र मेरो एउटा विषयमा प्रायः विवाद भइरहन्थ्यो । नेपाली संगीत कस्तो हुनुपर्छ ? भन्ने विषयमा । म भन्थेँ, 'नेपाली संगीतले आÏनै पहिचान बनाउनुपर्छ । शास्त्रीय र लोकसंगीतका आधारमा यसले मौलिक पहिचान बनाउनुपर्छ । तर, नारायणगोपाल मसँग सहमत थिएनन् । उनी भन्थे, 'सोम, संगीतको देश हँुदैन, जात हुँदैन र पहिचान हुँदैन । यसको न भाषा हुन्छ न यसलाई कुनै सीमारेखाले छुट्टयाउन सक्छ ।' संगीतप्रतिको फराकिलो दृष्टिकोण थियो उनको । गायकले विनासाधना विनामिहिनेत गाएकोमा दुःखी थिए उनी । उनी सधैँ भन्ने गर्थे, 'घाँटीबाट मात्रै गाइयो, हृदयदेखि गाइएन भने नेपाली संगीत कता पुग्ला ?'

अहिले म बेखबर भएर बसेको छु । सांगीतिक तथा साहित्यिक कार्यक्रममा जान छाडिसकेँ ।

नारायणगोपाल र गोपाल योञ्जन मेरो जीवनको जीवन थिए । उनीहरू दुवैजना बितेदेखि जीवनविनाकोे जीवन बाँचिरहेको छु म ।

 

No comments: