Sunday, September 28, 2008


जीवन एक धर्को

...अचानक जगदीश घिमिरेका हिक्का छुटेका थिए । ६२ वर्षे उमेरमा उनी रोए । धेरैपछि । अन्तर्मनको यात्राको विमोचन कार्यक्रममा यत्ति धेरै शुभचिन्तक आइदिए कि उनलाई आँसु थाम्न गाह्रो पर्‍यो । मञ्चमा बसेकी उनकी जीवन-संगिनी दुर्गा घिमिरेले छल्किएका आफ्ना आँसुका थोपाहरू बिस्तारै पुछेकी थिइन् । उनले किताबमा लेखेकी पनि छिन्, 'जगदीशले यो कृति मेरा आँसुका मसीले लेखेका हुन् ।'अहिले भने जगदीश मुसुमुसु हाँस्छन् । फोन रिसिभ गरी साध्य छैन । फोटाका लागि पोज दिँदा फिस्स हाँस्छन्, 'भुँडी पनि कत्रो भाको हो ?' उनका कपिराइटका जोक्सहरू महफिलमा खुब जम्छन्, तिनै तीर्थ कोइरालाले एसएमएस पठाए, 'मदन पुरस्कार पाउनुभएकामा बधाई छ ।' भर्खरै एउटा कार्यक्रमबाट फर्किएका जगदीशले पत्याएनन् । फोन गरे, 'साँचो हो ?''हो ।'शरीरमा पक्कै पनि मीठो काउकुती झन्झनाए होला । त्यसपछि, थामी नसक्ने औँलाहरूले उनको नम्बर डायल गरे । अरूले त उनलाई फोन गरे । उनले भने पहिलो फोन कसलाई गरे ?खैरो र रातो देखिने सोफामा ढल्किएर खुब सोचे र कन्दै भने, 'कुनै निकट मित्रलाई गरे हुँला ।' दख्खिनतिरको झ्यालबाहिर मुन्टो उठाएको हरियो रूखलाई हेर्दै भने, 'रिसिभ गर्नमै व्यस्त रहेँ ।'अब अचानक व्यस्तता बढेको छ । किताबले पाँचौँ संस्करण पार गरिसकेको छ । पाठकका फोन आउँछन् । भेट्न खोज्छन् । मृत्युलाई जितेर फर्केको मानिसलाई भेट्ने रहर कसको पो नहोला र ? मानिस साठी नाघेपछि, बदलिन्छ, धेरै किताबले यस्तो भन्छन् । शैलीमा फरक आउन थाल्छ । तर, जगदीशलाई यस्तो लाग्दैन । 'कत्तिका त २३ वर्षदेखि नै मानिसको दिमागका सेल मर्न थाल्छन् । विस्मृत रोग लाग्छ,' फिस्स हाँसे, 'कसैलाई सय वर्षमा पनि लाग्दैन ।' र, पनि साठी नाघेपछि, उनको जीवन नै परिवर्तन भइदियो । 'साठी नाघेपछि नै रोग लाग्यो,' ढाडको क्यान्सर, जसलाई विज्ञानले न्वारान गरेको छ- माइलोमा । अचानक जीवनलाई हेर्न दृष्टि र सौन्दर्यशास्त्र नै बदलिदियो । 'जीवन र मृत्युको चिन्तन हुँदो रै'छ,' उनको दायाँ हात बतासमा लहरायो, 'दिनचर्या सबै परिवर्तन हुँदा रहेछन् ।'
'कति गल्तीका कारण हुन्छन्,’ मुस्कुराउँदै सुनाए, 'बहाना बनाउन नसकेको कुरामा गल्ती गरेको छु, भन्ने लाग्छ ।’ उनलाई लाग्छ, तर्कले पुष्टि गर्न नसक्ने कयौं गल्ती पनि भइदिन्छन् ।रूख-चरा-रङ-आकाश-साँझ-बिहान-कोठा सबै फरक देखिन थालेका छन् । धेरै कुरा भावुकताको रङले रंगिन थालेका छन् । अहिलेका सबै निर्णय केले हुन्छन्, दिमागले कि मनले ? 'गाह्रो छ, दुवै मिसिएका छन्,' उनलाई लाग्छ, मन र दिमाग फरक-फरक नभई मिसिएका छन्, भन्छन्, 'बरु चित्त शब्दमा सबै मिसिएको छ । चित्तवृत्ति मनको मात्र नभई दिमागको पनि मिश्रण हो ।'त्यसो भए अहिले निर्णय चित्तबाट हुन्छ ? हो भनेझैं मुस्कुराए । उनको मुस्कान भर्खरै शिर उठाएको सूर्यमुखीजस्तो लाग्छ । गहिरो भाइब्रेसनयुक्त आवाज । त्यसैले त उनी भन्छन्, 'मलाई संगीत खुब मन पर्छ, तर गुन्गुनाउँदिनँ । आवाजै गधाको जस्तो हुन्छ ।'तिलगंगा आँखा अस्पतालको एउटा कोठामा, लामो ट्राफिक जामको लाइनबाट चिटचिट पसिना काट्दै हुर्रिएर आएका उनी सोफामा ढल्किएर भन्छन्, 'मानिसलाई मन नपरेको मान्छेको सास गनाउँछ भने मन परेको मानिसको आची पनि बसाउँछ ।'जगदीशलाई लाग्छ, यो संसार रहस्यमय छ । यही रहस्यमय संसारका रहस्यमय मानिसका बारेमा उनको टिप्पणी हो । किनभने, मैले सोधिदिएको थिएँ, 'तपाईंलाई कसैले मगदीश भनिदियो भने के होला ?' किन ?'किताबमा मपाईंत्व बढी छ रे नि त !''मैले स्वाभिमान लेख्न खोजेको हुँ,' मोबाइल रिसिभ गरेपछि भने, 'त्यो कसैलाई मपाईंत्व पनि लागिदेला ।' उनले झोलाबाट झिकेको खैरो कभरवाला अन्तर्मनको यात्राको पछिल्लो पातोमा मदनमणि दीक्षितले लेखेका छन्— 'जीवनयात्राको कारुणिक तथा कलात्मक अभिलेख... प्रत्येक स्वाभिमानीले यस पुस्तकमा आफू चित्रित भएको पाउनेछ,' देखाए र भने, 'कसैले मपाईंत्व देखे, कसैले विनम्रता ।'आनन्द र पीडा, जीवन र मृत्युकै खलक हुन् । अहिले जगदीशलाई कसका कुुराले आनन्द दिन्छन् ? 'स्वास्थ्यले नै आनन्द दिन्छ,' कहिलेकाहीँ सुतेको निद्रा पनि उठिदिन्छ । उनलाई दिनभरि मानसिक अस्वस्थता हुन्छ । उनको एउटै स्लोगन छ— स्वास्थ्य छ त सबै थोक छ । पुराना दिन सम्झिँदा आनन्द आउँदैन र ?'म पुराना दिन सम्भिmन्नँ । के भयो के भयो,' अल्लि अगाडि तन्किएर, नसम्भिmनुको कारण दिन्छन्, 'कुनै मृदु छन्, कुनै कटु छन् ।' शरीरको भन्दा मनको पीडा ज्याद्रो हुँदो रै'छ । र त, मैले सोधेको हुँ नि— पीडा केले दिन्छ ?'तपाईंले गरेको पापका लागि दण्डित हुनु ठीकै हो । नगरेका कुरामा लागेको लाञ्छनाले पीडा दिन्छ ।'कति होलान्, उनलाई लागेका लाञ्छना ? जो नगरेका पाप हुन् । 'मलाई खासै छैन' भन्दै उनले सुनाए, 'पीडा दिनका लागि शत्रु र मित्र दुवै चाहिँदो रै'छ । शत्रुले भनेको कुरा मित्रले सुनाइदिन्छ ।' जगदीशले परेर जानेको कुरा हो, 'यस्तो कुरा सुनाउने मित्र पनि खराब हो ।'***लामो जागिरे जीवनको दु्रत गति बिरामी भएपछि, अस्पतालको बेडमा थिगि्रयो । सुस्तायो । र, जीवनले सार्थकता खोज्यो । भीडमा हराएको बालकले हात समाएझैं मृत्युले हात समायो । छोडिदियो । जगदीशलाई लाग्छ, 'मैले फोसामा जीवन पाएँ ।' लेखेर बाँच्छु, भनेर जमानामा काठमाडौंका गल्लीगल्ली भौँतारिएका जगदीशले यस्तो पनि अनुभव गरे, बेरोजगारी कतिको खतरनाक हुन्छ । लेखक बन्छु भन्ने सपनामा माकुराको जालो तन्किँदै गयो । र, उनलाई लाग्यो, लेखेर बाँच्न सकिन्न । नेपालमा किताब हिट हुन्छन् । लेखक हिट हुन्छ । तर, लक्ष्मीको दर्शन पाइँदैन । अहिले त्यस्तो रहेन । उनको किताब बिक्रीका हिसाबमा पनि बेस्ट सेलर रह्यो । किताब छापिएपछि, उनी नयाँ कथा, उपन्यासको हुन सक्छ, मा अल्झिए तर पाठक, उनको अन्तर्मनको सिँढी टेक्दै उनको मनको गुफामा पसे । खोजे, के-के छ, जगदीशको मनमा ? मृत्युबोध भएको मानिसको अन्तर्मन । भावुकतामाथि कयौँ लाइन लेखिएका छन् । जीवनको हिसाबकिताबमा त्यस्तो अप्ठ्यारो अंकफल निस्किएको छैन । संसारले लेखकलाई सोध्ने प्रश्न हो, तिमीले कत्तिको छल गरेका छौ, लेखक ?यो प्रश्न हिट भइसकेको किताबका लेखक जगदीश घिमिरेलाई पनि त होला । उनी त्यति तर्सिएनन्, प्रश्न पहिल्यै भेटिसकेजस्तो । भने, 'मलाई के मन लाग्छ, त्यै लेखेँ । यदि ढाँट्नैपर्ने कुरा थियो भने लेखिनँ ।'ढाँट्नुपर्ने कुरा थिए र ?'कसको हुँदैन ?' ती कत्ति लेखिँदैनन्, भन्छन्, 'नलेखेका कुराको के मूल्यांकन हुन्छ ?' जसको किताबमा विश्वप्रसिद्ध लेखक लेखिएको हुन्छ, पाउलो कोहेलोले आफ्नो उपन्यासमा लेखेका छन्- जब मेरो उपन्यास ठीकै बिकिरहेको थियो, समालोचकले राम्रो भन्थे । जब मेरो उपन्यास एक लाखभन्दा बढी बिक्री भयो । सबैले झुर भन्न थाले । जगदीशको किताब पनि त धमाधम बिकिरहेको छ । धमाधम टिप्पणी उब्जिरहेका छन्- 'तामाकोसी सेवा समितिको वाषिर्क प्रतिवेदनजस्तो,' 'आत्मप्रशंसा भरिएको,' 'म केही होइन- सबथोक हुँ । अहम् भरिएको,' किताब हो, यो । छोटो र सुल्झिएको बाक्य बोल्ने र लेख्ने उनले छोटै जवाफ दिए, 'अर्काले गर्ने कुरा आफ्नो नियन्त्रणमा हुँदैन ।' किताबले दुइटा गुणस्तरीय प्रमाण-चिन्ह पाइसकेको छ, उत्तमशान्ति पुरस्कार र मदन पुरस्कार । कुन किताब बढी लोकपि्रय मानिएला ? बढी बिक्ने कि पुरस्कार पाउने ? जगदीशसँग दुवै अप्सन छन्, भन्छन्, 'मान्छेले रुचाएमा आनन्द छ । घर, कविता, कला रुचाएर किन्नुमा आनन्द छ ।' पुरस्कारको अलग्गै अध्यायजस्तो बनिदिएको छ । 'विद्वत् मण्डलीले राम्रो छ भनेर पुरस्कृत गरेका हुन्, त्यसमा अर्को आनन्द छ,' यसरी जवाफ दिइरहेका जगदीशका अगाडि चराझैं थपक्क त्यो दिन आइपुग्छ, जुन दिन विजयकुमारले उनको अन्तर्वार्ता लिइरहेका थिए, घरको आँगनमा-एकजना मानिस आइपुगे । सोधियो, 'कसलाई खोज्नुभएको ?''जगदीश घिमिरेलाई ।' उत्तरसँगै उनले, किताबमा जगदीशले तलतिर छड्के हेरिरहेको किताबको फोटाले, चिनिसकेछन् । जगदीशले सोधे, 'कहाँबाट आउनुभएको ?''बुटवलबाट ।'ती किताबले भित्रसम्म सुम्सुम्याएका पाठक रहेछन् । पढिसकेपछि, निर्णय गरेछन्, म भेट्छु । र, आइपुगे । बुटवलदेखि । लेखकलाई त्योभन्दा ठूलो पुरस्कार के हुन सक्छ ? भावुक इमेल, एसएमएस त कत्ति हो कत्ति । जगदीश घिमिरे एट जिमेल डट कममा सयौँ इमेल जम्मा भएका छन् । खोल्यो, पढ्यो, आफू पनि भावुक भयो । किताबले जगदीश घिमिरेको एउटै सपना पूरा गरिदिएको छ । सपना देख्नुपर्छ । जब रोगले न्याक्दै थियो, उनले सोचे, किताब पूरा होला कि नहोला ? किताब छापियो, प्रेसको ताजा सुगन्धसहित हातमा थपक्क चढ्यो । बाख्राको सानो पाठोझैं मनतातो ।एकजना भावुक पाठकले पत्रिकामा, रसियन उपन्यासकार निकोलाई आस्त्रोभ्स्कीसँग तुलना गरिदिएका थिए । जगदीश यस प्रशंसालाई लेखकको संघर्ष उस्तैउस्तै भएकाले भनिएको अन्दाज गर्छन् । निकोलाई नेत्रविहीन थिए । बलजफ्ती अक्षरको कठालो समाएर घिच्याउँदै ल्याए, त्यस्तै शय्याबाट जगदीशले पनि शब्दहरूको कठालो समाएका थिए, अब तिमीहरूले मेरो साथ दिनैपर्छ ।'यो किताब पूरा नगरी म मर्दिनँ,' उनी बढी भावुक हुँदा यस्तो सोच्थे । किताबले मर्न दिएन । बरु एकजना पुराना साथी भेट्टाइदियो- उही मनु ब्राजाकी । 'के आत्मालाप गर्दा व्यक्ति तटस्थ हुन सक्छ ? त्यो चमत्कार जगदीशको लेखकीय क्षमताले उसमा देखाएको छ,' मनुले यत्ति मात्र लेखेनन्, जगदीशको नम्बर डायल गरे । अनि... जगदीश भेट्न गए ।दस वर्षपछि, पुराना दुई मित्र एकैसाथ चिया पिइरहेका थिए । ***जीवनमा कति यस्ता दुर्घटना हुन्छन्, जो उपन्यासमा पनि वर्णन गर्न सकिँदैन । उपन्यासभन्दा गाह्रो छ, जीवन । जगदीश आफ्ना जीवनका ती क्षणहरू, जसले रुवाए, हँसाए, लाई उपन्यास बनाउन चाहन्थे । आखिर लेखियो, आत्मालाप । एउटा क्लिकले कविता, कथा, उपन्यास र आत्मालाप लेखाउँदो रै'छ । र त, भन्छन्— 'म बिरामी नभएको भए लेख्दिनथेँ ।' रोगले लेखायो । रोगलाई धन्यवाद दिनू कि नदिनू ? संकट यहीँनेर छ । गरिबको कथा लेख्नेजति प्रगतिशील र खान पुग्नेको कथा लेख्ने, अप्रगतिशील । यस्तो पनि कहीँ हुन्छ ? जगदीशले गर्ने प्रश्न यही हो । भन्छन्, 'त्यो गलत हो ।' कुनै जमानामा माक्र्सवादका हरफहरूमा हिँड्दाहिँड्दै उनले साबिती उपन्यास लेखे । भन्नेले भनिदिए, 'यो त प्रकृतिवादी भयो ।' त्यसपछि त उनी उपन्यासका च्याप्टरबाट बाहिर निस्किसकेका थिए ।
'म पुराना दिन सम्झिनँ। के भयो के भयो,’ अल्लि अगाडि तन्किएर, नसम्झिनुको कारण दिन्छन्, 'कुनै मृदु छन्, कुनै कटु छन् ।’उनका डाक्टर डा. सुरापोलले उनको अवधि तोकिदिएका छन्, 'भन्न सकिन्न, जति पनि हुनसक्छ, तीन, पाँच, दस वर्ष... ।' कोही पनि अजम्बरी हुन्न । भगवान् पनि नयाँ-नयाँ मानिसको आयु बाँच्छन् । एक दिन आत्मा कुटिरो पारेर हिँड्नु छ । र पनि, एउटा प्रश्न छ, निर्मल बर्माले सोधेजस्तो, 'मरेको मान्छेको दुःख कहाँ जान्छ ?' यो शरीर के हो ? आत्मा के हो ? मानिस के हो ? र, मृत्यु के हो ? अल्पज्ञानी म यस्तो सोच्दासोच्दै बहुलाउन सक्छु । त्यसैले जगदीशलाई सोधे क्यै हुन्छ कि ?उनका दिमागमा स्वाध्ययनका ठेली छन् । फुकाउन मात्र पर्छ, सबै उत्तर पाइन्छ, म यस्तो सोच्छु, तर, जगदीश यस्तो सोच्दैनन्, मुस्कुराउँछन् र दुई बुँदा टिपाउँछन्-विज्ञान भन्छ- मृत्यु रूपान्तरण हो । मृत्युपछि सेलहरू माटो हुन्छन् । इलिमेन्टस्हरू बिलाउँछन् । शास्त्र भन्छ- कर्मअनुसारको भोग गर्नुभयो । अब पुग्यो । यत्ति भनेर सुनाए, 'म लेख्दा मिलाएर लेख्न सक्छु । बोल्दा त्यति मिल्दैन ।'मृत्युपश्चात् आत्मा उड्छ, माथि । धार्मिक पोस्टरमा देखाएजस्तो आत्माले उडेर ती चक्रहरू पार गर्दै जान्छ, रातो, नीलो, पहेँलो, र सबैभन्दा माथि एउटा लाम्चो टिकुली आकारको विन्दु छ, त्यहाँ पुग्छ, त्यो आत्मा र परमात्माको मिलन हो रे ! अनि स्वर्ग र नर्कको जञ्जाल । 'सबै गफ हो,' जगदीशको आवाज मोटो हुन्छ, 'मलाई पटक्कै विश्वास छैन ।' जति पनि रहस्य भरिएका प्रश्न छन्, त्यसभन्दा ठूलो रहस्य यही संसार हो । मृत्युपश्चात् के हुन्छ ? एउटा रहस्यको पिरामिड हो । दैलो र झ्याल नभएको । आइन्स्टाइनको बोलीमा लोली मिलाउँछन्, 'यही जीवनमा नै कयौँ रहस्य छन् ।'पात-बालवाको एक कण-बतास-सुर्जे-घाम-कमिला सबै रहस्यले भरिएका छन्-उनलाई यस्तो लाग्छ । त्यसैकारण उनी भन्छन्, 'मानिसभन्दा बाह्य अर्को शक्ति छ ।' त्यो के हो ? सबैभन्दा ठूलो रहस्य त्यही हो । यी रहस्य कहिल्यै सुल्भि“mदैनन्, जसरी पछाडि छोडेर आएका अतीतका बाटाहरू । अचानक मृत्युबोध प्राप्त गरेका जगदीशको चित्तदुःखाइ एउटै छ, 'मैले मेरो स्वास्थ्यमा लगानी गरेको थिएँ । साठीमै यस्तो नहुनुपर्ने हो ।' स्वास्थ्यको मामलामा उनी सजग थिए । तर, जीवनमा अरू यस्ता कयौँ क्षण हुन्छन् । जसमा गल्ती भइदिन्छ । उनका जीवनमा कति गल्ती भए होलान् ? 'कति गल्तीका कारण हुन्छन्,' मुस्कुराउँदै सुनाए, 'बहाना बनाउन नसकेको कुरामा गल्ती गरेको छु, भन्ने लाग्छ ।' उनलाई लाग्छ, तर्कले पुष्टि गर्न नसक्ने कयौँ गल्ती पनि भइदिन्छन् । बेलायत र काठमान्डूका सडकमा मोटर हाँक्दा मृत्युको बतासले कान छोएर गएको छ । त्यसबेला लागेको छ, 'जीवनका मोडमा कयौँ गल्ती भएका छन् ।' ती त आङ नै सिरिंग पार्ने गल्ती भए । मीठा गल्ती पनि त भएका होलान् ?अल्मलिए । मैले सरल वाक्यमा सीधै भनेँ, 'प्रेमको मीठो गल्ती ।''खोइ भएन ।' अब फेरि हाँसे, 'ती कविताका भावुकताका कुरा भए ।'अहिले जगदीश घिमिरेको नाउँले धेरैलाई कायल बनाइसकेको छ । एउटा नाम, ईष्र्यालाग्दो । पि्रय । के स्वयंमा उनी नामजति छन् कि छैनन् ? एकछिन गम्भीर भए, र भने, 'मान्छेहरूले मेरा बारेमा के भन्छन्, मलाई त्यति थाहा छैन ।' उनलाई यो पनि थाहा छैन रे, जगदीश घिमिरे कत्ति ठूलो नाम हो ?मृत्युले अलिकति दाग लगाएर गएका जगदीशलाई सबैभन्दा दुःख लागेको मृत्यु कसको थियो ? 'यो त सोचेकै थिइनँ ।' भन्दै एकछिन सोचेर सुनाए-तीस सालतिर नौबिसेको सडकमा एउटी सानी बच्ची आइपुगिन् । जगदीश पछिल्लो ट्रकमा थिए । अघिल्लो ट्रकका पांग्राले एउटा फूल कुल्चियो । गिदी उछिट्टियो । त्यस दिन जगदीशलाई केही खान मन लागेन । अकाल मृत्युले उनलाई धेरै समयसम्म भावुक बनायो । डसिरह्यो । अहिले उनलाई लाग्छ, 'जीवनलाई अध्ययन गर्ने मान्छेले नै मृत्युलाई बुझ्दा रै'छन् ।' सातवटा रङको चक्र, पंखाझैं, बेस्मारी फनफनी रिङ्दा सबै रंग मिसिएर सेतो बन्दा रै'छन् । सानो छँदा विज्ञानको कक्षामा सिकेको कुराले अहिले नयाँ अर्थ पाएको छ, 'मृत्यु र जीवनका रङ पनि अलग-अलग हुँदा रै'छन् । ती दुवैले बनेको रङ भने एउटै हुँदो रै'छ ।' चेतना भया । 'मेरो खरानी मेरा पुर्खाको थलो, मेरा स्वजन माझी, मझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोर सफा दोभानमा बगाइदेऊ । यो मेरो भावनाले भनेको हो । तर्क भन्छ, खरानी छरेर तामाकोसीको पानी नधमिल्याऊ । मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए हुन्छ ।' यो उनको किताबको अन्तिम अनुच्छेद हो । 'यो इच्छापत्र हो,' अहिले उनलाई लाग्छ, 'सन्तानले पूरा गर्लान् ।'कवयित्री विश्वास सिम्र्बोस्काको कविताले भन्छ-जीवन जति लामो भए पनिविवरण छोटै हुन्छ लामो जीवनको बाटामा थकाइ मार्दै-मार्दै यहाँसम्म आइपुगेका जगदीशलाई लाग्छ, जीवन भनकै एक धर्को हो । फोटोमुन्तिर लेखिएको, जन्म २००४- मृत्यु २००५ जस्तो । चार र पाँचबीचको मसिनो धर्सोजस्तो । छोटो । सानो । कहिल्यै पार गर्न नसकिने रहस्यले भरिएको मायावी धर्सो । जीवन एक धर्सो ।

No comments: