Friday, April 2, 2010

क. रत्न बान्तवा हत्याको त्यो दिन


२७ चैत ०३५ मा हत्या गरिएका नेकपा मालेका केन्द्रीय सदस्य रत्न बान्तवा त्यही दिन २७ वर्ष पुगेका थिए । ०२८ को झापा आन्दोलनबाट प्रभावित भई क्रान्तिमा होमिएका बान्तवा क्रान्तिविना पञ्चायत ढाल्न सकिँदैन भन्दै राजनीतिक प्रशिक्षण दिँदै हिँड्थे । त्यसैले, उनलाई पञ्चायतले धेरै दुःख दिएको थियो । उनका आफन्त तथा नातागोतासमेत पञ्चायतबाट प्रताडित थिए । बान्तवासँग अनुहार मिलेको निहुँमा पुलिसले उनका काकाका छोरा बम बान्तवा र छिमेकी निमा शेर्पालाई मारेको थियो । वान्तवाको इलामको इभाङमा हत्या भएको थियो । त्यस दिनलाई यसरी सम्भिmन्छिन् सुशीला श्रेष्ठ । जो रत्न बान्तवासँग अन्तिम अवस्थामा सँगै थिइन् ।

रत्न बान्तवा, म र कल्पना (नीरमाया राई) एकाबिहानै हिँडयौँ । हामी ताप्लेजुङ जाँदै थियौँ । इलाममा एक परिचितको घर थियो । उहाँ ज्योति दिदी भनेर चिनिनु हुन्थ्यो । दुई-तीन दिनदेखि हामी इलामको इभाङ गाउँस्थित ज्योति दिदीकहाँ बसिरहेका थियौँ । रत्न तीन महिनाअघि मात्रै नेकपा मालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । म र कल्पना पार्टीका कार्यकर्ता मात्र थियौँ । हामी क्रान्तिका लागि निस्केका थियौँ । पञ्चायती निरंकुश शासन ढाल्ने हाम्रो एकमात्र लक्ष्य थियो ।

त्यही दिन अर्थात् २७ चैतमा रत्न ठयाक्कै २७ वर्ष पुगेका थिए । पार्टीले उनलाई ताप्लेजुङ खटायो । त्यही जिम्मेवारी निर्वाह गर्न उनी कल्पना र मलाई साथ लिएर जन्म दिवसकै दिन ताप्लेजुङतिर जाँदै थियौँ । प्रहरीको ठूलो डर थियो । पञ्चायतविरोधीलाई जसरी पनि सखाप पार्ने सरकारी प्रपन्च थियो । प्रहरी प्रशासन मरिमेटेर त्यसैमा लागिपरेको थियो । पञ्चायतविरोधी, त्यसमा पनि कम्युनिस्टलाई त उनीहरू पुटेका आँखाले पनि देखिसहन्नथे । भेटे त्यसै छाड्दैनन् भन्ने डर हाम्रो मनमा पनि कताकता थियो । क्रान्ति गर्न भनेर हिँडिसकेपछि डरले केही गर्न सक्दोरहेनछ । हामी निर्भयझैँ लगातार हिँडिरहेका थियौँ । बिहान झिममिसेमै हिँडियो भने दुस्मनले हामीलाई चिन्ने सम्भावना कम हुन्छ भन्ने सोच्यौँ । त्यसैले सखारै बाटो ततायौँ ।

इभाङको पुछारमा एउटा कुइनेटो छ । ज्योति दिदीको घरबाट निस्किएको आधा घन्टा पनि भएको थिएन, त्यही कुइनेटोमा मान्छे बोलेको गाइँगुइँ आवाज सुनियो । गाउँले होलान्, काममा निस्केका भन्ठानेर हामी एकसुरमा हिँडिरहेका थियौँ । अलिकति पर पुगेपछि नजिकै १०/१५ जनाको हुल देखियो । राम्ररी उज्यालो भइसकेको थिएन । ती पुलिस थिए या गाउँले भनेर ठम्याउन सकिएन । यति भने प्रस्टै देखिन्थ्यो- उनीहरूका हातमा लामा-लामा बाँसका घारा (लठ्ठी) थिए । त्यो देखेपछि भने हामी सशंकित भयौँ ।

त्यो हुल क्रमशः नजिकिँदै थियो । हाम्रा नजिकै आइपुगेपछि हुलकै एकजनाले रत्नलाई चोरऔँलाले देखाउँदै भन्यो, 'रत्न बान्तवा भन्ने उही हो ।' उसले यति भन्नेबित्तिकै तीन/चारजनाले उनलाई समातिहाले । यसो फर्केर हेरेको त हामीलाई दुस्मनले घेरामा पारिसकेको रहेछ । हामी प्रहरीको घेराबीच थियौँ । उनीहरूका हातमा बन्दुक, लठ्ठी, खुकुरी, खुर्पा आदि हतियार थिए ।

रत्न उनीहरूको नियन्त्रणबाट उम्किन प्रयत्न गरिरहेका थिए । तर, उनलाई एकजना ठूलो ज्यान भएका व्यक्तिले बेस्कन अँठयाएर राखेको थियो । उसको कसिलो पन्जामा रत्न उम्कने प्रयास गर्दै थिए, तर आफ्ना हात खोल्न सकिरहेका थिएनन् । उनलाई काबुमा राख्न त्यो बलियो मान्छेलाई पनि कम्ती गाह्रो भने भइरहेको थिएन ।

त्यतिबेरसम्म उनीहरूले मलाई नियन्त्रणमा लिन भ्याइसकेका थिएनन् । मौकाको सदुपयोग गर्न खोजेँ मैले । त्यहीवेला लठ्ठीले रत्नलाई अँठयाउने मान्छेको हातमा बेस्सरी बजाइदिएँ । ऊ पीडाले रन्थनियो र रत्नलाई छाड्न बाध्य भयो । त्यसको नियन्त्रणबाट मुक्त भएर बान्तवा त्यहाँबाट भाग्न कोसिस गरिरहेका मात्र के थिए, डयाम्म आवाज आयो । कसैले गोली चलाएछ, उनी त्यहीँ ढले ।


भाग्ने कोसिस गर्ना साथ मलाई पनि गोली हाने । म पनि ढलेँ । त्यसपछिका धेरै कुरा मलाई यादै भएन । यतिसम्म याद छ, रत्न चलमलाइरहेका थिए । सायद उनी पानी-पानी भन्दै अन्तिम सास लिइरहेका थिए । दुस्मनलाई त्यसको के वास्ता ? निकै समयसम्म उनी छटपटाइरहेका थिए, कसैले पानी दिएनन् ।

मेरो झोलाबाट उनीहरूले सल झिके र उनको अचेत शरीर बाँधे । त्यसको केही समयपछि उनको प्राण गइहाल्यो । एक कुशल योद्धा, मेरा नेता रत्नको निधनले म झन् आत्तिएँ, स्वाभाविक रूपमा विचलित भएँ ।

गोली लागेर ढले पनि अलि-अलि होसचाहिँ थियो मलाई । शरीरभरि रगतै-रगत लतपतिएको थियो । उनकोे अन्तिम अवस्था टुलुटुलु हेर्नुबाहेक मसँग कुनै विकल्प थिएन । आखिर केही गर्न सक्ने अवस्थामै कहाँ थिएँ र ? मनमा भने दुस्मनसँग बदलाको भयानक तुफान उठिरहेको थियो । एक न एक दिन दुस्मनको यो क्रूरतालाई मुखभरिको जवाफ नफर्काइ छाड्ने छैन भन्ने अठोट गरिरहेकी थिएँ ।

साथी कल्पना भने कसरी-कसरी त्यहाँबाट उम्किन सफल भइछन् । त्यसको दुई-चार दिनपछि मात्रै उनीसित भेट भयो ।

केही समयपछाडि उनीहरू त्यहाँबाट रत्नको लास बोकेर हिँडे । मेरा दुवै हात मेरै सलले बाँधे र मलाई पनि सँगै लिएर निस्किए । बाटोमा उनीहरू मलाई प्रश्न गर्थे- तिमी फलाना कि छोरी होइनौ ? म चुपचाप रहन्थे । फेरि तिनैले अहिले तँ किन बोल्थिस् भनेर आफैँ जवाफ फर्काउँथे । उनीहरू त्यो लास इलाम पुर्‍याउने भनेर त्यहाँबाट हिँडेका भए पनि बाटोमा आएपछि विचार बदलिएछ क्यारे, मंगलबारे पुग्ने भनिरहेका थिए ।

दुई-तीन घन्टा हिँडेपछि इभाङकै तल खोलानजिकैको गाउँ पुगियो । बाटोमा लास राखेर उनीहरू तल घरको पर्खालनेर ओर्लिए । त्यो घर गाउँको वडाध्यक्षको हो क्यारे । उनीहरूले त्यहीँ भात खाने योजना बनाएका रहेछन् । सबैले बन्दुक राखे, ड्रेस फुकाले र खाना खाने तर्खरमा जुटे । मेरा हात खोलिएका थिए । सोचेँ- सकेदेखि उम्किने उचित मौका यही हो । नभन्दै त्यही मौका छोपेर भाग्न सफल भएँ ।

उनीहरू खानाकै तर्खरमा थिए, म खोल्साको छेउछेउ हुँदै गहिरो खोल्सा-पहरा भएर निस्किएँ । थाहा पाएपछि उनीहरूले निकैबेरसम्म मेरो पिछा गरे । केही नलागेर अन्ततः फायरिङ गर्न थाले । त्यतिन्जेल म त्यहाँबाट उम्किसकेकाले तिनीहरूले भेट्टाउन सकेनन् । चैतको सालघारीमा झरेका पात जब हावाको गतिले सर्‍याकसुरुक गर्थे, मेरो मुटुको गति दोब्बर हुन्थ्यो । निकैबेरसम्म लखेट्दा पनि मलाई भेट्टाउन नसकेपछि उनीहरूले जंगलमा आगो लगाए । म ज्यान जोगिने आशा मारेर सुरक्षित ठाउँको खोजीमा भौँतारिँदै थिएँ । जंगलभरि चारैतिरबाट आगो दन्किन थाल्यो । उनीहरूले हिँड्दै आगो सार्दै गरेको पनि मैले देखेँ । कतै सुरक्षित स्थान नपाएपछि कतिवेला रूखको पोथ्राको सहारा लिन्थेँ त कहिले खोल्सामा जान्थेँ । दुई घन्टापछि अलिकति सुरक्षित ठाउँ पुगेको महसुस भयो । जंगलभित्रैको खाली ठाउँ पुगेकी थिएँ, त्यहाँ भने आगोले त्यति असर नपार्ने लाग्यो । आगोको डर कम भए पनि दुस्मनले पछयाइरहेकाले असुरक्षित महसुस भइरहेको थियो । त्यो पूरै दिन इभाङको त्यही जंगलभित्र बित्यो । जंगलबीच म अलमलमा थिएँ । कुन दिशातिर जाँदा, कहाँ पुगिन्छ भन्ने केही निश्चित थिएन । खेदिएको मृगकै अवस्था थियो मेरो ।

चारैतिर आगो लगाएपछि उनीहरू निश्चिन्त भएछन्, म पक्का आगोले जलेर मरेँ । त्यसपछि उनीहरू जंगल घेरा हालेर मेरो 'लास' खोज्न थालेछन् । एकातिर आफ्नो आँखैअगाडि सहयोद्धा गुमाएको पीडा, अर्कोतिर दुस्मनको जालबाट कसरी उम्कने भन्ने चिन्ता, म शरीर र मन दुवैले लखतरान थिएँ । पहिलोपटक पुगेको त्यस ठाउँका बारेमा मलाई धेरै थाहा भएन । रत्नकै निर्देशनमा हिँडेका थियौँ हामी, तर बाटैमा निर्देशक गुमाउनुपरेको थियो । तीनरात एक्लै जंगलै-जंगल हिँडेँ । दिउँसो लुक्ने, रातभरि हिँड्ने गथेर्ँ । झुप्राले त माया गर्छ होला भन्ने लागेर एउटा घरको ढोका ढकढक्याएँ । भित्रबाट आवाज आयो- तँ त्यही भाग्ने केटी होइनस् ? पुलिसलाई खबर गरौँ कि यहाँबाट गइहाल्छेस् । म आजित भएर हिँडेँ । त्यो जंगलमा खाना त कहाँ पाउनू ? पानीले ज्यानसम्म बचायो ।

तीनरात हिँडेर ३० चैतमा पुनः त्यही घरमा पुग्न सफल भएँ । ज्योति दिदीको घर, जहाँबाट हामी ताप्लेजुङका लागि निस्केका थियौँ । ज्योतिका श्रीमान्ले त्यहाँ सधैँ पुलिस आइरहने भएकाले 'तपाईंलाई यहाँ सुरक्षा हुन्न,' भने । त्यसपछि त्यहाँबाट पनि हिँडियो । अब म एक्ली थिइनँ, त्यतिन्जेल मैले अन्य साथी पनि भेटिसकेकी थिएँ ।

उनीहरूले रत्नको लास इलाम लगेछन् । दुई-तीन दिन राखेर 'पञ्चायतको विरोध गर्नेको यस्तै हविगत हुन्छ,' भन्दै इलामबजार घुमाएछन् । केही दिनपछि लास गाडिदिएछन् । घटनाबारे उनको परिवार भने अनभिज्ञ थियो । उनको मृत्युबारे न पार्टीको पूर्वी कमान्डले खोजबिन गर्‍यो, न केन्द्रले नै हत्याबारे त्यति चासो दिएको पाइयो । पञ्चायती बिगबिगी भएकाले पनि त्यतिवेला यकिन तथ्य बाहिर ल्याउन सकिएन । तर, पछिल्लो समयमा अवस्था सहज भएर गए पनि त्यसतर्फ पार्टीको ध्यान पुगेको छैन ।
Ram Datta Panta

No comments: