Thursday, April 15, 2010
त्यसवेलाका तरुनी
हरिप्रसाद रिमाल
कलाकर्मी
पाँच सय चाँदीका डबल
मलाई लेखपढमा उत्ति रुचि थिएन । गाना-बजानामा रुचि थियो । त्यसैले पढाइ छाडेर भागी-भागी गाना-बजानातिर हिँड्थेँ । यही कारण मैले धेरै पढ्न सकिनँ ।
तलेजु भवानीको मन्दिरमा 'सानु' भन्ने एकजना पुजारी थिए । उनी ताल र सुरको राम्रो ज्ञान भएका गायक पनि थिए । उनले नै मलाई गीत गाउन र बाजा बजाउन सिकाए । 'सानु' मलाई असाध्यै माया गर्थे । बुबा-आमाले मैले गीत गाउन थालेको राम्रै मान्नुभयो । काकाचाहिँ कलामा लागेको भनेर हेलाँ गर्नुहुन्थ्यो । त्यतिखेर कलामा लाग्नेलाई 'भाँड' भन्थे । पछि रेडियो नेपालमा जागिर खाएर मासिक सय रुपैयाँ कमाउन थालेपछि त काका पनि दंग पर्नुभयो । कलाबाट पनि कमाइ हुँदोरहेछ है ? उहाँ हाँस्नुहुन्थ्यो ।
म नक्कल गर्न सिपालु थिएँ । कसैले गाएको देखे सुनिरहन्थेँ । र, त्यसलाई मनमनै टिपिहाल्थेँ । म मीठो स्वर भएको फुच्चेलाई सबैले माया गर्थे । म घरमा नभनीकन दुई/तीनपटक गायब भएको छु । बाआमा पीर गर्थे र खोज्न हिँड्थे । काका त पिटिहाल्नुहुन्थ्यो ।
दाजु गोपालप्रसाद रिमाल मलाई धेरै माया गर्नुहुन्थ्यो । मलाई गाउनका लागि उहाँले नै गीत लेखिदिनुहुन्थ्यो ।
म दरबार स्कुल नपढेको भए सायद कलाकार हुन्नथेँ । किनभने, शिक्षक बालकृष्ण समले नै मलाई पहिलो अभिनय गराउनुभएको हो । उहाँ नाटक पढाउनुहुन्थ्यो । उहाँले नै लेख्नुभएको 'मुकुन्द-इन्दिरा' नाटकमा मैले पनि खेल्न पाएँ । त्यो नाटक पछि नारायणहिटीको बैठकमा पनि प्रदर्शन गरियो ।
गुरु बालकृष्ण समको 'प्रह्लाद' नाटकमा मैले अभिनय गर्न पाएँ । त्यसमा राम्रो गाएँ पनि । मेरो कलाबाट प्रभावित हुँदै श्री ३ जुद्धशमशेरले पाँच सय रुपैयाँ -५ सयवटा चाँदीका डबल) बक्सिस दिनुभयो । म ११ वर्षे बालकले ठाउँ-ठाउँमा बिसाउँदै त्यो पैसा घरमा ल्याएँ र बुबालाई दिएँ । बुबा निकै खुसी हुनुभयो ।
पहिले-पहिले दरबारको थिएटरमा मात्र नाटक हुन्थ्यो । मलाई नाटक हेर्न रहर लाग्थ्यो । 'फलानाको जय होस्' भनेर राणाको पुकारा गरेपछि मात्रै आठ-पहरियाले नाटक हेर्न दिन्थे । 'जय' भन्नेहरूले मात्रै नाटक हेर्न पाउँथे ।
रेडियो नेपालमा पहिलो गीत
२००७ सालमा भर्खरै प्रजातन्त्र आएको थियो । हरेक क्षेत्रमा नयाँ केही गरौँ भन्ने थियो, मान्छेहरूलाई । नेपाली कांग्रेसका नेताहरूलाई खुब मानिन्थ्यो । यत्तिकैमा तारिणीप्रसाद कोइरालाले विराटनगरको प्रजातन्त्र रेडियोजस्तै काठमाडौंमा पनि रेडियो स्टेसन स्थापना गर्ने सोच बनाएका थिए । उनको सोचले साँच्चै फक्रने मौका पायो । त्यसैले स्थापना भयो, 'नेपाल रेडियो' । पछि मात्रै नेपाल रेडियोको नाम परिवर्तन भएर रेडियो नेपाल बनेको हो ।
नेपाल रेडियोको स्थापनाको दिन २००७ साल चैत १६ गते विशेष कार्यक्रमका बीच सुरुवात गर्नुपर्ने थियो । तर, कसरी ? अरू कविता सुनाउने मुडमा थिए । म के गर्ने भन्ने अन्योलमै थिएँ । 'ल रिमाल सबैभन्दा पहिले तिमी गाऊ' भीडको कसैले उक्सायो । र, मैले शंकर लामिछानेले लेख्नुभएको गीत गाउन सुरु गरेँ-
मेरो दिल टुक्रा बनेर एकदिन
आँखाको बाटो बहनेछ
भष्म बन्ला दिल मेरो
जग्गेको आगोमा एकदिन
बनेर राखेको सिन्दुर
खासमा शंकर लामिछानेले लेखेको यो एउटा भावुक कविता थियो । तर, मैले गीतमा रूपान्तरण गरिदिएँ । रेडियो नेपालबाट प्रसारण भएको यो पहिलो गीत त्यही दिन गाइएला भनेर मैले सोचेको थिइनँ । शंकर मेरा भान्दाइका छोरा थिए । घरमा निकै आउजाउ हुन्थ्यो । गोपालप्रसाद रिमाल, शंकर लामिछाने र मेरो संगत निकै बाक्लो बन्यो । मैले गीत गाएको देखेर शंकर मुग्ध हुन्थे । एकदिन उनले त्यो गीत थमाउँदै भनेका थिए, 'यो कविता मलाई असाध्यै मन परेको छ, तँ गाइदे न है !'
मलाई कविताका शब्दले भित्रैसम्म छोयो । संगीत पनि म आफैँले तयार गरेँ । तर, गीत पाउनु, संगीत भर्नु र गाउनुसँग नेपालमा प्रजातन्त्र आउनुको कुनै संयोग थिएन । गीत त्यसै थन्किरहेको थियो ।
राणाहरूको घोडा बाँध्ने तबेलामा नेपालको पहिलो रेडियो बज्न सुरु हुनै लाग्दा प्रत्यक्ष प्रसारणमा मैले गीत गाउन थालेँ- 'मेरो दिल टुक्रा बनेर...।' प्रजातन्त्र आउनेबित्तिकै यो गीत यसरी काम लाग्ला र नेपालको इतिहासमा यसले यसरी नाम राख्ला भनेर न त मैले सोचेको थिएँ । न त शंकर लामिछानेले नै ।
त्यसवेलाका युवती र मेरो प्रेम
त्यसवेला मास्टर रत्नदास प्रकाशको गायकी र अभिनयको प्रशंसा दरबारभित्र र बाहिर पनि उत्तिकै हुन्थ्यो । रत्नदास प्रकाश भनेपछि म पनि हुरुक्कै हुन्थेँ । म सात-आठ वर्षकै उमेरमा गीत गउने र अभिनय गर्न थालेँ ।
राणाकालमा दरबारभित्र धेरै सुन्दरी थिए । वि.सं १९९९ सालतिर । म जवान थिएँ । नाटक देखाउन र गीत गाउन दरबारबाट हामीलाई बोलाइरहन्थे । अहिले धमिलो सम्झना मात्रै छ, दरबारका रानीहरू पनि रथ चढेर नाटक देखाउने मण्डपसम्म आउँथे । त्यसैवेला, मोहनशमशेरको दरबारमा काम गर्ने एउटी ठिटी थिई । नाम त याद छैन । साह्रै राम्री । तिनको शरीरको के प्रशंसा गर्नु ? बान्की परेको थियो ।
तिनी वेला-वेलामा मेरोअघि पैसाको पोका फालेर आफ्नो प्रेम देखाउँथिन् । यसरी अरू सुसारे पनि मलाई पैसा फ्याँक्थे । अरूमार्फत मलाई उपहार पठाउँथे । अरूभन्दा त्यो केटी विशेष थिई । सायद म कलाकार भएर होला, उसको मप्रति विशेष आशक्ति थियो ।
एकदिन मलाई भनी, 'म तपाईंसँग विवाह गर्न चाहन्छु ।' आफ्नो बनाउन धेरै प्रयास पनि गरी । दरबारै छाडेर मसँग विवाह गर्न तयार थिई ऊ । मैले एकैपटकमा 'हुन्न' भनेँ । पछि ऊ खुब रोएकी थिई ।
०००
दरबारमा काम गर्ने महिला कलाकार भनेपछि हुरुक्कै हुन्थे । हामीसँग अँगालो मार्ने, जिस्कने, चुम्बन गर्ने त सामान्यजस्तै थियो । त्यसवेला घरानियाँ आइमाई पनि मसँग विशेष आशक्ति राखेर प्रेम गर्थे । तर, मैले कहिल्यै पनि उनीहरूतिर नजर लगाइनँ ।
त्यसवेलाको एउटा घटना छ, कहिल्यै बिर्सन्न । अहिलेको जावलाखेल चिडियाखानाको एउटा कुनामा रहेको घरमा म गीत गाउन गएको थिएँ । त्यो घर अहिले पनि होला । मेरो गीत सुन्न त्यसवेलाका खानदानी परिवारका छोरीहरू पनि आएका थिए । मैले गीत गाइसकेपछि एउटी ठिटीले मलाई तानेर घरभित्र लगी । त्यसले मेरो गालामा म्वाइँ खान थाली । म लाजले रातो भएँ । म फुत्किन सकिनँ । पछि म त्यहाँबाट रुँदै भागेँ । म जवान थिएँ र अनुशासित पनि । कहिल्यै केटीको पछि दौडिनँ । तर, मप्रति धेरै केटी आकषिर्त हुन्थे । यो घटनाले थाहा हुन्छ, अहिलेका जस्तै त्यसवेलाका युवती पनि छाडा थिए ।
०००
हुन त मैले पनि एउटी केटीलाई प्रेम गरेँ । एकदिन दाइ गोपालप्रसाद रिमालसँग पशुपति घुम्न निस्केको थिएँ । त्यसैदिन पशुपति भजनमण्डलीमा बसेर मैले पनि गीत गाएँ । श्रोताहरूको भीडमा एउटी मगर युवती थिइन्, जो साह्रै ध्यान दिएर गीत सुन्दै थिइन् । उनको मौनताले संगीतप्रतिको अनुराग झल्काउँथ्यो । म उनलाई हेरेर मुग्ध भएँ । उनको सौन्दर्यमा के थियो कुन्नि, म त एकैपटकमा खुब आकषिर्त भएँ । उनलाई प्रेम गर्न पो थालेछु । पछि उनी मेरो नजरबाट धेरै समय हराइन् । पाँच वर्षपछि मात्र उनी भेटिइन् । उनी बालविधवा रहिछन् । मैले उनलाई प्रस्ताव राख्न पनि सकिनँ । मेरो प्रेम त्यसै ओइलायो ।
०००
रेडियो नेपालमा गीत गाउन थालेपछि म त्यसवेलाको सेलिब्रेटी बनेँ । मेरा फ्यान चिठीसँगै शुभकामना पठाउँथे । धेरै केटीले प्रेम-प्रस्ताव पनि राखे । रेडियोमा एकजना थिइन्, कल्याणी । उनी रेडियोमा 'काव्यकुञ्ज', 'बाल कार्यक्रम' चलाउँथिन् र समाचार वाचन पनि गर्थिन् । उनी राम्री पनि थिइन् र बुझ्ने पनि । म एक्कासि उनको नजिक हुन थालेँ । मलाई उनी भित्रभित्रै मन पर्न थाल्यो । प्रेमप्रस्ताव राख्न सकिनँ । हाम्रो लमी बने रेडियोका समाचार सम्पादक भोग्यप्रसाद शाह । एकदिन भने, 'हरि, तिमी कल्याणीसँग बिहे गर, सबै कुरा पनि मिल्छ ।' उनले कल्याणीलाई पनि 'हरिसँग विवाह गर, राम्रो हुन्छ' भनेका रहेछन् । त्यसपछि हामी विस्तारै नजिक हुन थाल्यौँ । ०१४ सालमा हाम्रो विवाह भयो । अब त बूढो भइयो । बैंसको जीवन मात्र के जीवन हो र ? अहिले पनि म कल्याणीलाई तरुनी देख्छु । बुढ्यौलीमा त माया झन् बढ्नेरहेछ ।
रंगमञ्चमा महिलाको प्रवेश
२००७ साल अघि । अर्थात् पद्मशमशेरको पालामा । उनी अरू राणाशासकको तुलनामा आफूलाई निकै सुधारवादी देखाउन खोज्थे । त्यसवेला फाट्टफुट्ट हिन्दी नाटक खेलिन्थ्यो । बालकृष्ण समले लेखेको पहिलो नेपाली नाटक मुकुन्द-इन्दिरा हामीले नै पहिलोपटक मञ्चन गराएका थियौँ । नेपाली रंगमञ्चीय इतिहासमा नेपाली नाटक मञ्चन गरिएको यो पहिलोपटक हो ।
त्यसवेला मलाई एउटा जुक्ति फुर्यो । त्यो के भने नेपाली नाटकमा महिला कलाकारको प्रयोग । राणाशासनका वेला महिला कलाकारलाई नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको थियो । तर, राणाहरू आफ्नो हबेलीमा भने विदेशी महिलाको अभिनय हेर्ने गर्थे ।
एकदिन श्यामदास बैष्णव र अर्को एकजना साथीसँग मिलेर मैले पद्मशमशेरकहाँ बिन्तीपत्र हालेँ, 'बाहिर आइमाई बिक्री हुन्छन् । विदेश पलायन हुन्छन्, त्यसैले किन उनीहरूलाई यहीँ अवसर नदिने ?' हाम्रो बिन्तीपत्र हेरेपछि पद्मशमशेरले तत्कालै आदेश दिएछन्, 'अभिभावकहरू मान्छन् भने उनीहरूको स्वीकृति लिएर अभिनय गराउनू ।'
म आपतमा परेँ । स्वीकृति त पाइयो । तर, कसलाई अभिनय गराउने ? धेरैबेर सोचेपछि बुद्धिमाया महर्जन भन्ने एउटी युवतीलाई फकाएँ । त्यो पनि एउटा लोभ देखाएर । बुद्धिमाया त्यतिवेला डिल्लीबजारमा 'कुते' नामले चिनिने एकजना युवकको प्रेममा परेकी रहिछन् । मैले र अर्को एकजना साथीले तिनलाई उनैले मन पराएको युवकसँग बिहे गराइदिने वचन दिएर नाटकमा अभिनय गरायौँ । पछि यो जोडीको बिहेका लागि त्यतिवेलै तोलाको एक सय पाँच रुपैयाँ पर्ने दुई तोला सुन खरिदका लागि हामी साथीहरूले संयुक्त रूपमा पैसा उठाएका थियौँ ।
यसरी नेपाली रंगमञ्चमा महिला कलाकारको प्रवेश भयो ।
नाटकमाथि प्रतिबन्ध
राणाकालमा सर्वसाधारणका लागि मुख्यतः डिल्लीबजारमा नाटक देखाइन्थ्यो । म त्यतिवेला पनि 'हिट' थिएँ । कहिलेकाहीँ भाग्छ भनेर आयोजकले थुनेर राखिदिन्थे । नाटक हेर्न आएकाहरूले अभिनय मन परेर पैसा फ्याँक्थे । तर, त्यतिवेला नोटको चलन थिएन । सिक्का फ्याँक्दा टाउकोमा लागेर हैरान हुन्थ्यो । राणाहरूकै पालामा हो, मेरा साथी पुष्प नेपाली (गायक) र सुष्मा राणा आइमाई बनेको नाटकमा पनि मैले अभिनय गरेँ । राणाकालमा राजनीतिक नाटक गर्न नपाउने कानुन थियो । त्यसैले सामाजिक नाटकमा मात्रै केन्दि्रत थियौँ, हामी ।
२००७ को आन्दोलनमा नाटकलाई नै प्रतिबन्ध लगाइएको थियो । तर, प्रजातन्त्र स्थापनापछि भने राजनीतिक विषयका नाटकले प्रश्रय पाउन थाले । राणाहरूकै शासनका वेला मैले गरेका धेरै नाटकका अभिनय मलाई याद छैन । तर, जुद्धशमशेरको पालामा २००२ तिर । अहिलेको राष्ट्रपतिभवन रहेको शीतलनिवासमा मैले गरेको एउटा अभिनय भने अझै याद छ । त्यो नाटकमा मेरो रोल थियो, मरेको मान्छेको कपाल सुम्सुम्याउनुपर्ने । तर, कपाल सुम्सुम्याउँदा त्यो कलाकारले लगाएको नक्कली कपाल नै निस्कियो । त्यसपछि त्यहाँको वातावरण हाँसोमय हुन लागेको थियो । तर, मैले स्थिति सम्हालेँ । मेरो रुवाइको बुलन्द अभिनय देखेर नाटक हेर्न आउने दर्शक पनि रुन थाले ।
लाटोकोसेरोको आवाज पछ्याउँदै
रेडियो नेपाल स्थापना भएको केही समयपछि रेडियोमा नाटक गर्न थालियो । तर, नाटकको परिस्थितिअनुसार ध्वनिको व्यवस्था थिएन । ध्वनिको समायोजन गर्न निकै गाह्रो थियो । केही वर्षपछि मात्र ध्वनि रेकर्ड गर्ने सानो मेसिन आइपुग्यो । म त रेडियोमा नाटक थालिएपछि निकै उत्साहित थिएँ । त्यसवेलाका मेरा धेरै रात अनिँदै बितेका छन् । म मध्यरातमा उठेर सानो रेकर्डिङ मेसिन बोकेर लाटोकोसेरोको आवाज, सिमसिम पानीको आवाज, पानी बेस्सरी वर्षेको आवाज, भ्यागुतो, झ्याउँकिरी कराएको आवाज रेकर्ड गर्दै हिँड्थेँ । पछि त्यो आवाजलाई मिक्सिङ गर्थें र रातभरि बसेर एडिट गरेर नाटकमा मिसाउँथेँ ।
लाइभ गीत गाउँदा
ती दिन अहिले सम्झनामा मात्रै छन् । अब फर्केर फेरि आउने छैनन् । मैले रेडियो नेपालमा ७/८ सय नाटक निर्देशन गरेँ हुँला । कहिलेकाहीँ लाग्छ, नाटकले मेरो गीत कला छोपिदियो । त्यसवेला गीत रेकर्ड हुँदैनथ्यो । लाइभ रेडियोमा गाउनुपथ्र्यो । त्यसरी लाइभ गाउँदा बेसुरा हुने सम्भावना पनि उत्तिकै रहन्थ्यो । डेढ सयभन्दा बढी लाइभ गाएँ । पछि कोलकाता पुगेर ग्रामोफोनमा गीत रेकर्ड गर्न थालियो । मैले गाएकोमा आफैँलाई मन परेको गीत 'फगत एक नजरमा' हो ।
हराए रेडियो नाटक
रेडियो नाटकमा दृश्य हुँदैन । संवादले नै दृश्य उब्जाउनुपर्छ । त्यसमा कुन पात्रले कस्तो लुगा लगाएको छ भन्ने देखाउन संवादकै प्रयोग हुन्छ । रेडियो नाटक संवादप्रदान हुन्छ । तर, नाटकमा चाहिँ संवादका साथै दृश्य र अभिनयको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । रेडियो नाटक लेख्न अप्ठ्यारो हुने हुनाले अहिले लेखकहरू नै पाइन छाड्यो । अचेल रेडियो नाटक आउँछन्, ती सबै टिनएजले लेखेका प्रेमका कुरा गर्ने नाटक मात्रै । 'बोक्सी' जस्ता स्तरीय मनोवैज्ञानिक नाटक अचेल विरलै मात्र आउँछन् । फेरि रेडियोहरूले नाटक गर्न छाडे । अब लाग्छ, विस्तारै हराए रेडियो नाटक ।
ओभर एक्टिङ
अहिले सबै कलाकार ओभर एक्टिङ गर्छन् । मलाई अचम्म लाग्छ, किन त्यसो गर्छन् ? एउटा कलाकारका लागि खुलेर अभिनय गर्न नसक्नुभन्दा 'ओभर एक्टिङ' ज्यादै खतरनाक कुरा हो । अचेल हिन्दी र नेपाली टिभीमा आउने शृंखलामा हेरिनसक्नुको ओभर एक्टिङ हुन्छ । 'तिमी सन्चै
छौ ?' भन्दा उनीहरू यति धेरैथोक गर्छन् कि त्यो चरित्र नै मर्छ । नेपाली कलाकारको समस्या नै त्यही हो । अभिनयमा दर्शकको अगाडि बाँच्ने हो । एउटा कलाकारले चरित्रसँग बाँचेको समय नै सत्यता हो । लाग्छ, हाम्रा कलाकारले सही बाटो भेट्टाएनन् ।
बुढ्यौलीले ल्याएको निस्सारता
अब त बूढो भइयो । शरीर धेरैथरी रोगको घर भएको छ । बुढ्यौलीसँगै गाँसिएर आएको दमको दीर्घरोगले म पहिलेजस्तो भालेको डाकअघि नै 'मर्निङ वाक' मा निस्कन सक्दिनँ । पाँच बजे नै निद्रा खुले पनि ओछ्यानमै पल्टेर भगवान्लाई सम्भिmरहन्छु । फोक्सोको रोग छ । जुनैवेला पनि अक्सिजन लिइरहनुपर्छ । डाक्टरले कम्तीमा २० घन्टा अक्सिजन तान्नू भनेको छ । सास फेर्नै निकै गाह्रो छ ।
रंगमञ्चबाट अघोषित अवकाश लिएको पनि धेरै भइसक्यो । दुई छोरा अमेरिकामा छन् । साथमा कल्याणी छिन्, जुनैवेला पनि मेरो स्याहारमा तल्लीन । उनी नभएको भए मेरो जीवन के हुन्थ्यो होला ? म सोच्न पनि सकिदनँ । एक्लो जीवन बाँच्नुपर्ला भन्ने पीर छ । मृत्युसँग डर लाग्छ । एक-अर्काविना बाँच्न सक्दैनौँ । अब एउटै मात्र इच्छा छ, भगवान्सँग प्रार्थना पनि छ, बाँचुन्जेल सँगै बाँचु, एक्लो जीवन चाहिँदैन ।
Friday, April 2, 2010
सोम नारायणगोपाल
नगेन्द्र थापा
कवि, गीतकार तथा स्व. नारायणगोपालका अनन्य मित्र
नारायणगोपालसँग मेरो पहिलो भेट ०२१ मा भएको हो, दार्जिलिङको हिमालय कला मन्दिरमा । उनी ईश्वरबल्लभसँग घुम्न आएका थिए । ईश्वरबल्लभ नारायणगोपालको साथी । मेरो र गोपाल योञ्जनको पनि साथी । उनी काठमाडौंका भए पनि इन्द्रबहादुर राई र बैरागी काइँलासँग दार्जिलिङमै बसेर तेस्रो आयाम साहित्यिक आन्दोलन चलाइरहेका थिए ।
म कलेज पढ्दै थिएँ । गोपाल योञ्जन मेरो सबभन्दा घनिष्ठ साथी । नारायणगोपाल बडोदामा शास्त्रीय संगीत पढ्दै थिए । नारायणगोपाल गायक, गोपाल संगीतकार र म गीतकार । 'यी तीनजनालाई मिलाइदिन पाए गजब हुन्थ्यो,' भनेर ईश्वरबल्लभले नारायणगोपाल दार्जिलिङ आउँदा हाम्रो भेट गराइदिए । त, हिमालय कला मन्दिरमा उनीसँग चिनजान भयो । भोलिपल्ट ईश्वरबल्लभ, नारायणगोपाल, गोपाल योञ्जन र म घोडा चढेर घुमपहाड घुम्न गयौँ । त्यहाँ थियो- दिलमाया खातीको घर । उनको घर पनि पुग्यौँ । त्यस भ्रमणमा यताउताका कुरा धेरै भए । संगीतबारे त्यति कुरा भएन । नारायणगोपाल केही दिन दार्जिलिङ घुमेर बडोदा फर्किहाले ।
एक वर्षपछि नारायण ईश्वरबल्लभसँग फेरि दार्जिलिङ आए । दुईटा कामले आएका रहेछन् । पत्रमित्र पेमलासँग भेट्न र गोपाल योञ्जनले संगीत दिएका र मैले लेखेका गीतको खोजी गर्न । रत्न रेकर्डिङले नारायणका आठवटा गीत निःशुल्क रेकर्डिङ गरिदिने भएको रहेछ ।
त्यसैवेला, ईश्वरबल्लभले नारायण र गोपाललाई मित लगाइदिने प्रस्ताव गरे । उनीहरूले सहर्ष स्वीकारे ।
मित लगाउन दार्जिलिङको महाँकालडाँडा पुग्यौँ ईश्वर बल्लभ, कर्म योञ्जन, म र मित लाउने दुईजना । महाँकालडाँडामा एउटा मन्दिर छ । मन्दिरअगाडि धुनी बालेर उनीहरूलाई मित लगाइदियौँ, आगोलाई साक्षी राखेर । नारायणगोपालका तर्फबाट ईश्वर बल्लभले र गोपाल योञ्जनका तर्फबाट मैले मित बोल्ने काम गर्यौँ । यी दुई मितबाट नेपाली संगीतको नयाँ मानक स्थापना हुने भविष्यवाणी गरेका थियौँ । शतप्रतिशत सत्य साबित भयो त्यो भविष्यवाणी । यसो भन्न पाउनुमा म गर्व गर्छु ।
० ० ०
मित लगाएको भोलिपल्ट कि पर्सिपल्ट हो, नारायण, गोपाल, कर्म र म पेमलालाई भेट्न सुकियापोखरी गयौँ । पेमला कहाँ के गर्दै थिइन्, थाहा थिएन । सुकियापोखरी गएर सोधखोज गर्दा थाहा पायौँ- उनी कलेज सकेर सुकियापोखरीकै एउटा स्कुलमा पढाउँदै रहेछिन् । हामी सोझै उनको स्कुलतिर लाग्यौँ । गोपाल योञ्जन र म स्कुलभित्र गयौँ भने कर्म र नारायणगोपाल अलि परै बसे ।
पेमला भेटिइन् । गोपाल योञ्जनले उनलाई 'मेरो मितज्यू तपाइर्ंलाई भेट्न आउनुभएको छ,' भने ।' पेमलाले मलाई पो नारायणगोपाल ठानिछन् । उनी लजाइन् । मुन्टो निहुराइन् । उनको अनुहारको हाउभाउ देखेपछि उनको भ्रम हटाउन मैले भनेँ, 'पेमला, म नारायणगोपाल होइन । पर उभेर यता हेरिरहेको छ नि... हो...त्यो नारायणगोपाल हो ।'
त्यसपछि, उनीहरूको चिनजान गराइदियौँ । र, 'अलिक पर गएर दुईजना कुरा गर,' भन्याँै । पहिले त दुवैजना लजाएका थिए, तर हामीले 'हाम्रो अप्ठयारो नमानी कुरा गरे हुन्छ,' भनेपछि यी दुईजना कुरा गर्न गए । ठयाम्मै ढेड घन्टा कुरा गरे । पछि, नारायणले सुनाए, 'पेमला, साह्रै असल र राम्री रहेछिन् ।' पेमलाले पहिलो भेटमा उनलाई गीत पनि गाउन लगाइछिन् । उनले 'चिनारी हाम्रो धेरै पुरानो....' गाएछन् । मैले लेखेको गीत हो त्यो । पेमला र नारायणगोपालको भेटघाट सकिएपछि नारायणलाई जिस्क्याउँदै दार्जिलिङ झर्यौँ हामी ।
त्यसवेलासम्म नारायण र म धेरै नजिक भइसकेका थियौँ । सुमधुर भइसकेको थियो हाम्रो सम्बन्ध । सुरुमा म उनलाई 'नारान' भन्थेँ । तर, पछि मैले उनलाई कहिल्यै 'नारान' भनिनँ । हामी एक-अर्कालाई 'सोम' भन्थ्यौँ । मिल्ने साथीलाई 'सोम' भन्ने चलन थियो दार्जिलिङमा ।
० ० ०
नारायणगोपालसँग ०२४ मा तेस्रो भेट भयो, काठमाडौंमा । बडोदाबाट शास्त्रीय संगीत सिकेर आएका थिए उनी । मचाहिँ दार्जिलिङबाट डिप्लोमा तहको पढाइ सकेर काठमाडौं आएको थिएँ । मेरो घनिष्ठ साथी गोपाल योञ्जन भने काठमाडौं आएका थिएनन् । उनका बुबा बितिसकेका थिए । एक्लो सन्तान थिए उनी । आमालाई छाडेर काठमाडौं आउन सकेनन् । उनीविना काठमाडौं साह्रै बिरसिलो लाग्न थाल्यो मलाई । काठमाडांैमा एक वर्षजति बसेपछि दार्जिर्लिङ गएँ र गोपालकी आमासँग उनलाई मागेँ । उनकी आमासँग भनेँ, 'आमा, मलाई गोपाल दिनूस् । म उनलाई काठमाडौं लैजान्छु । हामी उतै बसेर जागिर पनि खान्छौँ, पढ्छौँ पनि ।' गोपालकी आमा मलाई पनि असाध्यै माया र विश्वास गर्नुहुन्थ्यो । उहाँ गोपाललाई काठमाडौं पठाउन राजी हुनुभयो ।
नारायणगोपालको किलागलमा घर थियो । गोपाल योञ्जन थापाथलीमा बस्थे, सानिमाको छोरीको घरमा । म ज्ञानेश्वरमा डेरा लिएर बसेको थिएँ । हरेक दिनजसो बेलुका हामी तीनजनाको भेट हुन्थ्यो । हामी टोलटोल घुम्थ्यौँ । टोलमा भजन गाउने चलन थियो । नारायणगोपाल भजनका तालमा उफ्रि-उफ्रि नाच्थे । हामीलाई पनि नचाउँथे ।
गोपाल योञ्जनको दिदीको घर, नारायणगोपालको घर र न्युरोडको इन्दिरा रेस्टुरेन्ट, यी तीन ठाउँमा हामी तीनभाइ धेरै भेट्थ्यौँ । खुब गफिन्थ्यौँ । गीतकार, संगीतकार र गायकको साइनोभन्दा साथीको साइनोले बाँधेको थियो हामीलाई ।
यसैबीच, कला/संगीतसम्बन्धी एउटा पत्रिका निकाल्ने निधो गर्यौँ हामीले । नाम मैले जुराएँ, 'बागीना' । बागीना अर्थात् बाजा, गीत र नाच । बागीना त्रैमासिक रूपमा निकाल्ने निर्णय गरियो । प्रकाशक/सम्पादक नारायणगोपाल रहे भने म र गोपाल योञ्जनचाहिँ सम्पादक । बागीना चार अंक नियमित निक्लियो । रचना र विज्ञापन खोज्ने, वितरण गर्ने हाम्रो समूह सबै काम आफैँ गथ्र्याँ । रचना अभाव हुँदा विभिन्न उपनाम राखेर आफैँ लेख्थ्यौँ । एक वर्षसम्म बागीना नियमित प्रकाशन गर्यौँ । तर, पछि विज्ञापन र लेख-रचनाको अभाव हुन थाल्यो । केही वर्ष वर्षमा एक-दुई अंकमात्रै प्रकाशित हुन थाल्यो बागीना । तर, पछि त बन्दै गर्नुपर्ने भयो ।
० ० ०
०२७ फागुनको कुरा हो । दाजु सूर्यबहादुर थापा (पूर्वप्रधानमन्त्री) सँग ज्ञानेश्वरमा भाडाको घरमा बस्थेँ म । एक दिन बिहानै नारायणगोपाल सानो बि्रफकेस बोकेर मेरो कोठामा आइपुगे । 'ए सोम, यति बिहानै तिमी झोला बोकेर कता ?' मैले सोधेँ । 'सोम, मलाई अलिक अप्ठयारो पर्यो । बिहे गर्न जान लागेको....पैसा पनि छैन...के गर्ने होला ?'
मेरो संयोजनमा पुलिस क्लबमा 'मितज्यू नाइट' भन्ने नारायणगोपाल र गोपाल योञ्जनको सांगीतिक कार्यक्रम भएको भएको थियो । त्यसबाट उठेको रकममध्ये संगीत सामग्री किनेर बचेको १६ हजार रुपैयाँ मसँग थियो । त्यसमा खोजखाज गरी दुई हजार थपेर दिएँ ।
नारायण बिहे गर्न एक्लै दार्जिलिङ गए । पहिलो भेटदेखि नै पेमलासँग प्रेम थियो उनको । पेमलालाई उनको परिवारले स्वीकार गरेन । उनको परम्परागत नेवारी परिवारले 'अर्की जातकी बुहारीलाई' अस्वीकार गरेपछि नवदम्पती पोखरा गएर बस्न थाल्यो । भूपी शेरचनको घरमा बस्थे उनीहरू । दुवैजना पोखरामा पढाउन थाले । म धान चामल कम्पनीको महाप्रबन्धक भएर झापा गएँ । गोपाल योञ्जन काठमाडौंमै बसेर कलेज पढाउँदै थिए । त्यतिवेला हामी तीनजना एक-अर्कालाई धेरै चिठी लेख्थ्यौँ । पोखराबाट मलाई नारायणले तीन दर्जन चिठी पठाएका थिए । मैले पनि उत्तिकै संख्यामा पठाएको थिएँ ।
०३७ तिर नारायणगोपाल र पेमला पोखराबाट काठमाडौं आए । म पनि झापाबाट काठमाडौं फर्किएँ । त्यसवेलाका मन्त्री केबी शाहीले मलाई राष्ट्रिय नाचघरको महाप्रबन्धकमा सिफारिस गरे । तर, मैले नारायणगोपाललाई प्रस्ताव गरेँ । शाही 'हुन्न' भन्दै थिए । तर, मैले 'नारायणगोपाल उपयुक्त मान्छे हो,' भनेर अडान लिएँ । एक दिन शाहीले हामी दुवैजनालाई बोलाए । उनले नारायणलाई भने, 'नारायण, तिमीले साथी त भन्नुको पाएका रहेछौ ! मैले उसको नाममा नियुक्ति तयार पारेको थिएँ, तर उसले तिमीलाई सिफारिस गर्यो ।' साथै नारायणकै अगाडि उनले मलाई भनेका थिए, 'नगेन्द्र, नाचघरमा हामीले तिमीलाई पठाएको हो । त्यहाँ तलमाथि भयो भने नारायणलाई होइन, म तिमीलाई समात्छु ।'
० ० ०
नारायण खानपिनमा सौखिन थिए । पकाउन अघि सर्थे र असाध्यै मिठो पकाउँथे । खुर्सानीको त पारखी नै थिए । मेरी श्रीमती मञ्जु रातो खुर्सानीको लेदो अचार बनाउन खप्पिस थिइन् भने नारायण मेथीको अचार बनाउन । हामी मेथीको अचार र रातो खुर्सानीको लेदो अचार साटासाट गरेर खान्थ्यौँ । खुर्सानीको लेदो अचार सकिनासाथ उनी मेथीको अचार बोकेर मेरो घरमा आइहाल्थे ।
एकचोटि नारायण, गोपाल र म 'मितज्यू नाइट' कार्यक्रम लिएर आसाम जाने क्रममा विराटनगरस्थित मेरो घरमा केही दिन बसेका थियौँ । मेरी आमा नारायणगोपालले खुर्सानी र गोपाल योञ्जनले घ्यू खाएको देख्दा छक्क पर्नुभो । उहाँले नारायणगोपाललाई खुर्सानीकुमार र गोपाल योञ्जनलाई घ्यूकुमार नाम राखिदिनुभएको थियो ।
जेरी-स्वारी र जर्मन प्रविधिमा बनेको ससेज पनि उनलाई साह्रै मन पथ्र्यो । खानमा असाध्यै सौखिन थिए । खान मन लागेको कुरा नखाई नछाड्ने उनको बानी थियो । वीर अस्पतालको आइसियुमा रहँदासमेत उनले आफ्नो सौख त्यागेका थिएनन् । उनको अवस्था गम्भीर थियो । एक दिन डाक्टरले 'मनपर्ने खाना थोरै दिएहुन्छ,' भनेपछि मैले उनलाई दुईटा जेरी र अलिकति मासु दिएँ । उनी भने 'दुई पाउ हलुवा, दुई पाउ जेरी र ससेज चाहिन्छ मलाई,' भन्दै केटाकेटीले जस्तो जिद्दी गर्न थाले । घुर्की देखाउन थाले । उनले मागेजति नदिई धरै पाइनँ मैले ।
० ० ०
नेपाली संगीतको साह्रै चिन्ता थियो उनलाई । उनको स्वास्थ्यावस्था एकदमै नाजुक भइसकेको थियो । सायद, उनलाई मृत्युको पूर्वाभ्यास भएको थियो । एक दिन बिहानै मलाई बोलाए र भने, 'ए सोम, तुरुन्तै वकिल बोलाएर ल्याइदेऊ ।' मैले भनेँ, 'यस्तो वेला किन वकिल चाहियो तिमीलाई ?' उनले गम्भीर भएर भनेका थिए, 'म अब बाँच्दिनँ । मर्नुअघि मेरो सबै सम्पत्ति नेपाली संगीतको विकासका लागि ट्रस्ट बनाएर राख्छु । नेपाली संगीतले अभावमा बाँच्न नपरोस् भन्नेे चाहना छ मेरो ।' उनी जिद्दी गरिरहेका थिए, तर मैले 'तिमी निको होऊ, अनि जे-जे गर्नुपर्छ गरौँला,' भनेर सम्झाएँ ।
अस्पताल भर्ना भएदेखि उनको मृत्यु भएको दिन, १८ मंसिर ०४७ सम्म एकछिन नछोडी मेरी श्रीमती र मैले उनको रेखदेख गर्यौँ, एक महिना जति । उनी काठमाडौंको, म धनकुटाको । उनी नेवार, म थापा । उनको र मेरो रगतको नाता नभए पनि अन्तिम क्षणसम्म एउटै घरका परिवार जस्तो भएर बस्यौँ हामी । एउटै घरका परिवारका सदस्य पनि त्यति नजिक र त्यति घनिष्ठ भएर बस्न सक्दैनन् होला । हामीबीच गायक नारायणगोपाल र गीतकार नगेन्द्र थापाको नाताभन्दा 'सोम' नारायण र 'सोम' नगेन्द्रको नाता प्रगाढ थियो ।
० ० ०
मैले लेखेका करिब डेढ दर्जन गीत गाएका छन् उनले । 'सोम, गीत लेख न,' भनिरहन्थे । पछि लेखौँला भन्दै मैले उनलाई टारिरहँे । तर, मलाई यति वेलाचाहिँ एकखाले पीडा हुन्छ । नारायणगोपाल अचानक त्यति छिट्टै बित्छन् भन्ने थाहा पाउन सकेको भए अरू पच्चीस/तीसवटा गीत लेखेर उनलाई गाउन दिन्थेँ होला । तर, सधै सँगै भइन्छ जस्तो लाग्थ्यो । र, पछि लेखुँला भन्दाभन्दै उनका लागि लेख्न पाइनँ ।
उनको र मेरो एउटा विषयमा प्रायः विवाद भइरहन्थ्यो । नेपाली संगीत कस्तो हुनुपर्छ ? भन्ने विषयमा । म भन्थेँ, 'नेपाली संगीतले आÏनै पहिचान बनाउनुपर्छ । शास्त्रीय र लोकसंगीतका आधारमा यसले मौलिक पहिचान बनाउनुपर्छ । तर, नारायणगोपाल मसँग सहमत थिएनन् । उनी भन्थे, 'सोम, संगीतको देश हँुदैन, जात हुँदैन र पहिचान हुँदैन । यसको न भाषा हुन्छ न यसलाई कुनै सीमारेखाले छुट्टयाउन सक्छ ।' संगीतप्रतिको फराकिलो दृष्टिकोण थियो उनको । गायकले विनासाधना विनामिहिनेत गाएकोमा दुःखी थिए उनी । उनी सधैँ भन्ने गर्थे, 'घाँटीबाट मात्रै गाइयो, हृदयदेखि गाइएन भने नेपाली संगीत कता पुग्ला ?'
अहिले म बेखबर भएर बसेको छु । सांगीतिक तथा साहित्यिक कार्यक्रममा जान छाडिसकेँ ।
नारायणगोपाल र गोपाल योञ्जन मेरो जीवनको जीवन थिए । उनीहरू दुवैजना बितेदेखि जीवनविनाकोे जीवन बाँचिरहेको छु म ।
क. रत्न बान्तवा हत्याको त्यो दिन
२७ चैत ०३५ मा हत्या गरिएका नेकपा मालेका केन्द्रीय सदस्य रत्न बान्तवा त्यही दिन २७ वर्ष पुगेका थिए । ०२८ को झापा आन्दोलनबाट प्रभावित भई क्रान्तिमा होमिएका बान्तवा क्रान्तिविना पञ्चायत ढाल्न सकिँदैन भन्दै राजनीतिक प्रशिक्षण दिँदै हिँड्थे । त्यसैले, उनलाई पञ्चायतले धेरै दुःख दिएको थियो । उनका आफन्त तथा नातागोतासमेत पञ्चायतबाट प्रताडित थिए । बान्तवासँग अनुहार मिलेको निहुँमा पुलिसले उनका काकाका छोरा बम बान्तवा र छिमेकी निमा शेर्पालाई मारेको थियो । वान्तवाको इलामको इभाङमा हत्या भएको थियो । त्यस दिनलाई यसरी सम्भिmन्छिन् सुशीला श्रेष्ठ । जो रत्न बान्तवासँग अन्तिम अवस्थामा सँगै थिइन् ।
रत्न बान्तवा, म र कल्पना (नीरमाया राई) एकाबिहानै हिँडयौँ । हामी ताप्लेजुङ जाँदै थियौँ । इलाममा एक परिचितको घर थियो । उहाँ ज्योति दिदी भनेर चिनिनु हुन्थ्यो । दुई-तीन दिनदेखि हामी इलामको इभाङ गाउँस्थित ज्योति दिदीकहाँ बसिरहेका थियौँ । रत्न तीन महिनाअघि मात्रै नेकपा मालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । म र कल्पना पार्टीका कार्यकर्ता मात्र थियौँ । हामी क्रान्तिका लागि निस्केका थियौँ । पञ्चायती निरंकुश शासन ढाल्ने हाम्रो एकमात्र लक्ष्य थियो ।
त्यही दिन अर्थात् २७ चैतमा रत्न ठयाक्कै २७ वर्ष पुगेका थिए । पार्टीले उनलाई ताप्लेजुङ खटायो । त्यही जिम्मेवारी निर्वाह गर्न उनी कल्पना र मलाई साथ लिएर जन्म दिवसकै दिन ताप्लेजुङतिर जाँदै थियौँ । प्रहरीको ठूलो डर थियो । पञ्चायतविरोधीलाई जसरी पनि सखाप पार्ने सरकारी प्रपन्च थियो । प्रहरी प्रशासन मरिमेटेर त्यसैमा लागिपरेको थियो । पञ्चायतविरोधी, त्यसमा पनि कम्युनिस्टलाई त उनीहरू पुटेका आँखाले पनि देखिसहन्नथे । भेटे त्यसै छाड्दैनन् भन्ने डर हाम्रो मनमा पनि कताकता थियो । क्रान्ति गर्न भनेर हिँडिसकेपछि डरले केही गर्न सक्दोरहेनछ । हामी निर्भयझैँ लगातार हिँडिरहेका थियौँ । बिहान झिममिसेमै हिँडियो भने दुस्मनले हामीलाई चिन्ने सम्भावना कम हुन्छ भन्ने सोच्यौँ । त्यसैले सखारै बाटो ततायौँ ।
इभाङको पुछारमा एउटा कुइनेटो छ । ज्योति दिदीको घरबाट निस्किएको आधा घन्टा पनि भएको थिएन, त्यही कुइनेटोमा मान्छे बोलेको गाइँगुइँ आवाज सुनियो । गाउँले होलान्, काममा निस्केका भन्ठानेर हामी एकसुरमा हिँडिरहेका थियौँ । अलिकति पर पुगेपछि नजिकै १०/१५ जनाको हुल देखियो । राम्ररी उज्यालो भइसकेको थिएन । ती पुलिस थिए या गाउँले भनेर ठम्याउन सकिएन । यति भने प्रस्टै देखिन्थ्यो- उनीहरूका हातमा लामा-लामा बाँसका घारा (लठ्ठी) थिए । त्यो देखेपछि भने हामी सशंकित भयौँ ।
त्यो हुल क्रमशः नजिकिँदै थियो । हाम्रा नजिकै आइपुगेपछि हुलकै एकजनाले रत्नलाई चोरऔँलाले देखाउँदै भन्यो, 'रत्न बान्तवा भन्ने उही हो ।' उसले यति भन्नेबित्तिकै तीन/चारजनाले उनलाई समातिहाले । यसो फर्केर हेरेको त हामीलाई दुस्मनले घेरामा पारिसकेको रहेछ । हामी प्रहरीको घेराबीच थियौँ । उनीहरूका हातमा बन्दुक, लठ्ठी, खुकुरी, खुर्पा आदि हतियार थिए ।
रत्न उनीहरूको नियन्त्रणबाट उम्किन प्रयत्न गरिरहेका थिए । तर, उनलाई एकजना ठूलो ज्यान भएका व्यक्तिले बेस्कन अँठयाएर राखेको थियो । उसको कसिलो पन्जामा रत्न उम्कने प्रयास गर्दै थिए, तर आफ्ना हात खोल्न सकिरहेका थिएनन् । उनलाई काबुमा राख्न त्यो बलियो मान्छेलाई पनि कम्ती गाह्रो भने भइरहेको थिएन ।
त्यतिबेरसम्म उनीहरूले मलाई नियन्त्रणमा लिन भ्याइसकेका थिएनन् । मौकाको सदुपयोग गर्न खोजेँ मैले । त्यहीवेला लठ्ठीले रत्नलाई अँठयाउने मान्छेको हातमा बेस्सरी बजाइदिएँ । ऊ पीडाले रन्थनियो र रत्नलाई छाड्न बाध्य भयो । त्यसको नियन्त्रणबाट मुक्त भएर बान्तवा त्यहाँबाट भाग्न कोसिस गरिरहेका मात्र के थिए, डयाम्म आवाज आयो । कसैले गोली चलाएछ, उनी त्यहीँ ढले ।
भाग्ने कोसिस गर्ना साथ मलाई पनि गोली हाने । म पनि ढलेँ । त्यसपछिका धेरै कुरा मलाई यादै भएन । यतिसम्म याद छ, रत्न चलमलाइरहेका थिए । सायद उनी पानी-पानी भन्दै अन्तिम सास लिइरहेका थिए । दुस्मनलाई त्यसको के वास्ता ? निकै समयसम्म उनी छटपटाइरहेका थिए, कसैले पानी दिएनन् ।
मेरो झोलाबाट उनीहरूले सल झिके र उनको अचेत शरीर बाँधे । त्यसको केही समयपछि उनको प्राण गइहाल्यो । एक कुशल योद्धा, मेरा नेता रत्नको निधनले म झन् आत्तिएँ, स्वाभाविक रूपमा विचलित भएँ ।
गोली लागेर ढले पनि अलि-अलि होसचाहिँ थियो मलाई । शरीरभरि रगतै-रगत लतपतिएको थियो । उनकोे अन्तिम अवस्था टुलुटुलु हेर्नुबाहेक मसँग कुनै विकल्प थिएन । आखिर केही गर्न सक्ने अवस्थामै कहाँ थिएँ र ? मनमा भने दुस्मनसँग बदलाको भयानक तुफान उठिरहेको थियो । एक न एक दिन दुस्मनको यो क्रूरतालाई मुखभरिको जवाफ नफर्काइ छाड्ने छैन भन्ने अठोट गरिरहेकी थिएँ ।
साथी कल्पना भने कसरी-कसरी त्यहाँबाट उम्किन सफल भइछन् । त्यसको दुई-चार दिनपछि मात्रै उनीसित भेट भयो ।
केही समयपछाडि उनीहरू त्यहाँबाट रत्नको लास बोकेर हिँडे । मेरा दुवै हात मेरै सलले बाँधे र मलाई पनि सँगै लिएर निस्किए । बाटोमा उनीहरू मलाई प्रश्न गर्थे- तिमी फलाना कि छोरी होइनौ ? म चुपचाप रहन्थे । फेरि तिनैले अहिले तँ किन बोल्थिस् भनेर आफैँ जवाफ फर्काउँथे । उनीहरू त्यो लास इलाम पुर्याउने भनेर त्यहाँबाट हिँडेका भए पनि बाटोमा आएपछि विचार बदलिएछ क्यारे, मंगलबारे पुग्ने भनिरहेका थिए ।
दुई-तीन घन्टा हिँडेपछि इभाङकै तल खोलानजिकैको गाउँ पुगियो । बाटोमा लास राखेर उनीहरू तल घरको पर्खालनेर ओर्लिए । त्यो घर गाउँको वडाध्यक्षको हो क्यारे । उनीहरूले त्यहीँ भात खाने योजना बनाएका रहेछन् । सबैले बन्दुक राखे, ड्रेस फुकाले र खाना खाने तर्खरमा जुटे । मेरा हात खोलिएका थिए । सोचेँ- सकेदेखि उम्किने उचित मौका यही हो । नभन्दै त्यही मौका छोपेर भाग्न सफल भएँ ।
उनीहरू खानाकै तर्खरमा थिए, म खोल्साको छेउछेउ हुँदै गहिरो खोल्सा-पहरा भएर निस्किएँ । थाहा पाएपछि उनीहरूले निकैबेरसम्म मेरो पिछा गरे । केही नलागेर अन्ततः फायरिङ गर्न थाले । त्यतिन्जेल म त्यहाँबाट उम्किसकेकाले तिनीहरूले भेट्टाउन सकेनन् । चैतको सालघारीमा झरेका पात जब हावाको गतिले सर्याकसुरुक गर्थे, मेरो मुटुको गति दोब्बर हुन्थ्यो । निकैबेरसम्म लखेट्दा पनि मलाई भेट्टाउन नसकेपछि उनीहरूले जंगलमा आगो लगाए । म ज्यान जोगिने आशा मारेर सुरक्षित ठाउँको खोजीमा भौँतारिँदै थिएँ । जंगलभरि चारैतिरबाट आगो दन्किन थाल्यो । उनीहरूले हिँड्दै आगो सार्दै गरेको पनि मैले देखेँ । कतै सुरक्षित स्थान नपाएपछि कतिवेला रूखको पोथ्राको सहारा लिन्थेँ त कहिले खोल्सामा जान्थेँ । दुई घन्टापछि अलिकति सुरक्षित ठाउँ पुगेको महसुस भयो । जंगलभित्रैको खाली ठाउँ पुगेकी थिएँ, त्यहाँ भने आगोले त्यति असर नपार्ने लाग्यो । आगोको डर कम भए पनि दुस्मनले पछयाइरहेकाले असुरक्षित महसुस भइरहेको थियो । त्यो पूरै दिन इभाङको त्यही जंगलभित्र बित्यो । जंगलबीच म अलमलमा थिएँ । कुन दिशातिर जाँदा, कहाँ पुगिन्छ भन्ने केही निश्चित थिएन । खेदिएको मृगकै अवस्था थियो मेरो ।
चारैतिर आगो लगाएपछि उनीहरू निश्चिन्त भएछन्, म पक्का आगोले जलेर मरेँ । त्यसपछि उनीहरू जंगल घेरा हालेर मेरो 'लास' खोज्न थालेछन् । एकातिर आफ्नो आँखैअगाडि सहयोद्धा गुमाएको पीडा, अर्कोतिर दुस्मनको जालबाट कसरी उम्कने भन्ने चिन्ता, म शरीर र मन दुवैले लखतरान थिएँ । पहिलोपटक पुगेको त्यस ठाउँका बारेमा मलाई धेरै थाहा भएन । रत्नकै निर्देशनमा हिँडेका थियौँ हामी, तर बाटैमा निर्देशक गुमाउनुपरेको थियो । तीनरात एक्लै जंगलै-जंगल हिँडेँ । दिउँसो लुक्ने, रातभरि हिँड्ने गथेर्ँ । झुप्राले त माया गर्छ होला भन्ने लागेर एउटा घरको ढोका ढकढक्याएँ । भित्रबाट आवाज आयो- तँ त्यही भाग्ने केटी होइनस् ? पुलिसलाई खबर गरौँ कि यहाँबाट गइहाल्छेस् । म आजित भएर हिँडेँ । त्यो जंगलमा खाना त कहाँ पाउनू ? पानीले ज्यानसम्म बचायो ।
तीनरात हिँडेर ३० चैतमा पुनः त्यही घरमा पुग्न सफल भएँ । ज्योति दिदीको घर, जहाँबाट हामी ताप्लेजुङका लागि निस्केका थियौँ । ज्योतिका श्रीमान्ले त्यहाँ सधैँ पुलिस आइरहने भएकाले 'तपाईंलाई यहाँ सुरक्षा हुन्न,' भने । त्यसपछि त्यहाँबाट पनि हिँडियो । अब म एक्ली थिइनँ, त्यतिन्जेल मैले अन्य साथी पनि भेटिसकेकी थिएँ ।
उनीहरूले रत्नको लास इलाम लगेछन् । दुई-तीन दिन राखेर 'पञ्चायतको विरोध गर्नेको यस्तै हविगत हुन्छ,' भन्दै इलामबजार घुमाएछन् । केही दिनपछि लास गाडिदिएछन् । घटनाबारे उनको परिवार भने अनभिज्ञ थियो । उनको मृत्युबारे न पार्टीको पूर्वी कमान्डले खोजबिन गर्यो, न केन्द्रले नै हत्याबारे त्यति चासो दिएको पाइयो । पञ्चायती बिगबिगी भएकाले पनि त्यतिवेला यकिन तथ्य बाहिर ल्याउन सकिएन । तर, पछिल्लो समयमा अवस्था सहज भएर गए पनि त्यसतर्फ पार्टीको ध्यान पुगेको छैन ।
Ram Datta Panta
Subscribe to:
Posts (Atom)