Tuesday, February 2, 2010

झन्डै हामफाले देवकोटा



राजनीतिक दिनचर्याबाट लेखकीय दिनचर्यामा ढलिरहेका छन् कांग्रेस नेता रामहरि जोशी अचेल । पेप्सीकोलास्थित भतिजाको घरमा बसेर अधिकांश समय लेखनमा बिताइरहेका यिनी के लेख्दै छन् ?

'आत्मकथा', जोशीले भने, 'जीवनका सकारात्मक र नकारात्मक अनुभूतिलाई अक्षरमा उधिन्दै छु ।'

जोशीसित गैरराजनीतिक गफ गर्ने मनसायले पुगेको थिएँ । तथापि, सुरुवात राजनीतिबाटै भयो । आजकाल राजनीतिमा किन सक्रिय हुनुहुन्न ? भन्ने पहिलो प्रश्न गर्दै रेकर्डर तेस्र्याएपछि उनीबाट झन्डै चालीस मिनेट लामो, लगभग पटयारिलो जवाफ प्राप्त भयो । उफ् ! पहिलो प्रश्नको उत्तरमै रेकर्डरको ब्याट्री सिद्धियो र हातले दुःख पायो ।

८५ वर्षको उमेरमा पनि निकै जोशिला (थरै जोशी भएर हो कि ?) देखिने जोशीलाई अरूले निष्त्रिय भनेको मन पर्दोरहेनछ । आफू निष्त्रिय नभएको पुष्टि गर्न उनले तर्कका बिस्कुन लगाए । उनका तर्कको निष्कर्ष थियो- दिनहुँ पार्टी कार्यालय धाउनु, ठूला नेताका पछि दगुर्नु मात्रै सक्रियता होइन । सक्रियता परिणाममुखी र अर्थपूर्ण हुनुपर्छ । त्यस रूपमा म अझै सक्रिय छु ।

सर्लाहीको मलंगवामा १९८२ सालमा जन्मेका हुन् रामहरि जोशी । खातापिता परिवार थियो उनको । बाबु जमिनदार भए पनि शिक्षाप्रेमी थिए । त्यतिवेला औपचारिक स्कुल थिएन । बाबुले घरमै केटाकेटीलाई बटुलेर पढाउँथे र उनले पनि प्राथमिकस्तरीय पढाइ घरमै पूरा गरे । एकैचोटि कक्षा ६ मा सितामडीमा भर्ना भए । सधैँ फस्र्ट हुन्थे । एसएलसी भने भारतको मुजपफरपुरबाट गरे । अनि वनारस गए क्याम्पस पढ्न । वनारसबाट आइएस्सी गरेपछि बिएस्सी पढ्न कलकत्ता पुगे ।

कलकत्तामा उनको भेट भयो महाकवि लक्ष्मीप्रसाद देवकोटासित । देवकोटाको 'इन्ट्री' पछि हाम्रो वार्तालापमा एकाएक रौनक आयो र बन्न पुग्यो देवकोटा-संवाद । महाकविसितको रोचक तिलाई जोशीले यसरी सम्झेः

२००४ सालतिर कलकत्तामा रहेका नेपाली विद्यार्थीहरू मिलेर हिमाञ्चल छात्र संघको स्थापना गरेका थियौँ । म साहित्यतर्फ झुकाव राख्ने हुनाले संघमा 'साहित्यमन्त्री' बनाइएँ । साहित्यिक क्षेत्रका गतिविधि अघि बढाउने जिम्मेवारी मेरो थियो ।

त्यतिवेला नेपालमा लक्ष्मीप्रसाद देवकोटा प्रख्यात भइसकेका थिए । साहित्यमन्त्रीका रूपमा मैले देवकोटालाई भारतमा बोलाएर अभिनन्दन गर्ने प्रस्ताव संघमा राखे, साथीहरूले स्वीकार गरे । देवकोटालाई कलकत्ता झिकाइयो र हामी बस्ने गरेको डेरामा राख्यौँ । त्यसअघि मैले उहाँलाई कहिल्यै भेटेको थिइनँ । उहाँसितको पहिलो संगत नै अविस्मरणीय भइदियो ।

देवकोटाको छोराको देहान्त भएको धेरै भएको थिएन । त्यसैले होला, उनी मानसिक रूपमा अलि विक्षिप्त देखिन्थे । बोली र व्यवहारमा केही असामान्यपना झल्किन्थ्यो ।

एकोहोरो, सधै केही सोचिरहेजस्तो, वेलावेला आँखा झिमझिम पार्ने, तर वेलावेलामा अप्रत्यासित रूपले ठट्टामा उत्रिने उहाँको व्यवहार मैले बुझ्न सकिरहेको थिइनँ ।

गुरुजी (देवकोटा) आएको पहिलो रात । बेतले बुनेको ठूलो पलङमा हामी चार-पाँचजना सुतेका थियौँ । त्यस्तै १२-१ बजेको हुँदो हो, कोठामा कल्याङमल्याङ सुनेर ब्युझिएँ । तन्केर यसो हेरेको त गुरुजी झयालमा उक्लेर मुन्तिर हामफाल्न हामफाल्न खोजिरहेझैँ देखेँ । डा. ईश्वर बराल र नारायणप्रसाद भट्टराई (कृष्णप्रसाद भट्टराईका दाजु) उहाँलाई समातेर तल तानिरहेका थिए । गुरुज्यू खाइलाग्दो ज्यानका, निकै बलियो देखिनुहुन्थ्यो । बल्लतल्ल झारँे । गुरुले खुइऽऽ... गर्नुभयो । सबैले अत्तालिएर के भो, के भो भन्दै सोधे । गुरुले मसिनो स्वरले भन्नुभयो, 'आइ वान्ट टु डाई (म मर्न चाहन्छु ।) फेरि दुवै हातले पुर्पुरोमा समाउनुभयो र भन्नुभयो, 'आइ वान्ट टु सी गड ! (म ईश्वर भेट्न चाहन्छु ।)

भोलिपल्ट गुरुजीका ज्वाइं भेट्न आएका थिए । ज्वाईंलाई ढोग्दा गुरुले आँखाबाट आँसु खसालेर घुँक्क-घुँक्क गरेको मैले देखेँ । ज्वाईं भन्दै थिए, 'हजुर जहिले पनि यस्तै गर्नुहुन्छ ।'

गुरु बर्बराउनुभयो- मैले छोरालाई औषधि पनि खुवाउन सकिनँ ।

म स्तब्ध भएर सुनिरहेँ । छोराको उपचार गर्न नसकेको पीडाले उहाँलाई पोलिरहेको रहेछ ।

गुरुको व्यवहारबाट म निकै डराएँ । उहाँलाई एक्लै छाड्न नहुने रहेछ । आफैँले बोलाएर ल्याएको पाहुना, केही गडबड भयो भने के गर्ने ?


***




हाम्रो कोठाको शौचालयमा कमोड अलि 'धराप' थियो । नट खुकुलो भएकाले वेलावेलामा खस्थ्यो । गुरुलाई भन्न बिर्सिएछौँ । उहाँ बाथरुम पस्नुभएको थियो । त्यहीवेला भित्रबाट डयाम्म आवाज आयो । गुरु पछारिनुभएछ । दिसा बस्दा कुर्सीमा जसरी थचक्क बस्नुपर्नेमा गुरु कमोडमाथि दुई खुट्टा टेकेर टुक्रुक्क बस्नुभएको रहेछ । अनि कमोड खुस्केर लड्नुभएछ ।

अर्को दिनको कुरा । हाम्रो कोठामा ठूलो ऐना थियो । गुरु ऐना हेरिरहनुभएको थियो । मैले गुरु ऐना हेरेर डन्डिफोर निचोरिरहनुभएको देखेँ । एकछिनपछि निचोरेको ठाउँमा आइमाईले लगाउनेजस्तो पाउडर दल्नुभयो । अनि अंग्रेजीमा बर्बराउनुभयो, 'डु आइ लुक अ ब्युटिफुल डाउन ? (के म अलि कमजोर देखिन्छु ?)

मैले पछाडिबाट जवाफ दिएँ, 'आइ डन्ट नो, आइ हयाभ नेभर सिन यु बिफोर । -मलाई थाहा छैन, मैले तपाईंलाई पहिले देखेको थिइन ।'

उहाँले मेरो जवाफमा केही प्रतिक्रिया जनाउनुभएन । एकछिनपछि आफ्नै सुरमा फेरि बोल्नुभयो, 'आइ वान्ट टु चिउ बेटल इन दि माउथ (म पान चपाउन चाहन्छु ।)

गुरुजी चुरोट र पान खुब खानुहुन्थ्यो । हाम्रो कोठामा करिब १०-१२ दिन बस्दा उहाँलाई चुरोट त धान्नै नसक्ने भयौँ । एकबट्टा चुरोट केहीबेरमै 'सखाप' पारिदिनुहुन्थ्यो । हाम्रो डेरानजिकै बस्ने गणेशमान सिंह पनि वेलावेलामा गुरुजीलाई भेट्न हाम्रो कोठामा आइरहनुहुन्थ्यो । देवकोटालाई चुरोट खुवाउन नसकिने भएपछि गणेशमानजीले बिँडी किनेर दिन थाल्नुभो । बिँडी पनि कति खाने कति । किनेर दिएको एकछिनमै सक्नुहुन्थ्यो र बच्चाले झैँ डराइडराई माग्नुहुन्थ्यो, 'एउटा बिँडी पाउँ न हजुर ।'


***




हामी गुरुलाई खाना-नास्ता गराउन नजिकैको होटलमा लिएर जान्थ्यौँ । उहाँ मासुको असाध्य पारखी हुनुहुँदोरहेछ । अनि कस्तो एकोहोरो स्वभाव भने खाना खाँदा मासु खान थालेपछि अरू केही नछुने । दालभात खान पनि बिर्सिने । हामी सम्झाउँथ्यौँ, 'गुरुजी, दालभात पनि लिनु न ।' ए हो त है भन्दै खान थाल्नुहुन्थ्यो ।


***




हामीले अभिनन्दन कार्यक्रमका लागि गुरुलाई नेपालबाट निम्त्याएका थियौँ । त्यसै अवसरमा गुरुले केही कविता पाठ गर्ने पनि कार्यक्रम थियो । तर, उहाँले कुनै कविता ल्याउनुभएको थिएन । हामीले उहाँलाई कविता लेख्न आग्रह गर्‍यौँ । तर, कुनै चासो दिनुभएन । कविता लेख्न भनेर कागज कलममात्र होइन, पान र चुरोट पनि उहाँको अगाडि राखिदिन्थ्यौँ । डिस्टर्ब होला भनेर कतिचोटि त बाहिरबाट लक गरेर हामी निस्कियौँ । फर्केर आउँदा पान र चुरोट रित्तिएको हुन्थ्यो, कविताको त 'क' पनि छैन । बरु कापीमा जथाभावी चित्र बनाएर बस्नुभएको हुन्थ्यो । किन नलेख्नुभएको भनी सोध्दा टिठलाग्दो गरी भन्नुहुन्थ्यो, 'मलाई लेख्नै आउँदैन ।'

हामी चिन्तित भयौँ । गुरुको कविता पाठ नहँुदा कार्यक्रम खल्लो हुने भो । तर, हामी सबै नराम्रोसित जिल्लियौँ । अभिनन्दन कार्यक्रममा जब गुरुजीलाई मञ्चमा बोलाइयो, उहाँले एक घन्टासम्म धाराप्रवाह अंग्रेजीमा प्रवचनमात्र दिनुभएन, रौँ ठाडा हुनेगरी एकसेएक कविता पनि सुनाउनुभयो । उहाँले बोल्न थाल्नेबित्तिकै एकाएक 'पिन ड्रप साइलेन्स' । एक घन्टा बोलिसक्दा पनि रोकिने छाँटकाँट नल्याएपछि उहाँलाई पछाडिबाट कमिजमा तान्नुपरेको थियो । आफ्नो प्रवचनका क्रममा उहाँले सुनाउनुभएका कविताका छिटपुट अंश मलाई अहिले पनि याद छ । झन्झावीरका केही पंक्तिः

सानो हलुका लाटो भुत्ला

मान्छे खै ए मान्छे खै

तर्सी भनोस् सानो दुनियाँ

आयो ऊ भीमसेन है भीमसेन है

बाघले आफ्नै बच्चा किन खान्छ ? भन्ने शीर्षकमा उहाँले अर्को कविता सुनाउनुभएको थियो । बच्चा कमजोर भयो भने बाघले आफ्नै बच्चा खान्छ भन्ने कुरा कवितामा थियो ।

बाघले बघिनीलाई भन्छ-

ए बघिनी ए बघिनी

के यही हो तेरो बच्चो ?

कति कलिलो कति फुच्चो

सहन नसक्ने स्यालको एक घुच्चो

उहाँले नेपालीमा पाठ गरेका सबै कविता तुरुन्ता-तुरुन्तै अंग्रेजीमा अनुवाद गरेर लयात्मक पारामै सुनाइदिनुभयो । हामी गद्गद् भयौँ । त्यतिमात्र होइन, उहाँले त्यहाँ तामाङसेलो पनि गाउनुभयो । जब उहाँले तामाङसेलोलाई पनि तत्कालै अंग्रेजीमा उल्था गरेर उस्तै पाराले गाइदिनुभयो, सबै जिल्लिए ।

आफ्नो विलक्षण सिर्जनशीलता देखाउने क्रममा उहाँले 'पाषाणकालको कविता' पनि सुनाइदिनुभयो । गुरुजीले भन्नुभयो, 'पाषाणकाल, जतिवेला भाषाको विकासै भएको थिएन त्यतिवेला पनि कविता भनिन्थे ।' ∕, उहाँले कवितात्मक पारामा केही गुन्गुनाउनुभयो, जसमा केवल आवाज र लय थियो, कुनै भाषा थिएन । परन्तु ती साँच्चिकै गहन अर्थ बोकेका कविताझैँ लाग्थे । सुनेर सबै ट्वाँ परे ।

आफ्नो एक घन्टा लामो प्रवचनका क्रममा देवकोटाले विश्वभर भाषिक एकरूपता हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, 'विश्वको एउटै भाषा हुनुपर्छ । जो सबैले बुझ्न सकून् ।'


***




म गुरुजीलाई विभिन्न मानिससित भेट गराउन कहिलेकाहीँ होस्टेलमा लैजान्थेँ । एक दिन होस्टलबाट फर्किँदा तल सडकमा गोली चल्यो । गोलीको आवाजपछि भागदौड मच्चिन थाल्यो । म गुरुलाई पछि लगाएर डराइडराई हिँड्दै थिएँ । विचित्र स्वभावका गुरुजी हुलदंगामा पर्लान् भन्ने डर थियो । मानिसहरू यताबाट उता दौडादौड गरिरहेका थिए । एकछिनपछि पछाडि हेर्छु त गुरु हुनुहुन्न । यता पनि हुनुहुन्न, उता पनि हुनुहुन्न । म तर्सेँ । लौन ∕ कहाँ जानुभयो ? पुलिसले समातेर लग्यो कि भीडभाडमा



किचिनुभयो ? यताउति खोजेँ, तर भेटिनुभएन । दौडिँदै होस्टेल फर्केँ । होस्टलमाथि उक्लिन्छु त गुरु पहिल्यै हस्याङफस्याङ गर्दै होस्टेलमा पुगिसक्नुभएको । बल्ल राहतको सास फेरेँ ।



'के हो, आइ वान्ट टु डाइ भन्ने मान्छे त गोलीको आवाज सुन्नासाथ मलाई एक्लै छाडेर टाप कस्ने ?,' भन्दै मैले गिज्याउँदा गुरुजीले कुनै प्रतिक्रिया दिनुभएन ।


***




कलकत्तामा गुरुजीको ख्याति फैलिँदै गएपछि एकपटक अलइन्डिया रेडियोमा कविता पाठका लागि आमन्त्रण आयो । भारतका नामी कविहरू त्यहाँ निम्त्याइएका थिए । कोठाबाट निस्किँदा हामीले उहाँलाई धोती, कुर्ता र ऊनीको पछयौरा लगाइदिएका थियाँै । तर, उहाँ यति बेफिक्री कि बाटो हिँड्दा पछाडि धोतीको फुर्को खसेर भुइँमा लत्रिरहेको हुन्थ्यो, उहाँलाई मतलब थिएन । हामीले समातेर घुसारिदिनुपथ्र्यो ।

मैले उहाँलाई लिफ्ट चढाएर माथि कार्यक्रमस्थल लगेँ । कार्यक्रम सुरु हुनुअघि कसैले पानको प्लेट बोकेर उहाँ अगाडि राखिदियो। एकछिनमा अर्को आयो कागज र कलम बोकेर ।

गुरुजीले सोध्नुभयो, 'यो के हो ?'

उसले भन्यो, 'कविताको पारिश्रमिकका लागि । फर्मालिटी हो, हस्ताक्षर गरिदिनूस् ।'

गुरुजी एकाएक क्रोधित बन्नुभयो । राता आँखा पार्दै उहाँले भन्नुभयो, 'हाउ मच यु पे टु योर टैगोर ?' -तिमीहरू रवीन्द्रनाथ टैगोरलाई कति तिर्छौ ?'

त्यो व्यक्ति जिल्ल पर्दै भन्यो, 'आइ एम सरी ।'

र, गुरुजी शान्त हुनुभएन । उहाँले मेरो हात समातेर तान्दै भन्नुभयो, 'जोशीजी नबसौँ जाउ"m ।' ऊ अत्तालिएर सरीसरी भन्दै थियो । हामी फटाफट लिफ्ट ओर्लियौँ ।


***




गुरुजीको 'सेन्स अफ हयुमर' पनि निकै कडा रहेछ । प्रायः शान्त, स्थिर र सोचमग्न देखिने उहाँ मुड चल्दा अरूलाई हँसाउन उत्तिकै खप्पिस हुनुहुन्थ्यो । आफू नहाँसी अरूलाई हँसाउनुहुन्थ्यो । भाषाको प्रसंगमा एक दिन उहाँले भन्नुभएको कुरा सम्भ"mदा म अहिले पनि हाँसो थाम्न सक्दिनँ । उहाँले भन्नुभएको थियो, 'नेपाली भाषालाई अंग्रेजीजस्तो लचकदार छैन ।' यस्तो तर्क दिनुभयोः अंग्रेजीमा नाउन (संज्ञा) लाई नै भर्ब (क्रिया) का रूपमा ढाल्न सकिन्छ । जस्तै स्नो क्याप्ड, सुगरकोटेड आदि । तर, नेपालीमा हिउँको टोपी लगाएको भन्न मिल्दैन । न त चिनीको कोट लगाएको नै भन्न सकिन्छ ।

ठट्टामै उहाँले नेपाली भाषालाई पनि अंग्रेजीजसरी नै लचकदार बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'आज त कोट लगाएर आउनुभएछ नि किन भन्ने ? आज त कोटिएर आउनुभएछ नि भन्दा हुँदैन ? जुँगा मुसार्नु भन्नुको साटो जुंगिनु भन्न सकिन्छ । अनि जुत्ता लगाउनु भन्नै पर्दैन, जुत्तिनु भन्दा हुन्छ । जस्तैः जुत्तिएर कतातिर हो ?


***






यो २००८ सालतिरको घटना हो। म काठमाडौंमा गणेशमानजीकहाँ बस्थेँ । एक दिन म गणेशमानजीको गाडी लिएर देवकोटाको घर गएँ । घरको अवस्था दयनीय थियो । गुरुजीको लवाइ (मोजा खुकुलो भएर सतरंजाको धागोले बान्नुभएको थियो) ले उहाँ पूर्वमन्त्री हो भनेर पत्याउन मुस्किल पथ्र्यो । गुरुजीले आज यतै खाउ भनेर भान्सामा लिएर जानुभयो । गुरुआमा जातभात र छुवाछूतमा निकै कट्टर हुनुहुँदोरहेछ । एकापट्टि गुरुजी र अर्कोपट्टि म बस्यौँ । गुरुजी श्रीमतीसित निकै डराउनुहुँदोरहेछ क्यारे । मुखले त केही भन्नुभएन, मतिर हेरेर आँखा सन्काउनुभयो । तर, मैले केही मेसो पाइनँ । खाना खाएर फर्केँ । धेरै दिनपछि पो म झस्केँ जब गुरुजीले मलाई सुनाउनुभयो, 'रामहरिजी, त्यो दिन मेरी श्रीमतीले भातै खाइन ।'