Saturday, February 21, 2009

मैले यसरी पढें : म्याक्सिम गोकी

पुग-नपुग चौध वर्षको उमेरमा मैले पहिलोपटक होस पुर्‍याएर पढ्न जानेँ । म त्यतिखेर किताबमा भएको कथानकबाट मात्र होइन, त्यसमा चित्रण गरिएका घटनाका चाखलाग्दा विकासबाट समेत कमबेसी आकषिर्त भएको थिएँ, त्यतिखेर नै मैले किताबमा भएका वर्णनहरूको सौन्दर्यको कदर गर्न थालेको थिएँ, कथामा भएका पुरुष र नारी पात्रहरूका बारेमा गम्न थालेको थिएँ, धूमिल रूपमा लेखकका उद्देश्यका बारेमा अनुमान लगाउन थालेको थिएँ र किताबमा भनिएको र जीवनले अनुप्राणित गरेको भिन्नताका बारेमा विस्मयका साथ अनुभव गर्न थालेको थिएँ ।त्यो समय मेरा लागि कठिन समय थियो, किनभने म त्यतिखेर अशिक्षित मानिसहरूले चलाएको एउटा कारखानामा ऊन रंग्याउने काम गर्दै थिएँ । ती मानिसका लागि प्रचुर खाना आनन्दको उत्कर्ष थियो र तिनीहरूको एक मात्र सोख नाचघरमा जाँदा वा बाहिर घुमफिर गर्न निस्कँदा मानिसले सजिसजाउका साथ लुगा लगाएजसरी नै सजधज भएर चर्च जानु थियो । मेरो काम अति गाह्रो थियो र यही कारणले गर्दा मेरो मन लगभग लाटिएको हुन्थ्यो, मैले आइतबार वा बिदाका दिनमा पनि उत्तिकै क्षुद्र, अर्थहीन र निस्सार कष्टसाध्य काममा अस्तव्यस्त हुनुपथ्र्यो ।
पुस्तकांशमेरा मालिकहरू बसेको घर क्लाज्मा नदीतिरको सडक बनाउने एकजना ठेकेदारको थियो । ऊ पुड्को, मोटो, चुस्स दाह्री र खैरो रंगका आँखा भएको, सधैं रिसाइरहने, अशिष्ट, क्रूर र निष्ठुर प्रकृतिको मानिस थियो । उसका तीसजना जति कामदार थिए, ती सबै भ्लादिमिर गुबेर्निआबाट आएका किसान थिए । तिनीहरू भुइँमा सिमेन्ट लगाएको र स-साना झ्यालहरू भएको जमिनमुनिको अँध्यारो छिँडीमा बस्थे । कामले थकित भएका उनीहरू साँझपख नमीठो गन्ध भएको भित्र्याँस वा सोडाले दुर्गन्धित नुनिलो मासु मिसाएको बन्दागोबीको झोल खाइसकेपछि आफ्नो कोठाबाट बाहिर देखा पर्थे र फोहोर आँगनमा हातखुट्टा पसारेर पल्टिरहन्थे, किनभने उनीहरूको चिसो कोठाको हावा त्यहाँ बाल्ने गरिएको ठूलो चूलाको धूवाँले गर्दा विषाक्त र निस्सासिँदो थियो । ठेकेदार आफ्नो कोठाको झ्यालमा यसो देखापर्थ्यो र आफ्ना कामदारलाई हप्काउन थाल्थ्यो, 'राँडीका छोराहरू ! फेरि निस्कियौ तिमीहरू आँगनमा ? हेर न सुँगुरजस्तै जथाभावी पल्टिएका ! मेरा घरमा सम्मानित मानिस बसेका छन्, तिमीहरूजस्तालाई यहाँ बाहिर देखेर तिनले आनन्द लिन्छन् भन्ने ठानेका छौ तिमीहरूले ?'कामदारहरू कुनै वचन नलगाई आज्ञापालन गर्दै आफ्नो कोठामा र्फकन्थे । ती मानिसहरू सबै नै दुःखी र शोकाकुल थिए, तिनीहरू कहिलेकाहीँ मात्र बोल्थे, हाँस्थे र विरलै गीत गाउँथे । तिनका लुगा धूलो र हिलोले लत्पतिएका हुन्थे र ती मलाई आफ्ना इच्छाविरुद्ध जीवनको अर्काे अवधिका निम्ति यातना भोग्न फेरि ब्युँझाइएका लासजस्ता लाग्थे । ठेकेदारले भनेका ती 'सम्मानित मानिसहरूचाहिँ सैनिक अफिसर थिए । ती रक्सी धोक्थे, जुवातास खेल्थे, आफ्ना नोकरचाकरलाई नीलडाम बस्ने गरी पिट्थे र आफ्ना श्रीमतीमाथि पनि हातपात गर्थे । तिनका श्रीमतीहरू पनि भड्किला लुगा लगाउँथे, रक्सी बेस्सरी धोक्थे र अफिसरका नोकरचाकरलाई निर्ममतापूर्वक कुट्थे । यी नोकरहरू पनि असाधारण रूपले रक्सी खान्थे र आफूलाई अन्धो मद्यपानमा उडाउँथे । आइतबारका दिन ठेकेदार एउटा हातमा हिसाबको लामो बहीखाता र अर्का हातमा पेन्सिलको सानो ठुटो समातेर दलानको सिँढीमा बस्थ्यो । कामदारहरू, मगन्ते हुन् कि जस्तो गरेर एक-एक गर्दै उसका अघि खुट्टा घिसार्दै आइपुग्थे । उनीहरू झिनो स्वरमा झुकेर र टाउको कन्याउँदै बोल्थे भने ठेकेदारचाहिँ संसार नै थर्काउने गरी चिच्याउँथ्यो- 'बेसी नकरा ! एक रुबल भए जत्ति पुग्छ, के रे ? भनेको सुनिनस् ? तैँले पाउनुपर्ने भन्दा बढी पाइसकिस् ? यहाँबाट निस्किहाल् ! चाँडो गर् त ?'म के जान्दथेँ भने कामदारमध्येका केही ठेकेदारकै गाउँका थिए र कतिपय त ठेकेदारका नातेदारसमेत थिए । तर, ऊ सबैलाई उही निष्ठुर, रूखो व्यवहार गथ्र्यो । कामदारहरू पनि एकअर्काप्रति निष्ठुर र रूखा थिए, खास गरेर अफिसरका नोकरचाकरप्रति । हरेक आइतबारको भोलिपल्ट आँगनमा रक्तपातपूर्ण र खुला भिडन्त सुरु हुन्थ्यो र प्रयोग गरिएका अश्लील बोलीले वातावरण नै विषाक्त बन्दथ्यो । ज्यामीहरू कुनै कष्टप्रद कर्तव्य निर्वाह गरेजस्तो गरी विनाविद्वेष झगडा गर्दथे, पटक-पटक कुटाइ खाएर, जीउमा घाउका खाटा बसाएर उनीहरू झगडाबाट फुत्कन्थे र फोहोर लागेका औँलाले हल्लिएका दाँतहरू यसो जाँच्तै एकान्तमा आफ्ना नीलडाम र घाउहरू नियाल्थे । झैझगडा र भिडन्तका कारण छिया-छिया परेको अनुहार वा नीलडाम बसेका आँखाले कुनै किसिमको सहानुभूति पाउँदैनथ्यो । तर, कमिज फाटेर छिया-छिया भएको खण्डमा भने कुरा अर्कै हुन्थ्यो । त्यतिखेर दुःख व्यक्त गर्नु सामान्य कुरो हुन्थ्यो र नोक्सानी भोगेको कमिज धनी उद्विग्नतापूर्वक आफ्नो क्षतिमा झोक्राउँथ्यो र कहिलेकाहीँ त आँसुसमेत झार्दथ्यो । यस्ता दृश्यले ममा वर्णनसम्म गर्न नसकिने गह्रुंगा भावनाहरू उमार्दथे । म यी मानिसप्रति दुःखी थिएँ, तर म उत्साहहीन र पृथक् थिएँ । ममा कहिल्यै यस्तो कुनै मानिसप्रति सहानुभूतिका शब्द प्रकट गर्ने चाहना उत्पन्न भएन वा भिडन्तमा अत्यन्त खराब स्थितिमा पुगेको कसैलाई सहयोग गर्ने चाहना भएन । कम्तीमा पनि उसको धूलो र हिलो मिसिएर बाक्लो भएर घाउ र काटिएको ठाउँबाट बगिरहेको रगत पानीले पखालेर सहयोग गर्ने इच्छा ममा आएन । वास्तवमा, म यी मानिसलाई मन पराउँदिनथेँ, केही हदसम्म उनीहरूसँग डराउँथेँ र म पनि मेरा मालिकहरू वा अफिसरहरू, सेनाका पुरेतहरू, छिमेकको भान्से वा अफिसरका नोकरहरूले जसरी नै उनीहरूलाई ज्यापू भन्दथेँ । यी सबै मानिसहरू ज्यापूका बारेमा घृणा गरेर बोल्छन् । मानिसका लागि दुःखको अनुभूति गर्नु क्लेशकर कार्य हो । कसैले पनि कोहीप्रति माया गरेर सधैं नै आनन्द लिन मन पराउँछ । तर, मैले माया गर्न सक्ने कोही पनि थिएन । यही कारण मैले बढी नै उत्साहका साथ किताबहरूलाई मन पराएँ ।म रहेको वातावरणमा धेरै नै दुष्टतापूर्ण र असभ्य कुराहरू थिए र तिनले तीव्र विरक्तिको भावना जगाउँथे । म तिनका बारेमा यहाँ विस्तारमा केही नभनौँ, तपाईं आफै मानिसले मानिसमाथि थोपरेको अपमानजनक नारकीय जीवन र दासहरू आनन्दित हुने पीडायुक्त रुग्ण प्रेरणाका बारेमा सचेत हुनुहुन्छ । मैले यही निन्दनीय परिस्थितिमा विदेशी लेखकहरूले लेखेका राम्रा र गम्भीर प्रकृतिका किताबहरू पहिलोपटक पढ्न पाएँ । झन्डैजसो हरेक पुस्तकले मेरा सामु एउटा नयाँ र अपरिचित संसारको झ्याल खोलिदिएको र मैले यसअघि कहिल्यै थाहा नपाएका र नदेखेका मानिस, भावना, विचार र सम्बन्धका बारेमा जानकारी दिएको कुराले ममा परेको आश्चर्यको मात्रालाई सायद म पर्याप्त सुस्पष्टता र विश्वसनीयताका साथ अभिव्यक्त गर्न असमर्थ प्रमाणित हुनेछु । यस्ता किताबको पढाइबाट मलाई के पनि बोध भयो भने मेरो वरिपरिको जीवन त्यो सबै, मेरा वरिपरि घट्ने कठोर, भ्रष्ट र क्रूर घटनाहरू ती सबै वास्तविक वा आवश्यक कुरा थिएनन् । वास्तविक र आवश्यक कुराहरू त किताबमा मात्र पाइन्थ्यो, जहाँ हरेक कुरा बढी विवेकपूर्ण, सुन्दर र मानवोचित थियो । के साँचो हो भने किताबहरूले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निःकृष्ट र दुष्ट मानिसहरूको चित्रण पनि गर्दछन् । तर, अर्कातिर अरू त्यस खालका मानिसहरूसमेत हुन्छन्, जसलाई मैले कहिल्यै देखेको वा सुनेकोसम्म थिइनँ । ती त्यस्ता मानिस हुन्, जो निर्मल, सत्यनिष्ठ, दरिलो आत्मा भएका हुन्छन् र जो सत्यको विजय र सौन्दर्यको सिद्धिका निम्ति आफ्नो अमूल्य जीवन समर्पित गर्न तम्तयार हुन्छन् । ***
के साँचो हो भने किताबहरूले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निकृष्ट र दुष्ट मानिसहरूको चित्रण पनि गर्छन् । तर, अर्कातिर अरू त्यस खालका मानिसहरू समेत हुन्छन्, जसलाई मैले कहिल्यै देखेको वा सुनेको सम्म थिइनँ ।पुस्तकहरूले मेरा सामु उद्घाटित गरेको विश्वको नवीनतम र आत्मिक सम्पदाबाट सम्मोहित भएर सुरुमा मैले पुस्तकहरूलाई अझ राम्रा, बढी नै चाखलाग्दा र मानिसभन्दा पनि निकटका मानेँ । र, मलाई के लाग्छ भने म त्यतिखेर जीवनका यथार्थलाई पुस्तकहरूको काँचबाट हेर्थें र यसरी केही हदसम्म अन्धो बनेको थिएँ । तथापि, शिक्षकमध्येको सबैभन्दा बढी बुद्धिमान् र कठोरतम शिक्षक जीवनले चाँडै नै मलाई त्यो आनन्ददायी अन्धताबाट निको पार्‍यो । पुस्तकहरूले मानिसमाथि विश्वास राख्न मलाई सिकाइ नै सकेका थिए । सबै कुरामाथि विचार गर्दा वास्तविक जीवनमा जे छ, किताबहरूले त्यसकै चित्रण गर्दछन् अर्थात् पुस्तकहरू वस्तुगत यथार्थका अनुकरण हुन् र यस कारण निष्ठुर ठेकेदार वा मेरो मालिक, रक्स्याहा अफिसरहरू वा मैले चिनेजानेका अरू मानिसभन्दा एकदमै फरक असल मानिसहरूको अस्तित्व जीवनमा हुनैपर्छ भन्ने अनुभव मैले गरेँ । मैले के ख्याल गरेको छु भने जतिखेर जीवनले मलाई कठोरतम प्रहारहरू चखाएको छ, त्यस वेलामा मेरो जीवनमा आएका असंख्य ती कष्टकर दिनमा नै ममा सधैं साहस र धैर्यको भावना उर्लेको थियो र युवकहरूको र हर्कुलसको जस्तो प्रचण्ड आकांक्षा, जीवनका अजंगका फोहोरमैला सफा गर्ने तीव्र उद्वेगले मलाई ओतप्रोत बनाउँथ्यो । यो तीव्र उद्वेग अहिले पचास वर्षको उमेरमा पुग्दासमेत ममा रहिरहेकै छ र म नमरुन्जेलसम्म पनि यथावत् रहिरहनेछ । म यस गुणका लागि पुस्तकहरूको ऋणी छु । पुस्तकहरू मानवजोसका शुभ सन्देशहरू हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहनीय वेदना र सन्तापलाई प्रतिविम्बित गर्दछन् । मस्तिष्कको कविता विज्ञान र हृदयको कविताकलाप्रति म ऋणी छु ।पुस्तकहरूले निरन्तर मेरा अघि नयाँ-नयाँ मनोरम दृश्यहरू देखाइरहे । दुईवटा सचित्र पत्रिका विश्व सचित्र (भ्सेमिर्नाया इल्ल्युस्ट्रेसिया) र सचित्र रिभ्यु (ज्झिभोपिस्नोये ओबोज्रेनिए) को मेरो जीवनमा विशेष मूल्य रहेको छ । देश-विदेशका सहरहरू, मानिसहरू र घटनाहरूको तिनको वर्णनले संसारलाई मेरा सामु बढीभन्दा बढी विस्तार गरे र यो विश्व विकसित भइरहेको, विशाल, मनमोहक र महान् कार्यहरूले भरिपूर्ण भएको मैले अनुभव गरेँ । म किताब-अध्ययनको तरिकाका सम्बन्धमा थुप्रै कुरा गर्न सक्थेँ । पुस्तक अध्ययन परिचित, दिनैपिच्छे गरिने तर सबै युगका महान् मनहरू र जनतासँगको मानवको घुलन (सम्मिश्रण) को रहस्यमय प्रक्रिया हो । यसले समय-समयमा मानिसका सामु जीवनको अर्थ र जीवनमा मानिसको स्थान के हो अकस्मात् उद्घाटन गर्छ । झन्डै जादुमय सौन्दर्यले रचिएका थुप्रै यस्ता विस्मयकारी उदाहरणहरू म जान्दछु । एउटा यस्तै उदाहरण म यहाँ उल्लेख गर्न चाहन्छु । यो पुलिसको निगरानीमा अर्जामासमा म बसेको समयको कुरो हो । मेरो छिमेकी स्थानीय कृषि बोर्डको हाकिम थियो (रुसी भाषामा जेम्स्की नचाल्निक भनेको क्रान्तिअघि किसान समुदायमाथि शासन गर्ने न्यायालय र प्रशासन दुवैको अधिकार भएको अधिकारीहरूको प्रमुख) । ऊ व्यक्तिगत रूपमा मलाई कतिसम्म मन पराउँदैनथ्यो भने उसले आफ्नो घरमा काम गर्ने नोकर्नीलाई साँझ काम गर्ने समय सकिएपछि मेरो भान्सेसँग कुराकानीसम्म नगर्नू भन्ने निर्देशन दिएको थियो र मेरो निगरानी गर्न एकजना पुलिसलाई मेरो झ्यालैमुनि त्यहीँ रहनेगरी खटाएको थियो । स्वाभाविक एवम् अपरोक्ष रूपमा त्यस पुलिसले आफूलाई उचित लागेको जुनसुकै समयमा पनि मेरो कोठा चियाइरहन्थ्यो । यस कामले बजारका मानिसहरू सन्त्रस्त थिए र धेरै लामो समयसम्म तीमध्ये कसैले पनि मलाई भेटघाट र कुराकानी गर्ने आँट गरेन । एकदिन गिर्जाघर जाने बिदाको दिन- एकजना कानो मान्छे मलाई भेट्न आए । उनको एकातिरको काखीमुनि एउटा पोको थियो र त्यो बेच्नका लागि बोकेको एकजोर जुत्ता हो उनले भने । मैले जुत्ता चाहिँदैन भनेपछि अर्का कोठातिर शंकालु भएर हेर्दै अति सानो स्वरमा उनले मलाई सम्बोधन गरे । 'जुत्ता त तपाईंलाई भेट्न आउन बनाएको एउटा निहुँ मात्र हो । मैले तपाईंलाई वास्तवमा भन्न चाहेको कुरोचाहिँ के हो भने के तपाईं मलाई एउटा राम्रो किताब पढ्न दिन सक्नुहुन्छ ?'उनको एउटा आँखाको अभिव्यक्ति यति इमानदार र सुबोध थियो कि यसले मेरा सबै शंका निवारण गर्‍यो । कुन खालको किताब चाहेको हो भन्ने मेरो सवालमा उनले दिएको उत्तरले मलाई विषय ठम्याउन सजिलो बनायो । चारैतिर हेर्दै कातर स्वरमा होसियारीपूर्वक उनले भने : 'लेखक महोदय, म त्यस्तो किताब चाहन्छु, जसले मलाई जीवनको नियमका बारेमा जानकारी देओस् अर्थात् संसारको नियमका बारेमा । मैले तिनबारे अनुमान लगाउन सकिनँ । मैले जान्न चाहेको कुरो के भने व्यक्तिले जिउने तरिका कुन हो र यस्तै कुराहरू । कजानका एकजना गणितका प्राध्यापक मेरो नजिकै बस्छन् र मलाई अलि-अलि गणित सिकाउँछन् । उनी किन मलाई पढाउँछन् भने म उनका जुत्ता मर्मत गरिदिन्छु र उनको बगैँचा पनि स्यहार्छु, म माली पनि हुँ । अँ त, गणितले मैले जान्न चाहेका प्रश्नहरूको उत्तर दिँदैन र प्राध्यापक अति नै कम बोल्छन् ।' मैले 'विश्व र सामाजिक विकास' शीर्षकको ड्राइफसले लेखेको र त्यतिखेर मसँग त्यस विषयमा भएको एउटै मात्र पुस्तक उनलाई दिएँ । आफ्नो बुटको माथिल्लो भागमा होसियारीपूर्वक किताब लुकाउँदै एकआँखे मानिसले भने, 'धन्यवाद ! किताब पढिसकेपछि म तपाईंसँग कुराकानी गर्न आउन सक्छु, हैन त ? तपाईंको बगैँचाका जामुनका झाडीहरू छाँट्ने बहानामा आउँला, तपाईंलाई थाहै छ, पुलिसले तपाईंको निगरानी गर्दै छ र सामान्यतया, तपाईंकहाँ म आउनु उपयुक्त हुँदैन ।'पाँच दिनपछि उनी फेरि आए । त्यतिखेर उनीसँग चित्रा र ठूलो खालको कैँची पनि थियो । उनको फुर्तिलो हाउभाउ देखेर म एकदमै चकित भएँ । उनका आँखामा रमाइलो चहक थियो र उनको आवाज दरो र ठूलो थियो । सबभन्दा पहिले उनले खुला हत्केला सशक्त रूपले मैले दिएको पुस्तकमुनि राखे र हतार-हतारमा भने- 'यस पुस्तकको सार कुरो यस संसारमा कुनै ईश्वर छैन भन्ने होइन त ?'
पुस्तकहरू मानवजोसका शुभ सन्देशहरू हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहृ्य वेदना र सन्तापलाई प्रतिविम्बित गर्छन् ।म हतारमा निकालिएका 'निष्कर्षहरू' माथि विश्वास गर्दिनँ । त्यसैले मैले उनी त्यस 'निष्कर्ष'मा कसरी पुगेका हुन् भन्ने जान्न उनलाई सावधानीपूर्वक प्रश्नहरू राखेँ । उनले उत्सुकतापूर्वक तर शान्त रूपमा भने, 'मेरा लागि त यही नै मुख्य कुरो हो ।' धेरै मानिसले मसँग तर्क गरेजस्तै मैले तर्क गरेँ : यदि सर्वशक्तिमान् ईश्वरको अस्तित्व छ र सबै कुरो उसको इच्छाअनुसार हुन्छ भने त मैले उनकै आदेशबमोजिम नम्रतासाथ उनीमाथि आफूलाई समर्पण गर्नुपर्छ । मैले धेरै देवताका बारेमा लेखिएका किताबहरू पढेको छु- बाइबल र त्यस्ता थुप्रै धार्मिक कृतिहरू । तर, म र मेरो जीवनप्रति म आफैँ जिम्मेवार छु कि छैन यो कुरो जान्न चाहन्छु । धर्मशास्त्रहरू भन्छन् तिमी आफैं जिम्मेवार छैनौ, तिमीले ईश्वरको इच्छाअनुसार नै बाँच्नुपर्छ, किनभने विज्ञानले कहीँ कतै पुर्‍याउँदैन । यसको अर्थ खगोलशास्त्र पाखण्ड र नक्कली कुरो मात्र भयो, गणित र अरू सबै विषय पनि यस्तै हुने भयो । वास्तवमा, अन्धभक्तिका पक्षमा कोही पनि हुँदैन, के तपाईं अन्धभक्तिका पक्षमा हुनुहुन्छ ?'मैले उत्तर दिएँ- 'अहँ, म त छैन ।''त्यसो हो भने मैले चाहिँ किन यस कुरालाई मान्ने नि ? तपाईं धर्मविरोधी भएको कारणले तपाईंलाई पुलिसको निगरानीमा यहाँ पठाइएको छ । यसको अर्थ के हो भने तपाईं धार्मिक उपदेशका विरुद्ध उठ्नुभएको छ । मैले जानेअनुसार कारण के हो भने सम्पूर्ण विपक्षी मतहरू पवित्र धर्मग्रन्थका विरुद्ध निर्देशित हुनैपर्छ । आत्मसमर्पणका सम्पूर्ण नियमहरूको स्रोत धर्मशास्त्र नै हो । यसका विपरीत स्वतन्त्रताका नियमहरू सबै विज्ञानबाट निस्कन्छन् अर्थात् मानिसको मस्तिष्कबाट । म यहाँ अरू बढी तर्क गर्छु : यदि ईश्वर छ भने यसबारेमा मेरो भन्नु केही पनि छैन । तर, यदि ईश्वर छैन भने म आफैं हरेक कुराका लागि आफ्नै लागि, अरू सबै मानिसका लागि, उत्तरदायी हुन्छु । म जिम्मेवार हुन चाहन्छु गिर्जाघरका पवित्र धर्मगुरुहरूले देखाएको उदाहरणअनुसार, तर फरक तरिकाले जीवनका खराब पक्षहरूप्रति समर्पण गरेर होइन, तिनकै विरोधमा उभिएर । उनले आफ्नो हत्केला फेरि किताबमुनि राखे र झुक्तै नझुक्ने विश्वाससहित भने- 'सबै समर्पण वा सहिष्णुता खराब हो, किनभने यसले खराबीलाई बलियो बनाउँछ । मलाई क्षमा गर्नुहुनेछ, तर यो त्यस्तो किताब हो, जसमाथि म विश्वास गर्छु । मेरा निम्ति यो अनकन्टार जंगलमा बाटो देखाउनेसरह छ । मैले निश्चित गरिसकेको छु- हरेक कुराका लागि म आफैं व्यक्तिगत रूपले जिम्मेवार छु ।'राति अबेरसम्म हाम्रो मित्रतापूर्ण कुराकानी भई नै रह्यो । एउटा साधारण र सानो पुस्तकले सन्तुलनलाई उल्ट्याइदिएको मैले पाएँ, यसले ती काना मानिसको विद्रोहपूर्ण खोजीलाई तीव्र विश्वासमा, सौन्दर्य एवम् विश्वविवेकको शक्तिको उल्लासपूर्ण उपासनामा परिवर्तन गरिदियो । वास्तवमा, यी सुन्दर, बुद्धिमान् मानिसले जीवनका खराबीका विरुद्ध संघर्ष गरे र सन् १९०७ मा साहसपूर्वक आफ्नो ज्यान गुमाए । ***रूखो रैबाकोभलाई जस्तो गरेका थिए किताबहरूले, ठीक त्यस्तै मेरो कानैमा आएर अर्के जीवनको अस्तित्वका बारेमा साउती मारेका थिए । त्यो अर्का संसार अहिले म बाँचिरहेको संसारभन्दा मानिसका लागि बढी मूल्यवान् थियो । किताबले कानो जुत्तानिर्मातालाई जे गरेका थिए, ठीक त्यस्तै मलाई जीवनमा मेरो स्थान कहाँनिर छ भन्ने देखाए । मन र हृदय दुवैलाई उत्प्रेरित गरेर किताबहरूले अज्ञानता र असभ्यताको दलदलमा फँसाउने घिनलाग्दो भासबाट मुक्त हुन मलाई मद्दत गरे । मेरो संसारका सीमाहरूलाई फैलाएर पुस्तकहरूले उन्नत जीवन प्राप्त गर्न मानिसले गरेका प्रयत्नहरूको महत्ता र सौन्दर्यका बारेमा, संसारमा मानिसले कति बढी उपलब्धिहरू गरिसक्यो र त्यो प्राप्त गर्न उसले कति डरलाग्दा कष्टहरू भोग्नुपर्‍यो र कति ठूलो मूल्य तिर्नुपर्‍यो भन्ने बारेमा जानकारी गराए । मेरो आत्मामा मानिसप्रति, जो कोही नै किन नहोस्, हरेक मानिसप्रति सम्मानको भावना उर्लियो । मेरो भित्री हृदयमा मानिसको श्रमप्रति आदर र उसको अशान्त आत्माप्रति एक्कासि माया उमि्रयो । जीवन अझ सहज तथा बढी नै आनन्ददायी र नयाँ एवम् गहन अर्थले भरिपूर्ण भयो । एकआँखे जुत्तानिर्मातालाई जस्तै किताबहरूले ममा जीवनका हरेक खराबीका लागि व्यक्तिगत जिम्मेवारीबोधको भावना उत्पन्न गरे र मानवमनको सिर्जनशीलताका लागि आदरभाव जगाए । सत्यमाथिको गहन विश्वासको मेरो दृढ धारणासहित म सबैलाई भन्दछु- पुस्तकहरूलाई माया गर्नुहोस्, तिनले तपाईंको जीवनलाई अरू सहज बनाउनेछन्, तिनले विचार, आवेग र घटनाहरूको रंगीचंगी र प्रचण्ड अन्योलमा बाटो पहिल्याउन मित्रतापूर्ण सेवा प्रदान गर्नेछन्, आफू र अरू मानिसलाई सम्मान गर्न सिकाउने छन् र संसार र मानिसप्रति मन र हृदयभरि माया भरिदिनेछन् ।इमानदारीका साथ लेखिएको, मानिसहरूलाई माया गर्ने, असल आशय भएको कुनै पनि पुस्तक तपाईंको विश्वासकै प्रतिकूल छ भने पनि प्रशंसालायक हुन्छ । कुनै पनि किसिमको ज्ञान उपयोगी हुन्छ, मनका भ्रमहरू र भ्रमपूर्ण आवेग-संवेगहरूको ज्ञानसमेत उपयोगी नै हुन्छ । पुस्तकलाई माया गर्नुहोस् । पुस्तकहरू ज्ञानका स्रोत हुन्, ज्ञान लाभदायी मात्र हुन्छ र ज्ञानले मात्र तपाईंलाई आत्मिक रूपले शक्तिशाली बनाउन, इमानदार र बुद्धिमान् बनाउन, मानिसलाई सही रूपमा माया गर्ने सक्षम व्यक्ति बनाउन सक्छ । ज्ञानले नै मानवको श्रमप्रति आदरभाव जगाउँछ र अति राम्रा उपलब्धिका लागि मानिसका अनवरत र उच्च प्रयत्नहरूलाई हार्दिक रूपले प्रशंसा गर्न सिकाउँछ ।मानिसले कार्य गरेको हरेक कुरामा, अस्तित्वमा भएको कुनै पनि एक्लो वस्तुमा मानिसको आत्माको केही न केही अंश सामेल भएकै हुन्छ । यो निर्मल र उत्कृष्ट आत्मा अरू कुरामा भन्दा विज्ञान र कलामा महत्तर मात्रामा समावेश हुन्छ र यसले पुस्तकको माध्यम र कार्यबाट महानतम वाक्पटुता र स्पष्टताका साथ आफूलाई व्यक्त गर्छ ।

No comments: