Saturday, February 21, 2009

'रोगले भन्दा बेसी पिर्‍यो समाजले'

खाना परैबाट दिन्थिन् सासूले, लोग्ने त बोल्नै छाडे, अरु मान्छे पनि कम बोल्न थाले, बोल्नेहरु पनि परैबाट बोल्थे, पँधेरोमा भाँडा फालिदिन्थे, अपमानको के गन्ती, सहिसक्नु नै थिएन ।आफूलाई देख्दैमा कोही डरायो भने तपाईं कस्तो महसुस गर्नुहुन्छ ? यस्तो त सयौंपटक बेहोरेकी छु मैले । मलाई देख्नासाथ जोकोही तर्सिन्छ । मेरा बांगिएका औंला देख्नेहरू मसँग झस्कन्छन् । नयाँ पत्रिका कार्यालय छिर्दै ५३ वर्षीया मीठु सञ्जेलले भनिन्, 'कस्तो रोग रहेछ यो, जसले जिन्दगीभरि रोगीको 'ट्याग' भिराइदिँदोरहेछ ! म आफैंसँग भयातुर हुन्छु ।'
महिला वा दलित अपमानित भए भने उजुरी हाल्ने ठाउँ छ, रोगीलाई खै ?
खाना परैबाट दिन्थिन् सासूले, लोग्ने त बोल्नै छाडे, अरु मान्छे पनि कम बोल्न थाले, बोल्नेहरु पनि परैबाट बोल्थे, पँधेरोमा भाँडा फालिदिन्थे, अपमानको के गन्ती, सहिसक्नु नै थिएन ।'मान्छेका आँखामा मप्रति यति घृणा र तिरस्कार देख्छु कि आफैं अचम्ममा पर्छु, सुरुसुरुमा त निकै चिन्ता लिन्थेँ, पछि त बानी पर्दै गयो नानी !,' उनी भन्छिन् ।गोठाटार निवासी ५३ वर्षीया मीठुलाई ४० वर्षअघि कुष्ठरोगले समात्यो । निको हुनै १० वर्ष लाग्यो । अहिलेको जस्तो औषधि थिएन त्यतिवेला, औषधिको परीक्षण हुँदै छ भन्थे डाक्टर । १२ वर्षकै उमेरमा बिहे भो मीठुको । छोरीका लागि विद्यालय थिएनन् त्यतिवेला ! घरमै कखरासम्म चिनिन्, बिहेअघि दाइसँगै । 'बिहेको एक वर्षपछि खुट्टा फुट्न सुरु भयो । खुट्टा फुट्नुसम्म त त्यति ठूलो समस्या थिएन, हिलोले पनि फुट्छ । डेढ वर्ष उसै बिते । उपचारको टन्टै उठाइएन,' उनले भनिन् । 'अस्पताल पुर्‍याइदेऊ भन्ने आँट कहाँ थियो र ? यस्तो भो भन्न पनि गाह्रो ! सासूसँग डर लाग्थ्यो, श्रीमान् त्यति बोल्दैनथे,' उनले भनिन् । सासू र श्रीमान्ले सोचेछन्, 'भूतप्रेत लाग्यो कि, बोक्सीको आँखा पर्‍यो ।' झाँक्री पो बोलाए । ढ्यांग्रोको आवाज र झाँक्रीको कम्पनले घर हल्लायो, उनको खुट्टाको 'भूत' भागेन । 'खुट्टाको बेथा, नाइटोमा खरानीझैं भयो ! घरको आश रहेन । माइत पुगिन् । सोचिन्, 'आफैं डाक्टरलाई देखाउँछु ।' र, पुगिन् वीर अस्पताल । डाक्टरले टिबीको आशंका गरे र खकार जाँच्न लगाए । तर, रिपोर्ट नेगेटिभ आयो । उनी वीर अस्पताल धाउन थालेको चार दिन भइसकेको थियो । घर र्फकंदै गर्दा कोटेश्वरमा भेटिएकी एउटी दिदीले सोधिन्, 'नानी ! के भयो ? धेरै दिनदेखि बाटोमा देख्छु ।' मीठुले हाल-बेहाल बेलिबिस्तार लगाइदिइन् । केही सोचेर उनले मलाई ढाडस दिँदै भनिन्, 'नआत्तियौ, निको हुन्छ, हामी भोलि आनन्दवन जाने !' 'थुप्रो पैसा लाग्ला नि दिदी !' मीठुले सोधिन् । 'केही छैन, तिमी आऊ न !' पछि थाहा पाइन्- उनी पनि कुष्ठरोगी रहिछन् ।मेरो खुट्टो हेरेपछि आनन्दवनका डाक्टरले भने, 'यो त कुष्ठरोग हो !' म झसङ्ग भएँ । उनले देखिन्, त्यहाँ थुप्रै कुष्ठरोगी, अंगभंग भएका ! उनी त सद्दे नै थिइन् । 'त्यसैले रोगीजस्तै महसुस भएन मलाई,' उनले सुनाइन् ।केही समय माइतै बसेर औषधि गरिन् । रोग निको भएको थिएन । घर र्फकेपछि सासूले पनि थाहा पाइन् । त्यही दिन सासूले छिँडी देखाउँदै भनिन्, 'यहीँ सुत्नू अबदेखि !' त्यस क्षण उनलाई लाग्यो, 'यो रोग साँच्चै भयानक रहेछ ।' खाना परैबाट दिन्थिन् सासूले । लोग्ने त बोल्नै छाडे । गाउँलेले पनि बिस्तारै चाल पाए । खासखुस चल्न थाल्यो । कतिले त हाक्कै भनिदिए, 'पापी रै'छे यो त !' ***भर्खर १५ टेक्दै थिइन् । त्यो बालापनले सहन सकेन परिवारको टोकसो र गाउँलेको घृणा । सोचिन्, 'माइतै जान्छु ।' माइतीमा पनि कहाँ सुविस्ता ! मान्छे तिनै थिए । धेरैजसो कम बोल्न थाले । बोल्नेहरू पनि परैबाट बोल्थे । पँधेरोमा भाँडा फालिदिन्थे । 'अपमानको के गिन्ती, सही सक्नै थिएन ।एक दिन डाक्टरले दाइलाई अस्पतालमा बोलाएर भने, 'तिम्री बहिनीलाई नसर्ने कुष्ठरोग लागेको छ । तिम्रो सानो बच्चा उनले खेलाउँदा केही हुँदैन है । चाहिए कागज बनाइदिउँला ।' उनले कागज लगे र गाउँलेलाई देखाए । गाउँलेले पत्याएनन् । भने, 'यो त बिहेमा छापेको कार्डजस्तो पो छ !'गाउँलेले त मानेनन् नै, घरकै भाउजूले पनि मानिन् । एक दिन हस्पिटलबाट र्फकेर माइत के पुगेकी थिइन्, भाउजूले भाँजो हालिन्, 'गौदानै नगरी नन्द घर छिरी !' यत्ति निहुँबाट घरमा लफडा सुरु भयो । गाउँले भेला भए । भाउजूले सर्तै तेस्र्याइन्, 'यहाँ अब कि यो बस्छे, कि म ।' दाइले भने निकालिहाल्न सकेनन् । भने, 'कहाँ पठाऊँ, यसलाई मर भनौँ ?' जाने ठाउँ कहीँ थिएन अब । आनन्दवन जाँदा एउटी बेलायती दिदीलाई चिनेकी रहिछन् । उनले तुलसी मेहरसँग कुरा गरिछन् । एक दिन तुलसी मेहर माइतीसम्म मीठुलाई खोज्दै आए, आश्रम लैजान । उनलाई पनि आश्रय चाहिएको थियो । उनी आश्रम गइन् । त्यहाँ बस्ने खर्च शान्तिवन अस्पतालको सामाजिक सेवा कार्यालयले दियो दुई वर्षसम्म । त्यसपछि उनी आफंै पढाउन थालिन्, प्रौढ शिक्ष्ाा । त्यसैले आश्रमको खर्च टथ्र्याे । सिलाइबुनाइ पनि आउँथ्यो । त्यसले थप सहयोग गर्‍यो । ***एक दिन कसैले सुनायो, 'तिमीजस्तो मान्छे धर्मशास्त्र पढ ।' बागबजारको एउटा स्कुलमा धर्मशास्त्र पढाइन्थ्यो । तर, त्यो सार्वजनिक थिएन । कारण, त्यहाँ क्रिस्चियन शिक्षा पढाइन्थ्यो । पञ्चायतकाल थियो । आधारभूत शिक्षा लिन दुई वर्ष लाग्यो । त्यहाँबाट २५ रुपैयाँ मासिक पाइन्थ्यो, पकेट खर्चबापत । निस्केपछि त्यो पनि छुट्यो । आश्रममा सिलाइबुनाइ सिकेकी थिइन् । हप्तामा तीन दिन त्यही गर्न थालिन् । चार दिन चर्चलाई दिन्थिन् । त्यसबाट पनि अलिअलि पैसा आउँथ्यो । रोगीलाई अस्पतालसम्म पुर्‍याउने खर्च टथ्र्याे । धर्मशास्त्रको पढाइले सेवा-भाव त दिएको थियो नै, पछि जागिर पनि दियो वार्डेनको । पैसा आउँथ्यो । काम पनि रमाइलै थियो । सबैले सम्मान गर्थे उनलाई । तर, एक दिन जागिर दिने सरले नै चित्त दुखाए । विद्यार्थी परिचय कार्यक्रम थियो । 'यी कुष्ठरोगी पोइले छोडेकी !' म त झसंग भएँ । के भनेका होलान् है, सरले नै । उनलाई अझै थाहा छैन, त्यसो किन भने ? किनकि उनले सोधेकी छैनन् । त्यहाँ आठ वर्ष काम गरेपछि त्यही सरले बोलाएर राजीनामा मागे । पछि थाहा पाइन्, त्यसमा त विद्यार्थीको पो षड्यन्त्र रहेछ ।श्रीमान्ले दोस्रो बिहे गरे । छोराछोरी पनि छन् । तिनकी आमा मरिसकिन् । पोहोर साल दसंैमा फोन गरे, 'आउँदिनौ घर ?' उनले भनिन्, 'चुरा किन्दिए आउँला ।' श्रीमान् बोलेनन् । त्यसैले गएकी छैनन् । ***नेपालका ५० बढी जिल्ला पुगेकी छिन् मीठु, त्यो पनि सेवाकै सिलसिलामा । कुनै संस्थाको प्रतिनिधि भएर होइन, आफ्नै पैसाले । आफ्नाभन्दा हजारगुना दुःख पाएका रोगी छन् । कतिको त पूरै अंग झरिसकेको हुन्छ, ओखती नपाएर । स्वास्थ्यचौकीमा निःशुल्क औषधि हुन्छ । लैजाने र दिने मान्छे हुँदैनन् । हिमाली जिल्ला पुग्न बाँकी छन्, पहाडमा भन्दा तराईमा बढी समस्या भेटिन् उनले । 'पहाडमा रोग लागेपछि गुफा पठाउँछन्, खान त दिन्छन्, तर तराईमा त्यो पनि पाउँदैनन्, गाउँबाटै बहिस्कार गरिन्छ,' कुष्ठरोगीमाथिको असामाजिक व्यवहारबारे उनले धेरै देखेकी, भोगेकी छिन् । खोकना जान्छिन्, कहिलेकाहीँ । त्यहाँ सरकारले सन्तान भएका कुष्ठरोगीलाई राख्न आवासको व्यवस्था गरेको छ । 'तर, कतिलाई त्यहाँबाट पनि निकाल्न स्वयं छोराछोरीले दबाब दिन्छन् !,' उनले भनिन् ।आनन्दवन, लालगढ, अस्पतालमा कुष्ठरोगीको उपचार हुन्छ । त्यहाँ रोगी आउँछन् । गाउँघरमा यति अपमान हुन्छ कि र्फकन मान्दैनन् । त्यसैले उनलाई लाग्छ, रोगीमाथि हुने अपमानलाई सरकारले अपराध मानोस् । 'महिला वा दलित अपमानित भए भने उजुरी हाल्ने ठाउँ छ, रोगीलाई खै ?,' उनको प्रश्न छ ।प्रमिला देवकोटा shovabi@gmail.com

No comments: