Thursday, August 6, 2009

एउटा युग, एउटा इतिहास



अशेष मल्ल

अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो '३० को प्रारम्भिक वर्ष । भूपीका विद्राेही कविताहरू, सरल र सम्प्रेषणीय कविताको एउटा धार अनि मोहन कोइराला प्रवृत्तिको अर्को धार । '३० को प्रारम्भिक वर्ष जब हामी युवा कविहरू कवितामा सक्रिय हुन खोजिरहेका थियौँ, हामीलाई भूपीको धारले छोयो । तत्कालीन पञ्चायती प्रणालीले उब्याएको विद्रोही भाव, केवल त्यही असन्तोष, पीडा र सकसले निम्त्याएका अनुभूतिहरू कविताका विषय हुन्थे । अमूर्त प्रस्तुतिभन्दा अलि भिन्नै हाम्रा कविताका प्रस्तुतिहरूले हामीलाई ह्वात्तै परििचत गरायो तत्कालीन साहित्यिक माहोलमा । लगातारको साहित्यिक जमघटले लाग्थ्यो, एउटा सिंगो परविार थियो साहित्यकारहरूको । र, अहिले सम्झन्छु, कवि केदारमान व्यथित जो त्यसबेला हाम्रालागि कविताको सिंगो हिमाल थिए । जीवन्त व्यक्तित्व उनका कविताका मूल्यांकन गर्ने समालोचकहरू छन्, मेरो विषय त्यो होइन । अहिले मैले सम्झन खोजेको प्रसंग बेग्लै छ । बेग्लै यस अर्थमा कि उनी त्यसबेलाका हामीजस्ता युवा कविहरूका लागि एउटा बलियो प्रेरणा दिने व्यक्तित्वका रूपमा चिनिन्थे । अनायास उनलाई नै सम्झनु पर्ने कारण अनेक छन् । हामी सबैले बिर्सियौँ त्यो पुस्तालाई । एउटा कविले अर्को कविलाई चिन्न नसकिएको वर्तमान कविका लामो सूचीमा कसले कसलाई चिन्ने ? कसले कसलाई सम्झने ? एउटा पुस्तक छापिँदा चर्चाको शिखर चुम्ने त्यसबेला सायद थोरै साहित्यकार हुनु मात्रै कारक तत्त्व पक्कै थिएन । एकअर्काप्रतिको सम्मान भाव र अग्रजप्रति पछिल्लो पुस्ताको आस्था पनि त्यत्तिकै कारण थियो । केदारमान व्यथित त्यसमाथि त्यस्ता कवि थिए, जो आफूपछिका सर्जकहरूलाई माया मात्रै होइन, स्वयं सम्मान गर्थे । आफूपछिका पुस्ता, खासगरी युवा पुस्तालाई अग्रजले पनि सम्मान गर्नुपर्छ भन्ने मैले दुई जना मेरा अग्रज कविहरूबाट सिकेँ, ती हुन् केदारमान व्यथित र कवि वासु शशि । यी दुई कविहरूको सानिध्यले मलाई धेरै कुरा सिकाएको छ । अहिले कवि केदारमान व्यथितका प्रसंगहरू लेख्ने जमर्को गर्दैछु । केदारमान व्यथित, जसलाई मैले '३० कै प्रारम्भमा भेट्न पाएँ । त्यसबेला वृद्धावस्थातिर उक्लिरहेका उनको शारीरकि व्यक्तित्व नै प्रभावशाली लाग्थ्यो । उनको कविता वाचन प्रस्तुतिकलाले श्रोताहरू स्तब्ध हुन्थे । जब उभिन्थे मञ्चमा कविता वाचनका लागि, त्यो वृद्धावस्थामा पनि उनी कण्ठस्थ वाचन गर्थे । धाराप्रवाह कविता वाचन गर्ने उनको कला अद्भुत थियो । जब केही बोल्थे, मानौँ कवितै वाचन गररिहेजस्तो । उनी निडर थिए, पञ्चायतको उत्कर्ष कालमा पनि प्रशासन, मन्त्री वा सत्ता पक्षका जमेर आलोचना गर्थे । चाँदनी शाहका कमजोर कविताहरूका अतिशयोक्ति प्रशंसा गर्नेहरूको त्यो समयमा कैयौँपटक गोष्ठी, सभाहरूमा व्यथितले भनेको सुनेको छु, 'पारजिातले जस्तो लेख्न अझै धेरै सिक्नु छ चाँदनी शाहले ।' राजपरविारका सदस्यलाई यति मात्रै पनि भन्नु वास्तवमै साहसै चाहिन्थ्यो, त्यसबेला । हुन त भन्नेहरू भन्थे व्यथितलाई पञ्चायतकै पक्षधर हुन् भनेर । भन्थे, राजपरविारकै आशीर्वाद रहेका प्रसंगहरू । पञ्चायतीकालमै शिक्षा र गृहमन्त्री भइसकेका पनि हुन् उनी । महेन्द्रले प्रज्ञा-प्रतिष्ठानको पहिलो कुलपति पनि नबनाएका होइनन् ।तर, मैले उनीसँगको सानिध्यमा राजाको गुनगान वा पञ्चायतका गन्धहरू कहिल्यै अनुभव गरनिँ । उनको विगतसँग म सायद परििचत थिइनँ । मैले भेटेको कवि व्यथित '३० को दशकतिर जतिबेला म देख्थेँ, उनको निडरता । साहित्यप्रतिको उनको लगाव र साहित्यकारहरूका लागि खुलेरै लाग्ने प्रवृत्ति । वृद्धावस्थाका दिनहरूमा पनि उनको लेखन कहिल्यै निष्त्रिmय भएन । लेखनको निरन्तरता एउटा सबल पक्ष त छँदै थियो तर उनी केवल लेखेरै मात्रै सन्तोष मान्दैनथे । उनमा एउटा अद्भुत सांगठनिक गुण थियो । कविका पक्षमा वकालत गर्ने, कविहरूको निरन्तर भेला गराउने । उनको घर स्वयं एउटा काव्यिक थलो लाग्थ्यो । निरन्तरको काव्यिक भेला खासगरी युवा कविहरूको जमघट । अरू कविहरू आफ्ना कविता सुनाउन आतुर हुन्छन् तर कवि व्यथित अरूका कविता सुन्न आतुर हुन्थे । कवि व्यथितको उत्तरार्द्ध कवितै कवितामा बितेको देखेँ मैले ।अहिले पुस्ता-पुस्ताबीच खाडलझैँको स्िथति छ साहित्यमा । सायद संख्यात्मक दृष्टिले धेरै साहित्यकर्मीहरू जन्मिसकेका छन् । पुस्तक विमोचन नभएको कुनै दिन छैन । पुस्तक प्रकाशनको भीड छ अहिले । पढेर भ्याइनसक्नु पुस्तकहरू छन् अहिले । फाट्टफुट्ट छापिनुको त्यसबेला रूपरेखाले धानेको थियो । मधुपर्क, गरिमा क्रमशः झाँगिँदै गए । थोरै प्रकाशन, धेरै चर्चा सायद स्वाभाविक पनि हो । अहिलेको जस्तो विद्युतीय सञ्चारमाध्यमको भीड पनि त थिएन । अहिलेजस्तो महँगीको भीड पनि त थिएन । जीवनको दौडधुप र व्यग्रता पनि त थिएन तथापि केदारमान व्यथितजस्ता व्यक्तित्व नहुँदा हुन् त त्यसबेला पनि त्यो गोलबद्ध र पारविारकि स्िथति कहाँ हुन्थ्यो र ! त्यसबेला पनि त व्यथितकै समकालीन कविहरू एक्लै रमाउन चाहन्थे । कवि व्यथित तर तीभन्दा भिन्दै थिए । सायद साहित्यकै अभिभावक । यसो हुनुमा अग्रजप्रतिको सम्मानभाव त पक्कै जरुरी छ तर जरुरी छ, आफूमुनिका पुस्ताप्रति अग्रजको माया र सम्मानभाव पनि । यस अर्थमा कवि व्यथितको स्वभाव अद्भुत थियो । युवा पुस्तालाई त्यति धेरै माया थोरै अग्रजहरू मात्रै गर्छन् । माया केवल भावनामा होइन । केवल शब्दमा होइन । एउटा अद्भुत क्षमता थियो कवि व्यथितमा, युवा पुस्तासँगै हातेमालो गरी हिँड्ने । दम्भहीन, स्वार्थहीन हृदयको नाता । सायद यसैले उनी अभिभावकझैँ लाग्थे । अग्रजसँगको गहिरो नाताको त्यो अचम्मलाग्दो नमुना लाग्थ्यो ।'३० को प्रारम्भिक वर्ष काव्यिक भेलाको प्रसंगलाई सम्झन पर्दा अहिले पनि रोमाञ्चित हुन्छु म । बृहत् काव्यिक भेला कहिले धरान-धनकुटा । कहिले विराटनगर । कहिले पोखरा, कहिले नेपालगन्ज त कहिले पाल्पा । राजधानीका झन्डैझन्डै सबै नाम चलेका कविहरू अनि अन्यत्रबाट पनि नाम चलेका प्रायः सबै भेला हुँदाको त्यसबेला अब त सपनाजस्तो लाग्छ । धुलाबारीको त्यो बृहत् काव्यिक भेला, नेपालगन्जको त्यो अद्भुत भेला । बसका बस, दुई-तीनवटा बसभर िकविहरू जन्तीको लर्कोझैँ । न प्रगतिशील कविहरूको मात्र जमघट, न अप्रगतिशीलहरूको मात्र जमघट, साराका सारा कविहरूका ती भेला, गोष्ठी, सम्मेलन, '३० को दशकपछि क्रमशः पातलिँदै पातलिँदै एउटा घेराभित्रको सीमामा बाँधिएर गयो । ती भेलामा केदारमान व्यथितको पुस्तादेखि नयाँ पुस्तासम्मको सहभागिता आकर्षणका केन्द्रविन्दु त हुन्थे नै, सबैबीचको मित्रवत व्यवहार र एउटा पारविारकि स्िथति अहिले खोज्दा खोइ कहाँ भेटिएला ?केदारमान व्यथितलाई सम्भ“mदा यसरी एउटा सिंगो समय स्मृतिमा ब्यूँझेर आउँदोरहेछ । एउटा युग हाँकेर सानदार जीवन बाँचेको त्यो व्यक्तित्व अब स्मृतिबाट पनि हराउँदै बिलाउँदै जाँदो छ । कसले कसलाई सम्भिmने ? लथालिंग छ प्रज्ञाप्रतिष्ठान । मौन छन् अग्रजहरू । वैयक्तिक प्रयासले बाँचिरहेको छ साहित्य ।नेतृत्व राजनीतिमा मात्र किन, साहित्यमा पनि चाहिँदो रहेछ । वकालत गरििदने त्यो व्यक्तित्व जसले बोल्दा मात्र पनि लथालिंग हुनुबाट जोगिन सकोस् । खोइ त्यो व्यक्तित्व ? गत साल माओवादी सरकारबाट गरएिको प्रज्ञाप्रतिष्ठानको त्यो नियुक्ति, त्यो लथालिंग र अमर्यादित क्ष्ाण । यस्तै बेला हो, अग्रजले बोलिदिनुपर्ने । अग्रजले सम्हालिदिनु पर्ने । अग्रजले खबरदारी गरििदनुपर्ने । केदारमान व्यथित यस अर्थमा त्यही कोटीका अग्रज थिए, जसको खबरदारीमा पत्याउन गाह्रो पर्दैनथ्यो र राजनीतिज्ञ, मन्त्री वा कुनै सत्तालाई एकछिन सोच्न बाध्य पार्दथे । सबैमा कहाँ हुन्छ र त्यो खुबी, त्यो क्षमता । साहित्य लेखेरै मात्रै कहाँ पुग्दो रहेछ र ! पुस्तक छापिएरै मात्रै कहाँ हुँदो रहेछ र ! तिनको पनि व्यवस्थापन हुनुपर्ने रहेछ, नत्र लथालिङ्ग हुँदो रहेछ ।कविता त अहिले पनि लेखिएकै छ । पुस्तक त छापिएकै छन् । स्तरीयताका प्रश्नमा कसैले औँला ठड्याउनुपर्ने अवस्था पक्कै छैन । तर पनि समग्रमा राष्ट्रले एउटा थिति बसाइदिनुपर्ने हो । सिस्टम हो चाहिने । नेता, पार्टी वा सत्ताले आफैँ सीमा खोज्दो रहेछ । आफ्नै वृत्त खोज्दो रहेछ । डोर्‍याउने त्यो व्यक्तित्व त कवि नै चाहिँदो रहेछ । व्यथितजस्तो । ...सायद यसैले सम्भिmरहेछु, त्यो विशाल व्यक्तित्व ।

प्रतीक्षा अर्को युगको !

रमण घिमिरे

मालिकहरूको तरबारलेटाउको काट्छ कि फूल ? भ्रममा परेँ म
हजुरहरूको बन्दुकले विचार ढाल्छ कि मान्छे ? भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ? भ्रममा परेँ म ।
त्यतिबेला कवि श्रवण मुकारुङले कथेको यस कविताले साहित्यिक जमातहरूमा मात्र होइन, आमजनमानसमा समेत तरंग ल्याएको थियो । श्रवणले इतिहासको एउटा सामान्य पात्र बिसे नगर्चीलाई कवितामा ब्यूँझाएर समग्र देशकै विचलन र अव्यवस्थाको हृदयस्पर्शी चित्रण गरेका थिए । जनआन्दोलनअघि नेपालमै छापिएको यस कवितालाई उछिन्ने अर्को कविता त्यसपछि जन्मिएन । आन्दोलनको सेरोफेरोमा राजाको शासनका विरुद्धमा थुप्रै साहित्यिक-सांस्कृतिक कार्यक्रमहरू भए । धेरै कविले अनेकौँ कविताहरू वाचन गरे । तर, श्रवणको 'बिसे नगर्चीको बयान'को प्रभाव र स्तरको उचाइभन्दा माथि उक्लन सक्ने कविताहरू सुनिएनन् । २००७ सालको क्रान्तिताका कवि गोपालप्रसाद रमिालले लेखेको 'एक जुगमा एक दिन एकचोटि आउँछ' कविताले त त्यस समयदेखि आजसम्म नेपाली काव्य संसारमा हलचल ल्याई नै रहेको छ । तर, कवितामा भनेझैँ सम्पूर्ण समाजलाई एउटै सिर्जनामा बाँध्न सक्ने रचना भने साँच्चि नै एक जुगमा एकपल्ट मात्र आएको अनुभूति हुन्छ ।०३६ सालको जनआन्दोलनका बेला कवि हरभिक्त कटुवालले लेखे ..........
ःबन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नू ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नू ?
साँच्चै भन्ने हो भने ०३६ को कालखण्डपछि '६० को दशकसम्म अनेकौँ कविहरू जन्मिए र तिनका कलमले गन्तीहीन कविताहरू रचे । कविता स्तरका दृष्टिले फितलै भएका पनि होइनन् । तर, आमपाठक, जो साहित्यिक शिल्प र सौन्दर्यसँगै आफ्नो समयलाई पनि बुझन् कविता पढ्छ, त्यस्ता पाठकलाई सम्झाइरहने सारै थोरै कविता लेखिए । त्यसैले, ००७ सालको कवि रमिालको 'एक जुगमा...' र ०३६ सालको हरभिक्तको 'बन्धन र बाध्यता'पछि एकैचोटि लामो समयलाई फड्को मारेर जन्मेको कविता हो, मुकारुङको 'बिसे नगर्ची...' ।कविता नलेखिएका होइनन् । झन् ०४६ पछि त कविताहरूको ओइरो लाग्यो । "अहिले त कविहरूको पल्टन छ, राष्ट्रियता र प्रजातन्त्रका पक्षमा यिनीहरूले पल्टनी गररिहेछन्," ०४६ सालको 'सडककविता-क्रान्ति'का एक आन्दोलनकारी, कवि भवानी घिमिरे भन्छन्, "अब राज्यको रक्षा सेनाले होइन, कविले गर्छन् ।" तर, तिनका कविताले पल्टनी नगरेको धेरै भयो । "मानिसको ध्यान तान्ने मार्मिक कविता नलेखिएका हुन् या मार्मिक कवितामा मानिसको ध्यान केन्दि्रत हुन नसकेर हो तर प्रतिनिधिमूलक कविता सुन्न नपाएको धेरै भयो ।" समालोचक कृष्णचन्द्रसिंह प्रधानका यी भनाइले नेपाली कविताको पाठक र कविलाई नङ-मासुको साइनोमा गाँस्ने क्रम भंग भएको अनुभव हुन्छ । '३० को दशकदेखि झन्डै '४० को अन्त्यसम्म कविहरूमा आपसी भेटघाट र भलाकुसारी बाक्लै हुने गथ्र्यो । एकअर्काका कविता सुन्ने र विचार साट्ने परम्पराले नेपाली कवितालाई एउटा न्यानो बाटोमा स्नेहपूर्वक डोर्‍याउने काम गररिहेको थियो । नयाँसडकको पीपलबोटमुनि हरेक सन्ध्या साहित्यकारहरूको जमघट हुने गथ्र्यो । यसले सिर्जनामा लाग्न मात्र होइन, एउटा स्रष्टालाई अर्को स्रष्टासँग जोड्न पनि सघाइरहेको थियो । "त्यसबेलाका केही ठाउँ र वातावरणले सर्जकलाई आपसमा गाँसेको थियो," कवि घिमिरे सम्झन्छन्, "तर, व्यस्तता र समयको अभावका कारण आज त्यो क्रम समाप्त भयो ।" कवि श्रवण मुकारुङका विचारमा कथित 'वाद' र 'गुट'ले विभाजनका रेखा कोरेका हुन् । "यो सिर्जनाको शून्य समय हो, के लेख्ने भन्ने दोधार छ कविलाई ।" श्रवण आफ्ना यी भनाइहरूसँग के पनि थप्छन् भने गोपालप्रसाद रमिालको 'एक जुगमा एक दिन', हरभिक्तको 'बन्धन र बाध्यता' या उनी स्वयंको 'बिसे नगर्ची' होस्, विशेष अवस्थामा जन्मिने सिर्जना हुन् । त्यसैले यस्ता कालजयी सिर्जनाहरूको सधैँ अपेक्षा गर्नु उचित छैन । हो, विचार र अभिव्यक्तिले शासन गररिहेको आजको जमानामा कविताले मानिसको विचारलाई आफ्नै शैलीमा भुटिरहेको हुन्छ । कविताले मानिसलाई विचारमा बाँधेर भूमण्डलीय दृष्टिकोणको व्यापक क्षितिजतर्फ डोर्‍याउँछ । तर, नेपाली कवितामा धीत मर्ने पुरानो रसमा भिज्दै आएको त्यो पुस्ता वा त्यस कालखण्डलाई नजिकबाट अध्ययन गर्दै आएको यो पुस्ता आजको सिर्जनाबाट तृप्त हुन सकिरहेको छैन । किन त ? "पहिलो त भेटघाटको उपयुक्त थलोको अभावले नै यसो भएको हो," प्रधान सम्झना गर्छन्, "त्यसबेला रन्जना गल्लीको रश्मि रेस्टुँरा या पीपलबोट, मोनआमी भिडियो पसलछेउको सानो चिया पसल होस्, त्यहाँ गएर कवि-लेखकहरू आ-आफ्ना अभिव्यक्ति साटासाट गर्थे ।" यी पक्षहरूको अनुपस्िथतिले आजको समयचेतनाको उर्वरता र प्रविधिको विकास अनुकूल सिर्जनाहरू जन्मिन सकिरहेका छैनन् । कवितै नलेखिएको अवस्था पनि होइन र सशक्त कविताहरू पनि आइरहेका छैनन् । तर, कवि गोपालप्रसाद रमिालको 'एक जुगमा एकचोटि'को आशय घिसि्रघिस्री हिँडिरहेको छ । सुन्दा या पढ्दा नै मानिसलाई मनमस्ितष्क उचाल्ने कविताको अभाव छ अहिले । "छोटोमा पनि धारलिो कविता आउन सकेको छैन ।" समालोचक प्रधानका विचारमा 'सुन्न नचाहँदानचाहँदै पनि सुन्न कर लाग्ने' कविता आउन सकेनन् । 'सडककविता क्रान्ति'का एक सशक्त योद्धा अशेष मल्ल त्यसबेला उनीहरूका कविता सुन्न एउटै श्रोता विभिन्न ठाउँमा आउने गरेको अनुभव सुनाउँछन् । उनका विचारमा त्यसबेला पञ्चायतको क्रूर चरणमा कविताले नै मुक्तिका लागि शंख फुकेको थियो । मुक्ति खोजिरहेका जनता कवितामा सानो विरोध आउँदा पनि जुर्मुराउँथे । शासकहरू पनि सानो कुरामा उत्तेजित हुन्थे । विषयवस्तुका हिसाबले त्यसबेलाका कविताहरू सशक्त भएको ठान्छन् मल्ल ।आज पनि सशक्त कविताहरू त लेखिँदैछन् । कवि भूपीको डोबमा पाइला राख्दै अघि बढेको पुस्ता-कवि चेतना र अभिव्यक्तिका रूपमा पहिलेकै तुलनामा परस्िकृत रूपमा आइरहेको छ । तर, समाजलाईर् नै आन्दोलित पार्ने र एउटा युगलाई नै डोर्‍याउने अर्थमा सारै थोरै कविताहरू आइरहेछन् । कतै कविता अर्को कुनै युगको प्रतीक्षामा त छैन ?

Thursday, June 25, 2009

समय : सांझ

कवि इश्वरवल्लभको अन्तर्वार्ता लिन्छु भन्दाभन्दै आफ्नै हातबाट चिप्लंदै गएको समय सीमान्तमा कैद गर्दै छौं आजको यो सांझ । मेरो शब्दबिम्बमा सदा कविताको बोधिवृक्षमुनि समाधिस्थ वस्तुता’, सम्पूर्णताका अग्रगामी जीवनधुन, आफ्नै परम्परासंग सचेत प्रश्नहरूको पहाडबिम्ब कविर् इश्वरवल्लभको कवितामय संसारमा तपाईं देवताको प्रेमनिवेदन सुन्न सक्नुहुनेछ र हृदयभरि रहस्यमय जीवनगीत बजिरहनेछ ।

हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
इश्वर वल्लभनमस्कार दाइ ! नमस्कार ! मैले नगरेको गल्तीको माफ गर्नुस् है ! जामले गर्दा चार मिनेट ढिलो भएं ।कवयित्री गीता कार्की र इश्वर दाइ र म एउटै टेबुललाई केन्द् बनाएर बसेका छौं
- दाइलाई यो सांझ कस्तो लागिरहेछ ?
कुराकानीको समायोजनको यो अनुष्ठान राम्रो लागिरहेछ ।
- जीवनको यो मोडमा आइपुग्दा तपाईं आफ्नो जिन्दगीलाई आफ्नै जिन्दगीको सापेक्षतामा कसरी हेरिरहनुभएको छ ?
अहिलेबाट अहिले वर्तमानलाई हेर्दा समकालिक यो जिन्दगी छ नि, त्यो एक किसिमको अध्ययनको विषय नै भएको छ । तात्कालिक केही भन्न एकदम गाह्रो हुन्छ । सायद अरूले भन्छन् भने मलाई थाहा छैन । तर मैले आफूलाई भित्र हेर्नै पर्छ, घोरिनु नै पर्छ ।
- त्यसो हो भने यो जिन्दगीसम्म आइपुग्दा आफ्नो विगतको चाहिं कसरी मूल्याङ्कन गर्नुहुन्छ त ?
मेरा ती बितेका पाइलाहरू जुन रूपले यहांसम्म र्सर्दै आएं, मेरो उमेरको सापेक्षमा, त्यही उमेरसापेक्षति अरू बाहिरी जगत्को सापेक्षमा अलि दार्शनिक रूपले भन्ने हो भने यो जिन्दगी एक किसिमको रहस्य-रहस्यजस्तो पनि लाग्छ; होइन, यसलाई अभावुक भएर भावनाहीन भएर छामेर हेर्दा वास्तविकताका रूपमा भन्ने हो भने सापेक्षकि रूपमा यो जगत्संगै गांसिएको यथार्थ वस्तुगत लाग्छ । कुनै त्यस्तो विशेषण दिनपर्छजस्तो मलाई लाग्दैन ।
- दाइले कविता लेख्दा रहस्य’ वा वस्तु’ केलाई समाउनुहुन्छ ?
होइन, लेखनमा त आग्रह पो गरेका छौं । आग्रह भनेको जीवनसित आग्रह । कहिले-कहिले लेख्दाखेरि अलिकति पहिले नै तिमीहरू के लेख्छौ -’ भन्दा जीवन’ लाई लेख्छौं भनेर भन्यौं । त्यो बेलामा सोझै अर्थ लगाएर भन्दा जीवन’ भन्यौं र जीवन त्यो तपाईं बुझनेले पनि जीवन बुझयो, म भन्नेले पनि जीवन त भनें तर सांच्चै नै त्यसलाई हृदयङ्गम गर्ने हो भने सुन्नेले पनि एउटा ठूलो आकाशतिर जानुपर्छ, भन्नेले पनि ठूलो एउटा क्षितिजतिर जानैपर्छ । शब्द पो जीवन’ भयो त । दुवैतिर त्यसको गहिराइ, त्यसको विशालताको व्याख्या गर्न अर्कै समय चाहिन्छ ।
- तपाईं तेस्रो आयाम’ का एक सारथि । जीवनलाई बुझने सांचो तेस्रो आयाम’ अर्थात् गहिराइ’ लाई तेस्रो आयामका सर्न्दर्भमा प्रस्तुत गर्न सक्नुभयो त ?
मैले अहिलेसम्म सकेको छैन । हामीले यस्तो गर्ने’ भनेर आदर्श राख्यौं, अर्थात् जीवनलाई सम्पूर्ण’ गर्नुपर्छ भन्यौं त कहिले जीवनलाई जस्तो छ त्यस्तै लिनुपर्छ भन्यौं, कहिले मानसिक परिप्रेक्ष्यको सापेक्षमा हेर्नुपर्छ पनि भन्यौं । त्यो भन्ने क्रममा आयामदेखि यहांसम्म आइपुग्दा अघि भनेजस्तो त्यो रहस्य त हुदै हो, त्यसलाई व्याख्या गर्न त सकिंदैन तर व्यावहारिक रूपमा आदर्श’ चाहिं उभ्याउंदाखेरि हामीले के भन्यौं भने जिन्दगीको सम्पूर्णता हुनुपर्छ है । एकाङ्गी होइन जिन्दगी भनेर भन्यौं । सम्पूर्णता निर्माण गर्ने क्रममा जतिसक्दो हामीले गर्यौं तर अहिले आएर त्यो कुरा पूर्ण भयोजस्तो लाग्दैन ।
- त्यसो हो भने कतै तपाईं पनि इन्द्रबहादुर र्राईजस्तै लीला’ तिरै लाग्नुभएको त होइन ?
लीला’ मेरा लागि एउटा समस्या भएको छ । इन्द्रबहादुर र्राईले कुन्नि के सोचेर लीला’ भन्नुभयो, त्यसलाई रूपरेखामा लेख्नु पनि भयो । एउटा विचारका रूपमा अभ्रि्राय प्रस्तुत गर्दै आउनुभएको छ । मलाई भने के समस्या पर्यो भने उहां कुन चिन्तनको अवधारणामा लीला’ भनेर अघिल्तिर बढ्दै हुनुहुन्छ, त्यस सम्बन्धमा मेरो राम्रो संवाद भइसकेको छैन । तर लीला’ को वास्तविक सिद्धान्त म कहिले-कहिले प्राविधिक रूपमा सोच्छु कि यो पूर्वीय लीला हो या पश्चिमी लीला हो । पश्चिमतिर त लीला’ लाई लीला’ नभनीकन इल्युजन’ अर्थात् भ्रम पनि भन्छन् । हाम्रो पूर्वमा त्यो भ्रम होइन । त्यसमा त विचित्रताहरू हुन्छन् । इन्द्रबहादुर र्राईले त भगवान् श्रीकृष्णको उदाहरण पनि दिनुहुन्छ । कंसको सभामा जांदा कृष्णलाई बलियो मान्छेले पहलमान देख्यो, आमाहरूले देख्दा वात्सल्यपूर्ण सुन्दर सुकुमार देखे । यसरी अन्य त्यस्तैहरूले सापेक्षकि रूपमा कृष्णलाई देखे । त्यो लीलात्मकता हो भनेर उहांले व्याख्या गर्नुभयो तर जहांसम्म साहित्यिक चिन्तनको हिसाब छ, मैले त त्यतातिर सोचेको छैन । लीलाकै कुरा गर्ने हो भने त महाभारत, रामायणलाई जित्नै सक्तिनं । त्यहांबाट छुट्टयाएर मैले भिन्न मेरो सोचको लीला’ बाहिर ल्याउनुपर्यो; त्यतातिर लाग्न मलाई गाह्रै पर्छ । त्यतातिर म सोच्दिनं पनि, जांदिनं पनि ।
- त्यसो हो भने जिन्दगीलाई सम्पूर्णमा व्यक्त गर्न नसक्नुलाई कुन नाम दिनुहुन्छ त ?जिन्दगीलाई ज्यादाभन्दा ज्यादा त व्यक्त गरिरहेछु । जिन्दगीमा त्यो गर्छुभनेर आदर्श सोच्यो भने त्यो हुदैन होला तर जब तपाईं सोच्नुहुन्छ, तपाईं त्यहां प्रतिबद्ध हुनुहुन्छ; ज्यादाभन्दा ज्यादा तपाईं त्यसलाई अनुभूत गरेर तपाईं अभिव्यक्त गरिहाल्नुहुन्छ र अभिव्यक्तिको निरन्तरतामा त्यसको प्रतिशत बढ्न थाल्छ । जति प्रतिशत बढयो, त्यति नै पूर्णतातिर अघि बढ्छ ।
- तपाईंको विचारमा पूर्णता कहिले होला त ?
अहिले हुदैन, छिटो हुदैन, त्यो धेरै प'र छ तर अघिल्तिर बढ्दा म एकबाट अघि बढेर दुइमा पुगें भने दुइसम्म त बढयो नि । एउटा रेखीय हिसाबले तीनमा पुग्दा दुइदेखि अगाडि नै बढेको हुन्छ । यदि त्यो तीनलाई पूर्ण मान्नुभयो भने मान्नुभयो तर नमान्नुभयो भने त्यसपछि अनन्त छ भनेर मान्नुस् । यसैले अघिल्तिर त सरेकै हो । सायद, मेरा कविताहरू, सायद मेरा चिन्तनहरू, सायद मेरा मात्र होइनन्; अरूका पनि त्यही नै हुन् एक " दुइ " तीन' अर्थात् यात्राहरू आदर्शतिर अगाडि बढ्दछन् ।
- सापेक्षकि बढाइ त छ, यसको अर्थ अन्त चाहिं छैन होइन त दाइ ?
अनन्त छ । अनन्तको अन्त कसरी होला र ।
- तपाईं गद्यमा त्यत्तिकै सशक्त हुनुहुन्छ । कथा पनि लेख्नुभएको छ र निबन्ध पनि लेख्नुभएको छ । यहांले सबैभन्दा सन्तुष्टि कुन विधामा पाउनुभएको छ ?
सन्तुष्टि त कहीं पनि छैन । सायद, मलाई सन्तुष्टि अझै मिलेको छैन, सन्तुष्ट त हुंदिनं पनि होला । किनभने यो क्रमले सन्तुष्ट हुनुको कुनै अर्थ नै छैन । फेरि, कविता लेख्नु भनेको, कथा लेख्नु भनेको ध्यान गर्नु पनि होइन । ध्यानमा सन्तुष्टि देख्छु म यद्यपि ध्यान गर्ने मान्छेमा सन्तुष्टि आयो कि आएन, मलाई त्यो अनुभव पनि छैन तर मैले कविता लेखेर सन्तुष्ट कहिल्यै पनि भएको छैन, कथा लेखेर सन्तुष्ट कहिल्यै पनि भएको छैन । सायद, लेख्ने क्रम नै त्यस्तो हो कि । सन्तुष्ट नहुंदाखेरि नै लेखिन्छ कि । त्यही रूपले लेखिरहेको छु ।
- सन्तुष्टि मिल्दै नमिल्ने हो भने किन लेख्ने त ?
त्यो कस्तो हो भने समुı नै भेटेपछि फेरि के खोज्नु पानी । समुı भेट्ने क्रममा पो छौं त । त्यसो हुनाले नभेटुन्जेल त्यता पुग्नुलाई प्रयत्न गरिरहेछौं । अर्को भाषा छ लेख्न लत लागेपछि लेखिन्छ तर र्सार्थक-अर्सार्थक कुरा होइन यो । त्यो किन लेखिन्छ भन्ने प्रश्नको उत्तर सायद एउटा लेख्ने मान्छेले दिन सक्दैनजस्तो लाग्छ, मलाई ।
- जे होस्, सन्तुष्टिको पूर्णविराम खोज्दै हुनुहुन्छ ?
सन्तुष्टितिर अग्रसर हुदै छु होला तर पाइन्छ कि पाइंदैन, त्यो भिन्दै कुरा हो तर अघिल्तिर त जांदै छु, कतै जांदै छु यद्यपि सन्तुष्टि नै प्राप्त हुन्छ भन्ने विश्वास त छैन; जान चाहिं जांदै छु ।
- यसको अर्थ जीवनलाई सम्पूर्णतामा व्यक्त गर्न सकिएन, होइन त ? सकिन्न' सकिन्न, गाह्रो छ । जीवनलाई सम्पूर्णतामा अथवा कवितालाई सम्पूर्णतामा अथवा कथालाई सम्पूर्णतामा हामी भन्न सक्दैनौं ।
- त्यसो हो भने तेस्रो आयामको सम्पूर्णताको सफलता प्रश्न चिन्ह रह्यो ?
हो, अहिलेसम्म प्रश्न चिन्ह नै रह्यो । अस्ति इन्द्रबहादुर दाइ काठमाडौं आउनुभएको थियो । उहांले लीला’ को कुरा गर्नुभयो । त्यो बेलामा मैले उहांहरूकै सामुन्ने के भनें भने आयाम’ लाई हामीले बनाएकै यस बेलासम्म पचास वर्षपुग्न आंटयो, अहिलेसम्म मैले आयामलाई बिट मार्न सकेको छैन । फेरि मैले अर्को नयां सिद्धान्त लिएर हिंडें भने त्यसलाई बिट मार्नु त कहां हो कहां' । यथार्थिक रूपमा अब म भ्याउंदिनं । तब बिट मार्नै सक्दिनं भने यो आयामलाई नै पहिले म बिट मारूं; त्यसलाई सकूं; भयो, पुग्यो भनेर भनूं र त्यसपछि उमेरले भ्यायो भने अर्कोतिर हेर्छुत्र म लाग्दिनं ।
- बिट मार्ने प्रयास त भइरहेको छ नि । त्यो प्रयासका सर्न्दर्भमा तपाईंको लेखन कतातिर गइरहेको छ नि ?
लेखनको सम्पूर्णता, लेखनको एउटा सबै पक्षबारे म अचेल सोच्दै छु, सोच्न बाध्य भएको छु । कुन रूपले भने पहिला म कविताहरू मात्र लेख्थें, त्यो बेलामा कहिलेकाहीं आफूलाई लाग्थ्यो म कवि भइरहेको छु, साहित्यकार भइरहेको छु जस्तो लाग्थ्यो तर अहिले आएर हेर्छुजेसुकै लेखिराखेको छु, धेरै कुरा लेखिराखेको छु र यी विषयहरूलाई सभा-समारोहमा भनी पनि राखेको छु । यतिखेर मलाई पनि आफूलाई हेर्ने, र्स्पर्श गर्ने एउटा समस्या पो जन्मेको छ । मजस्तो मान्छेलाई त्यस्तो समस्या आइरहन्छजस्तो लाग्छ- म के हुं ? म कवि हुं । कवि मात्र होइन; म कथाकार हुं । कथाकार मात्र हैन; म गीतकार हुं ।गीतकार मात्र पनि होइन तर सबै कुरा मैले लेखेको छु, अन्य गद्य पनि लेख्छु । ती सम्पूर्णमा म के हुं त । अब मैले आंफैंलाई विश्लेषण गर्नुपर्यो र मैले एउटा आफ्नो विशेषण पो खोज्नुपर्यो । मजस्तो मान्छेले आफ्नो विशेषण खोज्नुपर्ने, भनूं उत्तरआधुनिक अवस्था पो आइपर्यो कि जस्तो पो लाग्दै छ ।
- त्यसो हो भने तपाईं उत्तरआधुनिकताको बहुलवादमा विश्वास गर्नुहुन्छ ?
त्यो एउटा व्यवहार अर्थात् स्वभावमात्र हो, उत्तरआधुनिकताको । मलाई त उत्तरआधुनिक भन्दा कस्तो लाग्छ भने जुन दिन आधुनिकको आयु सक्यो भनेर कसैले घोषणा गर्छ भने, त्यो उत्तरआधुनिक सोचाइ हो ।
- कसैले तोक्दैमा त्यो उत्तरआधुनिक हुन्छ त ?
यदि कसैको सोचले प्रतिनिधित्व बोक्छ भने, त्यो उत्तरआधुनिक भयो । जस्तो डेरिडा, सस्युरदेखि नित्सेसम्म नै किन नहोस् उनीहरू स्वयम् उत्तरआधुनिक थिएनन् तर उत्तरआधुनिक चिन्तनले त्यसलाई समातेर तान्दै छ भने, त्यसलाई यहांसम्म आकषिर्त गरेर आज सोचको एउटा विषय र आधार बनाउंदै छ भने त मैले भनेजस्तै भो नि ।
- तपाईंका विचारमा उत्तरआधुनिक धारणाहरू के-के हुन् त ?
परम्परालाई सचेत प्रश्न गर्नासाथ त्यो उत्तरआधुनिक सोच हुन्छ । उत्तरआधुनिक हुनलाई चार सय वर्षचाहिंदैन, तत्काल जुन दिन घोषणा गरेर भन्नुहुन्छ कि मैले यो आधुनिकतापछिको एउटा अर्को चीज गरें, त्यहींबाट उत्तरआधुनिक अवस्था सुरु हुन्छ । त्यो अनुभव म गरिरहेछु । वास्तविकता त्यही हो किनभने उत्तरआधुनिकतामा विनिर्माणको कुरो छ, निर्माणको कुरो छ । त्यो के हो त भन्दाखेरि हामीले अस्ति गरेका संरचनात्मक कामहरूलाई प्रश्न गरेका हौं । किनकि कुनै संरचनामाथि प्रश्न गर्नासाथ असंरचना हुन्छ, विसंरचना हुन्छ । हिजोको जिन्दगीलाई जब व्याख्या गर्न थालिन्छ, त्यो उत्तरआधुनिक सोच हुन्छ अनि अहिलेसम्मको उत्तरआधुनिकको स्वभाव र उत्तरआधुनिकताको व्याख्या त त्यस्तै नै हो ।
- यसको अर्थ अस्तिको पृष्ठभूमिसहित सचेतताको प्रारम्भ जहांबाट हुन्छ, त्यो उत्तरआधुनिक सोच हो ?
हो, अस्तिसम्मको चेतना जो तपाईंले अनुभव गर्नुभयो; हृदयङ्गम गर्दै हुनुहुन्छ, त्यो चेतनाभन्दा अझै अर्कै चेतना पनि छ भनेर तपाईंले जोड्नासाथ पछिको आधुनिक स्वाभाविक रूपले उत्तरआधुनिक भइहाल्छ । जब म यी जम्मै मेरा कुराहरू आधुनिक भन्न थाल्छु, जब म यी कुराहरूलाई नयां दृष्टिकोणको भन्न थाल्छु, जब मैले मेरा छिमलसित चालीस-पचास वर्षगरेका कामहरू अलिकति भएन, यसलाई अलिकति थप्दा पनि हुन्छ भन्नासाथ त्यहां अर्को विचार सुरु हुन्छ । त्यो अर्को विचारलाई विशेषण दिने हो भने त्यो अस्तिको-हिजोसम्मको विचारभन्दा त अर्को विचार भयो नि । भन्नुस् त बहिनी । त्यो उत्तरआधुनिक विचार हो कि होइन ।- त्यसो हो भने तपाईं आफ्नो लेखनमा विशेषणको खोजी गर्दै हुनुहुन्छ ?हो, अघि मैले भनें; विशेषण चाहिन्छ है । यो समयलाई पनि विशेषण चाहिन्छ । जस्तो उत्तरआधुनिक विचार कम्युनिस्टहरू मन पराउंदैनन् किनभने उसको जो एकै ठाउंमा, एउटै पोखरीभित्र बस्ने बानी हुन्छ नि; त्यसमाथि आघात पर्छ, उसको मार्क्स मर्छ, उसको लेनिन हार्छ अनि उसले उत्तरआधुनिकता मन पराउंदैन । जुन दिन लेनिन पनि चेन्ज हुन्छ, मार्क्स पनि चेन्ज हुन्छ उसको विचारमा पनि नयां विचार थप्न सकिन्छ अर्थात् विचार हटाउन सकिन्छ; त्यो पक्षले सोचेको दिन त्यो उत्तरआधुनिक सोच हो, त्यो सायद वास्तविक सोच पनि हो ।
- उत्तरआधुनिकताका सर्न्दर्भमा कसको चेतनाको सुरुआतलाई तपाईं उत्तरआधुनिक मान्नुहुन्छ ?अचेल उत्तरआधुनिक हल्लाहरू नेपालमा पनि खुब आइरहेको छ; त्यो हल्लाभित्र म पनि छु, हामी सबै छौं । कहिलेकाहीं यो उत्तरआधुनिक कहां सुरु भयो भनेर सोच्छु । धेरैले लिन्छन् डेरिडाको नाम । यिनले सबै स्थितिहरूलाई सिद्धान्तीकृत गरेर सम्प्रेषण गरे, एउटा दृष्टि दिए र सबैले सोच्नुपर्ने, चिन्तन गर्नुपर्ने कुराहरू आयो । यथार्थ त पहिलेदेखि नै छंदै थियो तर डेरिडा, सस्युरलगायतका समूहले सिद्धान्तीकृत व्याख्या गर्न थालेपछि डेरिडाको नाम आएको हो । त्यही रूपमा हामी डेरिडालाई मान्छौं, म मान्छु । फेरि चालीस-पचास वर्षहिले हामीले आयाम’ गर्दा डेरिडा पनि भर्खरर्-भर्खर केही गर्दै थिए । त्यो बेलामा हामीलाई डेरिडा अर्थात् कोही पनि थाहा थिएन । त्यति बेला हामी आयाम’ मा के भन्थ्यौं भने- "पुरानाहरूको पूर्णविराम लाग्यो; हामी जम्मै नयां वाक्यहरू हौं ।" उत्तरआधुनिक सोच त वहां भइसकेका पो रहेछौं त । त्यसो हुनाले उत्तरआधुनिक सिद्धान्त बनाउनु डेरिडाको विशेषता हो तर उत्तरआधुनिकताको सुरु त पहिले नै भइसकेको थियो र हामीमा पनि भइसकेको थियो ।
- नेपाली कवितासाहित्यमा तेस्रो आयाम’ नै उत्तरआधुनिकताको स्पष्ट सिद्धान्तीकृत प्रारम्भ-विन्दु हो भनेर ठोकुवा गरे हुन्छ ?
त्यसो गर्दा के हुन्छ भने तेस्रो आयामले गरेका यात्राहरू र अभ्रि्राप्तिहरू एउटा खोपामा लगेर हालेजस्तो हुन्छ । हामीलाई उत्तरआधुनिक हुनुपर्ने केही जरुरी छैन । मैले त स्वभाव पो थियो भनेको त । जम्मै आयाम उत्तरआधुनिकले लग्यो भने त त्यो त खोपाभित्र छिर्छ । आयाम’ आंफैं एउटा विशेषण लिएर अघिल्तिर बढेको छ, उल्लाई उत्तरआधुनिक हुनु केही आवश्यक छैन तर भाषा, विचार र प्रश्नका दृष्टिले उत्तरआधुनिक सोच चाहिं त्यहां पनि थियो ।
- निबन्धकार या कवि कुन रूपमा चिनाउंदा आफूलाई खुसी लाग्छ ?
सबै कुरा आवश्यकताले लेखिए पनि मलाई कवि हुनु बढी मन पर्छ । कविता क्षेत्रसंग बढी नजिक हुन खोज्छु कि जस्तो लाग्छ । कविहृदय सबै विधाको पहिलो र्सत पनि हो ।
- २०२९ सालको मदन पुरस्कार प्राप्त तपाईंको कविता-कृति आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’ शीर्षकले सानोमा म निकै छोइएकी थिएं । कहां फुल्छन् होला आगोका फूलहरू - भन्दै आंफैंलाई प्रश्न सोधेकी थिएं । लाग्छ, त्यतिखेरबाटै मेरो मन-मस्तिष्क कवितामय बनेको थियो र इश्वरवल्लभको आवाजले मलाई कविताको मोह जगाएको थियो । के तपाईं स्वयम्लाई पनि आफ्ना अरू कृतिहरूका तुलनामा त्यो कृतिको शीर्षक साह्रै सुन्दर लाग्दैन
लाग्छ, एकदम लाग्छ । झन्नै-झन्नै त्यो शीर्षक प्रकाशकका तर्फबाट एक जना साहित्यकारले छोटो पारिदिन खोज्नुभएकोथियो । "मलाई यही नै मन पर्यो, मेरो आग्रह नै यही शीर्षक हो" भनें, अनुनय नै गरें त्यसपछि त्यो शीर्षक यथावत् बांच्यो । त्यो शीर्षकको सौर्न्दर्य अहिले पनि झन् सम्पूर्ण व्याप्त भएजस्तो लाग्छ । हुन् र होइनन्को ध्वनिले जीवन र जगत्को सम्पूर्ण स्वभावै दिन्छ । यही सोचले जन्माएको हो, त्यो शीर्षक ।- तपाईं साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ -पहिले-पहिले त ठूलो-ठूलो अनि भावुक कुराजस्तो गरिन्थ्यो तर अहिले त अभिव्यक्ति’ नै जस्तो लाग्छ, जहां शब्दबिम्बहरू माध्यम हुन्छन् ।
- साहित्य र जीवनको अर्न्तर्सम्बन्धलाई एकै शब्दमा भन्नुपर्दा तपाईं के भन्नुहुन्छ ?
अघिकै शब्द अभिव्यक्ति’ नै भन्दा हुदैन र ।- अभिव्यक्ति त रङ्ग अनि धुनका माध्यमबाट पनि गरिन्छ नि ।
तर साहित्यको आफ्नो परिभाषा चाहिएन र ?
साहित्यमा शब्दबिम्बहरू हुन्छन् । यसभन्दा बढी तपाईंलाई व्याख्या गरिरहनुपर्दैनजस्तो लाग्छ ।
- यहांले लेखनमा के-कस्ता जोखिमहरू उठाउनुभएको छ ?
तेस्रो आयामका सर्न्दर्भमा धेरै उठाएका छौं । सबैले मानेर आएको छन्द बहिष्कारको जोखिम, वस्तुता खोज्ने क्रममा भाषा भत्काउने जोखिम, विचारको जोखिम जसमा हामीले सम्पूर्ण कवितालाई बिम्ब भन्यौं । त्यति बेला त परम्परामा प्रश्नचि≈न उठाउंदा हामीलाई भाषा भत्काउने, भांच्ने भनेर आरोप लागेको थियो । तर परम्पराभन्दा अलग सोचेकाले नै आज हामी यहां छौं ।
जोखिम उठाउंदा के-कस्ता अप्ठयाराहरू सहनुपर्यो त ?
एउटा व्यावहारिक उदाहरण दिऊं- त्यसबेला दार्जिलिङमा वैरागी काइंला, इन्द्रबहादुर र्राई हामीहरू हुंदा एउटा निमन्त्रणापत्र पठायौं । त्यसमा मुन्तिर लेखिएको थियो- "तिमीहरूलाई मन परे आऊ, कुरा सुन्छौ भने आऊ नत्रभने नआए पनि हुन्छ ।" मान्छेहरू आएनन् । डेढ सय दुइ सय आउंथे तर त्यति बेला मात्र दस जना आए तर हामीले मजासंग कविता पनि सुनायौं ।
- तेस्रो आयामका त्रिमुर्तिहरू संगै यात्रा गर्नुभयो तर यहांले आफूलाई कुन अर्थमा बेग्लो ठान्नुहुन्छ ?
आयामको आन्दोलनमा हामी एउटै धरातलमा उभिएर पनि अहिले हाम्रो विचार आ-आफ्नै पखेटामा उडेको छ । त्यसैले इन्द्रबहादुर इन्द्रबहादुर नै हो, वैरागी काइंला वैरागी काइंला नै हो र्रर् इश्वरवल्लभर् इश्वरवल्लभ नै हो ।
- लेखकले रचना सिर्जना गरेपछि लेखकको मृत्यु हुन्छ भन्छन् नि ?
बडा भावुक भएर सोच्ने हो भने लेखक आफ्ना कृतिबाट अलग्गिन चाहंदैन अर्थात् कविको मृत्यु स्वीकार हुदैन तर यथार्थिक रूपमा त लेखक कृतिबाट अलग नै हुन्छ अर्थात् लेखक मर्छ । कृति लेख्दाखेरिको लेखक तत्क्षणदेखि बाहेक ऊ कृतिबाट अलग्गिइसकेको हुन्छ । तर लेखकमा कृतिसंग सम्बद्ध नोस्ताल्जिक अनुभूति भने जरुर हुन्छ । यसैले यो अनुभूति नहुने हो भने त लेखक सांच्चै मरेको हो भन्नुपर्ने हुन्छ ।
- कृति सिर्जना गरेपछि लेखक वस्तुगत रूपमा कृतिमा हुदैन अर्थात् मर्छ भन्नुभएको हो ?
हो, त्यसैले विषयीगत भएर सोच्ने देकार्तेसंग सधैं हाम्रो वैचारिक झगडा रह्यो । वस्तुतालाई उसले जहिले पनि प्रहार गर्यो । हो, म’ भएर नै अरू हुन्छ भन्नु सत्य रहे पनि म-तिमी नरहे सापेक्षकि रूपमा पो वस्तु रहन्न तर यथार्थमा म-तिमी नरहे पनि वस्तु त रहन्छ । यसरी हामीले सोचाइको प्रयोगशालामा लगेर यो कुरा भनेका हौं । वास्तवमा उत्तरआधुनिक कुरा वस्तुता नै थियो । अहिले इन्द्रबहादुर राई भन्नुहुन्छ- तिमीले सोचेका थियौ वस्तुता’ । वस्तुता’ मेरै शब्द हो ।- स्पष्ट भन्नुपर्दा तेस्रो आयाममा वस्तुता’ तपाईंको शब्द रहेछ । सम्पूर्णता र चित्र -बिम्ब) भने क-कसका हुन् त ?इन्द्रबहादुर र्राई झयाप्प समाउने, निक्खर, शुद्ध भन्ने गर्नुहुन्थ्यो, यर्सथमा सम्पूर्णता उहांकै हुनुपर्छ । फेरि वैरागी दाजु बिम्बको कुरा गर्नुहुन्थ्यो, त्यसैले बिम्ब उहांको हो भन्नु पर्छ तर होइन हामी सबैको हो । खै, हामीले शब्द त बांडयौ कि बांडेनौं थाहा भएन ।- मैले सुनेकी थिएं कि तपाईंहरू कृत्रिम विरही बनेर, कोठामा बसेर कविता लेख्नुहुन्थ्यो रे, हो ?त्यसो त होइन, हामीले त्यसो गरेनौं । जिन्दगीमा मलाई विरह चाहिं पटक्कै लागेन; माया, मोह, स्नेह लाग्यो । हामीले केटीहरू त मन पार्यौं नि त, उनीहरूले मन पारेन पनि हामीलाई । त्यस्ता घटनाहरू त घटे । यो उमेरसम्म इतिहास पर छोडेर आएपछि के-के गर्यो त भन्दा घटनाहरू त हुन्छन् नि । विरह शब्द पो नमिलेको हो कि । फेरि कतिवटा कुरा त गोप्य पनि राख्नर्ुपर्छ नि ।कतिवटा कुरा भनेरभन्दा लुकाई राख्दा आनन्द आउंछ ।.
- यहांको प्रेमजीवन र वैवाहिक जीवनको सम्बन्ध चाहिं के छ ?
यो चिठीहरू छ नि । मैले त लेखेकै छैन भनेको । डर लाग्थ्यो, सत्य ।- सत्य हो ?घरमा पांच जना नानी भएपछि श्रीमतीलाई म यहां सन्चै छु’ भनेर त लेखें नि ।त्यसलाई प्रेमपत्र मानेर छापे हुन्छ तर खास मेरो जो आदर्शको प्रेमपत्र छ नि । त्यस्तो सायद मैले लेखेको छैनजस्तो लाग्छ ।.
- आदर्शको प्रेमपत्र कतै कवितामा लेख्नुभएको त होइन ?
कवितामा त्यस्तो रोमान्टिक अनुभूति पोख्याजस्तो त लाग्दैन तर दुइ-चार ठाउं कतै -दुइटा फूल द्यौरालीमा संगै राखेजस्तो लाग्छकतै टाढा जांदाखेरि संगै हिंडेजस्तो लाग्छगीत लेख्दाखेरि नि छेउमा त हुदै हुदैन । सांच्चै भयो भने त किन गीत लेखिराख्नुपर्यो नि ।
- गीत चाहिं तपाईंको प्रेमपत्र बनेछ क्यारे ?
माथिको गीत त हाम्रो लोककथै त हो नि । इन्द्रबहादुर र्राईले कठपुतलीको मन’ कथा लेखेर पुरानो कथालाई नयां बनाउनुभयो । हामी सायद, पुरानै प्रेमलाई नयां प्रेम बनाउंछौं । त्यही नै प्रेम गर्ने तरिका हो कि क्या हो ।धेरै भइसक्यो जीवनमा पीडाफेरि आज केको खुसी याद आयोखै यी भावहरू के हुन् । प्रेम गर्या हो र । मन त पथ्र्यो, सत्य मन पथ्र्यो तर के भनूं, कसो भनूं डर लाग्थ्यो । अस्वीकृतिको डर जहिले पनि लागिराख्थ्यो । सत्य । अरूलाई पनि लाग्छ होला । नाइं’ भनेपछि म हारेंजस्तोको डर त हुने नै भयो ।
- त्यसो त यहांले आफ्नो कविताको संसारमा, गीतको संसारमा, आफ्नो लेखनको संसारमा जहिले पनि आफूलाई जित्ने मान्छेका रूपमा मात्र राख्नुभएको रहेछ नि ?
अर्कालाई हराएर के जित्नु - जित्नुबाहेक अरूलाई हराउनु नै छैन क्या । मेरो जितमा अर्काको हार नै छैन । सत्य भनेको, मैले कसैलाई हराएकै छैन । मसंगै हिंडेकाहरू को-को कता-कता हराए भने त्यो त मैले हराएको होइन नि ।
- आफूले हिंडिसकेका बाटाहरू र्फर्केर हेर्दा कति घुमाउरो र अप्ठयारो देख्नुहुन्छ ?
कहिलेकाहीं यसो हेर्छुकस्तो-कस्तो बाटो घुम्दै-फदिर्ै यहांसम्म आइपुगें, कति जंघारहरू नाघें । कहिले हेर्दा भ्रमै हो, यहां आइपुग्नु थियो; आइपुगेंजस्तो लाग्छ तर कहिले-कहिले अरूलाई नपरेकाहरू पनि पो परे कि ।जस्तो लाग्छ ।
- अहिले वर्तमान राजनीतिक अवस्थामा नेपाली साहित्य कसरी हिंडिरहेको छ ?
मलाई अहिले-अचेल विसङ्गतिहरू बढेजस्तो लाग्छ । साहित्य जीवनसितै बस्छ तर यथार्थमा अहिले त्यति सजिलो जिन्दगी छैन नि त । बिहान मान्छे मारिएको समाचार सुन्यो, दिउसो कतै कविता सुनायो । आफ्नै देशमा, आफ्नै परिसरमा दुइटा कतै मान्छे मारिन्छ, कतै दुइटा माला लगाइन्छ । दुइटा मान्छे मर्दा दुइटा माला लगाउन सक्दा रहेछौं हामी । हामी साहित्यकारको स्वरूप त्यस्तो भइरहेछ । यही ठाउंमा शब्दमा होइन यथार्थमै खान नपाएर बसिरहेको छ मान्छे; यही ठाउंमा ठूला-ठूला भाषण गरीकन, ठूला-ठूला सिद्धान्तका कुरा गरेर बसिरहेको छ । यही विरोधभासमा बांचिरहेका छौं, अहिले । यस्तो बेला राजनीतिले साहित्यलाई प्रभाव त पारेकै छ तर पारे पनि मभित्र एउटा प्रश्न जन्मिएको छ कि कवि सांच्चै यो जगत्कै हो कि होइनजस्तो पो लागिरहेछ त ।लेखिएको कविता सांच्चै कविता हो कि होइन । पो भइराखेको छ त, लगाएको माला सांच्चै माला हो कि होइन । लागिरहेछ; उता समाचार त्यस्तो आइरहेछ ।
यर्सथमा जीवन-जगत्संग साहित्यको सम्बन्ध के त ?
आंफैंसित प्रश्न हो, यो । युरोपतिर त पहिलो-दोस्रो विश्वयुद्धको भयङ्कर विसङ्गतिपश्चात् अस्तित्ववादको जन्म भयो, ठूला-ठूला लेखकहरू आए तर यस्तो लक्षण-सङ्केत पनि त यहां छैन । यसरी विसङ्गति नै अघिल्तिर आइरहेको छ ।
- तपाईंका विचारमा मृत्युबोधले जिन्दगीलाई कत्तिको अर्थपूर्ण बनाउंछ ?
आफ्नो मृत्युबोध त अर्काको मृत्यु देखेर बुझने हो । सायद, विशेष मृत्युबोध अब हुदैन होला । पहिला त के भन्थें भने- आफ्नो मृत्यु अरूले मर्नै सक्दैन भनेर बडा फिलिसोफाइज गर्थें, अहिले त आफ्नो मृत्यु अरूले मरिराखेको पो देखिरहेको छु त । मेरो मृत्यु पनि सापेक्षकि हो त भनेर प्रश्न पो गरिरहेछु त । फेरि मर्नु दुख्नु त होइन नि । सक्नु पो हो त । त्यसैले मृत्युलाई छुट्टै व्याख्या पो गर्नुपर्छजस्तो छ ।- तपाईंले आफूलाई छुट्टै राखेर दर्शक बनेर आफ्नो मूल्याङ्कन गरिदिनुहोस् न ?
कविर् इश्वरवल्लभलाई दर्शक बनेर हेर्दा एउटा सफल मान्छे चाहिं लाग्दैन । एउटा अपूर्ण मान्छे नै अघिल्तिर बढिरहेजस्तो लाग्छ । यद्यपि जसलाई म पूर्ण देख्छु; त्यो पनि सापेक्षकि अपूर्ण हुन सक्छ ।
वास्तवमै कोही पनि स्वयम्मा पूर्ण अनुभव गर्न किन सक्तैन, मान्छे । जिन्दगी यातनागृह त होइन नि । फेरि पनि किन स्वचेतनाका प्रश्नहरूले किचिएको हुन्छ, मान्छे'हुन्छ-हुदैन, हो-होइन अर्थात् हुनु-नहुनुको यी र यस्तै सूक्ष्म दूरीमा जिन्दगी थाती राख्दै गहिरिंदो रातको व्यस्त सडकमा दाइलाई पुर्याएर म र गीता र्फकन्छौं । कसो-कसो दाइको हार्दिकता झङ्कृत भइरह्यो मनभरि' . Nepali Kala Sahitya.Com bata

Saturday, February 21, 2009

मैले यसरी पढें : म्याक्सिम गोकी

पुग-नपुग चौध वर्षको उमेरमा मैले पहिलोपटक होस पुर्‍याएर पढ्न जानेँ । म त्यतिखेर किताबमा भएको कथानकबाट मात्र होइन, त्यसमा चित्रण गरिएका घटनाका चाखलाग्दा विकासबाट समेत कमबेसी आकषिर्त भएको थिएँ, त्यतिखेर नै मैले किताबमा भएका वर्णनहरूको सौन्दर्यको कदर गर्न थालेको थिएँ, कथामा भएका पुरुष र नारी पात्रहरूका बारेमा गम्न थालेको थिएँ, धूमिल रूपमा लेखकका उद्देश्यका बारेमा अनुमान लगाउन थालेको थिएँ र किताबमा भनिएको र जीवनले अनुप्राणित गरेको भिन्नताका बारेमा विस्मयका साथ अनुभव गर्न थालेको थिएँ ।त्यो समय मेरा लागि कठिन समय थियो, किनभने म त्यतिखेर अशिक्षित मानिसहरूले चलाएको एउटा कारखानामा ऊन रंग्याउने काम गर्दै थिएँ । ती मानिसका लागि प्रचुर खाना आनन्दको उत्कर्ष थियो र तिनीहरूको एक मात्र सोख नाचघरमा जाँदा वा बाहिर घुमफिर गर्न निस्कँदा मानिसले सजिसजाउका साथ लुगा लगाएजसरी नै सजधज भएर चर्च जानु थियो । मेरो काम अति गाह्रो थियो र यही कारणले गर्दा मेरो मन लगभग लाटिएको हुन्थ्यो, मैले आइतबार वा बिदाका दिनमा पनि उत्तिकै क्षुद्र, अर्थहीन र निस्सार कष्टसाध्य काममा अस्तव्यस्त हुनुपथ्र्यो ।
पुस्तकांशमेरा मालिकहरू बसेको घर क्लाज्मा नदीतिरको सडक बनाउने एकजना ठेकेदारको थियो । ऊ पुड्को, मोटो, चुस्स दाह्री र खैरो रंगका आँखा भएको, सधैं रिसाइरहने, अशिष्ट, क्रूर र निष्ठुर प्रकृतिको मानिस थियो । उसका तीसजना जति कामदार थिए, ती सबै भ्लादिमिर गुबेर्निआबाट आएका किसान थिए । तिनीहरू भुइँमा सिमेन्ट लगाएको र स-साना झ्यालहरू भएको जमिनमुनिको अँध्यारो छिँडीमा बस्थे । कामले थकित भएका उनीहरू साँझपख नमीठो गन्ध भएको भित्र्याँस वा सोडाले दुर्गन्धित नुनिलो मासु मिसाएको बन्दागोबीको झोल खाइसकेपछि आफ्नो कोठाबाट बाहिर देखा पर्थे र फोहोर आँगनमा हातखुट्टा पसारेर पल्टिरहन्थे, किनभने उनीहरूको चिसो कोठाको हावा त्यहाँ बाल्ने गरिएको ठूलो चूलाको धूवाँले गर्दा विषाक्त र निस्सासिँदो थियो । ठेकेदार आफ्नो कोठाको झ्यालमा यसो देखापर्थ्यो र आफ्ना कामदारलाई हप्काउन थाल्थ्यो, 'राँडीका छोराहरू ! फेरि निस्कियौ तिमीहरू आँगनमा ? हेर न सुँगुरजस्तै जथाभावी पल्टिएका ! मेरा घरमा सम्मानित मानिस बसेका छन्, तिमीहरूजस्तालाई यहाँ बाहिर देखेर तिनले आनन्द लिन्छन् भन्ने ठानेका छौ तिमीहरूले ?'कामदारहरू कुनै वचन नलगाई आज्ञापालन गर्दै आफ्नो कोठामा र्फकन्थे । ती मानिसहरू सबै नै दुःखी र शोकाकुल थिए, तिनीहरू कहिलेकाहीँ मात्र बोल्थे, हाँस्थे र विरलै गीत गाउँथे । तिनका लुगा धूलो र हिलोले लत्पतिएका हुन्थे र ती मलाई आफ्ना इच्छाविरुद्ध जीवनको अर्काे अवधिका निम्ति यातना भोग्न फेरि ब्युँझाइएका लासजस्ता लाग्थे । ठेकेदारले भनेका ती 'सम्मानित मानिसहरूचाहिँ सैनिक अफिसर थिए । ती रक्सी धोक्थे, जुवातास खेल्थे, आफ्ना नोकरचाकरलाई नीलडाम बस्ने गरी पिट्थे र आफ्ना श्रीमतीमाथि पनि हातपात गर्थे । तिनका श्रीमतीहरू पनि भड्किला लुगा लगाउँथे, रक्सी बेस्सरी धोक्थे र अफिसरका नोकरचाकरलाई निर्ममतापूर्वक कुट्थे । यी नोकरहरू पनि असाधारण रूपले रक्सी खान्थे र आफूलाई अन्धो मद्यपानमा उडाउँथे । आइतबारका दिन ठेकेदार एउटा हातमा हिसाबको लामो बहीखाता र अर्का हातमा पेन्सिलको सानो ठुटो समातेर दलानको सिँढीमा बस्थ्यो । कामदारहरू, मगन्ते हुन् कि जस्तो गरेर एक-एक गर्दै उसका अघि खुट्टा घिसार्दै आइपुग्थे । उनीहरू झिनो स्वरमा झुकेर र टाउको कन्याउँदै बोल्थे भने ठेकेदारचाहिँ संसार नै थर्काउने गरी चिच्याउँथ्यो- 'बेसी नकरा ! एक रुबल भए जत्ति पुग्छ, के रे ? भनेको सुनिनस् ? तैँले पाउनुपर्ने भन्दा बढी पाइसकिस् ? यहाँबाट निस्किहाल् ! चाँडो गर् त ?'म के जान्दथेँ भने कामदारमध्येका केही ठेकेदारकै गाउँका थिए र कतिपय त ठेकेदारका नातेदारसमेत थिए । तर, ऊ सबैलाई उही निष्ठुर, रूखो व्यवहार गथ्र्यो । कामदारहरू पनि एकअर्काप्रति निष्ठुर र रूखा थिए, खास गरेर अफिसरका नोकरचाकरप्रति । हरेक आइतबारको भोलिपल्ट आँगनमा रक्तपातपूर्ण र खुला भिडन्त सुरु हुन्थ्यो र प्रयोग गरिएका अश्लील बोलीले वातावरण नै विषाक्त बन्दथ्यो । ज्यामीहरू कुनै कष्टप्रद कर्तव्य निर्वाह गरेजस्तो गरी विनाविद्वेष झगडा गर्दथे, पटक-पटक कुटाइ खाएर, जीउमा घाउका खाटा बसाएर उनीहरू झगडाबाट फुत्कन्थे र फोहोर लागेका औँलाले हल्लिएका दाँतहरू यसो जाँच्तै एकान्तमा आफ्ना नीलडाम र घाउहरू नियाल्थे । झैझगडा र भिडन्तका कारण छिया-छिया परेको अनुहार वा नीलडाम बसेका आँखाले कुनै किसिमको सहानुभूति पाउँदैनथ्यो । तर, कमिज फाटेर छिया-छिया भएको खण्डमा भने कुरा अर्कै हुन्थ्यो । त्यतिखेर दुःख व्यक्त गर्नु सामान्य कुरो हुन्थ्यो र नोक्सानी भोगेको कमिज धनी उद्विग्नतापूर्वक आफ्नो क्षतिमा झोक्राउँथ्यो र कहिलेकाहीँ त आँसुसमेत झार्दथ्यो । यस्ता दृश्यले ममा वर्णनसम्म गर्न नसकिने गह्रुंगा भावनाहरू उमार्दथे । म यी मानिसप्रति दुःखी थिएँ, तर म उत्साहहीन र पृथक् थिएँ । ममा कहिल्यै यस्तो कुनै मानिसप्रति सहानुभूतिका शब्द प्रकट गर्ने चाहना उत्पन्न भएन वा भिडन्तमा अत्यन्त खराब स्थितिमा पुगेको कसैलाई सहयोग गर्ने चाहना भएन । कम्तीमा पनि उसको धूलो र हिलो मिसिएर बाक्लो भएर घाउ र काटिएको ठाउँबाट बगिरहेको रगत पानीले पखालेर सहयोग गर्ने इच्छा ममा आएन । वास्तवमा, म यी मानिसलाई मन पराउँदिनथेँ, केही हदसम्म उनीहरूसँग डराउँथेँ र म पनि मेरा मालिकहरू वा अफिसरहरू, सेनाका पुरेतहरू, छिमेकको भान्से वा अफिसरका नोकरहरूले जसरी नै उनीहरूलाई ज्यापू भन्दथेँ । यी सबै मानिसहरू ज्यापूका बारेमा घृणा गरेर बोल्छन् । मानिसका लागि दुःखको अनुभूति गर्नु क्लेशकर कार्य हो । कसैले पनि कोहीप्रति माया गरेर सधैं नै आनन्द लिन मन पराउँछ । तर, मैले माया गर्न सक्ने कोही पनि थिएन । यही कारण मैले बढी नै उत्साहका साथ किताबहरूलाई मन पराएँ ।म रहेको वातावरणमा धेरै नै दुष्टतापूर्ण र असभ्य कुराहरू थिए र तिनले तीव्र विरक्तिको भावना जगाउँथे । म तिनका बारेमा यहाँ विस्तारमा केही नभनौँ, तपाईं आफै मानिसले मानिसमाथि थोपरेको अपमानजनक नारकीय जीवन र दासहरू आनन्दित हुने पीडायुक्त रुग्ण प्रेरणाका बारेमा सचेत हुनुहुन्छ । मैले यही निन्दनीय परिस्थितिमा विदेशी लेखकहरूले लेखेका राम्रा र गम्भीर प्रकृतिका किताबहरू पहिलोपटक पढ्न पाएँ । झन्डैजसो हरेक पुस्तकले मेरा सामु एउटा नयाँ र अपरिचित संसारको झ्याल खोलिदिएको र मैले यसअघि कहिल्यै थाहा नपाएका र नदेखेका मानिस, भावना, विचार र सम्बन्धका बारेमा जानकारी दिएको कुराले ममा परेको आश्चर्यको मात्रालाई सायद म पर्याप्त सुस्पष्टता र विश्वसनीयताका साथ अभिव्यक्त गर्न असमर्थ प्रमाणित हुनेछु । यस्ता किताबको पढाइबाट मलाई के पनि बोध भयो भने मेरो वरिपरिको जीवन त्यो सबै, मेरा वरिपरि घट्ने कठोर, भ्रष्ट र क्रूर घटनाहरू ती सबै वास्तविक वा आवश्यक कुरा थिएनन् । वास्तविक र आवश्यक कुराहरू त किताबमा मात्र पाइन्थ्यो, जहाँ हरेक कुरा बढी विवेकपूर्ण, सुन्दर र मानवोचित थियो । के साँचो हो भने किताबहरूले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निःकृष्ट र दुष्ट मानिसहरूको चित्रण पनि गर्दछन् । तर, अर्कातिर अरू त्यस खालका मानिसहरूसमेत हुन्छन्, जसलाई मैले कहिल्यै देखेको वा सुनेकोसम्म थिइनँ । ती त्यस्ता मानिस हुन्, जो निर्मल, सत्यनिष्ठ, दरिलो आत्मा भएका हुन्छन् र जो सत्यको विजय र सौन्दर्यको सिद्धिका निम्ति आफ्नो अमूल्य जीवन समर्पित गर्न तम्तयार हुन्छन् । ***
के साँचो हो भने किताबहरूले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निकृष्ट र दुष्ट मानिसहरूको चित्रण पनि गर्छन् । तर, अर्कातिर अरू त्यस खालका मानिसहरू समेत हुन्छन्, जसलाई मैले कहिल्यै देखेको वा सुनेको सम्म थिइनँ ।पुस्तकहरूले मेरा सामु उद्घाटित गरेको विश्वको नवीनतम र आत्मिक सम्पदाबाट सम्मोहित भएर सुरुमा मैले पुस्तकहरूलाई अझ राम्रा, बढी नै चाखलाग्दा र मानिसभन्दा पनि निकटका मानेँ । र, मलाई के लाग्छ भने म त्यतिखेर जीवनका यथार्थलाई पुस्तकहरूको काँचबाट हेर्थें र यसरी केही हदसम्म अन्धो बनेको थिएँ । तथापि, शिक्षकमध्येको सबैभन्दा बढी बुद्धिमान् र कठोरतम शिक्षक जीवनले चाँडै नै मलाई त्यो आनन्ददायी अन्धताबाट निको पार्‍यो । पुस्तकहरूले मानिसमाथि विश्वास राख्न मलाई सिकाइ नै सकेका थिए । सबै कुरामाथि विचार गर्दा वास्तविक जीवनमा जे छ, किताबहरूले त्यसकै चित्रण गर्दछन् अर्थात् पुस्तकहरू वस्तुगत यथार्थका अनुकरण हुन् र यस कारण निष्ठुर ठेकेदार वा मेरो मालिक, रक्स्याहा अफिसरहरू वा मैले चिनेजानेका अरू मानिसभन्दा एकदमै फरक असल मानिसहरूको अस्तित्व जीवनमा हुनैपर्छ भन्ने अनुभव मैले गरेँ । मैले के ख्याल गरेको छु भने जतिखेर जीवनले मलाई कठोरतम प्रहारहरू चखाएको छ, त्यस वेलामा मेरो जीवनमा आएका असंख्य ती कष्टकर दिनमा नै ममा सधैं साहस र धैर्यको भावना उर्लेको थियो र युवकहरूको र हर्कुलसको जस्तो प्रचण्ड आकांक्षा, जीवनका अजंगका फोहोरमैला सफा गर्ने तीव्र उद्वेगले मलाई ओतप्रोत बनाउँथ्यो । यो तीव्र उद्वेग अहिले पचास वर्षको उमेरमा पुग्दासमेत ममा रहिरहेकै छ र म नमरुन्जेलसम्म पनि यथावत् रहिरहनेछ । म यस गुणका लागि पुस्तकहरूको ऋणी छु । पुस्तकहरू मानवजोसका शुभ सन्देशहरू हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहनीय वेदना र सन्तापलाई प्रतिविम्बित गर्दछन् । मस्तिष्कको कविता विज्ञान र हृदयको कविताकलाप्रति म ऋणी छु ।पुस्तकहरूले निरन्तर मेरा अघि नयाँ-नयाँ मनोरम दृश्यहरू देखाइरहे । दुईवटा सचित्र पत्रिका विश्व सचित्र (भ्सेमिर्नाया इल्ल्युस्ट्रेसिया) र सचित्र रिभ्यु (ज्झिभोपिस्नोये ओबोज्रेनिए) को मेरो जीवनमा विशेष मूल्य रहेको छ । देश-विदेशका सहरहरू, मानिसहरू र घटनाहरूको तिनको वर्णनले संसारलाई मेरा सामु बढीभन्दा बढी विस्तार गरे र यो विश्व विकसित भइरहेको, विशाल, मनमोहक र महान् कार्यहरूले भरिपूर्ण भएको मैले अनुभव गरेँ । म किताब-अध्ययनको तरिकाका सम्बन्धमा थुप्रै कुरा गर्न सक्थेँ । पुस्तक अध्ययन परिचित, दिनैपिच्छे गरिने तर सबै युगका महान् मनहरू र जनतासँगको मानवको घुलन (सम्मिश्रण) को रहस्यमय प्रक्रिया हो । यसले समय-समयमा मानिसका सामु जीवनको अर्थ र जीवनमा मानिसको स्थान के हो अकस्मात् उद्घाटन गर्छ । झन्डै जादुमय सौन्दर्यले रचिएका थुप्रै यस्ता विस्मयकारी उदाहरणहरू म जान्दछु । एउटा यस्तै उदाहरण म यहाँ उल्लेख गर्न चाहन्छु । यो पुलिसको निगरानीमा अर्जामासमा म बसेको समयको कुरो हो । मेरो छिमेकी स्थानीय कृषि बोर्डको हाकिम थियो (रुसी भाषामा जेम्स्की नचाल्निक भनेको क्रान्तिअघि किसान समुदायमाथि शासन गर्ने न्यायालय र प्रशासन दुवैको अधिकार भएको अधिकारीहरूको प्रमुख) । ऊ व्यक्तिगत रूपमा मलाई कतिसम्म मन पराउँदैनथ्यो भने उसले आफ्नो घरमा काम गर्ने नोकर्नीलाई साँझ काम गर्ने समय सकिएपछि मेरो भान्सेसँग कुराकानीसम्म नगर्नू भन्ने निर्देशन दिएको थियो र मेरो निगरानी गर्न एकजना पुलिसलाई मेरो झ्यालैमुनि त्यहीँ रहनेगरी खटाएको थियो । स्वाभाविक एवम् अपरोक्ष रूपमा त्यस पुलिसले आफूलाई उचित लागेको जुनसुकै समयमा पनि मेरो कोठा चियाइरहन्थ्यो । यस कामले बजारका मानिसहरू सन्त्रस्त थिए र धेरै लामो समयसम्म तीमध्ये कसैले पनि मलाई भेटघाट र कुराकानी गर्ने आँट गरेन । एकदिन गिर्जाघर जाने बिदाको दिन- एकजना कानो मान्छे मलाई भेट्न आए । उनको एकातिरको काखीमुनि एउटा पोको थियो र त्यो बेच्नका लागि बोकेको एकजोर जुत्ता हो उनले भने । मैले जुत्ता चाहिँदैन भनेपछि अर्का कोठातिर शंकालु भएर हेर्दै अति सानो स्वरमा उनले मलाई सम्बोधन गरे । 'जुत्ता त तपाईंलाई भेट्न आउन बनाएको एउटा निहुँ मात्र हो । मैले तपाईंलाई वास्तवमा भन्न चाहेको कुरोचाहिँ के हो भने के तपाईं मलाई एउटा राम्रो किताब पढ्न दिन सक्नुहुन्छ ?'उनको एउटा आँखाको अभिव्यक्ति यति इमानदार र सुबोध थियो कि यसले मेरा सबै शंका निवारण गर्‍यो । कुन खालको किताब चाहेको हो भन्ने मेरो सवालमा उनले दिएको उत्तरले मलाई विषय ठम्याउन सजिलो बनायो । चारैतिर हेर्दै कातर स्वरमा होसियारीपूर्वक उनले भने : 'लेखक महोदय, म त्यस्तो किताब चाहन्छु, जसले मलाई जीवनको नियमका बारेमा जानकारी देओस् अर्थात् संसारको नियमका बारेमा । मैले तिनबारे अनुमान लगाउन सकिनँ । मैले जान्न चाहेको कुरो के भने व्यक्तिले जिउने तरिका कुन हो र यस्तै कुराहरू । कजानका एकजना गणितका प्राध्यापक मेरो नजिकै बस्छन् र मलाई अलि-अलि गणित सिकाउँछन् । उनी किन मलाई पढाउँछन् भने म उनका जुत्ता मर्मत गरिदिन्छु र उनको बगैँचा पनि स्यहार्छु, म माली पनि हुँ । अँ त, गणितले मैले जान्न चाहेका प्रश्नहरूको उत्तर दिँदैन र प्राध्यापक अति नै कम बोल्छन् ।' मैले 'विश्व र सामाजिक विकास' शीर्षकको ड्राइफसले लेखेको र त्यतिखेर मसँग त्यस विषयमा भएको एउटै मात्र पुस्तक उनलाई दिएँ । आफ्नो बुटको माथिल्लो भागमा होसियारीपूर्वक किताब लुकाउँदै एकआँखे मानिसले भने, 'धन्यवाद ! किताब पढिसकेपछि म तपाईंसँग कुराकानी गर्न आउन सक्छु, हैन त ? तपाईंको बगैँचाका जामुनका झाडीहरू छाँट्ने बहानामा आउँला, तपाईंलाई थाहै छ, पुलिसले तपाईंको निगरानी गर्दै छ र सामान्यतया, तपाईंकहाँ म आउनु उपयुक्त हुँदैन ।'पाँच दिनपछि उनी फेरि आए । त्यतिखेर उनीसँग चित्रा र ठूलो खालको कैँची पनि थियो । उनको फुर्तिलो हाउभाउ देखेर म एकदमै चकित भएँ । उनका आँखामा रमाइलो चहक थियो र उनको आवाज दरो र ठूलो थियो । सबभन्दा पहिले उनले खुला हत्केला सशक्त रूपले मैले दिएको पुस्तकमुनि राखे र हतार-हतारमा भने- 'यस पुस्तकको सार कुरो यस संसारमा कुनै ईश्वर छैन भन्ने होइन त ?'
पुस्तकहरू मानवजोसका शुभ सन्देशहरू हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहृ्य वेदना र सन्तापलाई प्रतिविम्बित गर्छन् ।म हतारमा निकालिएका 'निष्कर्षहरू' माथि विश्वास गर्दिनँ । त्यसैले मैले उनी त्यस 'निष्कर्ष'मा कसरी पुगेका हुन् भन्ने जान्न उनलाई सावधानीपूर्वक प्रश्नहरू राखेँ । उनले उत्सुकतापूर्वक तर शान्त रूपमा भने, 'मेरा लागि त यही नै मुख्य कुरो हो ।' धेरै मानिसले मसँग तर्क गरेजस्तै मैले तर्क गरेँ : यदि सर्वशक्तिमान् ईश्वरको अस्तित्व छ र सबै कुरो उसको इच्छाअनुसार हुन्छ भने त मैले उनकै आदेशबमोजिम नम्रतासाथ उनीमाथि आफूलाई समर्पण गर्नुपर्छ । मैले धेरै देवताका बारेमा लेखिएका किताबहरू पढेको छु- बाइबल र त्यस्ता थुप्रै धार्मिक कृतिहरू । तर, म र मेरो जीवनप्रति म आफैँ जिम्मेवार छु कि छैन यो कुरो जान्न चाहन्छु । धर्मशास्त्रहरू भन्छन् तिमी आफैं जिम्मेवार छैनौ, तिमीले ईश्वरको इच्छाअनुसार नै बाँच्नुपर्छ, किनभने विज्ञानले कहीँ कतै पुर्‍याउँदैन । यसको अर्थ खगोलशास्त्र पाखण्ड र नक्कली कुरो मात्र भयो, गणित र अरू सबै विषय पनि यस्तै हुने भयो । वास्तवमा, अन्धभक्तिका पक्षमा कोही पनि हुँदैन, के तपाईं अन्धभक्तिका पक्षमा हुनुहुन्छ ?'मैले उत्तर दिएँ- 'अहँ, म त छैन ।''त्यसो हो भने मैले चाहिँ किन यस कुरालाई मान्ने नि ? तपाईं धर्मविरोधी भएको कारणले तपाईंलाई पुलिसको निगरानीमा यहाँ पठाइएको छ । यसको अर्थ के हो भने तपाईं धार्मिक उपदेशका विरुद्ध उठ्नुभएको छ । मैले जानेअनुसार कारण के हो भने सम्पूर्ण विपक्षी मतहरू पवित्र धर्मग्रन्थका विरुद्ध निर्देशित हुनैपर्छ । आत्मसमर्पणका सम्पूर्ण नियमहरूको स्रोत धर्मशास्त्र नै हो । यसका विपरीत स्वतन्त्रताका नियमहरू सबै विज्ञानबाट निस्कन्छन् अर्थात् मानिसको मस्तिष्कबाट । म यहाँ अरू बढी तर्क गर्छु : यदि ईश्वर छ भने यसबारेमा मेरो भन्नु केही पनि छैन । तर, यदि ईश्वर छैन भने म आफैं हरेक कुराका लागि आफ्नै लागि, अरू सबै मानिसका लागि, उत्तरदायी हुन्छु । म जिम्मेवार हुन चाहन्छु गिर्जाघरका पवित्र धर्मगुरुहरूले देखाएको उदाहरणअनुसार, तर फरक तरिकाले जीवनका खराब पक्षहरूप्रति समर्पण गरेर होइन, तिनकै विरोधमा उभिएर । उनले आफ्नो हत्केला फेरि किताबमुनि राखे र झुक्तै नझुक्ने विश्वाससहित भने- 'सबै समर्पण वा सहिष्णुता खराब हो, किनभने यसले खराबीलाई बलियो बनाउँछ । मलाई क्षमा गर्नुहुनेछ, तर यो त्यस्तो किताब हो, जसमाथि म विश्वास गर्छु । मेरा निम्ति यो अनकन्टार जंगलमा बाटो देखाउनेसरह छ । मैले निश्चित गरिसकेको छु- हरेक कुराका लागि म आफैं व्यक्तिगत रूपले जिम्मेवार छु ।'राति अबेरसम्म हाम्रो मित्रतापूर्ण कुराकानी भई नै रह्यो । एउटा साधारण र सानो पुस्तकले सन्तुलनलाई उल्ट्याइदिएको मैले पाएँ, यसले ती काना मानिसको विद्रोहपूर्ण खोजीलाई तीव्र विश्वासमा, सौन्दर्य एवम् विश्वविवेकको शक्तिको उल्लासपूर्ण उपासनामा परिवर्तन गरिदियो । वास्तवमा, यी सुन्दर, बुद्धिमान् मानिसले जीवनका खराबीका विरुद्ध संघर्ष गरे र सन् १९०७ मा साहसपूर्वक आफ्नो ज्यान गुमाए । ***रूखो रैबाकोभलाई जस्तो गरेका थिए किताबहरूले, ठीक त्यस्तै मेरो कानैमा आएर अर्के जीवनको अस्तित्वका बारेमा साउती मारेका थिए । त्यो अर्का संसार अहिले म बाँचिरहेको संसारभन्दा मानिसका लागि बढी मूल्यवान् थियो । किताबले कानो जुत्तानिर्मातालाई जे गरेका थिए, ठीक त्यस्तै मलाई जीवनमा मेरो स्थान कहाँनिर छ भन्ने देखाए । मन र हृदय दुवैलाई उत्प्रेरित गरेर किताबहरूले अज्ञानता र असभ्यताको दलदलमा फँसाउने घिनलाग्दो भासबाट मुक्त हुन मलाई मद्दत गरे । मेरो संसारका सीमाहरूलाई फैलाएर पुस्तकहरूले उन्नत जीवन प्राप्त गर्न मानिसले गरेका प्रयत्नहरूको महत्ता र सौन्दर्यका बारेमा, संसारमा मानिसले कति बढी उपलब्धिहरू गरिसक्यो र त्यो प्राप्त गर्न उसले कति डरलाग्दा कष्टहरू भोग्नुपर्‍यो र कति ठूलो मूल्य तिर्नुपर्‍यो भन्ने बारेमा जानकारी गराए । मेरो आत्मामा मानिसप्रति, जो कोही नै किन नहोस्, हरेक मानिसप्रति सम्मानको भावना उर्लियो । मेरो भित्री हृदयमा मानिसको श्रमप्रति आदर र उसको अशान्त आत्माप्रति एक्कासि माया उमि्रयो । जीवन अझ सहज तथा बढी नै आनन्ददायी र नयाँ एवम् गहन अर्थले भरिपूर्ण भयो । एकआँखे जुत्तानिर्मातालाई जस्तै किताबहरूले ममा जीवनका हरेक खराबीका लागि व्यक्तिगत जिम्मेवारीबोधको भावना उत्पन्न गरे र मानवमनको सिर्जनशीलताका लागि आदरभाव जगाए । सत्यमाथिको गहन विश्वासको मेरो दृढ धारणासहित म सबैलाई भन्दछु- पुस्तकहरूलाई माया गर्नुहोस्, तिनले तपाईंको जीवनलाई अरू सहज बनाउनेछन्, तिनले विचार, आवेग र घटनाहरूको रंगीचंगी र प्रचण्ड अन्योलमा बाटो पहिल्याउन मित्रतापूर्ण सेवा प्रदान गर्नेछन्, आफू र अरू मानिसलाई सम्मान गर्न सिकाउने छन् र संसार र मानिसप्रति मन र हृदयभरि माया भरिदिनेछन् ।इमानदारीका साथ लेखिएको, मानिसहरूलाई माया गर्ने, असल आशय भएको कुनै पनि पुस्तक तपाईंको विश्वासकै प्रतिकूल छ भने पनि प्रशंसालायक हुन्छ । कुनै पनि किसिमको ज्ञान उपयोगी हुन्छ, मनका भ्रमहरू र भ्रमपूर्ण आवेग-संवेगहरूको ज्ञानसमेत उपयोगी नै हुन्छ । पुस्तकलाई माया गर्नुहोस् । पुस्तकहरू ज्ञानका स्रोत हुन्, ज्ञान लाभदायी मात्र हुन्छ र ज्ञानले मात्र तपाईंलाई आत्मिक रूपले शक्तिशाली बनाउन, इमानदार र बुद्धिमान् बनाउन, मानिसलाई सही रूपमा माया गर्ने सक्षम व्यक्ति बनाउन सक्छ । ज्ञानले नै मानवको श्रमप्रति आदरभाव जगाउँछ र अति राम्रा उपलब्धिका लागि मानिसका अनवरत र उच्च प्रयत्नहरूलाई हार्दिक रूपले प्रशंसा गर्न सिकाउँछ ।मानिसले कार्य गरेको हरेक कुरामा, अस्तित्वमा भएको कुनै पनि एक्लो वस्तुमा मानिसको आत्माको केही न केही अंश सामेल भएकै हुन्छ । यो निर्मल र उत्कृष्ट आत्मा अरू कुरामा भन्दा विज्ञान र कलामा महत्तर मात्रामा समावेश हुन्छ र यसले पुस्तकको माध्यम र कार्यबाट महानतम वाक्पटुता र स्पष्टताका साथ आफूलाई व्यक्त गर्छ ।

सिद्धिचरण : एक रक्षाकवच

कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आपmनो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा 'मेरो प्यारो ओलखढुंगा'को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । उनका लागि ओखलढुंगा प्राकृतिक सौन्दर्यले सिँगारएिको स्वर्गसमान थियो र त्यसको प्रतिलोमरूपी काठमाडौँ थियो उजाड मरुभूमितुल्य मानव-बस्ती । कविता स्मृतिपटमा ओखलढुंगाकै भावुक सम्झना साँचेर जिउने उनको आत्म-सान्त्वनाकारी सम्झौताको कथा कहेर टुंगिएको थियो । ऊबेला म कविलाई दुर्लभ धातुले बनेको बिछट्टको प्राणी ठान्थेँ । काठमाडौँ आएपछि सिद्धिचरणलाई जब भेटेँ, उनको रूपाकृति र बोलीको शैली मलाई एकदमै निष्प्राण र प्रभावहीन लाग्यो । मेरो मनचिन्ते कल्पनाको भव्य सिद्धिचरण अर्कै थियो, कठोर यथार्थको धरातलमा अर्कै सिद्धिचरण प्रकट भयो । अपेक्षा र प्राप्तिबीचको द्वन्द्वले डसेर मेरो चित्त त्यसैत्यसै विरक्तियो ः अरे बाबा ! त्यस्तो कविता रच्ने कवि सिद्धिचरण यस्तो कसरी हुनसक्छ ? अनुहारमा चिताएजस्तो आभा छैन । आँखामा कल्पिएजस्तो चमक छैन । मुद्रामा आश गरेजस्तो ओज र स्पन्दन केही छैन । उसो त हाउभाउमा भनेजस्तो फुर्ती र उमंग पनि छैन । झलक्क हेर्दा अपरििचत चरोजस्ता प्रतीत हुने । ठूलो कालो पmेम भएको खुबै पावरदार चस्माभित्र उदास चिम्सा आँखा । ज्यान फुकीढल लाग्ने, बोल्दा अकमकिने । उनको शुष्क स्वर भित्रभित्रै कामिरहेजस्तो लाग्ने र बाहिर ओठै कामेको देखिने । कहाँको मेरो कल्पनाको आदर्श सिद्धिचरण, कहाँको उनको त्यो विकर्षक यथार्थ रूप !२०२५ साउन महिनाको एक बिहान । अविराम गतिमा झम्झम् पानी पररिहेको थियो । मित्र रामबाबु सुवेदी र म उनलाई भेट्न झोँछेको उनको घरमा पुग्यौँ । क्यासेटमा सानो स्वरमा सुमधुर धुन बजिरहेको थियो । सिद्धिचरण मग्न मुद्रामा हुक्का गुडगुड-गुडगुड तानिरहेका थिए । तमाखुको मनै लोभ्याउने खालको सुगन्ध कोठाभर िव्याप्त थियो । उनको को, कहाँबाट र किनको उत्तर हामीले विनयशील वचनमा दियौँ । हामी विद्यार्थी । हाम्रो घर काठमाडौँबाहिर पूर्व र पश्चिम । हामी त्रिचन्द्र कलेजमा अध्ययनरत साहित्यका विद्यार्थी । हामी कविजीका पmयान । हामी साहित्यबारे केही सुन्न र सिक्न कविजीछेउ आएका ।चियापानपछि सिद्धिचरणले उत्कृष्ट साहित्यको अध्ययन, लेखन अभ्यास र रचनाको कलात्मक परपिाकबारे केही भने । सुदूरपूर्वी भेगको गाउँबाट आएको झर्रो नेपालीभाषी म । नेपालभाषी सिद्धिचरणको 'त' र 'ट' साटफेर हुने वर्णशंकर नेपाली उच्चारण मलाई एक उदेकको लाग्यो । उनले भनेको आधाजसो मैले बुझेँ, आधाजसो बुझिनँ । एकथोक चिताएर आएको थिएँ, भयो अर्कैथोक । सिद्धिचरणसँगको पहिलो साक्षात्कारले ममा उनीप्रति आकर्षणभन्दा कसोकसो विकर्षण नै पैदा गरििदयो । खिसि्रक्क परेको मनको तारमा एउटा असन्तुष्ट आवाज गुन्ज्यो ः आ... यस्ता नाथे सिद्धिचरण !बिरानो कान्तिपुरी नगरीमा ज्ञानी र प्रेरक मनुवा खोजी हिँड्दा गोविन्द भट्ट र टीआर विश्वकर्मासँग मेरो भेट भएथ्यो । सधैँ गुरु-गम्भीर देखिने र चिन्तनको चापले निधार मुजा पार्दै गहन दर्शन बोल्ने गोविन्द भट्ट नेपाल-चीन मैत्री संघमा जागिर खान्थे, प्रायः पटर-पटर बोलिरहने टीआर विश्वकर्मा मातृभूमि साप्ताहिकमा कलम घोटेर सुखम्-दुःखम् गुजारा चलाउँथे । ती दुवै मानवले माक्र्सवादको क्रान्तिकारी झन्डा बोकेका थिए । र पनि, ती मुक्त कण्ठले सिद्धिचरणको तारपिm गर्थे । ती सिद्धिचरणको नाउँका अगाडि उच्च आदरभावसाथ 'युगकवि'को टुप्पी जडान गरििदन्थे । 'युगकवि'को अर्थ युगीन चेतनाको संवाहक होला भनी मैले लख काटेँ । कुरा सुन्दै र अर्थ बुझ्दै जाँदा गोविन्द भट्ट, टीआर विश्वकर्मा र दुर्गालाल श्रेष्ठबाट मैले राणा शासनविरोधी जोदाहा सिद्धिचरणको परचिय पाएँ । म तीन छक् परेँ ः शुष्क र सुस्त प्रतीत हुने यी कृषकाय मनुवालाई ज्यान बाजी थापेर निरंकुश सत्तासँग जुध्ने त्यत्रो आँट कहाँबाट आयो होला  ? अनि, क्रूर राणाशासकहरूका कठोर चित्तमा ज्यानमारा क्रोध जगाउने गरी 'क्रान्तिबिना थन वईमखु स्वच्छ शान्ति' अर्थात् 'क्रान्तिबिना यहाँ स्वच्छ शान्ति आउँदैन' भनी गर्जन गर्ने त्यत्रो साहस यिनमा कसरी पलायो होला ? यसरी सिद्धिचरण मेरालागि नांगा आँखाले देखिने व्यक्ति र त्यसमा अन्तरनिहित सिर्जनशीलता तथा सौर्यबीचको विरोधाभासको एक रहस्यमय बिम्व बने ।मेरो साहित्यिक सत्संग, संवाद र लेखन अभ्यास चालू रह्यो । सिद्धिचरणसँग कहिले बाटामा त कहिले साहित्यिक कार्यक्रममा भेट हुने क्रम पनि चलिरह्यो । गोरखापत्र, रूपरेखा र भानुमा मेरा केही कविता र कथा छापिए । भेट हुँदा सिद्धिचिरण अभिभावकीय स्नेहका साथ मेरो हात समात्थे, ममतामय चालले मेरो हात मुसार्थे र मेरो जिज्ञासु मानसमा हौसलाका तरंगहरू सञ्चार गरििदन्थे । 'तपाईं हृदयको आवाज बोल्नुहुन्छ' भनेर ती मलाई फुक्र्याउँथे । तर, हाम्रो लामो बातचित भने खासै हुँदैनथ्यो । एक दिन अचम्म भयो । पेप्टिक अल्सरले थला परेर म वीर अस्पतालको शय्यामा लमतन्न सुतेको थिएँ । बिहान त्यस्तै ९ बजेको हुँदो हो । मेरो अगाडि बर्दीधारी एउटा सिपाही झ्वास्स आइपुग्यो । कम्मरमा पिस्तोल भिरेको हेर्दैमा आङ सिरंिग हुने पहलमानी जवान ! म झस्केँ । निरंकुश राजाको सिपाही अस्पतालमा मेरो अगाडि किन ? उत्निखेरै देखेँ ः सिद्धिचरणको घोप्टो परेको हत्केलो आशीर्वादको भावमा मेरो माथतिर लम्किरहेछ । तिनले मेरो निधार छामे । मेरो टाउको मुसारे । तिनको अनपेक्षित आगमनबाट म एकसाथ चकित र हषिर्त भएँ ।"कस्तो छ, बाबु ?" अनुरागयुक्त चिन्ता घोलिएको स्वरमा तिनले सोधे ।"ठीकै छ, कविगुरु ।" तिनको हाडे हात स्पर्श गर्दै मैले भनेँ ।डाक्टरहरू राउन्डमा आए । उसै त नाउँ चलेका कवि सिद्धिचरण, अझ त्यसमाथि राजाको सिपाही पछि लाएर आएका । डाक्टरहरूले तँछाड-मछाड गर्दै अत्ताल्लिएको मनोदशामा निहुरएिर तिनलाई नमस्कार गरे । "यी बाबु लेखक हुन् ।" तिनले डाक्टरहरूलाई सम्झाए ः "राम्रोसँग यिनको उपचार गरििदनू ।"डाक्टरहरूले बडो आज्ञाकारीसाथ मुन्टा हल्लाए ः हस्, हजुर ।सिद्धिचरण राजसभा स्थायी समितिका सदस्य थिए । त्यसैले त सत्ताको निशानी त्यो सिपाही उनको छायाँसरी उनको पछिपछि हिँड्थ्यो । सिद्धिचरणको प्रभावले हो कि पिस्तोलधारी त्यो सिपाहीको प्रभावले हो मलाई थाहा छैन, त्यसपछि डाक्टरहरूको मलाई हेर्ने दृष्टि नै फेरयिो । तिनका बचन नरम भए । ती सोधेका कुराको झर्को नमानीकन जवाफ दिन थाले ।त्यसबेला म कोही थिइनँ । म त केवल सुदूरपूर्वी पहाडको विकट पाखोबाट ज्ञानको खोजीमा काठमाडौँ आएको एक अबोध ठिटो थिएँ । बल्लतल्ल मेरो लेखकीय विम्बको भू्रण बन्दै थियो । म न सिद्धिचरणको कुनै नातेदार थिएँ, न त उनको समकालीन लगौँटिया यार नै । तैपनि, सिपाहीलाई पछि लाएर ती मलाई भेट्न अस्पताल आए । तिनको सरलता, तिनको विनम्रता र तिनको मानवीय भावनाले मेरो हृदय स्पर्श गर्‍यो । र, मेरा नजरमा तिनको छविको रूप अर्कै भयो । संवेदनशील, ज्ञानी र करुणामयी कविवर सिद्धिचरण !त्यो सत्ताको उन्मादले पञ्चायती राज कालसरह विकराल हुँदै गएको कुकाल थियो । नागरकिलाई मनका लागेका कुरा न खुलेर बोल्ने हक थियो न त देशमा फुक्काफाल डुलपिर गर्ने हक नै थियो । हामी वाम झुकावका विद्यार्थीहरू सत्ताका आँखा छल्न साहित्यको आवरणभित्र राजनीति गथ्र्यौं । सिद्धिचरण श्रेष्ठ हाम्रा रक्षा-कवच भइदिन्थे । साहित्य मन्थन वा साहित्य वाचन कार्यक्रममा हामी उनलाई प्रमुख अतिथि बनिदिन बिन्ती गथ्र्यौं । उनी एकरत्ति भाउ नखोजीकन सुरुक्क आइदिन्थे । उनको उपस्िथति हाम्रा लागि फलामे तारको बारजस्तो हुन्थ्यो । राजाको पुलिस त्यो बारभित्र पस्न आँट गर्दैनथ्यो । लाग्थ्यो, पुलिस पसिहालेछ भने पनि सिद्धिचरणका सामु त्यसले हामीलाई कुट्ने छैन । कदाचित पुलिसले पकडिई हालेछ भने पनि हामीले राजा र व्यवस्थाविरोधी कुरा गर्‍या छैनाँै, हाम्रा कुरा सुन्ने साक्षी सिद्धिचरण छन् भनेर फुत्किन पाइएला भन्ने लाग्थ्यो । यसरी हामी वामयुवाहरूका लागि सिद्धिचरण साहस र ढाडस, प्रेरणा र ढाल धेरैथोक थिए । "गुरु, एउटा कविता वाचन गरपिाऊँ ।" हरेक कार्यक्रममा सिद्धिचरणसँग हामी आग्रह गथ्र्यौं । हामीलाई मन पर्ने र बाँची सुनाउन उनलाई जाँगर लाग्ने कविता उही थियो । उनको काम्दो स्वरमा कविताको लय यसरी तरंगित हुन्थ्यो ःनेपाली हुँ कठिन गिरमिा चढ्नलाई सिपालुबैरी नै होस् तर पनि म छु दीनमाथि दयालुतातो रातो रगत रपिुको प्युन हर्दम् तयारमेरो, मेरो पि्रय खुकुरी हो हेर भै होसियार ।पछिल्ला दुई हरफमा कविको नेपालभाषी जिब्रोमा 'त' र 'ट' सट्टापट्टा हुन्थे र कविताको ध्वनिले टाटो राटो रगट रपिुको प्युन हर्डम टयारजस्तो विचित्रको रूप धारण गथ्र्यो । कविको यो उच्चारण वामयुवा जगत्मा कण्ठस्थ र पि्रय थियो । वाम युवा-वृत्तमा कविको फुल नाउँ नै टाटो-राटो कवि रहन गएको थियो । म कलेजको विद्यार्थी छँदा काठमाडौँमा अञ्चलको नाउँमा खोलिएका अनेक युवा संगठन थिए । तिनमा गण्डकी विद्यार्थी परष्िाद् विशेष क्रियाशील थियो । त्यसले लालुपाते नामक सामयिक संकलन छाप्थ्यो । र, घरघिर िविचार गोष्ठी र साहित्य गोष्ठीको चाँजोपाँजो मिलाउँथ्यो । ०२७ साल माघमा त्यसले पोखरामा यस्तै कार्यक्रमको आयोजन गर्ने भयो । अब रक्षा-कवच त चाहियो नै । सदाझैँ रक्षा कवचरूपी सिद्धिचरण प्रमुख अतिथि बने । युवा र साहित्यबारे बोल्दा मेरो जिब्रोबाट दुई-तीनपटक क्रान्ति शब्द फुत्किन पुगेछ । कुरो गडबड भइहाल्यो । अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ सुराकीको भेषमा कान थापेर मञ्चमा बसेका थिए । तिनले सिद्धिचरणलाई खुसुक्क भनेछन्, "कविगुरु ! यो क्रान्ति शब्दले मेरो जागिर खाने भो । कि त मैले यो केटालाई पक्राउ गर्नुपर्‍यो कि कविजीले कुरामा रपmफु भरििदनु पर्‍यो ।" नभन्दै सिद्धिचरणले कुरामा ट्याक्क रपmफु भरहिाले । तिनले भने, "यहाँ चर्चामा आएको क्रान्ति राजनीतिक क्रान्ति होइन । यो त केवल सामाजिक क्रान्ति हो ।" बस्, पक्राउ र यातनाबाट म जोगिएँ, जागिर चट् भएर जोगी हुनबाट अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ जोगिए । कार्यक्रमपछि रक्षाकवचलाई अघि लगाएर हामी गाँस र बासको व्यवस्था मिलाइएको होटलमा गयौँ । पोखरेली जाडो कडा थियो । उत्पात उत्तेजित र हषिर्त हुँदै सिद्धिचरणले भने, "आज कार्यक्रम अति राम्रो भो । ल खुसीयालीमा म त उत्सव मनाउँछु ।"टीआर विश्वकर्मालाई सिद्धिचरणका मुखबाट आपmनै तिर्सना पोखिएझैँ लागेछ क्यार । तिनले हौँसिदै भने, "हो, हो । आज विजय-उत्सव मनाउने हो ।"अनि, ती दुई जनाले बडो उत्सवी मुद्रामा मदिरा पान गरे । पछि शुद्ध विचार, शुद्ध व्यवहार र शुद्ध आचरणमा अडिग युवा आयोजकहरूले टीआरको टिप्पा काडे । माक्र्सवादी क्रान्तिकारी भएर पनि रक्सी पिउने ? दुनियाँले चाल पाउने गरी गति छाड्ने ? आपmनो बचाउ पक्षमा टीआरले कुनै तर्क गरे कि वाम कर्मकाण्डमा प्रचलित सूत्र जप्दै 'म आत्म-आलोचित भएँ' भने मलाई सम्झना छैन ।म सम्झन्छु, वाम युवा वृत्तमा 'सिद्धिचरण' र उनको 'तिम्रो बासित पैसा छैन' भन्ने कविता एकअर्काका पर्यायझैँ मानिन्थे । यही कवितालाई दसी बनाएर सिद्धिचरणलाई गरबिका असल साथी र संवेदनशील सहयोगीका रूपमा आदर गरन्िथ्यो । तर, सिद्धिचरणको व्यक्तित्वको अर्को पाटो पनि थियो । उनको व्यक्तित्वको यो पाटो देखाएर उनलाई मधेसी मौजाको मालिक भन्नेहरू पनि थिए । वास्तवमा सिद्धिचरणको व्यक्तित्व तीन विपरीत तत्त्वको योग थियोझैँ लाग्छ । मधेसी मौजाका मालिक, राजाको राजसभाका सदस्य र गरबिका साथी र सहयोगी वागी कवि । मलाई लाग्छ, यो तेस्रो तत्त्वको जाज्वल्यमान प्रकाशका मुखेन्जी अघिल्ला दुई तत्त्व उनको व्यक्तित्वको पाद टिप्पणीमा पर्छन् । ०२८ सालमा म लमजुङको खुदीमा केही समय हाइस्कुलको हेड मास्टर भएको थिएँ । मस्र्याङ् दी र खुदी नदीको त्यस संगम थलोमा अहोरात्र नदी सुसाएको सुनिन्थ्यो । त्यस दुर्गम स्थलमा जगत्को सूचना-प्रवाहदेखि टाढा एकान्तमा एकलासे जीवन बिताउन म विवश थिएँ । एक दिन खुनी शाही सत्ताले झापाको सुखानी वनमा पाँच वागी सपुतको बध गरेको खबर मैले सुनेँ । त्यो समाचारको झट्काले मेरो मन त्यसैत्यसै उदास भयो । म विद्यालयनजिकैको धर्मशालामा बस्थेँ । उदासीको त्यो क्षणमा उदात्त आदर्शको निम्ति वीरतासाथ जीवन आहुति दिने ती पाँच सहिदप्रति श्रद्धाञ्जलि प्रकट गर्न मैले सिद्धिचरण श्रेष्ठकृत कविताका चार हरफ लेखेर भित्तामा टाँसे ःसागरको बीच आइसकेपछि भयले अब हट्न हुँदैनआँधी आई कुर्ले कुर्लोस् अब हिम्मत हार्न हुँदैन डुब्ला, मर्ला अरू के होला यत्ति न हो त्रास तँलाईलाखौँ डुब्छन्, लाखौँ मर्छन् जगको रीत चलाउनलाई ।अनेक सन्दर्भमा उपयोगी थिए हामी वामयुवाका रक्षाकवच 'युगकवि' सिद्धिचरण श्रेष्ठ ।
Khagendra Sangroula

'रोगले भन्दा बेसी पिर्‍यो समाजले'

खाना परैबाट दिन्थिन् सासूले, लोग्ने त बोल्नै छाडे, अरु मान्छे पनि कम बोल्न थाले, बोल्नेहरु पनि परैबाट बोल्थे, पँधेरोमा भाँडा फालिदिन्थे, अपमानको के गन्ती, सहिसक्नु नै थिएन ।आफूलाई देख्दैमा कोही डरायो भने तपाईं कस्तो महसुस गर्नुहुन्छ ? यस्तो त सयौंपटक बेहोरेकी छु मैले । मलाई देख्नासाथ जोकोही तर्सिन्छ । मेरा बांगिएका औंला देख्नेहरू मसँग झस्कन्छन् । नयाँ पत्रिका कार्यालय छिर्दै ५३ वर्षीया मीठु सञ्जेलले भनिन्, 'कस्तो रोग रहेछ यो, जसले जिन्दगीभरि रोगीको 'ट्याग' भिराइदिँदोरहेछ ! म आफैंसँग भयातुर हुन्छु ।'
महिला वा दलित अपमानित भए भने उजुरी हाल्ने ठाउँ छ, रोगीलाई खै ?
खाना परैबाट दिन्थिन् सासूले, लोग्ने त बोल्नै छाडे, अरु मान्छे पनि कम बोल्न थाले, बोल्नेहरु पनि परैबाट बोल्थे, पँधेरोमा भाँडा फालिदिन्थे, अपमानको के गन्ती, सहिसक्नु नै थिएन ।'मान्छेका आँखामा मप्रति यति घृणा र तिरस्कार देख्छु कि आफैं अचम्ममा पर्छु, सुरुसुरुमा त निकै चिन्ता लिन्थेँ, पछि त बानी पर्दै गयो नानी !,' उनी भन्छिन् ।गोठाटार निवासी ५३ वर्षीया मीठुलाई ४० वर्षअघि कुष्ठरोगले समात्यो । निको हुनै १० वर्ष लाग्यो । अहिलेको जस्तो औषधि थिएन त्यतिवेला, औषधिको परीक्षण हुँदै छ भन्थे डाक्टर । १२ वर्षकै उमेरमा बिहे भो मीठुको । छोरीका लागि विद्यालय थिएनन् त्यतिवेला ! घरमै कखरासम्म चिनिन्, बिहेअघि दाइसँगै । 'बिहेको एक वर्षपछि खुट्टा फुट्न सुरु भयो । खुट्टा फुट्नुसम्म त त्यति ठूलो समस्या थिएन, हिलोले पनि फुट्छ । डेढ वर्ष उसै बिते । उपचारको टन्टै उठाइएन,' उनले भनिन् । 'अस्पताल पुर्‍याइदेऊ भन्ने आँट कहाँ थियो र ? यस्तो भो भन्न पनि गाह्रो ! सासूसँग डर लाग्थ्यो, श्रीमान् त्यति बोल्दैनथे,' उनले भनिन् । सासू र श्रीमान्ले सोचेछन्, 'भूतप्रेत लाग्यो कि, बोक्सीको आँखा पर्‍यो ।' झाँक्री पो बोलाए । ढ्यांग्रोको आवाज र झाँक्रीको कम्पनले घर हल्लायो, उनको खुट्टाको 'भूत' भागेन । 'खुट्टाको बेथा, नाइटोमा खरानीझैं भयो ! घरको आश रहेन । माइत पुगिन् । सोचिन्, 'आफैं डाक्टरलाई देखाउँछु ।' र, पुगिन् वीर अस्पताल । डाक्टरले टिबीको आशंका गरे र खकार जाँच्न लगाए । तर, रिपोर्ट नेगेटिभ आयो । उनी वीर अस्पताल धाउन थालेको चार दिन भइसकेको थियो । घर र्फकंदै गर्दा कोटेश्वरमा भेटिएकी एउटी दिदीले सोधिन्, 'नानी ! के भयो ? धेरै दिनदेखि बाटोमा देख्छु ।' मीठुले हाल-बेहाल बेलिबिस्तार लगाइदिइन् । केही सोचेर उनले मलाई ढाडस दिँदै भनिन्, 'नआत्तियौ, निको हुन्छ, हामी भोलि आनन्दवन जाने !' 'थुप्रो पैसा लाग्ला नि दिदी !' मीठुले सोधिन् । 'केही छैन, तिमी आऊ न !' पछि थाहा पाइन्- उनी पनि कुष्ठरोगी रहिछन् ।मेरो खुट्टो हेरेपछि आनन्दवनका डाक्टरले भने, 'यो त कुष्ठरोग हो !' म झसङ्ग भएँ । उनले देखिन्, त्यहाँ थुप्रै कुष्ठरोगी, अंगभंग भएका ! उनी त सद्दे नै थिइन् । 'त्यसैले रोगीजस्तै महसुस भएन मलाई,' उनले सुनाइन् ।केही समय माइतै बसेर औषधि गरिन् । रोग निको भएको थिएन । घर र्फकेपछि सासूले पनि थाहा पाइन् । त्यही दिन सासूले छिँडी देखाउँदै भनिन्, 'यहीँ सुत्नू अबदेखि !' त्यस क्षण उनलाई लाग्यो, 'यो रोग साँच्चै भयानक रहेछ ।' खाना परैबाट दिन्थिन् सासूले । लोग्ने त बोल्नै छाडे । गाउँलेले पनि बिस्तारै चाल पाए । खासखुस चल्न थाल्यो । कतिले त हाक्कै भनिदिए, 'पापी रै'छे यो त !' ***भर्खर १५ टेक्दै थिइन् । त्यो बालापनले सहन सकेन परिवारको टोकसो र गाउँलेको घृणा । सोचिन्, 'माइतै जान्छु ।' माइतीमा पनि कहाँ सुविस्ता ! मान्छे तिनै थिए । धेरैजसो कम बोल्न थाले । बोल्नेहरू पनि परैबाट बोल्थे । पँधेरोमा भाँडा फालिदिन्थे । 'अपमानको के गिन्ती, सही सक्नै थिएन ।एक दिन डाक्टरले दाइलाई अस्पतालमा बोलाएर भने, 'तिम्री बहिनीलाई नसर्ने कुष्ठरोग लागेको छ । तिम्रो सानो बच्चा उनले खेलाउँदा केही हुँदैन है । चाहिए कागज बनाइदिउँला ।' उनले कागज लगे र गाउँलेलाई देखाए । गाउँलेले पत्याएनन् । भने, 'यो त बिहेमा छापेको कार्डजस्तो पो छ !'गाउँलेले त मानेनन् नै, घरकै भाउजूले पनि मानिन् । एक दिन हस्पिटलबाट र्फकेर माइत के पुगेकी थिइन्, भाउजूले भाँजो हालिन्, 'गौदानै नगरी नन्द घर छिरी !' यत्ति निहुँबाट घरमा लफडा सुरु भयो । गाउँले भेला भए । भाउजूले सर्तै तेस्र्याइन्, 'यहाँ अब कि यो बस्छे, कि म ।' दाइले भने निकालिहाल्न सकेनन् । भने, 'कहाँ पठाऊँ, यसलाई मर भनौँ ?' जाने ठाउँ कहीँ थिएन अब । आनन्दवन जाँदा एउटी बेलायती दिदीलाई चिनेकी रहिछन् । उनले तुलसी मेहरसँग कुरा गरिछन् । एक दिन तुलसी मेहर माइतीसम्म मीठुलाई खोज्दै आए, आश्रम लैजान । उनलाई पनि आश्रय चाहिएको थियो । उनी आश्रम गइन् । त्यहाँ बस्ने खर्च शान्तिवन अस्पतालको सामाजिक सेवा कार्यालयले दियो दुई वर्षसम्म । त्यसपछि उनी आफंै पढाउन थालिन्, प्रौढ शिक्ष्ाा । त्यसैले आश्रमको खर्च टथ्र्याे । सिलाइबुनाइ पनि आउँथ्यो । त्यसले थप सहयोग गर्‍यो । ***एक दिन कसैले सुनायो, 'तिमीजस्तो मान्छे धर्मशास्त्र पढ ।' बागबजारको एउटा स्कुलमा धर्मशास्त्र पढाइन्थ्यो । तर, त्यो सार्वजनिक थिएन । कारण, त्यहाँ क्रिस्चियन शिक्षा पढाइन्थ्यो । पञ्चायतकाल थियो । आधारभूत शिक्षा लिन दुई वर्ष लाग्यो । त्यहाँबाट २५ रुपैयाँ मासिक पाइन्थ्यो, पकेट खर्चबापत । निस्केपछि त्यो पनि छुट्यो । आश्रममा सिलाइबुनाइ सिकेकी थिइन् । हप्तामा तीन दिन त्यही गर्न थालिन् । चार दिन चर्चलाई दिन्थिन् । त्यसबाट पनि अलिअलि पैसा आउँथ्यो । रोगीलाई अस्पतालसम्म पुर्‍याउने खर्च टथ्र्याे । धर्मशास्त्रको पढाइले सेवा-भाव त दिएको थियो नै, पछि जागिर पनि दियो वार्डेनको । पैसा आउँथ्यो । काम पनि रमाइलै थियो । सबैले सम्मान गर्थे उनलाई । तर, एक दिन जागिर दिने सरले नै चित्त दुखाए । विद्यार्थी परिचय कार्यक्रम थियो । 'यी कुष्ठरोगी पोइले छोडेकी !' म त झसंग भएँ । के भनेका होलान् है, सरले नै । उनलाई अझै थाहा छैन, त्यसो किन भने ? किनकि उनले सोधेकी छैनन् । त्यहाँ आठ वर्ष काम गरेपछि त्यही सरले बोलाएर राजीनामा मागे । पछि थाहा पाइन्, त्यसमा त विद्यार्थीको पो षड्यन्त्र रहेछ ।श्रीमान्ले दोस्रो बिहे गरे । छोराछोरी पनि छन् । तिनकी आमा मरिसकिन् । पोहोर साल दसंैमा फोन गरे, 'आउँदिनौ घर ?' उनले भनिन्, 'चुरा किन्दिए आउँला ।' श्रीमान् बोलेनन् । त्यसैले गएकी छैनन् । ***नेपालका ५० बढी जिल्ला पुगेकी छिन् मीठु, त्यो पनि सेवाकै सिलसिलामा । कुनै संस्थाको प्रतिनिधि भएर होइन, आफ्नै पैसाले । आफ्नाभन्दा हजारगुना दुःख पाएका रोगी छन् । कतिको त पूरै अंग झरिसकेको हुन्छ, ओखती नपाएर । स्वास्थ्यचौकीमा निःशुल्क औषधि हुन्छ । लैजाने र दिने मान्छे हुँदैनन् । हिमाली जिल्ला पुग्न बाँकी छन्, पहाडमा भन्दा तराईमा बढी समस्या भेटिन् उनले । 'पहाडमा रोग लागेपछि गुफा पठाउँछन्, खान त दिन्छन्, तर तराईमा त्यो पनि पाउँदैनन्, गाउँबाटै बहिस्कार गरिन्छ,' कुष्ठरोगीमाथिको असामाजिक व्यवहारबारे उनले धेरै देखेकी, भोगेकी छिन् । खोकना जान्छिन्, कहिलेकाहीँ । त्यहाँ सरकारले सन्तान भएका कुष्ठरोगीलाई राख्न आवासको व्यवस्था गरेको छ । 'तर, कतिलाई त्यहाँबाट पनि निकाल्न स्वयं छोराछोरीले दबाब दिन्छन् !,' उनले भनिन् ।आनन्दवन, लालगढ, अस्पतालमा कुष्ठरोगीको उपचार हुन्छ । त्यहाँ रोगी आउँछन् । गाउँघरमा यति अपमान हुन्छ कि र्फकन मान्दैनन् । त्यसैले उनलाई लाग्छ, रोगीमाथि हुने अपमानलाई सरकारले अपराध मानोस् । 'महिला वा दलित अपमानित भए भने उजुरी हाल्ने ठाउँ छ, रोगीलाई खै ?,' उनको प्रश्न छ ।प्रमिला देवकोटा shovabi@gmail.com

बिपी ठीक, कांग्रेस बेठीक





शिरीषको फूल उपन्यासका लागि मदन पुरस्कार पाएपछि पारिजातले कविता लेखिन् :


'यसैलाई म प्राप्ति ठान्न सक्दिनँ


किनकि


जहाँ पनि म जानेर होइन


भौंतारिएर पुगेकी हुन्छु ।’'


वात्स्यायन' नामले कार्टुन बनाउने नेपालका चिनिएका कलाकार दुर्गा बरालले पनि आफू 'नामी कार्टुनिस्ट' हुनुलाई पारिजातको प्राप्तिजस्तै ठान्दा रहेछन् । भएको के रहेछ भने, दुर्गा बराल कलेज पढ्दा जीवविज्ञानका कक्षामा माछा र भ्यागुताका अहिल्यै उफ्रेर हिँडिहाल्लान् कि जस्ता चित्र बनाउँथे रे ! शिक्षिकाले ती चित्र देखेर 'तिमीमा त एउटा कुशल कलाकारको प्रतिभा छ, छात्रवृत्ति खोजेर विदेश पढ्न जाने उपाय गर' भन्ने सल्लाह दिइछन् । उनी राजधानी आएछन् र छात्रवृत्ति खोज्दै वर्षौं बसेछन् । हरेकपटक उनको नाम वैकल्पिकमा निस्कन्थ्यो । यसरी आजित भएर भौंतारिइरहेका वेला नयाँ सन्देश पत्रिकाका सम्पादक रमेशनाथ पाण्डेले कार्टुन बनाइदिन आग्रह गरेछन् । विचार पाण्डेको, कला उनको । पाँच वर्ष यत्तिकै बितेपछि उनी पोखरा फर्केछन् । तर, त्यतिन्जेल कार्टुन-कलामा उनी पोख्त भइसकेका थिए र राजनीतिमा पनि रस बसिसकेको थियो ।
कार्टुन बनायो भने तात्तातै प्रतिक्रिया आउने, कलाको चर्चै नहुने । सयौँ पेन्टिङ बनाएँ । तर, सबैले मलाई कार्टुनिस्ट नै भन्छन्, कलाकार भन्दैनन् ।
कांग्रेस प्रजातन्त्रवादी पार्टी भएको हुँदा पनि म त्यस पार्टीमा गएँ । जनमत संग्रहताका बहुदलको प्रचारका लागि ठुल्ठूला पोस्टर बनाएको थिएँ । मैले बनाएका कार्टुन र पोस्टर देखेर बिपी दंग पर्नुभयो ।
'कार्टुन नसाजस्तो रै'छ । लागेपछि लाग्यो, लाग्यो । कार्टुन बनायो भने तात्तातै प्रतिक्रिया आउने । कलाको चर्चै नहुने । सयौं पेन्टिङ बनाएँ । तर, सबैले मलाई कार्टुनिस्ट नै भन्छन्, कलाकार भन्दैनन् ।' हुन पनि एउटा चित्रले हजारौं शब्दले व्यक्त गर्न नसक्ने सन्देश दिन्छ भन्छन् वात्स्यायन । कार्टुन पेन्टिङभन्दा झन् सम्प्रेषणीय हुन्छ । यस्तो कार्टुन-कलामा एकपटक हात बसिसकेपछि किन नलागून् त उनी ? वात्स्यायनसँग पोखरास्थित उनको चिटिक्क परेको एकतले घरमा भेट भयो । भर्खरै नुहाएर मुसुक्क हाँस्दै निस्केका उनी 'फ्रेस मुड'मा देखिन्थे । उस्, उनी त छिमेकीको घरमा श्राद्ध खान पो हिँड्न लागेका रहेछन् ! मलाई भित्रबाट चिया मगाइदिएर 'एकैछिन् है त' भन्दै उनी हिँडिहाले । र, एकैछिनमै पहेँला अक्षताको टीको लगाएर आइपुगे ।
४० वर्षदेखि कार्टुन बनाएका उनको हास्यचेतना भेउ पाइनसक्नु हुनुपर्छ भन्ने मेरो पुरानो अन्दाज । उनको रूपरंग, भेषभूषा र लवज, म गौर गरेर हेर्छु । सेतै फुलेको कपाल जुरेलीजस्तै ठडाएर कोरेको । झन् निधारमा पहेँला अक्षता देख्ता त मेरो हाँसो फुत्किनै आँट्यो । कार्टुनिस्ट कस्ता भने, नहाँसी बोल्नै नजान्ने । उनले कार्टुन-विद्याबारे मेरा धेरै रसिक जिज्ञासाको उत्तर हाँसेरै दिइसके । केही रुखा प्रश्न मात्रै मैले राख्न भ्याएँ ।
कार्टुनकला अर्थात् उटुंगो विद्यापहिलो प्रश्न मैले सोधेँ : कार्टुनकला खासमा के हो ? उनी पहिला हाँसे र भने, 'कार्टुनकलालाई खासमा उटुंगो विद्या भने हुन्छ । हँसाइ-हँसाई पाठकलाई वाञ्छित सन्देश सम्प्रेषण गर्ने विद्या । कसैको प्रशंसा गर्दा मात्र होइन, आलोचना गर्दा पनि हँसाउन सक्नु कार्टुनकलाको विशिष्टता हो । कार्टुनले थोरै ठाउँ लिएर पाठकलाई मनोरञ्जन, व्यंग्य, घोचपेच तथा राजनीतिक-सामाजिक सचेतनामूलक सन्देश प्रभावी ढंगले सम्प्रेषण गर्छन् ।' त्यसो भए, कार्टुनले सन्देश बढी प्रभावी ढंगले सम्प्रेषण गर्न सक्नुको कारणचाहिँ के हो नि ? मेरो दोस्रो प्रश्न ।'कारण, हँसाउने खुबी हो । गल्ती गरेका व्यक्तिलाई खिल्ली उडाउँदा पनि हँसाइ-हँसाई उसका कर्तुतको फेहरिस्त देखाइदिन सक्नु कार्टुनिस्टको विशिष्टता हो ।' 'ए, त्यस्तो विशिष्ट खुबी अरूमा भन्दा तपाईंमै बेसी हुनुको पनि कारण छ कि ?' म अबोध बन्दै सोध्छु । यो प्रश्नमा उनले आफ्नो पूरै अतीत एकसरो सम्भिmए र भने, 'अन्यजस्तै कार्टुनकलाका लागि पनि जन्मजात खुबी हुनुपर्छ । औपचारिक पाठ्यक्रम पढेर कार्टुनिस्ट बन्न सकिँदैन । त्यसैले होला, कार्टुन बनाउने विषयमा औपचारिक शिक्षा दिइँदैन । एप्लाइड आर्टअन्तर्गत कार्टुन एउटा विषय राखिएको छ, त्यत्ति हो । यद्यपि, क्षाकोठामा पढेका भरमा विरलै व्यक्ति कार्टुनिस्ट भएका छन् । कार्टुनिस्टमा हसाउने खुबी पहिल्यैदेखि विद्यमान हुनुपर्छ । मैले सानैदेखि सबैलाई हलल्ल हसाउँथेँ । एकपटक के भयो भने, मैले बाटोमा फेला पारेका ब्याट्री बटुलेर घर ल्याएँ । हातभरि ब्याट्री देखेर मामाले भन्नुभो, 'ए दुर्गा, यी फालेका ब्याट्री केमा काम लाग्छन् र बटुलेर ल्याएको ?' मैले फ्याट्ट भनेछु, 'नचाहिने वेलामा काम लाग्छन्,' सबै हाँसे ।'
दुर्गा बराल उर्फ वात्स्यायनदुर्गा बराल, 'वात्स्यायन' कसरी बने त ? यही मौकामा मैले सोधेँ । 'मैले ०३५ सालतिर पोखराबाट निस्कने प्राङ्गण पत्रिकामा कार्टुन बनाउँथेँ । त्यतिखेर पञ्चायतविरोधीमाथि निकै दमन हुन थालेको थियो । छद्म नाममा कार्टुन बनाउनुपर्ने भयो । मैले पृथ्वीनारायण क्याम्पसका नेपाली विषयका गुरु सोमनाथ पौडेललाई छद्म नाम जुराइदिन आग्रह गरेँ । उहाँले 'वात्स्यायन' नाम दिनुभो । मलाई अलि आश्चर्य लाग्यो, यो नाम सुनेर । वात्स्यायन त प्राचीन यौनशास्त्रीका रूपमा चिनिन्छन् । मैले त एउटा कलाकारका लागि सुहाउँदो नाम खोजेको थिएँ । गुरुले मलाई सम्झाए, 'त्यसो होइन, वात्स्यायन त चौसट्ठी कलाका ज्ञाता थिए । वास्तुकला, चित्रकला सबैका धुरन्धर । यौन-आक्रान्त समाजले उनको यौनशास्त्रलाई ग्रहण गर्‍यो । बाँकी सबै बिर्सिदियो ।' यथार्थ थाहा पाएपछि मलाई यो नाम मन पर्‍यो । त्यही वेलादेखि म पनि 'वात्स्यायन' भएँ ।'
सबैभन्दा चर्चित कार्टुनवात्स्यायनज्यू, अब तपाईंको सबभन्दा चर्चित कार्टुनका कुरा सुनाउनोस् न ! 'तपाईंलाई थाहै होला, गिरिजाप्रसाद कोइराला र उनको संवैधानिक राजतन्त्रप्रतिको मोहसम्बन्धी कार्टुन निकै चर्चित रह्यो । ०६१ माघ १९ मा शाही शासन सुरु भएपछि लगत्तै पत्रपत्रिकामा सैनिक निगरानी थालियो । लेखक, पत्रकार सबै किंकर्तव्यविमूढ भए । मैले परिस्थितिलाई व्यंग्य गरेर दुई/तीनवटा कार्टुन कान्तिपुरमा पठाएँ । छापिएनन् । त्यसपछि मैले कार्टुन पठाउन छाडिदिएँ । केही महिनापछि मलाई कार्टुन पठाउन आग्रह गरियो । मैले कन्टेनरमा फ्याँकिएको संवैधानिक राजालाई गिरिजाप्रसाद कोइरालाले बोकेर हिँडेको कार्टुन पठाएँ । त्यस्तो तीखो व्यंग्य चित्रित कार्टुन छाप्ने कि नछाप्ने भनेर सम्पादक-मण्डलको बैठक बसेछ । आखिर त्यो कार्टुन ०६२ भदौ ४ गते छापियो । एक/दुई दिनमा कठोर प्रतिक्रिया आउन थाले ।'
वात्स्यायनले आफ्नो चर्चित कार्टुन प्रकाशित भएपछिको प्रतिक्रियाको स्मरण गरे, 'गोर्खापत्रमा त 'बेलायतमा १८औं शताब्दीमा राजतन्त्रलाई अपहेलना गरेबापत कार्टुनिस्टलाई मृत्युदण्ड दिइएको थियो, यी कार्टुनिस्टलाई पनि राजाको मानहानी गरेकोमा मृत्युदण्ड दिइनुपर्छ' भन्नेसम्मका अभिव्यक्ति छापिए । साथीहरूले 'गिरफ्तार गर्ने सम्भावना छ, तयार रहनुहोला' भनेर खबर गरे । तर, राष्ट्रिय-अन्तर्राष्ट्रिय दबाबका कारण शाही शासकहरूले केही गर्न सकेनन् । कांग्रेस साथीहरूले पनि त्यस्तो कार्टुन छपाएकोमा रोष प्रकट गरेनन्, किनभने मैले जनआकांक्षाका विरुद्ध हिँड्न खोज्ने नेताको प्रवृत्तिलाई निर्भीकताका साथ उजागर गरेको थिएँ ।'
प्रविधिले सहज बनायो अत्याधुनिक प्रविधि नभएको भए मोफसलमा बसेर राष्ट्रिय पत्रिकामा उँचो स्थान जमाउन तपाईंलाई गाह्रै हुन्थ्यो होला हगि ? यो मेरो दोस्रो अन्तिम जिज्ञासा थियो ।'हो, फ्याक्स, कम्प्युटर, टेलिभिजन, इन्टरनेट, इमेलजस्ता आधुनिक प्रविधिले कार्टुन बनाउन र यसलाई बढीभन्दा बढी पाठकसम्म सम्प्रेषण गर्न पनि निकै सहज भएको छ । ०२२ सालताकाबाटै कार्टुन बनाउन थालेको हुँ मैले । त्यतिखेर, सक्कल प्रति नै पत्रिकामा पठाउनुपर्थ्यो । ती सबै कार्टुन छापिएपछि हराए । मसँग ०५० सालअघिका अधिकांश कार्टुन छैनन् । आजभोलि, टेलिभिजनमा प्रचण्ड मच्चीमच्ची बोलेको, अनुहारको हाउभाउ, कटाक्ष, आक्रोश, आत्मविश्वास र क्षमता कोठैमा बसेर हेर्न सकिन्छ । त्यही आधारमा कार्टुन बनाउँछु र इमेल गरेर पत्रिकामा पठाइदिन्छु, सक्कलप्रति मसँगै सुरक्षित रहन्छ । प्रविधिले गर्दा राजधानीमा बस्नु र राजधानीबाहिर बस्नुमा कुनै भिन्नता रहेन अब ।'
कांग्रेसमा घमण्डी र अहंकारीअब अन्तिम प्रश्न बाँकी थियो मसँग । त्यो पनि राजधानीबाट पोखरा हिँड्ने वेलामा मेरा एक सहकर्मी साथीले 'यो सोध्न नबिर्सनुहोला है' भनी पठाएको प्रश्न । 'तपाईंलाई कति मान्छेले 'कांग्रेस हुन्' भन्छन्, कुनै वेला त्यो पार्टीसँग सम्बद्ध हुनुहुन्थ्यो र तपाईं ?''हो, थिएँ । मलाई बिपी कोइराला मन पर्थे । मिल्ने साथी पनि सबै कांग्रेस थिए । साथीहरू त्यो पार्टीमा सम्बद्ध हुन आग्रह गरिरहन्थे । म वैचारिक र अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती थिएँ । साम्यवाद नियन्त्रणमुखी हुन्छ र प्रजातन्त्र उदारवादी हुन्छ भन्ने मेरो मान्यता थियो । कांग्रेस प्रजातन्त्रवादी पार्टी भएको हुँदा पनि म त्यो पार्टीमा गएँ । जनमत संग्रहताका बहुदलको प्रचारका लागि ठुल्ठूला पोस्टर बनाएको थिएँ । मैले बनाएका कार्टुन र पोस्टर देखेर बिपी दंग पर्नुभयो । बिपीले मेरो प्रतिभा तत्कालै पहिचान गर्नुभयो र भन्नुभयो, 'तपाईंको प्रतिभा विलक्षण रहेछ, यी कार्टुनले बहुदलको प्रचारलाई निकै सघाउँछन् । यिनलाई वनारस लगेर छाप्ने प्रबन्ध गर्नुपर्छ ।' बिपी ठूला-साना सबै व्यक्तिलाई समान व्यवहार गर्ने, मान्छेप्रति हार्दिक सद्भाव भएका व्यक्ति थिए । उनको निधनपछि भने कांग्रेसका व्यक्तिहरूको रहनसहन, व्यवहार, घमण्ड र अहंकार मन परेन । एउटा कलाकारलाई स्वतन्त्र र निष्पक्ष अभिव्यक्ति दिन कुनै पार्टीविशेषमा रहनु ठीक होइन भन्ने लाग्यो र पार्टी छोडिदिएँ ।'


नेत्र आचार्य netra.acharya@gmail.com